Tuesday, July 25, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल साउन १० गते मंगलबार

सरोकारवाला निकायहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको सवालप्रति चासो लिने र जवाफदेही वनाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

“लक्की’ हर्कबहादुरको राजनीतिक यात्रा : एमाले वडा सदस्यदेखि गाउँपालिका अध्यक्षसम्म  


रामहरी ओझा/डोटी 
साउन ९
“मलाई जनताले मायाँ गरेका हुन । जनताले मप्रति गरेको यो माया र बिश्वास म टुट्न दिने छैन । सधैं जनताको सेवक भएर काम गर्नेछु ।” 
आफु बिरुद्ध परेको उजुरीको सुनुवाईको क्रममा आईतवार उच्च अदालत दिपायल पुगेका अछाम चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद उच्च अदालतले उनी बिरुद्धको उजुरी खारेज गरेपछि खुशी देखिए । उनका समर्थकहरुले उनलाई अविर र फुलमालाले सिंगारे । हसिलो अनुसार, सालिन व्यक्तित्व साउँद जति खुशी थिए त्यतिनै गम्भिर पनि देखिन्थ्ये । 
२०४२ सालमा साबिकको सिउडी गाबिस–९ मा जन्मेका साउँद स्थानीय तह पुनर्संरचना पछि हालको चौरपाटी गाउँपालिका–१ निवासी भए । २०६२ सालतिर नेकपा एमालेबाट दलगत राजनीतिक सुरु गरेका साउँदलाई राजनीतिकर्मी भन्दा पनि समाजसेवीका रुपमा बढी चिन्ने गर्छन् । २०६३ सालमा एमाले वडा कमिटीको सदस्यका रुपमा उनले पहिलो राजनीतिक जिम्मेवारी पाए । त्यसपछि उनले साबिकको सिउडी गाउँ कमिटीको उपाध्यक्ष हुँदै दुई पटक ईलाका कमिटी अध्यक्षको जिम्मेवारी पुरा गरे । हाल उनी एमाले चौरपाटी गाउँ कमिटीको उपसचिवको रुपमा पार्टी काम गर्दै आएका छन । 
असार १४ गते सम्पन्न निर्वाचनमा एमालेको तर्फवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार साउँद मत परिणाम अनुसार एक मतले बिजयी घोषित भए । उनले तीन हजार एक सय ३८ मत प्राप्त गरेपछि उनलाई निर्वाचन अधिकृतको कार्यालयले बिजयी घोषणा ग¥यो । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भिमबहादुर साउँदले तीन हजार एक सय ३७ मत प्राप्त गरेका थिए । 
एक मतको अग्रताले मात्रै गाउँपालिकाको अध्यक्ष बन्न सफल “लक्की” हर्कबहादुरबिरुद्ध अदालतमा उजुरी प¥यो । मतगणक तथा निर्वाचन अधिकृतको मिलेमतोमा आफूले पाएको मत घटाई एमाले उम्मेदवारलाई विजयी गराएको आरोप सहित पुनः मतगणनाको आदेश गरिपाउन प्रतिस्पर्धी उम्मेदवार भिमबहादुरले उच्च अदालत दिपायलमा उजुरी दिए ।
असार २३ गते न्यायालयले हर्कबहादुरलाई गाउँपालिकाको अध्यक्ष भएर कामकाज नगर्न÷नगराउन अन्तरिम आदेश जारी गर्दा उनको पार्टी डराएको थियो । तर, हर्कबहादुर आफु भने जनताको पक्षमा फैसाला हुने कुरामा ढुक्क थिए । उनी भन्छन् ‘मैले जनताको माया पाएको छु, जनताले गरेको फैसला मेरो पक्षमा छ र न्यायालयले पनि सोही आधारमा फैसला गर्छ भन्नेमा ढुक्क थिएँ ।’ भयो पनि उनैले भनेको जस्तो, आईतबार न्यायाधिशद्वय चित्रदेव जोशी र शेखरचन्द्र आचार्यको संयुक्त ईजलासले उनी बिरुद्धको उजुरी खारेज गरिदियो । अव हर्कबहादुरनै गाउँपालिका अध्यक्ष हुने भए । 
सोमबार बिहान बिम्ब साप्ताहिकसंग कुरा गर्दै हर्कबहादुरले भने ‘मेरो काँधमा जनताले जसरी जिम्मेवारी दिएका छन, त्यो जिम्मेवारी म पुरा गर्छु । जनभावना बिपरित म कुनै काम गर्नेछैन ।’ उनी सडक, बिद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यलाई आफ्ना प्रमुख प्राथमिकताका क्षेत्र भएको बताउँछन । भन्छन् ‘यि पाँच आधारभुत कुराहरु चौर–पाटीका अहिलेका आवश्यकता हुन, त्यसमध्ये पनि तत्काल सडक र बिद्युत मेरो प्राथमिकताका बिषय हुन ।’ 
उनी सोमबारै पदभार ग्रहण गर्ने तयारीमा छन । पदभार ग्रहणपछि करीव एक हप्ता जनतालाई धन्यवाद दिन गाउँतिर जाने योजना बनाएका छन उनले । त्यसपछि उनी स्थानीय बुद्धिजीवी, समाज सेवी राजनीतिक दलका नेता÷कार्यकर्ताहरु, सञ्चारकर्मीहरु सवैसंग बसेर गाउँपालिकाका लागि आवश्यक नियम कानुनहरु बनाउने      तयारीमा छन । “सवै सरोकार–वालाहरुको रायमा कानुनको खाका तयार गरेर पहिलो गाउँसभाबाट त्यसलाई अन्तिम रुप दिन्छु” हर्क भन्छन् ‘गाउँपालिकाको समग्र बिकासका लागि म सबै दलहरुलाई साथमा लिएर अघि बढ्नेछु ।’ 
चौरपाटी गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका मायाँ कुँवर बिजयी भएकी छन । उनले एमालेका सुशीला बोगटीलाई ७२ मतले पछाडी पारिन् । कुँवरले तीन हजार एक सय ७३ मत प्राप्त गरिन भने बोगटीले तीन हजार एक सय एक मतमै चित्त बुझाउनु पर्ने भयो ।  

सम्पादकीय 

मुक्त हलिया पुनस्र्थापनाको एजेण्डा 

डोटीमा अहिले नयाँ खालको बहसले नयाँ उचाई लिएको छ । २०६५ साल भाद २१ गते न्यायिक पुनःस्थापनाको ग्यारेण्टी सहित मुक्तको घोषणा गरिएका मुक्त हलियाहरुको पुनःस्थापनाको बिषयले बजार तातेको छ । नेपाल सरकारले कछुवा गतिमा बर्षेनी गर्दै आएको पुनःस्थापनाको कार्यक्रममा फड्को मार्दै थप कार्यक्रमको रुपमा ४२ जना मुक्त हलिया परिवारको सामुहिक बस्ती बसाउने भन्दै छुट्टै रकम निकासा ग¥यो । “नमुना” बस्ती बसाउनका लागि आएको उक्त कार्यक्रम जंगलमा जान थालेपछि रडाको मच्चिएको  छ । 
हलिया मुक्तीको घोषणा हुँदा पुनस्र्थापनाको मात्रै होईन न्यायिक पुनस्र्थापनाको ग्यारेण्टी राज्यले गरेको थियो । न्यायिक पुनस्र्थापना भन्ने बित्तिकै उनीहरुका आधारभुत आवश्यकताहरुको परिपुर्ति हुने ग्यारेण्टी गर्नु पर्ने हो । तर, यहाँ त्यसो गर्न खोजिएन । समयमै कार्यक्रम आउँदा पनि सरोकारवालाहरु कानमा तेल हालेर बसिरहे । नियतमै खोट थियो वा बुद्धि नपुगेको हो, त्यो उनीहरुलाईनै थाह होला तर अनावश्यक ढिलाई भएकै हो । 
जिल्ला सदरमुकाम आसपास पाईएका जमिनहरु पन्छाउँदै जङ्गलमा लगेर मुक्त हलियाको बस्ती बनाउने षड्यन्त्रपूर्ण योजना बन्यो त्यो पनि ‘नमुना’ बस्ती । एक परिवार बरावर दुई लाख रुपैयाँको जमिन किन्नु पर्ने । जुन दररेटमा जमिन जङ्गलमा किन्ने कुरा भईरहेको छ त्यो दररेटमा जिल्ला सदरमुकाम नजिकै उपलव्ध हुँदा समेत उनीहरुलाई जङ्गलमै राख्नु पर्ने कारण खुल्न सकेन । जसका लागि जमिन खरीद गरिदैछ उनीहरु त्यो ठाउँमा नबस्ने भनेर लगातार बिरोधमा छन तर सरोकारवालाहरु त्यो जमिन खरीद गर्न नपाए बैतर्नी तर्न नसकिने मानसिकतामा छन । 
आखिर किन यत्रो परिहत्ये ? किन मुक्त हलियाहरुले सदरमुकाम आसपास बस्न नपाउने हो र ? के उनीहरुलाई मानव भएर बाँच्ने अधिकार छैन र ? के उनीहरुका छोराछोरीहरुले बिद्यालय जाने अधिकार राख्दैनन् ? यदि राख्छन भने किन उनीहरुलाई जङ्गलमा लगेर राखिदैछ ? किन उनीहरुले चाहेको ठाउँमा बस्न दिईदैन ? यो सम्वन्धित निकाय र व्यक्तिहरुको बद्नियत होईन भनेर कसरी भन्न सकिन्छ ? 
आज मुक्त हलियाहरुका लागि न त्यो जमिन छोड्नु न स्वीकार गर्नुको अवस्था भएको छ । उनीहरुलाई यदि यो जमिन अस्वीकार ग¥यो भने अर्को पल्ट आउँदैन भनेर डराईएको छ । गल्ती गर्ने आफु त्यसको भागेदार सोझासाझा मुक्त हलियालाई बनाउने नियत कसरी बन्यो ? बिकल्प हुँदाहुँदै जवरजस्ती गरिनुको कारण आर्थिक चलखेल हो किन नभन्ने त ? 
जमिन नामसारी भएको छैन तर चेक पहिलेनै सम्वन्धित पक्षको नाममा किन काटियो ? अन्य कुनै ठाउँमा पनि सम्भावना नरहेको जस्तो गरि किन प्रचार गरियो ? यसको सवै जवाफ स्पष्ट रुपमा दिईनु पर्छ । प्रमुख जिल्ला अधिकारी मुक्त हलिया पुनस्र्थापना जिल्ला समितिका संयोजक पनि हुन । उनले यो बिषयमा सम्वन्धित पक्षलाई राम्रोसंग प्रष्ट पार्नु जरुरी छ । कसैले लुकाएर हुँदैन, यहाँ त्रुटी भएको छ । 
त्यसैले बजेट फ्रिज जान्छ भन्ने नाममा मुक्त हलियाहरुलाई उल्लु बनाउने काम राम्रो होईन । उनीहरुलाई जङ्गलमा लगेर छोड्ने होईन, बस्ती बसाउनु भन्दा पहिले जनताका लागि चाहिने आधारभुत आवश्यकताहरुको बिषयमा ख्याल गरिनु पर्छ । डराएर, धम्माएर, प्रलोभनमा पारेर अनावश्यक हल्लाहरु फिजाएर पुस्तौदेखि बेघर मुक्त हलियाहरुको पीडामा रमाउन खोज्नेहरुलाई सावधान गराउन मुक्त हलियाहरु एकजुट हुनु जरुरी छ । 

