Wednesday, January 4, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल पुष १९ गते मंगलबार

अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको अधिकार तथा अपाङ्गतामैत्री संरचना निर्माणका वारेमा निर्माण कम्पनीहरु, डिजाईनर वा इन्जिनियरहरुमा चेतना जगाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

चार दशकसम्मको शिक्षण यात्रा

चार हजार रुपैयाँमा रमाएका छन गंगाराम

टिनले छाएको कोठा, भित्रपट्टि जुटको कार्पेट ओछ्याईएको छ, कार्पेटले कोठाको सवै भुई ढाक्न सकेको छैन । कोठाको क्षेत्रफलको करीव आधाआधी हुने गरी ओछ्याईएको कार्पेटमा कक्षा–२ मा अध्ययनरत २२ छात्रछात्राहरु पलटी कसेर बसेका छन । छात्राछात्रहरुको गोलोमै बसेर कक्षा कार्य गर–ाउँदैछन एक ६० वर्षीय शिक्षक । 
डोटी जिल्लाको मुडभरा गाबिस–२ मा रहेको कालिका प्राबि जोरागाउँमा भेटिएको दृष्य हो । टाउकोमा लगाईएको ढाका टोपीले सेता कपाललाई लुक्न मद्दत गरेको भएपनि दा¥हीले उनको बुढ्यौली अवस्था झल्काईरहेको थियो तर उनी कक्षा कोठामा कुनै युवा शिक्षकको भन्दा कम    खटिरहेका थिएनन् । बिद्यार्थीहरु पनि खुवै रमाएका थिए ।
२०१३ सालमा जन्मेका गंगाराम भण्डारीले मुड्भरा गाबिसमै रहेको शारदा माबिबाट कक्षा १० सम्मको पढाई पुरा गरे । २०३४ सालमा कैलालीको त्रिभुवन माबिवाट उनले आफ्नो अध्यापन यात्रा सुरु गरे । ‘एक सय ६० रुपैयाँ तलव थियो’ भण्डारी भन्छन् ‘त्यतिवेला त्यो रकम धेरै लाग्थ्यो ।’ २०४६ साल असारसम्म उक्त बिद्यालयमा अस्थायी दरवन्दीमा रहेर लगातार काम गरे उनले । भण्डारीले घरायसी कामका लागि कैलालीबाट डोटीको मुड्भरा आउनु प¥यो । उनी पारिवारिक समस्याका कारण फेरी फर्केर कैलाली जान सकेनन् । उनीसंगैका साथीहरु स्थायी भए, उनी भने व्यरोजगार बस्न वाध्य भए । 
बिद्यालय जान नपाएपछि उनको जागिर सकियो तर उनलाई शिक्षण पेशाप्रतिको मोहले भने सताईरह्यो । उनले गाउँमै बिद्यालय खोल्ने प्रयास गरे । २०४६ मंसिरमा बिद्यालय स्थापना गर्न समेत सफल भए तर त्यो बिद्यालय चार महिना मात्रै चल्न सक्यो । २०४६ सालमा सरकारी दरबन्दीमा रहेर काम गर्दा ९ सय २५ रुपैयाँ तलव पाउने गंगारामले यि चार महिना मासिक पाँच सय रुपैयाँमा शिक्षण गरे । आर्थिक अभावका कारण उक्त बिद्यालय बन्द भयो ।
उनले फेरी पनि हिम्मत  हारेनन् । गाउँलेलाई शिक्षाको महत्व बुझाउँदै गर्दा आठ बर्ष बित्यो, अन्ततः २०५४ सालमा फेरी बिद्यालय खोल्ने सहमति  भयो । बिद्यालयका संस्थापकहरुमा उनको नाम पहिलोमा आउँछ । ‘गाउँलेले मलाई नै शिक्षक हो भने’ गंगाराम त्यतिवेलाको क्षण सम्झदै भन्छन् ‘एक हजार दुई सय रुपैयाँ मासिक पाउने गरी मैले २०५४ सालमा फेरी शिक्षण सुरु गरेँ ।’ बिद्यालय स्थापना हुँदाका बखत उनले थोरै रकममा काम गरे तर, जब २०५५ सालमा उक्त बिद्यालयमा जिल्ला शिक्षा कार्यालयवाट दरबन्दी आयो तव गंगाराम उक्त दरबन्दीका लागि अयोग्य मानिए । गंगाराम फेरी पनि थोरै पारिश्रमिकमा धेरै परिश्रम गर्दै बिद्यार्थीको मन जित्दै गए । बालबालिकाहरु पनि उनीसंग निकै रमाउँछन । 
उनलाई पारिश्रमिकले कमजोर वनाएको छैन बरु आफुले चाहेको पेशा जीवनभरी गर्न पाएकोमा खुशी छन । उनले २०३९ सालमा रेडियो शिक्षा तालिम लिएपछि त्यो भन्दा पहिले आफुले पढाएको गलत रहेछ भन्ने लाग्यो । उनी सम्झिन्छन् ‘हामीले सरसर्सत्ति कितावमा लेखेको पढाउँथ्यौं तर पछि तालिमवाट कसरी पढाउनु पर्छ भन्ने थाह भएपछि मैले चार÷पाँच वर्षसम्म त्यत्तिकै तलव खाएका रहेछु भन्ने लाग्यो ।’ अहिले उनी पूर्ण रुपमा बालकेन्द्रित शिक्षण बिधिको प्रयोग गरिरहेका छन । त्यस क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाहरुले बालमैत्री शिक्षण सम्वन्धि आयोजना गरेका तालिममा भाग लिन पाएपछि उनलाई शिक्षणप्रति झन उत्साह बढेको छ । 
करीव चार दशकसम्म शिक्षण पेशामा लागेको यो अवधीमा उनले आफ्ना दुई छोरा, एक छोरी, श्रीमती र आफु गरी पाँच जनाको परिवार पाल्नका लागि खेतीपातीमा पनि निकै परिश्रम गर्नु प¥यो । दिउसोभरी बिद्यालयमा बिताउने उनी साँझ र बिहान खेतमा पसिना   वगाउँथे । उनी आफै सक्रिय भएर स्थापना गरेको बिद्यालयमा अहिले तीन जना सरकारी अनुदानवाट तलव भत्ता पाउने शिक्षकहरु कार्यरत छन । संगैका तीन जना शिक्षकहरुले २२ हजार एक सय ७० तलव बुझ्दा गंगारामले मासिक चार हजार रुपैयाँ पाउँछन । अर्थात यो जमानामा पनि गंगारामको बौद्धिक श्रमको मुल्य दैनिक १३३ रुपैयाँ मात्रै हुन आउँछ । 
शिक्षा (आठौं संसोधन) ऐन, २०७३ को दफा ११(च) लामो समयसम्म अस्थायी शिक्षण पेशामा लागेकाहरुले स्थायीका लागि आन्तरिक प्रतिस्पर्धा गर्न पाउने वा स्वर्णिम बिदाई (गोल्डेन हेण्डसेक) पाउने व्यवस्था गरेको छ । गंगारामले भने जुन दिन पढाउन छोड्यो सो दिन रित्तै घर फर्कनु पर्नेछ । उनका लागि सरकारले कुनै कानुन वनाउन सकेन ।  

