Monday, May 22, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल, जेठ ९ गते मंगलबार

सरोकारवाला निकायहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको सवालप्रति चासो लिने र जवाफदेही वनाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

कछुवा गतिमा पुनस्र्थापना कार्यक्रम

डोटीमा नौ बर्षमा एक सय ६३ मात्रै पुनस्र्थापना


सरकारले न्यायिक पुनस्र्थापनाको ग्यारेण्टी गर्दै हलिया मुक्तीको घोषणा गरेको ९ बर्ष बितिसक्दा समेत पुनस्र्थापनाले गति लिन सकेको छैन । डोटीमा हालसम्म एक सय ६३ जना मात्रै सरकारको पुनस्र्थापना कार्यक्रममा परेका छन । 
हलियाहरुको राजधानी केन्द्रित आन्दोलनको भार थेग्न नसकी २०६५ साल भाद्र २१ गते सरकारले आन्दोलनरत हलियाका प्रतिनिधिहरुसंग पाँच बुँदे सहमति गर्दै हलिया मुक्तीको घोषणा गरेको थियो । मुक्तीसंगै सरकार–ले न्यायिक पुनस्र्थापना गर्ने ग्यारेण्टी समेत गरेको थियो । तर अहिलेसम्म मुक्त हलियाहरुको पुनस्र्थापना हुन सकेको छैन ।   सरकारले सञ्चालन गरेको पुनस्र्थापना कार्यक्रम कछुवा गतिमा अगाडि बढिरहेको देखिएको छ ।  
सरकारी तथ्याँक अनुसार डोटीमा एक हजार ८ सय २१ मुक्त हलिया रहेका छन । त्यसमध्ये एक ९० ‘क’, पाँच सय ७३ ‘ख’, २३ ‘ग’ र दुई सय ७२ ‘घ’ गरि जम्मा एक हजार २८ जनाले मुक्त हलिया परिचय पत्र पाएका छन । त्यसमध्ये हालसम्म जम्मा एक सय ६३ जना मात्रै पुनस्र्थापना कार्यक्रममा परेका छन । 
सरकारले आर्थिक बर्ष २०७१÷०७२ मा जग्गा खरीद १५, घर निर्माण २७ र घर मर्मत २० गरि ६२ जना पुनस्र्थापनामा परेका थिए । ०७२÷०७३ मा जग्गा खरीद १५, घर निर्माण १५ र घर मर्मत २० गरि ५० जना मात्रै यो कार्यक्रममा अटाए । 
चालु आर्थिक बर्षमा जग्गा खरीद १६ जना, घर निर्माण १५ र घर मर्मत २० गरि ५१ जनाको पुनस्र्थापना भईरहेको मुक्त हलिया पुनस्र्थापना जिल्ला अनुगमन कार्यदलको सचिवालय समेत रहेको मालपोत कार्यालय डोटीले जानकारी दिएको छ । कार्यालयका सुपरभाईजर कर्ण चुनाराका अनुसार यस बर्ष ४२ जनाको जग्गा खरीदका लागि थप कार्यक्रम भने आएको वताए । सरकारले जग्गा  खरीदका लागि दुई लाख, घर निर्माणका लागि तीन लाख २४ हजार र घर मर्मतका लागि एक लाख २५ हजार उपलव्ध गराउँदै आएको छ । 
सरकारले मुक्त हलियाको सवाललाई प्राथमिकता नदिएका कारण ढिलाई भईरहेको बताउँछन हलिया मुक्तीका अभियन्ता गोरख वहादुर सार्की । ‘सरकारले चाह्यो भने यो समस्या नौ बर्ष होईन नौ महिनामै समाधान हुन सक्छ’ सार्की भन्छन् ‘३१ हजार माओवादी लडाकुहरु एक बर्षमै पुनस्र्थापना हुन सक्ने तर १६ हजार मुक्त हलियाहरु नौ बर्षसम्म पनि अन्यौलमा रहने भन्ने हुँदैन ।’ 
सरकार परिवर्तन भईरहनु पनि मुक्त हलियाका लागि दुर्भाग्य भएको सार्कीको भनाई छन । उनी भन्छन् ‘एउटा सरकार आउँछ, बुझ्नमै केही समय लगाउँछ, उसले योजना बनाउन्जेल अर्को सरकार आईहाल्छ, अनि यो सवाल जहाँको त्यही रहन्छ ।’ आफुहरुले अधिकार सम्पन्न पुनस्र्थापना आयोग गठनको माग गर्दा पनि सरकारले नसुनेको सार्कीको गुनासो छ । सरकारले तत्काल मुक्त हलियाको पुनस्र्थापना गर्नु पर्ने बताउँछन राष्ट्रिय मुक्त हलिया समाज डोटीका अध्यक्ष भिमवहादुर सार्की । उनी भन्छन् ‘सरकारले अहिलेकै गतिमा पुनस्र्थापना गर्ने हो भने ५० बर्षसम्म पुनस्र्थापना मात्रै हुन्छ ।’ उनले छुट मुक्त हलियाहरुको तथ्याँक संकलन गर्नु पर्ने बताए । 
उता आफु तीन पुस्तादेखि हलिया रहेको भएपनि आफ्नो नाम मुक्त हलियाको नामाबलीमा समावेश नभएकोमा खिन्नता व्यक्त गर्छन डोटी शिखर नगरपालिका–६ का अन्दाजी ६२ वर्षीय कृष्ण बिक । हलिया आन्दोलनका अभियानकर्मीहरुले आफ्नो बिषयमा आवाज नउठाएको बिकको गुनासो छ । 
सुदूरका नौ र मध्यपश्चिमका तीन गरि १२ जिल्लामा १६ हजार ६९ मुक्त हलियाहरु रहेको सरकारसंग तथ्याँक छ । तर, अझै तथ्याँक छुट भएको अभियानकर्मीहरुको दावी छ ।

सम्पादकीय 

दोश्रो चरणको निर्वाचन जुनसुकै अवस्थामा पनि हुनु पर्छ

बैशाख ३१ गते देशमा एक महासंग्राम भयो । लोकतान्त्रिक मुलुकमा २० बर्षपछि जनताले आफ्ना प्रतिनिधि छान्न पाउनु भनेको यो महासंग्रामनै हो । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको म्याद समाप्त भएको पनि १५ बर्ष पुरा भईसक्यो । यस बिचमा सरकारी कर्मचारीहरुलाई अधिकार दिईयो तर त्यो अधिकार सर्वदलीय संयन्त्रका नाममा राजनीतिक दलहरुले प्रयोग गरे, मनोमानी गरे, व्यक्तिगत र दलगत लाभको लागि मिलीजुली काम गरे तर जनताको पक्षमा एउटा पनि महत्वपूर्ण निर्णय स्थानीय निकायमा हुन सकेन । बैशाख ३१ गते भएको र्विाचनले दुई सय ८३ स्थानीय निकायमा त्यो अवस्था अन्त्य गरेको छ । अव ति स्थानीय निकायमा जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनेछन्, प्रतिपक्ष पनि हुनेछ । १५ बर्षसम्म स्थानीय निकायहरुमा प्रतिपक्षीनै नभएका कारण पनि यो समस्या आएको हो । 
स्थानीय निकायको हकमा यो २० बर्षपछि भएको निर्वाचन हो तर स्थानीय तहको हिसावले यो पहिलो निर्वाचन हो । बिगतका भन्दा धेरै अधिकार सम्पन्न बनाईएको छ स्थानीय तहलाई । स्थानीय तहहरु संबैधानिक बनेका छन । त्यसैले २०५४ को भन्दा यो निर्वाचन फरक छ । 
अव देशको आधा हिस्सामा निर्वाचन सम्पन्न भईसकेको छ । आधा हिस्सामा यही जेठ ३१ गते निर्वाचन हुने भनी सरकारले मिति घोषणा गरेको छ । सोही अनुसार निर्वाचन अयोगले तयारी गरिरहेको छ । अव यो निर्वाचन जसरी पनि सम्पन्न हुनु जरुरी छ । देशको आधा हिस्सामा जनप्रतिनिधिले शासन गर्ने आधा हिंसामा अराजकता कायमै रहने कुरा कदापी राम्रो हुँदैन । त्यसैले सत्तापक्ष, प्रतिपक्ष, आन्दोलनरत सवै शक्तिहरुले निर्वाचन सम्पन्न गर्नका लागि सक्रिय हुनु जरुरी छ । 
‘मेरो गोरुको बा¥है टक्का’ भनेर कसैले पनि लाग्नु हुँदैन । यदि समस्या समाधान हुन्छ भने दुई÷चार स्थानीय निकायहरु थप गरेर समस्या समाधान हुन्छ भने त्यसका लागि सवै शक्तिहरु तयार हुनु जरुरी छ । संबिधान संसोधनको बिषयमा सवै सम्वेदनशील हुनु  जरुरी छ । साँच्चै नेपाली जनताको अधिकार संबिधानमा समावेश गरिएको छैन भने अधिकार सम्पन्न वनाउनका लागि सबै सकारात्मक हुनु पर्छ, यदि राष्ट्रियता कमजोर हुने हो भने त्यस्तो संबिधान संसोधन गर्नु हुँदैन । यसका लागि संसोधनको प्रस्ताव पेश गर्ने, प्रस्तावको बिपक्षमा रहेका र संसोधन हुनु पर्छ भन्ने आन्दोलन गरिरहेका छन सवैले आत्मसमिक्षा गर्नु जरुरी छ ।
पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि सरकार परिवर्तन गर्ने बिषयले पनि व्यापकता पाएको छ । यदि निर्वाचन सम्पन्न नभई सरकारले राजीनामा दिन्छ भने यो अर्को बिश्व ईतिहास बन्ने छ । एउटै निर्वाचन दुई सरकारले गरेको बिश्व राजनीतिक ईतिहासमा पढ्न पाईएको छैन । त्यसैले अहिले सरकार परिवर्तनको हतारो आवश्यक छैन । दुई दिन ढिलो हुँदैमा कुर्ची सधैंको लागि फत्किने भन्ने पनि हुँदैन । त्यसैपनि सरकार आलोपालो सञ्चालन गर्ने बिषय होईन । पूर्व शर्त अनुसार सरकार सञ्चालन गर्नु लोकतन्त्रको बर्खिलाप हो । सत्ताको भागबण्डा गरेर लोकतन्त्रको दुहाई दिनेहरुले निर्वाचन भएन भने लोकतन्त्र रहन सक्दैन भन्ने कुरा राम्रोसंग बुभ्mनु जरुरी  छ । 
त्यसकारण कुनै पनि हालतमा दोश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न हुनु जरुरी छ । त्यसका लागि सरकारले सवैसंग समन्वय गर्न सक्नु पर्छ । आज राजीनामा दिने, भोली राजीनामा दिने भन्ने चर्चा बजारमा ल्याउनु भन्दा सवैलाई छलफलमा ल्याएर निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने बिषयमा ध्यान दिनु जरुरी छ । प्रधानमन्त्रीको कुर्ची ताकिरहेकाहरुले पनि दुई÷चार दिनका लागि दाउरा सुरुवाल थन्काएर राख्दा उपयुक्त हुन्छ ।  

