Tuesday, April 4, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल चैत्र २२ गते, मंगलबार

सार्वजनिक यातायतमा स्वच्छ प्रतिस्पर्धा कायम गरौं । आपसी सम्झौताका आधारमा आलो पालो प्रणाली (सिण्डिकेट) लगाई उपभोक्ताहरुलाई ठगी गर्ने काम बन्द गरौं र गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

कहिले पाउँछन सामाजिक सुरक्षा भत्ता ?

रामहरी ओझा/सिलगढी
चैत्र २१


‘बुढो भत्ता त दिन्थ्योे गाबिस्ले त्यो पनि सचिवले खाईदियो भन्यो, अव कसरी पेट पाल्नु !’ डोटीको शिखर        नगरपालिका–९ कि करीब ७० बर्षीया बेलु भुलले स्थानीय भाषामा आफुले सामाजिक सुरक्षा भत्ताको रकम नपाएको गुनासो गरिन् । श्रीमान् गुमाईसकेकी बेलुको बुढेसकालकी साथी उनकी सौता लक्षिमा भुल र सहरा सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्रै हो । लक्षिमाको पनि उमेर करीव ७० माथीनै छ । दुवैलाई आफ्नो उमेर कति भयो भन्ने जानकारी छैन । ‘दुवैले भत्ता पाएपछि खर्च चल्थ्यो तर नौ महिना भयो भत्ता नपाएको’ लक्षिमा प्रश्न गर्छिन् ‘अव पाईएला कि नाई हजुर ? 
बेलु र लक्षिमाको जस्तै पिडा छ शारदादेवी रोस्याराको पनि । उमेरले ७० कटेकी उनी पनि बुढेशकालको साहरा सामाजिक सुरक्षा भत्ता मान्दै आएकी थिईन् तर अहिले भत्ता नपाएपछि उनलाई पनि छाक टार्न धौ धौ भएको छ । बेलु, लक्षिमा र शारदा जस्तै डोटीको साबिकका जिजोडामाण्डौं र पोखरी गाबिसका नौ सय २० जनाले सामाजिक सुरक्षा भत्ता नपाएको नौ महिना बित्यो । सरकारले स्थानीय निकायमार्फत चौमासिक रुपमा बितरण गर्ने सामाजिक सुरक्षा भत्ताको रकम सहित पोखरी र जिजोडामाण्डौैं गाबिस हेर्ने जिम्मेवारी पाएका गाबिस सचिव ईश्वरवहादुर सिंह फरार भएपछि सामाजिक सुरक्षा भत्ता पाउनेहरु मारमा परेका छन । दुवै गाबिसका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, बिधवा महिला र बालबालिकाहरुले भत्ता पाउन सकेका छैनन् । फरार भएका गाबिस सचिव हालसम्म पनि सम्पर्कमा आएका छैनन् । 
सिंहको हरकतले पोखरीका ९७ दलित जेष्ठ नागरिक, ७० अन्य जेष्ठ नागरिक, एक सय ९८ बिधवा, तीन आंसिक अपाङ्ग र दुई सय ४७ बालबालिकाहरु प्रभावित भएका छन । यस्तै जिजोडामाण्डौंका ३४ दलित जेष्ठ नागरिक, ५२ अन्य जेष्ठ नागरिक, एक सय १८ बिधवा, एक पूर्ण अशक्त अपाङ्ग, दुई आंसिक अशक्त अपाङ्ग र ९८ बालबालिकाहरुले पिडा भोग्नु परेको छ ।  
साविकको जिजोडामाण्डौं गाबिस (हालको शिखर नगरपालिका–९) को १४ लाख ६ हजार र पोखरी गाबिस (हालको पूर्वीचौकी गाउँपालिका–७) को २४ लाख, ९४ हजार, चार सय गरी ३९ लाख चार सय रुपैयाँ सामाजिक सुरक्षा भत्ताको रकम सचिवले हिनामिना गरेका हुन । सामाजिक सुरक्षा भत्ताको रकमसंगै जिजोडामाण्डौंको १५ लाख, ६९ हजार, पाँच सय एक र पोखरीको १३ लाख, ५० हजार तीन सय ४३ गरि २९ लाख, १९ हजार, आठ सय ४४ रुपैयाँ पूँजीगत तथा सञ्चालन अनुदानको रकम समेत बैङ्कबाट निकासा गरि फरार भएका थिए । 
हिनामिना गरेको रकममध्ये जिजोडामाण्डौं गाबिसको खातामा १२ लाख, ५६ हजार, ७१ रुपैयाँ र पोखरी गाबिसको खातामा १३ लाख, ५० हजार, तीन सय ४३ गरि २९ लाख, १९ हजार आठ सय ४४ रुपैयाँ दिपक नाम गरेका व्यक्तिले जम्मा गरेको जिल्ला समन्वय समिति डोटीले जानकारी दिएको छ । ‘मंसिर २९ गते दुवै गाबिसको खातामा रकम जम्मा भएको छ’ जिससका नासु हरिसुन्दर श्रेष्ठले भने ‘बाँकी रकम असुल भएको छैन ।’ 
सिंहलाई सेवाबाट बर्खास्त गर्नका लागि जिल्ला समन्वय समितिले संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयमार्फत लोकसेवा आयोगलाई पत्राचार गरेको श्रेष्ठले जानकारी दिए । उनले भने ‘यस बिषयमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।’ 
पहिलो र दोश्रो गरि दुई किस्ताको सामाजिक सुरक्षा भत्ता गाबिसको खातामा जम्मा भईसकेको डोटीका स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतम बताउँछन । ‘रकम सम्वन्धित गाबिसको खातामा जम्मा भईसकेको छ’ गौतमले भने ‘अहिले पुनर्संरचनाले गर्दा स्थानीय निकायका सवै खाताहरु रोक्का भएका कारण भत्ता बितरण गर्न सकिएको छैन ।’ उनले अव करीव एक हप्ताभित्र खाता फुकुवा हुने जानकारी दिए । 
रकम हिनामिना गरेको जानकारी भएको पनि पाँच महिना बितिसक्यो तर सिंह अहिलेसम्म पनि सम्पर्कमा छैनन् । न त आधिकारिक रुपमा उनी सरकारी सेवाबाट बर्खास्तनै भएका छन । सहाराबिहिनहरुको सहारा बनोस् भन्ने उद्देश्यका साथ २०५१ सालदेखि सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता खाएर वेसहाराहरुलाई थप पिडा दिने व्यक्तिमाथी हालसम्म पनि ठोस कारवाही नहुनु राज्यको नालायकी वाहेक अरु के होला र ? 

सम्पादकीय 

आँखा खुल्यो सरकार !

बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनको अहिले जताततै चर्चा छ । चुनावी चर्चाले कुनै क्षेत्रलाई अलग राखेको छैन । चिया पसल देखि सरकारी अड्डासम्म सवै ठाउँमा चुनावी बहस हुन थालेका छन । बाली भित्राउन लागेका किसानहरु पनि अहिले चुनावी चर्चामा छन । सायद २० वर्षपछि उनीहरुले पनि आफ्नो नजिकका जनप्रतिनिधिहरु चुन्ने अधिकार पाउने भएका कारणले होला । बा¥है महिना राजनीतिक कुरा मात्रै गर्ने जमात बढी भएको हाम्रो जस्तो “लोकतान्त्रिक” मुलुकमा चुनाव घोषणा भईसकेपछि चुनावी चर्चा हुनुलाई स्वभाबिकै रुपमा लिनु पर्छ । 
चुनावी तयारीले एक नयाँ प्रश्न खडा गरेको छ । ५५ दिनको मात्रै जागिर, त्यो पनि नेपाल सरकारले बर्गीकरण गरे अनुसारको श्रेणीबिहिन कर्मचारीहरुले पाउने सेवा सुबिधाका लागि तछाड्–मछाड् छ । त्यही ५५ दिने जागिरका लागि नेताहरुलाई भेट्ने, फोन गर्ने, धम्की दिने काम भईरहेको छ । छनौटको जिम्मेवारी पाएका प्रहरी हाकिमहरु प्रतिस्पर्धीलाई राती फोन गरेर प्रश्नोत्तर टिपाउने कामसम्म गर्छन् । अनि “फलानो पत्रकारले फेसबुकमा यस्तो कुरा लेखेको छ, अव तिम्रो हुँदैन’ भनेर फोन गर्छन् । गाडीमा बोकेर ल्याईदिने काम समेत गर्छन् । यसबाट वेरोजगारी समस्या कति छ हाम्रो देशमा भन्ने कुरा प्रष्ट पारेको छ । चुनावका बेला शिक्षित युवाहरुमा छुट्टै प्रकारको रौनक हुनु पर्ने हो । कुन नेता, कुन उम्मेद्वार, कुन पार्टीले देशको बिकास गर्न सक्ला वा स्थानीय निकायको बिकास गर्न सक्ला भन्ने चिन्तन् गर्नु पर्ने बेलामा दुई÷चार हजार रुपैयाँका लागि नेताहरुको घर धाउनु पर्ने अवस्था छ । यो उनीहरुको रहर होईन, बाध्यता हो । भोको पेट भर्न र नाङ्गो आँँङ एकसरो लुगा बेर्नका लागि उनीहरुले आफ्ना सवै खुशीहरु घाममा दौडेर पसिनासंगै बगाईरहेका छन । तर, उनीहरुको यो बाध्यतामा केही हाकिम साहेवहरु, केही नेताहरु मजा उडाईरहेका छन । जवान युवतीहरुलाई राती मध्येरातमा फोन गर्ने दुस्साहस गर्दैछन । अनि सम्वन्धित निकायले ‘त्यसो भएको छैन’ भनेर प्रतिक्रिया दिन्छ । मुर्खताको पनि सिमा हुन्छ ।  
अवस्था यस्तो हुँदा त सरकारको आँखा खुल्नु पर्ने हो । हे    सरकार आँखा खुल्यो कि नाई ? म्यादीका लागि स्नातकोपाधी पाएकाहरु टण्टलापुर घाममा पिस सडकमा दौड्दै छन तर साधारण लेखपढ्हरु तिमिले गर्ने चुनावमा नेता बन्नका लागि महमतिर दौडधुप गर्दैछन । स्नातकोपाधीहरु दुई चार हजार पाउनका लागि सडकमा पसिना बढाउँदैछन तर औठाछापहरु दुई÷चार लाख दिएर टिकट पाउनका लागि महलमा चाकरी गर्दैछन । सडकमा पसिना बगाउनेहरु सधैं पसिनामै लत्पतिएका हुन्छन् तर चाकरीहरु सधैं अबसरका लागिनै लागेका हुन्छन् सरकार । 
त्यसैले ५५ दिने म्यादीका लागि सडकमा उर्लिएको यो भिडबाट पाठ सिक्नु प¥यो सरकार । रोजगारीका अवसरहरु सृजना गर्नु प¥यो, युवाहरुले बगाउने पसिनाको सम्मान गर्नु प¥यो । अन्उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने खर्वौं रुपैयाँ उत्पादनमुलक क्षेत्रमा खर्च गर्नु प¥यो । देशको बिकास गर्नु प¥यो । सरकार बनाउने र ढाल्ने खेलको अन्त्य हुनु प¥यो । श्रमको सम्मान गर्नु प¥यो । 
थुप्रै सम्भावनाहरु रहेका छन, जल, जमिन, जंगल र जडिबुटीहरुको प्रवल् सम्भाना भएको देशमा युवाहरुको लागि रोजगारी सृजना गर्न सकिन्छ भन्ने हुँदैन । यसका लागि ईच्छाशक्तिको आवश्यकता छ । चर्का भाषणले मात्रै देश बन्दैन सरकार, देश बनाउनका लागि योजनाहरुको आवश्यकता चाहिन्छ र त्यो योजना कार्यान्वयन गर्ने तत्परता र ईमानदारिता आवश्यक पर्छ । आफु सत्तामा पुगेपछि सवै कुरा ठिक, आफु सत्ता भन्दा बाहिर भएपछि सवै कुरा बेठिक भन्ने मनोदशाँबाट राजनीतिक दलहरुलाई माथी उठाउने सद्बुद्धि दिनु प¥यो सरकार । नत्र सधैंभरी युवाहरुले यसरीनै सडकमा पसिना बगाईराख्नेछन तर पेटभर खाना खान कहिल्लै पनि पाउने छैनन् ।