सम्पादकीय 

हामी फेरी “ख” मा

देशमा चलिरहेको सशस्त्र संघर्ष चरम सिमामा रहेका बेला २०६० सालमा आफ्नो प्रकाशन सुरु गरेको यस बिम्ब साप्ताहिकले २०६२ सालदेखि आफ्नो बर्गीकरणको यात्रा सुरु गरेको थियो । प्रेस काउन्सिल नेपालद्वारा तय गरेको बर्गीकरण अनुसार स्थानीय ‘घ’ वर्गबाट आफ्नो बर्गीकरण यात्रा सुरु गर्दै केही वर्षयता क्षेत्रीय ‘ख’ वर्गमा बर्गीकरण हुदै आएको छ । काउन्सिलले आईतवार प्रकाशन गरेको आर्थिक वर्ष २०७१÷०७२ को पत्रपत्रिका बर्गीकरणको नतिजा अनुसार यस वर्ष पनि बिम्ब साप्ताहिक क्षेत्रीय “ख” वर्गमै कायम   रहेको छ । यस अवसरमा नियमित रुपमा अपार माया गर्नु हुने आदरणीय पाठकवर्ग, नियमित रुपमा लेख, रचना, सूचनाहरु उपलव्ध गराई दिनु हुने आदरणीय लेखक, रचनाकार, सूचनादाता, पत्रिका प्रकाशनका लागि सूचना, सन्देश, बिज्ञापन उपलव्ध गराई दिनु हुने सरकारी, गैरसरकारी कार्यालयहरु, नीजि क्षेत्र, व्यक्तित्वहरु, अमुल्य सुझाव सल्लाह दिनु हुने आदरणीय बौद्धिक व्यक्तित्वहरु र सहकर्मी सञ्चारकर्मीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनहरुमा पनि उहाँहरुको सक्रिय सहयोग हामीलाई रहनेछ भन्ने पूर्ण बिश्वासका साथ सहयोगका लागि अपील समेत गर्दछौं ।
२०६० सालमा पत्रिका प्रकाशनका लागि अहोरात्र खट्नुहुने संस्थापक प्रधान सम्पादक रामवहादुर ऐर लगायतको संस्थापक टोली र सुरुवाती देखि अहिलेसम्म बिभिन्न जिम्मेवारी सम्हाल्दै बिशेष कारणबस हाल पत्रिकाको जिम्मेवारीमा नरहनु भएका साथीहरुप्रति बिम्ब साप्ताहिक परिवार हार्दिक कृतज्ञ छ । उहाँहरुको योगदानको बिम्ब साप्ताहकिले सधैं कदर गर्दै आएको छ । आगामी दिनमा पनि निरन्तर रुपमा सहयोग गरिदिन हुन अनुरोध छ । 
हामी क्षेत्रीय स्तरको ‘क’ वर्गको लक्षका साथ अगाडी बढेका छौं । यो लक्ष पुरा गर्नका लागि बिम्ब साप्ताहिकको बर्तमान समूह नियमित रुपमा खटिरहेको छ । यहाँको अमुल्य सुझाव र निरन्तर सहयोगमा मात्र हामी उक्त यात्रा पुरा गर्ने छौं । यो डोटी जिल्लाकै लागि खुशीको बिषय हुनेछ । 
केही दिनदेखि डोटीका केही अव्वल दर्जाका पत्रकारहरु “दैनिक हुँदाहुँदै साप्ताहिक पत्रिकालाई किन बिज्ञापन दिएको ?” वा ‘फलानो पत्रिकालाई किन बिज्ञापन दिएको ?’ भनेर भन्दै कार्यालयहरुमा गएर धम्काउने गरेको खवर आएको छ । बिम्ब साप्ताहिक यस्ता क्रियाकलापको घोर निन्दा एवं भत्सना गर्दछ । खुला अर्थतन्त्रमा उपभोक्ताले आफ्नो सेवा प्रवाह गर्ने माध्यम आफै छान्न पाउनु पर्छ, यो लोकतन्त्रको सारभुत नियम पनि हो । कि त राज्यले यस कुरालाई नियमन गर्नु पर्छ होईन भने सूचनादाता वा बिज्ञापनदाताहरुले आफुले ईच्छाएको माध्यमवाट सूचना प्रवाह गर्न पाउनु पर्छ । 
नीतिगत कुरा गर्ने हो भने बिम्ब साप्ताहिक मात्रै प्रेस काउन्सिल नेपालको बर्गीकरणमा परेको पत्रिका हो । त्यसैले डोटीमा सार्वजनिक निकायका बिज्ञापनहरु प्रकाशन गर्ने अधिकार बिम्ब साप्ताहिक मात्रै राख्दछ । यदि यस्ता हर्कतहरुमा सुधार हुँदैन र केही सार्बजनिक निकायहरुबाट अनुहार हेरेर गरिने व्यवहारमा सुधार हुँदैन भने भने बिम्ब साप्ताहिक पनि प्रक्रियामा जान बाध्य हुने व्यहोरा समेत    अनुरोध गरोध छ । 
बिम्ब साप्ताहिकमा बिज्ञापन प्रकाशन हुँदा वा बिम्ब साप्ताहिक नियमित रुपमा प्रकाशन हुँदा आफ्नो ईज्जत गुमेको देख्नेहरुले मिहिनेत गरेर आफुलाई पनि माथी उठाउन हामी बिनम्रताका साथ सुझाव दिन्छौं । बिज्ञापन नदिएकै आधारमा कार्यालय बिरुद्ध समाचार सम्प्रेषण गर्ने वा अरुलाई गर्न लगाउने अनि “वार्गेनिङ्ग” गर्ने जस्ता निकृष्ट कार्य पत्रकारिताको क्षेत्रभित्र पर्दैनन् । न त प्रेश काउन्सिल नेपालले आचार संहिताले यस्तो कार्य गर्ने छुट दिएको छ ।

बर्गीकरणमा ८३३ पत्रिका

बिम्ब साप्ताहिक फेरी ‘ख’ वर्गमा

प्र्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१÷०७२ को पत्रपत्रिका बर्गीकरणको नजिता सार्वजनिक गरेको छ । नतिजा अनुसार देशभरीका आठ सय ३३ पत्रिकाहरु बर्गीकरणमा परेका  छन । बिम्ब साप्ताहिक फेरी ख वर्गमा बर्गीकरण भएको छ । 
काउन्सिलले आईतवार सार्वजनिक गरेको नतिजा अनुसार देशभरीबाट बर्गीकरणका लागि आवेदन दिने नौ सय १० पत्रिकाहरुमध्ये आठ ३३ पत्रिका बर्गीकरण भएका हुन । 
७७ पत्रिकाहरु बर्गीकरण पर्न सकेनन् । बर्गीकरणमा समावेश नभएका पत्रिकाहरु काउन्सिलको अभिलेखमा नभेटिएको, नियमित रुपमा प्रकाशन भएको, हुबहुमा परेको र कम्प्युटर प्रिण्ट भएको देखिएको काउन्सिलले वेबसाईट मार्फत सार्वजनिक गरेको छ । सुदूरका ६ पत्रिका पनि हुबहुमा परेका  छन । कञ्चनपुरको अभियान दैनिक, शुक्लाफाँटा दैनिक र फारवेष्ट टाईम्स दैनिक हुबहुमा परेका छन । यस्तै कैलालीको मलवारा दैनिक, मोनिङ्ग बेल दैनिक र डडेल्धुराको रंगुन साप्ताहिक पनि हुबहुमा परेका छन । 
अभियान, फारवेष्ट र रंगुनले क्षेत्रीयस्तरको बर्गीकरणका लागि दावी गरेका थिए भने अन्यले स्थानीय तहका लागि । 
बर्गीकरणको नतिजा अनुसार स्थानीयस्तरमा सवैभन्दा बढी पत्रिकाहरु बर्गीकरण भएका छन । यस तहमा क मा ५९, ख मा दुई सय ४८, ग मा एक सय १९ र घ मा ५६ गरी चार सय ८२ पत्रिकाहरु बर्गीकृत भएका छन । यस्तै सवैभन्दा कम राष्ट्रियस्तरमा भएका छन । राष्ट्रियस्तरमा क+ मा १३, क मा ६३, ख मा ४५ र ग मा १८ पत्रिका बर्गीकृत भएका छन ।   राष्ट्रिय घ मा कुनै पनि पत्रिका बर्गीकरण भएको छैन । 
यस्तै क्षेत्रीयस्तरको पत्रपत्रिका बर्गीकरणमा दुई सय १२ पत्रिका बर्गीकृत भएका छन । क बर्गमा ९८, ख मा ९५, ग मा १८ र घ मा एक पत्रिका बर्गीकृत भएका छन । क्षेत्रीयस्तरको घ बर्गमा एक मात्र पत्रिका काठमाण्डौंबाट प्रकाशन हुने मन्धुम साहित्यिक मासिक पत्रिका रहेको छ । 
प्रेस काउन्सिल नेपालले प्रत्येक वर्ष पत्रिकाको छपाईस्तर, संख्या, बितरण कभरेज, साईज तथा स्पेस आदिलाई आधार वनाएर पत्रपत्रिका बर्गीकरण गर्ने गर्दछ । यसरी बर्गीकरणमा परेका पत्रिकाहरुले नेपाल सरकारले उपलव्ध गराएका लोककल्याण– कारी बिज्ञापन प्रकाशन गर्नु पर्ने व्यवस्था रहेको छ । काउन्सिलले बर्गीकरण गरेका पत्रिकाहरुलाई नै सूचना, सन्देश, बिज्ञापन प्रकाशनका लागि प्राथमिकता दिईनु पर्ने काउन्सिलको मान्यता रहेको छ । 

सुदूरपश्चिममा भब्यताका साथ भुवा पर्व

सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ । 
पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी लगायत मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । 
पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौष औँसीदेखि सुरु हुने गर्दछ । दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा चल्दै आएको छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ । 
साथै सुदूरपश्चिममा पुसे औंसीको दिनमा नै पौष १५ गते परेको हुनाले यस दिनलाई पनि पर्व मान्ने गरिन्छ । बर्षभरीकै सबैभन्दा लामो रात हुनाले पुस १५ को रातभर जाग्राम बसी यो पर्व मनाउने प्रचलन छ । 
यस क्षेत्रको मौलिक पर्वमध्येको एक पर्वका रुपमा लिइने यस पर्वमा रातमा ठूलाबडाको मुखबाट कथा, दन्ते कथाका साथै शुक्ति सुन्ने चलन रहिआएको छ । 
यस पर्वमा मीठा–मीठा खाने परिकारका साथै विशेष गरी तरुल पकाएर खाने चलन रहेको पाइन्छ । कतिपय ठाउँमा पन्ध्रको दिनमा चामल तथा मासको पिठो घ्यू, दही लगायतका विभिन्न अन्नका परिकारहरु बनाएर खाने, रातभर रमाइलो गर्ने चलन  सुदूरमा ग्रामीण भेग तथा सहरतिर मनाउने गरिन्छ ।