थप समाचार 

निर्वाचन सुरक्षा योजना बन्दै


दोश्रो चरण अन्तरगत हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा चुनावी सुरक्षा योजना बन्दैछ । स्थानीय निकायका केन्द्रहरुमा सुरक्षा सुरक्षा व्यवस्था कडा पारिएको छ । 
जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी केशव लामिछाने मतदान केन्द्रहरुको कति सुरक्षा व्यवस्था आवश्यक हुने भन्ने बिषयमा अनुगमन भईरहेको  वताए । ‘हामी कुन मतदान केन्द्रमा के कति सुरक्षा आवश्यक हुन्छ भन्ने कुराको अनुगमन गरिरहेका छौं’ सूचना अधिकारी लामिछानेले भने ‘जोरायल क्षेत्र र सायल क्षेत्रमा अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली पुगेको छ, अन्य क्षेत्रमा पनि अनुगमन भईरहेको छ ।’ 
जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका गरि नौ स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले एक सय १५ मतदान स्थल र एक सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । मतदान स्थलहरुको सुरक्षा निकाय कडा पारिने लामिछानेले बताए । ‘डोटी जिल्लामा मतदान प्रक्रिया सहजै होला जस्तो छ’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै  लामिछानेले भने ‘यदि त्यसो नहुने पनि हामीहरुले सोही अनुसारको तयारी गर्दै छौं ।’ यदि अप्ठेरो परिस्थिति आउने देखियो भने पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना लगाएर भएपनि निर्वाचनमा मतदान प्रक्रिया सफल पार्ने योजना बनाएको उनको भनाई    छ । 
यस्तै जिल्ला प्रहरी कार्यालयले स्थानीय तहको निर्वाचन अबधीभर मदिरा तथा जाँडरक्सी बन्द गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले भने ‘हामीले जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा शान्त र सक्षम तरिकाले मतदान होस भनेर   मदिरा बिक्री बितरण गर्न रोक लगाएका छौं ।’
उनले इजाजत प्राप्त नभएका ब्यापारीहरुलाई यसअघिनै  मदिरा बेच्नमा रोक लगाईसकेको दावी गरे । केही समय अगाडिदेखि इजाजत प्राप्त भएका ब्यापारीहरुलाई पनि बेच्न बन्द गराएको बिष्ट बताउँछन । तर बिष्टको यो दावी त्यति बिश्वसनीय देखिएको छैन ।  मदिरा सेवन र बिक्री बितरण अहिले पनि भईरहेको छ । 
बिगतको निर्वाचन सुरक्षा को अवस्था हेर्दा जिल्लाको सुरक्षा व्यवस्था अझै बलियो बनाउनु पर्ने जरुरी छ । जनताले आफुल चाहेको उम्मेद्वारलाई ढुक्कसंग मतदान गर्नु पाउनु पर्छ । यसका लागि सुरक्षा संयन्त्र सफल होस् ।

स्थानीय निर्वाचन, २०७४ 

पहिलो चरणमा को कति जिते ?

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनको पहिलो चरण अन्तरगत देशका तीन प्रदेशका दुई सय ८३ स्थानीय निकायहरुको मत परिणाम अनुसार हालसम्म प्रमुख प्रतिपक्ष दलले अग्रता लिएको देखिएको छ । 
राष्ट्रिय सञ्चारमाध्यममा आएका सूचना अनुसार एमालले ४९ नगर प्रमुख र ७० गाउँपालिका प्रमुख गरि एक सय १९ स्थानमा बिजयी भएको छ । यस्तै ५० नगर उपप्रमुख र ८० गाउँ उपप्रमुख गरि एक सय ३० स्थानमा जित हात पारेको छ । 
बर्तमान सत्ता साझेदारको प्रमुख घटक नेपाली कांग्रेसले एक सय तीन स्थानमा बिजयी हासिल गरेको छ । कांग्रेसले ३१ नगर प्रमुख र ७२ गाउँ प्रमुख हात पारेको छ । यस्तै कांग्रेसले २४ नगर उपप्रमुख र ६१ गाउँ उपप्रमुख गरि ८५ उपप्रमुखमा जित हासिल गरेको छ । 
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ४६ स्थानमा आफ्नो जित हासिल गरेको छ । माओवादीले १० नगरप्रमुख र ३६ गाउँ प्रमुखमा आफुलाई स्थापित गरेको हो । यस्तै माओवादीले १२ नगर उपप्रमुख र ३६ गाउँ उपप्रमुख गरि ४८ स्थानमा बिजयी प्राप्त गरेको छ । 
अन्य दलहरुमा राप्रपाले एक गाउँपालिका अध्यक्ष, तीन नगर उपप्रमुख र दुई गाउँ उपप्रमुख, राष्ट्रिय जनमोर्चाले एक गाउँ प्रमुख र दुई गाउँ उपप्रमुख, नयाँ शक्तिले एक गाउँ प्रमुख र एक नगर उपप्रमुख, नेपाल मजदुर किसान पार्टीले एक नगर प्रमुख र एक उपप्रमुख र तीन गाउँ प्रमुख र तीन उपप्रमुखमा स्वतन्त्र उम्मेद्वारहरुले बिजयी हासिल गरेका छन । 
बिभिन्न सञ्चारमाध्यमहरुका अनुसार नेकपा एमाले पाँच स्थान, नेपाली कांग्रेस  दुई स्थान र माओवादी केन्द्र एक स्थानमा अग्रता लिएको छ । 

बृद्ध दम्पत्तिको हत्यापछि भोज

धनगढी उपमहानगरपालिका–७ बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । हत्यापछि हत्यामा संलग्न व्यक्तिहरुले भोज खाएको बुझिएको छ । 
प्राप्त जानकारी अनुसार पुख्यौली घर डोटीको शिखर नगरपालि–४ भई हाल धनगढी उपमहानगरपालि–७ बुद्धचौकमा बस्दै आएका ७५ वर्षीय बद्री प्रसाद जोशी र उनकी श्रीमति कुन्तीको हत्या भएको  हो । जोशी दम्पत्तिको आप्mनै घरमा सुति–रहेको अवस्थामा हत्या भएको जिल्ला  प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी  उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन । 
स्थानीयले खवर गरेपछि घटनास्थल पुगेको प्रहरीले कोठामा जोशी दम्पत्तिलाई फेला पारेको थियो । लामो समयसम्म कैलालीको फुलबारीमा अध्यापन गरेका जोशी सेवा निबृत्त शिक्षक हुन । 
प्रहरीले जोशी दम्पतीको हत्याको  आरोपमा सात जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक चन्दले बताए । पक्राउ  परेकाहरुसंग घटनाको बिषयमा सोधपुछ भईरहेको प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेमा बझाङ्गको थलारा गाउपालिका–३ का ५१ बर्षीय कलक बटाला, ५० वर्षीया चन्द्रकला बटाला, कञ्चनपुर पुनर्वास नगरपालिका–११ अमरबस्तीका १८ वर्षीया समिक्षा साउद, ४६ बर्षीया जमुना साउद, ५९ बर्षीया रन्तला साउद रहेका छन । त्यस्तै बझाङ्ग थलारा–३ का २० वर्षीया पुजा बटाला, १२ वर्षीया सिमान धामीलाई समेत प्रहरीले पक्राउ गरि सोधपुछ भईरहेको छ । 
प्रहरीका अनुसार पक्राउ परेका पुजा बटालाकी आमासंग कुन्तीले मित लगाएकी थिईन । मित लगाएको र घर आप्mनो नाममा गरिदिएको खुशीयालीमा भोज खानका लागि पुजाकी आमाले अरुलाई खवर गरेको बुझिएको छ । आईतवार दिउसो जोशीले घर आप्mनो नाममा गराई दिएको र साँझ मित लगाउने भन्दै पुजाकी आमाले आफन्तलाई बोलाएको बुझिएको छ । तर अरुलाई निम्ता दिने पुजाकी आमा र उनका मामा साझ जोशीको घरमा थिएनन् । उनीहरु अझै फरार छन । 
मृतक जोशीको घरमा भाडामा बस्दै आएका गदरीयाका भागिराम चौधरीले आईतवार राति ८ बजेतिर २० देखि ३० जनाको समुहले खसी काटेर भोज खाएको बताए । चौधरीका अनुसार उनीहरुले रातिको १२ बजेसम्म नाचगान तथा देउडा खेलेका थिए । हत्या भएको जोशी दम्पत्तिका एक छोरा र चार छोरीमध्ये छोरा बिदेशतिर रहेको बुझिएको छ भने चारवटै छोरीको विहे भईसकेको छ । 

