Tuesday, November 7, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ कार्तिक २१ गते मंगलबार ।

कुनै पनि व्यक्तिले जात, जाति र अन्तरजातीय विवाहका आधारमा परिवारका सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने, गाउँ निकाला गर्ने, त्यस्ताबाट जन्मिएका सन्तानको न्वारान नगर्ने जस्ता भेदभावपूर्ण कार्य गर्नु, गराउनु हुँदैन । त्यस्तो कार्य गर्ने व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बमोजिम तीन महिना देखि तीन वर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

ज्यान लेवा ग्रामिण सडक

श्रावण यता कच्ची सडकमा भएका दुर्घटनामा जनाले ज्यान गुमाए

रामहरी ओझा/डोटी
कार्तिक २०
शनिवार डोटीको के आई सिंह गाउपालिका–१ तिखात्तरबाट दिपायल आईरहेको से १ ज २६५ नम्वरको बोलेरो जीप सोही गाउपालिका–३ वासुदेवीको देउरडीमा दुर्घटना चार जनाले ज्यान गुमाए । दुर्घटनामा ३ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भयो । दुर्घटनामा परि गम्भिर घाईते भएका थप दुई जनाको अवस्था पनि गम्भिर छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा गाडीधनी समेत   रहेका चालक के आई सिँह गाउपालिका–१ का ५५ बर्षीय  खेमराज ओझा, आदर्श गाउँपालिका–१ का १९ बर्षीया अनिता खड्का, बोगटान गाउपालिका–६ गगुडा का २५ बर्षीय रोसन ताम्राकार र आदर्श गाउपालिका–१ का शारदा खड्का रहेका छन् ।
चुनावी अभियानका क्रममा डोटीमै रहेका भौतिक पूर्वाधार निर्माण तथा यातायत मन्त्री बिरबहादुर बलायर दुर्घटना लगत्तै घटनास्थल पुगे । उनले सडकको अवस्था राम्रो नभएको प्रतिक्रिया दिए । उनी जस्तै एमाले केन्द्रीय बैकल्पिक सदस्य तथा प्रतिनिधि सभाका लागि प्रत्येक्षतर्फका उम्मेद्वार प्रेमबहादुर आलेमगर लगायत चुनावी दौडमा रहेका अन्य नेताहरु पनि पुगे, सडकको अवस्था राम्रो नभएको बताए ।
डोटीका ग्रामिण कच्ची सडकमा भएको दुर्घटना भने यो पहिलो होईन । साउन यता मात्रै दुई अन्य दुर्घटनामा १२ जनाले ज्यान गुमाईसकेका छन । तर ति दुवै दुर्घटनाका क्रममा न  मन्त्री घटनास्थल पुगे न   नेताहरु ।
साउन २१ गते बोगटान गाउँपालिका–६ गगुडामा  शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको बोलेरो जप दुर्घटना हुँदा नौ जनाको घटना स्थलमै ज्यान गएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका चार जना अहिले पनि उपचारका क्रममा रहेका छन ।
हिन्दुहरुको दोश्रो ठुलो महान चाँड तिहारको रमझममा सवै रमाईरहेका बेला डोटीको ग्रामिण कच्ची सडकमा एक अर्को दुर्घटना भएको खवरले सवैलाई झस्कायो । उल्लासमय बाताव–रणमा तिहार मनाउने योजना सहित किनमेलका लागि बजार गएका आफन्तहरु कात्रो किनेर फर्कनु पर्ने अवस्था आयो ।
बडीकेदार गाउँपालिका–२ खड्यौलीमा यात्रुबहाक बस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको थियो । सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटना हँुदा १८ जना घाईते भएका थिए । घाईतेमध्ये चार जनाको अहिले पनि बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।
गाउँ गाउँमा बिस्तार गरिएका सडक सञ्जालहरु यात्रुहरुको ज्यान लिदैछन् । राजनीतिक पहुँचका आधारमा स्थानीय तह र केन्द्रबाट पावर वजेट ल्याउने, नाम मात्रको उपभोक्ता समिति गठन गर्ने र कुनै प्रकारको सम्भाव्यता अध्ययन, ईष्टिमेट र प्रभाव मुल्याङ्कन  नगरि काटिएका सडकहरु यात्रुहरुलाई मृत्युतिर लगिरहेका छन । मेसिनको प्रयोग गर्ने र मेसिन चालकले जता सजिलो देख्यो उतै उतै बाटो लैजाने गरेका कारण सडकको स्तर खस्किएको छ ।
एकातिर सडकको दुरावस्था अर्कोतिर क्षमताभन्दा बढी यात्रु दुर्घटना निम्त्याउने प्रमुख कारण बनेका छन । ‘क्षमता भन्दा बढी यात्रुहरु नहाल्नु भनेर पटक पटक चालकहरु र सवारी धनीहरुलाई आग्रह गरेका छौं’ ग्रामिण कच्ची सडकमा यातायत सेवा सञ्चालन गरिरहेका शैलेश्वरी सार्वजनिक यातायत व्यवसायी समितिका अध्यक्ष गणेश मलासी भन्छन् ‘जति भन्दा पनि मान्दैनन् ।’
नागरिक समाजका अगुवा एवं अधिवक्ता गोबिन्द जोशी भन्छन् ‘सडक अवैध छन्, सडकमा चल्ने सवारी साधनहरु अबैध रुपमा चलिरहेका छन्, सडक अबैध रुपमा काटिएका छन, अनि दुर्घटना   हुन्छन् ।’ उनले ग्रामिण सडकहरु तोकिएको मापदण्ड पुरा नगरि काटिएका, सडकले परमिट प्राप्त नगरेका र पाँच जना यात्रु मात्रै बोक्ने अनुमति पाएका जीपले धेरै संख्यामा यात्रु बोक्दा यस्ता घटना हुने  गरेको वताए ।
पटक पटक दुर्घटना हुँदा पनि सम्वन्धित पक्षले कुनै चाँसो नदेखाउनु दुर्भाग्यपूर्ण छ । चुनावको बेला भएको दुर्घटनामा आशु बगाउन पुगेका मन्त्री–नेताहरुले आफु पनि गुडेर घटनास्थल पुगेको सडकको अवस्थालाई पनि ध्यान दिनु पर्ने हो कि !