इस्काइभेटरले ढुङ्गा फाल्दा एक युवकको मृत्यु

स्काइभेटरले सडक काट्ने क्रममा सडकबाट ढुङ्गा फाल्दा बाख्रा चराउन गएका एकजना युबकको मृत्यु भएको छ ।
ब्रह्मतोला गाविस– २ अम्कोटका २२ वर्षीय लेखराज पाध्यायको ढुङ्गाले लागेर मृत्यु भएको हो । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत अम्कोटमा सडक निर्माणका क्रममा स्काइभेटरले ढुङ्गा खसाल्दा  सडक भन्दा तल बाख्रा चराउँदै गरेका पाध्यायको मृत्यु भएको प्रहरी नायब उपरीक्षक  दलबहादुर बोगटीले जानकारी दिए ।

सिडिसीद्वारा बिद्यालयमा शैक्षिक सामाग्री बितरण

भूमिराज जोशी÷डोटी
      पुष १८
सामुदायिक बिकास केन्द्र डोटीको आयोजनामा तथा गुड नेवर्स इनटरनेशनल नेपालको आर्थिक सहयोगमा डोटी जिल्लाका दुई गाबिसका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । 
लडागडा गाबिस र पोखरी गाबिसका सबै सामुदायिक बिद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण गरेको सामुदायिक बिकास शिक्षा परियोजना अधिकृत एकराज बडुले जानकारी दिए । दुई गाबिसमा १६ वटा बिद्यालयका  दुई हजार ७८ जना बिद्यार्थीलाई पोसाक, कापी, कलम, झोला, औजारबक्स, जुत्ता गरी बिभिन्न सामाग्रीहरु बितरण गरिएको छ ।  
लडागडा गाबिसका सुनादेबी माद्यमिक बिद्यालय, चौखान माद्यमिक बिद्यालय, सरस्वती आधारभूत बिद्यालय, मष्टेश्वर आधारभूत बिद्यालय, तेडी आधारभूत बिद्यालय, तेडिस्थान आधारभूत बिद्यालय, चौडालेश्वर आधारभूत बिद्यालय र कालिका आधारभूत बिद्यालय गरी आठ बिद्यालयहरुमा सामाग्री बितरण गरिएको हो ।
यस्तै पोखरी गाबिसका मष्टामाण्डौं माद्यमिक बिद्यालय, भवन्ती आधारभूत बिद्यालय, कोल्डाँडा आधारभूत बिद्यालय, नवज्वोती आधारभूत बिद्यालय, सरस्वती आधारभूत बिद्यालय, बालबिकास आधारभूत बिद्यालय, खापरमाण्डौं आधारभूत बिद्यालय र हनुमान आधारभूत बिद्यालय गरी आठ बिद्यालयमा बिद्यार्थीहरुलाई सामाग्रीहरु बितरण गरिएको हो ।
गुड नेभर्स इन्टरनेशनलको आर्थिक सहयोगमा बिभिन्न संस्थाहरुसंग साझेदार गरी बर्षेनी बिद्यार्थीहरुलाई उक्त सामाग्री बितरण गर्दै आएको सुनादेबी माद्यमिक बिद्यालयका प्रधानाध्यापक नबराज पाठकले बताए । बिद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नगराउनका लागि नेपाल सरकार र बिभिन्न संस्थाहरुले सहयोग गर्दै आएपनि   बिद्यार्थीहरु बिभिन्न कारणले गर्दा बिद्यालय नआउने गरेको प्रधानाध्यापक पाठकले बताए ।
पाठकले भने, ‘लडागडा र पोखरी  गरी दुईवटा गाबिसहरुमा गुड नेभर्स इन्टरनेशनलले सन् २०१२ देखि नै बिद्यार्थीहरुलाई सामान बितरण गर्दै आएको हो ।’ पछिल्लो समयमा बढीजसो बिद्यार्थीहरु बिद्यालयमा उपस्थित भएर राम्रो शिक्षा हासिल गर्दै आएको उनले बताए ।
‘हामीले घरदैलोको नारा लिएर पनि बालबालिकालाई बिद्यालय पठाउन आग्रह ग¥यौं, तर कतिपयले कहिल्यै वास्ता नै गर्दैनन् ।’ सामुदायिक बिकास केन्द्रद्वारा सञ्चालित सामुदायिक बिकास समिति लडागडाका अध्यक्ष नर सिं कुञ्जेडाले भने, ‘यो गाबिसमा कतिपय परिवार सिजनल जस्तै भएका छन ।’
 बिद्यार्थी भर्ना गर्ने समयमा स–परिवार नै भारततिर जाने र दशै÷तिहार जस्ता ठूला चाडबाँडहरुमा घरतिर आएर बिद्यालयमा भर्ना गर्न आउने गरेको अध्यक्ष कुञ्जेडाले बताए । उनले भने, ‘दाताहरुले सधै सहयोग गर्दै आएका छन । तर कतिपयलाई चेतना नै फैलाउन सकिएको छैन । यस्ता सामाग्रीहरु बितरण गर्ने भन्ने जानकारी पाउने बित्तिकै दौडधुप गरी बिद्यालयमा अभिभावक र बिद्यार्थीहरु आउछन । अगाडी पछाडी वास्तै गर्दैनन् । 
पछिल्लो समयमा करिब नब्बे प्रतिशत नै बालबालिका र अभिभाबकहरुमा  दाताहरुले सहयोग गर्दै आएपछि निकै सुधार आएको कुञ्जेडाले बताए ।
बिद्यार्थीहरु गरिबीपन, चेतनाको कमीले गर्दा बिद्यालयमा आउनै छाडेपछि नेपाल सरकार र बिभिन्न संस्थाहरुले शिक्षा क्षेत्रका सहयोग गर्दै आएको सामुदायिक बिकास केन्द्र डोटीका उपाध्यक्ष सुनिल घर्तीले बताए । उनले भने, ‘यी १६ वटा बिद्यालयहरुमा ४६ लाख चार हजार चार सय ६३ रकम मुल्यको समाग्रीहरु बितरण गरेका छौं ।’    

अखिल क्रान्तिकारी अध्यक्षमा थापा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) माओबादी डोटीको सातौं अधिबेशनबाट अध्यक्षमा बीर बहादुर थापा सर्बसम्मत चयन भएका छन ।
२५ जना सदस्य रहने गरी नयाँ कार्य समिति चयन भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) माओबादी डोटीका उपाध्यक्ष गणेश कार्कीले जानकारी दिए । 
अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष पूर्ण सिंहको प्रमुख आतिथ्यमा बसेको उक्त भेलाले थापालाई चयन गरेको हो । यस्तै उपाध्यक्षमा गणेश काकी ‘बिकल्प’ सर्बसम्मत चयन भएका छन । 
सचिबमा दीपक बहादुर भण्डारी, सह–सचिबमा योगेन्द्र रावल र कोषाध्यक्षमा यशु बलायर चयन भएका छन ।
भेलालाई सम्बोधन गर्दै केन्दीय अध्यक्ष पूर्ण सिंहले भने, ‘आजको युगमा देशको बिकास गर्नको लागि शिक्षा अनिबार्य रुपमा चाहिन्छ । त्यसको लागि सबैले सबैलाई समान शिक्षा  दिनुपर्छ ।’ 
नेपालमा गरिबका छोराछोरीरुले उचित शिक्षा नपाउदा सधै पछाडी पर्ने गरेको सिंहले बताए । सबैलाई समान शिक्षा दिनुपर्नेमा राज्यले ध्यान दिनु पर्ने बताए । 
भेलाका बिशिष्ट अतिथिमा नेकपा माओबादी डोटीका सचिब बिबेक कुमाल, अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समिति संयोजक बिमल धामी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश थापा  लगायतले उक्त भेलामा संबोधन गरेका थिए ।

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

बडिमालिका नगरपालिका–९ जिल्लीमा विद्युतको झट्का लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लीका ३५ वर्षीय चन्द्र बहादुर विक रहेका छन । 
घर निर्माणको काम भइरहेका बेला खम्बामा रहेको तारमा छोएपछि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए । मृतक बिक आफ्नो घर बनाउदै गर्दा थिए । 
स्थानीयले भने, ‘घरको छत बनाउनको लागि बिद्युतको लाइन सार्दै थिए, बिद्युतको लाइन गएको थियो  तर एक्कासी लाइन आएछ, त्यसैले करेन्टको झट्का लागेकोले छुट्टाउन नसक्दा मृत्यु भएको हो ।’
मृतकका आफन्तजनले भने त्रिवेणी साना जलविद्यु्त् केन्द्रको कमजोरीका कारण विकको मृत्यु भएको आरोप लगाएका छन् । कुनै बेला मनोमानी गरेर बिद्युत लाइन छोड्ने र कतिबेला लाइन बन्द गर्ने निश्चित समयनै नभएकोले यो घटना घटेको आफन्तले बताए ।

जीप दुर्घटना हुँदा एकै परिवारका चारको मृत्यु

नरी बडु÷बैतडी
      पुष १८
भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुँदा ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउँद, गोबिन्दका भाई शिवराजकी ५७ वर्षीया पत्नी गोमती देवी उनकै भाई ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुषको मृत्यु भएको हो ।
तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको भारतीय पत्रकार राजेश पंगरीयाले बताए । उनका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो ।
१६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन । घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ । कञ्चनुपरको दोधारा चाँदनी बस्दै आएका मृतक परिवारका ८ जना पूजा को लागि गाँउ आउँदा दुर्घटनामा परेका  हुन ।
घाइतेहरुमा बैतडीको शर्माली–५ कोणका चन्द्रसिंह साउँद, पञ्चेश्वरका एक जना सहित मृतक परिवारकै ४ जना रहेका छ । उनीहरुको हल्द्धानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ । तिब्र गतीको जीप मोडमा अनियन्त्रित भएर दुर्घटना भएको भारतीय  प्रहरीलाई उदृत गर्दै स्थानीय पत्रकार पंगरीयाले           बताए ।

