सारा नेपाली मिलेर अन्याय, अत्याचारको बिरुद्धमा लड्नु पर्छ र यस्तो अन्याय, अत्याचारवाट मुक्त हुनु पर्छ भन्ने आजको मागलाई हामी सवैले बुभ्mनु पर्दछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
सरकार चुनावमा जान ईच्छुक छैन–रावल
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकार चुनावमा जान ईच्छुक नरहेको आरोप लगाएका छन ।
गृह जिल्ला अछाम जाने क्रममा डोटीको सिलगढीमा पत्रकारहरुसंग कुरा गर्दै नेता रावलले सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग चुनावको मिति घोषणा गर्न गरेको सम्झौता कार्यान्वयन नगरेको वताए । ‘चुनाव नगराउने बहाना गर्दैछ सरकारले’ नेता रावलले भने ‘सबै दलहरुको सहमति भएपछि मात्र चुनाव हुन्छ भन्नु चुनाव नगराउने खेल हो ।’ २०७० सालको संबिधानसभाको निर्वाचनमा मोहन बैद्यले नेतृत्व गरेको नेकपा माओवादी लगायत ३३ दलहरुले चुनाव बहिस्कार गर्दापनि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको उदाहरण दिँदै रावलले भने ‘सवै दलहरुका बिचमा सहमति भएपछि मात्र चुनाव गराउँछु भन्नु चुनावबाट डराएर पछि हट्नु हो । सवै दलको सहमति खोजेर मात्रै चुनाव गर्ने हो भने देशमा कहिल्लै पनि चुनाव नहुने रावलको भनाई छ ।
सञ्चारकर्मीहरुको एक जिज्ञासामा रावलले भने ‘देश टुक्राएर छुट्टै देश बनाउँछु भनेर खुल्याम भेला गर्दै हिड्ने सि के राउतलाई सरकारले छुट दिनुले यो सरकार कति राष्ट्रबादी छ भन्ने कुरा प्रष्ट भएको ।’ उनले नेकपा एमाले राष्ट्र, राष्ट्रियता र जनताको सर्वोच्चता बिपरित हुने गरि कुनै प्रकारको सम्झौता नगर्ने दावी समेत गरे ।
मधेशमा एमाले कमजोर भएको भन्ने पत्रकारहरुको प्रश्नमा रावलले एमाले मधेशमा झन बलियो भएको दावी गरे । उनले भने ‘दुई चार जना नेताहरुले बिरोध गर्दैमा एमाले कमजोर भयो भनेर प्रचार गरिनु एमालेमाथीको षड्यन्त्र हो, एमालेले मधेशमा आयोजना गरेका कार्यक्रमहरुमा जनताको उत्साहजनक उपस्थितिले यो कुरा पुष्टी गरेको छ ।’ एमालले मधेशलाई केन्द्रित गर्दै मेची महाकाली बिशेष अभियान सञ्चालन गर्ने योजना वनाएको नेता रावलले वताए ।
बिमानस्थलमा भारतीय सेनालाई राखेकोप्रति सरकारको कडा आलोचना गर्दै रावलले भने ‘यस बिषयमा प्रधानमन्त्री सरासर झुटा बोल्दै हुनुहुन्छ, प्रधानमन्त्रीनै झुटा बोल्न थाल्नु भयो भने यो देशको अवस्था कस्तो होला ?’ उनले एमालेले नेतृत्व गरेको सरकारको पालामा भारतीय सेनालाई बिमानस्थलमा राख्ने गरि कानुनको मस्यौदा वनेको भनी प्रसार गरिनु दुर्भाग्यपूर्ण भएको भन्दै आक्रोस पोखे । उनले प्रश्न गरे ‘आधार र प्रमाण बिनै प्रधानमन्त्री जस्तो जिम्मेबार व्यक्तिले यस्तो कुरा भन्न मिल्छ ?’
‘मैले देशमा बिखण्डन ल्याउने गरि पटनामा बैठक भएको भन्दा प्रधानमन्त्री प्रचण्ड स्वयंले यस्तो नभएको दावी गरेका थिए’ प्रेस चौतारी नेपाल, डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले भने ‘पछि तिनै प्रधानमन्त्रीले पटनामा बैठक त भएको रहेछ तर के बिषयमा छलफल भएको हो त्यो थाह भएन भनेर अभिव्यक्ति दिए ।’
संबिधान संसोधनको बिषयमा पत्रकारहरुले राखेको जिज्ञासामा नेता रावलले भने ‘संबिधान संसोधन अहिलेको आवश्यकता होईन, संबिधान कार्यान्वयन अहिलेको आवश्यकता हो ।’
सम्पादकीय
निश्पक्ष छानबिन होस ।
करीव दुई वर्ष जति भएको थियो, यस्तो समाचार बाहिर नआएको । लाग्दैथ्यो अव डोटीमा बन तस्करहरु सकिए । अव बन जोगियो तर त्यसो रहेनछ । बन फडानी फेरी पनि भईरहेको रहेछ, हामी सञ्चारकर्मीहरु लगायत सम्वन्धित सरोकारवाला निकायहरुको आँखा नपुगेको मात्रै रहेछ । अहिले फेरी बाहिर आएको छ बन फडानीको कुरा । यो घटना के हो, कुन दोषी हो, कुन मतियार हो सबैको बिषयमा मसिनो ढंगबाट छानबिन गरिनु पर्छ र दोषीमाथी कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।
डोटीको बन फडानीको ईतिहास नौलो होईन र तरिका पनि नौलो होईन । बन तस्करहरु, टाठाबाठा उपभोक्ताहरु, उपभोक्ता समितिका पदाधिकारीहरु र बनका कर्मचारीहरु सबै मिलेर बन फडानी गर्ने अनि भागबण्डामा कुराकानी नमिलेपछि एक पक्षले आएर सञ्चारकर्मीहरुलाई जानकारी गराउने परिपाटी छ । बन बचाउनका लागि गम्भिर भएर कसैले खवर गरेको होईन । यदि बन जोगाउनकै लागि खवर गर्थे भने समयमै गर्थे । तस्करहरुको आपसी लडाईका कारण कतिपय घटनामा सञ्चारकर्मीहरु पनि मुछिएको खवर समेत आउने गर्दछ ।
यस पटक पनि बन जंगल सखाप भयो भन्ने चिन्ताले यो खवर सञ्चारकर्मीहरुसम्म पुगेको होईन । तस्करहरुको एकआपसमा भएको शत्रुताले गर्दा पुगेको हो । तस्कर गर्न सकिने ईलाकामा को जाने भन्ने लडाईको परिणाम हो यो । जिल्ला बन कार्यालय र सम्वन्धित सरोकारवाला निकायहरु होसियार हुनु जरुरी छ । द्वन्द्वकालमा टाउकोमा कात्रो बाँनेर सञ्चारकर्मीहरुले बन फडानी भएको क्षेत्रमै गई समाचार सम्प्रेषण गरेका थिए तर हातलागी शुन्य भयो । तस्करहरु र सम्वन्धित सरोकारवाला निकायहरु आपसमा मिले, कसैलाई कतै कुनै पनि प्रकारको कारवाही भएको देखिएन । यस्तो अवस्था नहोस । त्यतिबेला सञ्चारकर्मीलाई पनि खिन्नता लागेको थियो ।
पुरै बन फडानी भएपछि मात्रै सूचना वाहिर आउनुले यस पटक पनि आपसको भागवण्डा नमिलेको हो भन्ने प्रष्ट छ । डोटीको दक्षिणी क्षेत्रमा को कर्मचारी जाने भन्ने बिषयमा जिल्लामा मात्रै होईन क्षेत्र हुँदै बिभाग र मन्त्रालयसम्म पनि चर्चा हुन्छ रे । यसरी जानका लागि एकले अर्काको खुट्टा नकाटेसम्म सफल भईदैन । त्यसैले मात्र सूचना बाहिर आउँछ ।
जिल्ला बन कार्यालयले स्थलगत अध्ययनका लागि टोली सम्वन्धित क्षेत्रमा पठाएको छ । त्यो टोली कति निश्पक्ष होला भन्ने प्रश्न एउटा छ । त्यसका साथसाथै अनुसन्धान गर्ने निकायहरु कति निश्पक्ष हुन्छन भन्ने बिषय अर्को छ । बन फडानी हुँदैछ भन्ने सूचना लिक गर्ने व्यक्तिहरुनै जिल्ला बन कार्यालयको अनुसन्धान टोलीमा परेका त छैनन् ? यदि त्यसो हो भने यो अनुसन्धान कत्तिको प्रभावकारी हुन सक्छ ।
कतिपय सन्दर्भमा समाचारले कमिसनखोरीहरुलाई पनि कमिसन खाने बाटो देखाईदिन्छ भन्ने गरिन्छ । समाचार प्रकाशन भएपछि थाह नपाएका कमिसनखोरहरु पनि सूचना पाउँछन र भागवण्डाको लागि ‘बार्गेनिङ्ग’ सुरु गर्छन । अनि समाचार लेख्नेहरु गलत हुन्छन, तस्कारहरु, भ्रष्टाचारीहरु, कमिसनखोरहरु सबै दुधले धोएका हुन्छन । यस पटक त्यस्तो नहोस् हाम्रो आग्रहयुक्त चेतावनी हो ।
सामुदायिक बनहरुले आफ्नो कार्ययोजनामा भए अनुसारको बन पैदावार प्रक्रियागत रुपमा निकासी पैठारी गर्न पाउने कानुनी व्यवस्था छ । सामुदायिक वन उपभोक्ता भन्ने बित्तिकै सामुदायिक बनको संरक्षण, सम्वद्र्धन र सदुपायको गर्ने व्यक्तिहरु भन्ने बुझिन्छ तर प्रक्रियामा नगई वा प्रक्रियामा गएको भन्दा बढी वा कार्ययोजना भन्दा बढी बन पैदाबार तस्कर गर्नेहरुलाई कारवाही हुन पर्छ कि पर्दैन ? बिधान र कार्ययोजना बिपरित चल्ने सामुदायिक बनहरु फिर्ता लिन सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि यत्रो बन बिनाश हुँदा पनि कदम नचाल्नुका पछाडीको राज के हो ? खोजी होस् ।
थप समाचार
बहुक्षेत्रीय पोषण योजना लागु हुँदै
डोटीका आठ गाबिसमा बहुक्षेत्रीय पोषण योजना लागु हुने भएको छ । सोमबार जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठीमा उक्त योजना लागु हुने बताइएको छ ।
