Monday, July 17, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साउन ३ गते मंगलबार

हामी नेपालीहरुमा जुनसुकै क्षेत्रमा पनि काम गरेर देखाउन सक्ने अवस्था छ र सफल पनि हुन सकिन्छ । नयाँ प्रबिधि र नयाँ क्षेत्रहरुमा हामी जानैपर्छ । मुख्यतः हामीमा प्रतिवद्धता, लगनशिलता, आँट र साहस् चाहिन्छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

पुरुष भन्दा १४ हजार बढी महिला मतदाता


रामहरी ओझा/डोटी 
साउन २
असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा डोटीमा पुरुष भन्दा १४ हजार सात सय ६१ बढी महिलाहरुले मतदान गरेका छन । 
कुल एक लाख एक हजार १६ मतदाता रहेको डोटीमा ७१ हजार आठ सय ९८ जनाले मतदान गरेका छन । मतदान गर्नेहरुमा ४३ हजार दुई ९७ अर्थात ६०.२२ प्रतिशत महिला रहेका छन । मतदान गर्ने पुरुषहरुको संख्या २८ हजार पाँच सय ३६ अर्थात ३९.२२ प्रतिशत मात्रै रहेको जिल्ला निर्वाचन कार्यालय डोटीले जानकारी दिएको छ । 
निर्वाचनमा सबै भन्दा बढी जोरायल गाउँपालिकामा ७५.०३ प्रतिशत मतदान भएको छ । कुल ११ हजार एक सय ४५ मतदातामध्ये आठ हजार तीन सय ६२ जनाले मतदान गरेका छन । ६ वडा रहेको यस गाउँपालिकामा चार हजार ४७ पुरुष र चार हजार तीन सय १५ महिलाहरुले मतदान गरेका छन । 
यस्तै दिपायल सिलगढी नगरपालिकामा सबै भन्दा कम ६७.८१ प्रतिशत मात्रै मत खसेको छ । जिल्ला सदरमुकाम समेत रहेको यस नगरपालिकामा कुल १५ हजार एक सय पाँच मतदातामध्ये १० हजार दुई सय ४३ ले मात्रै मतदान गरेका छन । नौ वडा रहेको यस नगर–पालिकामा तीन हजार सात सय ९१ पुरुष र ६ हजार चार सय ७२ महिलाले मतदान गरेका छन । 
जिल्लाकै दुर्गम र सवैभन्दा सानो स्थानीय तह बडीकेदार गाउँपालिकामा ७२.५६ प्रतिशतले मतदान गरेका छन । सात हजार पाँच सय ९९ मात्रै मतदाता रहेको यस गाउँपालिकामा पाँच हजार पाँच सय १४ ले मतदान गरेका थिए । पाँच वडामा बिभाजित यस गाउँपालिकामा भने महिला भन्दा पुरुष मतदाताको संख्या बढी छ । दुई हजार सात सय ७६ पुरुष र दुई हजार सात सय ३८ महिलाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्याँकमा छ । डोटीका नौ स्थानीय तहमध्ये महिला भन्दा पुरुष बढीले मतदान गरेको यो स्थानीय तह मात्रै हो । 
यस्तै शिखर नगरपालिका– मा ६९.७४ ले मतदान गरेका छन । साबिकका नौ गाबिसहरु मिलाएर बनाईएको यस नगर–पालिकामा जिल्लाकै सबैभन्दा बढी १७ हजार एक सय १६ मतदाता रहेकामा एक हजार नौ सय ३७ ले मात्रै मतदान गरेका छन । वडा र भुगोलका हिसावले पनि जिल्लाकै ठुलो यस नगरपालिकामा चार हजार तीन सय ५० पुरुष र सात हजार चार सय ९९ महिलाले मतदान गरेका छन । यस नगरपालिकामा ११ वडा रहेका छन । 
बोगटान गाउँपालिकाका आठ हजार चार सय २८ मतदातामध्ये ६ हजार एक सय १५ अर्थात ७१.५६ प्रतिशतले मतदान गरेका छन । यस गाउँपालिकामा दुई हजार सात सय ८३ पुरुष र तीन हजार तीन सय ३२ महिलाले मतदान गरेका छन । यस्तै आदर्श गाउँपालिकामा ७०.५१ प्रतिशत मतदान भएको छ । यस गाउँपालिकामा कुल मतदाता ११ हजार चार सय १६ मध्ये आठ हजार ४९ ले मतदान गरेका छन । सात वडा रहेको यस गाउँपालिकामा मतदान गर्नेहरुमध्ये दुई हजार आठ सय २७ महिला र पाँच हजार दुई सय २२ पुरुष रहेका छन । 
एक छत्र नेपाली कांग्रेसले बिजयी प्राप्त गरेको के आई सिंह गाउँपालिकामा ७३.०३ मत खसेको छ । कुल १० हजार एक सय ७६ मतदाता रहेको यस गाउँपालिकामा दुई हजर ६ सय १० पुरुष र चार हजार आठ सय २५ महिलाले मतदान गरेका छन । ७ वडा रहेको यस गाउँपालिकामा ३७ वटै पदमा नेपाली कांग्रेस बिजयी भएको छ । यस्तै पूर्वीचौकी गाउँपालिकामा ७१.५१ प्रतिशत मत खसेको छ । ११ हजार एक सय तीन मतदातामध्ये दुई हजार आठ सय १८ पुरुष र पाँच हजार एक सय २५ पुरुष गरि सात हजार नौ सय ४० ले मतदान गरेका छन । यस गाउँपालिकामा सात वडा रहेका छन । 
सायल गाउँपालिकामा पनि महिला मतदाताहरुको संख्यानै बढी छ । ६ वडा रहेको यस गाउँपालिकामा दुई हजार पाँच सय ३४ पुरुष र तीन हजार सात सय ६९ पुरुष गरि ६ हजार तीन सय तीनले मतदान गरेका छन । आठ हजार नौ सय २८ मतदाता रहेकामा ७०.६० प्रतिशतले मतदान गरेका छन ।
पुरुषको तुलनामा महिला मतदाता बढी हुनुले पुरुषहरु कामको खोजीमा बाहिर जान्छन भन्ने देखाएको जिल्ला निर्वाचन कार्यालय डोटीका नासु दलवबहादुर मलासी बताउँछन । ‘केही व्यक्तिहरु मतदान गर्न भनेर भारतबाट समेत आए तर उनीहरुको मतदाता नामावलीमा नाम छैन’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै मलासीले भने ‘फोटो सहितको मतदाता नामावली संकलनकै क्रममा देश बाहिर     रहेका व्यक्तिहरुको नाम छुट्यो, त्यसैले उनीहरु मतदान गर्नबाट बञ्चित भए ।’