सम्पादकीय

ज्यान लेवा सडक निर्माणका दोषी को हुन ?

डोटीका कच्ची सडकहरु जनताका ज्यान लिईरहेका छन । कच्ची बाटो, चर्को भाडा दर, क्षमता भन्दा बढी यात्रुहरु, त्यसमाथी सामान गर्दा गर्दै जनताले दिनहुँ जसो जोखिमपूर्ण यात्रा त गरिरहेका छन नै, पटक पटक हुने दुर्घटनामा अनाहकमा ज्यान गुमाईरहेका छन र अंगभंग भईरहेका छन । पिडामाथी पिडा थपिदै गईरहेको छ । यस्ता दुर्घटनाका जिम्मेवार को हुन भनेर प्रश्न गर्दा कसैले पनि उत्तर दिँदैन ।
जनताले तिरेको कर तिनै जनताको ज्यान लिने गरि सडक निर्माणका लगाईएको छ । को हो दोषी ? पहिलो दोषी बिना कुनै योजना सडकमा बजेट बिनियोजन गर्ने सरकारी संयन्त्र हो । राजनीतिक नेताहरुको दवावमा यसरी कानुन बिपरित बजेट बिनियोजन गर्नु मुख्य अपराध हो । सडक निर्माणका लागि निश्चित प्रक्रिया छ, बिधि छ र मापदण्ड छ । सस्तो लोकप्रियता कमाउनका लागि वा आफ्नो भोट सुरक्षित गर्नका लागि बिगतमा सर्वदलीय संयन्त्रका नाममा बजेटको ठुलो हिस्सा सडकमा हाल्न लगाईयो । आफ्ना कार्यकर्ताहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाईयो, कमिसनको खेल चलाईयो । सडक काट्नका लागि नियम बिपरित मेसिनको प्रयोग गरियो । मेसिन चालकले जता जता सजिलो देख्यो उतै उतै सडक काट्दै गयो र सडकको अवस्था यस्तो भयो ।
सडकका लागि सम्भाव्यता अध्ययन गरिएन, बातावरणीय प्रभाव मुल्याङ्कन गरिएन । न त्यो सडकको भबिश्यका बारेमा सोचियो । सोचियो त केवल त्यो सडकबाट कति कमिसन आउँदा, कार्यकर्ताहरुलाई कति फाईदा हुन्छ ।
दोश्रो दोषी प्राबिधिक संयन्त्र हो । त्यो सडक कत्तिको दिगो हुन सक्छ, प्राबिधिक रुपमा त्यो सडक गाडी गुडाउन उपयुक्त हुन्छ कि हुँदैन, त्यो सडकमा बनाईएका मोडहरु उपयुक्त छन कि छैनन् भन्ने बिषयमा प्राबिधिकले हेर्नु पर्छ कि पर्दैन ? प्रत्येक योजनामा कमिसन खाने अनि गुणस्तरको वास्ता नगरि योजना पास गर्ने प्राबिधिकहरु अपराधी हुन कि होइनन्, यिनीहरुमाथी ज्यान सम्वन्धि मुद्धा चलाउन पाईन्छ कि पाईदैन ? आलिसान महलको सपनामा जनताको ज्यान जाने गरि यस्ता योजना पास गर्ने दवाव पनि यिनै नेताहरुले दिन्छन् । ति नेताहरुलाई कारवाही हुने कि नहुने ? यिनिहरुमाथी मुद्धा चलाउन पाईने कि नपाईने ?
तेश्रो दोषी स्थानीय प्रशासन हो । मापदण्ड नपुगेको सडकमा, अनुमति नदिइएका सडकमा अनुमति भन्दा बढी यात्रुहरु बोकेर जाने ईजाजत कसले दिएको हो ? स्थानीय प्रशासनले नियन्त्रण गर्नु पर्छ कि पर्दैन ? पाँच सिट स्वीकृत छ भन्ने थाह हुँदाहुँदै १४ जना बोक्ने बैधानिकता कसले दिएको हो ? तिनलाई दोषी मान्ने कि नमान्ने ? तिनीहरु उपर छानबिन गरेर कारवाहीको दायरामा ल्याउने कि नल्याउने ?
सवै कुरा चालकलाई मात्रै दोष दिएर उम्कने हो भने के चालक आफैले हो त सडक काटेको ? या गाडी धनी आफैले हो सडक काटेको ? यदि हिम्मत भए यस बिषयमा खोजी हुनु जरुरी छ । भरखरै बासुदेवीमा चार जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनाको छानबिन गर्नु जरुरी छ । छानबिनका क्रममा सडकका लागि बजेट छुट्याउने देखि गाडी चलाउने अनुमति दिने सवैको खोजी गरिनु पर्छ । ति दोषीहरुबाट दुर्घटनामा परि ज्यान गुमाउनेहरु र घाईतेहरुलाई क्षतिपूर्ति भर्न लगाउनु पर्छ ।
यस्ता सडकहरुको स्तरोन्नति नभएसम्म ग्रामिण कच्ची सडकमा गाडी चलाउन तत्काल बन्द गरियोस । सवै दोषीहरुमाथी कारवाही गरियोस् । अन्यथा यस्ता घटनाहरु फेरी पनि नहोला भन्न सकिने अवस्था छैन । सवैलाई चेतना भया ।  