नेपाल सरकारका तीनवटा निकायहरु राष्टिूय योजना आयोगको सचिवालय, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा यो कार्यक्रम लागु भएको डोटीका स्थानीय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले बताए ।
गोष्ठीमा दिसिनपा १ की बबिता श्रेष्ठ र दिसिनपा २ की राधिका भट्टलाई फलफूल बितरण गरी औपचारिक कार्यक्रम उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले सन् २०१२मा बहुक्षेत्रीय पोषण योजना लागु भएपछि कुपोषित हुने बालबालिकाको संख्याको दर घट्दै गएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले भने, ‘यो कार्यक्रम शुरु हुँदा देशभरी मै ६ वटा जिल्लामा मात्र लागु भएको थियो जसमा सुदूरपश्चिमका बाजुरा र अछाममा पनि लागु भएको थियो ।’ देशभरीकै आँकडा हेर्दा सबैभन्दा बढी कुपोषित बालबालिका हुने जिल्लाहरुलाई बढी प्राथमिकता दिने हुनाले छनौटमा पर्ने गरेको बिष्टले बताए ।
सन् २०१४ देखि ०१७ सम्मको अवधीमा बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन, कुपोषणबाट खासै सुधार नआएको राष्ट्रिय योजना आयोगका मिनराज ज्ञवालीले बताए । उनले भने, ‘बहुक्षेत्रीय पोषण योजनालाई पछिल्लो समयमा ८ वटा मन्त्रालयले सहयोग गर्दै आएका छन । दीर्घरोग घटाउने तर्फ समग्र मुलुकलाई उन्मुख गराउने, मानब पुँजी समग्र सामाजिक आर्थिक बिकासमा कुपोषण बाधकको रुपमा रहि रहने छैन भन्ने सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।’
नेपालमा सन् २०२२ सम्म कुपोषणको अन्त्य गर्ने लक्ष्य राखेको ज्ञवालीले बताए । देशभरीमा सबैभन्दा गरिबीले कुपोषण हुने गरेको सुदूर तथा मध्य पश्चिमाञ्चल रहेकोले दोश्रो चरणका कार्यक्रमहरु देशभरी मै बहुक्षेत्रीय पोषण योजना कार्यक्रम २८ वटा जिल्लाहरुमा लागु भएको छ । जसमा सबै भन्दा बढी सुदू–र तथा मध्यपश्चिमका १६ वटा जिल्लाहरुमा लागु भएको छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुला बाहेक ६ वटा जिल्लामा कार्यक्रम लागु भएको शर्माले बताए ।
डोटी जिल्लामा यो कार्यक्रम लागु भएसंगै स्थानीयहरुमा पनि चेतना फैलिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत शरद बिष्टले बताए । उनले भने, ‘पछिल्लो समयमा स्वास्थ्य संस्थामै प्रसुती गराउने महिलाको संख्या ६० प्रतिशत भन्दा बढी रहेको छ । जसले गर्दा सहि ठाउँमा प्रसुती गराइ आमा र बच्चाको स्वास्थ्यमा सुधार आउँछ ।’
प्रहरीकै भवनमा ठगिए स्थानीय
लामो सयमदेखि मजदुरहरुलाई रासन उधारो दिँदै आएका चवाराचौतारा–८ का पूर्णवहादुर बम गत जेठ ३ गते धेरै खुशी भए । ठेकेदार शंकर शर्माले उनको पसलको ६६ हजार साँवा र सो को सयकडा तीन प्रतिशतका दरले हुन आउने रकम सहित साँवा व्याज गरेर कुल एक लाख तीन हजार रुपैयाँको चेक दिएपछि उनले आफ्नो सवै पैसा असुल भएको अनुभुति गरे । एसएसिसी बैङ्कको मिति नकोरिएको चेक बोकेर पूर्ण करीव एक हजार खर्च गरेर दिपायल पुगे । दिपायल पुग्दै उनको अनुहार फेरी मलिन भयो । उनले पाएको चेकको खातामा पैसा थिएन ।
यो घटना अन्त कतैको होईन, डोटी जिल्ला चवाराचौतारामा हालै निर्माण कार्य सम्पन्न भएको चनुकाँडा प्रहरी चौकीको हो । प्रहरी चौकीको नयाँ भवन निर्माणका लागि गरिएको टेण्डर आव्हान अनुसार कैलालीको केएस रुद्राबती जेवीको टेण्डर स्वीकृत भयो । दुई तले उक्त भवन निर्माणका लागि २०६९ साल माघ १९ गते जिल्ला प्रहरी कार्यालय डोटी र निर्माता कम्पनीका आधिकारिक व्यक्ति शंकर शर्मासंग सम्झौता भयो । मुल्य अभिबृद्धि कर (भ्याट) सहित ७३ लाख ६२ हजार पाँच १८ रुपैयाँको लागत सम्झौता भएको उक्त भवन दुई वर्षभित्र निर्माण भईसक्नु पर्ने थियो तर म्याद थप्दै जाँदा उक्त भवन गत असोज २८ गते मात्रै जिल्ला प्रहरी कार्यालय डोटीको जिम्मामा आयो ।
भवन जिम्मामा आएसंगै स्थानीयबासीहरुले निर्माता कम्पनीका आधिकारिक व्यक्ति शर्माको नाममा आफुहरुले गरेको कामको मजदुरी समेत नदिएको भन्दै प्रहरी कार्यालयमै उजुरी आयो । ‘स्थानीय ३९ जनाले संयुक्त रुपमा निबेदन दिएका छन’ डोटीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिल्लीराज बिष्ट भन्छन् ‘उक्त निवेदनबाट तीन लाख नौ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ ।’
स्थानीयबासीहरुको लिखित उजुरी आईसकेपछि प्रहरीले पनि तत्काल एक्सन लियो । आफ्नो कार्यालयबाट निर्माता कम्पनीले पाउनु पर्ने सवै रकम भुक्तानी भएको भएपनि राष्ट्रिय बाणिज्य बैङ्क डोटी शाखालाई उक्त कम्पनीको नाममा रहेको खाता रोक्का गरिदिन आग्रह ग¥यो । बैङ्कले खाता रोक्का पनि ग¥यो ।
प्रहरीले ठेकेदार शर्मालाई बोलाई कुराकानी गर्दा उनले आफुलै कुनै कसैको रकम दिनु बाँकी नरहेको दावी गरे । ‘मैले कसैको पनि रकम दिनु छैन भन्छन’ प्रउ बिष्टले भने ‘मैले गाउँमै गएर सवै कुरा मिलाएर आउनु अनि खाता फुकुवा हुन्छ भन्दा मान्दैनन् ।’ पछिल्लो केही समयदेखि शर्मा सम्पर्कमा नभएको बिष्टले जानकारी दिए । ठेकेदार शर्माको खाता फुकुवा गर्नका लागि निर्माण व्यवसायी संघबाट समेत दवाव आईरहेको बिष्टले वताए ।
उता स्थानीयबासीहरुले ठेकेदारले आफुहरुको रकम भुक्तानी नगरेसम्म नयाँ निर्मित भवनमा प्रहरी चौकी सर्न नदिने वताएका छन । स्थानीयबासीहरुको भनाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मीन बमले भने ‘स्थानीयबासीहरु आफ्नो ज्याला मरेकोमा आक्रोसित छन ।’ बैङ्कले पनि खाता फुकुवा गर्ने योजना वनाईरहेको भन्ने सुनिएको बमको भनाई छ । ३९ जनाले मात्र निवेदन दिएको भएपनि गाउँमा अरु पनि पैसा नपाउने व्यक्तिहरु रहेको बमको भनाई छ ।
जनताको रक्षाका लागि वनाईएको प्रहरी चौकीको भवनबाटै जनताले ठगिनु परेपछि न्याय कहाँ पाईएला । प्रहरीसंगै सम्झौता गरेर प्रहरीकै भवन वनाउँदा यस्तो गर्न सक्ने निर्माताले अन्यत्र के गर्लान भन्ने प्रश्न उठेको छ । यस बिषयमा निर्माता कम्पनीका आधिकारिक व्यक्ति शर्मासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
राष्ट्रिय जनमोर्चाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
राष्ट्रिय जनमोर्चा डोटीले डोटीको जोरायल क्षेत्रमा भएको बन फडानीको बिषयमा निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो पार्टीले स्थानीयस्त–रमा सरकारी कर्मचारी र प्रहरी को समेत मिलेमोतोमा बन फडानी भएको आसंका गर्दै उच्चस्तरीय समिति गठनको माग गरेको हो । ज्ञापन पत्रमा भनिएको छ ‘जिल्लास्थित बन कार्यालयले गरेको छानबिनमाथी बिश्वास गर्न सक्ने अवस्था छैन । त्यसैले उक्त गैरकानुनी तथा अवैध काठ कटानी कार्यको छानबिन गर्न माथिल्लोस्तरबाटनै उच्चस्तरीय छानबिन टोली गठन गरेर घटनाको आवश्यक छानबिन गरि त्यस कार्यमा संलग्न दोषी कर्मचारी र ठेकेदारहरुलाई आवश्यक कानुनी कारवाहीको माग गर्दछौं ।’
यस्तै घटनाको निश्पक्ष छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रको समेत ध्यानाकर्षण गराएको राष्ट्रिय जनमोर्चा डोटीले जानकारी दिएको छ ।