नमुना बन्दै बयालपाटा अस्पताल

हालसम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुको निशुल्क उपचार

पूर्णबहादुर खड्का÷अछाम
       पुष १७
बिगत नौ बर्षदेखि अछाम जिल्लामा निरन्तर सेवा दिईरहेको न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालले हाल सर्जरी सेवा सहित सम्पूर्ण सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । 
सन २००८ बाट अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट नै निशुल्क प्राथमिक स्वास्थ्य सेवा सुचारु गरेको न्याय हेल्थ नेपालले हाल विभिन्न प्रकारका गरी १२ भन्दा बढी किसिमका सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । नेपालको दुर्गम जिल्ला अछाम लगायतका छिमेकी जिल्लाहरुका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन अस्पतालले आफ्ना सेवाहरु निरन्तर निशुल्क रुपमा प्रदान गर्दै  आईरहेको अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकास गौचनले बताए । 
अस्पतालले अहिलेसम्म ४ हजार भन्दा बढी बिरामीको निशुल्क सर्जरी सेवा गरिसकेको छ । केही जटिल अवस्थाका सर्जरी पनि सफलतापूर्वक सम्पन्न गरेको छ । यसका लागि नेपालमै पहिलो महिला अर्थोपेडिक सर्जन बिशेषज्ञ डाक्टर आरधना झाबाट अस्पतालले सर्जरी सेवा सुरु गरेको थियो ।
ग्रामीण क्षेत्रका जनताका छोराछोरी यसै क्षेत्रमा बसेर स्वास्थ्य शिक्षा हासिल गर्न सकुन भन्ने उद्देश्यले ग्रामीण शिक्षण अस्पतालको समेत परिकल्पना गरेको छ । त्यसका लागि आवश्यक तयारी भईरहेको मेडिकलका निर्देशक गौचनले बताए ।

छोटकरी समाचार 

‘धन्यमायाजाल’ प्रर्दशन

डोटेली भाषाको पहिलो ऐतिहासिक चलचित्र ‘धन्यमायाजाल’ कथानक  डोटीको जिल्ला बिकास समितिको सभाहलमा शनिबार प्रदर्शन गरिएको छ ।
चलचित्र सेन्सर बोर्डमा दर्ता भएर सफल भएको डोटेली भाषाको ऐतिहासिक पहिलो चलचित्र बन्न सफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा प्रदर्शन भएको कार्यक्रममा सयौंको संख्यामा सहभागीहरु रहेको थियो ।
बशिबियाँलो म्युजिक प्रा.लि. काठमाण्डौका प्रवन्ध निर्देशक एवं चर्चित कलाकार सूर्यविरही साउँदको अध्यक्षतामा च्यारिटि शो कार्यक्रम सम्पन्न भएको कलाकार झलक पालीले जानकारी दिए । कलाकार पालीले भने, ‘डोटेलीको कला, संस्कृति, रहनसहन सबै कुरा समेटिएकोले  ऐतिहासिक चलचित्र बन्न सफल भएको हो ।’

खेल समाचार 

फुटबलमा तहल्का पिट्दै साबित्रा

सेतोपाटी समाचार
तीन वर्षअघि गञ्जी र कट्टु लगाएर फुटबलको बुट बोक्दै घरबाट बाहिर निस्किदा सावित्रा भण्डारीको विषयमा गाउँका धेरैले कुरा काटेका थिए । हाल मनाङको जिल्ला स्वास्थ्य कार्यालयमा पीयन पदमा कार्यरत सावित्राको बुवा थमबहादुर भण्डारीलाई त्यतिबेलै गाउँका केही ठूला भनाउँदाहरुले भनेका थिए, ‘छोरीलाई यसरी छाँडा छोड्नु भएन ?’
तर, जागिरको सिलसिलामा विभिन्न ठाउँ डुलेका थमबहादुरले आफ्नो छोरीको विषयमा आउने यस्ता प्रतिक्रियालाई कहिल्यै वास्ता गरेनन् । नतिजा, अहिले सावित्राका बुवा आफ्नो छोरीले महिला फुटबलमा गरेको प्रगतिका कारण चौतर्फी चिनिन थालेका छन् ।
सावित्राले भारतको पश्चिम बंगालस्थित सिलिगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपको तीन खेलमा ११ गोल गरिसकेकी छिन् । उनी नेपाली फुटबलमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने  खेलाडी मात्र होइन, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने महिला खेलाडी पनि बन्न पुगेकी छिन् ।
सावित्राले भुटानविरुद्धको पहिलो खेलमा ६ गोल गरेकी थिइन् । जसका कारण नेपाल ८–० ले विजयी भएको थियो । उनले माल्दिभ्सलाई ९–० ले पराजित गरेको खेलमा एक्लैले ५ गोल गरेकी थिइन् । खेलमा उनको गजबको ‘स्टामिना’ र गोल गर्ने क्षमता देखेर विपक्षी टोली पनि तिलमिलाएका छन् । दक्षिण एसियामा सबैभन्दा बलियो मानिएको भारतीय टोलीका प्रशिक्षक सजित धर पनि सावित्राको गोल गर्ने क्षमताबाट निकै लोभिएका छन् । उनले नेपालविरुद्ध सेमिफाइनल अघि नै सावित्रालाई खतरनाक खेलाडीको उपमा दिइसकेका छन् ।
सन् २०१४ को साफ च्याम्पियन सिपमा भुटानविरुद्धको खेलबाट अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेकी सावित्राले हालसम्म १४ गोल गरेकी छिन् । उनले आफ्नो डेब्यु खेलमै १ गोल गरेकी थिइन् । यसबाहेक १० महिना अघि आसामको सिलोङमा आयोजना भएको १२ औं सागमा श्रीलंकाविरुद्ध २ गोल गरेकी थिइन् ।
२०७१ साल साउनमा एपिएफसँग आवद्ध साबित्राले एपीएफमा हुने नियमित प्रशिक्षण, म्याच एक्सोजर, मेहनतले परिपक्व बनाउँदै लगिन् । पुस २ गते राजधानीमा भएको मलेसियासंगको मैत्रीपूर्ण खेलमा पनि आफूभन्दा २६ स्थान माथिको बलियो राष्ट्र मलेसियालाई हराउने क्रममा साबित्राले नै निर्णायक गोल गरेकी थिइन् ।
नेपालका दुई स्टार स्ट्राइकर अनु लामा र जमुना गुरुङ अनुपस्थित भए पनि उनले राष्ट्रिय टोलीको अग्रपंक्ति राम्रैसँग सम्हालेकी छिन् । ‘यो सबै साथीहरुको सहयोगले सम्भव भएको हो । म एक्लैले कहाँ सबै गर्न सक्थे, भारतविरुद्ध सेमिफाइनल खेलको तयारीमा व्यस्त सावित्राले सेतोपाटीसँग भनिन् ।
सावित्रा भलिबलको पनि राम्री खेलाडी हुन् । उनले सन् २०१४ मा काठमाडौंमा आयोजना भएको राष्ट्रपति रनिङ सिल्डमा पश्चिमाञ्चलबाट प्रतिनिधित्व गरेकी थिइन् । जुन टोली तेस्रो भएको थियो । भलिबलमा पनि उनी स्पाइकरको रुपमा खेल्थिन् ।
‘भलिबलका कारण सानैमा टिममा बसेर कसरी खेल्नु पर्छ भन्ने चेतनाको विकाश भयो । अहिलेको नतिजा विगतको कारण पनि हुन सक्छ,’ २० वर्षीय एपिएफकी यी स्ट्राइकरले भनिन् ।
सन् २०१३ को दशैंमा धनपोखरामा आयोजना भएको महिला फुटबल प्रतियोगितामा उनको खेलबाट मोहित भएपछि रेफ्री शुक्र लामाले उनलाई एपिएफमा अनुबन्धित गर्न ठूलो योगदान गरेका थिए । ‘आज म यो अवस्थामा आउनमा शुक्र दाईको ठूलो योगदान छ,’ उनले भनिन् ।
 ‘बुवाले सधै जे गर्न मन लाग्छ, धक नमानी गर्नु भन्नु हुन्थ्यो । उहाँले फुटबल खेल्न पनि प्रोत्साहन गर्नुभयो । यही कारण म आज यहाँ उभिएको छु ।’