खप्तड मेला चार दिन चल्ने


प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडमा बर्षेनी लाग्ने गंगा दशहरा मेला यस बर्ष चार दिन चल्ने भएको छ । 
मेलाको बिषयमा छलफल गर्न बिहिवार सरोकारवालाहरुको बसेको बैठकले जेठ १९ गते देखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माको उपस्थितिमा खप्तड क्षेत्र पर्यटन बिकास समिति, खप्तड मध्यबर्ति क्षेत्र व्यवस्थापन समिति, होटेल व्यवसायी संघ डोटी, डोटी उद्योग बाणिज्य संघ लगायतका प्रतिनिधिहरुले सो निर्णय गरेका हुन । प्रत्येक वर्ष जेष्ठ शुल्क दशमीका लागि लाग्ने खप्तड गंगा दशहरा मेलालाई चार दिनसम्म सञ्चालन गर्ने निर्णय भएको डोटीका प्रमुख जिल्ला अधिकारी शर्माले वताए । यस वर्ष जेष्ठ शुक्ल दशमी जेठ २१ गते  परेको हुँदा मेला १९ गतेबाटै सुरु हुने निर्णय गरिएको शर्माले वताए । 
खप्तड क्षेत्रमा पर्यटकहरुको आवासका लागि बनाईएका टहराहरु  हावाहुरीले उडाएकोले मेला अगावै टहराहरु मर्मत गर्ने जिम्मेवारी जिल्ला बिकास समितिलाई दिईएको होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपक खड्काले वताए । ‘मेला अवधीभरका लागि अस्थायी टहरा निर्माण गर्ने निर्णय भएको छ’ अध्यक्ष खड्काले भने ‘मेलामा स्वास्थ्य सिबिर सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय, सुरक्षाका जिल्ला प्रहरी कार्यालय बझाङ, बाजुरा र अछामलाई आग्रह गरिनेछ ।’ मेलामा आउने सर्वसाधारण लगायत बिशिष्ट ब्यक्तिहरुको लागि खान बस्न लगायत अन्य आबश्यक कुराहरुको ब्यवस्थापन गर्न होटल ब्यवसायीहरुले जिम्मा लिने खड्काले वताए । 
मेला अबधीमा डोटी उद्योग बाणिज्य संघले खुला भलिबल प्रतियोगिता आयोजना भएको संघका अध्यक्ष नरेन्द्रवहादुर खड्काले वताए । 
डोटी, अछाम, बझाङ्ग र बाजुरा जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रमा मेलाका क्रममा आन्तरिक तथा बाह्य पर्यटकहरुको ओईरो लाग्ने गर्दछ । २२ दह, ५२ पाटन, खप्तड बाबाको आश्रम, डाँफेकोट, त्रिबेणी धाम, सहस्त्रलिङ्ग, जंगली जनावरहरु, चराचुरुङ्गीहरु र बिभिन्न प्रजातिका फुलहरु पर्यटकका लागि मनोरम दृष्य छन । 

बनको बिकास भन्दा बिनास बढी

पछिल्लो समयमा सामुदायिक बनहरु बिकास तर्फ उन्मुख हुनुको साँटो बिनास भइरहेको एक तथ्याङ्कले देखाएको छ । 
सोमबार जिल्ला बन कार्यालय डोटीले आयोजना गरेको ‘बैज्ञानिक बन ब्यवस्थापनको आवश्यकता’ सम्बन्धि गोष्ठीमा बन बिभागका बिज्ञ श्याम शर्माले तयार पारेको प्रतिबेदनमा सो कुरा उल्लेख छ । बार्षिक बृद्धि अनुसार मात्र रुख काट्ने बैज्ञानिक लक्ष्य राखेपनि बिभिन्न सामुदायिक बनमा अध्ययन गर्दा नयाँ बिरुवा नरोपेरै पुराना रुखहरु बिनास मात्र गरेको पाइएको बिज्ञ शर्माले बताए । उनले भने ‘हामीले बिभिन्न जिल्लाका सामुदायिक बनहरुमा अनुगमन गरेका छौं । त्यहाँ प्राय गरेर सल्लाका रुखहरु काट्ने काम बढी छ । रोप्ने काम भने दश प्रतिशत पनि  छैन ।’ 
खोटो संकलन गर्ने कम्पनीहरुले पनि मनोमानी तरिकाले खोटो निकालेको र उमेर नपुगेकै सल्लाहरु पनि सुकेको शर्माले बताए । सल्ला मात्रै होइन बिभिन्न सामुदायिक बनहरुमा साल लगायत धेरै किसिमका रुखहरु पनि हुन्छन । जो सल्लाका जसरी प्रचारप्रसारमा नआउँदा तिनको बढी बिनास भएको छ । 
जिल्ला बन क्षेत्र समन्वय समितिका अध्यक्ष स्थानीय बिकास अधिकार कृष्ण प्रसाद गौतमले हरियो बन नेपालको धन भन्ने नाराले हामी जतिसुकै भाषण गरेपनि अधिकाशं बनहरु बाहिरबाट मात्र हरियो देखिने गरेको र भित्र जाँदा काम लाग्ने रुखहरु नदेखिने गरेको बताए । उनले भने ‘बन क्षेत्रलाई जोगाउन हामीले बिभिन्न निकायहरुलाई जिम्मा लगाएका  छौं । अब उहाँहरुले आफ्नो जिम्मेवारी पुरा गर्नु   हुनेछ ।’ 
बैज्ञानिक बन ब्यवस्थापन गर्दा बिभिन्न सरोकारवाला निकायहरुलाई समेटी, कर्मचारी, पत्रकार, उपभोक्ता समितिका पदाधिकारीहरुको नै संगठन बनाउँदा कार्यक्रम दिगो हुने कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन ।
बन ब्यवस्थापन गर्न सकेमा बाढी पहिरो रोकिने, भू क्षयबाट बच्न सकिने, खडेरीबाट बच्न सकिने लगायतका         कुराहरु जानकारी हुँदा हुँदै पनि कार्यान्वयनमा नल्याउदा बढी समस्याहरु उत्पन्न हुने डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले बताए ।

हाते ट्याक्तरसंगै बिउ अनुदान


जिल्ला कृषि विकास कार्यालय डोटीले किसानलाई बिभिन्न जातको बिउसंगै हाते ट्रयाक्टर अनुदानमा वितरण     गरेको छ । 
कार्यालयले चबराचौतारा कृषि सेवा केन्द्रबाट स्थानीय किसानहरुलाई १० वटा हाते ट्रयाक्टर बितरण गरेको हो । केन्द्रका ईन्चार्ज धर्मसिं बोहराजका अनुसार कृषि तथा खाद्य सुुरक्षा कार्यक्रम अन्तर्गत महिला कृषक समूहलाई हाते ट्रयाक्टर उपलव्ध गराईएको हो । 
कार्यालयले वर्षे बाली अन्तर्गत कृषकहरुलाई ५३ हजार किलो बिउ अनुदान तथा सहुलियतमा वितरण गरेको जानकारी दिएको छ । धानको बिउ शतप्रतिशत अनुुदानमा र मकै र भट्मासको बिउमा ७५ प्रतिशत अनुुदान दिइएको कृषि प्रसार अधिकृत राजेन्द्र प्रसाद यादवले जानकारी दिए । ‘मुुख्यतया धान, मकै र भट्मासको बिउ अनुुदानमा वितरण गरिएको हो’ यादवले भने ‘मकै र धानमा मूल बिउ तथा उन्नत जातको बिउ मागको आधारमा ल्याइएको बिउ सेवा केन्द्रमार्फत वितरण भईरहेको    छ ।’
नयाँ बिउ उत्पादन गर्न धानको मूल बिउ र उन्नत जातको बिउ २० हजार किलो वितरण गरिएको यादवले वताए । यस्तै १८ हजार किलो मकैको मूल र उन्नत जातको बिउ वितरण गरिएको छ भने १५ हजार किलो भट्मासको मूल बिउ र उन्नत जातका बिउ वितरण भइरहेको यादवले जानकारी दिए ।
विगत वर्षको तुुलनामा उन्नत जातको बिउ प्रयोगमा यस वर्ष बढी बितरण भएको कार्यालयको दावी छ । 
डोटीमा सरकारी अनुदानमै हाते ट्रयाक्टर बितरण गरिएको यो पहिलो घटना हो । यसअघि युरोपियन एड र डान चर्च एडको सहयोगमा सम बिकास केन्द्र ईडिसीले सञ्चालन गरेको दिगो खाद्य सुरक्षा परियोजना अन्तरगत जिल्लाका साबिकका गगुडा, सातफरी र धिर्कामाण्डौं गाबिसमा परीक्षणका रुपमा एक/एक हाते ट्रयाक्टर अनुदानमा उपलव्ध गराईएको थियो । 
डोटीमा पछिल्लो समयमा महिला व्यावसायिक कृषिमा उन्मुुख भएका छन् ।

