Tuesday, February 7, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल माघ २५ गते मंगलबार

राष्ट्रिय विद्युत समस्याको निराकरणका लागि, सरकारी कार्यालयहरुलेनै विद्युत खपतको लागि, मितव्ययिता गर्ने कदमहरु चालु राखी, सर्वसाधारणहरुलाई सुसूचित गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

दल बदलको लहर

बिभिन्न राजनीतिक दलहरुमा झण्डै तीन हजारले टिका लगाए

राजनीतिक दलहरुका अभियान चलेसंगै एक दल छोडी अर्को दलमा प्रवेश गर्ने लहर चलेको छ । डोटीमा तीन    राजनीतिक दलहरुले सञ्चालन गरेको अभियानका क्रममा झण्डै तीन हजार व्यक्तिहरुले पार्टी प्रवेशको टिका लगाएका छन ।
नेकपा एमाले डोटीले सञ्चालन गरेको संबिधान परिचालनका लागि जनपरिचालन अभियान गाबिसतहमा सोमबार सम्पन्न भएको छ । सो अभियान अन्तरगत बगलेक गाबिसको अभियान सोमवार सम्पन्न भएको छ । सो पार्टीका जिल्ला अध्यक्ष चक्र मल्लले दिएको जानकारी अनुसार ५० गाबिसबाट एक हजार आठ सय २५ जना पार्टीमा प्रवेश गरेका छन । प्रवेश गर्नेहरुमा बिभिन्न राजनीतिक दलका जिल्लास्तरीय कार्यकर्ताहरु समेत रहेको मल्लले वताए । उनले भने ‘हामीले कसैलाई पनि कुनै प्रलोभन देखाएर वा घरमा गएर पार्टी प्रवेशका लागि उत्साहित गरेका छैनौं, स्वतःस्फुर्त रुपमा पार्टीमा प्रवेश गरेका छन ।’ पार्टीको नीति कार्यक्रम र राष्ट्रियताका सवालमा पार्टी अध्यक्ष केपी ओलीले लिएको अडानबाट प्रभाबित भएर एमालेमा प्रवेश गरेका कारण नव आगन्तुक सवै सदस्यहरु पार्टीमा सक्रिय रुपमा लाग्ने मल्लले   वताए । दिपायल सिलगढी नगरपालिकामा अभियान सञ्चालन भएपछि यो संख्या बढ्ने मल्लले दावी गरे । 
बर्तमान व्यवस्थापिका संसदको सवैभन्दा ठुलो पार्टी नेपाली कांग्रेस पनि अहिले गाउँ अभियानमा रहेको छ । नयाँ संरचना अनुसार पार्टीलाई संगठित र सुदृढ गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त अभियान बोगटान क्षेत्रका ६, जोरायल क्षेत्र र वाँझककानी गाबिसमा सम्पन्न भएको सो पार्टीका जिल्ला सभापति प्रदिप देउवाले जानकारी दिए । देउवाका अनुसार बिभिन्न पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर पनि धेरै छ । उनले भने ‘अहिलेसम्मको अभियानका क्रममा करीव पाँच सयले नेपाली कांग्रेस प्रवेश गरेका छन ।’ प्रवेश गरेका मध्ये केही साधारण र केही बिभिन्न पार्टी परित्याग गरि आएका उनले वताए । देउवाका अनुसार कार्यकर्ता व्यवस्थापन गर्न सक्यौं भने आएकाहरु सवै पार्टीमा   टिकिरहने छन । ‘राजनीति भनेको कुशल व्यवस्थापन गर्नु पनि हो’ देउवाले भने ‘यदि कार्यकर्ताहरुलाई सही तरिकाले व्यवस्थापन गर्न सक्यौं भने अर्को पार्टीमा जाने कुरै हुँदैन ।’ उनले कार्यकर्ताहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्दै दिगो वनाउने दावी समेत गरे ।
राष्ट्रिय जनमोर्चा डोटी पनि अहिले गाउँ गाउँमा प्रवेश गरेको छ । सरकारले संसदमा दर्ता गराएको संबिधान संसोधन प्रस्तावको बिरोध र अक्टुबर क्रान्तिको सतबार्षिकीको सन्दर्भमा अभियान सञ्चालन गरेको छ । यो समाचार तयार पार्दासम्म जिल्लाका १० गाबिसमा अभियान सञ्चालन भएको सो पार्टीका जिल्ला सचिव केवशनाथ योगीले जानकारी दिएका छन । सचिव योगीका अनुसार हालसम्म पार्टी प्रवेश गर्नेको संख्या करीव सात सय रहेको छ । ठुला भनिएका दलहरुले राष्ट्रियताको संरक्षण गर्न नसकेको, राष्ट्रिय अखण्डताको संरक्षण गर्न नसकेको र देशमा अस्थिरता सृजना गरेका कारण अन्य पार्टी छोडेर राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेहरुको संख्या बढेको योगी वताउँछन । ‘हामीले अरु पार्टीका जसरी कसैलाई जागिर लगाई दिन्छौं, कसैलाई योजना दिन्छौं भनेर लोभ देखाएका छैनौं’ योगी भन्छन् ‘राष्ट्रिय जनमार्चाको बिचारसंग सहमत भएर पार्टी प्रवेश गरेका हुन र यि कार्यकर्ताहरु सधैं राष्ट्रिय जनमोर्चा भईरहन्छन ।’
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पार्टीका आन्तरिक कार्यक्रमहरु जिल्लाभरीनै सञ्चालन गरेको भएपनि आम सहभागिताका कार्यक्रमहरु नगरेका कारण उक्त पार्टीमा प्रवेश गर्नेको संख्या कम छ । सो पार्टीका जिल्ला संयोजक जंग बिक  (शैलेन्द्र) भन्छन् ‘हामीले पार्टीका आन्तरिक क्रिायकापहरु मात्रै    गरेका छौं, अहिले पार्टी प्रवेश हुने खालका कार्यक्रमहरु हामीले सञ्चालन गरेका छैनौं ।’ पार्टी प्रस्ताबित स्थानीय तहको संरचना अनुसार डोटीका आठ स्थानीय तहमा नयाँ संरचना समेत बनाईसकेको शैलेन्द्रले वताए । ‘पानी परेका कारण आदर्श गाउँपालिकाको कमिटी गठन हुन सकेको छैन’ उनले भने ‘बाँकी सबै ठाउँमा कमिटी गठन भईसकेको छ ।’ उनले के आई संघ गाउँपालिकामा पाँच÷सात जना प्रवेश गरेका वताउँदै शैलेन्द्रले भने ‘पार्टीको बिचार सिद्धान्त बुझेर पार्टी प्रवेश गर्नेहरु पार्टी फेरेर हिन्दैनन् ।’ व्यक्तिगत स्वार्थका लागि पार्टी प्रवेश गर्नेहरुनै पार्टी फर्ने गरेको उनको दावी छ ।
उता देशव्यापी रुपमा संगठन बिस्तारको अभियानमा लागेको पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालको डोटी कमिटी भने बिवादले थला परेको छ । औपचारिक रुपमा दुई जिल्ला समिति र दुई कार्यालय स्थापना गरेका दुई समूहले जिल्ला निर्वाचन कार्यालय डोटीमा समेत दर्ताका लागि अलग अलग निबेदन दिएका छन ।
एक पार्टी छोडी अर्को पार्टी प्रवेश गर्ने क्रियाकलाप नौलो भने होईन । बिशेष गरी निर्वाचनका क्रममा चलाईएका अभियानहरु र पार्टीका आमसभामा पार्टी प्रवेश गर्नेहरुलाई फलानो पार्टीबाट प्रवेश गरेको भन्ने गरिन्छ । एक पार्टीमा टिका लगाएका व्यक्ति एक सातापछि अर्को पार्टीमा प्रवेश गर्ने चलन छ । 