सम्पादकीय 

बजेट फ्रिजको सिलसिला

आर्थिक बर्ष सम्पन्न भएपछि प्रत्येक बर्ष बजेट फ्रिज भएको कुरा आउँदा धेरैलाई अप्ठेरो लाग्छ तर लागेर के गर्नु ? बर्षेनी करोडौं बजेट फ्रिज जाने तर जनताले सरकार भएको समेत अनुभुत गर्न नसक्ने अवस्था रहेको छ । यस्तै नियति यस बर्ष पनि भएको छ । डोटी जिल्लाको ६९ करोड बजेट फ्रिज भएको छ । जनताले तिरेको करबाट जम्मा भएको रकम जनताको सुबिधा र बिकासका लागि खर्च गर्न नसक्नु दुर्भाग्य हो । गत बर्ष पनि डोटीमा ८०.६३ प्रतिशत पुँजीगत तर्फको वजेट खर्च भएको थियो ।
अर्को दुर्भाग्य त १० दिनमै कुल बजेटको करीव १२ प्रतिशत खर्च हुनु हो । बर्षभरीमा जम्माजम्मी ८९ प्रतिशत मात्रै खर्च हुने जिल्लामा १० दिनमै १२ प्रतिशत बजेट खर्च हुनु पनि जिल्लाको दुर्भाग्य हो । असार २१ गतेदेखि ३१ गतेको बिचमा ६६ करोड बजेट निकासा भएको देखिन्छ । के यसरी बजेट खर्च गर्दा बैज्ञानिक हुन्छ र ? के वजेट साँच्चै जनतासम्म वा लक्षित समुदायसम्म पुग्छ त ? यस बिषयमा सम्वन्धित क्षेत्रले बहस चलाउनु पर्ने जरुरी छ । 
कतै कामै नगरी बिल भरपाई उठाएर रकम दिएको भन्ने कुरा आएका छन भने कतै गरेको काम पनि मुल्याँकन घटाएर रकम भुक्तानी गरेको भन्ने कुरा आएको छ । यसको अर्थ प्राबिधिकले जे गरेपनि हुने हो त ? योजना निर्माणस्थलमा गएर तपाईको ‘क्वान्टिटी’ पुगेको छ, भुक्तानी सवै पाउनु हुन्छ भनेर आउने प्राबिधिकहरु कार्यालयमा आएपछि कसरी कम मुल्याँकन गर्छन ? यसभित्रको रहस्य के हो ? स्थानीय बिकास अधिकारी समेत तिनै प्राबिधिकको पक्षबाट किन बोल्छन ? प्रश्नहरु धेरै जन्माईएका छन तर उत्तरदाता कोही छैन । 
पुँजीगत अनुदान भन्दा चालु अनुदान झण्डै दोव्वर हुने हाम्रो जस्तो जिल्लामा आएको पुँजीगत अनुदानमा पनि कामै नगरेर भुक्तानी गर्ने वा गरेको कामको पनि कम मुल्याँकन गरेर रकम फ्रिज गर्ने कुराले कसलाई फाईदा गरिरहेको छ त ? उहिले देखिनै उठ्दै आएको कुरा हो, प्राबिधिक फाँट नीजि क्षेत्रलाई दिईनु पर्छ भनेर । सरकारी संयन्त्र मातहतमा जहिलेसम्म प्राबिधिक फाँट रहन्छ तवसम्म उपभोक्तादेखि हाकिमसम्म सबैको मिलेमोतो भईरहन्छ । यो बिगतका बर्षहरुमा पनि देखिएको हो । जुन उपभोक्ता वा उपभोक्ता समितिले मिलेमोतो गर्न चाहदैन उसले गरेको कामको प्राबिधिक मुल्याँकन पनि त्यसै ढंगले आउँछ । 
राजनीतिक दलका नेताहरुले भनेको आधारमा मुल्याँकन हुन थाल्यो भने त्यो के सही मुल्याँकन हुन्छ त ? आयोजना स्थलमा नगई कार्यालयको टेवलमा बसेर बार्गेनिङ्गका आधारमा गरिएको मुल्याँकनले एक दुई जनतालाई त फाईदा गर्ला तर समग्रमा न त उपभोक्ताहरुलाई फाईदा हुन्छ न राष्ट्रलाई । दुई सय भत्ताका लागि सरकारी तेल पोलेर हुईकिने हाकिमहरुले पनि दुई सय भत्ता भन्दा आफ्नो शपथ र तलगलाई महत्व दिएर यस्ता क्रियाकलापहरु बेलैमा नियन्त्रण गर्न सकेको भए न सरकारी बजेट फ्रिज हुने थियो, न काम नगरी कसैले भुक्तानी पाउने थिए न त कसैले काम अनुसारको मुल्याँकन भएन भनेर आवाज उठाउने थिए । 
त्यसैले बर्षेनी बजेट फ्रिज हुने बिषयमा को कति दोषी छांै भन्ने कुराको समिक्षा हुनु जरुरी छ । जहिले पनि बजेट फ्रिज हुने तर भत्किएको कुलो मर्मत नहुँदा किसानको जमिन बाँझो रहने अवस्थाको अन्त्य गर्नु जरुरी छ । यसका लागि सवै पक्षहरुले आ–आफ्नो तर्फबाट जिम्मेवार भई दिनु जरुरी छ । 
बजेट कसैले कतैबाट दाईजो, दान वा बकस ल्याएको होईन, नेपाली जनताले पसिना बगाएर तिरेको करबाट जम्मा भए राष्ट्रको सम्पत्ति हो । यो सम्पत्ति अनाहकमा खर्च गर्नु पनि अपराध हो भने फ्रिज गर्नु पनि मुर्खता हो । त्यसैले आगामी बर्षहरुको बजेट फ्रिज नहुने गरि योजना बनाउनु जरुरी छ । यदि यसरी योजना बन्न सकेन भने फेरी पनि अवस्था उस्तै हुनेछ ।

थप समाचार 

१० दिनमा करीव ७० करोड निकासा

फेरी पनि ६६ करोड ४० लाख रकम फ्रिज भयो


आर्थिक वर्ष २०७३÷०७४ को अन्तिम १० दिनमा डोटी जिल्लामा ६९ करोड, ६६ लाख ३९ हजार दुई सय ६५ रुपैयाँ खर्च भएको छ । जिल्लामा फेरी पनि ६६ करोड ४० लाख ८९ हजार सात सय ३० रुपैयाँ फ्रिज भएको छ । 
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले गत असार २१ गते दिएको जानकारी अनुसार सो दिनसम्मको पुजिँगत तर्फ जम्मा ५५ प्रतिशत मात्रै रकम खर्च भएकोमा असार मसान्तसम्म ७८.७९ प्रतिशत खर्च भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रक ईश्वर कुमार श्रेष्ठका अनुसार गत आवमा जिल्लाका लागि चालुतर्फ चार अर्व, २३  करोड, ८३ लाख, ४८ हजार, पाँच सय ४३ र पुँजीगततर्फ एक अर्व ८२ करोड, ६४ लाख, २५ हजार आठ सय ८८ गरि ६ अर्व ६ करोड, ४७ लाख, ७४ हजार, चार सय ३२ रुपैयाँ बजेट बिनियोजन भएको थियो । सोमध्ये चालुतर्फ तीन अर्व, ९६ करोड, १६ लाख, सात हजार, तीन सय १० र पँजीगततर्फ एक अर्व, ४३ करोड, ९० लाख, ७७ हजार, तीन सय ८४ गरि पाँच अर्व ४० करोड, ६ लाख, ८४ हजार ६ सय ९५ रुपैयाँ खर्च भएको छ । 
असार २१ गतेसम्मको  तथ्याँक अनुसार पुँजीगततर्फ ६९ करोड ७१ लाख रुपैयाँ बजेट खर्च हुन बाँकी थियो । तर, १० दिनमै पुँजीगततर्फको रकम ३० करोड, ९७ लाख, ७५ हजार, चार सय ९७ खर्च भएको छ । यस्तै सो अवधीमा चालुतर्फ ६६ करोड ३६ लाख पाँच हजार रुपैयाँ खर्च हुन बाँकी देखिएको थियो भने १० दिनमा ३८ करोड, ६८ लाख, ६३ हजार, सात सय ६८ खर्च भएको छ । अव चालु तर्फ २७ करोड, ६७ लाख, ४१ हजार दुई सय ३२ र पुँजीगततर्फ ३८ करोड, ७३ लाख, ४८ हजार, पाँच सय तीन  रकम फ्रिज भएको छ । 
कोलेनिकाको कार्यालयले दिएको जानकारी चालु तर्फ ६.५३ र पुँजीगततर्फ २१.२१ प्रतिशत फ्रिज भएको भएको छ । कुल बजेटको ८९ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ । 
आर्थिक बर्ष २०७२÷०७३ मा डोटी जिल्लामा कुल वजेटको ९० प्रतिशत खर्च भएको थियो । 
यस वर्ष डोटीमा ११ करोड, ३७ लाख, ८९ हजार तीन सय ९१ रुपैयाँ राजश्व संकलन भएको कोलेनिकाले जानकारी दिएको छ ।

पर्यटन पूर्बाधारहरु तयार गर्नु पर्ने माग


डोटी जिल्लाको पर्यटन क्षेत्रको बिकासका लागि आवश्यक पूर्बाधार तयार गर्नु पर्ने मागसरोकारवालाहरुले गरेका छन । 
दिपायल सिलगढी नगरपालिकाको आयोजना र होटल व्यवसायी संघ डोटीको सह आयोजनामा भएको पर्यटन प्रवद्र्धनात्मक बसहमा सहभागि  सरोकारवालाहरुले सो माग गरेका हुन । ‘पर्यटकहरुलाई आकर्षित गर्नका लागि मनोरञ्जन स्थलहरु, खेल मैदानहरु पनि आबश्यक पर्छन’ डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने ‘डोटीको पर्यटन प्रबद्र्धनका लागि सेती नदीमा नियमित रुपमा ¥याप्टिङ्ग सञ्चालन हुने व्यवस्थ मिलाईनु पर्छ ।’ खप्तड पर्यटन क्षेत्रमा बा¥है महिना पर्यटकहरु आकर्षित गर्नका लागि सडक, बिश्राम गृह, बाटोमा होटेलहरु र खानेपानीको उचित व्यवस्था गर्नु पर्ने खड्काको भनाई थियो । उनले भने ‘पर्यटन क्षेत्रको बिकासका लागि ठोस योजना निर्माण गरौं, हामी नीजि क्षेत्रबाट गर्न सक्ने सहयोग गर्न तयार  छौं ।’
होटल व्यबसायी संघका अध्यक्ष दिपक खड्काले नगर–पालिकाभित्र रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रहरुको पहिचान गरि तिनीहरुको बिकास र संरक्षणको बिषयमा ठोस योजना बनाईनु पर्ने बताए । ‘पर्यटकीय क्षेत्रको बिकासका लागि ठोस योजना नै बन्न सकेको छैन’ खड्काले भने ‘अहिलेसम्म बिना ठोस योजना काम भईरहेको अवस्था छ ।’ 
स्थानीय समाजसेवी बिष्णु माझीले नगर क्षेत्रभित्र रहेका धार्मिक स्थलहरुको महत्व दर्साउने गरि प्रचार प्रसार गर्न सक्नु पर्ने बताए । 
नगरभित्रका पर्यटकीय क्षेत्रहरुको बिकासका लागि ठोस योजना बनाउने आधारका रुपमा यो बहस आयोजना गरिएको दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत तुलक्षीप्रसाद आचार्यले जानकारी दिए । यो बहसबाट आएका कुराहरुलाई समावेश गरि नगरसभामा प्रतिवेशन पेश गरिने समेत आचार्यले बताए । 
नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेशचन्द्र जोशीले सहजीकरण गरेको कार्यक्रममा पर्यटनसंग सरोकार राख्ने निकायहरु, स्थानीय व्यापारी, उद्योगी र सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो । 