थप समाचार 

मुक्त हलिया पुनस्र्थापना कार्यक्रममा कमिसनको खेल


कर्ण चन्द/डोटी
साउन ९
डोटी जिल्लामा मुक्त हलिया पुनस्र्थापना कार्यक्रम कमिसनको चक्रब्युमा फसेको छ । ३७ मुक्त हलिया परिवार पुनस्र्थापना गर्न नेपाल सरकारबाट प्राप्त भएको ७४ लाख रुपैयाँ कार्य समिति कमिसनको लोभमा परेका कारण प्रभाबित भएको छ । 
आर्थिक बर्ष ०७३÷०७४ भित्र पुनस्र्थापना कार्यक्रम सम्पन्न हुन पर्ने भएपनि पुनस्र्थापनामा अन्यौल देखिएको छ ।  जिल्ला सदरमुकाम सिलगढी बजार  नजिकै भएको जमिन छोडेर पुनस्र्थापना कार्यदलले सदरमुकामबाट करीब दुई घण्टाको पैदल दुरीमा बगलेक जमिन किन्ने निर्णय गरेको छ । 
हालीमुहालीहरुका कारण आफुले प्राप्त गर्न लागेको रकम फ्रिज जाने पुर्बीचौकी गाउँपालिका वडा–२ बगलेककी बिष्ना बिकले बताईन । उनले भनिन् ‘हामी सबै सदरमुकाम नजिकैको जमिनमा बस्न राजी थियौं, हलियाका नेता र हाकिमहरु मिलेर अर्कैैको जग्गा पास गर्ने तयारी ग¥यो, हामीलाई अरु थाहा छैन हामीलाई पुनस्र्थापना हुन प¥यो, राम्रो ठाउँमा बस्न पाउन प¥यो ।’
हिउँदमा खारो पर्ने, जंगल भएको जमिनमा आफुलाई ईच्छा नभएको ७० बर्षीया भागा बिकले बताईन । भागाले भनिन् ‘जंगलमा बस्नु पर्ने भएमा के को पुनस्र्थापना भएको मान्ने ? सरकारबाट आएको पैसाले हामीलाई राम्रो ब्यबस्था हुन पर्छ हामीलाई ठग्न पाईन्न ।’
हलिया पुनस्र्थापनाका लागी आएको बजेट हलिया बिचमा भएको बिवादका कारण फ्रिज हुने भएको जिल्ला मातपोत कार्यालय डोटीका कार्यालय प्रमुख तथा पुर्नस्थापना कार्य समितिका सदस्य सचिब सुनिल सागर जोशीले बताए । ‘चुनावका कारण काम ढिलो भयो’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै जोशीले भने ‘जग्गा खोज्ने उहाँहरुको जिम्मेवारी हो, हाम्रो होईन सामुहिक बस्ती निमार्ण गर्ने भएकाले हामीले खोजेका हौं ।’
हलियालाई अरुले उक्साउने काम गर्दा निर्णय गर्न समस्या भएको मुक्त हलिया समाज डोटीका अध्यक्ष भिम सार्कीले बताए । उनले भने ‘हामी सामुहिक बस्ती निर्माण गर्ने पक्षमा छौं, उहाँहरुकै सहमतिमा लगेर हनुमान हर्टिककल्चरको जमिन खरिद गर्ने निर्णय भएको हो ।’
४३ रोपनी छोडेर ३० रोपनी तर्फ 
जिल्ला हलिया पर्नस्थापना कार्यदलले ४३ रोपनी जग्गा छोडेर ३० रोपनी जग्गा किन्न निर्णय गरेको छ । सदरमुकाम नजिकै  रहेको ४३ रोपनी जमिन ७४ लाखमा खरिद गर्न छोडेर सोही मूल्यमा सदरमुकामबाट टाढा   रहेको बगलेक गाबिसमा  ३० रोपनी जग्गा किन्न तयारी भएको छ ।  
दिपायल सिलगढी नगर–पालिका–७ सिलगढीको  पैँयाभञ्जाङ नजिकै रहेको हर्क बोहराको ४३ रोपनी  जग्गा छोडेर पुनस्र्थापना कार्य समितिले साबिकको बगलेकमा हनुमान हर्टिकल्चरको नाममा रहेको जग्गा किन्ने तयारी गरेको हो  ।
समय घर्काउदै ल्यायर अन्तिम अबस्थामा हस्ताक्षर नगरे रकम फ्रिज जाने भन्दै  जवरजस्ती हस्ताक्षर गराएको मुक्त हलिया बिष्ना बिकले बताईन ।  उनले भनिन् ‘हामीलाई जग्गा मालिक बोलार ल्याउनु भने, हामी बिहान कार्यालयमा पुग्दा हाकिम र हलियाका अध्यक्ष अर्कैको जग्गा नाप्न बगलेक पुगेको रहेछन ।’
हलिया र आफ्ना बिचमा जग्गा लेनदेनका बारेमा सबै कुरा मिलेको र कागजी प्रक्रिया अन्तिम चरणमा हुँदा कार्यदलले अर्कैको जग्गा प्रस्ताब गरेको जग्गा धनी हर्क बोहराले बताए । बोहराले भने ‘म ७४ लाखमा जग्गा दिन तयार छु, हलिया पनि मेरो जमिनमा बस्न तयार छन लिने र दिने बिचमा सहमति भएको छ भने बिचमा अर्कैै ब्यक्तिसंग जमिनको कुरा गर्ने कार्यदलको नियत के हो ?’
बाटो नभएको बहाना 
सदरमुकाममा रहेको जमिनमा बाटो नभएको भन्दै पुनस्र्थापना कार्यदलले पञ्छाएको छ । कार्यदलले चैत्र २४ गते जग्गामा बाटो नभएको प्रतिक्रिया दिएको दोश्रो दिन  नक्सामा उक्त जमिनमा चलन चल्तीको गोरेटो बाटो रहेको दिपायल सिलगढी नगरपालिका कार्यालयले   सिफारिस गरेको छ । 
सदरमुकाम नजिकै भएको जमिनमा बाटो नभएका कारणले खरिद गर्न नसकिएको पुनस्र्थापना कार्य समितिका संयोजक तथा प्रजिअ कुमारबहादुर खड्काले बताए । उनले भने ‘बाटो नभएको जमिन खरिद गर्न सम्भव भएन, त्यसैले हामीले बैकल्पिक ब्यबस्था गरेका हौं ।’ कार्यदलले बाटो नभएको ठहर गरेपनि उक्त जग्गा मालिकले जसरी पनि जमिनमा सडक पु¥याउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यदलको रोजाईमा परेको जमिन सडकमा जोडिएको भए पनि खानेपानी, बिजुली, शिक्षा स्वास्थ्य र भूगोलका आधारमा बिकट रहेको छ । 
प्रतिबेदन बाहिरको जमिन  
०७३ फागुन महिनामा हलिया पुनस्र्थापनाका लागी बनेको जग्गा खरीद सहजीकरण उप समितिले जिल्लाका पाँच स्थानमा जग्गा खरिद गर्न सक्ने भन्दै सिफारिस गरेको थियो । समितिले सिफारिस गरेको जमिनमध्ये हलियाको रोजाईमा सदरमुकाम नजिकै रहेको जमिन रहेको छ ।  जिल्ला पुनस्र्थापना कार्यदलले  खरिद गरेको पूर्व सांसद मोहन बमको नामको फर्म हनुमान हर्टिकल्चरको नाममा रहेको बगलेकको जमिन उप–समितिले जग्गा खरिदका लागी सिफारिस गरेको प्रतिबेदनमा समाबेश नभएको पाईएको छ । हलियाको रोजाईमा पनि नपरेको, प्रतिबेदनमा सिफारिश नभएको ग्रामिण क्षेत्रमा गएर सोही मूल्य बराबरको जग्गा खरिद गर्नले पनि समितिको नियतमा शंखा गर्ने प्रशस्त ठाउँ रहेको छ । 
निल्नु न उखेल्नु भयोे  
साबिकको बगलेक गाबिसमा रहेको हनुमान हर्टिकल्चरको फर्मको जग्गा खरिदका लागी पुनस्र्थापना कार्यदलको निर्णय भएपनि हलियाका नाममा राजिनामा भएको छैन । जग्गा राजिनामा हुन बाँकी रहदा नै जिल्ला मापपोत कार्यालय डोटीले हनुमान हर्टिकल्चरको नाममा ७४ लाखको चेक काटि सकेको छ । 
हलियालाई हनुमान हर्टिकल्चरको जग्गा अस्वीकार गर्दा पुनस्र्थापना पनि नहुने र अर्को पटक ढिलो गरी पुनस्र्थापनामा पर्ने चिन्ताले छाएको मुक्त हलिया धनबहादुर बिकले बताए । बिकले भने ‘हामीलाई अप्ठयारो ठाउँमा ल्याएर फसाईयो, कार्यदलको निर्णय मानौं पुरानै रावते जिन्दगी बित्ने भयो, नमानौं भने हाम्रो नाममा आउन लागेको रकम फ्रिज हुन्छ ।’
काम सम्पन्न भए मात्र भुक्तानी दिनु पर्ने  भएपनि कार्य सम्पन्न नहुँदै फर्मको नाममा राजिनामा हुनु  भन्दा पहिला चेक काटिनुले अर्को शंका उत्पन्न गरेको छ ।