ज्ञापन पत्र बुझ्दै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बन फडानीसंग सम्वन्धित कागजातहरु नियन्त्रणमा लिइएको वताए । उनले भने ‘सो घटनामा संलग्न भएको आरोप लागेका दुई कर्मचारीहरुलाई जिल्लामा झिकाइ छानबिन भईरहेको छ ।’ बिष्टले बन फडानीबारे स्थलगत रुपमा जिल्लाबाट खटिएको अनुगमन टोलीले कागजात र काठ नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताए । ‘काटिएका काठ नापतौल गरेर सम्बन्धित सामुदायिक बनमै नियन्त्रण गरि राखिएको छ’ बिष्टले भने ‘त्यसको सत्यतथ्य अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’
निमित्त प्रमुख जिल्ला अधिकारी बिष्ट भन्छन् ‘प्रहरीको समेत संलग्नता छ भन्ने त मलाई लाग्दैन, तर के भएको हो भन्ने कुरा छानबिनबाटै थाह हुन्छ ।’ उनले आफुले पाएको जानकारी अनुसार गएको जेठ १५ गतेभित्र काम सम्पन्न गरिसक्ने गरि सामुदायिक बनको कार्ययोजना अनुसार त्यस क्षेत्रका चार सामुदायिक बनहरुलाई ईजाजत दिईएको थियो । ‘त्यतिबेला बर्षात सुरु भएर वा अरु केही कारणले ईजाजत अनुसारको काठ निकासी हुन नसकेको भन्ने खवर आएको छ’ बिष्टले भने ‘प्रक्रिया मिलेको छैन ।’
लक्ष्मीनगर गाबिस–१ मा रहेको परिवर्तन सामुदायिक बनबाट दुई हजार ७५ क्यूफिट, वडा नं. ८ का सिद्धबाबा सामुदायिक बनबाट एक हजार दुई सय सात क्यूफिट, मालिका सामुदायिक बनबाट चार हजार एक सय ६७ क्यूफिट र मसानी सामुदायिक बनबाट ६ हजार चार सय क्यूफिट काठ कटानी गर्न त्यतिबेला ईजाजत पाएको आफुलाई जानकारी आएको बिष्टले जानकारी दिए । उनले भने ‘यदि तोकिएको समयमा काम सम्पन्न हुन नसकेको भए कारण सहित नयाँ आर्थिक वर्षमा प्रक्रियामा जानु पर्ने हो, त्यसो भएको पाईदैन ।’
लक्ष्मीनगर गाबिस–८ का मालिका, सिद्धबाबा, मसानी सामुदायिक बनमा कर्मचारी, ठेकेदार र उपभोक्ताहरुको मिलेमोतोमा करीव ११ हजार क्यूफिट बरावर सल्लाका रुखहरु अबैध काटिएका छन ।
भारत जानेको तथ्याँक राख्न बडा नागरिक मञ्च परिचालन गरिने
रोजगारीका लागि भारत जाने कामदारहरुको तथ्याँक संकलन गर्नका लागि बडा नागरिक मञ्च परिचालन गरिने भएको छ ।
सुरक्षित आप्रबासनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको निड्स नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा महिला तथा बालबालिका कार्यालय, डोटीले आयोजना गरिएको ‘सुरक्षित आप्रबासनका सवालमा सार्वजनिक सम्वाद कार्यक्रम’ मा बडा नागरिक मञ्चहरुलाई रोजगारीका लागि भारत आउजाउ गर्नेहरुको तथ्याँक संकलन र अद्याबधिक गर्ने जिम्मा दिने निर्णय गरेको हो । स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतमले भने ‘प्रत्येक वडामा वडास्तरीय रजिष्टर राखिने र मुल रजिष्टर गाउँ बिकास समितिमा राखिनेछ ।’ गाउँबाट कुन व्यक्ति भारत जाँदैछ भन्ने कुरा वडा नागरिक मञ्चलाई थाह हुने भएका कारण यो संरचना प्रभावकारी हुने गौतमको भनाई छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले भारतमा हराएको व्यक्तिहरुको खोजी कार्यका लागि भारतसंग सिमा जोडिएका जिल्लाहरुका प्रमुखहरुसंग समेत आग्रह गरिने वताए । उनले भने ‘यो गम्भिर बिषय छ, यस बिषयमा छलफल गर्नका लागि बृहत बैठक आयोजना गर्नु पर्ने देखिन्छ ।’
गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले आफु गाउँतिर जाँदा भारतमा हराएका कामदारहरुको परिवारको बिचल्ली देखेको वताउँदै स्थानीय निकायहरुबाट उनीहरुको आय आर्जनका लागि रकम बिनियोजन गर्नु पर्ने धारणा व्यक्त गरे । यस्तै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मीन बमले भारतमा जानेहरुको तथ्याँक संकलन गर्नु पर्ने बिचार व्यक्त गरे ।
कार्यक्रममा डोटी जिल्लाका १२ गाउँ बिकास समितिबाट कामको सिलसिलामा भारत भएका एक सय सात जना हराएको निड्स नेपालले जानकारी दिएको थियो ।
छोटकरी समाचार
युवा समितिद्वारा कार्यक्रम माग
१६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरुका लागि लक्षित गरि राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको व्यवसायिक उद्यम कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आव्हान गरिएको छ ।
जिल्ला युवा समिति डोटीका अध्यक्ष बमवहादुर बमले परिषद्ले उक्त कार्यक्रमका लागि माघ ३ गते प्रस्ताव आव्हान गरेको हुँदा प्रस्ताव पेश गर्न युवाहरुलाई आव्हान गरेका छन । कम्तीमा ५० प्रतिशत महिला सहित एकै वडाका १० जना युवाहरु मिलेर प्रस्ताव पेश गर्नु पर्ने प्राव्धान रहेको बमले वताए ।
सरकारले नमुनाको रुपमा दुई सय ४० बटै निर्वाचन क्षेत्रमा प्रति क्षेत्र एक कार्यक्रम पर्ने गरी यो परियोजना सञ्चालन गर्न लागेको वताउँदै कार्यालय प्रमुख किसानराज चिलवालले भने ‘यो कार्यक्रममा प्रस्ताव पेश गर्ने मिति फागुन मसान्तसम्म रहेको छ । युवा समितिले युवा लक्षित कार्यक्रम गर्ने उनले वताए ।
चलचित्र/मनोरञ्जन
राजेशको ओप्पा किराँत स्टाईल
कान्तिपुर दैनिक
तिमी ज्यान माग, ज्यान माग गाउँदै चर्चित भर्सटायल गायक राजेश पायल राई जब स्टेजमा झुम्न थाले अघिल्तिर दर्शकको भीड थामि नस्कनु भयो । यो दृश्य थियो, शनिबार दक्षिण कोरियाको राजधानी सोलस्थित एक हलको । रंगीचंगी बत्तिको चमकमा गायक पायललाई आफ्नै अघिल्तिर पाउँदा कोरियाबासी नेपालीहरुले आफ्नो खुशीलाई यसैगरी पोखेका थिए ।
कोरियन नयाँ वर्ष सलनालको विदाको उपलक्ष्यमा किराँत राई यायोक्खा कोरियाले यो अवसर जुटाइदिएको थियो । स्टेजको अघिल्तिर उफ्रिदै कोरियाको चिसो मौसमलाई तताउने सय हाराहारीका दर्शक मात्र हैन सिटमै झुम्ने दर्शकको पनि कमि थिएन । विश्व चर्चित बनेको कोरियन गीत ओप्पा खानाम स्टाइल जस्तै नयाँ गित ओप्पा किराँत स्टायल.. ले पनि दर्शकलाई त्यतिकै तताएको थियो । दिक्तेल बजार... हुरर..ल..है.. गर्दै लोक शैलीदेखि मोहनी लाग्ला है जस्ता पुराना गरी राजेशले १० गीत पस्केका थिए ।
गाला रातै यो कान्छीको गाला रातै.. गाउदै स्टेजमा देखा परेकी चर्चित गायिका मिलन अमात्यले पनि दर्शकलाई त्यतिकै नचाएकी थिइन् । लट्ठै बनायो .. उहिले बाउ बाजेले ...फुर फुर नघुम...बोलका लोकप्रिय गीतदेखि नयाँ गीत गुलेली हान्यो कि नजरले तान्यो.. सम्मका गीतमा दर्शक त्यतिकै रमाएका थिए । बान्स मोरको आग्रमा घण्टी बज्यो ..गाउदै उनी स्टेजबाट विदा भइन् । लगातार सात गीत पस्केका अमात्यलाई एक पछि अर्को गीतमा दर्शकले हुटिङ र नृत्यले भरपुर साथ दिएका थिए ।
संचारकर्मी तथा लोक गायिका कोमल ओलीले कोटी कोटी होम शिव, पोइ चाहियो भनेर गीत गाउने मेरो लास्ट चोटी हो भन्दै उद्घोषको शुरुवातमै तातिएका स्टेज एक पछि अर्को हट कलाकारको प्रस्तुतीले चार घण्टा पछि मात्रै सेलाएका थिए । बालै भएन, आइलभ यु कल्ले भन्यो चालै भएन ...र पोइला जान पाम ..जस्ता ओलीको विच विचको प्रस्तुतीले पनि दर्शकलाई सेलाउनै दिएन ।
त्यसैगरी रञ्जीता लिम्बुको हट नृत्यदेखि बेली डान्सरको उपमा पाएकी लोक गायिका प्रिति आले मगरको लोक भाकासंगै कम्मर मर्काइबाट पनि दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । साँझ ढल्दै छ ओलकिो जवानी चढ्दै छ भन्दै अविवाहित कलाकार कोमल ओलीकै व्यंग कस्दै स्टेजमा उक्लेका हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले सामाजिकदेखि राजनीतिकसम्मलाई व्यंग हान्दा दर्शकको हाँसो गुञ्जिएको थियो । जहिले ढलाउने, कहिले होला पाँच वर्ष सरकार चलाउने, हरेक वर्ष ५० मन्त्री फलाउने जस्ता प्यारोडीले दर्शकलाई नहाँसी बस्नै दिएन ।
लेख
भुईचालो थेग्ने घर कसरी बनाउने ?