थप समाचार 

आगलागीबाट दुई करोड भन्दा बढी क्षेति


डोटीको व्यस्त शहर दिपायल पिपल्लामा आईतवार दिउसो भएको आगलागीबाट दुई करोड भन्दा बढी क्षेति भएको प्रहरीको अनुमान छ । 
प्रकाश कपड्यालले सञ्चालन गरेको जेवी आयल स्टोरमा आईतवार दिउसो २ वजेतिर लागेको आगोले दुई करोड ६१ लाख १८ हजार चार सय १८ रुपैयाँ बरावरको नोक्सानी भएको इलाका प्रहारी कार्यालय दीपायलका प्रमुख दिलबहादुर कुँवरले जानकारी दिएका छन । जेबी आयल स्टोरमा ट्यांकबाट पेट्रोल खन्याउने क्रममा आगो सल्कदा पेट्रोल पम्पसहित तीन पसल जलेर नष्ट भएका छन् । ना २ ख ४५७९ नम्बरको पेट्रोल भरिएको ट्यांकर र ६ मोटर–साइकल पनि जलेर नष्ट भएका छन् ।
पेट्रोलपम्प नजिकै रहेको डेभिड सर्भिस प्वाईन्टले बेच्न राखेको एक स्कुटरसहित चार वटा अनटेस्ट मोटर साइकल, मर्मतका लागि ग्यारेजमा राखिएका से ३ प ४५०० तथा डिभिजन सडकको से १ ब २५७ नम्बरको गाडी, सागर भटट्को से १ प ७७४ नम्बरको मोटरसाइकल पनि जलेका छन् । 
जेबी आयल स्टोरका मालिक प्रकाश कपड्यालका अनुसार पेट्रोल पम्पमा करिब तीन हजार लिटर र ट्यांकरमा १२ हजार लिटर पेट्रोल रहेको थियो ।
आगलागी नियन्त्रणमा लिन क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको पानी बोक्ने ट्यांकरप्रयोग भएपछि करिब २ घण्टा पछि मात्र नियन्त्रमा आएको थियो । आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीहरुको सक्रिय सहभागिता रहेको थियो । 
सेना र प्रहरीको प्रसंसा
आगो फैलिने खतराले भयभित् भएका स्थानीयबासीहरु आगो नियन्त्रणमा लिन सेना र प्रहरीले खेलेको भुमिकाको प्रसंसा गर्छन् । दमकल नभएपछि पानी बोक्ने ट्यांकर समेत ल्याएर थप क्षेति हुनवाट प्रहरीले जोगाएको भन्दै स्थानीय व्यापारीहरुले प्रसंसा गरेका छन । त्यसो त स्थानीयबासीहरुको पनि कम योगदान छैन आयोग नियन्त्रणमा लिनका लागि । 
दमकल कहिले बन्ला ? 
दिपायल सिलगढी नगरपालिकामा रहेको दमकल बिग्रेको महिनौं भईसक्यो । बिगतका दिनहरुमा राजनीतिक दलका कार्यक्रमहरुमा पानी ओसार्नमा प्रयोग हुने दमकल बिग्रेर थन्केको भएपनि मर्मतका लागि नगरपालिकाले चासो देखाएको पाईदैन । न त नगरपालिकाले नयाँ दमकल ल्याउने आँट गरेको छ । गत वर्ष डडेल्धुरामा आगलागी हुँदा डोटीबाट दमकल गएको थियो तर यस वर्ष डोटीमा आगलाग्दा डडेल्धुराबाट वोलाउनु प¥यो । तर, भौगोलिक दुरीका कारण उक्त दमकल आगो नियन्त्रण हुँदा पुग्यो । 
नगरपालिकामा दमकल हुनु अनिवार्य शर्तका रुपमा लिईन्छ । नगरपालिकाको न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा समेत बारु नियन्त्रण (दमकल) भएको हुनु पर्ने व्यवस्था छ । तर, दिपायल सिलगढ गनरपालिकाले बिग्रेको दमकल भजाउन थालेको छ । 
आफ्नो गाउँ/टोलमा योजना हालेर जनताको प्रिय हुन खोज्ने नेताहरुले नगरका लागि अत्याबश्यकत दमकल मर्मत गर्नु पर्छ भन्ने सोँचसम्म पनि राखेको  पाईदैन । यो नेता र त्यो नेताको जय जयकार गर्दै हिड्ने नगरको सर्वदलीय संयन्त्रमा बस्नेहरुले न त नयाँ दमकलका लागि पहल गरेको पाईन्छ । 
आगो नियन्त्रण गर्ने क्रममा जेबी आयल स्टोरमा कार्यरत कर्ण भण्डारी जलेर सामान्य घाईते भएका छन् ।

बाल बिवाह बिरुद्ध धर्म गरुहरु


डोटीको प्रशिद्ध शैलेश्वरी मन्दिरका पुजारी राजेश भट्ट सदाझैं एक हप्ता पहिला बिहानको पुजा सकेर मन्दिर बन्द गरेर घर जान आधा बाटो पुगेको थिए । फोन आयो मन्दिरमा आउनुस् बिहे गरि दिनु पर्ने भयो । बिवाह गराई दिने प्रस्ताब आएपछि घर नपुग्दै बाटोबाट फर्केर मन्दिर आए ।
बिबाह गराउन आएको जोडीलाई देखेर पुजारी भट्टले प्रश्न गरे ‘उमेर कति भयो ?’ भट्टको प्रश्नमा केटाले  १९ र केटीले  १८ वर्ष भएको वताएपछि उनले बिवाह गराउन अस्वीकार गरे ।  
नेपालको संबिधान अनुसार उनीहरुको बिवाह गर्ने उम्मेर नपुगेकाले आफुले उक्त बिवाह   रोकेको पुजारी भट्ट बताउँछन । उनले भने ‘पहिला जस्तो बिहे भने पछि फ्याट्ट गरिदिने गरेका छैनांै, केटा र केटीको कानुनी रुपमा उमेर पुगेको भए अगाढी बढ्छौं नत्र फिर्ता पठाउछौं ।’ जिल्लामा बालबिबाह बिरुद्ध सक्रिय  शैलेश्वरीको पुजारी भट्ट एक्ला छैनन् । पछिल्लो समय जिल्लामा धार्मिक अगुवाहरु बालबिबाह र सामाजिक बिकृति छोक्न सक्रिय हुन थालेका  छन् ।  
डोटी सदरमुकाम सिलगढीमा महिला हिंसा बिरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जालले आयोजना गरेको धार्मिक अगुवा र सञ्चारकर्मीहरुको बिचको छलफलमा धार्मिक अगुवाहरुले आफु बालबिबाह रोक्न प्रतिबद्ध भएको बताए । समाजमा अझै पनि बिभिन्न कारणहरुले बालबिबाह महिला हिंसा लगायतका बिषयहरु बढाउनमा मद्दत गरिरहेको तर्फ धर्मगुरुहरुले प्रष्ट पारे ।  
कार्यक्रममा सहभागि सिलगढीस्थित ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्यालयकी ब्रम्हकुमारी पार्वतीले भनिन् ‘धर्मको कुरा गरेर मात्रै हुँदैन अहिले त मोवाईल, फेसबुकका कारण पनि बालबिबाह बढाउनमा मद्दत गरिरहेको छ । हामीले जिल्ला भरी सञ्चालन गरिरहेका १२ भन्दा बढी पाठशालाहरुबाट बालबिबाह र सामाजिक बिकृतिका बिरुद्ध सहभागीहरुलाई सचेत गराउदै आएका छौं ।’ 
डोटी जिल्लास्तरमा सञ्जाल गठन गरेर बिभिन्न धर्मका अगुवाहरु बालबिबाह र सामाजिक बिकृति बिरुद्ध सक्रिय छन् । अन्तरधार्मिक राष्ट्रिय सञ्जाल डोटीका अध्यक्ष लोकराज जोशीले भने ‘पहिला पहिला को भन्दा अहिले धेरै परिवर्तन भएको छ ।’ उनले  धर्मशास्त्रमा भएका गलत कुराको आफुहरुले प्रचार प्रसार नगर्ने वताए । ‘कतिपय राम्रै कुराको पनि ब्यबहारमा गलत ब्याख्या भएको छ’ जोशीले भने ‘तर एक्लै हामीले गरेर मात्रै सबै किसिमका बिकृतिको अन्त्य हुँदैन । सबै क्षेत्रको सहयोग र प्रतिबद्धता  जरुरी छ ।’ 
जिल्लाका ग्रामिण क्षेत्रका अझै पनि धर्मका नाममा महिलाहरुले बिभिन्न किसिमका प्रताडना भोग्दै आएका छन् । महिनाबारी हुँदा घर बाहिर अलग्गै बस्ने, सानै उमेरमा बिहे गरिदिने पढाईमा बिभेद् लगायतका थुप्रै कुरितीहरु ब्याप्त छन् । समुदायमा धार्मिक अगुवाप्रति बिश्वास गर्ने गरेका कारण उनीहरुलाई शसक्त रुपमा परिचालन गर्न सके यस्ता खालका सामाजिक कुरिती अन्त्यका लागी महत्वपूर्ण भुमिका हुने सरोकारवालाहरु बताउछन् । 
युनिसेफ नेपालको साझेदारीमा मिरन नेपाल नामक गैर सरकारी संस्थाले डोटी जिल्लामा अन्तरधार्मिक सञ्जाल गठन गरि बाल बिवाह र सामाजिक बिकृत्तिका बिरुद्धमा धर्मगुरुहरुलाई परिचालन गर्दै आएको छ । 