कर प्रणालीका लागि सचेतिकरण अभियान

सम बिकास केन्द्र डोटीले न्यायपूर्ण कर प्रणालीको लागि सचेतिकरण अभियान सञ्चालन गर्ने भएको छ । 
सार्वजनिक सेवालाई पारदर्शी र जवाफदेही बनाउन करको वारेमा आम नागरिकमा साझा बुझाई बनाउन उक्त अभियान सञ्चालन गरिन लागेको सो संस्थाले जनाएको छ । 
एक्सन एड नेपालसंगको साझेदारीमा सञ्चालित प्रगतिशिल स्थानीय श्रोत परिचालनद्धारा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत संस्थाद्वारा  जिल्लाका मुडभारा, मुडेगाउँ, कफल्लेकी, भूमिराजमाण्डौं र दिपायल सिलगढी नगरपालिकामा न्यायोचित कर प्रणाली बिषयमा सचेतिकरण अभियान सञ्चालन गरिने भएको छ । 
सार्वजनिक निकायलाई जवाफदेही बनाउदै उनीहरुले प्रदान गर्ने सेवा सुबिधालाई गुणस्तरीय बनाउन कर शक्तिको बारेमा सचेतिकरण गर्न सार्वजनिक शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन शिक्षामा लगानी बढाउन आबश्यक रहेको संस्थाका कार्यक्रम संयोजक  अधिराज बिसिले वताए । उनले भने ‘त्यसका लागि स्थाीय श्रोतमा अभिबृद्धि गर्नु पर्दछ र राज्यको कोषमा बृद्धि भएमा आधारभूत आबश्यकताहरु परिपूर्ति गर्न सहयोग पु¥याउछ ।’
कर शक्ति अभियान सञ्चालन गर्न अभियन्ताहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको समेत बिसीले जानकारी दिए । सो तालिममा परियोजना क्षेत्रका युवा सञ्जाल र शिक्षा सरोकार समुहबाट ३० जनाको सहभागिता रहेको थियो ।

सूचनाको हकको ग्यारेण्टी गरिने

सूचनाको हक सम्वन्धी ऐन, २०६४ ले गरेको व्यवस्था अनुसार जनताको सूचना पाउने हक सुनिश्चित गर्ने डोटीका जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन । 
नेपाल पत्रकार महासंघ डोटी शाखाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु शनिवार आयोजना गरेको “सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन” सम्वन्धि अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले सो कुरा व्यक्त गरेका हुन । 
नव निर्वाचित जनप्रतिनिधिहरु र डोटीमा भरखरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई स्वागत गर्ने र जनप्रतिनिधिहरुलाई सूचनाको हक सम्वन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा उपस्थित दिपायल सिलगढी  नगरपालिकाका मेयर मञ्जु मलासीले सूचनाको हकलाई व्यवस्थित गर्नका लागि आफुहरु सक्रिय रुपमा लाग्ने बताईन । 
यस्तै शिखर नगरपालिकाका मेयर सिताराम जोशीले नागरिकले सूचना पाउने अधिकारको पूर्ण रुपमा सम्मान गरिने बताए । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जोरायल गाउँपालिकामा सञ्चारका माध्यमहरुले खासै काम नगरिरहेको बताउँदै जनताको सूचनाको हकलाई सुनिश्चित गर्न तत्काल व्यवस्था मिलाउने   बताए । 
यस्तै पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जनताले सूचना पाउने अधिकारको सुनिश्चित गर्नका लागि त्रैमासिक रुपमा सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आफु बिगतमा कुनै सार्वजनिक निकायमा रहेर सूचना अधिकारीको भुमिका निर्वाह गरिसकेको बताउँदै भने ‘मैले सूचनाको महत्व बुझेको छु, त्यसकारण जनताले सूचना सहजै पाउने व्यवस्था मिलाउने छु ।’
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खड्काले जुन सार्वजनिक निकायले सूचना लुकाउछ त्यो निकायमा अनियमितता हुन्छ भन्ने बुझ्नु पर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीको हैसियतले सूचनाको हक स्थापित गर्ने क्रममा म पूर्ण रुपमा लाग्ने बताए ।

कामै नगरी पाँच लाख भुक्तानी


‘सातफरी गाउँ बिकास समितिको २०७३ साल पुषमा सम्पन्न गाउँ परिषद्बाट दलित समुदाय लक्षित कार्यक्रम अन्तर–गत दलित सामुदायिक भवन बनाउनका लागि दुई लाख रुपैयाँ बिनियोजन भएको थियो । त्यो रकम कामै नगरि निकासा दिईएको छ । हालका वडा सचिवको मिलेमोतोमा उपभोक्ता समिति समेत जिल्ला सदरमुकाममा गठन भएको छ । यस्तालाई कस्तो   कारवाही हुन्छ स्थानीय बिकास अधिकारी ज्यू ?’ 
जिल्ला बिकास समिति डोटीले शुक्रवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि डोटी बोगटान गाउँपालिका–४  (साबिकको सातफरी गाबिस) का बिरबहादुर ताम्राकारले प्रश्न गरे । उनले थपे ‘दलित लक्षित रकम मात्रै होईन, खेलकुद्को बिकासका लागि छुट्याईएको ५० हजार र अपाङ्गता क्षेत्रका लागि छुट्याईएको ४० हजार पनि कुनै काम नगरि भुक्तानी दिईएको  छ ।’ 
जवाफमा स्थानीय बिकास अधिकारी कृष्ण गौतमले भने ‘हामी कहाँ त्यस्तो खवर कसैले गरेका छैनन् तर त्यस्तो खवर आएछ भने कारवाही गर्छौं ।’ सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नकर्ताहरुलाई घुमाउरो जवाफ दिँदै गरेका स्थानीय बिकास अधिकारी गौतम पहिले त प्रश्नकर्ता ताम्राकारमाथीनै जङ्गिए । ‘दिपायलमा उपभोक्ता समिति गठन हुनै सक्दैन, तपाई उपभोक्ता समिति गठन गर्दा सहभागि हुनु भएन होला अहिले त्यस्सै आरोप लगाउनु हुन्छ ?’ गौतमको यो भनाईमा पूर्ण असहमति जनाउँदै ताम्राकारले आफुसंग प्रमाण भएको बताएपछि गौतम ‘यदि बिना काम भुक्तानी दिएको पाईयो भने त्यस्ता व्यक्तिहरुलाई आवश्यक कारवाही हुन्छ’ भन्न बाध्य भए । उनले भने ‘प्रमाण सहित लिखित रुपमा उजुरी दिनुहोस्, कारवाही हुन्छ ।’ 
उक्त रकम संगसंगै बालबालिकाहरुका लागि छुट्याईएको करीव एक लाख ५० हजार पनि कुनै काम नगरि स्थानीय जोराघाट माबिको खातामा हालेको स्थानीयले आरोप लगाएका छन । केही टाढाबाठाहरुको दवावमा आएर वडा सचिवले उक्त रकम भुक्तानी गरेको एक स्थानीयले वताए । उनले भने ‘एउटै व्यक्तिको नाममा एकै मितिमा जम्मा पाँच लाख रुपैयाँ बराबरका तीन चेक काटिएका छन, त्यो रकम कसरी खर्च भयो बिल भरपाई केही पनि छैन ।’ 
कामै नगरि करीव पाँच लाख रकम भुक्तानी भएको कुरा स्वीकार गर्छन वडा कार्यालयका प्राबिधिक छबिलाल बिनाडी । ‘यि शिर्षकहरुको रकम भुक्तानी भएको देखिएको छ, ति योजनाहरुको न मैले ईस्टिमेट बनाएको छु, न मलाई कसैले अनुगमनका लागि भनेका छन, त मैले प्राबिधिक मुल्याँकन गरेको छु’ प्राबिधिक बिनाडीले भने ‘यस बिषयमा वडा सचिवलाई सोध्दा थाह होला, मलाई थाह छैन ।’
यस बिषयमा वडा सचिव यामबहादुर थापासंग बुझ्न खोज्दा उनीसंग सम्पर्क हुन   सकेन । 
आर्थिक वर्ष २०७३/०७४ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले प्राबिधिकहरुले योजनामा कमिसन माग्ने गरेको, जिल्ला समन्वय समितिले कामको आधारमा नभई नेताहरुको भनसुनको आधारमा भुक्तानी दिने गरेको, एउटै योजना फच्र्युट गर्न सात/आठ दिन बिताउनु परेको, प्राबिधिकहरुले गरेको कामको समेत सही मुल्याँकन नगरिदिएको आरोप लगाएका थिए । 
सार्वजनिकु सुनुवाईको नेपाल पत्रकार महासंघ डोटीले सहजीकरण गरेको थियो । 
यस्तै शुक्रबारै दिपायल सिलगढी नगरपालिकाले समेत सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । 