डा. गणेशराम न्हेमाफुकी
गत वर्षको भूकम्पबाट काठमाण्डौं उपत्यकामा भक्तपुर, बुङ्मती, साँखु, गोंगबु, सितापाइलाका साथै उपत्यकाबाहिर केही ठाउँमा धेरै प्रभाव परेको छ । प्रभावित दुई किसिमका घरको यहाँ चर्चा गर्नु उपयोगी देखिन्छ, परम्परागत रूपमा बनाइने माटोको जोडाइमा इँटाले बनाएका घर र आधुनिक तथा तुलनात्मक रूपमा बलियो मानिने कंक्रिटका घर ।
भूकम्पमा माटोको जोडाइमा इँटाले बनाएका घर, अझ विशेष गरी पुराना गुच्चमुच्च परेका बस्तीमा धेरै घर भत्किए, तर सबै भत्किएका छैनन् । पुराना माटोले जोडेका घर मात्र होइन, आधुनिक कंक्रिटले बनाएका घर पनि पात्ताल भएका छन् । यस्ता घर किन पात्ताल हुने गरी भत्किए र त्यस्तै खालका अरू घरमा किन कत्ति पनि समस्या देखिएन भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।
माटोको जोडाइमा बनेका घर
गारोवाला घरका कमजोरी हेर्दा आफ्नै परिधि हुने गरी चारवटा गारो नहुनु मुख्य समस्याका रूपमा देखिएको छ । इन्जिनियरिङ दृष्टिकोणबाट मात्र होइन सामान्य रुपमा हेर्दा पनि एउटा घरको परिधिमा कम्तिमा चारवटा गारो हुनुपर्छ । घना बस्ती भएका ठाउँमा लहरै बनेका घरमा त्यसको अभाव रहेको पाइयो । कुनै घरमा तीनतिर गारो भएको एकातिर नभएको, कुनै घरमा दुईतिर गारो भएको अर्को दुईतिर नभएको, साथै एकतिर वा एकभन्दा बढी साझा गारो प्रयोग गर्नाले त्यस्ता घर कमजोर भएको देखिन्छ ।
अर्को मुख्य समस्या भनेको गारोवाला घर बनाउँदा काँचो इँटा प्रयोग गर्नु हो । यस्तो इँटा अत्यन्तै कमजोर हुन्छ । पानीले पनि छिट्टै कमजोर बनाउन सक्छ । झन् त्यस्तो गारोमाथि अर्को तल्ला थप्नु र त्यस्तो गारोलाई गह्रौं छाना वा कंक्रिटका स्लाब राख्नु भनेको धराप थाप्नु जस्तै हो ।
घर बनाउँदा जहिले पनि सकेसम्म माथिल्लो तल्ला हल्का बनाउनुपर्छ, गह्रौं बनाउनु हुँदैन । कतिपय घरमा बाहिरी आवरण पोलेको इँटा तर भित्रपट्टि काँचो इँटाले बनाएको पाएको छ, त्यस्तो पनि कदापि गर्नु हुँदैन ।
हाम्रा गारोवाला घरमा अर्को मुख्य समस्या भनेको दलिनहरुमा चुकुल नराख्नु हो । दलिनमा राख्ने चुकुलले सबै गारोलाई एक ढिक्का बनाइराख्छ । चुकुल भएका घरमा पनि सबैतिर नराखेको, राखेका चुकुल पनि धेरै पुराना भएर मक्की सकेकै कारण धेरै घर ध्वस्त भएका छन् । प्रायः घरमा नस नराखेको पनि पाइएको छ । यस्तो नसले घरलाई एक ढिक्का बनाउन सहयोग गर्छ ।
घर बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने क्रस वाल (बीचको गारो) भत्काएर भुइँतल्ला (छिँढी) पूरै खाली गर्नु पनि भत्कनुको कारण हो । हामीले हाम्रा पुर्खा र अग्रजबाट सुन्दै आएका छौं, क्रसवालले घर बलियो बनाउँछ, तर पछिल्ला पुस्ताले ठाउँको अभावमा ती क्रसवाल भत्काएर भुइँतला खुला गरे, जसले घर कमजोर भयो ।
त्यस्तै ठूल्ठूला गारो लगाएपनि त्यसको बाहिरी र भित्रपट्टिका इँटा आपसमा नजोडिएको पाइयो । घर अगाडि र पछाडिका गारोसँग दायाँबायाँका गारो छुट्टयाएर बनाएको पनि पाइयो । केही मात्रामा दाँटी छाडेर गारो बनाएपनि त्यसले खासै राम्रो काम गर्न नसकेको देखियो । यति मात्र होइन, कतिपय घर त ढल्केर ढल्नै लागेका र टेको दिएर राखिएका पनि छन् । त्यस्ता घर भत्किन फेरि यस्तो भूकम्प नै आउनुपर्छ भन्ने होइन, जुनसुकै बेला ढल्न सक्छ ।
मुस्किलले १०–१२ फिट लम्बाइ भएका ४–५ तल्लासम्म अग्ला घर पनि भत्केका छन् । लम्बाइ र उचाइको अनुपात मिल्दैन भने यस्ता माटोको जोडाइमा बनेका घर धेरै तल्ला बनाउनु हुँदैन । घरको उचाइ मात्र होइन, आफ्नो घरका चारकिल्लामा पर्ने सबै घर उस्तै आकार प्रकारका हुनु जरुरी छ । साथै, तल्लाको उचाइ पनि उस्तै हुनु जरुरी छ । नत्र एकले अर्कोलाई धक्का दिने सम्भावना हुन्छ र घरहरुमा क्षति पुग्छ ।
विसं १९९० सालको भूकम्पमा पनि यस्तै घर धेरै भत्किएका थिए । भूकम्पपछि घर बनाउने डकर्मीको अभाव भएर नयाँ नयाँ डकर्मी बने र कतिपयले आफैं घर निर्माण गरे । फलस्वरुप ती घर कमजोर भए । २०४५ सालको भूकम्पले त्यस्ता घरमा बढी क्षति पु¥याएको अनुमान गर्न सकिन्छ । त्यस भूकम्पबाट बचेका घर नै वैशाख १२ को भूकम्पबाट भत्केको पो हो कि ?