गाउँगाउँमा करको बहस

करलाई पारदर्शी र प्रभावकारी वनाउन डोटीका गाउँगाउँमा कर सम्वन्धि बहसहरु सञ्चालन भएका छन ।  
नागरिक व्यवसायले कर तिरेमा राज्यले सार्वजनिक सेवाहरुलाई गुणस्तर वनाउन सक्छ भन्ने उद्देश्यका साथ उक्त बहसहरु सञ्चालन गरिएको हो । एक्सनएड नेपालको सहयोगमा सम विकास केन्द्र डोटीले विगत दुई वर्षदेखि गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागी कर सम्बन्धि स्थानीयस्तरमा छलफल र सचेतना अभिवृद्धि गर्दै आएको छ । 
हाल सम्म २० विद्यालयका पदाधिकारी, सदस्य, अभिभावक, शिक्षक, वालवालिका, युवा, विषयगत सरकारी निकायका व्यक्ति लगायत सरकारी निकायका प्रतिनिधिहरु गरि चार सय १४ जनालाई कर सम्बन्धी क्षमता अभिवृद्धि गरिएको सम बिकास केन्द्र डोटीका कार्यक्रम संयोजक अधिराज बिसीले जानकारी दिए । 
सडक नाटक, अन्तरक्रिया, होर्डिङ बोर्डमार्फत सूचना जानकारी र सामाजिक सञ्जाल मार्फत हजारौं सर्वसाधारण नागरिकहरुलाई न्यायपूर्ण कर लागु गर्नका लागी राज्यलाई खवरदारी गर्ने, सकारात्मक हस्तक्षेप    निगरानी वढाउने जस्ता क्रियाकलापहरु सञ्चालन भईरहेको बिसीले बिम्क साप्ताहिकलाई जानकारी दिए । जसमा आम सार्वसाधारणहरुको व्यापक सहभागीता भएको देखिन्छ ।

युवा समितिद्वारा तीन युवा सम्मानित

बिभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै डोटीमा तीन युवा उद्यमीहरुलाई जिल्ला युवा समितिले सम्मानित गरेको छ ।
जिल्ला युवा समिति डोेटीले युवाहरुलाई प्रोत्साहन तथा क्षमता बिकास गर्नका लागि युवा उद्यमीहरुलाई आबेदन दिन सूचना आह्वान गरेकोले त्यसमा सबैभन्दा बढी प्रमाण पत्रहरु भएका उद्यमीहरुलाई पुरस्कृत गर्ने भन्ने सूचनाका आधारमा कृषि, संगीत र खेलकुदमा आबेदन परेका तीन जना युवा उद्यमीहरुलाई पुरस्कृत गरिएको हो । 
पुरस्कृत हुने युवा उद्यमीहरुमा खेलकुदतर्फ दिपायल सिलगढी नगरपालिका–६ का ३७ बर्षीय अनिल कुमार जोशी र कृषितर्फ पूर्वीचौकी गाउँपालिका–३ २८ बर्षीय भरत बोहरा सम्मानित भएका छन । त्यस्तै संगीत र समाज सेवा क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएको भन्दै साबिकको घाङ्गल गाबिसका लक्ष्मण बिष्टलाई सात÷सात हजार सहित पुरस्कार गरिएको जिल्ला युवा समितिका कार्यालय प्रमुख किसान राज चिलवालले बताए ।
जिल्लामा युवाको जोस जाँगरलाई थप हौसला दिनका लागि यस्ता कार्यक्रमहरु गरिरहनु पर्ने जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौडेलले बताए । उनले भने ‘बढी जसो युवाहरुका प्रतिभाहरु लुकिरहेका छन । तिनलाई हौसलाको खाँचो छ । त्यसैले जिल्लाका कुना कन्दराका युवाहरुलाई पहिचान गरि उनलाई पनि यस्ता कार्यक्रममा समाबेश गर्नु पर्छ ।’
महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्मला दहालले जिल्लामा बिभिन्न क्षेत्रमा उद्यमशील युवाहरु अझै पनि सरोकारवालाहरुको नजर भन्दा बाहिर रहेको बताईन ।  उनले भनिन् ‘यस्ता प्रतिभाहरुलाई उचित सम्मान दिनु पर्छ ।

ओइलाउँदै सुदूरको हुड्केली नाच


भूमिराज जोशी/डोटी
साउन ९
नेपालकै दुर्लभ तथा संस्कृति झल्काउने नाच हो हुड्केली । जो डोटेली संस्कृतिमा आधारित भई सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यसको चर्चा परिचर्चा छ । सुदूर तथा मध्य पश्चिमका केही ठूला साँस्कृतिक कार्यक्रमहरु हुड्केली नाचको प्रस्तुती गरिन्छ । हुड्केली नाचले समग्र नेपालीको पहिचानलाई पनि झल्काउने हुनाले यसको महिमा बढ्दै गएको छ तर हुड्केली नाच्नेहरु भने संस्कृतिको जगेर्ना गर्नुको साँटो बिर्सन थालेका छन ।
‘हामीले हुड्केली नाच जति खेल्यौं, खेल्यौं । पछिल्लो पुस्ताले चाँसो नै देखाउदैनन् ।’ डोटी आदर्श गाउँपालिका–६ का स्थानीय ६० बर्षीय भीम बहादुर नेपालीले भने ‘हाम्रो गाउँमा हुड्के नाच खेल्ने दुई जना थियौं । म भीम नेपाली र साथी भरत नेपाली । भरत कामको शिलशिलामा धेरै बर्ष अगाडी भारतमा गैसक्यो । अब उ आएर पनि खेल्न सक्दैन । मेरो पनि अस्ताउँदो उमेर   भैसक्यो । म पनि यो नाचगानको अन्तिम तिर आइसकेको छु ।’
हुड्केली नाच प्रायः गरेर दलित (हुड्के) हरुले मालिकको बिबाह, ब्रतबन्ध लगायत कुनै सार्वजनिक समारोहमा गाइने र नाच्ने उनीहरुको पेशा हो । बिबाह ब्रतबन्धमा नाच गान गरेबाफत मालिकहरुले खलो (काम गरे बाफत दिईने अन्न) दिन्थे भने सार्वजनिक समारोहरुमा नाच गान गरे बाफत हुड्केहरुलाई पैसा दिइन्थ्यो जुन पैसाले हुड्केहरुको जिबिकोपार्जन गर्न मद्दत पुग्थ्यो । 
हुड्केली नाचमा पाँच जनादेखि करीब ३५ जनाको समूहमा पनि खेलिन्छ । एक जनाले झुगेली (धामीको जस्तै पहिरन) बनाएर खेल्छ भने अन्यले महिलाको पोसाकका नाच्ने गर्छन । अरुले पञ्चेबाजा बजाउदै मांगल (गीत) गाउँछन । यसरी डोटेली संस्कृतिको हुड्क्ली नाचगान हुन्छ ।
पछिल्लो समयमा नाचगान गरेर कमाएको पैसाले आफ्नो र परिवारको गुजारा पनि नपुग्ने र समाजमा पनि दलित भनेर घृणित ब्यबहार गर्ने भएकाले नब पिंढीहरु नाच्न छोडे । भीम बहादुरले भने, ‘हाम्रा छोरा नातीहरुको इच्छा नै छैन यो पेशा प्रति ।’
केही बर्ष अगाडी आफ्नो परिवारमा कुराकानी गरेको सम्झिदै उनले भने ‘मैले छोरालाई आफ्नो पुख्र्यौली पेशालाई ओझेलमा पार्नु हुन्न भने,तर  उसले ‘कति मालिकहरुको दास बनि रहने ? यो पेशा गर्नुभन्दा भारत गएर बस्छु ।’ भन्यो । 
न खानलाई पुग्छ त न स्थानीय स्तरमा सम्मान नै । बाहिर कुनै सार्वजनिक समारोहमा जान्थ्यौं, रमाइलो हुन्थ्यो, सम्मान पाइन्थ्यो तर, भीमले भने, ‘पछिल्लो समयमा आधुनिक बाजाहरुले ढाके पछि त्यो पनि बिलिन हुँदै गयो ।’ फाइदा हुने ठाउँमा बाहेक अरु ठाउँमा हुड्केली नाचको वास्ता हुदैन । त्यसैले हुड्केली नाच धरापमा पर्दै गएको अमरगढी नगरपालिका डडेल्धुराका धौले नेपालीले बताए ।
‘जसले संस्कृति बुझेको छ उसले मात्र हुड्केली नाच आझेलमा पर्दै गएको छ यसको जगेर्ना गर्नुपर्छ भनेर आवाज उठाउँछ’ उनले भने, ‘पछिल्लो समयमा सरकारले दलितका हक अधिकारहरु स्थापित गरेपनि समाजमा भने बिभेद ब्याप्त छ । त्यसै बिभेदले पनि हुड्केली नाच ओझेलमा पर्दै गएको हो । समाजमा कसैको बिबाह ब्रतबन्धमा बोलाएर गएपछि हुड्के आयो हुड्के आयो भन्दै किनारा लाग्छन, केही गरी छोइहालेमा गाली गलौज गर्छन ।’
‘पहिले सुदूर तथा मध्ये पश्चिमका धेरै जिल्लामा हुड्केली नाच खेल्नका लागि बोलाइन्थ्यो र म गएको पनि थिए ।’ तर अहिले आफ्नो छरछिमेका सार्बजनिक मेलाहरुमा पनि बोलाइन्न । बोलाई हालेमा सम्मान र पारिश्रमिक पाइदैन । त्यसैले बिभिन्न संकृतिको जगेर्ना गर्ने सरोकारवाले पनि बेवास्ता गर्दा ओझेलिदै गएको धौलेले बताए ।
‘यस्तो झमेलामा को लागि–रहने ?’ सायल गाउँपालिकाका डोटीका १८ बर्षीय जनक नेपालीले भने ‘बुवा, बाजेहरुले सधै हुड्केली नाच खेल्नुभयो, तर कुनै उपलब्धी गर्न सक्नु भएन । सधै दासत्व प्रथा मात्र देखियो । न दाम न सम्मान । त्यसैले दिनभरी कराएर पनि बेलुका खानलाई नपुग्ने, बिभिन्न समाजमा घृणित तबरले हेरिने हुनाले यता तिर चाँसो पनि भएन ।’ उनले भने, ‘मेरो भन्दा पनि मेरो बुवाको उमेर समूहकाहरुले पनि हु्केली नाच खेल्नु भएन ।’
डोटीमा मात्र होइन । सुदूर लगायत अरु जिल्लाहरुमा पनि हुड्केली नाच ओइलाउदै गरेको छ । नाच खेल्नेहरुलाई हौसला, पारिश्रमिक र सम्मान नहुँदा ओझेलमा पर्दै गएको छ । यदि जगेर्ना नगर्ने हो भने भोलीको पिंढीलाई पनि जानकारी हुने छैन कि हुड्केली नाच सुदुरमा खेलिन्थ्यो भनेर ।
संस्कृतिबिद् डा. बद्री शर्मा बिनाडीले भने ‘संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व हो । यदि संस्कृति नै लोप भयो भने आफ्नो पहिचान नै लोप हुन्छ ।’