थप समाचार

“बामगठबन्धन” नभन्न आग्रह

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ७ का लागि समानुपातिक तर्फका उम्मेद्वार मनोज भट्टले वर्तमान एमाले–माओवादी गठबन्धनलाई बाम गठवन्धन नभन्न आग्रह   गरेका छन ।
‘यो बामगठबन्धन होईन, बुर्जवा गठबन्धन हो’ नेता भट्टले भने ‘आफुलाई बामपन्थी हुँ भन्ने आधार एमाले–माओवादीले गुमाईसकेका कारण यसलाई बामगठवन्धन भन्न मिल्दैन ।’ उनले यो गठबन्धनलाई ‘बाम’ गठबन्धन भने राष्ट्रिय जनमोर्चामाथी अन्याय हुने बताउँदै नेता भट्टले भने ‘सञ्चार–कर्मी साथीहरुले पनि हामीलाई लज्जित बनाउने गरि यो शव्द प्रयोग गरिदिनु भएन ।’
नेता भट्टले एमाले–माओवादी गठवन्धनलाई राष्ट्रिय जनमोर्चाले सकारात्मक रुपमा लिएको बताए । उनले भने ‘उहाँहरुको चरित्र पनि मिल्छ, सैद्धान्तिक रुपमा पनि धेरै मतभिन्नता छैन भने किन दुई पार्टी बनाईराख्नु एउटै पार्टी पार्टी बनाए हुन्छ । उनले यो गठबन्धन एकताको तहसम्म पुग्नु पर्ने समेत बताए । ‘यो गठबन्धनको भविश्य प्रचण्डको हातमा छ’ भट्टले भने ‘यदि प्रचण्ड ओलीको बाटोमा हिडे भने गठबन्धन सकारात्मक बाटोमा जानेछ, यदि प्रचण्डले ओलीलाई आफ्नो बाटोमा हिडाउन थाले भने त्यो गठबन्धनका लागि र राष्ट्रका लागि पनि दुर्भाग्य हुनेछ ।’
उनले बाग्लुङ र प्युठान बाहेक अन्य ठाउँमा एमाले–माओवादी गठबन्धनसंग राष्ट्रिय जनमोर्चाको कुनै सम्वन्ध नरहेको बताए । ‘बाग्लुङमा चुनावी तालमेल भएको छ भन्दैमा देशभरी हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने जरुरी छैन’ भट्टको भनाई छ ।
कांग्रेसले बाम गठबन्धनले एकल अधिनायकवाद लागु गर्न खोजेको भनेर लगाएको आरोपमा सत्यता नभएको भट्टले बताए । ‘पहिलो कुरा त एमाले–माओवादीले साम्यबादको वाटो छोडिसकेका छन, दोश्रो कुरा अहिलेको राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिले अधिनायकबाद लागु गर्न सक्ने अवस्था छैन’ राष्ट्रिय जनमोर्चा डोटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले भने ‘यस अवस्थामा गठबन्धनले अधिनायकबाद ल्याउन खोज्यो भनेर    आरोप लगाउनु कांग्रेसकै लागि घाटा  हुनेछ ।’ कांग्रेसले राज्यका हरेक निकायमा अधिनायकबाद लाद्न खोजेका कारण आफुहरुको चुनावी तालमेल कांग्रेससंग हुन नसकेको भट्टले बताए । 
राष्ट्रिय जनमोर्चाको मुख्य चुनावी एजेण्डा राष्ट्रियता र गणतन्त्रको संस्थागत बिकास रहेको भट्टले बताए । यो संबिधान कार्यान्वयन गर्ने पार्टीको पहिलो काम भएको बताउँदै भट्टले भने ‘दोश्रो एजेण्डा समृद्ध नेपाल निर्माण गर्ने हो, त्यसका लागि पार्टीले योजना तयार गर्दैछ ।’
मोर्चाको तर्फबाट प्रतिनिधि सभाका लागि प्रत्येक्षतर्फका उम्मेद्वार बेणीमाधव जोशीले प्रदेश नं. ७ को राजधानी दिपायलमा हुनु पर्ने तर ठुला भनिएका दलहरुले दिपायलमा बनाउन नचाहेको  आरोप लगाए । उनले भने ‘राष्ट्रिय जनमोर्चा राजधानी दिपायल हुनु पर्ने  कुरामा प्रष्ट छ तर ठुला दलहरुले पनि प्रष्ट भईदिनु प¥यो ।
मोर्चाको तर्फवाट प्रदेश सभा सदस्यका लागि डोटी क्षेत्र १ बाट नरेश आले र क्षेत्र २ का लागि मोर्चाका जिल्ला सचिव केशवनाथ योगीले उम्मेदवारी दिएका छन । 
 