पिलर सिस्टम (कंक्रिट) का घर
हामीकहाँ घर बनाउँदा स्ट्रक्चरल डिजाइन गर्नुपर्छ भन्ने चेतना आएको देखिन्न । स्ट्रक्चरल डिजाइनलाई नगरपालिकाको बाध्यकारी नियमका रूपमा मात्र लिइन्छ । यो नै हाम्रो ठूलो चुनौती हो । भूकम्पको चुनौती भनेको त्यसपछि मात्रै हो ।
आर्किटेक्चरल डिजाइन भन्नाले घरको आकार प्रकार, बनौट, घरको भान्छा, भ¥याङ, चर्पी, पढ्ने कोठा, पूजा कोठा इत्यादी कहाँ–कहाँ र कसरी राख्ने भन्ने नै हो । त्यस्तै, ठूलो भुइँचालो आउँदा कमसेकम मान्छेको जीउ–ज्यान सुरक्षित हुने गरी डिजाइन तयार पार्नु स्ट्रक्चरल इन्जिनियरको काम हो । यसको लागि जग कस्तो हाल्ने, कति गहिराइमा हाल्ने, कहाँ–कहाँ पिलर राख्ने, डण्डी कति मोटाइको राख्ने, रिङ कति ठूलो, कहाँ–कहाँ राख्ने, ढलान कति भागको बनाउने, गारो कसरी लगाउने, कहाँ–कहाँ लगाउने, दुई घरबीचको जोर्नी कति हाल्ने भन्ने स्ट्रक्चरल डिजाइनअन्तर्गत पर्छन् ।
कंक्रिटको घर भनेको नयाँ प्रविधियुक्त घर हो । तर, कंक्रिटको घर भन्दैमा मनलाग्दी गरे हुन्छ भन्ने मानसिकताबाट हामी मुक्त हुनैपर्छ । यही मानसिकताले आवश्यक संख्यामा पिलर नराख्ने, बिम नै नराख्ने, भएको बिम काट्ने, पिलर खोप्ने मात्र होइन, अनेकौं घातक काम भइरहेको पाइएको छ ।
व्यक्तिगत आवासीय घरमा ९”ह ९” को पिलर राख्ने अनि ५–६ तल्लासम्म बनाउने गर्नाले नै धेरै घरमा समस्या देखिएको छ । तर उस्तै ९”ह ९” को पिलर तीन तल्लासम्मको घर, जसमा इन्फिल पर्खाल (बिम र पिलरबीचमा बनाइने गारो) हरू सबै मिलाएर बनाइएको छ, त्यस्ता घरमा कुनै समस्या देखिएको छैन ।
गएको भूकम्पमा कंक्रिट घरमा क्षति पुग्नुको अर्को महत्वपूर्ण कारण भनेको भुइँतल्ला खुल्ला गरेर माथिल्लो तल्लामा मात्रै इन्फिल पर्खाल राख्नु हो । भुइँतला मात्र होइन, कुनै पनि तल्ला पूरै खुल्ला गरेर बाँकी अरू तल्लामा मात्रै इन्फिल पर्खाल राख्नु हुँदैन । भुइँतल्लामा पसल, सो–रुम, गोदाम, रेस्टुरेन्ट, गाडी पार्किङ वा गाडी छिर्ने गरी घरभित्र बनाएको बाटो आदि कारणले पनि घर भत्किएको पाइएको छ ।
अर्को महत्वपूर्ण कमजोरी भनेको बिमका डण्डी पिलरको डण्डीभन्दा बाहिर पठाएर घर निर्माण गर्नु हो । पिलर सिस्टमको घर कसरी निर्माण गर्ने भन्ने जानकारी नभएका डकर्मीलाई घर निर्माण गराउँदा वा स्ट्रक्चल इन्जिनियरहरुको प्रत्यक्ष निगरानी नगराउँदा यस्तो समस्या आएको हो ।
त्यस्तै, डण्डी जोड्दा जोडाइको लम्बाइ नपुग्ने गरी जोड्नु, डण्डी जोड्दा बिम र पिलरको जोर्नीमा जोड्नु पनि मुख्य समस्याका रुपमा देखिएको छ । सिन्धुपाल्चोकका केही ठाउँमा डण्डीहरु सबै बिम र पिलरको जोर्नीमा जोड्ने गरिएको पाइयो । यही कारणले पनि त्यहाँका धेरै घर ध्वस्त भएका हुन् । यति मात्र होइन, डण्डी नै एकदम थोरै मात्रै राखिएको पाइयो । भुइँतलामा त अझ बढी डण्डी राख्नु पर्छ ।
पिलर सिस्टम घरमा अर्को महत्वपूर्ण पक्ष भनेको रिङ हो । अधिकांश घरमा रिङ ७”–८” को फरकमा राखिएको पाइयो । यस्तो घर पनि भेटियो जसको पिलरमा रिङ नै राखिएको छैन । रिङ राखिएको घरको पिलरमा पनि लम्बाई नपुग्ने गरी राखिएको, रिङ १३५ डिग्रीमा नघुमाएको पाइयो । साथै रिङको मोटाइ पनि साह्रै मसिनो राखिएको पाइयो । अझ सबै भन्दा बलियो बनाउनु पर्ने विम–पिलर जोर्नीमा नै रिङ नराखिएको भेटियो । यी घातक कमजोरी हुन् ।
अर्को महत्वपूर्ण कमजोरी ढलान मै भेटियो । हातैले धुल्मुलाउन (चुर्न गर्न) सकिने ढलान पनि भेटियो । स्ट्रक्चरल डिजाइनमा जस्तो ढलान प्रयोग गर्ने भनिएको हो त्यस्तै ढलान प्रयोग गर्नुपर्छ । सिमेन्ट पानीको सम्पर्कमा आएको आधा घन्टाभित्र ढलान फर्मामा राखिसक्नु पर्छ । बालुवा, गिट्टी र सिमेन्ट राम्रो हुनु अति जरुरी छ ।
त्यस्तै लोकल फर्मा प्रयोग गर्दा धेरै समस्या उब्जिएको पाइयो, जस्तै कभर नपुग्ने, राम्ररी फर्मा नराख्ने, बिम–पिलर जोर्नीमा राम्रो ढलान नपुग्ने इत्यादी । साथै पिलर बनाइसकेपछि विभिन्न बहानामा पिलर खोप्ने, पिलरको डण्डीमा सटर जोड्ने जस्ता गल्ती पनि हुने गरेका छन् ।
भूकम्प प्रतिरोधी घर हुन घरको बनोट, आकारप्रकारले पनि महत्वपूर्ण भूमिका खेल्छ । सकेसम्म वर्गाकार, नभए सकेसम्म आयातकार हुनुपर्छ । घरको उचाइ चौडाइको तीन गुणाभन्दा कम मात्र राख्नु उपयुक्त हुन्छ । साथै, पिलरहरू ग्रिडमा नभएको, कुनै घरमा एकातिरको बिम नै नराखिएको, विम ठूलो तर पिलर सानो गरिएको पाइएको छ । यस्तो गर्नु हुँदैन ।
दुई वटा घर आपसमा ठोक्किएर केही ढल्किएका उदाहरण पनि छन् । केहीमा चिरा पनि देखिएका छन् । त्यसकारण आफ्नो घर मात्र सुरक्षित भएर हुँदैन, लहरै बनेका घरसँग जोर्नी पनि राख्नुपर्छ । लहरै बनेको घरमा जोर्नी राख्न नसकिने अवस्थामा कमसेकम सँगै रहेका घरका आकारप्रकार बनौट, घरको उचाइ, प्रत्येक तल्लाको उचाइ र सकेसम्म चौडाइ पनि उही भए राम्रो हुन्छ। ताकि, सबै घरको हल्लाई एकै किसिमको होस् ।
कतिपय घरमा पिलर र बिम आवश्यकता अनुसार नराखेको पनि पाइयो । सबै पिलर ग्रिडमा हुनुपर्छ र सबै पिलरलाई बिमले बाँधेको हुनुपर्छ। जुन तरिकाले नेपालमा इन्फिल गारो (बिम र पिलरबीचमा बनाइने गारो) बनाउने गर्छ, त्यसले भूकम्प प्रतिरोध गर्ने क्षमता राख्छ । त्यसकारण यस्तो गारो निर्माण गर्दा विशेष ध्यान दिनुपर्छ । यस्तो गारो एक पिलरदेखि अर्को पिलरसम्म बनाउनुपर्छ । पिलर भन्दा पर बनायो भने त्यसमा भूकम्प प्रतिरोध गर्ने क्षमता हुँदैन ।
गएको बैशख १२ गतेको भूकम्पमा धेरैको पारापेट (कौसीको पर्खाल) वाल पनि भत्किएको पाइयो । पारापेटको उचाइसम्म प्रत्येक पिलर माथि उठाउने र एक लिन्टेल गरिदिँदा पारापेट बलियो हुन्छ ।
जमिन भित्र रहेको बालुवा र पानी मिलेर तरलीकरण हुनुले पनि घर भत्किएको पाइएको छ । जमिन तरलीकरण हुने ठाउँमा घर बनाउनु हुँदैन । गएको भूकम्पमा विभिन्न ठाउँमा जमिन तरलीक–रण भएका छन् । त्यस्तो तरलीक–रण हुने ठाउँमा एक दुई तल्ला मात्र भएको घर भए पनि धेरै क्षति भएको पाइएको छ ।
— सेतोपाटी अनलाईनबाट
मोफसल पत्रकारिता
विचार भन्दा दक्षतालाई प्राथमिकता दिनु पर्छ
सुधिर अर्याल (सम्पादक)
आरुघाट टाईम्स दैनिक, गोरखा
तपार्इंको परिचय पाउँ न ?