बेरोजगारीका कारण म्यादीमा


नेपाल प्रहरीले सञ्चालन गरेको नेपाल प्रहरीको छनौट प्रक्रियामा सहभागि हुन जिल्ला सदरमुकाम पुगेका डोटी शिखर नगरपालिका–४ का भरत नेपाली वेरोजगारीका कारण आफुले म्यादीमा भाग लिनु परेको वताउँछन । ‘रोजगारी छैन,  कसरी गुजरा गर्नु ?’ भरत भन्छन् ‘त्यसैले म्यादी प्रहरी भएपछि थोरै भएपनि राहात हुन्छ ।’
दिपायल सिलगढी नगर–पालिकाकी तारा खड्काको भनाई पनि उस्तै छ । उनी भन्छिन् ‘अरु रोजगारी पाउन समस्या छ, त्यसैले म्यादी प्रहरी भएपनि केही दिन  रोजगारी हुन्छ ।’ खाली बस्नु भन्दा थोरै दिन भएपनि काम गर्नु पर्ने वाध्यता रहेको उनी बताउँछिन् । 
जोरायल नगरपालिकाका नरवहादुर पनि वेरोजगारीकै कारण म्यादी प्रहरीमा भर्ना हुन आएका छन । रोजगारीका लागि भारत जाउआउ गर्ने उनी म्यादीमा भर्ना भए केही समय आफ्नै देशमा बस्न पाईने आशमा छन । उनले भने ‘भर्ना भएन भने त बिसु खाएर भारततिरै जान्छु ।’ 
भरत, तारा र नरवहादुर जस्तै एक हजार एक सय ८५ जनाले जिल्ला प्रहरी कार्यालय डोटीमा आवेदन दिए । डोटीले कति जना भर्ना गर्ने हो भन्ने कोटा नतोकिएको भएपनि छनौंट प्रक्रिया भने सुरु भएको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षामा खटाउनका लागि छनौट गर्न लागिएका म्यादी प्रहरीहरुले नेपाली प्रहरीका जवानले पाउने सेवा सुबिधा अनुसार ५५ दिनको सुबिधा पाउनेछन । 
लामो समयपछि हुन लागेको निर्वाचनमा चाँसो छैन युवाहरुलाई । नेताहरुले आफुखुशी गरेका कारण अव भोट पनि नहाल्ने मानसिकतामा छन  युवाहरु । दिपायल सिलगढी नगरपालिका–१ का महाराज खड्का प्रश्न गर्छन् ‘युवाहरुका लागि के गरे र नेताहरुले ? किन भोट दिने नेताहरुलाई ?’ नेताहरुले आफु र आफ्ना नातागोताका लागि मात्र काम गरेको खड्काको आरोप छ । 
खड्काको भनाईमा अधिकांश आवेदकहरु सहमति जनाउँछन । ‘नेताहरुले युवाहरुलाई सही बाटोमा लगाउनुको सट्टा भ्रष्टाचार र गुटबन्दी गर्न सिकाएका छन्’ एक युवाले भने ‘यस्ता नेताहरुलाई भोट माग्नु भन्दा बरु म्यादी भएर काम गर्नु राम्रो हुन्छ ।’ राजनीतिक दलका कारण राम्रो व्यक्ति जनप्रतिनिधि नहुने उनको भनाई छ ।
केही आवेदकहरु भने जिल्ला सदरमुकाम घुम्नका लागि पनि आएका छन । डोटी निरौलीकी मिना बम भन्छिन् ‘आजसम्म मैले जिल्ला सदरमुकाम देखेको थिएन, घुम्ने वहाना पनि भयो, यसै मौकामा यदि छनौट भईहाल्यो भने पनि अनुभव हुन्छ नभए घुमियो ठाउँ हेरियो ।’ 
छनौट प्रक्रिया सम्पन्न भएपछि यही २५ गतेदेखि बैशाख ८ गतेसम्म म्यादी प्रहरीलाई तालिम दिईने जिल्ला प्रहरी कार्यालय डोटीका सूचना  अधिकारी प्रहरी निरीक्षक बल्लबवहादुर सिंहले वताए । 

बालबालिकालाई सौर्य उर्जा


डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–९ (साबिकको बगलेक गाबिस–९) का कक्षा ४ मा पढ्ने भीमवहादुर साउँद बुधवार निकै खुशी देखिए । सधैं अध्याँरोमा बस्न वाध्य भीमले घरमा सौर्य उर्जा जडान गर्न पाएपछि प्रफुल्लित थिए । 
बिद्यालयबाट फर्केपछि साथीसंगीसंग खेल्ने समय बिद्यालयको गृहकार्य गर्ने भीम अव साथीसंग खेल्न पाईन्छ भन्ने आशामा खुशी देखिए । घरमा उज्यालोको बैकल्पिक साधन नभएका उनले उज्यालोमै शिक्षकले दिएको गृहकार्य गर्नु पर्ने वाध्यता थियो । 
स्थानीयबासीहरुको माग अनुसार बिद्यालय पढ्ने बालबालिकाहरुलाई लक्षित गरि बगलेकका १५ परिवारमा सौर्य उर्जा बत्ति जडान गरिएको छ । बिद्युत नपुगेको उक्त क्षेत्रका बिपन्न परिवारका बालबालिका–हरुलाई सौर्य उर्जा बितरण गरिएको दिपायल सिलगढी नगरपालिका–९ का वडा सचिव हरिओव श्रेष्ठले जानकारी दिए । ‘आर्थिक रुपमा कमजोर भएका परिवार, एकल महिला र दलित परिवारमा सौर्य उर्जा बितरण गरिएको छ’ सचिव श्रेष्ठले भने ‘बिद्युत अभावका कारण घरमा अध्याँरो हुने र बालबालिकाहरुले आफ्नो बिद्यालयीय गृहकार्य र पठन पाठन गर्न नसक्ने समस्या–लाई ध्यानमा राख्दै सौर्य उर्जा बितरण गरिएको हो ।’ 
स्थानीयबासीहरुको भेला–द्वारा माग भएकाले आफुहरुको सहयोगमा सौर्य उर्जा बितरण गरिएको वर्ड भिजन ईन्टरनेसनल नेपाल डोटीको बाल स्पोन्सरसीप परियोजनाका प्रमुख नारद मलासीले वताए । उनले भने ‘यस क्षेत्रको शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि तत्काल के आबश्यक छ भन्ने बिषयमा स्थानीयबासीहरु संग छलफल गर्दा उज्यालोको व्यवस्था गर्नु पर्ने माग आएपछि हामीहरुले सौर्य उर्जा जडान गरेका छौं ।’ 
अधिकांस घरहरुमा व्यक्तिगत लगानीमा सौर्य उर्जा जडान गरिएको भएपनि बिपन्न परिवार अध्याँरोमा बसिरहेको उनीहरुका बालबालिकाहरुले तोकिएको गृहकार्य गर्न नसकेको वडा सचिव श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सौर्य उर्जा जडान गरिएका परिवारका ४२ बालबालिका– हरु प्रत्येक्ष लाभान्वित हुनेछन ।  

गहुँको उत्पादनमा बृद्धि हुने

लाल महरा/कैलाली
चैत्र २१

कैलाली जिल्लामा यस वर्ष गहुँको उत्पादनमा बृद्धि हुने भएको छ । 
यस बर्ष गत बर्षको तुलनामा पाँच प्रतिशत अर्थात पाँच हजार आठ सय ६५ मेट्रिक टनले गहँु उत्पादनमा वृद्धि हुन सक्ने जिल्ला कृषि विकास कार्यालय कैलालीले जानकारी दिएको छ । गत वर्ष एक लाख १४ हजार आठ सय ८५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष एक लाख २० हजार सा सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले जानकारी दिए । 
यस जिल्लामा ३४ हजार पाँच सय हेक्टर जमिनमा गहुँ खेती गरिदै आएको छ । यस बर्ष मौसमले साथ दिएका कारण गहुँ उत्पादनमा बृद्धि हुन सक्ने अनुमान गरिएको पाण्डेले वताए  । 
गत वर्ष भारतीय नाकाबन्दीका कारण समयमै किसानले  बिउ, मल तथा अन्य सामग्रीहरु नपाउनु,  असिना पानी पर्नु र तातो हावा चल्नाले गहु उत्पादनमा कमि आएको कार्यालयको भनाई छ । ‘तर यो वर्ष भने मौसमले साथ दिएका कारण गहुँ उत्पादनमा बृद्धि हुने आशा छ ।’ पोण्डेयले भने । 
कैलाली जिल्लाले समग्र देशमा गहुँ उत्पादनमा ३ देखि ५ प्रतिशत हिस्सा ओगटने गरेको छ ।  