सम्पादकीय

सत्य कुरा बाहिर आवस्

डोटीको जोरायल क्षेत्रमा भएको काठ कटानीले देशव्यापी रुपमा चर्चा पाएको छ । काठ कटानीमा संलग्न भएको भन्दै तीन कर्मचारीहरुलाई प्रारम्भिक कारवाही पनि भएको छ । छानबिनका लागि जिल्ला बन कार्यालय डोटीको टोली दुई पटक सम्वन्धित क्षेत्रमा पुगेको छ भने क्षेत्रीय बन निर्देशनालयको टोलीले पनि स्थलगत अध्ययन गरेको छ । अध्ययन÷अनुसन्धानलाई प्रभावकारी बनाईनु पर्छ र त्यसका लागि सम्वन्धित पक्षले लोभ लालच त्याग्नु जरुरी   छ ।
त्यसो त डोटीको दक्षिणी क्षेत्रमा बन फडानी हुने कुरा नौलो होईन । बुडर, जोरायल, बिपीनगर लगायतका क्षेत्रमा यस व्यापक रुपमा बन फडानी भएको कुरा यस अघि पनि पटक पटक उठेको हो र सञ्चारमाध्यममा पनि यसरीनै आएको हो । तर कारवाही भएको कुरा कहिल्लै पनि सुन्न पाईएन । प्रारम्भिक कारवाही हुने, त्यहाँको कर्मचारीलाई केही दिन जिल्लामा राख्ने वा अन्यत्र सरुवा गरिदिने काम त्यतिबेला पनि भए । सायद तस्करीमा संलग्नहरुलाई हुने    कारवाही यतिनै हो ।
यसपालीमा पनि त्यस भन्दा माथी केही होला जस्तो छैन । सम्वन्धित पक्षले भाषा फेर्न थालेको छ । कार्ययोजना अनुसारनै काटिएको तर प्रक्रिया मात्रै नपुगेको दावी सम्वन्धित पक्षको छ । त्यसो हो भने काँचो रुख किन काटिए त ? पहिले सुकेको थियो रे काटेपछि फेरी काँचो फर्कियो रे, अहिले फेरी सुकेको छ रे । यस्तो बैज्ञानिक तर्क आउँदैछ सम्वन्धित पक्षबाट । यदि सामुदायिक बनको कार्ययोजना अनुसार नै बन पैदाबार संकलन भएको हो भने सूचनाहरु बाहिर आउँदा किन त्यो कुरा सार्वजनिक गरिएन ? किन आधिका– रिक कुरा सम्वन्धित निकायले बाहिर ल्याउन आवश्यक ठानेन ? के यो सम्वन्धित निकायको जिम्मेवारी होईन र ? गत आर्थिक वर्षमा लिएको ईजाजत पत्र अनुसार तोकिएको समयमा काम सम्पन्न नभएकाले उक्त ईजाजत पत्र रद्द गरिएको कुरा किन सम्वन्धित निकायलाई जानकारी गराईएन त ?
काठ कटानी भएको छ, सम्वन्धित पक्षले गरेको दावी अनुसार सुका खडा रुखहरु काटिएकै भएपनि ति रुखहरु काट्दा पोथ्राहरु भाँचिएका छन, यसको जिम्मेवारी कसले लिन्छ ? बन ऐन, २०४९ अनुसार स्थानीय उपभोक्ताहरुलाई संरक्षण, सम्वद्र्धन र सदुपयोग गर्नका लागि राष्ट्रिय बनको निश्चित क्षेत्र समुदायलाई हस्तान्तरण गर्ने प्राव्धान रहेको छ । यस्तो प्राव्धान अनुसार सामुदायिक बनहरुले वनाएको कार्ययोजनामा बन पैदावार निकासी पैठारी सम्वन्धि व्यवस्था पनि गरिएको हुन्छ । सामुदायिक बनको ईन्भेण्ट्रीबाट देखिएको बन पैदावारको आधारमा निकासी पैठारीको परिमाण तय गर्ने व्यबस्था छ । यदि तोकिएको शर्त बमोजिम कुनै सामुदायिक बनले काम नगरेको वा शर्त बिपरित काम गरेको पाईएमा जिल्ला बन अधिकृतले सामुदायिक बन फिर्ता लिन सक्ने अधिकार उक्त ऐनले दिएको छ । तर, कुनै पनि सामुदायिक बनहरु फिर्ता हुँदैनन्, किन त ?
जब भएका कमीकमजोरीहरुमा सधैं पर्दा लगाउने काम हुन्छन, त्यसपछि अपराधका श्रृंखला बढ्दै जान्छ । सानो घटना बढ्दै जान्छ र यसले बिनाशको रुप लिन्छ  दक्षिणी बेल्टका सामुदायिक बनहरुमा भएको अवस्था यही हो । अहिले सम्वन्धित क्षेत्रमा भएका कर्मचारीहरु मात्रै कारवाहीको भागेदार भएका छन तर खोज्दै जाँदा दोषी अहिले अनुसन्धानको जिम्मेवारी पाएकाहरु पनि हुन सक्छन । माथिल्लो निकायको आड नपाई कुनै तल्लो निकायले त्यति हिम्मत गर्दैन । अनुसन्धान आफु बिपरित हुने देखेमा फेरी फिललो बनाउने कार्य हुन्छ । अनि यो अध्याय समाप्त हुन्छ र अर्को अध्यायको प्रारम्भ  हुन्छ ।
त्यसैले यस पटकको अध्ययनलाई कुनै व्यक्ति बिशेष भन्दा पनि प्रबृत्ति बिशेषमा केन्द्रित गर्नु जरुरी छ । जवसम्म यो प्रबृत्ति समाप्त हुँदैन तवसम्म यो रोग निको हुने छैन । 

थप समाचार

श्रीमान् हराएपछि खिनाको पिडा

डोटी सानागाउँ गाबिस–७ कि खिना खड्का उमेरले ३५ वर्षकी मात्र भईन तर झट्ट हेर्दा उनी  ४० माथीकी देखिन्छिन् । उनको यो अवस्था उनले भोग्नु परेको पारिबारिक बोझकै कारण हो ।
निड्स नेपाल नामक गैर–सरकारी संस्थाको सहयोगमा महिला तथा बालबालिका कार्यालय डोटीले आयोजना      गरेको ‘सुरक्षित आप्रबासनका सवालमा सार्वजनिक सम्बाद’ कार्यक्रममा भेटिएकी खिनाले आफ्नो बेदना पोखिन् । रोजगा–रीका सिलसिलामा भारत भएका श्रीमान् टंक खड्का उतै हराएपछि खिनाले परिबारको बोझ आफ्नो काँधमा लिनु प¥यो । श्रीमान्को चिन्ताले उनीमा मानसिक समस्या समेत देखियो । अहिले पनि उनी पूर्ण रुपमा सन्तुलनमा छैनन् । कलिलै उमेर देखि रोजगारीको लागि भारत जाउआउँ गर्ने खिनाका श्रीमान् करीव ४० बर्षीय टंक २०७० साल साउनदेखि सम्पर्क बिहिन छन ।
‘२०६७ सालमा घरबाट भारतको मुम्बई जानु भएको हो’ खिना भन्छिन् ‘तीन बर्षसम्म त फोन गर्नु हुन्थ्यो, घर आउनेहरुको हातमा खर्च पनि पठाउनु हुन्थ्यो तर २०७० साल साउन देखि केही खवर छैन ।’ आफुले हराएका श्रीमान् खोजी गरिदिनका लागि प्रहरी चौकी सानागाउँमा निबेदन समेत दिएको खिनाले वताईन । खिनालाई साँझ बिहानको छाक टार्न समेत धौ धौ भएको छ । उनी भन्छिन् ‘बिरामी नभएको भए त म मजदुरी गरेर गुजरा गर्थे तर त्यो गर्न पनि सक्दैन ।’
परिबारको खर्च धान्न समस्या भएपछि खिनाका १५ वर्षीय छोरा नरेश पनि रोजगा– रीका लागि भारत भएका छन । ‘छोरो पढ्नमा राम्रै थियो’ आँखा  भरी आँशु र मलिन अनुहार बनाउँदै खिनाले भनिन् ‘कलिलै उमेरमा उ पनि उतै (भारत) तिर गयो ।’ दुई छोरीहरु पनि नियमित बिद्यालय जाँदैनन् खिनाका । नियमित कापी कलम र पोशाँक नपाएपछि उनीहरु बिद्यालय नियमित जान नसकेको खिनाको भनाई छ ।
टंक भारतमा हुँदै घरमा आमा बितेको खबर पाएपछि उनी सम्पर्कबिहिन भएको खिना बताउँछिन । उनी भन्छिन् ‘आमालाई धेरै माया गर्नु हुन्थ्यो, आमा बिरामी हुँदा घर जान्छु भन्नु भएको थियो रे तर भारतमै रहेका ससुरा (टंकका बुवा) ले खर्च हुन्छ तिमि नजाउ भनेपछि आउनु भएन ।’ पछि टेलिफोनबाट आमाको मृत्युको खवर सुनेको दिनदेखि टंक कसैको पनि सम्पर्कमा नरहेको खिनाले   वताईन ।
खिनाका लागि अहिले उनका माईती सहारा भएका छन । ‘लुगा फाटो देवरले पनि सहयोग गरिरहनु भएको छ’ खिना भन्छिन् ‘माईतीले पनि सहयोग गर्दैछन ।’ सुरक्षित आप्रबासनको क्षेत्रमा काम गरिरहेको निड्स नेपाल नामक गैरसरकारी संस्थाले एक बाख्रो दिएको खिना वताउँछिन । ‘दुई÷तीन बाख्रा अरु कसैले सहयोग गरिदिए बाख्रा पालन गरेरै गुजारा चलाउँथे’ खिना भन्छिन् ।
खिना जस्तै समस्या धेरैले भोग्नु परेको छ ।