मुक्त हलियाका सवालमा नगरपालिकालाई ज्ञापन

लामो समयसम्म पनि मुक्त हलियाको न्यायिक पुनस्र्थापना हुन नसकेको भन्दै मुक्त हलियाको क्षेत्रमा काम गर्ने दुई गैरसरकारी संस्थाले दिपायल सिलगढी नगरपालिकालाई ज्ञापन पत्र दिएका छन । 
२०६५ साल भाद्र २१ गते न्यायिक पुनस्र्थापना गर्ने प्रतिवद्धता सहित सरकारले हलिया मुक्तीको घोषणा गरेको थियो । मुक्तीको घोषणा भएको ९ बर्ष बित्दा समेत पुनस्र्थापनाको सवालमा खासै प्रगति नभएको भन्दै राष्ट्रिय मुक्त हलिया समाज डोटी र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सोमबार नगरपालिकाका कार्यबहाक मेयर कर्णबहादुर बिष्टलाई ज्ञापन पत्र बुझाएका हुन । 
ज्ञापन पत्रमा २० बर्षपछि भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना सहित मुक्त हलियाको पुनस्र्थापनाका लागि ठोस् योजना बनाउन माग गरिएको छ । “सरकारले बार्षिक योजना संख्या बृद्धि गरि एक बर्षभित्र उच्च प्राथमिकता दिएर पुनस्र्थापना गरिसक्नु पर्छ” ज्ञापन पत्रमा भनिएको छ ‘पुनस्र्थापनाका नाममा सरकार घर जग्गामा मात्रै केन्द्रित छ तर मुक्त हलियाका लागि रोजगारीको सृजना भएको छैन ।’
पुनस्र्थापना कार्यक्रमको रकम बृद्धि गरिनु पर्ने, छुट मुक्त हलियाहरुको लगत लिनु पर्ने, त्रुटीपूर्ण बर्गीकरण तुरुन्त सच्याउनु पर्ने लगायतका मागहरु ज्ञापन पत्र मार्फत गरिएको छ । मुक्त हलिया बसोबास गर्दै आएको जमिनमा उनीहरुकै स्वामित्व कायम गरिनु पर्ने, मुक्त हलियाको पुनस्र्थापनाका लागि बिज्ञहरु सहितको बलियो संयन्त्र स्थापना गर्नु पर्ने र स्थानीय तहबाटै पुनस्र्थापनाका लागि बजेट बिनियोजन हुने व्यवस्था मिलाउनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । 

छोटकरी समाचार 


सामाजिक कार्यकर्ता राख्नुपर्ने

डोटीका स्थानीय तहहरुमा सामाजिक अभियान्ताहरु राखिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
आइतबार डोटीको सिलगढीमा आयोजना भएको महिला अधिकारको बारेमा सार्वजनिक कार्यक्रममा यस्तो बताइएको हो । ग्रामीण महिला बिकास तथा एकता केन्द्र रुडुकले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले महिलाका अधिकारसुनिश्चित गर्न प्रत्येक स्थानीय तहमा सामाजिक कार्यकर्ता राख्नु पर्ने बताए ।
ग्रामीण भेगमा बर्षेनी महिला हिंसाका घटनाहरु बढ्दै गएका छन ।

खेल समाचार 

जनकपुरमा फुटवल क्लिनिक


सेतोपाटी अनलाईनबाट
जनकपुरमा ३ दिवसीय फुटवल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम शुरु भएको छ । 
युवा र प्रहरी तथा सिमान्तकृत समुदाय बीच समन्वय, सहकार्य एवं सहयोग आदान प्रदानलाई अभिवृद्धि गर्ने तथा सिमान्त्तकृत वर्ग र महिलाको न्यायमा सहज पहुँच अभिबृद्धि गर्नका लागि फुटवल क्लिनिक कार्यक्रमको आयोजना गरिएको जानकी महिला जागरण समाज जनकपुरका कार्यकारी निर्देशक राजन नेपालले जानकारी दिए । 
समुदायका विभिन्न वर्ग तथा जातजातीका सहभागितामा जानकी महिला जागरण समाजले आयोजना गरेको यो कार्यक्रमको माध्यमबाट यूवा र प्रहरीबीचको सम्बन्ध सुधार हुने धनुषाका प्रहरी प्रमुख लालमनी आचार्यले बताए ।
कार्यक्रममा प्रहरी, मुस्लीम, दलित, मधेशी, थारु, तेस्रो लिङ्गी,महिला, खेलाडी, बिद्यार्थी नेता, युवाक्लव ,पत्रकार जम्मा १२० जनाको सहभागिता छ । कार्यक्रममा ६० जना यूवा, ४० जना महिला तथा २० जना प्रहरीको सहभागिता छ ।
 यूकेएड र सर्च फर कमन ग्राउण्ड तथा जानकी जागरण महिला समाज जनकपुरको आयोजनामा सुरु भएको कार्यक्रममा सहभागिहरुलाई फुटवल तथा बाहिरी र भित्री खेल खेलाउनका लागि ४ समुहमा विभाजन गरिएको बताइएको छ । खेल जनकपुरको ग्रामिण विकास मुजेलियामा सुरु भएको छ ।

चलचित्र/मनोरञ्जन 

छोराहरुसँग खेल्दा रमाइलो लाग्छः संचिता लुइटेल


एक समयकी चर्चित नायिका हुन, सञ्चिता लुइटेल । केही वर्षको विश्रामपछि पूनः अभिनयमा प्रवेश गरेकी सञ्चिता फेरि अभिनयमा सक्रिय हुने योजनामा छिन् । भगवानप्रति भरोसा राख्ने सञ्चिता असाध्यै थोरै समय फेसबुक चलाउने नायिकाको रुपमा चिनिन्छिन् । उनै नायिकासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः
बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान ६ बजे उठिसकेको हुन्छु ।
उठेपछि के गर्नुहुन्छ ?
नुवाइधुवाई सकेपछि एकछिन पूजा गर्छु तर, धेरै वेर लाग्दैन । त्यसपछि घर नजिकै क्लब छ । त्यहाँ दुई घण्टाजति एक्सरसाइज गर्छु ।
ब्रेकफाष्ट कति बजे ?
ब्रेकफाष्ट त्यस्तै साँढे सात तीर हुन्छ । क्लब जानु छ भने मात्रै हो, नत्र हल्का फलफूल मात्रै लिन्छु ।
फेसबुक कत्तिको चलाउनुहुन्छ ?
एकदमै कम । खै किन हो मलाई फेसबुक चलाउन जाँगरै लाग्दैन । यसो समय हेरेर १० मिनेट जति चलाउँछु ।
तपाईका असाध्यै मिल्ने साथी कति छन् ?
चार जना जति छौं । हामी एक दुई दिनमा भेटेकै हुन्छौं ।
चार मध्ये असाध्यै रिसाहा को छ ?
छ, एकजना । नाम भने नभनौ । अहिले पोखरा गएकाले हामीलाई कुनै तनाब छैन ।
तपाइलाई के गर्दा रमाइलो लाग्छ ?
मलाई बिहानको समयमा एक्सरसाइज गर्दा रमाईलो लाग्छ । साँझपख छोराहरुसँग खेल्दा पनि रमाइलो लाग्छ ।
आजको कार्यक्रम ?
म शिबजीको भक्त हुँ । हाम्रो घर पशुपतिनाथ मन्दिर नजिकै छ, त्यसकारण आज हामी मन्दिर भने जान्नौं । आज अरुको पालो । दिउँसो १२ बजे पण्डित जी आउँछु भन्नु भएको छ । त्यसपछि पूजा हुन्छ । आजको परिकार पुरै भेज हुन्छ । खीर, पुरी, जेरी बनाउँदै छौं । पहिला पहिला शिबरात्रीमा फाष्टिङ हुन्थ्यो, अहिले गुलियो खाइन्छ ।
ज्योतिषलाई हात हेराउनु भएको छ ?
छु । धेरै पटक हेराएकी छु ।
विश्वास लागेर कि अरुको आग्रहले ?
मलाई विश्वास लाग्छ । विश्वास लागेर नै हेराएको हुँ ।

लेख 

के छ बडिमालिका धार्मिकयात्राको विधान ?