चलचित्र÷मनोरञ्जन 

नीशाले ‘झ्यानाकुटी’ बनाउने, सौगातसँग वेनिशाको जोडी

एजेन्सी
नायिका नीशा अधिकारीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘झ्यानाकुटी’ राखिएको छ । नामले नै यो चलचित्र कमेडी बिषयमा बन्न लागेको वुझ्न सकिन्छ । कमेडी साथै रोमान्टिक कथामा चलचित्र निर्माण हुनेछ । यो चलचित्रको छायांकन घले गाउँमा हुनेछ ।
चलचित्रको छायांकन फाल्गुणबाट सुरु हुनेछ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैैछन् । नायिका निशा अधिकारी चलचित्रमा निर्मातासँगै क्रियटिभ डिरेक्टरको रुपमा रहनेछिन् । निशा र सिमोसको लगानीमा चलचित्र बन्न लागेको हो ।
चलचित्र ‘झ्यानाकुटी’मा निशा आफूले अभिनय नगर्ने बताउँछिन् । यो चलचित्रमा उनले नायिका वेनिशा हमाललाई लिडिङ लेडीको रुपमा अनुवन्धित गरेकी छिन् ।
बुझिए अनुसार, चलचित्रमा नायक सौगात मल्ल मुख्य भूमिकामा हुनेछन् । सौगात चलचित्र ‘शब्द’को प्रदर्शनका लागि अष्ट्रेलिया जाने भएकाले यसको छायांकन केही पर सरेको हो ।
जाडोमा बोल्ड अशिष्मा
काठमाण्डांैमा जाडो बढिरहेको छ । पौष महिनामा त अझ बढी जाडोले सताउँछ । तर, काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका अशिष्मा नकर्मीको जाडो खै कहाँ गायब भयो ?
गाउनमा अशिष्मा स्टेज चढिन् र क्याटवाक गरिन् । यतिमात्र होइन, उनले त विभिन्न पोजमा अनलाइनखबरको  क्यामेरामा तस्बिर पनि खिचाइन् । जाडो भएको छैन भन्ने जिज्ञासामा नायिकाले        छोरी मान्छेलाई जाडो हुँदैन भन्ने थाहा छैन भनेर जवाफ दिइन् ।
अशिष्मा चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । यसपछि, उनले राम्रा ब्यानरका केहि चलचित्रमा काम गरिसकेकी छिन् । तर, पनि अशिष्मालाई सफलता सोचे जस्तो मिल्न सकेको छैन ।
उनलाई अहिले दर्शकले ‘फिगर कोकाकोला’ नायिकाको रुपमा चिन्छन् । नेपाली चलचित्रमा प्रतिस्पर्धी नायिकाको सूचीमा यी सुन्दरीलाई पनि पर्छिन् । उनको नयाँ चलचित्र ‘राधे’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । 