धार्मिक महोत्सव सचिवालयको उद्घाटन

यहि चैत्र १६ गतेबाट सञ्चालन हुन गइरहेको  शैलेश्वरी धार्मिक महोत्सब सचिवालयको उद्घाटन भएको छ ।
डोटी बहुमुखी क्याम्पस सिलगढीद्वारा आयोजना गरिने शैलेश्वरी धार्मिक महोत्सवको सचिवालय प्रमुख जिल्ला   अधिकारी गोकर्णप्रसाद शर्माले एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गरे । सचिवालय उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले भने ‘पछिल्लो समयमा डोटी बहुमुखी क्याम्पसमा बिभिन्न कुराहरुको बिकास भएपनि बिद्यार्थीहरुको चाप घट्दै गएको देखिन्छ ।’ बिद्यार्थीहरुलाई रोक्नु हामी सबैको कर्तब्य कर्तव्य भएको बताउँदै प्रजिह शर्माले भने ‘अहिलेको युगमा प्राबिधिक शिक्षाको अति नै आवश्यक छ ।’
क्याम्पसले महोत्सब आयोजना गर्नुपूर्व शैलेश्वरी माताको अर्ध ढलौटको मूर्ति राख्न जिल्लाका सबै कार्यालय प्रमुख तथा गैरसरकारी संस्थाका प्रमुखहरुलाई निर्देशन दिइसकेको पनि शर्माले बताए । ‘म अछामी भएपनि म डोटे्ली हुँ ।’ प्रमुख जिल्ला अधिकारी शर्माले भने,  ‘यो क्याम्पस मेरो हो यो महोत्सव सफल पार्न म दत्तचित्तका साथ लागि पर्छु ।’
अन्तर्राष्ट्रिय भक्तियोग फाउण्डेसनसँग भएको समझ  दारी गरी आयोजकले गर्न नसकेको खण्डमा टेण्ट,  पण्डाल, साउण्ड सिस्टम, जेनेरेटर, लाइट लगायतको ब्यवस्था भक्तियोग फाउण्डेसनले गर्ने मुल आयोजक कमिटी अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिकाका भूतपूर्व मेयर पूर्णराज जोशीले बताए । उनले भने, ‘यस पुरानो क्याम्पसमा मानबिकी, शिक्षाशास्त्र र ब्यवस्थापन संकाय मात्र भएकोले अब स्नाकोत्तर तहमा बिभिन्न संकायहरुमा पठनपाठन गर्ने उद्देश्यले महोत्सब आयोजना गरेका हौं ।’ प्राबिधिक शिक्षा सञ्चालन गर्दा यस क्षेत्रको र यस क्याम्पसको स्तरोन्नति हुने उनको बिश्वास छ ।

नगरपालिका चाहिँदैन

सरकारले स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेका बेला डोटीमा स्थानीय तह पुनर्सं–रचनाको बिवाद फेरी बल्झिएको छ ।
स्थानीय तह पुनर्संरचना जिल्ला प्राबिधिक सहयोग समितिले कार्तिक २० गते आयोगलाई बुझाएको प्रतिबेदन अनुसार डोटीमा नयाँ प्रस्ताव  गरिएको शिखर नगरपालिकामा आफुहरुलाई राखिएको भन्दै साबिकको ईलाका नं. ५ ले बिरोध जनाएको छ । शनिवार सम्पन्न ईलाकास्तरीय योजना तर्जुमा भेलाले ईलाका नं. ५ लाई एक गाउँपालिका बनाईनु पर्ने माग सहितको निर्णय गरेको छ । उक्त निर्णयमा ईलाकास्तरीय राजनीतिक दलका प्रतिनिधिहरु सवैले हस्ताक्षर गरेको लाटामाण्डौं गाबिसका सचिव चेतराज पन्तले जानकारी दिए ।
यस क्षेत्रको बिकास भईनसकेकोले नगरपालिका बन्ने अवस्था नरहेको स्थानीयबासीहरु को भनाई छ । प्राबिधिक सहयोग समितिले आफुहरुसंग कुनै सल्लाहनै नगरि जिल्लामै बसेर स्थानीय तह पुनर्सं–रचनाका लागि सिफारिस गरेको भन्दै स्थानीयबासीहरुले आफुहरुलाई उक्त निर्णय मान्ने नहुने वताएका छन । ‘जिल्लाको नक्सा टेबलमा राखेर गरिएको पुनर्संरचना हामीलाई मान्ने हुँदैन’ एक स्थानीयबासीले भने ‘सामान्य पूर्वाधार समेत नभएको ठाउँलाई नगरपालिका वनाउने अधिकार कसले दियो ?’
प्राबिधिक सहयोग समितिले हाल कायम रहेको ईलाका नं. ५ का चार गाबिस र ईलाका नं.११ का पाँच गाबिस समावेश गरि शिखर नगरपालिका सिफारिस  गरेको थियो । ईलाका नं.५ मा रहेको लामिखाल गाबिसलााई आदर्श गाउँपालिकामा समावेश गरिएको थियो । स्थानीयबासीहरुले उत्त निर्णय आफुहरुलाई मान्य नभएको आवाज उठाउँदै आएका भएपनि सुनुवाई नभएपछि निर्णय गरेर पठाएका हुन ।