कांग्रेसलाई सघाउने भन्दै नयाँ शक्तिद्वारा उम्मेदवारी फिर्ता,

समानुपातिक उम्मेद्वार एमालेमा प्रवेश

नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरुले मंसिर २१ गते हुने निर्वाचन नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई सहयोग गर्ने भन्दै उम्मेद्वारी फिर्ता लिएका छन । नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य समेत रहेका नेता चन्द्रदेव ओझाले प्रतिनिधि सभाका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन । यस्तै जिल्ला संयोजक एवं प्रदेश सभा क्षेत्र क का उम्मेदवार कैलाशसिंह साउँदले पनि कांग्रेसलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन ।
नयाँ शक्तिले उम्मेदवारी फिर्ता लिने र निर्वाचनमा सघाउने बिषयमा दुई पार्टीबिच ११ बुँदे सम्झौता भएको कांग्रेस केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायत मन्त्री बिरबहादुर बलाएर जानकारी दिए । कांग्रेस पार्टी कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्री बलायरले लोकतन्त्रको रक्षाका लागि र जिल्लाको बिकासका लागि चुनावी तालमेल आवश्यक देखिएपछि आफुहरुले यो कदम चालेको बताए ।
नयाँ शक्तिका जिल्ला संयोजक साउँदले जिल्लाको समग्र बिकास र लोतान्त्रिक गठबन्धनको बिजयीका लागि आफुहरु नेपाली कांग्रेसलाई सघाउने निश्कर्षमा पुगेको जानकारी दिए ।
दुई पार्टीका जिल्लास्तरीय समितिका बिच लोकतन्त्रको रक्षा गर्ने, प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्नका लागि दुवै पार्टीले प्रयास गर्ने, जिल्लाको बिद्युत, खानेपानी, सडक लगायतका पूर्वाधारहरुमा बिकासलाई केन्द्रित गर्ने लगायतका ११ बुँदे सम्झौता भएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । सम्झौतामा कांग्रेस डोटीका सभापति प्रदिप देउवा र नयाँ शक्तिका जिल्ला संयोजक साउँदले हस्ताक्षर गरेका छन ।
प्रत्येक्षतर्फ कांग्रेस उम्मेदवारहरुलाई सघाएपनि समानुपातिकतर्फ भने आ–आफ्नै पार्टीका लागि भत माग्ने सहमति भएको कांग्रेस जिल्ला सभापति देउवाले जानकारी दिए ।
उता नयाँ शक्तिको समानुपातिक सूचीमा नाम समावेश भएका नयाँ शक्ति पार्टीका नेता टिकासिंह नेपाली एमालेमा प्रवेश गरेका छन । पहिले एमालेकै कार्यकर्ता रहेका नेपाली नेकपा माओवादी केन्द्र हुँदै नयाँ शक्ति नेपालमा पुगेका थिए । डोटीमा नयाँ शक्ति नेपाल स्थापना हुँदा देखिनै सक्रिय  रहेका नेपाली मुलुकको समृद्धि र राष्ट्रियताको रक्षा बाम गठबन्धनबाट मात्रै सम्भव भएको भन्दै आईतवार एमाले प्रबेश  गरेका हुन । नेपालीलाई एमाले केन्द्रीय बैकल्पिक सदस्य एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादु आलेमगरले टिका लगाएर पार्टीमा स्वागत गरेका हुन । यद्यपी नेपाली नयाँ शक्ति नेपालको तर्फबाट समानुपातिकको बन्द सूचीमा नपरेको नयाँ शक्ति डोटीले जनाएको छ तर नेपाली भने आफु बन्दसूचीमा परेको दावी गर्छन ।

शिक्षा सम्मेलन सम्पन्न

बर्तमान नयाँ संरचनामा शिक्षाको व्यवस्थापन र गुणस्तर सुधारका बिषयमा छलफल गर्दै एक दिने जिल्ला शिक्षा सम्मेलन सोमवार डोटीको सिलगढीमा सम्पन्न भएको छ ।
राज्यको पुनर्संरचनापछि स्थानीय तहलाई शिक्षाका लागि दिईएको अधिकारको बिषयमा छलफल गर्न आयोजना गरिएको सो सम्मेलनमा डोटी जिल्लाको बर्तमान शैक्षिक अवस्था, शिक्षाको क्षेत्रमा देखिएका कमीकमजोरीहरु र समस्याहरुको बिषयमा छलफल गरिएको छ । नेपाल शिक्षक महासंघ डोटीको आयोजना तथा सम बिकास केन्द्र र एक्सन एड ईन्टरनेसनलको साझेदारीमा आयोजना गरिएको उक्त सम्मेलनमा आयोजक संस्थाको तर्फबाट शिक्षक देव बोहरा, जिल्ला शिक्षा कार्यालयको तर्फबाट जिल्ला शिक्षा    अधिकारी अनन्तकुमार पौड्याल, शिक्षाबिद्को तर्फबाट डोटी क्याम्पसका प्राध्यापक तिर्थराज जोशी र नागरिक समाजको तर्फबाट पत्रकार एवं मानवअधिकारकर्मी रामहरी ओझाले आधार पत्र प्रस्तुत गरेका थिए ।
स्थानीय तहका जनप्रतिनिधिहरु समेत सहभागि रहेको उक्त सम्मेलनमा शिक्षा क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि स्थानीय तहहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्नेमा सहभागिहरुले जोड दिएका थिए । स्थानीय तहका प्रमुखहरुको तर्फबाट बोल्दै पूवीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले स्थानीय तहले शिक्षाको क्षेत्रमा गर्नु पर्ने लगानीका लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे । आफुले बिभिन्न बिद्यालयहरुको अनुगमनका क्रममा केही कमी कमजोरीहरु भएको देखेको बताउँदै उनले भने ‘शिक्षकहरुले पनि आफ्नो कर्तव्य के हो भन्ने बिषयमा बुझेर काम गर्नु प¥यो ।’ उनले सवैले आ–आफ्नो पेशाको मर्यादा राख्नु पर्ने बताए ।
सम्मेलनमा भएका छलफलबाट आएको निश्कर्षमा आधारमा डोटी घोषणा पत्र तयार गरिने र उक्त घोषणा पत्र पत्रकार सम्मेलनमार्फत जारी गरिने आयोजना संस्था नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष खड्क खड्काले जानकारी दिए । 