लेख 

विघटन उन्मुखः संविधान संशोधनको राजनीति

मुक्ति प्रधान
नेपालका राजनीतिक नेताहरु, राजनीतिक विषयहरु उनीहरुको काबु बाहिर गएका कारणले अब उनीहरुले विवाद संविधान र कानुनी क्षेत्रमा केन्द्रित गरेका छन् । संविधान संशोधन प्रस्तावको विषयमाथि निकै गम्भीर राजनीति गर्न थालेका छन् ।
एमाओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधनका लागि आवश्यक सदस्यको गणितीय सङ्या आफ्नो समर्थनमा छैन भन्ने जानी जानी संविधान संशोधनको प्रस्ताव लाने, त्यसको घोर विरोध एमाले अध्यक्ष खड्ग ओलीलगायतका अन्य एमाले नेताले पालैपालो गर्ने । यो गजबको शैली र खेलको मुख्य कारणी मधेसवादी दल चाहिँ टोलाउँदै बस्ने के गर्दा हुन्छ ? उनीहरुलाई अत्तोपत्तो नभएको जस्तो देखिने ।
ठोस निष्कर्षसहित मधेसकेन्द्रित दलले आफ्नो वास्तविक समस्या सत्तारुढ दललाई बुझाउन नसकेको ? वा सत्तारुढ दलले बुझ्न नसकेको ? यो मुख्य अन्तरविरोधमा संविधान संशोधनको विषयले जबरजस्ती मुलुकको राजनीतिक वृत्तमा जटिलता पैदा गरेको छ । संसद अवरुद्ध छ । सरकार दिन प्रतिदिन निष्कृय हुने सङ्केतहरु देखापर्दै गएको छ । सरकार अन्तर्गतका निजामती, जङ्गी र प्रहरी प्रशासन व्यावसायिक चरित्रको कारणले केही महिना त चल्ला तर नयाँ कार्ययोजना सहित यथावस्थामा सरकार अगाडि बढ्न सक्ने अवस्था छैन ।
द्वन्द्वको चरण छुटट्ै भएकाले लगभग शान्ति प्रकृया यता मुलुकले खासै गति लिन सकेको छैन । ८ वर्ष संविधानको मोडालिटीमा मुलुक अकर्मण्यतामा र संविधान जारी भएपछि राज्यको स्वरुपको विषयमा मुलुक फेरि अर्कमण्यताको भुमरीमा फस्न बाध्य भयो । हामीले संविधान संशोधन स्वीकार गर्नै सक्तैनौँ भन्ने एमाले नेतृत्वका दलको भनाइ र छिट्टै सहमति हुन्छ प्याकेजमा भन्ने सत्तारुढ दलका जुहारी नेपाल र नेपाली जनताले सुन्न बाध्य छन् । विषयवस्तु के हो ? जटिलता कहाँबाट तन्किएको छ, समाधान हुने विषय हो होइन ? विषय संविधान संशोधन हो ? कि अरु नै विषयहरुमा केन्द्रित छ ? यस विषयमा गम्भीर विचार विमर्श गर्ने समय आयो कि ? भन्ने कानेखुसी भइरहेको बेला स्व. राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाहको वक्तव्यले विषय झन् गम्भीर बनाएको छ । राजनीतिक वृत्तमा छलफल चल्नु स्वभाविकै हो ।
नेपालमा निकै मार्मिक उखान टुक्काहरु प्रचलित छन् । जसमा अहिलेको सन्दर्भमा चर्चा गर्न मिल्ने दुई उखान यहाँहरु समक्ष उद्धृत गर्ने जमर्को गर्दछु । एउटा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने र अर्को ‘मरेको विरोलो च्यापेर ठिमी जाने बाटो कता हो’ ? भन्ने यी दुवै उखान टुक्काले ठिमीतिर लाग्नु भनेको विपरीत दिशामा लागेको सङ्केत गर्दछ । नेपालका नेतागणहरु पनि अब गन्तव्य दिशातिर होइन विपरीत दिशातिर लागेको नेपालको वर्तमान परिदृश्यहरूले सङ्केत मात्र हैन लगभग पक्का भएको देखिन्छ । संविधान जारी भएको लगभग १५ महिना भयो । सबै तहको निर्वाचनको १३ महिनाभित्र गरिसक्नुपर्ने १५ महिना राजनीतिक जुहारीमा बित्यो अब बाँकी १३ महिनामा संविधान बमोजिम स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन कसरी सफल होला ?
अहिले संसदभित्र र बाहिर संविधान संशोधन विषयमा जुन राजनीति गतिरोजको अवस्था सिर्जना भएको छ, यो विषय मात्र फरक छ, नेपालको राजनीतिले यस्तो धेरै गतिरोधहरु पार गरिसकेको छ । यो गतिरोध आकस्मिक नभएर कृत्रिम र जानी बुझी गरेको गतिरोध हो । त्यसैले यसलाई नक्कली गतिरोध पनि भन्न सकिन्छ । सरकारको हैसियत अमुक कम्पनीको भन्दा खस्किएको अवस्थामा छ । नागरिकहरुले कुन अवस्थामा जीवनयापन गरिरहेको छ ? महँगी कति चर्केको छ ? शिक्षा, स्वास्थ र सार्वजनिक यातायात लगायत विदेशिन बाध्य जनताले कसरी आर्थिक क्षेत्र धानेको छ ? नागरिकको दैनिक जीवन र सार्वजनिक सरोकारको विषयमा सरकार तल्लीन र केन्द्रित हुनुपर्नेमा हालका राजनीतिक पार्टीहरु र सरकार जतिखेर, जुनसकै समयमा वैठक, सहमति, असहमति, निकास जस्ता औचित्यहीन जमघट र शब्द ओकल्ने समयको बर्बादी गरिरहेका छन् । यो अवस्थाले मुलुक क्रमशः विघटनको अवस्थातर्फ उन्मुख भएको सहजै आकलन गर्न सकिन्छ । राजनीतिक पार्टीहरु कुनै रचनात्मक एजेन्डामा वैठक बस्न छोडिसके । सरकारले जनसरोकारको विषयहरु छोडिसके, ट्राफिक जाम, लोडसेडिङ, अनसन, सानाभन्दा साना विषयहरु पनि प्रधानमन्त्रीको तहबाट समाधान गर्नुपर्ने अवस्था सिर्जना हुनु नै सरकारी यन्त्रहरु निष्कृय, विघटन र अक्रमण्यताको अवस्थामा पुग्नु हो ।
यस्तो धरातलमा उभिएको लोकतन्त्र, गणतन्त्र, राजननीतिक प्रणाली बालुवाको घरजस्तो हुनु स्वभाविकै छ । अहिले विस्तारै जनता र राजनीतिक पार्टी तीव्र गतिमा अलग र भिन्न हुँदै गएको छ, यो विघटनको पहिलो उदाहरण हो । सीमित आसेपासे कार्यकर्ता र राजनीतिक पार्टीको धाक र रवाफबाट आर्थिक उपार्जन गर्ने केही व्यक्तिहरु बाहेक नेपाली जो मिहिनेती नागरिकहरु छन, राजनीतिबाट वाक्क दिक्क भइरहेका छन् । यो विघटनको अर्को डरलाग्दो खतरापूर्ण सङ्केत र उदाहरण हो । जनताको तहमा कुनै सुविधा र सहुलियत प्रदान नगर्ने राजनीतिक पार्टी र नागरिकप्रति कुनै जिम्मेवारी लिन नसक्ने, सरकार नागरिक सरकार हुनै सक्तैन ।
आफ्नै विपन्न कार्यकर्ता, आर्थिक सहयोग र सेवा गर्न नसक्ने कार्यकर्ता, सबै उत्पीडनबाट ग्रस्त कार्यकर्तालाई अहिलेका जानेमानेका नेताहरुले आफ्नो कार्यकर्ता भनी माया गर्ने हैन चिन्नै छोडिसके । विदेशीहरु र एनजीओसँग बाक्लो सम्बन्ध भएका, ठूलै पोजेरो, ठूला लगानी, व्यापार व्यवसाय सञ्चालन गरिरहेका विषेशगरी सजिलो आर्जनमा लागेकाहरु र नेताले जति रकम मागे पनि नाइँ नभन्ने व्यक्तिहरु विश्वासपत्र र राजनीतिक कार्यकर्ताको परिभाषा भित्र पर्दै गएका छन् । निष्ठाको राजनीति गर्न खोज्ने, इमानदारिता र जनताको हक, हित र स्वार्थ गाँसिएका जनपक्षीय कुरा गर्नेहरु सङ्कीर्ण, पुराना विचार, असक्षम र पार्टीका लागि बोझ ठानिसकेका छन् । जनताको रगतले ल्याएका लोकतन्त्रले मोटाएका, नेता र उनीहरुका परिवारहरुले राज खानदानहरुलाई उछिनिसकेको छन् । यस्तो संस्कार र संस्कृति हुर्केको देशको आन्तरिक पक्ष कति कमजोर छ भन्ने अलिकति अध्ययन गर्ने सबैलाई सहजै जानकारीको विषय बनेको छ । मुलुक विघटनको अर्को उदाहरण हो यो ।
विश्वमा प्रथम विश्वयुद्ध, दोस्रो विश्व युद्ध र तत्पश्चात भएका छिटफुट सङ्घर्षले जनताको हक अधिकारको प्राप्ती र रक्षा मात्र गरेन, उनीहरुले उच्च राजनीतिक संस्कार, सभ्यता, संस्कृतिलाई रक्षा र जगेर्ना गर्ने शिक्षा प्राप्त गरे । १८औं सताब्दीबाट विकास भएको लोककल्याणकारी अवधारणाले विश्वका धेरै विकसित देशलाई यो अहिलेका अवस्थामा पु¥यायो । तर नेपालको सन्दर्भमा २००७ साल यताको परिवर्तनले झनपछि झन अस्तव्यस्त हँुदै जानुुका मुख्य कारण के हो ? राजनीतिक पार्टी र नेताहरुले अब मुख खोल्न जरुरी छ । तिमीहरुलाई कसको बाध्यता छ ? प्रधानमन्त्री र मन्त्रीकै लागि राजनीति गरेको हो भने प्रत्येक महिनामा पालो बाँडेर पालो पु¥याउँदा राम्रो हुन्छ । अन्यथा प्रधानमन्त्री, मन्त्री, कुनै अमुक पार्टीका नेता, वा सभासद भनेर परिचय गर्न पनि लाजै लाग्दो अवस्था तिमीहरुलाई देख्दा नेपाली जनता निरुत्साहित भइसकेको छन् । मुलुक विघटनको यो पनि अर्को गम्भीर सङ्केत हो ।
यो संविधान संशोधनका राजनीति एउटा छट्टु स्यालको कथा जस्तो भएको छ । प्रधानमन्त्रीले तोकिएको अवधि पु¥याउन संशोधन प्रस्ताव ससद्मा छिराउने, अनि एमालेलगायतका असहमत पार्टी र दलले संशोधन इन्कार गरेर विरोध जनाउने यसको परिणाम के हो ? शून्य । संविधान संशोधन नै गर्न नहुने र अनिवार्य रुपमा गर्नै पर्ने यी दुवै विषय अवस्थाजन्य हो । व्यवस्थापिका संसद उमेर कटाउने, समय व्यतित गर्ने, तलब पकाउने थलो होइन ।
संविधान जारी भए यता व्यस्थापिका संसद र सरकारले जनताको दैनिक जीवनलाई सकारात्मक प्रभाव पार्ने कति परिणाममुखी काम दुईजना प्रधानमन्त्री फेरे, लगभग ७० जनाको हाराहारीमा मन्त्री बनाए, जबरजस्ती ७ प्रदेशको घोषणा, पछि सबै घोषणै घोषणामा सरकारले समय बिताए, उदारहणीय कार्य प्रधानमन्त्री खड्ग ओलीले बाधा अडाकाउ फुकाउ संविधान संशेधन, पुष्पकमल दाहाल प्रचण्डको ४ नं प्रदेश बढाउ ५ नं प्रदेश घटाउ संशोधन कार्यक्रमले मुलुकको लोकतान्त्रिक राजनीति घुम्तीनिर भेट भयो । गीतको भाकाजस्तै भयो । संविधान संशोधनको राजनीति । संविधान कार्यान्वयनको राजनीति ।
संविधान संशोधनको विषयलाई राजनीतिक विषयमा प्रवेश गराउनु नै जटिलता उपन्न गर्नु हो । दोस्रो संविधानसभा घोषणामा मुलुकले जुन पीडा भोग्नु पर्यो, खिलराजलाई उभ्याएर चुनाव गराउनुपर्ने अवस्था सिर्जना भयो । अब यो देशमा पुनः अर्को खिलराजको औचित्य पुष्टि गर्न खाजिरहेका छन् । वर्तमान संविधान जारी हुनु नेपाली जनताको महान जित हो । तर यो संविधानलाई जोगाउन सकिएन भने मुलुकले आफ्नो अस्तित्व रक्षा गर्न धौधौ पर्ने छ । हामी त्यो बेला बीर गोर्खालीबाट कायर नेपाली भएर परास्त हुनुपर्ने छ । कुनै अमुक राजनीतिक नेता वा कार्यकर्ता भएर होइन । अहिलको समय विगतको भन्दा धेरै फरक छ ।
हामी कुनै अमुक पार्टी भएर सोच्नुभन्दा लोकतान्त्रिक र स्वाधीन देश नेपालको नागरिक भएर सोच्ने बेला आएको छ । यो मुलुक सबै नेपालीको मुलुक बनाउनुपर्ने अवस्था आएको छ । नेपाल मुलुकका सबै नेपालीहरुको साझा राजनीतिक दस्तावेज संविधानलाई भावनात्मक संस्थागत गर्नु छ । कसैको स्वार्थलाई प्रमाणित गर्ने संविधान मुलुकले चाहेको छैन । मधेस तराईको हक हितको पक्षमा पहाडी खस ब्राह्मणले बोल्नुपर्ने र पहाडमा बस्नेहरुको बारे मधेस तराईमा बसोवास गर्नेले पनि बोल्नुपर्ने नेपालको निमार्ण जरुरी छ । तर यहाँ सीधासीधा हाक्काहाक्की मधेस केन्द्रित दलहरुले मधेसका बारेमा बोल्नु पर्ने र ५ नं. क्षेत्रका जनताले पहाडको बारेमा बोल्नुपर्ने जुन बाध्यता मुलुकमा सिर्जना भएको छ, यसले मुलुकलाई ठीक ठाउँमा लाँदैन । हामी नेपालीहरुको अहिलेसम्मको सहिष्णुता, सद्भाव र पारस्परिकतामा ठूलो आँच फैलिन्छ, समयमै ध्यान दिन जरुरी छ । नेपालीहरु मधेसी, पहाडिया, भित्री मधेसी, हिमाली सबै हौ । हाम्रो देशमा जुन भूगोल छ, त्यो भूगोलमा हुर्केका हामी सबै नेपाली हौ । हामीबीचमा कुनै भेदभाव हुनुहँुदैन, हामी सबैले समान रुपमा राज्यमा प्रतिनिधित्व गर्ने हक हुनुपर्छ । नेपालका सबै धर्महरु नेपाली धर्महरु हुन् । सबै भाषीहरु नेपाली भाषीहरु हुन् ।
नेपालका सबै संस्कृति, प्रथा र परम्परा नेपाली सभ्यता हुन् । यसको जगेर्ना गर्नु, रक्षा गर्नु राज्यको दायित्व हो । तर नेपालमा यी सबै विषयवस्तुगत होइन, भावनामा मात्र सीमित हुन पुग्यो । सगरमाथा हिमाल र गुम्बाहरु, पहाडाका सबै मन्दिरहरु पशुपतिनाथ, बौद्धचैत्य, स्वयम्भू र तराईका जानकी मन्दिर बुद्ध जन्मथलो लुम्बिनी नेपालीको मात्र नभएर विश्व सम्पदाको सूचीकृत नेपालको गौरव हो । नेपाली यिनै धरोहरले परिचित छन् । तर २००७ साल यता नेपालको राजनीति यति तरल सावित भयो, लाखौँ जनताको बलिदानबाट आएको संविधानबाट संविधान निर्माणमा जटिलता, आठ वर्षको अथक प्रयासबाट आएको संविधान लागू गर्न समस्या, अब वर्तमान चरणमा आएर देशै चल्न नदिने समस्याका रुपमा जुन अवस्थामा मुलुक गुज्रिरहेको छ, यो परिदृश्यले मुुलुकलाई पछाडि धकेल्ने प्रवृत्तिहरु फेरि हावी हुन खोजिरहेको छ, यो निकै घातक र नयाँ खिलराजको उदयसहितको प्रतिगमनको सङ्केत हो । संविधान संशोधन सत्तारुढ र प्रतिपक्षको विषय मात्र हैन, संसदको गणितीय विषय मात्र पनि हैन, यो सिङ्गो मुलुकलाई अग्रगमनमा लाने विषय भएकाले संघीय लोकतन्त्रसहितको राष्ट्रिय एकता कायम गर्दै संघीय गणतन्त्रको संस्थागत विकासमा जुटौँ । संविधान संशोधन जस्तो गम्भीर विषयलाई सत्तारुढ र प्रतिपक्षको जुँगाको लडाइँ नबनाऔँ राष्ट्रिय स्वार्थ र स्वाधीनताको पक्षमा संविधान संशोधन प्रकृयालाई अगाडि बढाऔँ देश र जनताको हित यसैमा छ । स्वाधीन नेपालको गौरव र सबै नेपालीहरुको पहिचानसहितको आत्मसम्मान यसैमा छ ।
- राताेपाटी अनलाइनबाट