छोटकरी समाचार 

मेरो बर्ष २०७४ कार्यक्रम सम्पन्न 

मेरो बर्ष २०७४मा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान सम्बन्धि जिल्ला स्तरीय वकालत कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य मन्त्री गगन थापाले ल्याएको अभियानमा बिभिन्न रोगहरु लाग्नबाट बच्न र देश नै स्वस्थ राख्नको लागि यो अभियान ल्याइएको बरिष्ठ जनस्वास्थ्य अधिकृत सतिस बिष्टले बताए । 
‘मधुमेह, क्यान्सर, मृगौला सम्बन्धि रोगहरु, दीर्घ स्वासप्रश्वास अबरोध रोग, मुटु तथा रक्त नली सम्बन्धि रोगहरुबाट बच्नका लागि यो अभियान ल्याइएको बिष्टले बताए  ।’ 
बिष्टले भने, जाँड रक्सी, नियमित चेकजाँच, पोषिलो खानेकुरा, ब्यायाम, चिकित्सकबाट सल्लाह लगायतका कुराहरु नियमित अपनाउँदा कुनै रोगहरु पनि नलाग्ने हुनाले यस्ता कुराहरुलाई सबैले ध्यान दिनुपर्छ ।’ 
आफूलाई अलिकति पनि कुनै स्वास्थ्यमा असहज भयो भने त्यो कुनै पनि राग हुन सक्छ त्यसैले सामान्य कुरामा पनि शरीरमा अप्ठेरो हुँदा स्वास्थ्यकर्मीको सल्लाह लिने पर्ने जिल्ला स्वास्थ्य कार्यालय डोटीकी स्टाफ नर्स सुशीला मरासिनीले बताइन । मरासिनीले भनिन्, ‘हामीले कतिपय ठूलै रोगहरु पनि पालेर राखेका हुन्छौं । जति पीडा थपिदै गयो त्यसपछि मात्र स्वास्थ्य  संस्थामा पुग्छौं । त्यसले गर्दा रोगले बढी नै च्यापेर अन्तिममा मृत्युको मुखमा पुगिन्छ ।’
उनले भनिन्, ‘नियमित स्वास्थ्य चेकजाँच गराउनु नै आफू स्वस्थ हुनु हो ।’

खेल समाचार 

जसले मिहिनेत गर्छ, उसैले जित्छ

गल्फ च्याम्पियनशीप शिवराजम श्रेष्ठसंगको कुराकानी 
५४ होलको प्रतियोगितामा ४ अन्डर खेलेर पनि सूर्य नेपाल एनपीजीएको उपाधि जित्नुभयो । गाह्रो भएन ?
— दोस्रो चरणमै दुई स्ट्रोकको अग्रता लिएपछि गाह्रो भएन । पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि सूर्य (सूर्यप्रसाद शर्मा) ले पछि नराम्रो खेलकाले पनि उपाधि जित्न गाह्रो परेन । तर स्कोर भने राम्रो भएन । स्विङ अफ भयो । पटिङ पनि नराम्रो भयो ।
उपाधि जित्न भाग्यको पनि साथ थियो ?
— जित्नेलाई भाग्यले सधंै साथ दिन्छ । तेस्रो र चौथो चरणमा बाहिरबाट चिप गरेर २–२ स्ट्रोक जोगाएको थिएँ । त्यसमा भाग्यको साथ पनि थियो । त्यसले सिजनको पाँचौं उपाधि जितें ।
अरू खेलाडीको प्रदर्शन कस्तो मान्नुहुन्छ ?
— सूर्यले पहिलो चरणमा राम्रो खेले तर निरन्तरता दिन सकेनन् । फाइनल ग्रुपमा खेलेका हामी तीन गल्फर (शिवराम, सूर्य, सञ्जय लामा) को पटिङ खराब रह्यो । स्कोर पनि ।
व्यावसायिक गल्फमा एक दशकमै कीर्तिमान ३५ उपाधि जित्नुभयो । सधैं जित्ने दबाब हुन्छ ?
— त्यस्तो दबाब हुन्न । मैले नै जित्नुपर्छ भन्ने छैन । कहिले राम्रो हुन्छ, कहिले नराम्रो । जसले राम्रो खेल्छ उसैले जित्नुपर्छ । खेल्न त जित्छु नै भनेर खेलिन्छ । राम्रो खेल्ने कोसिस गर्ने हो । जित्ने कोसिस गर्ने हो ।
नेपाली गल्फमा कुन खेलाडीसँग डर लाग्छ ?
— नेपालमा उमेश (भुवन) नगरकोटी, सञ्जय र रवि खड्का । शीर्ष पाँच वरीयताका खेलाडीबाट मलाई उपाधि होडमा चुनौती हुने गर्छ ।
प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) मा सन् २०१५ सम्म सात सिजन खेल्नुभयो । किन निरन्तरता दिनुभएन ?
— प्रायोजन नभएपछि पीजीटीआईमा खेल्न गाह्रो छ । आफैंले खर्च गरेर सकिन्न । एउटा प्रतियोगिता खेल्न कम्तीमा ६०–७० हजार रुपैयाँ खर्च हुन्छ । त्यसैले पनि पीजीटीआईमा नगएको हो । प्रायोजक भएको भए उतै खेलिरहेको हुन्थें ।
पीजीटीआईअन्तर्गत सूर्य नेपाल मास्टर्समा च्याम्पियन हुनुभयो । भारतमै उपविजेता पनि । खेलेरै बाँच्ने सम्भावना थिएन र ?
— सूर्य नेपाल मास्टर्स जित्दा राम्रो लयमा थिएँ । राम्रो खेलेपछि पैसा आइहाल्छ र त्यसबाटै चल्छु भन्ने लागेको थियो । तर सधैं राम्रो खेल्न सकिन्न । प्रायोजक भएन र खर्च गर्न पनि सकिएन ।
तपाईंसँग अहिले प्रायोजक छैन ?
— छैन । पहिले टासी दाइ (घले) ले हेर्नु भएको थियो । किया मोटर, वाईवाई नुडल्स, यती एयरलाइन्स, सीएमएस पनि थिए । प्रायोजक नभएकाले नै बाहिर खेल्न नगएको हो ।
नेपाली गल्फरलाई माथिल्लोस्तरमा पुग्न के गर्नुपर्छ ?
— पहिलो त प्रायोजक हुनुपर्छ अनि धेरै प्रतियोगिता । वार्षिक १५ बढी । प्रतियोगिता भइरह्यो भने सबैले मिहिनेत गर्छन् । अहिले महिनामा एउटा मात्र हुन्छ र प्रतियोगिताका बेला मात्र मिहिनेत गरिन्छ । मासिक २०–२५ दिन आराम । निरन्तर खेल्न पाए भने त राम्रा खेलाडी निस्किने हो ।
व्यावसायिक गल्फरहरू सूर्य नेपाल गल्फ टुर खेलेर बाँच्न सक्छन् ?
— शीर्ष तीन वा पाँच प्रोलाई नेपालको टुरबाट बाँच्ने अवसर हुन्छ, अरूलाई छैन । त्यसैले शीर्ष पाँच वरीयतामा नपर्ने धेरै प्रो विदेश जाने गरेका छन् । त्यो बाध्यता परिवार हेर्नका लागि हो ।
घरेलु गल्फमा एक सिजनबाहेक सधंै उपाधि जितिरहनुभएको छ । निरन्तर जित्नुको रहस्य ?
— म धेरै मिहिनेत गर्छु । अरू खेलाडी प्रतियोगिता आउन लाग्दा मात्र मिहिनेत गर्छन् । जसले मिहिनेत धेरै गर्छ उसैले जित्छ ।
तपाईंको पनि दुई वर्षयता खेल खस्किएको छ नि ?
— प्रतियोगिता धेरै छैन । त्यसैले त्यति अभ्यास गर्न मन लाग्दैन । पहिलो जस्तो मिहिनेत पनि गर्दिनँ । पहिले दैनिक ८ घण्टा अभ्यास गर्थें । करिब ५ सय बल हान्थें । अहिले प्रतियोगिता आउन लाग्दा मात्र ५–६ घण्टा अभ्यास गर्छु । एक–डेढ सय बल खेल्छु ।
फेरि विदेश खेल्न जानुहुन्छ ?
प्रायोजक पायो भने जान सक्छु । अभ्यास गरेपछि खेल लयमा आइहाल्छ । त्यसैले प्रायोजक पायो भने पहिलेकै लयमा फर्किने विश्वास छ ।
—कान्तिपुर दैनिकबाट