रोजेन्द्र जोशी
डोटी जिल्लाबाट बडीमालिका धार्मिक यात्रा गर्ने यात्रुहरुले डोटीबाट पैदल यात्रा गरी डोटीको शैलेश्वरी मन्दिरसम्म पुग्दा १५ दिनको यात्रा तय गर्नु पर्ने हुन्छ । पहिलो दिनमा सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको मठमा रहेको जग्गामा रोपाँई गरे पश्चात भुरडी अर्थात धानको फुल वा पात ल्याई सिलगढीमा राख्नु   पर्छ । सो दिन जिल्ला प्रशासन कार्यालयले पेटारो अर्थात मालिका भगवतीको रथयात्राको तयारी गर्नु पर्ने हुन्छ ।
पहिलो दिन डोटी जिल्ला सदरमुकाम सिलगढीको शिर भागमा रहेको नाट्यश्वरी भगवती मन्दिरमा बास बस्नु पर्ने हुन्छ आज भोली यातायातको सुविधा र नजिकाको बास पर्ने भएकोले सो बासलाई घटाईएको छ । दोस्रो दिन अर्थात श्रावण शुक्ल प्रतिपदा तिथिका दिन विशेष पुजा अर्चना बैधिक मन्त्रले बडिमालिकाको आब्हान गरी मुर्ति स्थापित गरी जिल्ला सदरमुकाम सिलगढीबाट पल्टन सहितको हाकिम (सरकारी कर्मचारी) सहित तीर्थयात्रुहरुको टोलीलाई बिदाई गरिन्छ । आज भोली विभिन्न कारणले गर्दा नेपाली सेना र नेपाल प्रहरीको टुकडीले जिल्ला प्रशासन कार्यालय डोटी र नाट्ेश्वरी मन्दिर सिलगढीमा गरी दुई पटक सलामी दिने चलन रहेको छ । 
त्यस पछिको बास साविक खिरसैन गाविसको फुलौटमा रहेको मन्दिरमा पुजा आरधाना गर्दै बास बस्ने र सो क्षेत्रमा रहेका तत्कालिन मुखिया कटवाले स्थनीय गाँउवासीहरुले सरकारी टोली सहितको पेटारो र साधुसन्तहरुलाई खिर खुवाउनु पर्ने हुन्छ । आजभोली यातायातको सुविधा र मुखिया कट्बाले चलन हटेका      कारण सुविधाका लागि टोली खिरसैन गाविसमा पर्ने साजघाटमा बास बस्ने गर्दछन् । 
फुलौट पछिको बास भीमसेन थापाले अम्मर दिप बालेको स्थान अर्थात् साविक काँडामाण्डौ गाविसमा         रहेको काँडामालिका मन्दिरमा बास बस्नु पर्ने हुन्छ । हाल काँडामाण्डौमा रहेको मालिका मन्दिरको दर्शन गर्ने र सुविधाका लागि काँडामाण्डौ गाविसमा रहेको गाविस कार्यालयमा बास बस्ने चलन रहेको छ । त्यस पछिको बास अछाम जिल्लाको तत्कालिन श्रीपुरगाँउ अर्थात श्रीकोटमा बास बस्नु पर्ने हुन्छ । श्रीकोट पुग्नु अगाबै विहानको खाना अछामको मार्कुमा मार्कुबासीले दिने  तरकारी खाने चिचिण्डा र दहि सहितको खाना खानुपर्ने चलन रहेको भएपनि हाल होटलहरुको व्यवस्थाले गर्दा सो चलन पनि हट्दै गएको छ । 
श्रीकोटको बासपछि नेपालको चार धाम मध्येको एक धाम मानिने अछाम जिल्ला बैधनाथ (बैजनाथ) धाममा पञ्चमी तिथिको दिन विहान पुगी विशेष पुजा आराधना गर्दै बैधीक धार्मिक मन्त्रहरुले मालिका माईको पेटारोलाई पूर्ण रुपमा बाँधी भगवतीको आराधना गर्दै अछाम जिल्लामा सोही बर्षको धानको अक्षता अर्थात चामल सो पेटारोमा सरकारी पुजासंगको पोकोमा राख्ने र बाटोमा नाग सर्प किरा कमिलाले हानी नगरोस् भन्ने मान्यताका साथ नाग देवताको पुजा गरे पश्चात् यात्रा सोही दिन मालिकाका लागि यात्रा तय हुन्छ । बैजनाथबाट हिडेको दिन तीर्थालुहरुको बास अछाम जिल्लाको भडारीगाँउमा हुन्छ । भडारीगाँउमा रहेका स्थानीयबासीहरुले यात्रुहरुको बस्ने खाने प्रबन्ध मिलाउनु पर्ने हुन्छ । 
भडारीगाँउको बसाई पछिको यात्रा अघि बढ्दै जाँदा विहानको ८–९ बजेको समयमा तीर्थालुहरु विमकोट दरवार पुग्छन् । विमकोट दरवारमा रहेको कालिका मन्दिर, विमकोटे राजाको कुल देवता र मालिका माईको पुजा आराधना पश्चात् विमकोटी राजालाई तीर्थालुले खुशी पार्नुपर्ने चलन रहेको छ । विमकोटे राजालाई खुशी नबनाई सो लाटो गाँडो राजाको दर्शन नगरी मालिका माईको दर्शन गर्दा मनले चिताएको फल प्राप्त नहुने मान्यता रहेको छ । यद्यपि हाल नेपालमा राजा रजौटाहरु नरहेको भएपनि विमकोटे राजा आज पनि धार्मिक मान्यता अनुसार जीवित छन् । उनीहरुको राजकाज अहिलेको अबस्थामा पनि रहेको छ भन्न सकिन्छ । सो दिन विकोटे राजालाई खुशी पारी सकेपछि राजाले व्यवस्था गरेको भोजन ग्रहण गरी तीर्थालुहरुको यात्रा अघि बढ्ने गर्दछ । द्धन्द्धकालिन अबस्थामा विककोटी राजाहरु काठमाण्डौतिर विस्तापित भएका कारण खानापिनको व्यवस्था गरिएको हुदैन तर मालिकाको डोर (पेटारो) लाई दर्शन गर्न र तीर्थालुहरुलाई भेट्नका लागि हाल पनि सो दरबारमा राजा वा राजाका सन्तानहरु बस्ने चलन रहेको छ ।
विमकोटे राजाबाट विहानको राजप्रसाद ग्रहण गरे पश्चात् तीर्थालुहरुको यात्रा अघि बढ्दै बाजुरा जिल्लाको जावला भन्ने स्थानका बास बस्नु पर्छ । सो क्षेत्रमा रहेको मन्दिरमा यात्राका क्रममा बाधा अपरोध नआउन् भन्दै विशेष पुजा गरे पश्चात् सो दिनको सोही गाउँमा बास बस्नुपर्दछ । तीर्थालुहरुका लागि गाउँका मानिसहरुले नै खान बस्नको व्यवस्था मिलाउनु पर्ने भएपनि हाल सो मन्दिरका भण्डारीको घरमा बस्ने र भण्डारीको घरमा नै खाना खाने चलन रहेको छ । जावला गाउको बसाईपछिको यात्रा बाजुराको लुवाडुंग्रा भन्ने स्थानका लागि हुन्छ । 
यात्राको क्रममा मानबबस्ती भएको अन्तिम स्थानको रुपमा लुवाडुंग्रालाई दिने गरिन्छ । लुवाडुंग्रापछि मानबबस्तीहरु नभेटिने बाटोमा सानाठूला होटलहरु पनि न भेटिने भएकाले सरकारी पेटारो ३ दिनसम्म लुवाडुंग्रामा नै राखिन्छ । सो क्षेत्रमा राख्दासम्मको अबधिमा लुबाडुग्रांका मानिसहरुले सरकारी टोली तीर्थयात्रुहरुको खान बस्नको प्रबन्ध मिलाउनु पर्ने हुन्छ । पहिले पहिले त्रिपाल लगाई बस्नु पर्ने चलन रहेको भएपनि आजभोली तीन दिनमध्ये अन्तिम एक रातमात्र घरभन्दा बाहिर त्रिपालमा बस्नुपर्ने हुन्छ र अन्य दुई दिन घरमा नै बस्न दिने गरिएको भएपनि खानाको प्रबन्ध टोली आफैंले मिलाउनु पर्ने हुन्छ ।