आय व्यय बिवरण सार्वजनिक

धु्रब ओझा÷कैलाली
       माघ २४
अत्तरिया उद्योग बाणिज्य संघ कैलालीले सुदूरपश्चिम क्षेत्रीय महोत्सब, २०७३ को आय व्यय बिवरण सोमबार सार्वजनिक    गरेको छ ।
गत पुष २७ देखि माघ ९ गतेसम्म सञ्चालन भएको सो महोत्सवमा कुल ५० लाख ४६ हजार ६ सय ८५ को आयव्यय बिवरण उद्योग बाणिज्य संघ अत्तरियाका महासचिव अशोक देबकोटाले प्रस्तुत गरेका थिए । उक्त कुल रकम बाट ३५ लाख ११ हजार नौ सय १० खर्च भएको र १५ लाख ३४ हजार सा सय ७५ बचत भएको महासचिब देबकोटाले जानकारी दिए । महोत्सबमा २२ लाख ८४ हजार दुई सय ४० टिकट बिक्रीबाट संकलन भएको र एक लाख ६९ हजार एक सय रेसलिङ टिकट बिक्रीबाट संकलन भएको देबकोटाले वताए । महोत्सवमा प्रायोजक र सहप्रायोजकबाट १४ लाख ९४ हजार एक सय अझै उठ्न बाँकी रहेको देखाईएको छ ।
गाबिस सचिवहरु आन्दोलित
बिगत लामो समयदेखि बिभिन्न मागहरु राख्दै आएका गाउँ बिकास समिति सचिवहरु एक पटक फेरी आन्दोलित भएका छन ।
स्थानीय निकायको निर्वाचन तत्काल गरिनु पर्ने, गाबिस सचिवहरुले जनप्रतिनिधिहरुको समेत काम गर्दै आएकाले थप प्रोत्साहन भत्ता पाउनु पर्ने लगायतका माग राख्दै आएका सचिवहरुले पछिल्लो पटक कामकाज ठप्प गर्दै आन्दोलन सुरु गरेका छन । गाबिस सचिवहरुले आ–आफ्ना गाबिसका छाप र लेटरप्याडहरु सम्वन्धित जिल्ला बिकास समितिको कार्यालयमा बुझाउँदै गाबिसबाट हुने सेवा प्रवाह रोकेका हुन ।
डोटी जिल्लामा पनि आईतबार देखि गाबिस सचिवहरुले कामकाज ठप्प पारेका छन । आईतबार डोटीका ५० वटै गाबिसका सचिवहरुले छाप र लेटरप्याड जिल्ला बिकास समिति डोटीमा बुझाई आन्दोलन सुरु गरेका छन । गाबिस सचिवहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला बिकास समितिमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
स्थानीय निकायका कर्मचारीहरु पनि आन्दोलनमा
बिभिन्न ११ बुँदे माग राख्दै स्थानीय निकायमा कार्यरत कर्मचारीहरु पनि आन्दोलित भएका छन ।
स्थानीय तहको निर्वाचन तत्काल गरिनु पर्ने, नयाँ संबिधानको मर्म र भावना अनुसार स्थानीय तहबाट जनअपेक्षा अनुरुप सेवा प्रवाह हुने गरि संरचना र जनशक्तिको व्यवस्था गरिनु पर्ने, स्थानीय निकायका कर्मचारीहरुको पनि निजामति कर्मचारीहरुको जस्तै सेवा सुबिधाको व्यवस्था गर्नु पर्ने, स्थानीय निकायमा लामो समय देखि अस्थायी करारमा काम गर्दै आएका कर्मचारीहरुको अवस्थालाई ध्यान दिँदै नीति नियम वनाईनु पर्ने लगायतका माग राख्दै स्थानीय निकायका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।
आन्दोलनका कार्यक्रम अनुसार आईतवार र सोमवार स्थानीय निकायमा व्यानर राख्ने र मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्य भएका छन । यस्तै आज मंगलवार र भोली बुधवार स्थानीय निकायका कर्मचारीहरुले कालोपट्टी बाँधेर बिरोध जनाउने कार्यक्रम तय भएको छ । यस्तै राजनीतिक दलहरु, संघसंस्थाहरुमा पनि आफ्ना मागहरुका बारेमा आज र भोली छलफल चलाईने भएको छ ।
२७ गते एक घण्टा कालोपट्टी बाँधेर काम गर्ने, २८ गते तीन घण्टा कालोपट्टी बाँध्ने, पेनडाउन गर्ने र कार्यालय अगाडी धर्ना दिने र २९ गते पुरै दिन स्थानीय निकायका काम ठप्पराख्ने कार्यक्रम घोषणा गरिएको छ ।
यदि यति गर्दा समेत आफ्ना मागहरु पुरा नभए अतिआवश्यक सेवा बाहेक सवै सेवाहरु अनिश्चित कालका लागि बन्द गर्ने स्थानीय निकायका कर्मचारीहरुले चेतावनी दिएका छन ।

ढाड खुस्काउने डिसीको धम्की

जथाभावी बन फडानी नभएको स्रोतको दावी

डोटीको जोरायल क्षेत्रमा भएको बन फडानीको बिषयमा सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले सामाजिक सञ्जालमा सञ्चारकर्मीहरुलाई धम्की दिएका छन । जोरायल क्षेत्रमा भएको बन फडानी सामुदायिक बनको कार्ययोजनाभित्रै रहेको भएको एक स्रोतले दावी गरेको छ । 
जोरायल क्षेत्रमा व्यापक बन फडानी भएको समाचार बिभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि सहायक बन अधिकृत डिसीलाई क्षेत्रीय बन निर्देशनालयमा बोलाई छानबिन सुरु गरेपछि डिसीले सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएका छन । उनले आफ्नो फेसबुक स्टाटसमा आफु निर्दोष भएको र आफुलाई जवरजस्ती दोषी बनाउन खोजे कलम भाँचिन सक्ने र ढाड खुस्काईन सक्ने धम्की दिएका थिए । डिसीले आफ्नो स्टाटसमा लेखिएको छ ‘तिमिहरु जे सक्छौं गर तर दोषीलाई निर्दोष र निर्दोषलाई दोषी प्रमाणित गर्ने काम नगर नत्र कलम भाँचिन सक्छ, ढाड खुस्काईन सक्छ ।’ उनले आफु रोल्पामा जन्मेको र दाङमा हुर्केको कुरा बुझ्नु पर्ने समेत आफ्नो स्टाटसमा उल्लेख गरेका छन ।
सो धम्कीप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै महासंघको डोटी शाखाले शनिवार बिज्ञप्ती जारी गरेको हो । बिज्ञप्तीमा भनिएको छ ‘प्रेस स्वतन्त्रतालाई मजाक सम्झने अधिकृत डिसीको असोभनीय, घृणित कार्यप्रति महासंघ खेद प्रकट गर्दछ ।’ पत्रकारका कलम भाँच्ने र ढाड खुस्काउने जस्ता अभिव्यक्ति दिईनु लोकतन्त्रप्रतिकै उपहास भएको बिज्ञप्तीमा उल्लेख छ । यस्ता व्यक्तिहरुलाई तत्काल गिरफ्तार गरि कडा भन्दा कडा कारवाही गर्न महासंघले बिज्ञप्तीमार्फत सरकारसंग माग गरेको छ ।
यता जोरायल क्षेत्रमा भएको काठ कटानी सामुदायिक बनको कार्ययोजना अनुसारनै भएको एक स्रोतले दावी गरेको छ । स्रोतका अनुसार सामुदायिक बनबाट निकासी पैठारी गर्न पाउने बन पैदाबारभन्दा पनि कम मात्रै कटानी भएको छ । स्रोत भन्छ ‘काठ जथाभावी फडानी भएको होईन, प्रक्रिया मात्रै नपुगेको हो ।’ सञ्चारमाध्यममा आएजस्तो काँचो रुख नकाटिएको समेत स्रोतको दावी छ । जेठ मसान्त सम्म काठ निकासी गरिसक्ने गरि ईजाजत लिएको तर सो समयमा काठ निकासी नभएका कारण अचेल काठ कटानी गरिएको स्रोतको दावी छ । नयाँ आर्थिक वर्षमा प्रक्रिया पुरा गर्नु पर्ने त्यो हुन नसकेको वताईएको छ ।
जिल्ला बन कार्यालय डोटीले भने अहिले अनुसन्धान भईरहेका कारण सवै कुरा वताउन नमिल्ने जानकारी दिएको छ । ‘हामीले प्रारम्भिक कुरा जानकारी गराईसकेका छौं’ जिल्ला बन अधिकृत बद्रीकुमार कार्कीले बिम्ब साप्ताहिकलाई भने ‘अहिले अनुसन्धान भईरहेको छ, अनुसन्धान पुरा भएपछि मात्रै थप कुरा भन्न सकिन्छ ।’

छोटकरी समाचार

भिनाजुको हत्या

गाँजरी गाबिस–६ का ३५ वर्षीय टेकराज श्रेष्ठले आफ्ना भिनाजु नाता पर्नेको हत्या गरेका छन ।
श्रेष्ठले सोही ठाउँका ५२ बर्षीय मोहन सिं थापाको टाउकोमा लाठीले प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । मृतक थापाको शवको आईतवार जिल्ला अस्पताल डोटीमा पोष्टमार्टमपछि आफन्तहरुको जिम्मा लगाईएको छ ।
थापाको हत्यापछि श्रेष्ठले आफै आई प्रहरीलाई जानकारी दिएको प्रहरी स्रोतले वतायो । घटनापछि श्रेष्ठ मानसिक रुपमा बिच्छिप्त हुँदै डोटी कारागारमा पुगी त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई आफुले हत्या गरेको कुरा वताएका थिए । श्रेष्ठ हाल प्रहरी नियन्त्रणमा रहेका र घटनाबारे थप अनुसन्धान भईर–हेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक गगन गिरीले जानकारी दिए ।

चलिचत्र/मनाेरञ्जन 

नेपाली चलचित्र ‘लुट–२’