चलचित्र/मनोरञ्जन 

मनिषा भन्छिन् ‘विवाहको निर्णय गलत’


नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालालाई सात बर्ष पहिले गरेको बिवाह गर्ने निर्णयप्रति पछुतो भएको छ । 
त्यतिबेला निकै हतारमा गरेको विवाहको निर्णयप्रति अफसोस जताउँदै राम्रोसँग नसोची विवाहको निर्णयमा पुग्नु गलत भएको बताउछिन् । आज उनलाई विवाह गरेको कुरामा पछुतो भएको तर यसको जिम्मेवार आफूलाई नै सोच्छिन् ।
फिल्म ‘डियर माया’ को प्रोमोसनमा व्यस्त मनिषा कोइरालाले एक भारतीय मिडियासँग गरेको कुराकानीका क्रममा आफुले गरेको बिहे गर्ने निर्णय गलत भएको बताएकी छिन् । उनले भनेकी छिन् ‘हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ ।’ उनले  यसबारे योभन्दा बढि केही पनि भन्न नसक्ने बताएकी छिन् ।’ 
कोइरालाले सन् २०१० मा व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्ष पछि सन् २०१२ मा यि दुईको सम्बन्ध विच्छेद भएको थियो ।
मनिषा थप्छिन, ‘हेर्नुहोस, आजकालका पीढिका किशोरीहरुसँग म निकै प्रभावित छु । आजकालका किशोरीहरु निकै बोल्ड छन् । उनीहरुले आफूलाई निकै राम्रोसँग चिनेका छन, उद्देश्य लिन्छन् र आफ्नो गोल आफैं सेट गर्छन् । मलाई आजको पीढिका किशोरीहरु निकै राम्रा लाग्छन् । महिला यस्तै हुनुपर्छ किनभने हामीले एउटै जिन्दगी पाउँछौं ।’
नयाँ महिला निर्देशक सुनैना भटनागरको निर्देशनमा तयार मनिषाको फिल्म ‘डियर माया’ जून २ तारिखमा रिलिज हुँदैछ । यो फिल्मपछि मनिषा राज कुमार हिरानीको निर्देशनमा बनिरहेको संजय दत्तको बायोपिकमा नरगिस दत्तको भूमिकामा देखिनेछन् ।

गुमनाम पथमा बर्षा


फिल्मी खवर
फिल्म ‘नाई नभन्नु ल २’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका हुन् बर्षा सिवाकोटी । फिल्म भन्दा धेरै म्यूजिक भिडियोमा देखिएकी उनले झण्डै आधा दर्जन सिनेमामा पनि काम गरिसकेकी   छिन् । तर, दर्शकहरुले बर्षालाई अझै पनि नायिकाको रुपमा भने चिन्न सकेका छैनन् । ‘नाई नभन्नू ल २’ पछि ’पशुपति प्रसाद’, ‘सुब्बा साब’, ‘लप्पन छप्पन’ लगायतका फिल्ममा काम गरिसकेकी बर्षाले अहिलेसम्म सफलता के हो भन्ने महशुस खासै गर्न पाएकी छैनन् । 
‘नाई नभन्नू ल २’, ‘पशुपति प्रसाद’ र ‘लप्पन छप्पन’ हिट भएपनि दमदार भूमिका नभएका कारण दर्शकहरुको आँखामा अझै पनि बर्षाले आफू ‘नायिका हुँ’ भन्ने छाप बनाउन सकेकी छैनन् । अझ आफू अभिनित फिल्ममा स्टार कलाकार भएका कारण बर्षा पटक–पटक ओझेलमा पर्दै आइरहेकी छन् । त्यसैले त अहिले सिनेवृतमा बर्षा गुमनाम पथमा रहेको चर्चा पनि चल्न थालेको छ । अब यही आउने असारमा उनी अभिनित अर्को फिल्म ‘कारखाना’ रिलिज हुँदैछ । अब भर भनेपनि आश भनेपनि बर्षालाई यही फिल्मको छ किनकी उनले यो फिल्ममा गलितै भूमिका पाएकी छिन् । 
कहिले फिल्म छाडेको त कहिले फिल्म नगरेका कारण मिडियामा छाइरहेकी बर्षाको स्टाइल र सुन्दरतामा भने धेरै भुतुक्कै हुने गर्छन । प्रत्येक फिल्ममा छोटो भूमिकाका कारण पनि दर्शकको आँखामा पर्न नसकेकी बर्षालाई अब एउटा दह्रै फिल्मको आवश्यक परेको छ । सायद बर्षाको यो कामना ’कारखाना’ ले पो पूरा गर्छ कि ? अब यो त चाँडै नै थाहा हुनेछ ।