— म सुधिर अर्याल । मेरो घर गोरखा । म आरुघाट टाइम्स दैनिकको सम्पादक ।
कति समय भयो यस पेशामा लागेको ?
— म विगत ६ वर्ष देखि पत्रकारितामा संलग्न छु । आरुघाट आवाज साप्ताहिकबाट मैले पत्रकारिता सुरु गरेको हुँ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— मोफसलको पत्रकारिता सवै विट्मा ध्यान दिनुपर्ने हुनाले सवैलाई मैले सम्बोधन गर्दछु । तर म सामाजिक, राजनीतिक र खोजमुलक पत्रकारितामा बढि रुचि राख्दछु ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— मोफसलको पत्रकारिता भनेको विना सुरक्षाकवच नदिमा पौडनु जस्तै जटिल छ । सिमित स्रोत र साधन विच जनताका माझ जानु पर्दछ । समाजमा प्रत्यक्ष जानु पर्नाले डर, धाक, धम्की जस्ता कठिनाईलाई समेत झेल्नु पर्छ । त्यसमा पनि न्यूनतम पारिश्रमिकमा । धेरै पिडा छ मोफसलको पत्रकारिता ।
समस्यानै समस्या भएको पेशा किन रोज्नु भयो त ?
— समस्या नभएको त कुन पेशा नै हुन्छ र ? तर पनि यो प्रत्यक्ष रुपमा समाज रुपान्तरण गर्न मद्दत गर्ने पेशा हो । समाजका सकारात्मक र नकारात्मक सबै पक्षलाई छर्लङ्ग पार्दै समाज विकासमा यो पेशाले भुमिका खेल्छ ।
मोफसलै भएपनि गोरखा जिल्ला तर देशकै ऐतिहासिक जिल्ला हो, यस जिल्लाबाट पत्रकारिता गर्दै हुुनु हुन हुन्छ, कसरी बुझ्नु भएको छ यस जिल्लाको पत्रकारितालाइ ?
— ठिक हो तपाईले भन्नु भएको गोरखा ऐतिहासिक हुनुले यहाँको पत्रकारिता क्षेत्र पनि त्यतिकै संवेदनशिल छ । साथै यो पर्यटकीय जिल्ला पनि भएकोले इतिहास र पर्यटन गोरखाली पत्रकारिताका मेरुदण्ड हुन् ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— पहिले श्रमजिवी पत्रकार ऐन लागु गर्नु प¥यो । नियमित अनुगमनलाई प्राथमिकता दिनु प¥यो । लोक कल्याणकारी विज्ञापनको न्यायोचित वितरण हुनु प¥यो ।
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— वास्तवमा नेपाल पत्रकार महासंघले गोरखाको सवालमा जिम्मेवार अभिभावक जस्तो भुमिका खेलेको छ । पत्रकार मिडिया हाउसलाई सवल बनाउन साथै आइपरेका समस्या समाधानमा प्रभावकारी भुमिका निर्वाह गरेको छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनु हुन्छ ?
— वैचारिक संगठनहरूले पनि आफ्ना निकट साथीहरूलाई आन्तरिक रुपमा सहयोग गरिरहनु भएकै छ । तर स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नु पर्छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता समाजको ऐना हो । समाज रुपान्तरणका लागि यसले आफ्नो जिम्मेवारी वोध गर्न सक्नु पर्छ ।
कत्तिको कमाइ गर्नु भयो पत्रकारितामा लागेर ?
— पत्रकारिताबाट कमाई त छैन । कमाई गर्न पत्रकारिता लाग्नु भन्दा नलाग्नु ठिक हुन्छ । यो समाज प्रतिको उत्तरदायित्व हो ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ?
— सवै पत्रकार एकै हुन् भन्न सकिन्न । कोहि पत्रकारको गैरजिम्मेवारीका कारणले यो क्षेत्रमा अलि प्रश्न उठाउन थालेका हुन् । यस्ता गतिविधिलाई छानविन गरि गलत गर्नेलाई कारवाही गर्नु पर्छ । हामी सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्छ । यो क्षेत्रलाई स्वस्थ वनाउनु हामी सवैको कर्तव्य हो ।
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ?
— विचार भन्दा दक्षता र कामलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्छ । चुनावमा पार्टीको छायाँ देखिनु हुन्न ।
एउटा छुट्टै प्रसंगमा कुरा गरौं, गोरखा जिल्लाका भूकम्प पिडितहरुको अवस्था कस्तो पाउनु भएको छ ?
— म भुकम्पको केन्द्रविन्दुको जिल्ला भएकोले राज्य संवेदनशिल भएको पाइन । एनजिओ, आइएनजिओले पिडितको नाममा मनोमानी गरे । पिडित पिडित नै रहे । राज्य रमिते भयो ।
भूकम्प पिडितहरुको समस्या समाधानका लागि सरकारी क्षेत्रबाट भईरहेको पहल कत्तिको प्रभाकारी देख्नु हुन्छ ?
— भनिहाले, राज्यले पिडितको पिडा माथि रमिते भयो । नेताहरूले पिडितलाई भोट बैङ्गका रुपमा हेरे समस्या चर्को छ, समाधान छैन । पिडित पालमा छन् । राज्य पिडा कम गर्न उदासिन छ भन्दा फरक पर्दैन ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
— सवैलाई आफ्नो मर्यादा ख्याल राखी पत्रकारिता गर्न अनुरोध गर्दछु । राज्यप्रति हाम्रो ठूलो दायित्व छ ।
समय र बिचारका लागि धन्यबाद ।
— म जस्तो मोफसलको पत्रकारिता गर्ने व्यक्तिलाई विचार ब्यक्त गर्ने मौका दिनु भएकोमा बिम्ब साप्ताहिक र सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन कहिले भएको थियो ? — सन् २०१६ नोभेम्बर २५
२. बिमेस्टेकका प्रथम महासचिव को हुन् ? — सुमथ नाकनतला
३. ‘करोडौं कस्तुरी’ कुन साहित्यकारको कृति हो ? — अमर न्यौपाने
४. काठमाण्डौंमा हाइटेक मेट्रो बस सेवा कहिले देखि सुरुवात भएको हो ? — २०७२ फागुन ३०
५. मिस वल्र्ड, २०१६ को उपाधि जित्न सफल सुन्दरी को हुन् ? — स्टेफनी डेल भले
६. वातावरण सम्बन्धी सम्मेलन कोप २२ कहाँ सम्पन्न भयो ? — मोरक्कोको माराकेस
७. फोब्र्स पत्रिकाले सन् २०१६ मा प्रकाशित गरेको धनाढ्यहरुको सूचीमा नेपालका विनोद चौधरी कति औं स्थानमा परेका छन् ? — १५७७ औं स्थानमा
८. २१ औं विश्वकप फुटवल, २०१८ कुन देशमा आयोजना हुने भएको छ ? — रसिया
९ं. Transparency International को मूख्यालय कहाँ रहेको छ ? — बर्लिन जर्मनी
१०. नेपालमा सशस्त्र प्रहरीको स्थापना कहिले भएको हो ? — २०५८ कार्तिक ८
११. 'The God of Nepal' कुन विदेशी लेखकद्धारा लिखित पुस्तक हो ? —रुवेल
१२. हनिमुनको सहर भन्ने उपनामले चिनिने देश कुन हो ? — हेलिकिन्सी
१३. वायुमण्डलमा अक्सिजनको मात्रा कति प्रतिशत रहेको हुन्छ ? — २०.९५ प्रतिशत
१४. सूर्यको विकिरण नाप्ने यन्त्र कुन हो ? — पारहेलियोमिटर Pyrheliometer
१५.God of commerce and travel भन्नाले कुन ग्रहलाई चिनिन्छ ? — बुध
१६. असफल तारा भनेर चिनिने ग्रह कुन हो ? — अरुण
१७. चन्द्रमाको कक्षिय धरातलले पृथ्वीको कक्षिय धरालतसँग कति डिग्रीको कोण बनाई ढक्लेको हुन्छ ?