कम्युनिष्टहरु जुट्न पनि जान्दछन ः नेता ओली


नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं समानुपातिकतर्फ प्रदेशसभाका उम्मेद्वार शिवसिंह ओलीले कम्युनिष्टहरु फुट्न मात्रै जान्दछन् भन्ने आरोपको खण्डन गर्नका लागि पनि एमाले र माओवादीबिच गठबन्धन भएको बताएका छन
प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालको संयुक्त आयोजनामा शुक्रवार बिहान भएको पत्रकार सम्मेलनमा नेता ओलीले कम्युनिष्ट पार्टीहरु छुट्टाछुट्टै जनताको बिचमा जाँदा कम्युनिष्टहरु एक हुन नसकेको गुनासो धेरै पटक आएकोले एउटै कम्युनिष्ट केन्द्र बन्नु आवश्यक भएको महसुस गरिएको वताए । ‘एमालेको जनताको बहुदलीय जनबाद र माओवादीको २१ औं सताव्दीको जनबादमा धेरै सामिप्यता छ’ बामगठबन्धन पार्टी एकताको तहसम्म पुग्ने दावी गर्दै नेता ओलीले भने ‘केही मतभेद्हरु छन सैद्धान्तिक रुपमा रहेका छन, तिनलाई छलफलबाट सहमतिमा ल्याईनेछ ।’ नेपाली कांग्रेसलाई बामगठबन्धनबाट डराएर आफ्नो सिद्धान्तप्रति बिचलित नहुन आग्रह गर्दै नेता ओलीले भने ‘कांग्रेस याथास्थितिमा रमाउने पार्टी हो, यथास्थितिमा रहनु बेश हुन्छ ।’ उनले यथास्थितिबाट प्रतिगमन अर्थात ‘सेण्टर टु राईट’ नहुन कांग्रेसलाई आग्रह गरे ।
डोटीबाट प्रतिनिधि सभाका बामगठबन्धनका उम्मेद्वार एमाले केन्द्रीय बैकल्पिक सदस्य प्रेमबहादुर आलेमगरले जनतासंगको लगाव नेताहरुका लागि महत्वपूर्ण हुने वताए । उनले भने ‘मैले २०६४ सालको संबिधानसभाको निर्वाचनमा आफु पराजित भएर पनि जनतासंगको लगाव केहिल्लै टुटाएन, त्यसकारण म २०७० सालको चुनावमा बिजयी भए ।’ २०७० सालमा आफुले जनताका बिचमा गरेका प्रतिवद्धताहरु आफुले आधिकांश पुरा गरेको उनको दावी छ ।
‘जुनसुकै पार्टीको नेताले जिते पनि जनताको सेवामा समर्पित हुने व्यक्ति जित्नु पर्छ’ नेता आलेले भने ‘मैले अखण्ड सुदूरपश्चिम हुनुु पर्ने कुरालाई मैले २०७० सालको मुख्य मुद्धा बनाएको थिएँ, त्यो पुरा भएको छ । अव हामी सवै राजधानी दिपायलका लागि लाग्नु पर्छ ।’ उनले भने ‘ म आफ्ना लागि मत माग्न जनताका बिचमा अन्तीम पटक जाँदै छु, यसपछि म आफु उम्मेदवार भएर जनताका बिचमा नजाने आजै देखि घोषणा गर्दछु ।’ उनले आफु उम्मेदवार नभएपनि जनताको सेवाको लागि र डोटीको बिषयका लागि सधैं प्रतिवद्ध रहने प्रतिवद्धता गरे ।
एमाले डोटीका अध्यक्ष एवं प्रदेश क्षेत्र क का उम्मेद्वार चक्र मल्लले एमाले–माओवादी लगायत कम्युनिष्ट पार्टीहरु एक हुनेमा पार्टी नेतृत्व प्रतिवद्ध रहेको आफुले पाएको बताए । ‘बाम गठबन्धन कसैको अधिकार खोस्नका लागि बनेको होईन’ बामगठबन्धन बिरुद्ध फैलाईएका भ्रमहरुको प्रतिवाद गर्दै मल्लले भने ‘बामगठबन्धन जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि बनेको हो ।’ उनले सैद्धान्तिक रुपमा, नेतृत्वको हिसावले बिगतका क्रियाकलापको हिसावले बामगठबन्धन नै जितको प्रमुख आधार भएको बताए । प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्नु पर्ने बिषयमा आफु प्रतिवद्ध रहेको मल्लले बताए । ‘म राजधानी दिपायल बनाउनका लागि प्रदेश सभाका अन्य सदस्यहरुलाई पनि आकर्षित गर्न सक्छु’ मल्लले भने ‘यदि नेकपा एमालेले पनि प्रदेश नं. ७ को राजधानी दिपायल नहुने बातावरण बनाउनतिर लाग्छ भने त्यसमा मेरो कुनै पनि प्रकारको सम्झौता हुने छैन ।’
कार्यक्रममा प्रदेश सभा क्षेत्र ख का उम्मेदवार त्रिलोचन भट्टले कांग्रेसले कम्युनिष्टहरु एक भएर अधिनायकबाद लागु गर्न खोजेको भन्दै गलत प्रचार गरिरहेको आरोप लगाए । उनले भने ‘यो गठबन्धन कुनै दल बिशेषको बिरुद्धमा होईन, यो जनताको पक्षमा राष्ट्रियताका पक्षमा र अग्रगमनको पक्षमा बनेको हो ।’ उनले डोटी जिल्लाको विकास र प्रगतिका लागि बाम गठबन्धनले जित्नु आवश्यक रहेको भट्टले बताए ।
स्थानीय तहको निर्वाचनमा खसेको मतको आधारमा, बाम गठबन्धनले जनतामा उत्साह जगाएको, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देश बिकासका लागि र राष्ट्रियताका सवालमा गरेका योगदान, जिल्लाको विकासका लागि महत्वपूर्ण योजनाहरु रहेकोले बामगठबन्धनको जित सुनिश्चित भएको एमाले अध्यक्ष मल्लको दावी छ ।
 