लेख 

पराजित उम्मेद्वारको डायरी ः जहाँ अझै बिबेक भन्दा लहड चल्छ


उद्धवराज भेटवाल
पत्रकारिताको १० वर्षे करिअरमा मैले कुनै पेशागत संगठनको राजनीति गरिनँ । कुनै पार्टीको, भ्रातृ वा शुभेच्छुक संगठनको क्रियाशील सदस्यता पनि लिएको थिइनँ ।
मेरो परिवारको पुरानो पृष्ठभूमि राप्रपा थियो । त्यसैले केही राप्रपा नेतासँग मेरो निकट सम्बन्ध थियो । जसले गर्दा मलाई कतिपयले राप्रपा समर्थक पनि भन्ने गरेका छन् । त्यसको मैले खण्डन गरिनँ र गर्न जरुरी पनि ठानिनँ ।
पत्रकारिताको दौरान न्यूज २४ टिभीमा कार्यरत हुँदा ७ वर्षअघि पत्रकार महासंघको सदस्यता लिन दुई पटक फारम भर्दा समेत मेरो संस्थाका पेशागत संगठनका मित्रहरुले समन्वय नगरिदिँदा मैले सदस्यता पाइनँ । मेरो साथ–समर्थन र भोट नपाउने देखेर पनि होला, उनीहरुले सद्भाव नदेखाएको ।
त्यसो त मैले पत्रकारिता कर्म जारी राख्न कुनै संघ वा महासंघको सदस्यता आवश्यक थिएन । दुई पटक सदस्यता नपाएपछि मैले महासंघको सदस्यता लिन कुनै फारम भरिनँ । आजसम्म म पत्रकार महासंघको सदस्य समेत छैन । सदस्य नै नभएपछि पेशागत राजनीतिको कुरै भएन !
तर, राजनीति समाज सुधारको निर्विकल्प विधि हो भन्नेमा म पहिल्यैबाट प्रष्ट छु । राजनीति मेरो इच्छा पनि हो । विभिन्न परिवर्तनका नाममा पछिल्लो २० वर्षदेखि अस्थिर नेपालको राजनीति नयाँ संविधान र शासकीय व्यवस्थासँगै केही स्थिर हुने हो कि भन्ने आशा बढिरहेका बेला मैले कुनै न कुनै रुपमा राजनीतिमा प्रवेश गर्ने सोच बनाएको थिएँ । राजनीति त्यो पनि जनताको राजनीति, मूलधारको राजनीति ।
राजनीतिमा पूरै होमिने स्थिति पनि नभएको र सक्रियता पनि बढाउनु पर्ने भएकाले मेरो लागि यो स्थानीय निर्वाचन उपयुक्त अवसर बन्यो । जन्मभूमि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ बाट वडाध्यक्षका लागि मैले उम्मेदवारी दिएँ । यो मेरा लागि जनताको घरदैलोसम्म पुग्ने र उनीहरुको राजनीतिक मनोविज्ञान बुझ्ने उत्कृष्ट अवसर थियो । यस्तै, भावी दिनमा राजनीति गर्न एउटा आधार पनि बन्ने थियो ।
१२ वर्षदेखि काठमाडौं केन्द्रित भएको हुँदा र गाउँमा कुनै राजनीतिक गतिविधिमा संलग्न नभएको मैले स्वतन्त्र उम्मेदवार बनेर चुनाव जित्ने सम्भावना छँदै थिएन । तैपनि मैले जबर्जस्त उम्मेदवारी दिएँ । यद्यपि चुनावमा उठिसकेपछि चुनाव हार्छु भन्दै हिँड्ने अवस्था पनि हुँदैन ।
आफ्नो पेशा–व्यवसायबाट केही समय छुट्याएर गाउँ पुगेको मैले कुनै ठूलो क्रान्ति गर्ने अवस्था थिएन । स्वतन्त्र उम्मेदवार भन्ने बित्तिकै स्थानीय संगठन हुँदैन । संगठन नहुँदा मैले सहजताका साथ राजनीतिक कार्यक्रम गर्न सक्ने अवस्था पनि थिएन । मैले निर्वाचन लड्न जानुअघि आफ्नो प्रतिबद्धताको सूची बनाएको थिएँ । त्यसैका साथ म आफ्नो घोषणापत्र लिएर सबै मतदाताको घरघरमा पुगेँ ।
भेटेका जति सबैलाई मैले आफूसँग कुनै झण्डा, संगठन वा समूह नभएको तर गाउँको विकास–निर्माणका स्पष्ट खाका भएको निवेदन गरेँ । मतदाताहरुलाई मैले मेरा योजना मन परेमा भोट दिनुहोला र मन नपरे नदिनुहोला भनेर अनुरोध गरेँ । सँगसँगै अरुलाई भोट दिँदा पनि योजना र एजेण्डाका आधारमा राम्रा मान्छेलाई भोट दिनुहोला भनेर सुझाएँ ।
यो निर्वाचनबाट आगामी पाँच वर्षका लागि स्थानीय नेतृत्व लिने भएकाले हल्ला, लहड र दयामायाका        आधारमा नभई योजना र एजेण्डाका आधारमा भोट दिन मैले घरघरमा पुगेर आग्रह गरेँ । चुनावको शून्य समयभन्दा अगाडिसम्म मेरा घोषणापत्र र कुरा गाउँमा भाइरल नै भए । जसले गर्दा त्यहाँका अन्य स्थापित दलहरुलाई टाउको दुख्न थालिसकेको थियो ।
अन्य दलहरुले मसँग संगठन नहुनुको फाइदा उठाउँदै मेरा विरुद्ध अन्तिम समयमा भ्रम पैदा गरे ।
‘स्वतन्त्र उम्मेदवार भएकाले अरुको भोट काट्न उठेको’, ‘कुनै हालतमा नजित्नेलाई भोट दिनैहुन्न’, ‘भोट खेर नफालौं’, ‘जित्नेलाई भोट दिनुपर्छ’, ‘काठमाण्डौंमा बस्नेले गाउँमा के गर्छ ?’ भन्ने जस्ता विषय उठाएर मेरा सकारात्मक पक्षलाई ओझेलमा पार्ने काम भयो ।
संगठन अभावका कारण आफू विरुद्धका यी विषयहरुलाई मैले चिर्न सकिनँ । मसँग भएको धेरथोर जनमत पनि जोगाउन सकिनँ । अरु त अरु, मैले कार्यक्रम राखेको सुनेर उही स्थान र समयमा उनीहरुले सर्वदलीय बैठक राखे र मलाई पनि बोलाइयो । जसले गर्दा मेरो कार्यक्रम रद्द नै हुने अवस्था बन्यो ।
त्यस्तै, मैले चुनावमा आवश्यक सामान्य प्रचार खर्च बाहेक अन्य अनावश्यक खर्च गरिनँ । अर्थात् साम दाम दण्ड भेदको प्रयोग गरिनँ वा गर्ने मेरो नीति नै थिएन । ९० प्रतिशतभन्दा धेरै मतुवाली समुदाय बस्ने ठाउँमा चुनाव जित्न खुवाउनु–पिलाउनु पनि आवश्यक छ भन्ने मैले त्यहाँका केही अग्रजबाट सुनेको थिएँ । त्यो आवश्यकता पुरातनवादी दलहरुले सिर्जना गरिदिएको विडम्बना हो । त्यसो गर्नु पनि मेरो विधि थिएन ।
यस्तो अवस्थामा अन्य राजनीतिक दलहरुले खुवाइ–पियाइसँगै पैसा बाँड्नेसम्मको हर्कत समेत बाँकी            राखेनन् । त्यसबेला मैले महसुस गरेँ, २० वर्षको दौरानमा पनि गाउँ र त्यहाँको मानसिकता उस्तै छ । यति भएसँगै चुनावको अन्तिम समयमा गाउँमा जित्नेलाई भोट दिने र भोट खेर नफाल्ने अभियान नै चल्यो ।
चुनाव अगाडि जसले धेरै हल्ला चलाउन सक्छ, उसैले चुनाव जित्ने भन्ने आधारमा भोट दिने हुँदो रै’छ । जसले गर्दा मेरा आफ्नै छरछिमेकले समेत भोट खेर नफाल्ने भनेर लहडको पछि लागेर अन्यत्रै भोट हाले । यसले मलाई ठूलो पीडा नदिए पनि नरमाइलो चाहिँ लाग्यो ।
त्यसो त यो चुनाव मलाई राजनीतिशास्त्रको प्रयोगात्मक अध्ययन थियो । हार वा जित मेरो लागि प्रतिष्ठा वा लज्जाको विषय पनि थिएन । कम्तीमा अबका दिनमा राजनीति गर्न मेरो आधारक्षेत्र बनिसकेको थियो । त्यहाँका समस्या, विकृति र अभ्यासहरु मैले थाहा पाउने अवसर बनेको थियो । कम्तीमा त्यहाँका स्थानीयले मलाई चिनेका छन् । जसले गर्दा मलाई अबको राजनीतिक यात्रा अघि बढाउन सहज भएको छ । यता चलिरहेको आफ्नो पेशा–व्यवसायलाई पनि जारी राख्दै राजनीतिक यात्रा तय गर्न यो निर्वाचनले मलाई धेरै सहज बनाएको छ । यो नै यो चुनावमा मैले पाएको उपलब्धि हो ।
अर्को निष्कर्ष भनेको अझै गाउँघरमा विचार बिक्ने बेला भएको छैन । त्यसका लागि हामी नयाँ पुस्ताले अझै धेरै जागरण फैलाउनुपर्ने अवस्था छ । हामीले कागजमा जति नै क्रान्तिकारी व्यवस्था ल्याए पनि गाउँघरमा जब विवेकको राजनीति सुरु हुँदैन, तबसम्म हाम्रा सबै गाउँघर र त्यहाँका नागरिक पूर्ववत् लहडमा भोट हाल्न छाड्ने छैनन् ।                  
— अनलाईन खवरबाट