बालबालिकाले एक्लै हेर्न नपाउने

नेपाली चलचित्र ‘लुट–२’ बालबालिकाहरुले एक्लै हेर्न नपाउने भएका छन ।
चलचित्रमा भएका हिंसात्मक दृष्यले बालबालिकाहरुको मानसिकतामा नकारात्मक प्रभाव पार्ने भन्दै बालबालिकाहरुलाई एक्लै हेर्न नमिल्ने गरि सेन्सर पास भएको छ । चलचित्रमा भएका दृश्य अनि संवादमा कैची लगाएर पनि एडल्ट दिएमा स्वीकार नगरी सर्वोच्च जानेसम्मको चेतावनीपूर्ण अभिव्यक्ती दिएका निर्देशक निश्चल बस्नेतले सेन्सरबाट अब ‘पिजी सर्टिफिकेट’ पाएका छन् ।
फिल्म जाँचपासको अधिकारपूर्ण निकाय सेन्सर वोर्डले फिल्ममा समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने संवादमा कैची लगाएको निरमाता माधव वाग्लेले बताए । तर फिल्ममा समावेश केहि हिंसाजन्य दृश्यका कारण वालवालिकाले हेर्न भने अभिभावकको सहारा लिनुपर्नेछ ।
फिल्मको आइतवार सेन्सर भएको हो । फागुन १३ मा रिलिज हुने फिल्मलाइ लिएर दर्शक तथा शुभचिन्तक अनि फिल्मकर्मीमा पनि एक प्रकारको कौतुहलता छ ।  वाग्ले र नरेन्द्र महर्जनले मिलेर फिल्मको निर्माण गरेका हुन् ।
दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य, सृजना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायत लिड अभिनयमा रहेको फिल्म ब्लकवस्टर फिल्म ’लुट’ को सिक्वेल हो । सोहि फिल्मबाट अहिले स्टारको उपमा पाएका दयाहाङ र सौगात एकाएक चम्केका थिए ।