चेलीलाई छाउगोठ पठाएर मृत्युमा आँसु कहिलेसम्म झार्ने ?

सबिता बिसि
आफ्नै छोरीचेलीलाई छाउगोठमा पठाएर मृत्युको सिकार बनाउने तपाई हाम्रो रहर कि बाध्यता । कति कागजमा हस्ताक्षर गरियो होला है, जिल्लालाई छाउमुक्त बनाउनका लागि । अभियानहरु चल्दा त छोरीचेली घरकै कोठामा पनि सुताईयो होला ।
तर पनि ति सबै नारा र बाचाहरु त सबै कागजमा मात्रै पो सीमित भएछन हेर्नुस त । हिजो हामी नै हैन जिल्लालाई छाउपडी मुक्त बनाउँदा खेरी कुनै पनि छोरीचेलीलाई महिनाबारीका समयमा घरबाहिर सुताउँदैनौ भनेर भन्ने ? तर आज हेर्नुस हाम्रै दिदीबहिनीले महिनाबारी भएर घरबाहिर सुत्दा ज्यान गुमाउनुपरेका तितो यथार्थ त हाम्रै आँखा अगाडी पो घुम्न थाल्यो त ।
एकपल्ट गहिरिएर सोचांै त, हामी कस्तो समाजमा हुर्किरहेका छौँ ? अनि समाजमा कस्तो कुप्रथाको बिकास गराईरहेका छौँ ? संस्कार र संकृतिका नाममा हामीले त आफ्ना छोरीबुहारी अकालमै मृत्युको मुखमा पो पु¥याएका रहेछौँ त ।
प्रसंग जस्तासुकै हुन आखिर महिला र पुरुषलाई यो समाजले एउटै नजरले हेर्न सकेको छैन । बलात्कारका घटना किन बढिरहेका छन् भनेर हिजो बहस चल्दा त छोटो लुगालाई दोष दिने हाम्रो समाजले महिनाबारी हुँदा महिलालाई छाउगोठमा सुताउनु हुँदैन भन्ने कुरालाई कसरी सहर्ष स्वीकार गर्न सक्ला ?
समाजले के भन्ला भन्ने डरले छोरीचेली समयमै घरको ढोकाभित्र पस्नुपर्छ भनेर दबाद दिने परिवारहरु पनि हाम्रै समाजमा छन् । हामीले कहिलेसम्म समाजको डरले छोरीलाई घरभित्रै थन्काएर राख्ने ? यदि हामीलाई समाजको डर लाग्छ भने आउनुस नत समाज परिवर्तन गरौँ । हामी समाज परिवर्तनका लागि भनेर नाराबाजी गर्दैै हिड्न थालेको त वर्षौ अघिदेखि नै होनी । आखीर किन हुन सकेन त समाज परिवर्तन ?
बलात्कार किन बढ्छन् होला भनेर चियागफमा बहस गर्दा नारीको चरित्रलाई दोष दिनेहरुका कारण हाम्रो समाज परिवर्तन हुन सकिरहेको छैन ।
पुसको ४ गते एका बिहानै छाउगोठमै किशोरीको मृत्यु शीर्षकमा कान्तिपुर दैनिकमा लेखिएको समाचार पढे । समाचार थियो सुदूरपश्चिमको एउटा जिल्ला अछामको । समाचारका अनुसार छाउपडी मुक्त घोषणा भएको गाविसमै एकजना किशोरीले ज्यान गुमाईछिन् । यता छाउपडी मुक्त घोषणा गरिए पनि २ जना महिलाले पो ज्यान गुमाईसकेछन् ।
अछाम गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाले यो समाज र परिवारले छाउपडीमा सुत्न पठाएको समयमा मृत्युको मुखमा पुग्न बाध्य भईन् । गत शनिबार साँझ ६ बजे खाना खाएर घर नजिकैकोे छाउपडी गोठमा सुत्न गएकी रोशनीले आइतबारको बिहान र यो संसार देख्न पाईनन् ।
यसअघि मंसिर ४ गते पनि महिनाबारी भएकै बेला छाउगोठमा बस्दा अछामकै २१ वर्षीया डम्बरा उपाध्याय पनि बिहान मृत फेला परेकी थिइन् । अछाम जिल्लामा मात्रै २०६३ यता छाउपडी कै कारण जिल्लामा १० महिला र किशोरीको ज्यान गइसकेको तथ्यांक पनि हाम्रै अगाडी ताजा छ ।
अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिमको क्षेत्रमा यस्ता समस्याहरु व्यापक मात्रामा आईरहन्छन् । सरकारले कुनै पनि पहल चालेन भनौ भने वार्षिक रुपमा लाखौँ रकम त खर्चिरहेकै छ, लगानीको मात्रा पनि बढाईरहेको छ ।
एनजिओहरु पुगेनन् भनौं भने पनि नेपालमा अधिकांश एनजिओ तथा आईएनजिओहरु सुदूरपश्चिममै परिचालित छन् । तर पनि छाउगोठहरु किन घट्न सकेनन् त ? यो एउटा बहसको विषय बन्न पुगेको छ । छाउगोठमा मृत अवस्थामा फेला परेकी रोशनी मात्रै होइन छाउगोठमा साँझ सुतेर बिहानी संसार देख्न नपाउने महिलाहरुको तथ्यांक डरलाग्दो अवस्थामा छ ।
यो चिसो पुस महिनाको यस्तो जाडोमा कति पिडा भयो होला ति नारीलाई । हामीलाई शरीरभरी कपडा लगाएर बस्दा त खटाउनै गाह्रोपर्ने यो पुसको जाडो । काठ र परालले बेरेर छाउगोठ नाम दिइएको उक्त स्थानमा बस्दा ति नारीलाई कति पिडा हुँदो हो ? सौचौ त ? समाजका लागि भनेर हामीले कहिलेसम्म आफ्ना                  छोरीचेलीलाई छाउगोठमा बस्न बाध्य बनाईरहने ?
मैले संस्कार र संस्कृतिलाई चटक्कै भुलेर महिनाबारी हुँदा महिलालाई पहिलै बसिरहेकै स्थानमा बसालौ भन्न खोजेको होईन । तर संस्कार संस्कृतिलाई परिवर्तन गरेर महिनाबारी भएकै कारण महिलाहरुलाई घरबाट छुट्टै गोठमा सुताउने परम्परालाई सुधार गर्दै लैजाउ भनेको  हो । छाउपडी गोठमा महिनाबारी भएर चार रात बिताएपछि पाँचांै दिनमा मात्र घर फर्काउने कुप्रथा हामीले समाजमा कहिलेसम्म कायम राख्ने ?
सुदूरपश्चिमका जिल्लाहरुलाई छाउपडी मुक्त बनाउने समयमा जस्तै रोशनी र डम्बराले ज्यान गुमाउनु भन्दा अघिल्ला दिनहरुमा पनि अनुगमन भएको भए उनीहरुले अकालमै ज्यान गुमाउनु परेको तितो यथार्थ हामी कहाँ आउने थिएन होला ।
जबसम्म एजिओ र आईएनजिओहरु गाउँमा रहिरहन्छन तबसम्म कुनै पनि घरमा छाउगोठ हुँदैनन् अनि प्रत्येक घरका छोरीहरुका मन खुसीले हास्न थाल्छन् । तर जब एनजिओहरुले आफ्ना अभियानहरु सक्छन, उनीहरुलाई डलरको खडेरी पर्छ । तब छाउगोठमा बस्नुपर्ने बाध्यताहरुले छोरीचेलीको मनमा चिसो हावा पस्न थाल्छ ।
त्यो कालो रात, आफ्नै आमाबुबाले पठाएको त्यो छाउगोठको बास, कमजोरी अवस्था अनि अन्य समयको भन्दा खानपानमा पनि ध्यान दिनुपर्ने अवस्था, ओहो कस्तो कस्तो भोग्न परेको होला भन्दै आफ्नो जुनीलाई नै धिक्कार्न मन लाग्दो हो । ति छोरीलाई जसले, त्यो छाउगोठमा बसेर बाआमाको निर्देशन पालना गर्दै आज्ञाकारी छोरी बनिरहेकी छन् ।
-पश्चिम नेपाल डटकमबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१) पहिलो वातावरण सम्बन्धी सम्मेलन कहाँ र कहिले भएको थियो ? 
                                               — १९७२ जुन ५–१६, स्वीडेनको स्टकहोममा
२) चौधौं योजना (२०७३÷७४(२०७५÷७६)को आधारपत्र अनुसार २०७५÷७६ सम्म कति विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ?                                             — २,२७९ मे.वा.
३) चिपको आन्दोलन के सँग सम्बन्धित छ ?                                       — वन संरक्षण 
४) ऋक्ष्त्भ्क् को मूख्यालय का  रहेको छ ?                                   —वासिङ्गटन डि.सी. 
५) नेपाल र चिन बिच पारवाहन सम्झौतामा कहिले हस्ताक्षर भयो?           —सन् २०१६ मार्च २६
६) प्रदेश प्रमुखको नियुक्ति कोबाट हुने व्यवस्था रहेको छ ?                            —राष्ट्रपति
७) कुन जिल्लालाई चुरेक्षेत्रले ठिक दुई भागमा विभाजन गरेको छ?                     —नवलपरासी
८) चम्पा कुन देशको पुरानो नाम हो ?                                            —भियतनाम 
९) नेपालको संविधान(२०७२)को मस्यौदा समितिका संयोजकको रहेका थिए ?    —कृष्णप्रसाद सिटौला
१०) अरुण नदीको पौराणिक नाम महाप्रभा  हो भने मस्र्याङ्दी नदीको पौराणिक नाम के थियो ?                                          
                                                                            —शितप्रभा
११) नेपालले श्रम सम्झौता गरेको पहिलो मुलुक कुन हो ?                               —कतार
१२) नेपालबाट लोप भइ सकेको भनिएको सिरीगाई कुन जिल्लामा फेला परेको छ ?        — ताप्लेजुङ्ग
१३) नेपालको पहिलो इको सिटी(भ्अय अष्तथ) कुन हो ?                         —चितवनको माडी
१४) अन्तराष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?                                —जनवरी २६
१५) वरिष्ट सँगितकार अम्बर गुरुङ्गको निधन कहिले भएको थियो ?            —वि.स.२०७३ जेठ २५
१६) साउदी अरबको मक्कामा हजयात्रीहरुको भागदौड मच्चिदा ७६९ जनाको मृत्यु हुने गरी दुखद घटना कहिले घटेको थियो?                                       —सन् २०१५ सेप्टेम्बर २४
१७) कृषि विकास मन्त्रालयले हेलो किसान कार्याक्रम (किसान कल सेन्टर) को सुरुवात कहिले देखि गरेको थियो ?                                                   —वि.स.२०७२ फागुन १६   
१८) परिबन्दमा १५ बर्ष कसको कृति हो ?                                      —गोविन्द मैनाली
१९) नेपालमा उडान गर्ने अन्तराष्ट्रिय वायु सेवा कम्पनीको संख्या कति रहेको छ ?        —२८ ओटा
२०) राहुघाट जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ  ?                                —म्याग्दी
२१) नेपालको राष्टूपतिको लागि उम्मेद्धार हुन कम्तिमा कति उमेर पुगेको हुनु पर्दछ ?       —४५ बर्ष 
२२) बैंक अफ द एयर, २०१५ को अवार्ड कुन बैंकले हात पारेको छ ?        —स्ट्याण्डर्ड चार्टर्ड बैंक
२३) नेपालमा विद्युतीय शवदाह गृहको सुरुवात कहिले देखि भएको हो  ?           —२०७३ माघ १० 
२४) जाजुरा दह कुन जिल्लामा पर्दछ ?                                                 —सुर्खेत
२५) रसियाको मुद्रालाई के भनिन्छ ?                                                   —रुबल
२६) भरतपुर कुन नदीको किनारमा अवस्थित छ ?                                    —नारायणी
२७) सिरुवा पर्व कुन जाति सँग सम्बन्धित छ ?                                      —राजवंशी
२८) फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँका राजाको थिए ?                                —लुई सोह्रौ 
२९) वाफबाट चल्ने मेसिनको आबिष्कार कसले गरेका हुन् ?                           — जेम्सवाट
३०) सियार जातिको मुल बसोबास कुन जिल्लामा रहेको छ  ?                            —गोरखा
३१) मानव शरिरमा कति प्रतिशत प्रोटीन रहेको हुन्छ ?                                   —२०
३२) थोमस एल्वा एडिसनको जन्म कुन देशमा भएको थियो ?                      —America
३३) औलो ज्वरो (ःबष्चिष्ब) कुन जिवाणुको कारणले लाग्दछ ?              —Plasmodium
३४) ःब्ल् को पुरा रुप के हो ?                      —Metropolitan Area Network
३५) भाइरस सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ  ?                    —Virology
३६) गैंडाको औसत गर्भाधारण अवधि कति दिनको हुन्छ  ?                           —४५० दिन
३७) चिनमा एसियन इन्फ्राइस्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (ब्क्ष्क्ष्द्य)को स्थापना कहिले भएको हो ?                             
                                                                     —सन् २०१५ जुलाइ २९
बौद्धिक परीक्षण खण्ड
३८) यदि CIGARETTE शब्दलाई  GICERAETT ले कोड गरिन्छ भने DIRECTION लाई कसरी कोड गरिन्छ ?
A) RIDTCENOI        B) NORTECD       C) NOIETCRID        D) IRDCTIONE
३९) दिइएको श्रेणीमा प्रश्न चिन्ह(?) राखिएको ठाउँमा के हुन्छ ?
H, I, K, N, ?
A) O                B) Q                  C) R                     D) S
४०) यदि थ्, ह् भन्दा २५५ कम हो भने , थ् भन्दा ह् कति प्रतिशतले बढी होला ?
A. १६             B. २२.२२              C. २५              D. ३३.३३
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ । 
मिति  २०७३ साल पौष १२ गते मंगलबारको बिम्ब नेपाली साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरुः
  ३८) D                   ३९) B                            ४०) B