तीन दिनको अबधिका सोपछिका दिनहरुका लागि लुगा कपडा धुने, माथिल्ला भागमा खानको लागि धुलो भुट्ने, नम्किनहरु बनाउने कसारका डल्लाहरु बनाउने कार्यहरु तीन दिनको बसाईको क्रममा गरिन्छ । लुवाडुंग्राको बसाईपछि आफूले जे वोकेको छ त्यही चिज खानुपर्ने भएकोले पनि त्यसस्थानमा बाँकीका यात्राका लागि पूर्ण तयारी गरिन्छ । लुवाडुंग्राको अन्तिम रातमा धामी बसाउने देउता कमाउने आब्हान गर्ने कार्य गरिन्छ । यात्रामा कहा के कठिनाई हुन्छ कस्तो खालको समस्याको समाधान गर्नु पर्ने हो कुन रुखको लिंगो लग्नु पर्ने हो, बाटोमा यात्रुहरुले के के गर्नुपर्ने हो जस्ता कुराहरु त्यस अन्तिम रातमा धामीले बताउने गर्दछन् भने त्यो मानब बस्तीको अन्तिम रातमा सुदूरपश्चिमको प्रशिद्ध मानिने कला संस्कृतिका रुपमा रहेको देउडा खेल खेली जागराम बस्ने चलन रहेको छ । देवी देवताको आराधना गर्ने विशेष भजन कृतन गर्ने कार्य गरे पश्चात सो को भोली पल्ट तीर्थ यात्रुहरुको टोली मालिकाका लागि यात्रा तय गर्छन् । प्रकृतिक मनोरम दृष्यहरुसंग खेल्दै अनेकौं रंगीचंगी फुलहरुसंग रमाउदै, बाटोमा रहेका हरिया दुवोको फाटँहरुमा मितेरी गाँस्दै यात्रुहरुको त्यो दिनको बास बाजुराको खलेटुप्पामा हुन्छ । 
खलेटुप्पामा रहेको खेले भगवतीको पुजा आराधानसंगै यात्रुहरुले बस्नका लागि त्रिपाल लगाए पश्चात् आकाशबाट पानी वर्षा हुन्छ सोही आकाशको पानी त्रिपालमा थापेर खानु पर्ने हुन्छ भने यात्रुहरुले आफूले बोकेको खाना नै खाने गर्दछन् । खलेटुप्पा पछिको यात्रा अगाडी बढ्छ भने त्यसदिन खेले । चाख भन्ने स्थानमा बास बस्नुपर्ने हुन्छ भने खलेचाख भगवतीको मन्दिरमा पुजा अर्चना गर्नुपर्दछ । खले चाख पछिको यात्रा अघि बढ्दै जादा गहतेमाईको मन्दिरमा बास बस्नु पर्ने हुन्छ । गहतेमाईको पुजा अर्चना गर्नका निमित्त सो क्षेत्रमा गहत नामको दालको विउ छड्नु पर्ने धार्मिक मान्यता रहेको छ । गतेमाई मन्दिरको तीन चोटी परिक्रमा गर्नुपर्ने र परिक्रमाको क्रममा गहत छड्नु पर्ने हुन्छ । 
गतेमाईको पुजा गरे पश्चातको यात्रा मालिकामाईको जयजयकार गर्दै यात्रुहरु अघि बढ्न् भने त्यो गतेमाईको बास पछिको बसाई बाजुरा र जुम्लाको सिमा क्षेत्रमा पर्ने भितेखोलामा बास बस्नु पर्ने हुन्छ । भिते खोलामा रहेको कालिका मन्दिरमा पुजा आरधना गर्नु पर्ने धार्मिक मान्यता रहेको छ । भिते खोला पछिको बास मालिका मन्दिर नजिक रहेको त्रिवेणी धाममा हुने गर्दछ । त्रिवेणी धाम पुग्नु अगावै बाटोमा पर्ने शाही खेतको दर्शन गर्नु पर्ने र शाही खेतमा धानको विउ छड्नु पर्ने धार्मिक मान्यता     रहेको छ । शाही खेतमा धानको बाला पाएमा धनधन्य हुने सन्तान दरसन्तान सम्ममा अन्नको समस्या नपर्ने मान्यता अनुसार यात्रुहरु शाहीखेतको दर्शन संगै धानको बालाको खोजीमा लाग्छन् तर अबवादको रुपमा मात्र धानको वाला पाईने गर्दछ । त्रिबेणी नदिको किनारामा त्रिपाल लगाई बस्नु पर्ने हुन्छ भने सोको दोस्रो दिन पित्तृकार्य गर्नेहरुले नदिको तिरमा श्राद्ध सिदा दक्षिण गर्ने गर्दछन् । धार्मिक मान्यता अनुसार नतरेका पृत्तीहरुको सम्झान गर्ने अस्तुछेवन गर्ने कार्य पनि त्रिबेणी धाममा गरिन्छ । 
त्रिबेणीधाममा त्रियोदशी दिन मेला लाग्दछ सो क्षेत्रमा डोटी गोरखनाथको पेटारो (पैईठ) र जुम्लाबाट आएको चन्दनथानको पेटारो (पैठ) नदीको एउटा बारी र अर्को पारी बस्ने चलन रहेको छ । त्रियोदशीका दिन विहान चन्दननाथ र गोरखनाथको मिलन दुबै क्षेत्र डोटी र जुम्लाका प्रमुख सरकारी कर्मचारीको स्नान तथा पुर्जा अर्चना छत्तस्नानको दर्शन गरे पश्चात सोहि दिन विहान मालिकाका लागी यात्रा तय हुन्छ । त्रिबेणी धाम बाट मालिका पुग्दा दुरीका हिसाबले करिब २ घण्टा लाग्नु पर्ने भए पनि उचाईका कारण अक्सीजन कम भए पछि यात्रुहरुको हिडाईको बेग कम हुने गर्दछ मालिका माईको जयजयकार चन्दननाथ, गोरखनाथको जयजयकार गर्दै यात्रुहरु   खसरेखोलामा पुग्दछन् । खसरेखोलामा त्यहा उपलब्ध माटो ढुंगाको प्रयोग गरि अनेकौ बोट विरुवाहरुको प्रयोममा घर निर्माण गर्नुपर्ने हुन्छ । सो खोलामा घरको आकृति बनाउदा घर परिवारलाई शुखशान्ती हुने घर नभएको मानिसहरुको घर बन्ने धार्मिक विश्वास रहेको छ । खसरेखोलामा बास बस्नु पर्दैन खसरेमा घर बनाई आफुले निर्माण गरेको घरको आकृतिलाई पुजा गरे पश्चात मालिकाका लागी यात्रीहरु अघि बढ्नु पर्ने हुन्छ । त्रियोदशीका दिन तिर्थालु भक्तजनहरुको बास बडी मालिकामाईको बासस्थान भएको मालिका पर्वतमा हुने गर्दछ । मालिका मन्दिर परिसरमा बस्दा सो मन्दिर देखी करिब १.५ घण्टा टाढा रहेको बाईस धाराको पानी बोकी खानु पर्ने हुन्छ । 
कतिपय यात्रुहरुले त्रियोदशीको राती नै पुजा आरधना गरे पनि सरकारी पुजा श्रावण शुक्ल चतुर्दशीका दिन हुने गर्दछ । चतुर्दशीका दिन बैधीक धर्म विधिविधानका आधारमा पुजा आरधाना हुने गर्दछ भने दुई फरकफरक जिल्ला बाट गएको सरकारी पेटारो र पुजालाई विशेष चासोको रुपमा लिने गरिन्छ । सोहि दिन पुजा अर्चना गरि हबनको पुर्ण आहुती भए पश्चात तिलख ग्रहण गरी यात्रुहरु मालिकाबाट फिर्ता हुने गर्दछन् । बडीमालिका मन्दिरको पुजा भएको दिनमा सो क्षेत्रमा बस्न नहुने मान्यता रहेकोले दिनको १२ बजे सम्ममा मालिकामाईको पर्वत पुर्ण रुपमा खाली हुने गर्दछ । डोटी बाट गएको डोर बाजुराको बाटो हुदै फर्कनु पर्छ भने मालिकाबाट फिर्ता भएको दिनको बास बाजुरा जिल्लामा पर्ने नाट्यश्वरी (नेत्रेश्वरी) मन्दिरमा गर्नु पर्छ । जनैपुर्णीमाका दिन नाट्यश्वरी मन्दिरमा सम्पुर्ण यात्रुहरुले पशु नरिवल बलि दिनु पर्ने मान्यता रहेको छ । मालिका दर्शन गरि फर्कदा सो मन्दिरमा बास नबसी बलि नदिएमा मालिका मन्दिरको दर्शन व्यर्थजाने धार्मिकमान्यता रहेको छ । जनैपुर्णीमाका दिन जनै फेर्ने रक्षधागो बाध्ने कार्य पनि सोहि मन्दिरमा हुने गर्दछ । नाट्श्वरीको दर्शन र पुजा आरधना संगै बली दिए पश्चात मालिका धार्मिक मान्यता अनुसार यात्रा पुरा भएको मानिन्छ ।     