संबिधान कार्यान्वयन प्रमुख एजेण्डा ः बलायर

भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री बिरबहादुर बलायरले मंसिरमा हुने निर्वाचनका लागि नेपाली कांगं्रेसको मुख्य चुनावी एजेण्डा संबिधान कार्यान्वन भएको बताएका छन ।
प्रेस युनियन डोटीद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बलायरले नेपाली कांग्रेसको नेतृत्वको सरकार भएका बेला नयाँ संबिधान जारी भएको भन्दै यो संबिधान पूर्ण कार्यान्वयनका लागि पनि कांग्रेसकै सरकार आवश्यक भएका बताए । डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका बलायरले भने ‘संबिधानको पूर्ण कार्यान्वयन भएमात्र लोकतन्त्र संस्थागत हुन्छ, त्यसैले संबिधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसको सरकार आवश्यक छ ।’ उनले बर्तमान राजनीतिक धु्रबीकरणका कारण संबिधान कार्यान्वयनमा बाधा पर्ने आसंका उव्जिएको बताए ।
‘बाम गठबन्धनले देशमा कम्युनिष्ट अधिनायकबाद लागु गर्न खोजेको छ’ बलायरले भने ‘उनीहरुले दुई तिहाई बहुमत ल्याउने, संबिधान संसोधन गर्ने र १० बर्षभित्र साम्यबाद ल्याउने भन्दै हिडेका छन, यदि त्यसो भयो भने देशमा फेरी अर्को अधिनायकबाद लागु हुन्छ ।’ पत्रकारहरुद्वारा राखेको जिज्ञासामा बलायरले आफुहरु बाम गठबन्धनबाट डराएको नभएर जनतालाई सु–सूचित गराएको बताए । उनले यदि कम्युनिष्टहरुले एकल अधिनायकबाद लागु गरे जनताको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नीजि अधिकार सवै कुण्ठित हुने बताए । जित नेपाली कांग्रेसको हुने निश्चित भएको भन्दै बलायरले भने ‘नेता र कार्यकर्ताहरुले हात मिलाउँदैमा जनताले पनि बाम गठबन्धनलाई सहयोग गर्छन भन्ने जरुरी      छैन ।’
मन्त्री बलायरले आफु मन्त्री भईसकेपछि डोटीको बिकासका लागि थुप्रै योजनाहरु निर्माण गरेको बताए । ‘अवको २५ बर्षसम्म नयाँ सडक काट्न आवश्यक नहुने गरि सडक योजना निर्माण गरिएका छन’ बलायरले भने ‘आचार संहिता लागेका कारण अहिले ति योजनाहरु कार्यान्वयनमा आउन नसकेका भएपनि ति सवै प्रक्रियामा गईसकेका छन ।’
कार्यक्रममा डोटी क्षेत्र क बाट प्रदेश सभा सदस्यका उम्मेदवार भरतबहादुर खड्काले नेपाली कांग्रेस र विकास एक(अर्काका परिपुरकका रुपमा रहेको बताउदै यि दुईलाई अगल रुपमा बुझ्न नहुने वताए । उनले डोटी जिल्लामा भएका सम्पूर्ण बिकासका कामहरु नेपाली कांंग्रेसको पालामा भएको दावी गरे । ‘खानेपानी, सडक, सिंचाई, बिद्यालय जति पनि बिकास भएको छ त्यो कांग्रेसको पालामा भएको छ’ खड्काले भने ‘जनताले कांग्रेसको भुमिकालाई राम्रोसंग मुल्याङ्कन गरेका छन ।’
कांग्रेसबाट प्रदेश सभा क्षेत्र ख का उम्मेदवार योगेन्द्र शाहीले यो चुनाव लोकतान्त्रिक व्यवस्था र अधिनायकबाद बिच निर्णायक आन्दोलन भएको बताए । ‘संबिधान कार्यान्वयन गर्ने, लोकतन्त्रको संस्थागत गर्ने र देशमा स्थिरता कायम गर्ने वा देशमा फेरी निरंकुशता लाद्ने भन्ने बारे सचेत नागरिकले सोच्नु पर्छ’ नेता शाहीको भनाई थियो ।
 