छोटकरी समाचार 

निशुल्क बिरुवा बितरण हुँदै

जिल्ला बन कार्यालय डोटीले निशुल्क रुपमा बिरुवाहरु बितरण गरिरहेको छ । जिल्लाका केही ठाउँहरुमा बितरण गर्दै आएको जिल्ला बन कार्यालय कबुलियति बन कार्यक्रमका सुपरभाइजर निर्मला खत्रीले बताइन ।
भूमिराजमाण्डौं, खातीवडा, बगलेक, दिसिनपा, गोपघाट, जोरायल, लानाकेदारश्वार, दुर्गामाण्डौं, सानागाउँ इलाकाका बिभिन्न कबुलियति बन समूहहरुमा बृक्षारोपण गरिदै आएकोे सहायक रेन्जर नरेश धामीले बताए । 
कबुलियति बन, सामुदायिक बन र नीजि जमिनमा गरि करीव १५ हजार भन्दा बढी बिरुवाहरु रोपण गरिसकेको छ । 
रिठा, कोइराल, किम्बु, टिक, इफिलिपिल, बकाइनो लहरे पीपल लगायतका बिरुवाहरु गत हप्ता दिनदेखि निशुल्क बितरण गर्दै आएको सुपरभाइजर निर्मला खत्रीले बताइन । उनले भनिन, ‘जलबायु परिवर्तन न्यूनिकरण गर्नका लागि हरियाली पर्बधनका गर्नु आवश्यक भएकोले बृक्षारोपण गर्ने उद्देश्य रहेको  छ ।’ साथै गरिबीको रेखा मुनी रहेका किसानको जीबिकोपार्जन सुधार गर्नका लागि पनि  बृक्षारोपण गर्दै आएको उनले बताइन ।
किसानहरुलाई बिभिन्न जडिबुटीहरु बेचबिखन गरेर पनि आयआर्जन उकास्न सकिन्छ । त्यसैले निजी जमिनमा रोप्नका लागि पनि बिरुवाहरु बितरण गरेको सुपरभाइजर निर्मला खत्रीले बताइन ।

खेल समाचार 

यू–१९ विश्वकप छनौटः नेपालको विजयी सुरुवात


यू–१९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले घरेलु टोली        सिंगापुरलाई चार विकेटले हराएको हो ।
७४ रनको झिनो लक्ष्य पछ्याएको नेपाललाई जितका लागि भने संघर्ष    गर्नुपर्याे । १७ ओभर २ बल खेलेर ७७ रन बनाउँदा नेपालले ६ विकेट गुमाउन पुग्यो । आठौं नम्बरका ब्याट्सम्यान पवन सर्राफले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।
ओपनर सन्दिप सुनार र आसिफ शेख क्रमसः १ र ४ रनमै आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन पुग्यो । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका लागि अनिल साहले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी र प्रकाश केसीले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन, उनीहरुले क्रमसः २ र ६ रन बनाएका थिए ।
रोहित कुमार पौडेलले अविजित ११ रन बनाए । नेपालले ७ अतिरिक्त रन पाएको थियो । यसअघि सिंगापुर क्रिकेट क्लब, पादाङमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुवात राम्रो हुन सकेन । किशोर महतोले नेपाललाई पहिलो सफलता दिलाए, जतिबेला उसको स्कोर मात्र ४ रन थियो ।
नेपाल बलरहरुका सामू सिंगापुरका ब्याट्सम्यान निकै दबावमा रहे । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए । त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए तर, आठौं नम्बरमा ब्याटिङका लागि आएका ब्रिगु आयरले आक्रामक पारी खेले । उनले आठौं विकेटका लागि बीबी विक्रमसँग २४ रनको साझेदारी गरे भने दशौं विकेटका लागि अंशत भार्गवसँग १९ रनको साझेदारी गर्दै टिमको स्कोर ७३ रन बनाए ।
दशौं विकेटका रुपमा आउट भएका ब्रिगुले ३९ बलमा ६ चौका र एक छक्काको मदतमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए । नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए ।
नेपाली टिममा ३ खेलाडी परिवर्तन,
नेपालले एएफसी युथ-२३ छनोट अन्तर्गत सोमबार उज्वेकिस्तानविरुद्ध हुने दोस्रो खेलमा ‘प्लेइङ इलेभेन’ मा पुजन उपरकोटी, कमल श्रेष्ठ र विश्वास श्रेष्ठलाई उतार्ने भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो खेलमा यी तीन जनै खेलाडीले बेञ्चबाट खेलको सुरुवात गरेका थिए । डिफेन्सिभ मिडफिल्डर पुजनलाई ४३ मिनेटमा हेमन गुरुङको स्थानमा मैदानमा उतारिएको थियो । उनी युथ टोलीमा पहिलो पल्ट समावेश भएका खेलाडी हुन् ।
अर्का खेलाडी कमल श्रेष्ठले ४९ मिनेटमा अमित तामाङलाई परिवर्तन गरेका थिए । यस्तै, ६८ मिनेटमा विश्वास श्रेष्ठले हेमन्त थापामगरलाई परिवर्तन गरेका थिए । यी तीन खेलाडी मैदानमा प्रवेश गरेपछि अन्तिम ३० मिनेटको खेलमा नेपालले आफूभन्दा निकै बलियो युएईलाई गोल गर्नबाट रोकेको थियो । सोमबारको खेलमा अमित तामाङ, हेमन्त थापामगर र सुनिल वललाई प्लेइङ सेटबाट बाहिर राखिएको छ ।
नेपाल आज ४.४.२ को परम्परागत खेलमा उत्रिँदैछ । युएईविरुद्ध प्रशिक्षक राजुकाजी शाक्यले ४.५.१ फर्मेशनमा खेलाडी मैदानमा उतारेका थिए । सुरुमा यही फर्मेशनलाई लागु गर्ने सम्भावना थियो । तर, आज नेपालको खेल निकै महत्वपूर्ण भएको हुनाले प्रशिक्षक शाक्यले डिफेन्सिभ रणनीतिलाई जोड दिएका छन् ।

चलचित्र/मनोरञ्जन 

सदिक्षाको ‘छोटो छोटो’ सार्वजनिक


गायिका तथा गीतकार सदिक्षा सेजुवालको ‘छोटो छोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो ।
‘छोटो छोटो’ गीतमा शंकर थापाको संगीत, सदिक्षा सेजुवालको शब्द तथा स्वर छ । यो भिडियोलाइ विकास सुवेदीले निर्देशन गरेका हुन् ।
भिडियोमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री र नेपाली ठिटोज ग्रुपका सदस्यहरुको अभिनय छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।
चितवनमा ‘संरक्षण’को प्रिमियर हुने
चितवनमा चलचित्र ‘संरक्षण’को रेड कार्पेट प्रिमियर हुने भएको छ । लक्की मिडिया हाउसले साउन २५ गते यो चलचित्रको प्रिमियर गर्न लागेको हो । साउन २७ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ । क्यूएफ एक्स जलमा हलमा चलचित्रको प्रिमियर गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपालमा समसामयिक राजनीतिक गतिविधीमा तयार पारिएको यो चलचित्र लाई लिएर दर्शकमा उत्साह थपिएको छ । मधेसको मुद्दालाई यो चलचित्रले उठान    गरेको छ । चलचित्रमा सौगात मल्ल, निखिल उप्रेती, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतका कलाकारको मुख्य भूमिका छ । रेड कार्पेटमा चलचित्र क्षेत्रका कलाकर्मीलाई निम्तो गरिने लक्की मिडिया हाउसले बताएको छ ।
कार्यक्रममा राष्टिय स्तरका कलाकार  लाई सम्मान पनि गरिनेछ । पुर्णेन्दु झाको निर्देशनमा तयार भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत छ । प्रदिप कुमार उदय, नरेन्द्र महर्जन र श्वेता शाहले मिलेर यो चलचित्र निर्माण गरेका  हुन् ।