छुट्टाछुट्टै स्थानमा तीन शव भेटिए

बैतडी जिल्लाका फरक फरक  स्थानहरुमा तीन जनाको शव फेला परेका छन् । 
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आईतवार मृत अवस्थामा भेटिनेमा  एक महिला र दुई पुरुष रहेका छन । जिल्लाको सिगास गाँउपालिका–१ मैतडमा गाउँ नजिकैको पानीघट्टमा मकै पिध्न गएकी ३५ वर्षीया लालमति बोहरा नजिकैको खोलामा मृत भेटिएकी छिन् । उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शव हेर्दा उनको टाउकोमा दाउरा र ढुंगाले हिर्काएर हत्या गरिएको हुन सक्ने मृतकका देवर पठान बोहराले बताए । मृतक लालमतीका एक छोरा र दुई छोरी छन् । उनका श्रीमान हरिभान बोहरा कामको सिलसिलामा भारतमा छन् । 
यस्तै चैत्र १५ गतेदेखि वेपत्ता भएका बैतडीको दशरथचन्द नगरपालिका–१० बुढ्ढाका ६० वर्षीय नरबहादुर चन्द पनि स्थानीय सामुदायिक वनमा मृत फेला परेका छन् ।
शनिबार देखि सम्पर्कमा नआएका डिलाशैनी गाँउपालिका–३ अम्मरपानीका ५० वर्षीय बिरपल भुल पनि घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भुलले भिरबाट हाम फालेर आत्माहत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सुदूरपश्चिमकै ठुलो कोल्ड स्टोर बन्दै
सुदूरपश्चिम क्षेत्रमा हालसम्मकै ठूलो सित भण्डार अर्थात कोल्ड स्टोर डडेल्धुरामा निर्माण भईरहेको छ । 
कृषि उत्पादनहरुलाई सुरक्षित  भण्डारण गरि लामो समयसम्म राख्ने उद्देश्यले अमरगढी नगरपालिका–१ दहमा नयाँ प्रविधि सहितको उग्रतारा सित भण्डार स्टोर निर्माण भईरहेको हो ।
नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा निर्माण भईरहेको उक्त स्टोरमा एक हजार मेट्रिक टन कृषि उत्पादनहरु स्टोर गर्न सकिने कोल्ड स्टोर निर्माण समितिका अध्यक्ष भोजराज भट्टले बताएका छन्  ।
कोल्ड स्टोर निर्माणमा करीव आठ करोड लाग्ने अध्यक्ष भट्टले वताए । ठूलो लगानीमा बन्न लागेको सित भण्डारमा दश हजार क्वीन्टलसम्म आलुको बिउ भण्डारण गर्न सकिनेछ ।
स्टोर निर्माण भईसकेपछि यसबाट करिब नौँ सय घरधुरीहरु लाभान्वत हुने र ५० देखि ६० जना व्यक्तिहरुले रोजगारी समेत पाउने अध्यक्ष भट्टको भनाई छ । दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको उक्त कोल्ड स्टोर अबको तीन महिना भित्र सञ्चालनमा आउने गरि काम भईरहेको बताईएको छ । स्टोर निर्माणको ८० प्रतिशत काम सम्पन्न भईसकेको निर्माण पक्षले जनाएको छ ।
जिल्लामा आलुको बिउ प्रसस्त मात्रामा उत्पादन हुँदाहुँदै पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बिउहरु ल्याउनु पर्ने बाध्यता रहेकोले उक्त स्टोर अति आवश्यक भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वागवानी अधिकृत सुदीप देवकोटाले बताएका छन् । कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएमा जिल्लामै उत्पादित आलुको बिउ र बिभिन्न कृषि उपजहरुलाई भण्डारण गरि पुनः बिउको लागि प्रयोग गर्न सकिने उनको भनाई छन् । 
कोल्ड स्टोरले सुदूरपश्चिमको पहाडि जिल्लामा उत्पादित खाद्यान्न, आलुको बिउ र  फलफुलहरु सञ्चित गर्न निकै नै सहयोग पुग्ने विश्वास लिईएको छ । यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मुल्य बृद्धि भएपछि बिक्रि बितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्न सक्ने पनि विश्वास लिईएको छ । 
यस अघि यस क्षेत्रमा पहिलो पटक कञ्चनपुरमा पाँच सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण भईसकेको छ ।

छोटकरी समाचार 

असिनाले बाली नष्ट 

शनिवार परेको असिना पानीले जिल्लाका बिभिन्न ठाउँमा गहुँ र तरकारी बाली नष्ट गरेको समाचार प्राप्त भएको छ । 
डोटीको आदर्श गाउँपालिका र सायल गाउँपालिका क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको स्थानीय बिरवहादुर रोकायाले जानकारी दिएका छन । उनले ठुल्ठुलो असिना पर्दा पाकेको गहुँबाली नष्ट भएको वताए । 
यस्तै गहुँ बाली असिनाले पिट्दा कृषकहरु चिन्तित भएको आदर्श गाउँपालिका–१ का दिपक ख्ड्काले जानकारी दिएका छन । राष्ट्रिय कृषक समूह महासंघ डोटीका अध्यक्ष भरत बोहराले असिनाले बाली नष्ट गर्दा कृषकहरुलाई मार्का परेको भन्दै चिन्ता व्यक्त गरेका छन ।   

यो शिबिर सम्पन्न

पतञ्जली योग शिविर र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा डोटी जिल्ला सदरमुकाम सिलगढीमा पाँच दिने योग शिविर सम्पन्न भएको छ । 
योग गुरु तथा नेपाली सेनाको पूर्व प्रमुख सेनानी सुवर्णलाल चित्रकारले प्रशिक्षित गरेको उक्त योग शिविरमा उल्लेख्य संख्यामा सहभागिता रहेको सामुदायिक प्रहरी सेवा केन्दकी अध्यक्ष लक्ष्मी बमले बताईन । उनका अनुसार  शैलेश्वरी मन्दिर प्राङ्गणमा बिहान ५ वजेदेखि ७ बजेसम्म योग सञ्चालन भएको थियो । यस्तै अपरान्ह ४ बजेदेखि ६ वजेसम्म क्यान्सरको बारेमा प्रवचन भएको बमले वताईन । 
शिविर गत मंगलवारदेखि सुरु भएको थियो ।

खेल समाचार 

जोरायलमा भलिवल प्रतियोगिता हुने


डोटीको जोरायलमा खुल्ला पुरुष भलिबल आयोजना हुने भएको छ ।
युनिक युथ स्पोर्टस् क्लबले यहि चैत्र २५ गतेदेखि २८ गतेसम्म ‘जोरायल उपत्यका पुरुष खुल्ला भलिबल प्रतियोगिता–२०७३’ आयोजना गर्न लागेको हो । साविकको सरस्वतीनगर गाबिस, लक्ष्मीनगर गाविस, नेकपा एमाले नेता तथा व्यवस्थापिका सांसद प्रेम आलेमगरको विशेष आर्थिक सहयोग र अन्य विभिन्न निकायको सहयोगमा प्रतियोगिताको आयोजना हुन लागेको आयोजक संस्था युनिक युथ स्पोर्टस् क्लबका अध्यक्ष पवन शाहुले जानकारी दिए । उनले भने ‘प्रतियोगितामा प्रदेश नं. ७ का सम्पूर्ण ९ वटै जिल्लाबाट टिम सहभागि गराउने प्रयास भईरहेको छ । 
प्रतियोगितामा प्रथम टिमका लागि ५० हजार पाँच सय, द्वितीय टिमका लागि ३० हजार पाँच सय र तृतीय हुने टिमका लागि २० हजार पाँच सय सहित ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट तीन जनालाई ट्रफि र नगद पुरस्कारले सम्मान गरिने अध्यक्ष शाहुले जानकारी दिए । 
सांसद प्रेम आलेमगरले उद्घाटन गर्ने उक्त प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि खाने बस्ने व्यवस्था समेत मिलाईएको आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगितामा सहभागिताका लागि भोली चैत्र २३ गतेसम्म टिम दर्ता गर्ने म्याद रहेको छ ।  
प्रतियोगिताका लागि मूख्य प्रायोजक सरस्वतीनगर गाविसबाट एक लाख र लक्ष्मीनगरबाट २० हजार रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै सांसद प्रेम आलेमगरबाट दुई लाख, निर्माण व्यवसायी संघ डोटीबाट १० हजार रुपयाँ सहयोग हुने आयोजक संस्थाले जानकारी दिएको छ । 
सहयोग गर्ने अन्य निकायहरुमा बड्डा सप्लायर्स दिपायल, आर.डि.कन्स्ट्रक्शन दिपायल, कलेल टे«ड एण्ड सप्लायर्स  राजपुर, सत्कार होटल दिपायल, चोपडा अस्पताल प्रा.ली. दिपायल, जे.बि.टे«डर्स दिपायल, कलेल गेष्ट हाउस धनगढी, एनसिसिएस कम्प्युटर इन्स्टिच्युट धनगढी, न्यू रेखा सप्लायर्स धनगढी रहेका छन । यि संस्थाहरुले पाँच÷पाँच हजार सहयोग गरेका छन ।
प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति डोटीले खेल सामाग्री, एसपिए कलेज धनगढीले मेडल र बोगटी फेशन हाउस अत्तरीया कैलालीले खेलाडीहरुका लागि टि–सर्ट प्रायोजन गर्ने आयोजकले जानकारी दिएको छ । 
स्थानीय तहको पुनर्संरचनामा जोरायल गाउँपालीकाको केन्द्र समेत रहेको सरस्वतीनगरको रावतकट्टेस्थित रत्न आधा–रभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

नवयुग र अनिल अष्ट्रेलियामा सम्मानित

एजेन्सी
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्नो बार्षिक खेलकुद महोत्सवको उपलक्ष्यमा नेपाली फुटबलर अनिल गुरुङ र नवयुग श्रेष्ठलाई सम्मान गरेको छ ।
अनिल र नबयुगसंगै भलिबलका पूर्व कप्तान भरत शाहलाई बिशेष अतिथिका रुपमा बोलाएर सम्मान गरिएको छ ।
त्यस्तै नेपालका लागि अन्तराष्ट्रिय खेलकुदमा योगदान दिएका तर अहिले अष्ट्रेलियामै रहेका १० खेलाडीहरुलाई पनि सम्मान गरिएको छ । जसमा ३ पटक यू–१९ बिश्वकप खेलिसकेका यशवन्त सुबेदी र प्रेम चौधरी, टी ट्वान्टी बिश्वकप खेलेका नेपाली तीव्र गतिका बलर अमृत भट्टराई, सागमा उसुमार्फत स्वर्ण पदक जितेकी विनिता महर्जन, रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ, अनिल ओझा रहेका थिए भने अस्ट्रेलियामा रहेर यहाँका राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम राख्ने नेचुरल बडी बील्डर सन्तोष कुमार श्रेष्ठ, प्रकृती श्रेष्ठ, सञ्जीव चौधरी तथा जुडोका मोहम बम छन् ।
कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले खेलाडीहरु राष्ट्रका दूतका रुपमा रहेको बताए । एनआरएनले यसरी प्रवासमा लुकेर बसेका खेलाडीको खोजी गरी सम्मान गर्दा उनीहरुको मनोबल बढ्नुका साथै नयाँ पिँढीलाई पनि खेलकुदमा लाग्न उर्जा प्राप्त हुने पाण्डेले बताए ।