मोफसल पत्रकारिता 

महिला पत्रकारहरुमाथी एक प्रकारको हिंसा छ


सन्तोषी श्रेष्ठ (अध्यक्ष) 
सञ्चारिक समूह, तनहुँ
तपाईंको परिचय पाउँ न ? 
— म सन्तोषी श्रेष्ठ, सञ्चारीका समूह नेपाल तनहुँको अध्यक्ष । म दुलेगौडामा नै रहेको ढोरबाराही एफ एम १०३.८ मेगाहर्जमा कार्यरत छु र भर्खरै पोखराको गोल्डेनआइ टेलिभिजनमा पनि आबद्द भएकी छु ।
कति समय भयो यस पेशामा लागेको ?
— म पत्रकारितामा लागेको ५ बर्ष भन्दा बढी भयो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— मोफसलमा सबै खालका पत्रकारिता गर्नुपर्छ । तर म बिशेष गरी सामाजिक र परोपकारी पत्रकारिता गर्न रुचाउछु ।
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— समस्या त हरेक पेशामा हुन्छ नि ! पत्रकारितामा अरु पेशामा भन्दा बढी चुनौती  हुन्छ । तर जहाँ धेरै चुनौती हुन्छन त्यहा धेरै अवसर पनि हुन्छन । चुनौतीको सामना गर्दै अवसर लिन सक्ने स्थानको रुपमा पत्रकारितालाई पाएकी छु ।
समस्यै समस्या भएको पेशा किन रोज्नु भयो त ? 
— उही उस्तै जीवन त सबैले जीउछन् नि ! म अरु भन्दा फरक शैलीमा जीवन जीउन चाहने व्यक्ति हुँ । सानै देखि अरु भन्दा फरक अनि बिशेष बन्न चाहन्थे समाजÞको सेवा गर्छु भन्ने सोच्थे । पत्रकारिता पनि एक प्रकारको सुवर्ण समाज सेवा हो । रेडियो नेपाल सानै देखि खुब सुन्थे । कोमल ओली दिदिको समाचार वाचन धेरै मन पथ्र्याे । उहा जस्तै सञ्चारकर्मी बन्छु भन्ने सपना बुन्थे । १२ कक्षा पास गरेपछि आफ्नो लक्ष्य पुरा गर्न एफ एममा आबद्ध भए ।
तपाई त महिला पत्रकार, पुरुषको भन्दा थप समस्या खेप्नु भयो कि ?
— पत्रकारितामा अनेकौ समस्या छन् अझ बढी महिलालाइ रिपोर्टिङ को क्रम मा फिल्डमा जाँदा होस कि संघसंगठनमा कार्यस्थलमा होस् हेर्ने सोच्ने दृष्टिकोण नै फरक  छ । बाहिर खुलाउन नचाहने भित्री रुपमा महिला पत्रकारहरु पनि महिला हिंसामा परेका छन । सञ्चार माध्यममा रोजगार दिदा होस या पारिश्रमिककै कुरामा पनि बिभेद भएको पाइन्छ । यी समस्याहरुमा म नपरे पनि पत्रकारिताको सुरुवातमा पारिवारिक समस्यामा भने परे । पत्रकारीतामा लाग्न अझ बढी परिवारको साथ जरुरी हुन्छ । तर म मध्यम बर्गको ठुलो परिवारमा हुकिएकी, त्यसैले पनि पत्रकारीतामा धेरै काम र थोरै पारिश्रमिक हुन्छ बरु बैङ्किङ क्षेत्रमा लाग्नु भनेर केहि बर्षसम्म बारम्बार पापरिवारिक दबाव आउँथ्यो । समस्या जे जस्तै आइपरेपनि मैले मेरो लक्ष्यलाई कहिल्यै परिवर्तन गरिनँ ।  अहिले मैले गरेको कार्य र पेशाप्रति परिवार र आफन्तजनले गर्व गर्नुहुन्छ ।
मोफसलको पत्रकारितामा त झन समस्यानै समस्याको चाङ छ भन्ने गरिन्छ, के लाग्छ तपाइलाई ? 
— मोफसलमा बसेर पत्रकारिता गर्नको लागि कठिन त हुन्छ नै तर पनि स्थानीयस्तरमै रहेर फिल्डमा खटिएर समाचार संकलन गर्न सक्ने र मिहिनेतीहरुको लागी त गाह्रो नपर्ला । मोफसलका पत्रकार हरुलाइ काम बढी र पारिश्रमिक कम त भएकै हुन्छ । 
मोफसलै भएपनि तनहुँलाई त बिकसित जिल्ला मानिन्छ, कस्तो पाउनु भयो यहाँको पत्रकारिता ?
— हो, अरु जिल्लामा भन्दा त गरिबी कम र बिकसित पनि छ तनहुँ । तर सदरमुकाम र पृथ्वीराजमार्गसंग जोडिएका ठाउँलाई हेरेर मात्र हुँदैन । तनहुँको दक्षिणी भेग हेर्ने हो भने बिकट नै छ । गाउँपालिका मात्रै हैन नगरपालिका कै कतिपय वडाहरु अबिकसित नै छ्न । सदरमुकाममा बसेर पत्रकारिता गर्नेलाई केहि सहज होला तर सदरमुकाम बाहिरका पत्रकारलाइ भने असुबिधाजनक नै छ ।
मोफसलका पत्रकारहरुको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कस्तो भूमिका खेलेको पाउनु भएको छ ?
— पत्रकार महासंघ मात्र सम्पूर्ण पत्रकारहरुको साझा सस्था हो । केन्द्र र सदरमुकामका मात्र नभै स्थानीयस्तरमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको समस्या समाधानको लागी पत्रकार महासंघले नै महत्वपूर्ण भुमिका खेलेको छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— प्रभाबकारी नै छ भन्नु प¥यो । पत्रकारहरुको सदस्यताको लागी पहल देखि पत्रकारहरुको हकहित र अधिकारको लागी सहयोग त गरेकै छ । मेरो बिचारमा पत्रकारको राजनीतिक आस्था त हुन्छ नै, तर पत्रकारितामा अनावश्यक  राजनीति गर्नु भन्दा सहि  रणनीति अपनाएर अघि बढ्नु पर्छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— मोफसलका पत्रकारहरुको क्षमता दक्षता अभिबृद्धिका लागी विशेष तालिम गोष्ठी तथा बिशेष कार्यक्रमहरु ल्याउने, मोफसलका पत्रकारहरुलाई पनि प्राथमिकता दिने र महासंघले पत्रकारको लागी दिलाउने भनिएका जति पनि सुबिधाहरु छन त्यही मात्र सरकारले दिलाउन सके कार्यान्वयनमा ल्याउन सके मात्रै पनि उचित हुने थियो ।
तपाइको विचारमा पत्रकारिता के हो ? 
— राज्यको चौथो अंगका रुपमा रही राष्ट्र र जनता समक्ष सत्य तथ्य निश्पक्ष र निरन्तर सूचना सन्देश प्रवाह गर्ने एउटा जिम्मेवारीपूर्ण मर्यादित पेशानै पत्रकारीता हो । जस्ले स्वयं र सम्पूर्णलाई मर्यादित बन्न र बनाउन ठुलो भुमिका खेल्छ ।
कति कमाउनु भयो पत्रकारितामा लागेर ?
— यति नै कमाए भन्नु भन्दा पनि आफ्नो जिबिकोपार्जनसंगै पत्रकारितामा लागेपछि कमाइएका जे जति पनि छ्न ति अमुल्य छ्न । सायद धनसंग दाजेर कम हुन्छ होला ।
अन्त्यमा भन्नै पर्ने कुरा छुटे जस्तो लागेको छ की ?
— कुरा जति गरेपनि सकिदैन । भन्न बाँकी त धेरै नै होला तर, थोरै भनेपनि भनेका   कुरा सहि र प्रभाबकारी भए त्यहिनै अर्थपूर्ण हुन्छ । बिब्ब साप्ताहिकले मोफसलका पत्रकारहरुका बिचार र कुराहरु प्रस्तुत गर्ने यति उत्कृष्ट स्तम्भ राख्नु भएकोमा धेरै खुसी लाग्यो । यसको लागी धेरै धेरै धन्यवाद । बिम्ब साप्ताहिकको सफलताको अझ सफलताको कामना गर्दछु ।
समय र बिचारको लागी धन्यवाद ।
— यो राम्रो अवसर प्रदान गर्नु भएकोमा मेरा आफ्ना भनाइ र बिचार राखन दिनु भएकोमा बिब्ब साप्ताहिकलाइ पनि धेरै धेरै आभार प्रकट गर्दछु ।

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

नि.मा.बि. तह 

बहुबैकल्पिक प्रश्नहरू
१. तलकामध्ये कुनचाही निम्न माध्यमिक शिक्षाको उद्देश्य हो ?
(क) प्रत्येक व्यक्तिमा अन्तर्नि्हित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालार्य प्रस्फुटित गर्न सहयोग गर्ने
(ख) आजको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्यजीवनयापन गर्ने सहयोग गर्नु
(ग) राष्ट्र र प्रजातन्त्रप्रति आस्थावान, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रमप्रति सकारात्मकप्रवृत्ति भएका स्वस्थ, स्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु ।
(घ) सामाजिक मूल्य र मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूर्ण आचरणको विकास गर्नु ।
२. दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?
(क) रानीपोखरी काठमाण्डौं                                        (ख) त्रिपुरेश्वर काठमाडौं
(ग) जोरपाटी काठमाडौं                                           (घ) थापाथली काठमाडौं
३. नेपालको अहिलेको विद्यालयको तहगत संरचना कुन चाहि हो ?
(क) ३–४–३–२, (ख) ८–४ (ग) ३–५–२–२ ,  (घ) २–३–५–२
४. रा.शि.प.यो. २०२८–३२ मा नि.मा. शिक्षा भित्र कुनकुन कक्षा समावेश छन ?
(क) कक्षा ५–८, (ख) कक्षा ६–७,  ग) कक्षा ४–७,  (घ) कक्षा ४–८
५. माध्यमिक शिक्षा सहयोग कार्यक्रमले सन् २००७ सम्ममा नि.मा.तहको छात्रा भर्ना प्रतिशत कति पु¥याउने लक्ष्य राखेको छ ?
(क) ४५५,          (ख) ५०५, (ग) ५५५,  (घ) ६०५
६. सबैको लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिवटा कार्यक्रम अंगहरु (एचयनचबm ऋयmउयलभलतक) छन् ?
(क) ४,     (ख) ५,  (ग) ६,  (घ) ७
७. दशौं योजनाले सामान्य आर्थिक वृद्धिदर कायम रहेमा निम्न माध्यमिक तहको सहजै देखिने भर्नादर कतिप्रतिशत पु¥याउने अनुमान गरेको थियो ?
(क) ६३,  (ख) ६४,   (ग) ६५,   (घ) ६६
८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्नमाध्यमिक तहमा तलका मध्ये कुन कुन कक्षा समावेश गर्न सुझाव दिएको थियो ?
(क) ४–७ कक्षा,    (ख) ७–८ कक्षा,  (ग) ५–८ कक्षा,     (घ) ६–८ कक्षा
९. विद्यार्थीहरुको अभिव्यक्ति गर्ने क्षमता थाहा पाउन कुन मूल्याङ्कन विधि उपयुक्त होला ?
(क) वस्तुगत परीक्षा                                                (ख) अन्तर्वार्ता
(ग) रुजु सूची                                          (घ) निबन्धात्मक प्रश्न सोध्ने परीक्षा
१०. किशोरावस्थाका बालबालिकामा निम्न मध्ये कुन विशेषता पाइन्न ?
(क) परिवर्तनका अवस्था                                        (ख) डरपोक अवस्था
(ग) दोधारको अवस्था                                          (घ) समूह निर्मणको अवस्था
११. नेपालको अन्तरिम संविधान, २०६३ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको थियो ?
(क) १३,    (ख) २३,   (ग) २१,    (घ) १२
१२. तलको मध्ये कुनचाहि हक नेपालका यस अघिका संविधानहरुमा थिएन र नेपालको अन्तरिम संविधान      २०६३ मा पहिलो पटक व्यवस्था गरिएको थियो ?
(क) सम्पत्तिको हक,                                             (ख) बालबालिकाको हक
(ग) धर्म सम्बन्धी हक                                            (घ) देश निकााल विरुद्धको हक
१३. शिक्षा ऐन, २०२८ चरणगत रुपमा क्रमशः लागू भएको थियो । उक्त ऐन लागू हुँदा प्रथम देखि अन्तिम चरणसम्म तलका मध्ये कति कति जिल्लामा क्रमशः लागू भएको थियो ?
(क) २+१३+१६+२०+२४                                (ख) २+१३+१५+२०+२५
(ग) २+१३+१६+१९+२५                                     (घ) २+९+१६+२३+२५
१४. शिक्षा ऐन, २०२८ अनुसार प्रश्नपत्रको गोपनीयताभंग गरेमा कस्तो सजाय गरिन्छ ?
(क) कसुरको मात्रा हेरी २५ हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ख) कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ग) कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(घ) कसुरको मात्रा हेरी एकलाख पचास रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
१५. जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था छ ?
(क) सम्बन्धित को.ले.नि.का.बाट                           (ख) सम्बन्धित जि.शि.का.बाट
(ग) महालेखा नियन्त्रक कार्यालयबाट                    (घ) महालेखा परीक्षकको विभागबाट
१६. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार आयोगले प्रतियोगितात्मक लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमा अन्तर्वार्ताका लागि नामावली प्रकाशन गर्दा १६ देखि २० वटा पद रिक्त रहेकोमा कति संख्या थप गरी प्रशान गर्नुपर्छ ?
(क) ३,   (ख) ४,   (ग) ५,  (घ) ६