मोफसल पत्रकारिता 

भोको र नाङ्गो बस्नु परेको छैन ।


सोनी शर्मा खनिया (उपाध्यक्ष) 
नेपाल पत्रकार महासंघ, तनहुँ
तपार्इंको परिचय पाउँ न ? 
— मेरो नाम सोनी शर्मा खनिया । म नेपाल पत्रकार महासंघ तनहुँको उपाध्यक्ष तथा क्रियाशील पत्रकार महिला तनहुँको अध्यक्ष । नेपाल प्रमुख (हलिवुड खबर डट कम अमेरिका) नेपाल समाचार पत्रमा काम गर्छु ।  
कति समय भयो यस पेशामा लागेको ?
— मैले पत्रकारिता शुरु गरेको १० वर्ष भयो । २०६४ मा दमौली एफएमबाट शुरुमै समाचार बिधामा शुरु गरे । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— पत्रकारिता गर्नेले यस्तो–तेस्तो खालको पत्रकारिता भन्दा पनि हरेक विटमा कलम चलाउन सक्नु पर्छ । मलाई हरेक क्षेत्रका समाचार लेख्न मन पर्छ । मानवधिकार तथा सामाजिक क्षेत्रमा तथा बालअधिकारका क्षेत्र, आर्थिक सामाजिक सबै मेरो प्राथमिकतामा पर्दछ ।
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— पत्रकारितामा पनि धेरै समस्या र चुनौतिहरु छन् । सबै पत्रकारका समस्या साझा छन् धेरै छन् जस्तो लाग्छ मलाई तर पत्रकारिताका समस्या हरेक पत्रकारले भोगेको कुरा   हो । समस्यासंगै समाधान पनि त जोडिएको हुन्छ नि ! होइन र ?
तपाइ त फेरी महिला पत्रकार, महिला भएकै कारण थप दुःख पनि पाउनु भएको छ कि ?
— महिला भएकै कारण थप दुःख भनेको साँझका कार्यक्रममा सहभागिता जनाउन अलि समस्या पर्ने गरेको छन् । जतिनै ठुलो कार्यक्रम भएतापनि महिला भएकै कारण छुट्टिने गरेको छु । फेरी घर र बच्चा पनि नहेरी नहुने । पुरुष पत्रकार भन्दा थप दुःख पाउनु पर्ने कारण पनि महिलाले घर सम्हाल्ने गरेरै होला । बिहानको तातो चिया अनि बेलुका हुने चिसोहरुमा सहभागिता जनाउन भ्याउदिन । 
समस्यै समस्या भएको पेशा किन रोज्न’ भयो त ?
— यो संसारमा कुनै न कुनै समस्या नभएको पेशा सायद छैन होला । तर पनि पत्रकारितामा झन् धेरै समस्या छन् । समस्या बीच मुस्कुराउने पेशा हो यो । तर यो पेशामा आइसकेपछि र भिजिसकेपछि अर्को पेशामा जान सक्दैन कोहि पनि । मलाई यो पेशा चुनौतीका वावजुद पनि मन पर्छ ।  
मोफसलै भएपनि तनहुँ त बिकसित जिल्लाको सूचीमा पर्छ, यहाँको पत्रकारिताको अवस्थालाई कसरी बिश्लेषण गर्नु हुन्छ ?
— पृथ्वी राजमार्गको मुग्लिङ्ग देखि कोत्रेसम्म ७२ किलोमिटर हाइवेले छोएको छ तनहुँलाई । हामीबाट पोखरा ५० किलोमीटर र काठमाण्डौ १५० मात्र टाढा रहेको छ । तनहुँ पत्रकारिताको उर्वर भुमि बन्दै गएको छ पछिल्लो समय । यो दश बर्षको समयमा कुनै पनि सञ्चारमाध्याम बन्द भएका छैनन् । धेरै थोरै जति भएपनि पत्रकारले     पारिश्रमिक नपाएको भेटिएको छैन । एफएम रेडियो, टेलिभिजन दैनिक पत्रिका, साप्ताहिक तथा अनलाइन गरि करिव तिसको हाराहारीमा सञ्चारमाध्यम सञ्चालनमा छन् । यो निक्कै खुशीको कुरा हो । सञ्चारमाध्याम बढ्दा पत्रकारको संख्या पनि बढेको छ ।
मुलधारका सञ्चारकर्मी र मोफसलका सञ्चारकर्मीहरुका समस्या एउटै हुन कि फरक हुन जस्तो लाग्छ तपाईलाई ? 
— नेपालका पत्रकार  सबैका समस्या साझा हुन् पछिल्लो समय मुलधार र मोफसल भन्दा पनि सबैका समस्या उस्तै छन् । राजधानी केन्द्रित मुलधारका पत्रकारले बरु पारश्रमिक नपाएको भन्ने सुनिन्छ तर मोफसलमा त्यो कम छ । यौटामा चित्त नबुझे अर्कोमा जान्छ । तर अन्य समस्या त उस्तै हुन् मोफसलमा नियुक्ति पत्र नदिने प्रमुख समस्या छ । 
तपाई आफै नेपाल पत्रकार महासंघ तनहुँको उपाध्यक्ष हुनुहुन्छ, मोफसलका पत्रकारहरका समस्या समाधानका लागि महासंघले कस्तो भूमिका खेलेको पाउनु भएको छ ? 
— पत्रकार महासंघमा उजुरी आएको अवस्था छैन । महासंघले पत्रकारका साझा समस्या पहिचान गरि समन्वयकारी भूमिका खेल्ने गरेको छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनु हुन्छ ?
— तनहुँमा पत्रकारबीचको सम्बन्ध राम्रो रहेको छ । पत्रकारमाथि समस्या आएमा हामी सबै एक हुन्छौ । हामीले पत्रकारका समस्यालाई साझा समस्या मान्ने गरेका छौं । पत्रकार महासंघको नेतृत्व पनि निर्विरोध चयन भएको हो यस पटक । तनहुँमा युनियन, चौतारी सेन्टर, सोसाइटी सबै छन् । हामी मिलेर पत्रकारका हक हितमा प्रतिबद्द छौं । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— नेपाल सरकारले अव सबै तहमा रहेका पत्रकारलाई ध्यान दिनु पर्छ । पारिश्रमिक, सुरक्षाको प्रत्याभूत समयानुकुल हुने गरि दक्षता अभिबृद्धि गराउन लाग्नु पर्छ । अझै पनि पत्रकारलाई ठुलो रोग लाग्दा आर्थिक संकलन गर्नुपर्ने अवस्था रहेको छ । पत्रकारलाई नाम मात्रको चौथो अंग होइन प्राथमिकातामा राखी मजबुत बनाउनु पर्छ । अव त स्थानीय तहमा पनि जनप्रतिनिधि आइसक्नुभएको छ । पत्रकारका लागि पनि समयानुकुल हुने कार्यक्रम र योजना ल्याउनु जरुरी छ ।   
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एउटा मयार्दित पेशा हो । पत्रकारितालाई मयार्दित बनाउन पत्रकार मयार्दित हुनु जरुरी छ । पत्रकारिता समाजको ऐना हो समाजमा भएका कुराको यथार्थ चित्रण गर्ने महत्पूर्ण माध्यम हो । 
कति कमाउनु भयो पत्रकारितामा लागेर ?
— हाहाहा, कुनै पनि बैंकमा बचत छैन, न त घर घडेरी जोडेको छु तर नाम त धेरै कमाएको छु पत्रकारिता  पेशामा लागेर । करोडौंले किन्न नसक्ने नाम छ मसंग । भोको र नाङ्गो बस्नु परेको छैन । सर्वसाधारणका छोराछोरीले पढेको स्कुलमा पढ्छन् मेरा बच्चाहरु । इमान्दारीपूर्वक लेखेरै पैसा टन्न कमाउने उद्देश्यले त यो पेशामा नआउदा    राम्रो । सबै भन्दा ठुलो आत्मसन्तुष्टि हो ।  
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाई के लाग्छ ? 
— पत्रकारलाई समाजले मयार्दित रुपमा हेरेको हुन्छ त्यसैले साना कमीकमजोरी छिट्टै भाइरल हुने हो । ए ! पत्रकार पनि यस्तो ? भन्नु भनेको समाजले हामीलाई उच्च स्थानमा राखेको छ भन्ने बुझिन्छ । पत्रकारिताको मूल्य मान्यतामा रहने हो भने बद्नाम हुनुपर्ने अवस्था आउदैन । एउटाको गल्तीले समग्र पत्रकारको मर्यादामा प्रश्न उठ्छ । त्यसैले पत्रकारितालाई मयार्दित बनाउन पत्रकार मयार्दित हुन जरुरी छ । केहिले ठुला सपना देख्दा प्रलोभनमा पर्दा र कलम को दुरुपयोगले गर्दा यस्ता कुरा बाहिर आउछन् ।
तपाई त लाग्नु भा छैन होला नि यस्ता कुरामा ?
— म अरुको प्रभावमा होइन आफ्नो स्वभावमा बाँच्ने मान्छे । जे देख्छु तेही लेख्छु काम गरेर खान मन पराउछु । मसंगै पत्रकारितामा आउनेमा सायद म मात्रै हुँ अरुको स्कुटीको पछाडी बस्ने अव तपाइँनै गर्नुस् मेरो मुल्यांकन ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको अधिवेशन भाद्रमा हुँदैछ, के सुझाव दिनुहुन्छ महासंघलाई ?
— नेपाल पत्रकार महासंघमा सबैको नजर परेको हुन्छ । भदौमा हुने अधिबेशनले सबै पत्रकारको हक हितमा लाग्ने मयार्दित र ब्यबसायिक पत्रकारिताको मर्यादा बुझ्ने नेतृत्व चयन हुनु पर्छ । सकेसम्म सबैलाई समेटी निर्विरोध होस् । श्रमजिवि पत्रकारको हक हितमा लाग्नेले नेतृत्व गरोस भन्ने सुझाव हो मेरो । अझै भन्ने हो भने क्रियाशील महिलालाई नेतृत्वमा ल्याउन बढी जोड दिउँ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— १७ पत्रकारितालाई मयार्दित बनाउदै व्यबसायिक पत्रकारितामा जोड दिने हो भने यो पेशा सम्मानित पेशा हो । निश्पक्ष रुपमा चलाएको कलममा ठुलो शक्ति हुन्छ । पत्रका–रितालाइ तपाइले मयार्दित बनाउनुस् तपाईलाई पत्रकारिताले  सम्मानित जीवन दिनेछ ।
समय र बिचारका लागि धन्यबाद ।
— बिम्ब नेपाली साप्ताहिक परिवारप्रति आभारी छु । सम्पूर्ण पाठकवर्गलाई धन्यवाद । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. नेपालको संबिधान (२०७२) को धारा २८६ अनुसार बिक्रम् सम्वत् २०७४ साल साउन ५ गते निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । यस आयोगमा निम्न व्यक्तिहरु रहेका छन् ।
अध्यक्ष ः पूर्वन्यायाधीश कमलनारायण दास
सदस्य ः भूगोलविद् माधव अधिकारी
सदस्य ः समाजशास्त्री डा. विश्वकल्याण पराजुली
सदस्य ः प्रशासनविद् गणेशराज कार्की
सदस्य सचिव ः बेगेन्द्र शर्मा पौडेल
सरकारले आयोगलाई २१ दिनको अवधि दिएर निर्वाचन क्षेत्र निर्धारण गर्न भनेको छ ।
२. नेपालका संबैधानिक अङ्गहरु ः
सुत्र ः अमलो निमा प्राम दस आम थामु !!!
अ = अख्तियार दुरुपयोग अनुसन्धान आयोग
म = महालेखा परीक्षक
लो = लोक सेवा आयोग
नि = निर्वाचन आयोग
मा = राष्ट्रिय मानव अधिकार आयोग
प्रा = राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोग
म = राष्ट्रिय महिला आयोग
द = राष्ट्रिय दलित आयोग
स = समाबेशी आयोग
आ = आदिवासी जनजाति आयोग
म = मधेसी आयोग
था = थारु आयोग
मु = मुस्लिम आयोग
३. स्थानीय तहका जनप्रतिनिधिहरुको संख्या 
नगरपालिकाका मेयर ः २६३ 
नगरपालिकाका उपमेयर ः २६३
गाउँपालिकाका अध्यक्ष ः ४८१ 
गाउँपालिकाका उपाध्यक्ष ः ४८१ 
वडाध्यक्षहरु ः ६६८० 
दलित महिला वडा सदस्य ः ६६८० 
महिला बडा सदस्य ः ६६८० 
वडा सदस्य खुल्ला ः १३३६० 
जम्मा जनप्रतिनिधिहरु ः ३४८८८
४. स्थानीय तहको संख्या 
महानगरपालिका ः ४
उपमहानगरपालिका ः १३ 
नगरपालिका ः २४६ 
गाउँपालिका ः ४८१ 
जम्मा ः ७४४
५. जन्मदाता, आविष्कारक, खोजकर्ता, पिता 
इन्टरनेटका पिता = विन्टन जी. सर्प
मोबाइल फोनका पिता = मार्टिन कूपर
क्लोनिङ्ग = इयान विल्मुट
जीनोम परियोजना = माइकल कार्लिन्स
उपग्रह प्रणाली = आर्थर क्लार्क
विश्वको सात नयाँ आश्चर्य = बर्नार्ड बेबर
इन्टरपोलको संस्थापक = जोहान्न स्क्रेबर
रेड क्रासको संस्थापक = हेनरी ड्यूना
नर्सिङ् व्यवस्था = फ्लोरेन्स नाइटिङ्गेल
स्काउटको संस्थापक = वेडेन पावेल
राष्ट्रसंघको संस्थापक = बुडरो विल्सन
संयुक्त राष्ट्रसंघको संस्थापक = फ्रेंकलिन रूजभेल्ट
ब्रेल लिपि = लुई बेल
ईसाई धर्मगुरू = जिसस् क्राइष्ट
मुस्लिम धर्मगुरू = मोहम्मद पैगम्बर
धर्म सुधारकर्ता = मार्टिन लूथर किङ्ग
पारसी धर्मगुरू = जरथुस्त्र (जोरास्टियन)
जर्मन साम्राज्य = बिस्मार्क