साहित्य÷सृजना 

कबिता

ओ घाम 
अब तिमी नउदाई दिनु
ए जुन ... तिमी पनि अब नमुस्काई दिनु ।
उ हिडिसकी मदेखि धेरै टाढा 
ए पानी .......तिमी नबगिदिनु यसरी अब ।
हावा तिमी पनि नडुलिदिनु । 
र फूलहरु तिमी यसरी अब नफुलीदिनु ।
किनकी उ यहाँबाट गैसकेकी छ ।
नफर्किने गरी उ हिडिसकेकी छ यो ठाउँबाट
फूल्न त उ पनि फुलेकी थिई
चल्न त उ पनि चलेकी थिई हावा जस्तै बहेकी थिई ।
बग्न त नदी जस्तै बगेकी थिई 
जुन जस्तै मुस्काएकी 
र घाम भन्दा पनि तेज भएर उदाएकी थिई कुनै दिन ।
अब सब थोक टक्क अडिनु
वर्षौदेखिको ढुंगा जस्तो भएर मौन बस्नु
स्थिर रहनु ।
बरु ढुंगैढुंगाको एउटा बगर बन्नु ।
नबिन अभिलाषी
घोराही, दाङ्ग

पुर्नजन्म

तिम्रो आँखाबाट बगेका आँसुहरु देखेर 
म कुनै काँडाहरुमा अल्झिन नसक्ने भएको छु ।
डाम छ निलो यो छातीमा 
तिमीले हानेको अविस्वासको छुरा यतै छ खिया लागेको 
रगतका टाटाहरु छन मेरो सिरानीमा ।
मेरो स्पन्दनको भित्ताबाट उप्किए
तिम्रो अब्स्टयाक्ट अनुहारका पुराना पेटिंगहरु,
मधुरा मधुरा बने गीतहरु 
र फूलहरु खसे ।
अन्तिम पटक 
म तिमीलाई जवरजस्त सम्झेँ र रोए
उस्तै सम्झेँ र हाँसे ।
मेटेर रहरको ईरेजरले दुःखका अनेक चित्रहरु
म आज आफुलाई पुरै सादा बनाई दिए । 
–बेनामी

प्रदेशी जीवन

कति पीडा खेप्दै जानु, चोटहरु लाएर 
कति बस्नु पर्देशमा आँसु बगाएर ।।
कमाई छैन प्रदेशमा बेरोजगारी बढे पछि 
प्रदेशमा जानु प¥यो आँसु बगाएर ।।
फ्रकिएर बिचबाटोमा आँसु पुछ्दै हिड्नु पर्ने 
प्रदेशमा सुख छैन पसिना बगाएर ।।
जानु प¥यो प्रदेशमा घरको माया मारी 
सजाएका सुन्दर सपना, लग्यो आज बगाएर ।।
मायालु मिलन वि.क 
कलेना गा.बि.स.–३, डोटी

सूचना÷सन्देश÷बिज्ञापन 

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।
जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

हार्दिक बधाई

अखिल क्रान्तिकारी डोटीको सातौं अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा क.बीर बहादुर थापालाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
       प्रो. रुपक थापा 
जोरायल फोटो स्टुडियो, सिलगढी डोटी

No comments:

Post a Comment