छोटकरी समाचार

चुनाव प्रचारमा दलहरु

मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचार प्रसारका लागि दलहरु गाउँगाउँ जान थालेका छन ।
निर्वाचनका लागि आफ्नो पक्षमा माहोल बनाउन दलहरुले चुनावी अभियान सुरु गरेका   छन । नेपाली कांग्रेसले सोमवारदेखि गाउँ अभियान सञ्चालन गरेको छ ।
यस्तै एमाले–माओवादी गठबन्धनले पनि संयुक्त चुनावी अभियानको योजना बनाएको  छ । योजना अनुसार आज मंगलबारदेखि गठबन्धन गाउँ पस्नेछ ।
चुनावी दौडमा रहेका राष्ट्रिय जनमोर्चा लगायतका अन्य दलहरु पनि चुनावी अभियान सुरु गरेका छन । 
 

तिनको उम्मेद्वारी फिर्ता

डोटीमा आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि उम्मेदवारी दिएका तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले दिएको जानका–री अनुसार उम्मेदवारी फिर्ता लिनेहरुमा नयाँ शक्तिको तर्फबाट प्रदेश सभा क्षेत्र क का उम्मेदवारकैलास सिंह साउद, प्रतिनिधि सभाका उम्मेदवार चन्द्रदेव ओझा र संघीय समाजवादी फोरमको तर्फबाट प्रदेश सभा क्षेत्र ख मा उम्मेदवारी दिएका मानबहादुर थापा रहेका छन् ।
नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्ने भएको छ ।
 

खेल समाचार

मेयर कप डाईनामिकलाई

रोजेन्द्र जोशी/सिलगढी
२० कार्तिक
सात दिनसम्म सञ्चालन भएको प्रथम मेयर कप खुल्ला क्रिकेट प्रतियोगीता उपाधी डाईनामिक व्याईज दिपायलले हात पारेको छ ।
डोटी जिल्ला सदरमुकाम सिलगढी स्थित नेपाली सेनाको मतहतमा रहेको टुडिखेलको खेल मैदानमा सञ्चालन भएको मेयर कप क्रिकेट प्रतियोगिताको फाईनल खेल डाईनामिक व्याईज दिपायल र वाई वाई सि सि दिपायल विच भएको थियो । पहिलो व्याटिंग गरेको वाई वाई सि सिले डाईनामिकलाई ६५ रनको तार्गेट दिएको थियो । डाईनेमिकले ४ विकेटको क्षतिमा ८ ओभरमा नै आफ्नो लक्ष्य पुरा गरेको थियो । फाईनल खेल १५ ओभरको खेलाईएको आयोजकले जनाएको छ भने तेडीमाण्डौ थापलाको टिम तेस्रो भएको थियो ।
जम्मा १० ओटा टिमको सहभागीता रहेको प्रतियोगिीा अन्तराष्ट्रिय मापडण्डको नियम अनुसार खेल खेलाईएको थियो । हिजो नै एक कार्यक्रमका विच प्रतियोगिमा प्रथम हुने टिमलाई ३५ हजार दोस्रो २० हजार र तृतीय १० हजार नगद सहित टफि पुरस्कृत गरिएको थियो ।
शैलेश्वरी क्रिकेट कल्वको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा वेष्ट वलरको रुपमा विजय खड्का र वेष्ट व्याट्सम्यानमा तेज मेधासी सम्मानित भएका थिए । त्यस्तै राईजिंग पिलेरको रुपमा आयोजक तर्फका खेलाडी आयुष घले बन्न सफल भएका थिए भने म्यान अफ द सिरिज डिएफओका खेलाडी सन्तोष केशी भएका थिए । डोटी सदर–मुकाम सिलगढीमा उपयुक्त खेल मैदान नभएपनि डोटेली खेलाडीहरुले खेल खेल्ने, खेलाउने गरि रहेको छन् । खेल मैदान खेल सामाग्रीहरु नभएपछि पछिल्लो समय खेलाडीहरु पलायन हुने अबस्था सृजना हुन थालेको आयोजकका अध्यक्ष राजु घलेले बिम्ब साप्ताहिकसंग कुरा गर्दै बताएका छन् ।