साहित्य/सृजना 

मेरो देश र मेरी आमा

मलाई बचाउ, मलाई बचाउको
आवाजले मलाई निदाउन
दिएको छैन !
आजभोली दिनभरीको
थकाईसङ्गै वोछ्यानमा
बिश्रामको अनुभुती लिन खोज्छु
जब मेराई नएनहरु
निदाउन थाल्छन् !
तब यही आवाजहरुले
पिरोल्छ मलाई बचाउ
मेरो स्नेह छ भने
मेरो इज्जत लुटिएको छ
मेरो भाबना बिखण्डन भएको छ 
अनि मेरो राष्ट्रियता मेटिदै छ !
अनि मेरो झन्डा मासिदै छ
मेरो दश गजा छासिदै छ !
पुर्बपश्चिम उत्तर दक्षिण
घेराबन्दीले छोपिदै छ !
त्यसैले मेरो आक्रमण हुन सक्छ
मेरो घाटी रेटिन सक्छ
भोलीको दिनमा मेरो निर्मम हत्याको
बाब्जुद् नेपाली भन्न पाईन्न !
गाउ गाउ बाट उठ
बस्तीबस्ती बाट उठ
किनारालाई छेकेर उठ
मैले न्याय पाएको छैन !
मलाई दासी बनाउन खोज्दै छन
यिनै शब्दले सोपन सागरमा
चिच्याई रहन्छ !
अनि मेरो बेहोशीको
निन्द्रा अभुत छ
आज भोली मेरो देश मेरी आमा
को सज्ञा गर्न बाध्य भएँ
देश डुबेको छ
जनता भाडिएको छ !
शहीद रोएको छ
नेता बहुलाएको छ
सयौं आमा रोएको छ
हिजोका तिनै बिडम्बना
पखालिएका छैनन् !
कार्ल माक्र्सको सिद्धान्तले
मृत्युहिन धर्ती आमाको बोझ
भित्ता भित्तामा कर्तुत पेन्टिङ
कोरेर अबोध छाती चिरेर
मृत्युको सज्ञा गरेर
चिच्याई रहेको थिए
अरुण तमोर कोशी किनारमा
रक्तिम ज्वारभाटा उर्लदै छन !
मुटुमा छुरा रोपिएरै
कठोर आँटमा को
प्रबाह गर्न बाध्य 
हिजोका धर्ती आजका आमा
सुसाएको कोशी किनारा झै
बगरमै टोलाई रहेको छ !
मेरो देश अनी मेरी आमाले
पुरानो ईतिहास खोज्दैछ  
ज्ञानु स्पन्दन राई 

सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकासित मिति  २०७४/०४/०६
ग्रामीण विकास केन्द्र (आर.डि.सि.) नेपाल डोटी र युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरसंगको संयुक्त साझेदारीमा सञ्चालन भईरहेको “एकिकृत दिगो जिविकोपार्जन परियोजना” को लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट सूचना प्रकासित मितिले ७ (सात) दिनभित्र दरखास्त आव्हन गरिन्छ ।
विज्ञापन नं. ः ००१/२०७४/०७५
१) पद ः परियोजना संयोजक   संख्या ः १ (एक जना)
जिम्मेवारी ः
कार्यक्रमको योजना तथा वजेट व्यवस्थापन गर्न सक्ने ।
कार्यक्रम अनुगमन तथा कार्यान्वयन गर्न सक्ने ।
कार्यक्षेत्र र जिल्लास्तरका सरोकारवालासंग सम्पर्क, समन्वय र सहकार्य गर्न सक्ने ।
परियोजना सम्बन्धी सूचना संकलन, अभिलेखीकरण गरी सम्बन्धित तथा साझेदार निकायलाई प्रतिवेदन गर्ने ।
आवश्यक न्यूनतम योग्यता तथा अनुभव ः
मान्यता प्राप्त शिक्षण संस्थावाट स्नातक तह उत्र्तीण र सामाजिक क्षेत्रमा कम्तिमा २ बर्षको कार्यानुभव भएको, (कृषि बिषयमा ISC Ag., JTA jf JT  पृष्ठभुमी भएकोलाई बिशेष प्राथमिकता दिईनेछ ।)
बिभिन्न तहका सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्न सक्ने ।
कम्प्युटरमा दक्ष (MS-word, Excel & power point ect) ।
नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने सीप भएको ।
सहजीकरण एवं कार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।
दरखास्त पेश गर्ने अन्तिम मिति ः २०७४/०४/१२ (दिउसो ५ः०० वजेसम्म)
परिक्षाको किसिम ः लिखित, अन्तरवार्ता र प्रयोगात्मक ।
सुविधा ः संस्थाको नियमानुसार
पेश गर्नु पर्ने कागजात
निवेदन, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपी, कार्यानुभव प्रमाणपपत्रको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी १÷१ प्रति ।
दरखास्त पेश गर्ने स्थान ः दिपायल सिलगढी नगरपालिका वडा नं ६ नाचनथली सिलगढी डोटी वा यस संस्थाको ईमेल ष्लाय२चमअलउ।यचन।लउ वाट पनि माथी उल्लेखित कागजात सहित दरखास्तपेश गर्न सकिनेछ ।
फोन नम्वर ः ०९४–४२०३४०
ग्राह्यता ः दलित, महिला तथा सम्वन्धित कार्यक्षेत्रको व्यक्तिलाई विशेष ग्राह्यता दिईनेछ ।
नोट ः अन्तर्वार्तामा उपस्थित हुँदा शैक्षिक प्रमाण पत्र, अनुभव तथा तालिमका प्रमाणपत्र र नागरिकताको सक्कल सहित उपस्थित हुनु पर्नेछ । म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौट पश्चात लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षाको मिति निर्धारण गरी प्रारम्भिक छनौटमा परेकालाई मात्र परीक्षामा समावेश गराईनेछ, साथै सम्पूर्ण छनौट अधिकार यस संस्थामा निहीत रहनेछ ।
पदपूर्ति समिति

श्री 
निर्वाचन आयोग नेपाल 
जिल्ला निर्वाचन कार्यालय, डोटी 

मतदाता नामावलीमा नाम दर्ता गर्ने सम्वन्धि अत्यन्त जरुरी सूचना 

आमागी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि यहि मिति २०७४ श्राबण १ गते देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय डोटीमा मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन भईरहेको छ । यस अघि आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाण पत्र लिई आ–आफ्नो स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा आफु स्वयं उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन हुन सम्वन्धित सवै सरोकारवालाहरुलाई जिल्ला निर्वाचन कार्यालय डोटी अनुरोध गर्दछ । 
आयोगबाट यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधिमा जिल्ला निर्वाचन कार्यालय डोटीमा निवेदन बुझाउन सकिनेछ । 
नाम दर्ता भईसकेपछि २०७४ श्रावण १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने कार्यक्रम रहेको  व्यहोरा समेत सर्वसाधारणमा सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

No comments:

Post a Comment