लेख 

पत्रकारितामा नैतिक संकट ः ‘पीत’ पत्रकारिता बढ्दो


भूमिराज जोशी
स्थानीय तहको निर्वाचन भईरहँदा बढीजसो सञ्चारकर्मीहरुलाई नेताको भन्दा बढी चुनाब लागे जस्तो देखिन्छ । सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु रङ्ग्याउनेहरु मध्ये सबै भन्दा बढी पत्रकार नै पर्छन होला । आफ्नो पेशाका आचारसंहितालाई बिर्सेर पार्टी (दल) मुखी भएका पत्रकारहरुले के आम जनताका आवाजहरुलाई प्रस्फुटन गर्लान त ? भन्ने बिषयमा सर्बसाधारणहरुले प्रश्न उठाउने गरेका छन ।
पछिल्लो समयमा अत्याधिक मात्रामा बढीजसो पत्रकारहरु सामाजिक सञ्जाल फेसबुक तथा टुइटरमा आ–आफूले बिचार बोकेका पार्टीहरुको ब्यापक प्रचार र खण्डन गर्नमा जुटेका छन । कुन पत्रकार कुन पार्टीसंग आबद्ध रहेर कलम चलाइरहेको छ भन्ने कुरा स्पष्ट बुझिन्छ । बिचार बोकेका पार्टीहरुकै कारणले पत्रकारहरु बीचमा नै दोहोरी चलिरहन्छ ।
आफ्नो पेशाको धर्मलाई भुल्दै स्वार्थको पछाडी लागेर बद्नामित बन्दै र पेशालाई पनि बद्नामित गर्दै आएका छन । कुनै संघसंस्थाका कार्यक्रमहरु आएको बेला स्थानीय स्तरमा पत्रपत्रिकाहरु दर्ता गर्ने । चुनाबको बेला पार्टीमुखी पत्रिकाहरु दर्ता गर्ने लगायतका समस्याले स्वच्छ पत्रकारिता गर्ने पत्रकारलाई मार खेपाइरहेका छन । सर्बसाधारणहरुले पनि पश्न खडा गर्नु स्वभाबिक हो ।
एउटै पत्रकार ब्यापारी, एनजिओ÷आइएनजिओकर्मी, सरकारी वा अर्ध सरकारी निकायको प्रतिनिधि, शिक्षक लगायत पेशामा आबद्ध भएको हुन्छ । यति मात्र होइन की कुनै दलको प्रबक्ता समेत भएको हुन्छ । अनि त्यो कसरी स्वतन्त्र पत्रकार हुनसक्छ । पत्रकारहरु दिनप्रतिदिन कुटिँदै छन । त्यो पनि बहुपेशा र पार्टीमुखी भएकै कारण हो ।
पत्रकारको परिचय पत्र बोकेर परिचय पत्रको पनि दुरुपयोग गर्दै बिभिन्न बिकृति बिसंगति जस्ता कार्यमा पनि संलग्न हुने, लागुपदार्थहरु पनि सेबन गरेर पत्रकारि–ता क्षेत्र नै हिलाम्य बनाउँदा नैतिक संकट देखिदै आएको छ । कहिल्यै पत्रकार भएर सार्वजनिक कार्यक्रममा बोल्छ, कहिल्यै वकिल भएर बारको चुनाबमा पनि सहभागी हुन्छ, कहिल्यै राजनीतिदलको चुनाबमा उठ्छ, कहिल्यै आन्दोलनकारीसंग नै मिलेर तोडफोड जस्ता कार्यमा संलग्न हुन्छ, तर, उसले कहिल्यै पनि समाचार लेख्दैन । पत्रकारिताका भाषण दिन कहिल्यै पछि पर्दैन । आफ्नो परिचय दिन्छ, म फलानो पत्रकार । 
ति नै पत्रकारहरु बर्षांै अगाडीदेखि बन्द भएका मिडियाहरुको नाम उल्लेख गर्दै पुराना ग्राहकहरुसंग बार्षिक, बिज्ञापन, शुभकामना, क्यालेन्डर छापेर पैसा असुल गर्नेमा पनि कम छैनन् । फेरी पाठकले बन्द भएको मिडियाको पैसा दिदैन भनेपनि धाकधम्की देखाएर ‘हुन्छ’ भन्ने बाध्य पार्छन । यसले गर्दा पत्रकारिता पेशालाई आम जनताले कमजोरको दृष्टिले हेर्दै गएका छन ।
कुनै नयाँ मान्छेसंग परिचय गर्दा आफू क्रियाशिल पत्रकार भएको भन्न पनि पछि पर्दैनन, जो समाचारको ‘स’ पनि नलेख्नेहरु । अनि त्यस्ता पत्रकारले कसरी आवाज बिहीनको आवाज बाहिर निकाल्न सक्छ ? कसरी दुखी पीडितहरुको घाउमा मलमपट्टी लगाउनमा सहयोग गर्छ ? पत्रकारितामा यस्ता बिकृतिलाई सुधार्न सकिएन भने, हाम्रो पत्रकारिताको अबको बाटो झनै चुनौतीपूर्ण हुन्छ ।
पत्रकारिता आफैंमा बौद्धिक पेशा हो । समसामयिक कुराको ज्ञान अपडेट राख्ने पेशा हो तर आज पत्रकारिता भन्नासाथ नाक खुम्च्याइनुपर्ने अवस्था समाजमा सृजना भएको छ । सामाजिक सञ्जालमा आ–आफैंमा पार्टीमुखी दोहोरी । केही पत्रकारहरु त यस्ता पनि छन की पार्टीका भेष्ट टोपी लगाएर प्रचारमा जाने । फर्केपछि तिललाई पहाड बनाए झैं समाचार बनाएर लेख्ने । बिपक्षीहरुलाई खण्डन मात्र गर्ने । यस्तो बिकृति सृजना भएको पनि पत्रकारिताको धर्म नबुझेकाहरु प्रबेश भएकै कारण सृजना भएको हो ।
पत्रकार बन्नका लागि न्युनतम योग्यता तोक्ने तथा योग्यता परीक्षा लिनुपर्ने आवश्यकताको अनुभूति पनि यस्तै प्रबृतिबाट भएको हो । सानो स्वार्थका लागि कसैलाई धुरी चढाइदिने वा सानो रिसिबीका कारण कसैको हुर्मतै लिने असंयम अभ्यासका कारण पत्रकारिताको गरिमामा आँच आइरेको छ ।
२०४७ साल यता राजनीतिक दलको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाले निष्पक्ष समाचार संप्रेषण गर्नुको सट्टा आफू पक्षधर पार्टीको बिचार प्रबाह गर्ने र वास्तबिकतालाई ढाकछोप गर्ने प्रबृति पनि पर्याप्त छ । नेपालका कतिपय मिडियाहरुले आफ्नो पक्षको समाचार बाहेक अरु प्रकाशन गर्न खासै मनाई गर्छन । 
राजधानीबाट प्रकाशन हुने पत्रपत्रिका, अनलाईन तथा टेलिभिजनहरुमा पनि जिल्लाबाट संवाददाताहरुले पठाएको समसामयिक समाचार प्रशारण तथा प्रकाशित हुने तर देशकै केन्द्रीय नेताहरुका समाचारहरु पठाएमा आफ्ना पार्टीका छन भने प्रकाशित हुने र अर्को पक्षका छन भने स्थान नै नदिने देशकै ठूला सञ्चार माध्यमहरुले नै गर्ने गरेका छन ।
बिज्ञापनको लागि तथा आफू र आफ्नो सञ्चारमाध्यम क्षणिक रुपमा भएपनि चर्चामा ल्याउनका लागि पछिल्लो समयमा पीत पत्रकारिता बढ्न थालेको छ । पीत पत्रकारिता भनेको टिकाउ भन्दा बिकाउ भन्ने बुझिन्छ । जसरी आफ्ना प्रकाशन भएका सामाग्रीहरु बिकाउने उद्देश्यबाट प्रेरित भई लेखिने समाचार । तथ्य कम कथ्य बढी । पाठकका आँखालाई आकर्षित गर्ने गरि रचिएका शीर्षक । सस्ता तस्बिरको प्रयोग । आकर्षित पार्ने खालका ठूला अक्षर, उत्तेजक प्रस्तुती, समाचारमा परिचय नखुल्ने अज्ञात श्रोत र सत्य तथ्य सामाग्री भन्दा आँखा लोभ्याउने साज सज्जामा जोड र तिललाई पहाड बनाए झैं बढाइचढाई गराउनुलाई नै पीत पत्रकारिता भन्ने गरिन्छ ।
समाचार बटुल्नका लागि (प्राथमिक श्रोत) गहिराईमा नपुगी (द्धितीय श्रोत) सतहबाट बटुलिएका समाचार संप्रेषण गर्ने बिबादित बिषयमा गरिएको एकतर्फी रुपमा पक्ष पोषण गर्ने बिज्ञापन नपाएको भरमा बिरुद्धमा समाचारहरु लेखेर प्रतिशोध साँध्नु नै पीत पत्रकारिता हो । पछिल्लो समयमा प्रतिशोध साँध्ने र असुली गर्ने  पत्रकारहरुको नै बिगबिगी छ ।
पत्रकारिता पेशामा अर्को चुनौती भनेको गैर   पत्रकारलाई सदस्यता बितरण गर्नु हो । १० बर्षे  पत्रकारिताको नक्कली अनुभब बनाएर एउटाको नाममा दर्ता गर्ने र अर्कैले चलाउने परम्परा बढ्दो छ । यसरी पत्रकारिता पेशामा छिरेकाहरुले नै पेशालाई धमिलो बनाइरहेका छन । जिल्लामा अनुहार नै नदेखिएका, बर्षौं पहिलेदेखि नै पत्रकारितालाई लात हानेका, समाचार कहिल्यै नलेख्नेहरु, बिभिन्न पेशालाई अँगालेका तथा सरकारी सेवामा पनि आबद्ध भएका, अग्रज पत्रकार भन्दै समाचार नलेखे पनि सम्मान गर्ने प्रबृतिले गैर पत्रकारहरु मौलाएका पनि हुन । 
पत्रकार महासंघको नयाँ तथा नबिकरण गर्ने फाराममा नै उल्लेख गरेको हुन्छ कि ‘गैर पत्रकारलाई सदस्यता नदिऔं’ भनेर । तर पत्रकार महासंघका शाखाहरुमा आफ्नो प्यानललाई बिजयी गराउनका लागि अरुले लेखेको समाचारमा नाम राखेर भएपनि गैर पत्रकारहरुलाई कार्यसमितिमा भित्र्याउने प्रबृति नै बसिसक्यो । एकले आफ्नो पक्षमा बहुमत ल्याउनका लागि पचास जनालाई सदस्यता दिन्छ भने अर्को पक्षले सय जनालाई । यसरी सदस्यता बितरण गर्नमा पनि प्रतिस्पर्धा गरिन्छ । लेख्ने भन्दा पनि लेखाउनेहरुको संख्या ठूलो हुन्छ । 
पत्रकार महासंघको कार्यसमितिमा आबद्ध भएकै बेला पनि कुनै पार्टीको नेतृत्व गर्दै उम्मेदवार बन्ने, प्रचार प्रसारमै हिड्ने, पत्रकारिता बाहेकका अन्य पेशामा आबद्ध हुने, समाचार नलेखेरै कार्यकाल बिताउने पत्रकारहरु पचास प्रतिशत भन्दा कम छैनन् । 
समाजमा पत्रकारिता भनेकै कमजोरको हतियार हो भन्ने बुझाइ भइसकेको छ । आवाज बिहीनहरुको आवाज झनै बिहिन हुन्छ भन्ने बुझाई भइसक्यो । पत्रकारिता पेशा देश र समाजप्रति उत्तरदायी हुनुको साटो ब्यक्तिगत स्वार्थमा उत्तरदायी बढी भएको पाइन्छ ।
पत्रकारिता भनेकै मर्यादित समाजप्रति बफादार भएकै कारण समाजले पनि सत्य सूचना, स्वस्थ आलोचनाको अपेक्षा गरेको हुन्छ । तर कतिपय हाम्रा सम्पादकहरु यस्ता पनि छन की आफ्नो पेशाको दायित्व नै थाहा हुदैन । जे छाप्यो त्यहि समाचार भन्ने हामीमा भ्रम छ । 
हाम्रो समाचार परपीडक हुनुहुदैन । पीडा माथि पीडा थप्नु हुनु हुदैन । भन्ने बिभिन्न पत्रकार आचार–संहिता २०६० र ०६४ संसोधित सहितमा उल्लेख गरेका उपदफाहरु ६० प्रतिशत पनि सही कार्यान्वयन भएका छैनन् ।
पत्रकारिता पेशा एउटा आफैंमा प्रतिष्ठित र मर्यादित पेशा भएरै राज्यले पनि  चौथो अङ्ग घोषणा गरेको छ । पत्रकार भनेको समाजमा ऐना हो, ऐनाले जस्तो बस्तु छ, त्यस्तै देखाउछ । ऐनासँग कुनै स्वार्थ हुदैन । संसारमा कुनै वस्तुसँग सधै सत्यता छ भने, त्यो सत्यता ऐनासँग छ । ऐना र पत्रकार भनेका एउटै रथका दुई पांग्रा हुन भन्ने कुरा वास्तबिक हो । तर ऐनालाई पत्रकारले सम्झनै    मान्दैन । 
राज्य तथा समाजलाई सही ढंगले संचालन गर्नको लागि सहायक प्रमुख  को रुपमा पत्रकार हुन्छ । त्यसैले पत्रकारले आफ्नो आँखा अगाडी जे देख्छ, सधै त्यही लेख्छ । पत्रकारले ऐनाका रुपमा काम गर्दछ । यस्तो काम गर्नु भनेको पत्रकारको नैतिकतामा पर्छ ।
कतिपय देशहरुमा राष्ट्र–लाई सही ढंगले सञ्चालन गर्नका लागि कार्यकारीले आफ्नो निमित्त भनेर राख्छन त कतिपयले प्रेस सल्लाहकार राख्ने गर्दछन । संसारमा कसैको विश्वास छ भने, त्यो पत्रकारसँग विश्वास हुन्छ । त्यहि विश्वासले गर्दा आज पत्रकार भनेको राज्यको अभिन्न अङ्ग भएको छ । त्यसै बिश्वासले पत्रकारले तथा संचार माध्यमसँग सवैको झुकाव रहन्छ ।
एउटा पत्रकार स्वतन्त्र भएर समाजको सेवा गर्ने हो भने पत्रकारको सुरक्षाको लागि पनि आम जनताले आवाज     उठाउँछन । जब पत्रकार कुनै पार्टी मुखी हुन्छ । एकलौटी आवाज उठाउछ भने त्यो स्वतन्त्र पनि हुन सक्दैन र त्यसको सुरक्षा पनि हुदैन । एक पक्षको बढाइचढाइ गरी समाचार संप्रेषण गर्दा अर्को पक्षले ढुंगामुडा उचाउनु सामान्य हो । किनकी स्वतन्त्र पत्रकार पार्टी मुखी भएको हुन्छ । 
त्यसैले आचारसंहितामा रही जनताको सेवा गर्नु नै पत्रकारलाई न्यायिक स्वतन्त्रता हो । कार्यसमितिमा बसेको बेला पनि नेतृत्व लिदै सबैलाई परिचालन गर्न सक्नुपर्छ । यदि समाचार नलेख्ने भएपछि पनि पत्रकारिता पेशा नै छोडेर स्वतन्त्र नागरिक बन्नु जरुरी हुन्छ ।