लेख

३६ बर्ष बित्दा पनि पश्चिम सेती परियोजनाको चहलपहल मात्र

भुमिराज जोशी
पछिल्लो समयमा सरकार प्रति स्थानीयहरु आक्रोशित बन्दै गएका छन । ‘कि त काम नै शुरु हुनु प¥यो कि त बन्दैन भन्नु प¥यो । किन आशा मात्र देखाइरहने ?’ हुन पनि स्वभाबिक नै हो । जनतालाई आशा मात्र देखाएर देशलाई दिन प्रतिदिन खोक्रो बनाउदै जानु सरकारको गैर जिम्मेवारी जस्तो देखिन्छ । भ्रष्टचारीहरुलाई लुकाउदै÷उचाइमा राख्दै जानुले देश झन संकटमा पर्दै गएको छ ।
जनताले चुनेर पठाएका प्रतिनिधिहरुनै जनतालाई बिर्सन थाले । चारैतिर ‘तपाई’ शब्दमा भाषण गरे । कार्यान्वयनमा ‘मपाँई’ मा मात्र सीमित रहे । सर्बसाधारण जनताको रगत सोसेर तिनै जनताको टाउकामा खुट्टा     राखी ‘मपाई’ भन्नेहरुलाई यदि जनताले आफ्ना खुट्टा हल्लायो भने के गति हुन्छ । त्यो सरकारले बुझ्नु जरुरी छ । त्यो समय नआउला भन्न सकिदैन । त्यसैले जनताका साँढेहरुले समयमै सचेत हुन जरुरी छ । ‘पश्चिम सेती परियोजना छिट्टै बन्छ, तपाँईहरु ढुक्क भएर बस्नुस ।’ जनता सामु आएर भाषण गर्ने साँढेहरु कतिपय मरिसके । कतिपय बुढेसकालमा छन ।
सन् १९११ मा ५०० किलोवाटको फर्पिङ आयोजना बनेसंगै नेपालमा जलबिद्युतको शुरुवात भयो । त्यो समयदेखि नेपालमा जलबिद्युतको थुप्रै सम्भावनाहरु भएको बिभिन्न जलश्रोत बिद्हरुले पत्ता लगाए । देशभरी मै ६ हजार भन्दा बढी खोलानालाहरुबाट ८३ हजार मेगावाट जलबिद्युत उत्पादन गर्न सकिने भनियो । तत्काल बृटिश–भारत सरकारले नेपालमा बिद्युत उत्पादन गरी भारतमा समेत औद्योगिकरण गर्न सजिलो हुने, त्यसको लागि भारत सरकारले सहयोग गर्ने अवधारणा अघि सा¥यो । त्यो पनि अवधारणा मै सीमित भयो । त्यसपछि सन् १९६७ मा जलश्रोतबिद् डा. हरिमान श्रेष्ठको अध्ययनपछि काठमाण्डौं केन्द्रित शासकहरुले शैद्धान्तिक रुपमा नेपाल जलश्रोतका हिसाबले बिश्वको दोश्रो ठूलो धनी देशको उपमा दिए । त्यसपछि बिश्वमा नै जलश्रोतका हिसाबले बिश्वको दोश्रो ठूलो धनी देश भनेर चर्चामा आयो ।
सन् १९८०÷०८१ तिरै फ्रान्सको सोग्रेह नामक कम्पनीले ढुङ्गाढ भन्दा ८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा पश्चिम सेती आयोजनाको बाँध बनाइरहन नपर्ने जलाशयरहित आयोजनाका रुपमा ३७ मेगावाट बिजुली निकाल्ने भनेपछि पश्चिम सेती आयोजना पहिलो पटक चर्चामा आएको हो । त्यो पनि चर्चामै सीमित भयो । त्यसपछि फेरी सोग्रेहले नै दोश्रोपटक सन् १९८७ तिर आयोजना सम्बन्धि अर्को अध्ययन सुरु ग¥यो । सन् १९९१ मा पेश गरेको अध्ययजन प्रतिबेदनमा ढुङ्गाडमा बाँध बाधी ३६० मेगावाट बिद्युत उत्पादन गर्न सकिने देखायो ।  सोग्रेहको प्रतिबेदन अनुसार १०० प्रतिशत लागतमा २०२ प्रतिशत नेपाललाई फाइदा हुने भन्ने देखाएको थियो । तर त्यो बेला नेपाल सरकारले आयोजना अगाडी नबढाउँदा कार्यान्वयन हुन सकेन ।
सन् १९९४ जुलाइ ७ का दिन अष्ट्रेलियाको स्नोइ माउण्टेन्स इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेड (स्मेक) संग पश्चिम सेती आयोजना अघि बढाउने भनेर सरकारले सम्झौतामा हस्ताक्षर ग¥यो । नेपाल सरकारसंगको अनुमती पाइसकेपछि स्मेकले सन् १९९४ देखि २००६ सम्म आयोजना कार्यान्यन गर्ने सम्बन्धि ८ बुदाँमा सम्झौता भयो । त्यसै बिचमा स्मेकले भारतसंगको बिद्युत खरिद बिक्री समेत सम्झौता गरेको पाइन्छ । यो बिषयमा भने संसदमा जानकारी नै नभएको भन्ने कुरा पनि आयो ।
स्मेकले लगानी जुटाउन नसकेर बिभिन्न बिदेशी बित्तिय कम्पनीहरुसंग हातेमालो गर्दै करिब २० बर्ष   बितायो । पश्चिम सेतीमा स्मेक सहित चाइना न्याश्नल् मेसनरी इक्विपमेन्ट इम्र्पोट एण्ड एक्सपोर्ट कर्पोरशन सिमेक, एक्सपोर्ट इम्प्रोट बैङ्क अफ चाइना, इन्डस्ट्रियल एण्ड कमर्सियल बैङ्क अफ चाइना लगायतका ७ वटा बित्तीय कम्पनीहरुसंग सहयोग माग्दै बेपत्ता भयो । पश्चिम सेती तिर फर्केन । स्थानीयहरु भन्छन, ‘आश्वासन मात्र दियो फेरी उक्त स्थानमा फर्केर पनि हेरेन ।’ स्मेक पनि लगानी जुटाउन नसक्दा बाहिरियो ।
स्मेकले गरेको अध्ययन प्रतिबेदन अनुसार डोटी, डडेल्धुरा, बैतडी र बझाङ्ग जिल्लाको सिमानामा जलायसययुक्त बाँध निर्माण गर्ने देखाएको थियो । वाँधस्थलदेखि बझाङ्गको चौडामवगरसम्म लगभग २५ किलोमिटर लम्बाई रहने जलासयमा एक अर्ब, ५६ करोड, ६० लाख घनमिटर पानी संकलन हुने उक्त परियोजनाले ६ सय ५९ हेक्टर खेतीयोग्य जग्गा, एक हजार दुई सय २ हेक्टर बन क्षेत्र, २ सय ४६ हेक्टर घाँसे मैदान र २ सय ६ हेक्टर वुट्यान गरी जम्मा २ हजार, ३ सय, १३ हेक्टर जमिन डुवानमा पर्ने देखाएको थियो । जमिनको सतहवाट एक सय ९५ मिटर अग्लो कंक्रिट बाँध निर्माण गरी ६.७ किलोमिटर लामो सुरुङ्ग मार्फत बर्तमान नदीको मार्ग परिवर्तन गरी, भुमिगत बिद्युत गृह निर्माण गरेर ७५० मेगावाट बिद्युत उत्पादन गर्ने स्मेकको योजना लगानी जुटाउन नसकेर सन् २०१२ सम्म पनि लगानी जुटाउन नसकेपछि वाहिरिनु प¥यो ।
त्यसपछि अर्को हस्ती कम्पनी आयो । पश्चिम सेतीको जिम्मा म लिन्छु भनेर । बहुराष्ट्रिय चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशन । योसंग पनि उर्जा मन्त्रालयले सन् २०१२ फेब्रवरी २९ मा सम्झौता ग¥यो । सम्झौतामा सन् २०१४ देखि निर्माण कार्य शुरु गरी २०१९ मा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख गरिएको छ । तर सन् २०१७ सुरु हुँदा पनि निर्माण कार्य सुरु हुन  सकेन । फेरी जनतालाई अन्यौलतामा राखियो । अब कस्को आशा गर्ने स्थानीयहरुले ? “जति जोगी आए पनि कानै चिरेका” भने जस्तै हुन थाले । जनतालाई आशा र भ्रम मात्र फैलाउन थाले । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने साँढेहरुको कति आशा मान्ने ? चुनाब तथा कुनै ठूलो कार्यक्रममा आउँदा पहिलो बुदाँ नै पश्चिम सेतीको निर्माण कार्य सुरु गर्ने भन्ने टिपोट गर्छन । त्यसै बिषयमा बहुत ठूल्ठूला भाषण गर्छन । अन्तमा सबै बिर्सन्छन । जनतालाई भट्काउने काम मात्र गर्छन । राम्रो काम कहिल्यै गर्दैनन । यी सबै स्थानीयहरुका पीडा हुन ।
देशकै ठुलो जलबिद्युत आयोजनाको रुपमा चर्चा गरिएको पश्चिम सेती आयोजना निर्माणका लागि फेरी अर्को सम्झौता भएको छ । यसै माघ ३ नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच  संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ ।
नयाँ सम्झौता अनुसार  परियोजनामा थ्री गर्जेजले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन् । सरकार र कम्पनीबीच सुरुमा भएको समझदा–री उल्ट्याउँदै व्यवस्थापिका संसद्को तत्कालीन प्राकृतिक स्रोतसाधन समितिले प्राधिकरण मार्पmत नेपाल सरकारको कम्तीमा २५ प्रतिशत शेयर हुनुपर्ने निर्देशन दिएपछि पाँच बर्षसम्म पनि आयोजना सञ्चालनमा कुनै समझदा–री हुन सकेको थिएन ।
सम्झौतामा लगानी बोर्डले स्वीकृति दिएपछि र नेपाल राष्ट्र बैंकले सीटीजीआईबाट हालसम्म भएको खर्च पुँजीकरण गर्ने सहमति दिएपछि संयुक्त उपक्रम कम्पनी दर्ता हुने उल्लेख छ । यसरी दर्ता भएको कम्पनीले नै पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्नेछ । उक्त कम्पनीमा चिनियाँ पक्षका तीनजना, प्राधिकरणका एकजना र दुवै पक्षले मिलेर मनोनयन गरेको एकजना गरी जम्मा पाँचजनाको सञ्चालक समिति हुने सहमति भएको छ । त्यो पनि अन्यौलमै होला भन्न सकिदैन ।
आयोजना निर्माण सम्बन्धमा नेपाल सरकारले जलाशययुक्त आयोजनाको विद्युत् खरिद दर, जलाशययुक्त, सुक्खायाम र वर्षायामको बिजुलीको आवश्यकता कम्पनीलाई उपलब्ध गराउनेछ । सोही आधारमा कम्पनीले आयोजना सम्वन्धि अध्ययनलाई पुनः अद्यावधिक गर्ने सम्झौता मस्यौदामा भनिएको छ । सुरुमा ७५० मेगावाट बिद्युत उत्पादन हुने सम्झौता भएपनि थ्री गर्जेजले फेरी स्थलगत अध्ययन गर्दा पश्चिम सेतीको ७५० मेगावाट नरहेको दाबी गर्दै आफ्नो सम्भाव्यता अध्ययन प्रतिबेदनमा ६०० मेगावाट मात्र हुने जनाएको छ ।
कम्पनीको यो अध्ययनलाई सरकारले अस्वीकार गर्दै २०६८ फागुन १६ गते कम्पनी र सरकारबीच भएको समझदारी अनुसार नै हुनुपर्ने अडान राखेको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले पश्चिम सेतीको जलाशयकृत क्षमता ७५० मेगावाटबाट घटाउन नपाइने भनेपछि कम्पनीले गरेको सम्भाव्यता अध्ययन पुनर्विचार गर्न सहमती गरेको थियो ।
पछिल्लो समयमा दुई थरीका कुराहरु आइरहेका छन । कतिपयले पश्चिम सेती बन्नै पर्छ भन्छन त कतिपयले यो ठाउँमा भूकम्पको उच्च जोखिम छ यो परियोजना बन्यो भने ठूलो जनधनको क्षतिहुन सक्छ त्यसैले बन्नु हुदैन भन्छन ।
यदि बनिसकेपछि  भूकम्पका कारण बाँध भत्कन पुगेमा तल्लोतटीय क्षेत्रमा पर्ने बानेडुग्रीसैन र गोपघाटदेखि दिपायल हुदै कैलाली, बाँके बर्दिया, भारतका उत्तर प्रदेश, बिहार पश्चिम बंगाल तथा बंगलादेशको हालत के होला ? यता पनि सोच्न जरुरी छ । थ्री गर्जेजको पनि दुईतिर मोड फर्किए जस्तो छ । काम शुरु गर्नै लाग्दा बैज्ञानिक लुजेन्द्र ओझाले यो ठाउँ भूकम्पको दृष्टिले उच्च जोखिममा छ । यसमा यति ठूलो भार थाम्न नसक्ने पानीको सतह बनाउदा खतरामा पर्न सक्छ भन्ने संकेत दिएपछि त्रसित भए जस्तो पनि देखिन्छ ।
पश्चिम सेती बन्ने नबन्नेमा सबै अलमलमा परेका छन । फाइदा हुने की घाटा हुने पश्चिम सेतीको भबिश्य ? यसमा सरकारले समयमै ध्यान दिनु जरुरी छ ।