चलचित्र/मनोरञ्जन 

गिरानचौरमा भारतीय कलाकार


चर्चित हास्य कलाकारद्वय धुर्मस र सुन्तलीले निर्माण गरेको गिरानचौर एकिकृत बस्तीमा भारतीय कलाकारहरु पुगेका     छन । 
बलिउड हास्य कलाकार राजपाल यादव अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्मसले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘करोडपति’को छायाँङ्कनका लागि नेपाल आएका यादव र उनको टोली चलचित्र छायाँङ्कनकै क्रममा गिरानचौर पुगेका हुन् ।
गिरान्चौरमा पुगेपछि उनले बस्ती निरीक्षण गर्नुका साथै स्थानीयहरूसँग भेटघाट गरेका थिए । उनलाई गिरानचौरमा भेटेपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले  सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै अभार प्रकट गरेका छन् । कट्टेलले सामाजिक सञ्जाल मार्फत भनेका छन्  ‘भारतीय अभिनेता राजपाल यादवको गिरानचौर भ्रमणले हामीलाई थप काम गर्न प्रोत्साहित बनाएको छ । हामीले निर्माण गरेको बस्तीलाई सुन्दर ठह¥याई दिनु भएकोमा उहाँप्रति आभारी छौँ ।’ 
अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्मसले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘करोडपति’मा राजपालसँगै निता ढुंगाना, आर्यन अधिकारी लगायतको अभिनय रहेको छ । चलचित्रको सुटिङ राजधानी सहित जोमसोम, मुस्ताङ र मुम्बईमा हुनेछ ।

रेखाको ‘पलाँस’ बजारमा


चर्चित नेपाली अभिनेत्री रेखा थापाद्वारा अभिनित चलचित्र ‘पलाँस’  शुक्रबारदेखि देशभर प्रदर्शन आएको छ ।
नगरबधुको चुनौतीपूर्ण चरित्रमा अभिनय गरेकी रेखालाई फिल्ममा कामेश्वर चौरासिया र अयुब केसीले साथ दिएका छन् । यसअघि ‘रेशम फिलिली’ मा हरियाको भूमिकामा जमेका कामेश्वर ‘पलाँस’ मा पनि जबरजस्त देखिएको फिल्म हेरेपछिका दर्शकले बताएका छन् । त्यसो त फिल्मको सुरुवाती व्यापारमा रेखाको स्टारडमले उल्लेख्य असर देखाउन सकेको छैन । जबकि फिल्मले सोलो रिलिज पाएको हो ।
कृषा चौलागाईंको निर्माणमा सुभास कोइरालाको निर्देशन रहेको फिल्मले बिहीबार नै राजधानीको क्युज सिनेमामा प्रिमियरसमेत गरेको थियो । प्रिमियरमा फिल्मका निर्देशक कोइरालाबाहेक सबै युनिटको उपस्थिति थियो । निर्देशक कोइरालाले फिल्मको जिम्मेवारी सबै नसकिदिएको भन्दै निर्मात्री कृषा असन्तुष्ट थिइन् । फिल्मको केही छायांकनदेखि सम्पादन सबै कृषाले आफ्नै पहलमा सकाएकी थिइन् । 
कमल देवकोटा र प्रकाश घिमिरेको पनि मुख्य भूमिका रहेको ‘पलाँस’ लाई सुशान्त प्रजापतीले खिचेका हुन् ।