प्रकोप, पूर्वतयारी तथा प्रकोप पहिलेको कार्य


दीपेन्द्र सिंह सामन्त
विपद जोखिम न्युनिकरण परामर्शदाता
वल्र्डभिजन इन्टरनेशनल नेपाल, डोटी
प्रकोप के हो ? हामी सवैले थाहा पाएका नै छौ । जब जब नेपालमा विभिन्न ठूल्ठूला विपक्तिहरु आई परे तब मलाई पाठक सामु केही प्रकोप, विपदका विषय वस्तु राख्न मन लाग्यो, प्रकोपको परिभाषा गाउँ होस वा सहर, समय–समयमा सबैतिर विभिन्न प्रकारका विनाशकारी घटना हुन्छन् । कहिले मुसलधारे पानी परेर बाढी, डुबान र पहिरोको विनाशकारी लीला चल्दछ । कहिले बेगवान् हुरीबताससँगै असिना पानी पर्दछ । कहिले लामो समयसम्म खडेरी परेर खेतमा रोपेको बाली सुक्दछ । कहिले भुइँचालोले घर, स्कुल भत्काउँछ, मानिसहरुको ज्यान लिन्छ,     
गाउँघरमा महामारी फैलिएर धेरै मानिसको मृत्यु हुन्छ । यस्ता घटनामा परी खाद्यान्न, लुगाफाटो, धनमाल,    खेतबारी र बालीनाली पनि नष्ट हुन्छन् । यस्ता विनाशकारी घटनामा परेका पीडित व्यक्ति वा समुदायलाई छरछिमेक, गैरसरकारी सङ्घसंस्था अथवा सरकारको सहयोग आवश्यक पर्दछ । प्राकृतिक वा अप्राकृतिक घटनाबाट उत्पन्न हुने यस्तै विनाशकारी अवस्थालाई नै प्रकोप भनिन्छ । बाढी, पहिरो, आगलागी, चट््याङ, भुइँचालो, हुरीबतास, खडेरी, शीतलहर, हिमताल÷विष्फोट, महामारी, दुर्घटना आदि प्रकोपजन्य घटनाका केही   उदाहरण हुन् । 
प्रकोपलाई विभिन्न विद्वान् र सरकारी तथा गैरसरकारी संस्थाहरूले फरक÷फरक किसिमले परिभाषित गरेका छन् । सामान्यतया मानिस, घर, कार्यालय भवन, सडक, पुल तथा खेतबारी, घरपालुवा पशुपन्छी र जीवनयापनका स्रोतमा क्षति पु¥याउने प्राकृतिक वा अप्राकृतिक घटनालाई प्रकोप भन्ने गरिन्छ ।
घटनाको किसिम, भौगोलिक अवस्था, विकासको स्तर, मानिसको चेतनास्तर, आर्थिक तथा सामाजिक अवस्थाजस्ता विभिन्न कारणले प्रकोपबाट हुने क्षतिको परिमाणमा भिन्नता हुन्छ । फरक स्थानमा हुने एकै प्रकारको घटना कतै प्रलयकारी बन्दछ भने कतै सामान्य रहन्छ । त्यसैले सामान्य भाषामा बाहिरी समुदायको सहयोगको आवश्यकता पर्ने गरी जनधनको ठूलो क्षति गर्ने कुनै पनि अप्रत्याशित दुःखदायी घटनालाई नै प्रकोप भन्न सकिन्छ । 
हाम्रा विभिन्न खाले वुझाई छन । हामी यसरी पनि भन्न वा वुझन सक्छौ, आकस्मिक रूपमा जनजीवन अस्तव्यस्त बन्ने विपत्ति पूर्ण अवस्था नै प्रकोप हो । यस्तो अवस्थामा मानिसले धेरै दुःख पाउँछन् । तसर्थ, उनीहरूका लागि सुरक्षा, खाना, लुगाफाटो, आवास, औषधि उपचार तथा सामाजिक सेवाजस्ता दैनिक जीवनमा नभैनहुने वस्तु र सेवा बाहिरबाट पूर्ति गरिदिनु आवश्यक हुन्छ ।
नेपालको दैवी प्रकोप (उद्धार) ऐन, २०३९ (दोस्रो संशोधन २०४९) मा दैवी प्रकोप भन्नाले भूकम्प, आगलागी, आँधीबेहरी, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, अनिकाल, महामारी तथा यस्तै अन्य प्राकृतिक प्रकोपलाई बुझाउँछ  र सो शब्दले औद्योगिक दुर्घटना, विस्फोटक वा विषाक्त पदार्थद्वारा हुने दुर्घटना तथा यस्तै कुनै पनि प्रकारको प्रकोपलाई समेत जनाउनेछ भनेर प्रकोपको परिभाषा दिइएको छ ।
नेपालमा परेका विभिन्न विपदका बेलामा विपद पश्चात प्रभावित क्षेत्र २०७२ को भुइँचालो, दार्चुलाको बाढी सानो सानो चर्चामा न आएका तर क्षति धेरै गरेको पहिरो, आगो लागिबाट प्रभावित क्षेत्रमा काम गर्न जाँदा मलाई सधै पिरोल्ने विषय वस्तु मध्येको एक पुर्व तयारी तथा प्रकोप पहिलेको कार्य, प्रकोपजन्य जोखिम घटाएर जनधनको क्षति कम हुने व्यवस्था मिलाउँदै प्रकोप भएमा सुरक्षित रहन र तत्कालीन उद्धार र राहतका लागि आवश्यक कार्य गर्न प्रकोपका घटना हुनु पहिले गरिने सम्पूर्ण तयारीलाई  प्रकोप पूर्वतयारी भनिन्छ । केही पूर्व तयारीहरु यस प्रकार छन ।  
जनचेतना अभिवृद्धि तथा तालिम 
प्रकोप बारेमा विगतका अनुभवका आधारमा प्रकोपको सम्भावना, स्थानीय ज्ञान, सीप र स्रोतको उपयोग सम्बन्धमा समुदायको सहभागितामा छलफल गरी पूर्व तयारीको आधारशिला तयार गर्नु पर्दछ । 
ूखतरा, जोखिम र सङ्कटाभिमुखता विश्लेषण 
मानवीय बसोबासको वस्तुस्थिति, भौगोलिक अवस्था र सम्भावित प्रकोपको जोखिम विश्लेषण प्रकोप पहिले गर्नुपर्ने  महत्वपूर्ण काम हुन । जोखिम विश्लेषण गर्दा खतरा र सङक्टाभिमुख अवस्थाको पहिचान गर्नुपर्दछ । खतराले सङक्टाभिमुख अवस्था बढाउने हुदाँ यी दुई तत्वहरुको मिश्रणबाट प्रकोपको  जोखिम बढद्छ । 
न्यूनीकरण तथा रोकथाम
जोखिमको विश्लेषण गरिसकेपछि जोखिमको     कारण, स्तर वा अवस्था र त्यसबाट हुन सक्ने क्षतिको अनुमान लगाउन र जोखिम घटाउन गर्नुपर्ने कार्यको पहिचान गर्न सकिन्छ । 
खाद्यान्न तथा औषधिको सञ्चय
प्रकोप आकस्मिक घटनाबाट उत्पन्न हुने विपद् भएकाले त्यस्तो समयका लागि पारिवारिक तथा सामुदायिक रूपमा खाद्यान्न तथा औषधिको सञ्चय गर्नुपर्दछ । चिउरा, चाउचाउ, बिस्कुटजस्ता हलुका खाद्यान्न र प्राथमिक उपचारका लागि चाहिने ब्याण्डेज, सिटामोल, जीवनजल, डिटोल तथा घाउमा लगाउने मलमजस्ता औषधि सञ्चय गरिराख्नु पर्दछ । यस्ता वस्तुको सञ्चय र सुरक्षा सामुदायिक रूपमा गर्न सकिए अझ उपयुक्त हुन्छ । 
उद्धार तथा राहत सामग्रीको व्यवस्था
प्रकोपका समयमा परिवार र समुदायका सदस्यको उद्धार गर्न चाहिने सामग्रीको व्यवस्था गरी सुरक्षित र सजिलै भेटिने ठाउँमा राख्नुपर्दछ ।  भौगोलिक क्षेत्र र सम्भावित प्रकोपको अवस्था अनुसार उपयोग हुने लाइफ ज्याकेट, टर्चलाइट, सियो, धागो, बेल्चा, कुटो÷कोदालो, खुकुरी, डुङ्गा, ट्युव, टायर, डोरी र अन्य आवश्यक औजारहरू झोलामा हालेर सजिलै भेटिने ठाउँमा राख्नुपर्दछ ।
आपत्कालीन योजना
प्रकोपको समयमा समुदायका कुन सदस्यले कुन कार्य गर्ने भन्ने छलफल गरी कामको विभाजन गर्नुपर्दछ । घरका सवै जना सदस्यहरु एक ठाउमा भेलाहुने, बाहिर रहेका सदस्यको वारेमा जानकारी लिने, महत्वपूर्ण फोन नम्बर सवैले देख्ने स्थानमा राख्ने सदस्यहरुको क्षमता अनुसारको कार्य विभाजन गर्नुपर्दछ । 
विकासमा प्रकोपको प्रभाव
मानिसको उत्पत्ति कालदेखि निरन्तर चल्दै आएको सकारात्मक परिवर्तन नै विकास हो । मानव सभ्यताका विभिन्न चरणमा नवीन प्रविधिको आविष्कार र विकास गर्दै मानिस अनवरत रूपमा अगाडी बढिरहका छन । यद्यपि मानिसले जति नयाँ प्रविधिको विकास गर्दै आएको छ, वातावरण आकर्षण र प्रकोपजन्य घटनामा त्यति नै विस्तार भइरहेको छ । जनसङ्ख्या वृद्धिसँगै बढेको वनफँडानी तथा प्राकृतिक स्रोत माथिको दबाव, अनियन्त्रित र अव्यवस्थित रूपमा भइरहेको भू–उपयोग, सडक, रेलसेवा, विद्युत् उत्पादन परियोजना जस्ता भौतिक संरचनाको निर्माण जस्ता कार्यले भौगोलिक स्वरूपमा समेत विखण्डन र परिवर्तन ल्याउँछन् । यसरी निर्मित संरचनामा प्रकोपको प्रतिरक्षा गर्नसक्ने क्षमता नभएमा क्षति पनि बढ्दै जान्छ । वास्तवमा मानवीय क्रियाकलापले विकास र विनाशलाई एउटा सिक्काका दुई पाटाको रूपमा विकसित गरिदिएको छ । प्रकृतिका आफ्नै क्रियाकलाप र मानिसद्वारा गरिने विकास निर्माणबीच सन्तुलन कायम नहुनाले जुन स्तरमा मानवसभ्यता अगाडि बढ्दै गएको छ, त्यही स्तरमा प्रकोपको विस्तार पनि भइरहेको छ ।