मोफसल पत्रकारिता

मैले कमाउनु भन्दा गुमाएको छु ।

ज्ञानेन्द्र भाट (कार्यकारी सम्पादक)
अमरगढी पोष्ट दैनिक, डडेल्धुरा
तपार्इंको परिचय पाउँ न ?
— मेरो नाम ज्ञानेन्द्र भाट हो । घर बगरकोट डडेल्धुरा, हाल अमरगढी पोष्ट राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक भएर काम गरिराछु । 
कति समय भयो यस पेशामा लागेको ?
— विगत ७ वर्ष देखि मोफसल पत्रकारिता गरिराखेको छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— एउटा मोफसल पत्रकारको हैसियतले पत्रकारिताका सवै विधाहरु आत्मासात गर्नुपर्ने बाध्यता हाम्रा सामु छँदैछ तर पनि आर्थिक विकासको पत्रकारिता गर्न मललाई बढी रुची लाग्छ ।
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— तपाईले भने जस्तै निश्चयः पनि पत्रकारहरुका धेरै नै समस्याहरु छन । आर्थिक, सामाजिक र राजनैतिक पत्रकारहरुका मुख्य समस्याहरु हुन ।  
समस्यानै समस्या भएको पेशा किन रोज्नु भयो त ?
— पत्रकारिता मार्फत नै समाजको सकारात्मक विकास गर्ने मेरो सानै देखिको रुची हो । जस अनुुसार म सानै देखि विभिन्न वाल पत्रकारिता तालिममा सहभागी भएको थिएँ । र हाल पनि यसैलाई निरन्तरता दिएको छु ।
भुगोल र जनसंख्याका हिसावले डडेल्धुरा जिल्ला सानो छ, तर सञ्चारगृहको संख्या त धेरै छ नि । के छ यहाँका सञचारगृहहरुको अवस्था ?
— बर्तमान अवस्थामा डडेल्धुराका सञ्चारगृहको अवस्था निकै दयनीय छ । सानो भूगोल, सानो बजारमा मिडियाहरु धेरै हुन यहाँको मुख्य चनौती रहेको छ । मुख्य गरी आर्थिक हिसावले यहाँका मिडियाहरु निकै नै मार्काका छन ।
कसरी मुल्याँकन गर्नु भएको छ, डडेल्धुराको पत्रकारितालाई ?
— डडेल्धुरा जिल्ला राजनीतिक हिसावले निकै नै उथलपुथल हुने जिल्ला भएकाले यसको प्रभाव यहाँको पत्रकारितामा पनि परेको भन्ने मेरो व्यक्तिगत महसुश हो । यद्यपी आर्थिक हिसावले यहाको पत्रकारिता क्षेत्र कमजोर रहेको भएपनि सञ्चारगृहको विकास हुन सकारात्मक पक्ष हो । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— श्रमजिवी पत्रकार ऐन तत्काल लागु गरी ऐन लागु नगर्ने सञ्चारगृहलाई कारवाही गर्न सके मोफसल पत्रकारिताका समस्या समाधान हुने थिए कि भन्ने मेरो लगायत मौफसल पत्रकारितामा काम गर्ने साथीहरुको बुझाई रहेको छ ।
नेपाल पत्रकार महासंघले मोफसलमा काम गर्ने पत्रकारहरुको संरक्षणका लागि खासै ध्यान दिन सकेन भन्ने आरोप बेला बेलामा लाग्ने गर्छ, के लाग्छ तपाईलाई ?
— मोफसलमा काम गर्ने पत्रकारहरुको संरक्षणका लागि ध्यान नदिनु नै नेपाल पत्रकार महासंघले ठुलो गल्ति हो । श्रमजिवी पत्रकार ऐन लागु गरि ऐन लागु नगर्ने सञ्चारगृहलाई कारवाही गर्न नेपाल पत्रकार महासंघले पहल गर्न आवश्यक छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— सञ्चारकर्मीहरुका बैचारिक संगठनहरु मोफसल पत्रकारका समस्या समाधानमामा खासै पहल गरेको जस्तो मलाई लाग्दैन । स्वयं सञ्चारगृहको मालिक बैचारिक संगठनहरुमा आवद्व भएकाले श्रमजिवी पत्रकार ऐन लागु गराउनबाट पन्छिने गरेको मैले महसुश गरेको छु ।    
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एक मर्यादित पेशा हो । जसले समाजको सकारात्मक विकासमा महत्वपूर्ण योगदान गर्छ । समाजमा भएका विकृति, विसंगति, कुरुतीहरुलाई सञ्चारगृहका माध्यमबाट सकारात्मक परिवर्तन गर्ने कार्य पत्रकारिता हो ।
डडेल्धुराका पत्रकारहरुको त कमाई धेरै छ भन्ने सुनिन्छ, कति कमाउनु    भयो ?
— हाहाहा......, प्रश्न पनि अचम्मै को सोध्नु भो । डडेल्धुरामा त्यस्तो के छ र पत्रकारहरुको कमाई धेरै हुनलाई । मलाई त त्यस्तो लाग्दैन । मेरो हकमा भन्नु पर्दा मैले पत्रका—रितामा कमाउनु भन्दा पनि गुमाएको छु भन्दा हुन्छ ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ?
— हो यसमा म पनि सहमत छु । तर सुन र चाँदीलाई एउटै कोणबाट मुल्याङ्कन गरियो भने यसको असर के होला ? पत्रकारिता भित्रका केहि व्यक्तिहरुले पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित गर्दै आएका छन तर समग्रमा पत्रकारिता क्षेत्र अझै बदनामित भएको छैन । बरु बद्नामित गर्नेहरुलाई छानवीन गरी तत्काल कारवाही गर्न सके पत्रकारिता क्षेत्र मर्यादित र अनुशासित बन्ने थियो । 
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ?
— नेतृत्वका लागि अनेक प्रयासहरु हुने यो पुरानै परम्परा हो । नेतृत्वका लागि जो सुकै आकाँक्षीहरु भएपनि राजनीति भन्दा टाढा रहेर एउटा सक्षम, जुझारु र पत्रकारहरुको संरक्षण गर्न सक्ने नेतृत्वलाई अगाडी बढाउन महासंघका सदस्य साथीहरुलाई म आग्रह गर्दछु । 
तपाई पनि दाबेदार हो कि ?
— अहिले म यो मनस्थितिमा छैन । किनकी म भन्दा पनि लामो समय पत्रकारितामा काम गरिरहेका साथीहरुलाई नै सहयोग गर्न पर्छ भन्ने मेरो मान्यता हो । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
— आगामी नेतृत्वले मोफसलमा काम गर्ने साथीहरुको समस्यालाई मध्यनजर गरोस भन्न चाहन्छु ।
समय र बिचारका लागि धन्यबाद ।
— मलाई पनि आफ्नो बिचार राख्ने मौका दिनु भएकोमा तपाई लगायत विम्ब साप्ताहिक परिवारलाई धेरै धेरै धन्यवाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ व्यवस्थापिका संसदबाट कहिले पारित गरियो ?                                                     — २०७३ माघ १२
२. नेपाल टेलिकमले 4G सेवाको सुरुवात कहिले गरेको हो ?                      — २०७३ पुष १७
4G
३. भारतबाट प्रदान गरिने प्रतिष्ठित पद्मश्री सम्मान प्राप्त गर्ने नेपाली को हुन ?  — अनुराधा कोइराला
४. देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) रुपन्देही जिल्लामा कहिले उद्घाटन गरियो ? 
— २०७१ मंसिर २
५. टाइम पर्सन अफ द इयर, २०१६ घोषित राजनीतिज्ञ को हुन ?—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
६. नेपाल प्रहरीद्वारा ‘प्रहरी मेरो साथी’ अभियान कहिले देखि  सञ्चालन गरिएको हो ?
— २०७३ आषाढ २७
७. महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले भएको हो ?           — बि.स.१९६६ कार्तिक २७
८. गोरखापत्रमा नयाँ नेपाल स्तम्भ अन्तर्गत हाल कति भाषामा समाचार प्रकाशन हुने गर्दछ ?  — ३४
९ं. आसियान (ASEAN) को १९ औं शिखर सम्मेलन २०१६ मा कुन देशमा सम्पन्न भएको थियो ?                                          
— लोओस
१०. ‘३० रुपयाँको नोट ’ नामक कृतिका लेखक को हुन ?                   — हृदयचन्द्र सिंह प्रधान
११. UNO मा शान्ति सेना पठाउने नेपाल कतिऔं ठूलो राष्ट्र हो ?                       — ७ औं
१२. नेपालको सबैभन्दा होचो विमानस्थल कुन हो ?                                  — विराटनगर
१३. २००७ सालमा नेपालमा साक्षरता कति प्रतिशत कति रहेको थियो ?                — २ प्रतिशत
१४. चमेरा संरक्षण क्षेत्र कहाँ रहेको छ ?                                — कपिलवस्तुको देवानगढी
बौद्धिक परीक्षण खण्ड
१५. कुनै व्यक्ति कुनै स्थानबाट पश्चिम तर्फ ५ कि.मि. अगाडी बढ्छ । त्यसपछि उत्तरतिर फर्की ४ कि.मि. अगाडी जान्छ । तत्पश्चात उ पूर्व तर्फ फर्की ८ कि.मि अगाडी जान्छ । अब ऊ सुरुको स्थानबाट कति दुरीमा रहेको छ ?
A.    ४ कि.मि.                B. ५ कि.मि.             C. ६ कि.मि.            D. २० कि.मि.
१६.  तल दिएको Series पुरा गर्नुहोस् ।
_acca_ccca_acccc_aaa
A)        acca                   B) caaa                          C)ccaa                       D) caac
१७. ३६,१८,९ जस्तै तलको कुन हो ?
A.    ७२,३६,१८               B. ६४,३६,१८               C. ५०,२३,११            D. ८०,४०,१६
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ ।
संकलक÷प्रस्तुतकर्ताः प्रयाग राज उपाध्याय, सुझावका  लागि : 9848626741
मिति  २०७३ साल माघ १८ गते मंगलबारको बिम्ब साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरुः
 ३८)  B                                                ३९)  C                        ४०)  B