लेख 

यसकारण दलबिहिन चुनाव

रामहरी ओझा 

‘चुनावको बेला त पार्टीको नेतृत्वमा बस्नु सजाय पो रहेछ । एउटाले मैले टिकट नपाए जान्याछु भन्छ, अर्कोले त्यस्तै भन्छ । नेतृत्वलाई समेत धम्की दिन्छन् भन्या । कसरी मिलाउने होला, हैरान बनायो ।’ 
चिया गफका क्रममा एक पार्टीका जिल्ला प्रमुखले आफ्नो दुखेसो पोखे । यस्तो दुखेसो पोखिरहँदा उनको अनुहार मलिन भयो, उनी साँच्चै पिडामा रहेछन् भन्ने  कुराको भान भयो । नहुनु पनि किन, करीव १५ मिनेटको बसाईमा उनले १० मिनेटसम्म उम्मेद्वारका दावेदारहरुको हप्की–दप्कीमै बिताए । ‘बसेर सल्लाह गरौंला, म एक्लैले दिने हो र टिकट ?’ फोन गर्नेहरुलाई उनी आक्रामक् शैलीमै उत्तर दिदै थिए । 
बैशाख ३१ गते हुने भनेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुमा सरगर्मी बढ्न थालेको छ । लामो समयदेखि राजनीतिमा सक्रिय नदेखिएका देखि भरखरै राजनीतिमा प्रवेश गरेका कार्यकर्ताहरुको जवरजस्त महत्वाकाँक्षाले गर्दा राजनीतिक दलहरुलाई मिलाउन हम्मे हम्मे भएको छ । यस्तोमा अझ बढी दल बदल गर्नेहरुको चर्चा छ । ईमानदारीका साथ पार्टीको निर्देशन मान्दै आएका कार्यकर्ताहरु फेरी पनि ओझेलमा पर्ने र अवसरबादीहरुले टप्काउने हो भने निश्चित रुपमा पनि कार्यकर्ताहरुमा एक प्रकारको नैराश्यता आउन सक्छ । यो अवस्थामा यदि स्थानीय निकायको निर्वाचनमा दलबिहिन उम्मेद्वारको व्यवस्था हुने थियो भने राजनीतिक दलहरुलाई यो समस्या आई लाग्ने थिएन । 
२० वर्ष पुग्नमा चार दिन मात्रै बाँकी रहने गरी हुन लागेको स्थानीय तहको निर्वाचनको उम्मेद्वारी दर्ता गर्ने मिति जति जति नजिकिदैछ, आकांक्षीहरु पनि बढ्दैछन् । जति जति आकांक्षीहरु बढ्दैछन् त्यति त्यति अगुवा नेताहरु भयभित हुँदैछन् । यदि उम्मेद्वार छनौटको यो चरम आकांक्षालाई सुरक्षित अवतरण गर्न सकिएन भने बिद्रोहीहरुको संख्या बढ्न सक्छ । बिद्रोही नभईहाले पनि अर्को पार्टीलाई समर्थन गर्ने खतरा हुन्छ । यदि त्यो पनि भएन भने चुप लागेर बस्ने प्रचलन पनि छ । यदि यस्तो भयो भने चुनाव हारिन्छ । चुनाव हार्नु भनेको नेतृत्वको असक्षमता मानिन्छ । यद्यपी हाम्रो राजनीतिक संस्कार अलि भिन्न छ । आफै नेतृत्वमा बस्ने अनि आफैं ‘यसपाली हाम्रो उम्मेद्वार राम्रो छैन, अर्को पाली बिचार गरौंला’ भन्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिनेहरु पनि आफुलाई अव्वल दर्जाको नेतृत्व ठान्छन् तर चुनाव हार्नु भनेको नेतृत्व पनि हार्नु हो । 
‘मैले टिकट पायो भने जितेर देखाई दिन्छु’ भन्नेहरु अरुले टिकट पायो भने अर्को पार्टीलाई सहयोग पुग्ने गरि काम गर्छन् । बिगतमा राष्टिूय निर्वाचनमा समेत यस्तो प्रकारको अराजनीतिक चरित्र प्रदर्शन भएकै हो । स्थानीय तहमा त अलि बढीनै भएको थियो बिगतमा पनि । दलहरुले बिद्रोही उम्मेद्वार भए कारवाही गर्ने हास्यास्पद् उर्दी  जारी गर्छन् । जुन देशका राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुलाई राजनीतिक चरित्रनै सिकाएनन् त्यस देशमा पार्टीको कारवाहीदेखि डराउने कार्यकर्ताहरुको संख्या न्यून प्रायः हुन्छ । त्यसमाथी पनि पूँजीबादको संक्रमणमा परेको राजनीतिमा अवसरवादीहरुको जमात् बढी हुन्छ । सम्पत्ति, सम्वन्ध र शक्तिले गर्दा यस्ता अवसरबादीहरुका लागि यो पार्टी वा त्यो पार्टी जहाँ पनि अवसरै अवसर हुन्छन् । उनीहरुलाई कारवाहीको के चिन्ता ? ज्ञानेन्द्र शाहको निरंकुश कालमा खाटी मण्डले भएकाहरु अहिले फेरी पार्टीभित्र पुरस्कृत भएकै छन, उनीहरुलाई पनि कारवाही त भएकै हो त्यतिवेला । त्यसकारण उनीहरुलाई कारवाही भन्ने शव्दले कुनै अर्थ राख्दैन । रह्यो कुरा राजनीतिक संस्कार भएका कार्यकर्ताहरुको, उनीहरुले पार्टी बिपरित गतिबिधि गर्ने हिम्मत् पनि गर्दैनन् । 
यदि स्थानीय निकायको कुशल व्यवस्थापन गर्ने हो भने स्थानीय निर्वाचन दलबिहिन हुनु जरुरी छ । त्यसका लागि राजनीतिक दलहरुले छानिदिएका उम्मेद्वारहरुमध्येबाट मात्रै जनताले उम्मेद्वार छान्न पाउने व्यवस्थाको अन्त्य हुनु जरुरी छ ।  दलबिहिन चुनावको व्यवस्था गर्ने हो भने यसका धेरै फाईदाहरु हुने देखिन्छन् ।
पहिलो, राजनीतिक दलहरुलाई टिकट बाँड्ने झण्झट हुँदैन । नेताहरुले को लाई टिकट दिने भन्ने चिन्ता पनि गरिरहनु पर्दैन र आकांक्षीहरुले पनि शक्तिकेन्द्रमा धाईरहनु पर्ने अवस्था आउँदैन । राजनीतिक दलहरुलाई पर्ने अनावश्यक आर्थिक बोझ पनि कम हुनेछ । 
दोश्रो, राजनीतिक दलहरुले छानेका जनप्रतिनिधिहरुमध्येबाट मात्रै जनताले आफ्ना नजिकका प्रतिनिधि छान्नु पर्ने वाध्यकारी व्यवस्थाको अन्त्य हुनेछ । संघीय वा प्रादेशिक जनप्रतिनिधिहरुसंग जनताको प्रत्येक्ष सम्वन्ध हुँदैन । प्रत्येक्ष सम्वन्ध स्थानीय जनप्रतिनिधिहरुसंगै हुने भएका कारण जनताले आफ्नो प्रतिनिधि खुला रुपमा छान्न पाउनु पर्छ । राजनीतिक दलहरुले पहुँच र शक्तिका आधारमा उम्मेद्वारी दिएका हुन सक्छन् । यसबाट जनताले चाहेको व्यक्ति प्रतिस्पर्धामा नआउन सक्छ । अर्को तर्क आउन सक्छ ‘स्वतन्त्र उम्मेद्वार भए हुन्छ नि !’ भन्ने तर त्यो त्यति सजिलो छैन । लामो समयसम्म राजनीतिक दलमा लागेको ईमानदार कार्यकर्तालाई पार्टी छोडेर स्वतन्त्र भईहाल्ने अवस्था पनि छैन । फेरी यदि दलीय उम्मेद्वारनै हुने हो भने स्वतन्त्र उम्मेद्वार जित्ने सम्भावना पनि न्यून हुन्छ । त्यसैले जनताले स्वतन्त्रतापूर्वक प्रत्येक्ष रुपमा आफ्नो प्रतिनिधि छान्न पाउनका लागि दलबिहिन चुनाव आवश्यक छ । 
तेश्रो, राजनीतिक दलले प्रतिस्पर्धामा उतारेको व्यक्तिमा स्थानीय तहको व्यवस्थापकीय कार्य कुशलता नहुन पनि सक्छ । त्यस्तो अवस्थामा एकातिर राजनीतिक कार्यकर्ताहरुसंग पनि अर्को बिकल्प हुँदैन, अर्कोतिर स्थानीय निकायहरुको कुशल व्यवस्थापन हुन सक्दैन । त्यसमा पनि भरखरै पुनर्संरचना गरिएको स्थानीय निकायहरुलाई व्यवस्थापन गर्न निकै चुनौती छ । त्यसैले व्यवस्थापकीय कार्य कुशलता भएको व्यक्ति आउनु अनिवार्य हुन्छ । पार्टीले जस्तो व्यक्तिलाई टिकट दिएपनि जिताउनै पर्ने ह्वीप कार्यकर्ताहरुलाई लाग्ने छैन । 
चौथो, एउटै पार्टीभित्र रहेका थुप्रै सक्षम व्यक्तिहरु पनि प्रतिस्पर्धामा भाग लिन पाउँछन । सक्षम व्यक्तिले आफ्नो व्यवस्थापकीय योजना जनताको बिचमा लैजाने छन । जनताले व्यक्तिको योजनाका आधारमा आफ्नो प्रतिनिधि चयन गर्नेछन । ताप्लेजुङ्गको मिक्वाखोला गाउँपालिकाको अवस्था र दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अवस्था उस्ताउस्तै हुँदैन । मिक्वाखोला गाउँपालिकाका लागि त्यहाँ सुहाउँदो योजना वनाउनु पर्छ र सोही अनुसार व्यवस्थापन गर्नु पर्छ । मालिकार्जुनका लागि सोही अनुसारको । दलहरुले देशव्यापी रुपमा तयार गर्ने घोषणा पत्रले मिक्वाखोला र मालिकार्जुन गाउँपालिकाबासीहरुको चाहना, आवश्यकतालाई सम्वोदन नगरेको पनि हुन सक्छ । त्यस्तो अवस्थामा सोही स्थानीय निकाय सुहाउँदो योजना वनाउन सक्ने जनप्रतिनिधि आवश्यक हुन्छ । त्यसैले स्वतन्त्र व्यक्तिले स्थानीय आवश्यकता अनुसारको योजना बनाउँछ र प्रतिवद्धता व्यक्त गर्दछ । उसका लागि दलीय निर्देशन हुँदैन । 
पाँचौं, यस्तो अवस्थामा जनप्रतिनिधिहरु कुनै दलका कार्यकर्ताहरु पनि हुन सक्छन र स्वतन्त्र व्यक्ति वा फरक पेशा व्यवसायमा लागेका व्यक्तिहरु पनि आउन सक्ने सम्भावना हुन्छ । यदि स्वतन्त्र व्यक्तिहरुले आफुले कुनै पार्टीसंग आवद्ध हुन चाहेमा आवद्ध हुन पनि सक्छन् । बिगतका चुनावहरुलाई हेर्दा पार्टीको तर्फबाट टिकट नपाएपछि स्वतन्त्र भएर चुनावी प्रतिस्पर्धामा गएकाहरु पनि बिजयी भएपछि फेरी पुरानै पार्टीमा फर्केका घटनाहरु छन । यद्यपी बिद्रोही उम्मेद्वार हुँदा पार्टीले उनीहरुलाई ‘कडा’ कारवाही गरेको देखिन्छ तर पछि फुलमाला लगाएर स्वागत गरेको पनि पाईन्छ । 
बास्तवमा स्थानीय निकायहरु व्यवस्थापकीय निकाय हुन । अहिलेको नेपालको संबिधान अनुसार उनीहरु स्थानीयस्तरमा नीति निर्माण गर्ने अधिकार दिएको भएपनि त्यो पूर्ण अधिकार होईन । संघीय र प्रादेशिक कानुनसंग नबाझिने गरि स्थानीय नीति वनाउन सक्ने अधिकार मात्रै दिएको हो । अर्थात स्थानीयस्तरमा व्यवस्थापकीय भुमिकालाई प्रभावकारी बनाउनका लागि आबश्यक नियम÷बिनियम बनाउन सक्ने अधिकार दिएको हो । त्यसकारण यि व्यवस्थापकीय निकायनै हुन । व्यवस्थापकीय निकायहरुमा व्यवस्थापकीय कार्य कुशलता भएको व्यक्ति आउनु जरुरी हुन्छ । त्यसैले राजनीतिक दलहरुलाई प्राथमिकता दिएर स्थानीय निकायमा जनताको आफ्नो नजिकका जनप्रतिनिधि छान्ने अधिकारलाई संकुचित वनाईनु हुँदैन । 
दलबिहिन चुनावको कुरा गर्दा धेरैले ‘लोकतन्त्रमा दलबिहिनता ?’, ‘यो त निरंकुशता भईहाल्यो नि !’, लोकतन्त्रका लागि झण्डै सात दशकसम्म लडेको लडाईको के अर्थ भयो त ?’ भन्ने प्रश्न राख्छन । स्वभाबिक रुपमा लोकतन्त्रमा दलबिहिनाको कल्पना गर्न सकिदैन । तर, यहाँ निरंकुशता वा निर्दलीयता भन्न खोजेको होईन । तर, स्थानीय निकायहरु जनताका नजिकका जनप्रतिनिधि मुलक सरकार हुन । त्यहाका प्रतिनिधिहरु जनतासंग प्रत्येक्ष रुपमा भिजेका हुनु जरुरी छ, जनताले चाहेका हुनु जरुरी छ र जनताको समस्या बुझेका हुनु जरुरी छ । राजनीतिक दलको सदस्यता लिईराख्ने बर्षौंदेखि टाढा गएर बसिराख्ने अनि चुनावको बेला बिभिन्न शक्ति केन्द्र धाएर टिकट हात पार्ने प्रबृत्तिका व्यक्तिहरुलाई जनताले आफ्नो नेता मान्नु पर्ने बाध्यता दलीय उम्मेद्वारीले सृजना गर्छ । राजनीतिक दलको कार्यकर्ता भएर नेताको वरीपरी घुम्ने अनि बिकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिको जिम्मा लिएर आर्थिक अनियमितता गर्ने बानी परेकाहरु के जनताको सच्चा प्रतिनिधि भएर काम गर्न सक्लान् ? जनताले राम्रोसंग चिनेका छन त्यस्ता व्यक्तिहरुलाई । तर दुभाग्र्य छ हाम्रो देशको, तिनै व्यक्तिहरुलाई पार्टीले टिकट दियो भने जिताउनु पर्ने वाध्यता आईलाग्छ जनतालाई । ‘स्वतन्त्र उम्मेद्वार चुनाव जित्दैन’ भन्ने मनोबिज्ञान जो पारिएको छ जनतामा । त्यो मनोबिज्ञानले जस्तो भएपनि दलीय उम्मेद्वारलाई मत दिने गर्छन् मतदाताले । नेपालका चुनावहरुमा स्वतन्त्र उम्मेद्वार जित्ने भनेका नगण्य मात्रै हुन, अरु त दलीय बिल्लावालानै हुन जित्ने ।
दलले खडा गरेका सवै उम्मेद्वारहरु त्यस्तै हुन्छन् भनेर सामान्यीकरण गर्न खोजिएको पनि होईन । राजनीतिक दलभित्र राम्रा व्यक्तिहरुको संख्या पनि धेरै छ र योग्यहरु पनि धेरै छन । तर, ति इमानदा–रहरु आर्थिक दृष्टिले, सम्वन्धका दृष्टिले र शक्तिका दृष्टिले कमजोर छन् । ‘उम्मेद्वार भएपछि कति पैशा खर्च गर्न सक्ने ?’ भन्ने प्रश्न आउने ठाउँमा त्यस्ता व्यक्तिहरुको अवस्था कमजोरनै हुन्छ । गरीवले चुनाव जित्न सक्दैन भन्ने मान्यता स्थापित भईसकेको छ नेपाली राजनीतिमा । चुनाव यति महङ्गो हुँदै गएको छ कि अव साधारण परिवारका व्यक्तिहरु कुनै पार्टीसंग उम्मेद्वारीका लागि टिकट माग्ने आँट गर्ने छैनन् । 
त्यसैले स्थानीय निकायमा कम्तीमा दलबिहिन उम्मेद्वारीको व्यवस्था हुने हो भने राजनीति दलहरुले शक्ति प्रदर्शन गर्ने शैलीको अन्त्य हुने छ । निर्वाचनमा धाँधली पनि कम हुनेछ । फेरी स्थानीय निकायमा दलबिहिन उम्मेद्वार हुने व्यवस्था नौलो पनि होईन । बिश्वकै सवैभन्दा ठुलो “लोकतान्त्रिक” मुलुक दावी गर्ने भारत लगायत अन्य थुप्रै लोकतान्त्रिक मुलुकहरुका स्थानीय निकायमा दलबिहिन चुनाव हुने व्यवस्था रहेको छ । यस्तो व्यवस्था भएका मुलुकहरुमा स्थानीय निकाय राम्रोसंग सञ्चालन भएका पनि देखिन्छन् । त्यसकारण दलबिहिन चुनाव हुनु भनेको निरंकुश व्यवस्था वा निर्दलीयता हुन्छ भन्ने बुझाई राख्नु मुर्खतापूर्ण हो । स्थानीय निकायहरुमा जनताले साँच्चै अपनत्व ग्रहण गरुन भन्ने चाहना हो यदि शासकहरुको भने दलबिहिन चुनाव गर्ने हिम्मत गरौं । 