साहित्य/सृजना 

दाजुलाई चिठ्ठी 

बिना तामाङ
दाजु कसरी शुरु गरुँ
कुन महङ्गो शब्दले सम्बोधन् गरुँ ?
भिरेर एउटा सस्तो जिन्दगी
महत्वहिन, निरुद्देश्य भएपछि
शब्दहरुको पनि मूल्य हराउने रहेछ
प्रयोगकर्ता नै अयोग्य भएपछि
नमस्कार भनुँ भने
मेरो लागि न नमस्कारको नै कुनै अर्थ छ
न मैले नमस्कार गर्नुको नै कुनै अर्थ रहन्छ
अर्थ लगाउन खोज्दा
अर्थ भित्रै अनर्थ हुन्छ
जस्तो कि जीवनभित्र घात छ
म यति सस्तो भैसकें कि
मैले गर्ने नमस्कारको कुनै मूल्य नै छैन
अथवा भनुँ म नमस्कार गर्न योग्य नै छैन
हावाको जति पनि मेरो
जीवनको गुरुत्व छैन
दाजु म के खबर सुनाउँ तपाँईलाई
मेरो कुनै खबर नै छैन
केहि छन् तर ती सुनाउन लायक छैन
जे होस म घिस्रिएर भएपनि बाँच्दैछु
दुई पैसाको जीवन बांचेकी छु
जोगाईरहेछु यहि बेकम्मा जिन्दगी
दाजु मेरा शब्दहरुले मन नदुखाउनुहोला
मेरा कृतघ्न शब्दहरु पढेर
दुर्घटित जीवनका कथाहरु सुनेर
पटक्कै मन नदुखाउनु होला
हो मलाई याद छ अझै
ती दिनहरु
जुन दिनहरुमा तपाँईले
मेरो लागि गर्नु भएका प्रयत्नहरु
मलाई सफल बनाउन
बनाउनु भएका सिढंीहरु
तपाँईका महानवाणीहरुलाई मैले
लत्याएर घमण्डको आहालमा
चुर्लुम्म डुबेर
कुनै दिन हिडेथें
हो म हिडेथें किनकी
मेरो भाग्यमा यति बिघ्न दुःख
कष्टका शृखंलाहरु लेखिएका रहेछ
अनि म आफै पनि एउटा ढुङ्गा रहेछु
यस्तो ढुङ्गा जुन वास्तवमै गोलो छ
हो म त्यहि गोलो ढुङ्गा हुँ
जसलाई जति माथि लगेर राखिदिए पनि
फेरि गुड्किएर उहि धरातलमै झर्दछ
मलाई माथि चढाउन खोज्नु
तपाईको महानता
अनि तल झर्नु मेरो अयोग्यता
सायद यहिंनेर खाडल थियो
हामी बीच
मलाई शिखरमा पु¥याउने
तपाईको सपनाहरु
चकनाचुर पारेर मै हिडेकी थिएं
हो मै हिडेकी थिएं
किनकी म अभागी थिएं
दाजु मलाई अतीतका दिन सम्झना छ
जब म हरेक कुरामा उछिन्थें सबैलाई

सूचना/सन्देश/बिज्ञापन 


मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मितिः २०७४÷१÷२५          
        जिल्ला डोटी साविक बगलेक गा.वि.स.वडा नं.४ स्थित कि.नं.६६९, ६७१, ६८९ को जग्गा सोही गा.वि.स.वडा नं.४ हाल पुर्वीचौकी गाउँपालीका वडा नं.२ बस्ने को पराने भुल र उदै भुलको नाउँमा नापनक्सा भई संयुक्त श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि पराने भुलको मिति ः २०६३÷६÷२२ मा मृत्यु भएको । निज मृतकको दुई वटी पत्नि लुलीदेवि भुल र मातादेवि भुल भएकोमा लुलीदेवि भुलको मिति ः २०४४÷११÷१४ मा मृत्यु भएको । मृतक लुलिदेवि भुलको एकमात्र छोरा खिउरे भुल भएको । अर्का जग्गाधनि उदै भूलको मिति ः २०५५÷१०÷२० मा र निजको एकमात्र पत्नि धनादेवि भुलको मिति ः २०६८÷६÷१८ मा मृत्यु भई निजहरुवाट सन्तान छोरा छोरी कोही केही नभई अपुताली परेकोले निज मृतक जग्गाधनि उदै भुलको शेषपछिको हकदार मातादेवि भुल र खिउरे भुल मात्र भएको हुँदा मृतक जग्गाधनि पराने भुल र उदै भुलको नाउँमा रहेको डोटी बगलेक गा.वि.स.स्थित माथी उल्लेखित पुरै घर जग्गाहरु हाम्रो नाउँमा संयुक्त नामसारी गरी पाउँ भनि डोटी पुर्विचौकी गाउपालीका २ नं. वडा कार्यालय डोटीको च.नं.५७ मिति ः २०७४÷१÷२४ को किटानी सिफारीस पत्र, मृतक समेतको नाउँकोे सँगोलको जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी साविक बगलेक गा.वि.स.वडा नं.४ हाल पुर्विचौकी गाउँपालीका वडा नं.२ बस्ने मातादेवि भुल र खिउरे भुलले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७४÷१÷२४ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, उदै भुलको अन्य अंसियार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी  गराईन्छ ।


हार्दिक श्रद्धान्जली एवं तिलाञ्जली

सुगर चेक गराउन सिलगढी संगीत श्रेष्ठको मेडिकलमा गएको थिएँ दिउँसो २ बजेतिर । माथिल्लो घरका शिक्षक      राधेश्याम श्रेष्ठले ‘सर हिजो राती धनगढीको क्याम्पस रोड पछाडी बुढा दम्पत्तिको हत्या भएको रहेछ’ भने । मेरो छोराले फोनबाट भनेको थियो । मध्य रातसम्म मृतकहरुकै घरमा मासु सहितको भोज र नाचगान भैरहेथ्यो । नाच सिद्धिएपछि ती दुई बुढाबुढीको घरमा ताल्चा लागेको र ताल्चा फोडी घर भित्र जाँदा दुबै दम्पतीको हत्या धारिलो हतियारबाट भएको रहेछ । एउटा पीडा बोध भएर डेरा फर्कि ओछ्यानमा पल्टिरहेकै अवस्थामा छोरी सृजनाले फोन गरी र भनी, ‘बुवा धनगढी बुद्ध नगरमा हाम्रै गाउँका बाज्या र बज्यैको हत्या गरिएको रहेछ । हजुरलाई जानकारी भयो की नाई ? अनि मैले को बाज्या बज्यै ? सोधे । ‘उसले सारदा फुपूका आमा बुवा ।’ त्यसपछि उक्त हत्याको आंसिक बिबरण थाहा भयो । ती दुबै मृतक त मेरा आफन्त काका बर्दी प्रसाद र काकी कलावती पो रहेछन । त्यो खबर सुनेपछि त म स्तब्ध भए । मान्छे यति हिंस्रक, क्रुर र धोकेबाज हुने रहेछ । ग्लानीले मुख सुक्यो । पानी पिएँ । लगत्तै ४ बजेको रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलले (डोटेली खबर) हत्याको बिबरण दियो । साँझ घुम्न गए । बेचैनीले आनन्दहरु समाप्त भए । डेरामा फर्किएँ । मसंगै बसेको स्नेहि सहयोगी पत्रकार भूमिराज जोशीले भन्यो, सर हिजो रातीको हत्याको घटना थाहा पाउनु भयो ? मैले सुस्केरा छोड्दै भने ‘उहाँ त मेरै आफन्त काका काकी त हुन, जो मलाई असाध्यै माया गर्नु हुन्थ्यो, कुन बैरीले त्यस्तो ग¥यो होला ।’ मन नलागी नलागी खाना खाएँ । त्यसपछि भूमिराजले आफ्नो ल्याप्टपमा स्वर्गीय काकाकाकीलाई गरेको बिभत्स हत्या गरिएको तस्बिर देखायो । हतियारले थ्याच्च थ्याच्च गरी मारेका रहेछन । कहाँ गयो त्यति बेला भगवान पनि ? बसेको जमिननै धसिएको आभाष भयो । मैले मृतकद्वयमा हार्दिक श्रदान्जली अर्पण गरेँ । त्यो प्रेमिल जोडीको स्वर्गबास होस र मिलिरहोस् । चीर  शान्ति । हत्याराहरु र तिनीहरुका सहयोगी यो लोक यमलोकमा सधै तड्पिरहुन र भनिरहुन्, “ए मान्छेहरु हो ! मान्छेले मान्छे माथि गर्ने हत्या यस पृथ्वीमा कहिल्यै नदोहोरियोस् ।”
                                           तीर्थराज जोशी, डोटी बहुमुखी क्याम्पस, डोटी ।



No comments:

Post a Comment