साहित्य÷सृजना

तिमिप्रति मेरो माया

जब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु ।
जब तिमी संसारदेखी डराउनेछेउ,
म तिम्रोसाथ हुनेछु ।
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,
म मेरो मुटु दिनेछु ।
जब तिमी बिरामी पर्नेछेउ,
म तिम्रो स्याहारसुसार गर्नेछु ।
तिमीलाई थाहा छ ?
यि मेरा माया तिमीप्रति कहिल्यै सकिने छैनन् ।
तिमीलाई थाहा छ ?
यि मेराकसमहरु रितुझैं बदलिने छैनन् ।
तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटु छ,
मेरो मायाँ तिमिलाई सदासदा सगरमाथाझैं अटल रहनेछ,
मेरो मायाँ प्यसिफिक महासागरझैं सदासर्बदा गहिरिएर रहनेछ  ।
देवेन्द्र भण्डारी
घात होउ तिमी

एक झलकमानै नशा चढाउने गजबको मात होउ तिमी,
मलाई लाग्छ लागु पदार्थको खतरनाक जात होउ तिमी,
गुलाबी ओठले आफ्नो वास्तबिकता छिचोल्न नखोज,
नागीन भन्दा नि बढी विष बोकी बसेको दात होउ तिमी,
केहि त रहस्य छ जति ग¥यो त्यति नै बढ्छ तिम्रो कुरा,
अनन्तकालसम्म नि गरेर नसकिने बात होउ तिमी
जे जस्तो भएपनि तिमीलाई सधै माया गरेकै त थिएँ
येसो बुझ्दा पो थाहा पाएँ, मायामा पाउने घात होउ तिमी
सञ्जीत सिंह

सूचना÷सन्देश÷बिज्ञापन

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷१७         
        जिल्ला डोटी मुड्भरा गा.वि.स.वडा नं.२ स्थित कि.नं.१५७, १९१, २१०, १४८६, १५१२, १५३७, १५३९, १५६१, १६४४, १७६४, १८११, २५०२ र पचनाली गा.वि.स.वडा नं.२ स्थित कि.नं.३२५ र ३२६ को जग्गा मुड्भरा गा.वि.स.वडा नं.२ बस्ने सकरामको नाती लालसिंको छोरा पदी जोराको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि पदी जोराको मिति ः २०५२÷४÷२४ मा मृत्यु भैसकेको र निजको शेषपछिको हकदार एकमात्र पत्नि परुलीदेवी जोराको मिति ः २०४३÷११÷३ मा मृत्यु भैसकेकोले शेषपछिको हकदार चाार जना छोरा झुस्से जोरा, गुजे जोरा, दिर्घ जोरा, गुमानी जोरा दिर्घ जोराको मिति ः २०४७÷५÷१४ मा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार एकमात्र पत्नि हरीनादेवी जोरा भएको । गुमानी जोराको मिति ः २०७०÷६÷३ मा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार एकमात्र पत्नि धनिदेवी जोरा मात्र भएको र गुजे जोरा मिति ः २०४६÷४÷१० देखि वेपत्ता भएकोमा हाल सम्म सम्पर्कमा नआएकोले मृतक पदी जोराको नाउँको डोटी मुड्भरा र पचनाली गा.वि.स. स्थित पुरै घर जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरी पाउँ भनि डोटी मुडभरा गा.वि.स.कार्यालय डोटीको च.नं.२६७ मिति ः २०७३÷१०÷११ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली ना.प्र.प, आदी प्रमाणहरु साथै राखी जि.डोटी मुड्भरा गा.वि.स.वडा नं.२ बस्ने झुस्से जोरा, हरीनादेवी जोरा, धनिदेवी जोराले यस मालपोत कार्यालय, डोटीमा मिति २०७३÷१०÷१३ मा निवेदन दिनु भएको हुँदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, यस वाहेकका अन्य हकदार भए, गुजे जोरा वेपत्ता नभएको भए वा सम्पर्कमा भए वा निज निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

डोटी उद्योग वाणिज्य संघ

डोटीको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा स्टल बुक गर्ने सम्बन्धी सूचना

डोटी उद्योग वाणिज्य संघ दिपायल डोटीको आयोजनामा यहि मिति२०७३ फागुन १२ गते देखि २२ गते सम्म आयोजना हुन    गइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा तपशिल अनुसार स्टलको दररेट कायम गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै मिति २०७३ माघ १५ गते देखि स्टल बुकिङ खुल्ला गरिएको छ ।
स्टल दररेट
१ अटोमोवायल        ः रु १५०००।
२.डिलर÷सवडिलर        ः रु १००००।
३.गैरसरकारी संघ संस्था    ः रु १००००।
४.होटल÷रेष्टुरा÷फाष्टफूड    ः रु ७०००।
५.कृषीजन्य वस्तु        ः रु ५०००।
६.एकल महिला,विद्यार्थी,एच.आइ.भी संक्रमीत तथा साना उद्यमी ः रु ३०००।
निवेदन साथ अनिवार्य संलग्न गर्नुपर्ने कागजात ः
१. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलीपी १ थान
२. प्रदर्शक परिचय पत्रको प्रयोजनार्थ प्रति स्टल २ जना प्रतिनिधिको फोटो र नाम
३. स्टल भाडाको रकम नगद वा बैङ्क भौउचरबाट बुझाउन सकिने छ ।

शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷२१
उपरोक्त सम्बन्धमा कलेना गाबिस–९, डोटीमा रहेको यस श्री भगवती आधारभूत बिद्यालयमा रिक्त रहेको प्रा.बि. तह तृतीय श्रेणीको शिक्षक पद खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
बिज्ञापन नं. ०१÷०७३÷०७४, पद संख्या ः १ (महिला)
तह ः प्रा.बि. तृतीय  किसिम ः करार,
स्केल ः नेपाल सरकारले तोके अनुसार,
शैक्षिक योग्यता ः आई.एड. वा सो सरह
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
पेश गर्नु पर्ने कागजातहरु
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति
ड्डस्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति
ड्डनिरोगिताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति
दरखास्त दिने अन्तिम मिति ः २०७३÷११÷०६ गते
सम्पर्क मितिः २०७३÷११÷०८
परीक्षा दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
दरखास्त बुझाउने स्थान ः श्री भगवती आ.बिद्यालय, डोटी
सम्पर्क फोन ः (प्र.अ.) तेज बहादुर खाती  मो.९८४८४१८०९८
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।

जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी


सूचना !   सूचना !!   सूचना !!

जिल्ला स्वास्थ्य कार्यालय डोटीको आयोजनामा तपसिलको स्थान र मितिमा महिलाहरुका लागि परिवार नियोजनको स्थायी वन्ध्याकरण (मिनिल्याप) शिविर सञ्चालन हुने भएकोले सन्तानको  रहर पुगी सकेका महिलाहरुले सेवा लिई मौकाको फाईदा उठाउन हुन हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
 क्र.स.    स्थान                 मिति
 १.    जिल्ला अस्पताल           २०७३ माघ २१, २२ र २३ गते
 २.     मुडेगाउँ स्वास्थ्य चौकी       २०७३ माघ २४ र २५ गते
 ३.    बारपाटा स्वास्थ्य चौकी       २०७३ माघ २६ गते    
 ४.    बन्लेक स्वास्थ्य चौकी              २०७३ माघ २७ र २८ गते
 ५.     शैलेश्वरी अस्पताल दिपायल        २०७३ माघ २९ गते
 ६.     बग्लेक स्वास्थ्य चौकी                 २०७३ फागुन १ गते
 ७.     सानागाउँ स्वास्थ्य चौकी       २०७३ फागनु २ गते
 ८.     छतिवन स्वास्थ्य चौकी बुडर      २०७३ फागनु ४ र ५ गते
नोट ः जिल्ला अस्पताल डोटीमा २०७३ माघ ६ गतेबाट नियमित रुपमा मिनिल्याप सेवा सञ्चालन   गरिनेछ ।
आयोजनक
जिल्ला स्वास्थ्य कार्यालय डोटी 


No comments:

Post a Comment