लैङ्गिक समानताको बहस

शान्ता मरासिनी

१०७ औं अन्तराष्ट्रिय नारी दिवस ‘बी बोल्ड फर चेन्ज’ नारासहित महिला हक–अधिकार प्राप्तिको ‘सेलेबरेसन सक्सेसेज’ र बाँकी अधिकारको प्राप्तिका लागि प्रत्येक सरकारलाई दबाब सिर्जना गर्दै विश्वभरका महिलाले उत्सवका रूपमा मार्च ८ मा मनाए ।
सन् १९१४ मा विश्वका अग्रिणी महिलाले श्रमिक महिलामाथिको असमान ज्याला, शोषण, उत्पीडन, बिग्रँदो स्वास्थ्य, दुव्र्यवहार र असमानता विरुद्ध सरकारलाई दबाब दिँदै समानता र न्यायका पक्षमा सशक्त दबाब सिर्जना गरी विश्वव्यापी आह्वान गरेकै कारण आज महिला सशक्तीकरण र विकासका लागि सरकार–हरू विभेदकारी कानुन र नीतिमा परिवर्तन गर्दै जान बाध्य भएका हुन् । जसका कारण महिलाको समग्र विकास सूचकहरू सकारात्मक बन्दै पनि गएका छन् । तर यसको राम्रो प्रभाव विकसित देश, सहर र धनाढ्य परिवारमा परेको छ । अबका दिनमा यसको प्रभाव कम विकसित मुलुक एवं ग्रामीण तह र पिछडिएका वर्ग र क्षेत्रमा पु¥याउन आवश्यक छ ।
नेपालमा नारी दिवस आयोजक महिला मन्त्रालयले मार्च पहिलो साता सप्ताहव्यापी कार्यक्रम बनाई सञ्चार माध्यम समेतलाई आह्वान गरेर महिला सशक्तीकरण र सचेतनामूलक समाचार, विचार विश्लेषण, लेखरचना प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरायो । महिला सशक्तीकरण र समावेशीकरणका विषयमा छापा माध्यम एवं टिभी, रेडियोले जेन्डर विश्लेषक पुरुषहरू समेतका लेखरचना तथा टक सोमा उच्च स्थान दिए । तर महिला सशक्तीकरण, समानता र न्यायको सवाल एक साताको सवाल थिएन र होइन । यो त संसारभरका महिलाले १०७ वर्षदेखि निरन्तर गर्दै आएको सशक्त र एकीकृत आन्दोलन हो ।
यिनै प्रयासका बाबजुद संयुक्त राष्ट्र संघले मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ मा महिला र पुरुष बीचको समानतालाई स्वीकार ग¥यो । सन् १९५२ मा महिलाको राजनीतिक अधिकार सम्बन्धी महासन्धि पारित भयो । त्यस्तै राजनीतिक तथा नागरिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र, १९६६ तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र, १९६६ ले महिला समानतामा अझ जोड दिए भने छुट्टै महिला सवाललाई मात्रै जोड दिई महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ पारित भई प्रत्येक राष्ट्रले महिला विकासका कार्यक्रमको चरणबद्ध कार्यान्वयनको खाका बनाई त्यसको प्रगति पेस गर्नुपर्ने सम्मका व्यवस्था गरेकै कारण राज्यहरूले आफ्ना कानुन, योजना एवं नीति समावेशी उन्मुख बनाउँदै लगेका हुन् । 
संयुक्त राष्ट्र संघले सन् १९७५ लाई अन्तराष्ट्रिय नारी वर्ष घोषणा ग¥यो र त्यसै वर्ष मेक्सिकोमा प्रथम अन्तराष्ट्रिय महिला सम्मेलन आयोजना गरियो । उक्त सम्मेलनले समानता, विकास र शान्ति नारासहित सन् १९७६ देखि सन् १९८५ लाई महिला दशक घोषणा ग¥यो । तत्पश्चात पनि यस्ता सम्मेलन, सभाहरू हुँदै आए । यस्तै प्रयासका कारण महिला समानताको सवाल अन्तराष्ट्रिय विषय बन्न पुग्यो ।
अन्तराष्ट्रिय सम्मेलनहरूले उठाएका महिलाका एकीकृत र अन्तरसम्बन्धित ज्वलन्त सवालहरूमा महिला र राजनीतिक नेतृत्व, शिक्षा र तालिम, रोजगारी र स्वरोजगारी, गरिबी, हिंसा, विभेद, विद्रोह, नीति निर्माणमा प्रभाव, लाभ वितरणमा हिस्सेदारी, संस्थाहरूको सबलीकरण, सूचना माथिको पहुँच, बालिका सुरक्षाजस्ता विषय प्रत्येक राष्ट्रले ५२ वटै साता आफ्ना नीति तथा कार्यक्रममा पहिलो पंक्तिमा राखी सम्बोधन गर्नैपर्ने विषय हुन् ।
सार्क देशहरूका संसदको तल्लो सदनमा महिला सहभागिताको प्रतिशत श्रीलंकामा ५, माल्दिभ्स ५, भुटान ८,  भारत १२, बंगलादेश २०, पाकिस्तान, अफगानिस्तान २७, नेपाल २९ रहेको देखिन्छ । अन्य देशहरूमा रुवान्डा ६३, बोलिभिया ५३, क्युबा ४८, आइसल्यान्ड ४७, स्वीजरल्यान्ड ४३ प्रतिशत देखिन्छ   (अन्तरसंसदीय संघ २०१६, प्रतिवेदन) ।
युएन वुमेनको एक रिपोर्ट अनुसार विश्वका ८ देशमा राष्ट्र प्रमुख र ९ देशमा सरकार प्रमुख महिला छन् । अधिकांश मुलुकका राष्ट्रिय, प्रान्तीय र स्थानीय संसदमा महिलाका लागि आरक्षण कोटा प्रदान गरिएको भएपनि सरकार (क्याबिनेट) मा भने महिला उपस्थिति ज्यादै न्युन रहने गरेको छ । अझ पनि ४ मुलुकका संसदमा त महिला सहभागिता शून्य छ । सरकारमा सहभागिता र दिइने भूमिकालाई हेर्ने हो भने सबैजसो सरकारले महिला मन्त्रीलाई गृह, वित्त, परराष्ट्र, उद्योगजस्ता महत्वपूर्ण मन्त्रालयको भूमिका दिएकै छैनन् । ज्यालामा असमानता विश्वका धेरै देशमा आजसम्म कायमै छ । नेपालको ४५ सदस्यीय मन्त्रिपरिषदमा महिला मन्त्री १ जनामात्र र २ राज्यमन्त्री हुनुले महिला सहभागिताका निर्णायक पुरुष नै हुन् भन्ने स्पष्ट छ । नेताहरू भाषणमा रमाउने र घरमा मौन बस्ने गरेकाले महिला सहभागितामा योगदान पुग्न नसकेको हो ।
नेपालको संसदमा २९, निजामती सेवामा कारिन्दा तहमा ३५, सबै शिक्षकमा २०, प्रहरीमा पनि तल्लो तहमा करिब २० प्रतिशत महिला सहभागिता देखिन्छ । राष्ट्र प्रमुख, सभामुख, प्रधानन्यायाधीश महिला हुनुले आम महिलालाई गौरवान्वित त बनाएको छ । तर यसले नीति निर्माण तहमा कति प्रभाव पार्न सक्छ भन्ने प्रश्न गहन हो । महिला सशक्तीकरण र समावेशीक–रणको उद्देश्य विगतको सामाजिक संरचनाका कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, भौगोलिक, जातीय एवं लैङ्गिक हिसाबले बञ्चितीक– रणमा परेका महिलालाई विकासका आयामहरूमा मूलप्रवाहीकरण गर्नु हो । तर हाम्रो पहिलो पुस्ता समावेशीकरण नीति अन्तर्गत प्रशासनिक आरक्षणको प्रभाव टाठाबाठा जागिरे पुरुष र महिलाको परिवारमा तथा राजनीतिक आरक्षणको प्रभाव नेताका एकाघर परिवारमा सीमित   हुनपुग्यो । यस्तो समावेशीकरणले त महिलालाई स्वाधीन होइन, अझ पराधीन बनाउँछ । त्यसैले विद्यमान समावेशीकरण नीतिको स्वतन्त्र मूल्याङ्कन गर्ने बेला भएको छ ।
संविधानले गरेको समावेशी प्रावधान अनुरुप स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका बेला महिलालाई नेतृत्व तहमा पु¥याई महिला–पुरुषबीच सारभूत समानता कायम गर्न चालिने हरेक कदममा महिला र पुरुषको बराबरी भूमिका र सहभागिता आवश्यक छ । परिवर्तित सन्दर्भमा शासकीय प्रणालीको उच्च तहमा महिला सहभागिता रोल मोडल बने पनि आधारभूत तहको नेतृत्व, सामान्य शिक्षा, सचेतना, व्यवसायिक तालिम नागरिकता, सम्पत्तिमा स्वामित्व जस्ता विषय अझ नाजुक छन् । परिवर्तन रातारात हुँदैन भनेर पर्खेर बस्ने समय हामीसँग छैन । लोकतन्त्रको कागजी स्याउले लैङ्गिक समानता मापन गर्न सकिँदैन । नयाँ संविधानले कानुनी रूपमा महिलालाई सहभागिताको प्रशस्त बाटो खोलेको छ । तर जुन महिलाले यस्ता अधिकार पाउनुपर्ने हो, तिनले पाउने कुराको सुनिश्चितता नेतृत्व तहको मानसिकतामा भर पर्छ । 
महिला विकासका सन्दर्भमा सडक र नारामा हामी निकै बोल्छौं, तर घरमा गुपचुप छौं । फोटोका देवीलाई पुज्ने तर घरका देवीलाई कुट्ने पुरुषको ठूलो जमात समाजमा जीवितै छ । लैङ्गिक समानताको चुरो भनेको फरक लिङ्ग तर अधिकार समान हुनु हो । त्यसैले अब सडक, गल्ली, घरपरिवारदेखि सरकारसम्म लैङ्गिक समानता र न्यायको बहस गरौं । महिला र पुरुषबीच हातेमालो गरौं । दुबैले दुबैका कुरा सुनौं र बुझौं, सम्मान गरौं र अवसर दिऔं । यसका लागि सकारात्मक विभेदको नीति अँगालौं, नेतृत्व गर्न सिकाऔं । लैङ्गिक विकासको समानतामुखी दृष्टिकोणमा पुरुषको सार्थक सहभागिता हुनसके असमानता चाँडै अन्त्य हुन्छ ।
— कान्तिपुर दैनिकबाट 