— ५.१५
१८. पृथ्वीको सतहबाट १६ कि.मि. देखी ५० कि.मि. सम्मको तहलाई के भनिन्छ ? — समताप मण्डल
१९. निलआर्मस्ट्रङ्ग र एड्विन एल्ड्रिन साथ ‘एपोलो ११’ नामक अमेरिकी अन्तरिक्ष यानबाट चन्द्रमा पुगेर चन्द्रधरातलमा नओर्लेका व्यक्ति को थिए ? — माइकल कोलिनस
२०. अन्तरिक्षमा हिड्ने पहिलो व्यक्ति को हुन ? — अलेक्सी लियोनोभ
२१. अन्तराष्ट्रिय योग दिवस कहिले मनाइन्छ ? — जुन २१
२२. निर्माणाधिन मध्यपहाडी लोकमार्गले जम्मा कति जिल्लालाई छुन्छ ? — २४ जिल्ला
२३. नेपालमा कहिले देखी अंग्रेजी भाषामा समेत नागरिकता दिन सुरु गरेको थियो ? — २०६६ मंसिर १
२४. साइटिस(CITES) कहिले देखि लागु भएको हो ? — १ जुलाइ, १९७५
२५. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १४४ औं राष्ट्र कुन हो ? — एल साल्भाडोर
२६. ल्हाफेवा चाड कुन जातिमा प्रचलित छ ? — थकाली
२७. विश्वमा महिलालाई मताधिकार दिने पहिलो राष्ट्र कुन हो ? — न्यूजील्याण्ड
२८. कुन जातिलाई कारभोटे पनि भनिन्छ ? — ल्होमी
२९. शिवाङ्क नामक मुद्रा कुन लिच्छवी राजाले प्रचलनमा ल्याएका हुन ? — शिवदेव तृतीय
३०. भारतिय स्वतन्त्रता आन्दोलनको प्रथम कदम के लाई मानिन्छ ? — सिपाही आन्दोलन (१८५७)
३१. नेपालमा सवैभन्दा बढी हिमताल भएको जिल्ला कुन हो ? — ताप्लेजुङ्ग
३२. सातौं राष्ट्रिय खेलकुदको मस्कट के हो ? — अर्ना
३३. अन्तरिक्ष यात्रामा जाने पहिलो जुम्ल्याहा को को हुन ? — मार्क केली र स्कट केली
३४. ISO गुणस्तर चिन्ह प्राप्त गर्ने नेपालको पहिलो हाइड्रोपावर कम्पनी कुन हो ?
— चिलिमे हाइड्रोपावर
३५. नेपालमा वि.स. २०७१—८० सम्म कुन दशकको रुपमा मनाइदैछ ? — वन दशक
३६. कुन महादेशलाई चराहरुको महादेश भनेर चिनिन्छ ? — दक्षिण अमेरिका
३७. पाञ्चाली प्रथाको सुरुवात गर्ने राजा को हुन ? — अंशुबर्मा
बौद्धिक परीक्षण खण्ड
३८. एक विहान सूर्योदय पछि सरिता विद्यालय जाने क्रममा जेब्राक्रसमा उमेशलाई भेटिन । उमेशको छाया सरिताको ठिक दायाँ तर्फ थियो र उनीहरु दुवै एक अर्काको अगाडी (Face to face) थिए भने सरिता कुन दिशामा गइरहेकी थिइन् ?
A) उत्तर B) दक्षिण C) पूर्व D) पश्चिम
३९. प्रश्न चिन्ह (?) राखिएको ठाउँमा मिल्ने विकल्प कुन हो ?
F2, ..?., D8, C16,
B32
A) A16 B) G4 C)E4 D) E3
४०. तलका मध्ये कुन मिल्दैन ।
A) Inch B) Ounce C) Centimeter D) Yard
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ ।
संकलक/प्रस्तुतकर्ता : प्रयाग राज उपाध्याय
सुझावका लागि सम्पर्क : 9848626741
मिति २०७३ साल माघ ११ गते मंगलबारको बिम्ब साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरु :
३८) D ३९) B ४०) C
साहित्य/संस्कृति
तपाई
घरीघरी मिस्कल मात्रै गर्नुहुन्छ तपाँई
भन्नुहोस न मेरो को पर्नु हुन्छ तपाँई
म मात्रै त एक्लै घरमा कहाँ हुन्छु र हजुर
कुन दिन बाउको फेला पर्नु हुनछ तपाँई
यहि नं.बाट मिस्कल आको आयै छ हेर्नुस
मेरो दाईलाई भन्यो भने, मर्नुहुन्छ तपाँई
मिस्कल गर्न सक्नेले फोन गर्न नसक्ने
मोबायलमा कति पैसा हाल्नु हुन्छ तपाँई
सायद मोबायलमा सुक्को पैसा नहोला
मिस्कल दिन त खुब अघि सर्नु हुन्छ तपाँई
गलफ्रेन्डलाई जस्तो गरी जिस्काउनु हुन्छ
साखै बैनी प¥यो भने के गर्नुहुन्छ तपाँई
लिला पोखरेल
गजलकार
मुक्तक
यि यादहरु घरी घरी आइदिन्छन
घुम्दै फिर्दै वरिपरी आइदिन्छन
न भोक निन्द्रा, न त प्यासमै अल्झिन्छन
नौ डाँडा अनि सात समुन्द्र तरी आइदिन्छन ।
दिपेन्द्र बोगटी
लामातोला–२ बझाङ्ग
सूचना÷सन्देश÷बिज्ञापन
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति : २०७३÷१०÷१८ गते
उपरोक्त सम्बन्धमा यस अपाङ्ग सेवा संघ, डोटी र यू.एम.एन. डोटी क्लष्टरको साझेदारीमा सञ्चालित “समुदायमा आधारित पुनस्र्थापना (CBR) परियोजना अन्तर्गत एक जना सामाजिक परिचालकको आवश्यकता परेको हुँदा तपसिलको योग्यता पुगेका ईच्छुक ब्यक्तिहरुबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र आफ्नो ब्यक्तिगत बिवरण, शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि सहित दरखास्तका लागि आह्वान गरिएको छ ।
तपसिल :
१. पद : सामाजिक परिचालक
२. आवश्यक संख्या : १ (एक) जना
३. कार्यक्षेत्र : सरस्वतीनगर र लक्ष्मीनगर गाबिस (आवश्यकता अनुसार कार्यालयमा)
४. योग्यता तथा अनुभव :
- मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता तह उत्तीर्ण ।
- सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा २ (दुई) वर्ष कार्य अनुभव भएको ।
- आधारभूत कम्प्यूटर, ईमेल, ईन्टरनेट सम्बन्धी ज्ञान (अनिवार्य)
- मासिक, त्रैमासिक रुपमा प्रतिबेदन तयार गर्न सक्ने र समुदाय तथा अन्य सरोकारवालासंग समन्वय गर्न सक्ने क्षमता भएको ।
- न्युनतम उमेर १८ वर्ष पूरा भएको ।
५. तलब सुविधा : संस्थाको नियम अनुसार
६. परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता
७. पदको अवधि : असार मसान्तसम्म (पछि पदावधि थप गर्न सकिने)
पुनश्च :
१. छोटो सूचिमा परेका तथा कार्य क्षेत्र रहेका गाविसहरुका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गराईनेछ ।
२. अपाङ्गता क्षेत्रमा काम गरेको र स्थानीय व्यक्ति, दलित, महिला तथा अपाङ्गता भएका परिवारका सदस्यहरुलाई विषेश प्राथमिकता दिईनेछ ।
३. छनोट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
पदपूर्ति समिति
अपाङ्ग सेवा संघ डोटी
दिपायल सिलगढी नगरपालिका, वडा नं. ४, सिलगढी डोटी, नेपाल
फोन : ०९४–४१११९७
सानागाउँ गाबिसको मिति २०७३ साल माघ २४ गते सम्पन्न २१ औं गाउँ परिषदद्वारा पारित आय व्यय बिवरण
क) अनुमानित आम्दानी तर्फ
१. गत बर्षको जिम्मेवारी सरी आएको अ.ल्या रु. ३०,२४८।४८
२. नेपाल सरकारबाट प्राप्त अनुदान रकम रु. ३६,०७,०००।
३. मालपोत असुली रकम रु. २५,०००।
४. घरकर बाफत आम्दानी रु. ३०,०००।
५. ब्याबसायिक कर बाफत रु. २०,०००।
६. सिफारिस दस्तुर बाफत रु. १०,०००।
७. पञ्जिकरण दस्तुर बाफत रु. ६,०००।
८. मदिरा बिक्री बितरण इजाजत पत्र नबिकरण रु. ३५,०००।
९. अन्य बिबिध आम्दानी बाफत रु. ३०,०००।
१०. जग्गा रजिस्टेशन र चार किल्ला प्रमाणित दस्तुर रु. १०,०००।
जम्मा अनुमानित आम्दानी रकम रु. ३८,०३,२४८।४८
ख अनुमानित ब्यय तर्फ (सञ्चालन अनुदान)
१. तलब भत्ता कसमकोष र कल्याण कोष सहित गाबिस कर्मचारी, सह लेखापाल, २ कार्यालय सहयोगीको जम्मा रु. ६,६२,४२०।
२. अन्य उपभोग खर्च (पोशाँक) रु. १५,०००।
३. सेवा खर्च पत्र पत्रिका बिज्ञापन बाफत रु. १०,०००।
४. कार्यालय सञ्चालन खर्च बाफत रु. २१,०००।
५. बिबिध चियापान परिषद खर्च रु. २३,०००।
६. कार्यक्रम भ्रमण खर्च बाफत रु. ६०,०००।
जम्मा खर्च संचालन तर्फ अनुमानित रु. ७,९१,४२०।
ग पुँजीगत अनुदान रकमबाट अनुमानित ब्यय तर्फ
१. सरस्वती आधारभूत बिद्यालयकोजग निर्माण रु. १७५०००।
२. गाबिसको पर्खाल वाल निर्माण बाफत रु. २७५०००।
३. गाबिसको फर्निचर खरिद बाफत रु. १०००००
४.रिनकोट धौलाबस्ती सडक मर्मत बाफत रु. १६००००।