प्रकोपले विकासलाई पछि धकेल्छ,
प्रकोपजन्य घटनाले घर, सडक, पुल, विद्युत्गृह, विद्यालय भवन आदि मानवद्वारा निर्मित संरचनालाई क्षणभरमै भत्काउँछ र मानिसको ज्यान पनि लिन्छ । यसबाट  बेरोजगारी, भोकमरी र सामाजिक अशान्ति बढ्दछ । यसका साथै प्रकोपबाट विस्थापित समुदायलाई बसोबास गराउँदा र भत्केका वा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दा मुलुकले विकासका नयाँ क्षेत्रमा गर्नुपर्ने लगानी अवरुद्ध भएर राष्ट्रिय विकासमा बाधा पुग्दछ । नेपालमा नियमित रूपमा हुने बाढी, पहिरो, हुरीबतास, आगलागीजस्ता प्रकोपबाट सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढी क्षति पुगेको पाइन्छ । अशिक्षा, गरिबी, बलिया संरचनाको अभावजस्ता कारणले ग्रामीण क्षेत्रमै बढी क्षति भएको पाइन्छ । राष्ट्रिय निकायबाट निर्माण भएका संरचना समेत प्रकोपको सामान्य भार वहन गर्न नसकेर क्षतिग्रस्त हुने गर्दछन् । प्रकोप बाट विकास निर्माणमा लगानी भएको पँुजी, श्रम र समय मात्र खेर जाँदैन, पुनर्निर्माण–कार्यमा निकै ठूलो लगानीको आवश्यकता समेत पर्दछ । यसले अन्य क्षेत्रमा परिचालन हुने बजेट न्यून गराएर विकासको गति पछाडी धकेलिदिन्छ । खासगरी, प्रकोपले विकासलाई यसरी पछाडी धकेल्दछ ः
जनधनको क्षति गरेर, अन्य विकास कार्यका लागि छुट्याइएको स्रोत र साधन उद्धार, राहत तथा आपतकलीन कार्यमा लगानी गर्नुपर्ने अवस्था सिर्जना गरेर । व्यक्ति र समुदायको धनसम्पत्ति नष्ट गरेर, प्रकोप सिर्जित प्रकोप उत्पन्न गरेर, बेरोजगारी समस्या बढाएर, व्यावसायिक लगानीकर्तामा निराशा पैदा गरेर, प्राकृतिक स्रोत,        उर्वर भूमि र आयआर्जनका अन्य अवसर नष्ट गरेर ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१.स्चिपोल अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ?  — नेदरल्यान्ड आम्र्सडम
२. चोओयु हिमालको उचाई कति छ ? — ८२०१ मिटर
३. रणबहादुर शाहकी आमाको नाम के थियो ? — राजेन्द्रलक्ष्मी
४. इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ? — फ्रान्सको पेरिस
५. उल्टो झन्डालाई के को प्रतिकको रुपमा लिइन्छ ? — राष्ट्रिय विपत्ति वा शोक
६. भुटानका वर्तमान राजा को हुन ? — जिग्मे खेसर नाम्गेल वाङ्गचुक
७. ’कोकाकोला’ को प्रधान कार्यालय कहाँ रहेको छ ? — ब्mभचष्अब, न्भयचनष्ब
८. गोरखाको अन्तिम राजा को हुन् ? — पृथ्वी नारायण शाह
९. ग्ल्भ्क्ऋइ को मुख्य कार्यालय कहाँ रहेको छ ?  — फ्रान्स पेरीस
१०. आइसिसि वल्र्डकप २०१५ का आयोजक राष्ट्रहरु कुन कुन हुन् ? — अष्ट्रेलिया र न्युजिल्यान्ड
११. ‘साल्पा पोखरी’ कुन जिल्लामा पर्दछ ? — भोजपुर
१२. नेपालमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छ ? — प्रधानमन्त्री
१३. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ? — अप्रिल ७
१४. नेपालमा अख्तियार दिवस कहिले मनाइन्छ ? — माघ २८
१५. ‘हजारौँ हात्तीको देश’ भनेर कुन देशलाई चिनिन्छ ? — लाओस
१६. ‘चापाकोट’ नगरपालिका कुन जिल्लामा पर्दछ ? — स्याङ्गजा
१७. नेपालको राजधानी काठमाण्डौं कति डिग्री पुर्वी देशान्तरमा अवस्थित छ ? — ८५ डिग्री १५ मिनेट
१८. ब्द्द कुन नेपाली राजमार्गको अन्तराष्ट्रिय संकेत हो ? — महेन्द्र राजमार्ग
१९. त्जभ च्ष्कष्लन ल्भउब िका प्रथम सम्पादक को हुन् ? — वरुण शमशेर जवरा
२०. सन् २०१४ मा आसीयानको शिखर सम्मेलन कुन देशमा भएको थियो ? — म्यानमार
२१. नेवारी भाषा कुन लिपीमा लेखिन्छ ? — रञ्जना लिपी
२२. नेपालका बाह्रगाँउले जातीको प्रमुख वासस्थान कहाँ रहेको छ ? — मुस्ताङ
२३. नेपालको उत्तर दक्षिण चौडाई कति किलोमिटर रहेको छ ? — १९३ किलोमिटर
२४. नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ? — २७
२५. ओलम्पिक लोगोको निलो रंगले कुन महादेशलाई जनाँउछ ?  — युरोप
२६. बौद्धको त्रिपिटक भएझैँ शिखको के ?  —गुरुग्रन्थ
२७. प्रथम गोपालवंशी राजा भनेर कसलाई चिनिन्छ ? —भुक्तमान
२८. आइसिसि वल्र्डकप २०१५ मा कति राष्ट्र सहभागी थिए ? —१४
२९. ढुकुरको जोडीलाई के को प्रतिकको रुपमा लिइन्छ ? —प्रेम
३०. बास्केटबलको १ टिममा खेलाडीको संख्या कति हुन्छ ? —५
३१. नेपालको पहिलो धार्मिक चलचित्र कुन हो ? — श्री स्वस्थानी
३२. रेडियो मस्को कुन देशको प्रमुख प्रसारण सेवा हो ? —रसिया
३३. बैकुन्ठ झरना कुन जिल्लामा पर्दछ ? —पाल्पा
३४. शुभश्रवा कुन नदिको पौराणिक नाम हो ? —सुनकोशी
३५. दुई हातको क्रस माथी खप्परलाई के को प्रतिकको रुपमा लिइन्छ ? —खतरा
३६. कुन देवतालाई दिगम्बर नामले समेत चिनिन्छ ? —शिव
३७. रुप्से झरना कुन जिल्लामा पर्दछ ? —म्याग्दी
३८. प्रथम लिच्छवी राजा भनेर कसलाई चिनिन्छ ? —जयदेव प्रथम
३९. पाकिस्तानको कलीङ्ग कोड कति हो ? —ढद्द
४०. युरोपको सबैभन्दा बढी बर्षा हुने मुलुक कुन हो ? — मोन्टेनेग्रो
४१. अमेरिकी रक्षा कार्यालय पेन्टागन कुन राज्यमा पर्दछ ? —भर्जिनिया
४२. बलिउडका पहिलो सुपरस्टार अभिनेता भनेर कसलाइ चिनिन्छ ? —राजेश खन्ना
४३. सुकेताल र नन्दनताल कुन जिल्लामा पर्दछन ? —पाल्पा
४४. भारतीय रिजर्भ बैङ्कले निकालेको पुरानो नोटमा कति भाषा अंकित थिए ? —१५
४५. माउन्ट आरारात कुन देशको सबैभन्दा अग्लो शिखर हो ? —टर्की
४६. सन् २०१२ को लन्डन ओलम्पिकका अध्यक्ष को थिए ?  —लर्ड कोए
४७. बेतकोटेताल र रानीताल कुन जिल्लामा पर्दछन ? —कञ्चनपुर
४९. काठमाण्डौँ उपत्यकाका प्रथम राजा भनेर कसलाई चिनिन्छ ? —धर्माकर
५०. सेतो परेवालाइ के को प्रतिकको रुपमा लिइन्छ ? —शान्ति
५१. ओलम्पिक लोगोको कालो रंगले कुन महादेशलाई जनाँउछ ? —अफ्रीका
५२. सर्प नपाइने देश कुन हो ? —आइसल्यान्ड
५३. श्रीलंकाको कलीङ्ग कोड हो ? —९४
५४. अगाडीको खुट्टामा कान हुने किरा कुन हो ? —झ्याँउकिरी
५५. प्रथम ठकुरी वंशका राजा भनेर कसलाई चिनिन्छ ? —भाष्करदेव
५६. रातमाटे झरना कुन जिल्लामा पर्दछ ? —ओखलढुंगा
५७. फीफा वल्र्ड कप २००६ मा कति टिम सहभागी थिए ? —३२
५८. कालो झन्डालाइ के को प्रतिकको रुपमा लिइन्छ ? —विरोध
५९. जोन एफ केनेडी विमानस्थल कुन देशमा पर्दछ ? —अमेरिका