लोक सेवा आयोगको तयारीका लागि उपयोगी 

१) चीनले मानव सहितको अन्तरिक्षयान प्रक्षेपण गरेको —२०१६ अक्टोबर १७
२) विश्वको सबैभन्दा अग्लो पुल वेइपान्जीङ्ग हो भने लामो सुरुङ्ग रेलमार्ग   — गोटहार्ड
३) फिफा वर्ष २०१६ मा उत्कृष्ट महिला वर्ष खेलाडी     — कार्ली लोयड
४) २०१७ जनवरीमा सम्पन्न १० औं विश्व भविष्य उर्जा सम्मेलन — युएईमा 
५) २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाट मतदान गर्ने व्यक्ति  — सेन किम्ब्रा
६) २०१६ को विश्व बाल शान्ति पुरस्कार प्राप्त गर्ने   — केकसन बुस
७) TFP Award 2016     - Himalaya Bank
८) इटालीमा संवौधानिक सुधारका सम्बन्धमा जनमत संग्रह   —  2016 Dec 4
९) 2016 oct 22  मा सार्वजनिक गरिएको विश्वकप फुटबल द्दण्ज्ञड को मस्कट “जाभिवाका” को अर्थ
— जसले गोल गर्छ
१०) लगातार ५० घण्टा १५ मिनेट सम्म योग गरेर विश्व कीर्तिमान कायम गर्ने  — उत्तम मोक्तान
११) जिरो पोचिङ वर्ष २०११ केसँग सम्बन्धित छ ?   — गैँडा संरक्षण 
१२) स्वेच्छिक मृत्यु रोज्न अनुमति दिने कानुन बनाउने विश्वको एकमात्र मुलुक   — बेल्जियम 
१३) सुसान्नाह मुसाल जोन्सको निधन    —2016 May 13
१४) २०१६ फेब्रअरी १२ मा ग्राभिटेसन वेभ पत्ता लाग्यो, सो टोलीमा रहेका नेपाली वैज्ञानिक 
— सुदर्शन कार्की 
१५) २०१६ को अन्तराष्ट्रिय वर्ष शब्द   — Post Truth
१६) नोटहरुमा राजाको चित्र अंकित भएका प्रथम राजा    — त्रिभुवन 
१७) फिलिपिन्समा 2016 Dec 25  मा आएको आधिको नाम  — नकटेन
१८) बाराक ओबामाले स्पेसल ट्रेड प्रेफेरेन्स सम्बन्धि ऐनमा हस्ताक्षर   — 2016 Dec 15
१९) नेपालमा पहिलोपटक क्वान्टी लिभर पुल निर्माण    — गोरखामा
२०) जिमयोङ किमले महामारी विमा योजनाको घोषणा    — 2016 may 21
२१.नामग्याल गुम्बा कुन जिल्लामा पर्दछ ?      — मुस्ताङ 
२२.पाटन विहारको प्रवेशद्वार ठीक अगाडि कसको मूर्ति राखिएको छ ?  — बुद्धको मूर्ति 
२३.इअभबल इा ःयलकययल भनेर कुन महासागरलाई चिनिन्छ ?   — हिन्द महासागर
२४.नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गर्ने भारतीय चलचित्र कलाकार को हुन ?  — देवानन्द
२५.सुगौली सन्धि हुनु अघि नेपालको पूर्व पश्चिम लम्बाइ कति छ ?       — १४१५कि मी
२६. श्री स्वास्थानी व्रत कथामा को को विच सम्वादको रुपमा रहेको पाइन्छ ?  — कुमार र अगस्तमुनी
२७. कृषि अनुसन्धान केन्द्र रामपुर कुन देशको सहयोगमा स्थापना भएको हो ? 
— संयुक्त राज्य अमेरिका
२८.नेपालको संविधान, २०१९ को मस्यौदा तयारी गरि पेश गर्न संविधान मस्यौदा आयोग कहिले गठन गरियो ?    — २०१९ वैशाख २६
२९.“आरोग्य विज्ञान“ के सँग सम्बन्धित कृती हो ?     
—खप्तड बाबाद्वारा अनुसन्धान भएको उपचार पद्धति 
३०.शंकराचार्यको बाबु र आमाको नाम के थियो ?   — शिवगुरु र सती
३१.नेपालमै पहिलोपटक अनलाइन जाँचपास प्रणाली कुन भन्सारमा लागू गरिएको छ ?
— सिर्सिया सुख्खा बन्दरगाह ,वीरगन्ज 
३२.नेपाल कति सालमा इन्टपोलको सदस्य भएको हो ?      — वि.सं. २०२४
३३.सर्वप्रथम सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पाको २०४३ वैशाख २६ गते कहाँ निधन भएको थियो ?    — भारतको दार्जिलिङ 
३४.झुमा वा ढावा बन्नु पूर्व कति वर्ष गुप्तबास रहनुपर्छ ?   — ३ वर्ष ३ महिना
३५.मल्लकालमा सार्वजनिक संरचनाहरुकोे निर्माण गर्ने अड्डालाई के भनिन्थ्यो ?  — छेभेडल अड्डा 
३६.रोम साम्राज्यका निर्माता को थिए ?  — पिटर अलेवार्ड
३७.वरुण ग्रहको औषत तापक्रम कति रहेको छ ?  — १७९डिग्री से.
३८.प्रसिद्ध गौमुखी तीर्थस्थल कुनकुन जिल्लाको सिमानामा पर्छ ?    — गुल्मी र प्युठान 
३९. पुराणमध्ये सबैभन्दा थोरै श्लोक भएको पुराण कुन हो ?  — अग्नि पुराण
४०.पाकिस्तानको इस्लामबादमा हुने तय भएको १९ औं सार्क शिखर सम्मेलन आयोजक पाकिस्तानले कहिले स्थगन भएको घोषणा गरेको थियो ?    — २०१६ सेप्टेम्बर ३०
४१.चिनियाँ नागरिक हुयान साङ कसका पालामा नेपाल आएका थिए ?    — अंशुवर्मा
४२.कुन दिनलाई संकराचार्य जयन्ती भनिन्छ ?    — वैशाख शुक्ल पञ्चमी
४३.नेपाल र चीनबीच सीमा सम्बन्धि प्रोटोकलमा कहिले सम्झौता भएको थियो ? — सन १९७९
४४.चर्चित कम्पनी ओलीवावा कुन देशको हो ?     — चीन 
४५.सबैभन्दा पुरानो वेद कुन हो ?    — ऋग्वेद
४६.चुरे पहाडमा कुन प्रकारको माटो पाइन्छ ?    — बलौटे पत्थरिलो माटो
४७.आफ्नो उपग्रहले विपरीत दिशाबाट परिक्रमा गर्ने ग्रह कुन हो ?   — वरुण
४८.सबैभन्दा बढी संख्यामा रामसार सुचीमास्थान पर्ने राष्ट्र कुन हो ? — वेलायत
४९.ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर कति मिटरको उचाइमा छ ? — ७९४ मि

साहित्य÷सृजना 

चिनारी 


तयारी छ जीवनको परीक्षा यो हैन
भावना छ मित्रताको चिनारी मलाई थाहा छैन
खुल्ला गगनामा पंक्षी मै बनुला भन्दिनँ
एकताको कहानी खै कोर्न म पाउदिनँ
मित्रताको नाता अति नै प्रिय अमृतपान
हेर्ने हजारांै नजर केवल बलि दिन जान्छ जीवनदान
वितृष्णा मानवरुपी नियन्त्रण पाए हुन्थ्यो कि
चैतन्य यो मनलाई त्याग पाए जीवन बन्न सक्दथियो कि
हजारौं तारामा प्रिय जुन सबैलाई
कस्तो आश्चर्य प्रश्न पाइन्न छुन उसलाई
मनभित्र आत्मा उदाएर हेर्नु होला
सम्मान रुपी ज्ञान दक्षिणा खेर नजाला
प्रकृति एक संसारको चिनारी
म बिताउछु बुझ्न जीवनको भकारी 
सौन्दर्य रुपी त्रिदेव त्रिपुरारी
बताउन गाह्रो हे मानव पुजारी
कस्तो कथा बन्दछ विचित्र
जीवनमा आए अनेकौं चिनारी
के चिन्न सक्नु हुन्छ नयनका पुजारी
भावनाले मन पोख्यो होला नबताए मानवको चिनारी
तारा पोखरेल 
काठमाण्डौ

भोकको स्वाद 


चपाई हेरें 
टुटे फुटेका सपनाहरु 
भोक मेट्न !
छैन केहि स्वाद 
चपाइरहेको सपनाको गाँसमा 
तर लागिरहेछ स्वादिलो !
मेरो मुख 
रसाईरहेछ मिठो स्वादले 
र रमाई रहेछ, मन !
तर म भन्न सक्दिन 
यो के को, कस्तो स्वाद हो 
नुनिलो अनि मिठो स्वाद !
थाहै भएन मलाई
मैले लिईरहेछुं भोकको झोंकमा 
आफ्नै मृत सपनाको लाशको स्वाद !
सुधिर ख्वबि
ललितपुर

मुक्तक 


भेट्न आउन सक्दिन बन्द भएर ।
देश भित्र आन्तरीक द्वन्द भएर  ।।
अति हुँदा गजलमा लेख्छु भनेको ।
त्यही लेख्न गाह्रो भयो छन्द भएर ।।
मेरो प्राण भन्छौं अनि हाँस्न मन लाग्छ ।
निकै सोझो बन्छौ अनि हाँस्न मन लाग्छ ।।
घरकीको आँखा छली अन्तै माया लगाई ।
भेट्ने दिन गन्छौ अनि हाँस्न मन लाग्छ ।।
सपनीमा देखे भेट्न हतास लाग्या छ ।
मन भित्र मायाको नै बतास लाग्या छ ।।
रुदै टाढा हुदै बस्ने कस्तो बिवशता ।
त्यो छातिमा निदाउन अत्यास लाग्या छ ।।
प्यासी थियौ प्यास मेटाउन जानु गल्ति थियो ।
त्यो मुटुमा नाम लेखाउन जानु गल्ति थियो ।।
मुर्ख तिमी छदै थियौ महामुर्ख बन्दै म नि ।
दुख्यो भन्दा मन सेकाउन जानु गल्ति थियो ।।
शान्ती अधिकारी
लमजुङ्ग नेपाल, हाल नेपालगञ्ज

सूचना÷सन्देश÷बिज्ञापन 

सूचना ! सूचना !! सूचना !!!

स्तनपायी (बच्चा जन्मेदेखि ६ महिनासम्म दुध खुवाईरहेका) आमाको लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटीबाट निशुल्क रुपमा सतावरी चूर्ण (Multi Vitamin) बितरण भईरहेको हुँदा सम्वन्धित सवैलाई अवसरको लाभ लिन हुन अनुरोध गरिन्छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र 
दिपायल, डोटी

हार्दिक समबेदना

जन्म ः  २०२२÷११÷२५                                                                                मृत्यु ः २०७३÷१२÷१८
यस कालिका माबि डुम्रीका बिद्यालय व्यवस्थापन समिति सदस्य श्री सुरेन्द्र साउँदका पुज्यनीय बुवा दलवहादुर साउँदको ५१ बर्षको अल्पायुमै निधन भएको खवरले बिद्यालय परिवारलाई अत्यन्तै मर्माहत वनाएको छ । दुःखको यस घडिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै सोकाकुल परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दछौं ।
गोरखराज शर्मा                                                                                                        तेजवहादुर डुम्रेल 
प्रधानाध्यापक                                                                                                           बि. व्य.स.अध्यक्ष

तथा कालिका माबि डुम्री, डौड परिवार

No comments:

Post a Comment