५.आप्रबासी तथा हराएका ब्यक्तिहरुको परिवारको महिलाको आय आर्जन रु. १००००।
६.शाजेन्द्रेश्वर माबि खिरसैन फुलौट शैक्षिक एबं धार्मिक महोत्सब रु. ५०,०००।
७.आयुर्बेदिक औषधालयको फर्निचर खरिद रु. २००००।
८. गाबिस कार्यालयको मोटरसाइकल खरिद रु. १३५०००।
९. नुवाकोट सडक मर्मत बाफत रु. १,००,०००।
१०. प्रहरी चौकी सानागाउको फर्निचर खरिद रु. २५०००।
११. भैरब मन्दिर निर्माण सानागाउ–४ रु. ३००००।
१२. घोरेटो बाटो निर्माण सानागाउ–४ रु.१५०००।
१३. रेडक्रस सोसाइटी खप्तड उपशाखाको सामान खरिद रु. २५०००।
१४. स्वास्थ्य चौकी सानागाउँको ल्याप ब्यवस्थापन रु. १,००,०००।
१५. पत्रकार महासंघ डोटीको भवन निर्माण रु. १००००।
१६.बिपद् ब्यवस्थापन बाफत रु. ४०००।
१७. खेल मैदान निर्माण रु. ५०००।
१८. शिबजी त्रिबेणीधाम मन्दिर मर्मत रु. १०,०००।
कृषि तर्फ
१. पशुसेवा केन्द्र सानागाउँको औषधी खरिद बाफत रु. ७०,०००।
२. कृषि सेवा केन्द्र सानागाउँको बिउबिजन खरिद रु. २५०००।
३. जनप्रिय सहकारी संस्था रिनकोटको कार्यालय ब्यवस्थापन बाफत रु. ४५०००।
४. जनकल्याण सहकारी संस्थालाई एग्रोभेट संचालन बाफत रु. ४५०००।
५. बेडखेत सिंचाई कुलो मर्मत सानागाउँ रु. ६०,०००।
लक्षित बर्गहरु तर्फ
महिला तर्फ
१. महिलाहरुको प्रसुती गृह ब्यवस्थापन कार्यक्रम रु. १७५०००।
२. महिलाहरुको भवनको जग निर्माण रु. १२००००।
३. महिला स्वयं सेबिकालाई क्षमता बिकास रु. १५०००।
बिपन्न बर्गहरु तर्फ
१.दलित टोलको बाल सुधार प्राबिको खेल मैदान निर्माण रु. १४०,०००।
२. यस गाबिसका बिपन्न बर्गहरुको तथ्याङ्क संकलन संरचनागत बिकास कार्यक्रम रु १५०,०००।
३. अशक्त, अपाङ्गहरुको आयआर्जन कार्यक्रम (कुखुरा पालन) रु. ४००००।
४.एचआइभी संक्रमितको लागि बिउ खरिद रु. २३०००।
५. जेष्ठ नागरिक सम्मान बाफत रु. १५०००।
६. पिछडिएको टोलको नबदुर्गा बाल बिकास भवन सानागाउँ–६ को छाना निर्माण रु ६००००।
७. पिछडिएको टोल सानागाउँ–८ चानखल्नेको घोरेटो निर्माण बाफत रु. २५०००।
बालबालिकाहरु तर्फ
१. सरस्वती माबिका बालबालिकाहरुको खेल मैदान निर्माण रु. २५००००।
२. बालबालिकाहरुलाई बाल मैत्री कार्यक्रम, सडक नाटक, खेलकुद सामाग्री, बालबिबाह, बहुबिबाह, सरसफाई अभियान रु. १०००००।
३. बालबालिकाहरुको लागि अंग्रेजी माध्यम सिकाइ बाफत रु. ८०,०००।
४. युवा बालबालिकाहरुका लागि कम्प्युटर मर्मत र खेलकुद कार्यक्रम बाफत रु. ९६००० ।
मालपोत कार्यालय डोटीको हकदावी सम्बन्धि ३५ दिने सार्वजनिक सूचना
प्रथम पटक सूचना प्रकासित मिति मितिः २०७३÷१०÷१२
जिल्ला डोटी खातीवाडा गा.वि.स.वडा नं.७ स्थित कि.नं.९५, १००, १६५, २४९, ४४७, ५५३, ऐ. वडा नं.८ स्थित कि.नं.२१४, २२५ को पुरै घरजग्गाहरु ठगुवाको नाती पतुवाको छोरा वर्ष ५४ को चाने साउँदको नाउँमा नापनक्सा भई जग्गाधनि प्रमाण पुर्जा कायम भएकोमा जग्गाधनि चाने साउँदको नेपाली नागरीकताको प्रमाण पत्रमा नाम ः नरुवा साउँद, उमेर ६२ वर्ष हुन गई जग्गाधनिको नाम र उमेर फरक पर्न गएको भएतापनि ति दुबै नाम भएका व्यक्ति फरक फरक व्यक्ति नभई खातीवाडा गा.वि.स. वडा नं.७ बस्ने ठगुवाको नाती पतुवाको छोरा वर्ष ६२ को चाने साउँद भन्ने नरुवा साउँद (एउटै व्यक्ति) भएकोले ने.ना.प्र.प. बमोजिम नाम र उमेर संसोधन गरी पाँउ भनी खातीवाडा गा.वि.स.स्थित जग्गाधनि प्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, खातीवाडा गा.वि.स. कार्यालय डोटीको च.नं.१५९ मिति ः २०७३÷१०÷११ को किटानी सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, आदी प्रमाणहरु साथै राखी मिति २०७३÷१०÷११२ मा यस कार्यालयमा निवेदन दावी गर्नु भएकोले हकदावि सम्वन्धि यो सूचना प्रकासित गरिएको छ । उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा निवेदकको मागदावि वमोजिम नाम र उमेर संसोधन गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले वाटोको म्याद वाहेक ३५ दिनभित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नपरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गरिन्छ ।
मालपोत कार्यालय डोटीको हकदावी सम्बन्धि ३५ दिने सार्वजनिक सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०७३÷१०÷११
जिल्ला डोटी लक्ष्मीनगर गा.वि.स.वडा नं.४ स्थित कि.नं.१०१, १०४, ३६०, ३६१ र ३६३ को जग्गा सोही गा.वि.स.वडा नं.४ बस्ने नर वहादुरको नाती दिलिसिंको छोरा हर्क वहादुर थापामगरको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि हर्क वहादुर थापामगरको मिति ः २०४८÷९÷१५ मा मृत्यु भैसकेको र निजको शेषपछिको हकदार दुईवटी पत्नी नन्दकली थापा र चन्द्रकला थापा भएकोमा नन्दकली थापाको मिति ः २०६९÷६÷३० मा र चन्द्रकला थापाको २०३३ सालमा मृत्यु भैसकेकोले शेषपछिको हकदार तिन जना छोरा ईन्द्र वहादुर थापा, नर वहादुर थापा र अमर वहादुर थापा मात्र भएकोमा अमर वहादुर थापा विगत २०६० साल देखि वेपत्ता भएकोले मृतक हर्क वहादुर थापामगरको नाउँको डोटी लक्ष्मिनगर गा.वि.स. स्थित पुरै घरजग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरी पाउँ भनी डोटी लक्ष्मिनगर गा.वि.स.कार्यालय डोटीको च.नं. १६४ मिति ः २०७३÷९÷२५ को किटानी सिफारिस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली ना.प्र.प, आदी प्रमाणहरु साथै राखी जि.डोटी लक्ष्मिनगर गा.वि.स.वडा नं.४ बस्ने ईन्द्र वहादुर थापा, नर वहादुर थापाले यस मालपोत कार्यालय, डोटीमा मिति २०७३÷१०÷११ मा निवेदन दिनु भएको हुँदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, यस वाहेकका अन्य हकदार भए, अमर वहादुर थापा वेपत्ता नभएको भए वा सम्पर्कमा भए वा निज निवेदकको माग दावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
डोटी उद्योग वाणिज्य संघ
डोटीको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा स्टल बुक गर्ने सम्बन्धी सूचना
डोटी उद्योग वाणिज्य संघ दिपायल डोटीको आयोजनामा यहि मिति२०७३ फागुन १२ गते देखि २२ गते सम्म आयोजना हुन गइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा तपशिल अनुसार स्टलको दररेट कायम गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै मिति २०७३ माघ १५ गते देखि स्टल बुकिङ खुल्ला गरिएको छ ।
स्टल दररेट
१ अटोमोवायल ः रु १५०००।
२.डिलर÷सवडिलर ः रु १००००।
३.गैरसरकारी संघ संस्था ः रु १००००।
४.होटल÷रेष्टुरा÷फाष्टफूड ः रु ७०००।
५.कृषीजन्य वस्तु ः रु ५०००।
६.एकल महिला,विद्यार्थी,एच.आइ.भी संक्रमीत तथा साना उद्यमी ः रु ३०००।
निवेदन साथ अनिवार्य संलग्न गर्नुपर्ने कागजात ः
१. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलीपी १ थान
२. प्रदर्शक परिचय पत्रको प्रयोजनार्थ प्रति स्टल २ जना प्रतिनिधिको फोटो र नाम
३. स्टल भाडाको रकम नगद वा बैङ्क भौउचरबाट बुझाउन सकिने छ ।
सूचना ! सूचना !! सूचना !!!
डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।
जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी
No comments:
Post a Comment