साहित्य/सृजना 


बिछोडमा बिवश माया


भावना चुप रहेर पनि
ऊद्धेलित गर्दछन्
मनका आकांक्षाहरू !
हुन्छ छटपटि र ऊकुस मुकुस
धेरै बेरसम्म
उनीसँगै साथ रहने चाहना
जस्तो कोही आफन्त मिलेर 
जान्छन् बिछोडमा टाढा
बेदना र भावनाको
गहिरो समुन्दरमा
दुई मुटु 
एक प्राणमा जोडिए जस्तो
त्यो मिलन !
बिछोड र सामिप्यताका
असिमित घडी पलाहरूको सम्झना
शायद, आज बदलिदैछ
समयको पदचाप
आँखा अघि हुदैछ
स्मृतिको छायाकंनमा
क्षितिज पारीको माया
स–शरीर टाढै रहेर पनि
बिनम्रतामा ढाढस दिदै
अंगालो मारेर रोए जस्तो
कैयन युग बिते जस्तो
सुर्य बस्याल 
पाल्पा

तर सुनेकी छु 

किन राखु मसी 
अब आफ्नो कलममा 
जब कि मनमा कुनै 
उत्सुकता नै छैन, 
थाह छैन किन होला 
सबै संका गर्न थालेछन 
जब कि 
एउटा सुकेको फूल पनि 
मेरो पुस्तकभित्र छैन, 
ताकत त थियो 
मेरो प्रेममा पनि 
तर विफल रहे प्रयासहरु 
किनकी 
ढुङ्गासरी मुटु हुनेहरु
जीउको रगत र पानी 
सुकी सक्ता पनि पग्लेनन्, 
ईश्वर यदि भेटिए भने 
उनै सत माग्नेछु 
आफ्नो अपुरो प्रेम 
तर सुनेकी छु –
ईश्वरले मृत्यु भन्दा पहिले 
केही दिदैनन् रे ।। 
प्रनिता शाही 
अंधेरी, मुम्बई (भारत)

सूचना/सन्देश/बिज्ञापन 



No comments:

Post a Comment