यु–१९ मा नेपाली टोली बिजयी

एजेन्सी
मोहम्मद आसिफ शेखले आक्रामक ब्याटिङ गरेपछि एसिसी यु–१९ युथ एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली यु–१९ टोलीले तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको विजय हासिल गरेको छ ।
आसिफ शेखले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाएपछि बंगलादेश क्रिरा शेख प्रोथिस्ठानको क्रिकेट मैदानमा २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
शतक बनाउनबाट १० रनले चुकेका आसिफले अर्का ओपनर जितेन्द्र सिंहसँग पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे । आसिफ ३२.१ ओभरमा शेफ हसनको बलमा एलबिडब्लु आउट भए । त्यसपछि नेपालले लगत्तै दुई विकेट गुमायो । ६ बलपछि नेपालले जितेन्द्रलाई पनि गुमायो । जितेन्द्रले १ सय ९ बलमा ४ चौका र १ छक्कासहित ४५ रन बनाए । त्यपछि अनिलकुमार शाहले पनि लामो इनिङ खेल्न सकेनन् । अनिलकुमार १५ रन बनाएर पवेलियन फर्किंदा कप्तान दीपेन्द्रसिंह ऐरी २५ र भीम सार्की १३ रनमा अविजित रहे । त्यसअघि रोहितकुमार पौडेलले ३ चौकासहित २५ रन बनाए ।
बंगलादेश यु–१९ का रोनी होसैन, काजी एनिक इस्लाम र सैफ हसनको नाममा समान १र१ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेश यु–१९ टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २५ रनको रनको योगफल खडा गरेको थियो । बंगलादेशका लागि अमिनुल इस्लामले अविजित ८० रनको योगदान गरे । मोहम्मद रकिबले ३९, ओपनर पिनक अघोषले २३, रोविउल हकले अविजित २१ तथा शैफ हसनले १७ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका शाहब अलामले ३ तथा अनिलकुमार शाहले २ विकेट लिए । दीपेन्द्रसिंहको नाममा १ विकेट रह्यो । पहिलो खेलमा ३ विकेटको पराजय भोगेको नेपाल दोस्रो खेलमा १ सय २३ रनले     पराजित भएको थियो । बिहीबारबाट मलेसियामा सुरु हुने यु–१९ युथ एसिया कपअन्र्तगत समूह ‘ए’ मा रहेको नेपालले भारत, बंगलादेश र आयोजक मलेसियाविरुद्ध खेल्नेछ ।
आसिफ शेखले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाएपछि २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
 

चलचित्र/मनोरञ्जन

राजधानीमा अमेरिकी नाटक

कान्तिपुर दैनिक
राजधानीका प्रायः थिएटरमा नाटक मञ्चन हुनुअघि नियम सुनाइन्छ– ‘मोबाइल स्विच अफ गर्नुहोला ... खानेकुरा नखानुहोला ... ‘एकआपसमा कुराकानी नगर्नुहोला... ।’
यति बेला भने शिल्पी थिएटरमा अर्को पनि नियम थपिएको छ । हाल मञ्चन भइरहेको नाटक ‘लाइन’ १६ वर्षभन्दा माथिका उमेर समूहले मात्रै हेर्न पाइन्छ । अमेरिकी नाटककार इज्रेइल होरोभित्जले लेखेको ‘लाइन’ नाटकमा यस्ता संवाद र दृश्य छन् जसले साना उमेरका दर्शकलाई नाटक हेर्नबाट वञ्चित तुल्याउँछन् । एडल्ट कन्टेन्ट सहितको यो नाटक झन्डै ४० वर्षअघि अमेरिकामा थुप्रै पटक मञ्चन भएको थियो । संसारभर अहिलेसम्म ३५ भाषामा अनुवाद गरी यस नाटकको मञ्चन भइसकेको छ ।
नेपालमा चाहिँ आकांक्षा कार्कीले अनुवाद तथा निर्देशन गरेकी हुन् । डेढ घण्टा लामो नाटकमा विषयवस्तु सामान्य छ । त्यहाँ कुनै स्टेजको भव्य साजसजावट पनि छैन । मात्रै पाँच जना कलाकार लाइनमा बसेका छन् । र, सबै जनाको पहिलो हुने होडबाजीमै कथा केन्द्रित छ । यो नाटक नेपाली स्टेजमा आउनुको पछाडि निर्देशक आकांक्षाले आफ्नै भोगाइ जोडिएको दाबी गरिन् । ‘सफलताको पछाडि अनेक जुक्ति लगाउने मानिसको भीडमा हामी सबैजना निकै पटक ठोक्किएका हुन्छौं,’ उनले भनिन्, ‘मेरो भोगाइ पनि त्यस्तै हो ।’ अन्ततः नाटकको मूल मर्मले भनेझंै जीवनको सार्थकता शून्यतामा रहेको महसुस गरेपछि नै यो नाटक मञ्चनका लागि छानेको उनले बताइन् ।
नाटक अवधिभर दर्शकले हाँसेरै समय सदुपयोग गर्छन् । कलाकारको अभिनयले कतै न कतै बाँधिराख्न  सघाउँछ । पाँच जनाको भीडमा एक महिला पात्र छिन्, जसले नाटकमा मसला थप्नुका साथै शक्ति के हो भन्ने पाठ सिकाएकी छन् । रविना पात्रको भूमिकामा देखिएकी लुनिभा तुलाधरको रोचक अभिनयले दर्शक तान्छ । अन्य चार पुरुष कलाकार राजकुमार पुडासैनी, सुदाम सिके, सन्देश शाक्य र सरोज अर्यालले पात्रअनुकूल आ–आफ्ना अभिनय क्षमता झल्काएका छन् ।
लाइन केको लागि बसेको ? थाहा छैन । तर, लडाइँ लाइनको अग्रपंक्तिमा बस्न चाहनेहरूबीच छ ।

लेख

“वर्तमान संरचनामा शिक्षाको व्यवस्थापन र गुणस्तर सुधार”

रामहरी ओझा

बिषय प्रवेश ः मुलुक अहिले गम्भिर एवं जटिल संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । नागरिक तथा राजनीतिक अधिकारका लागि करीव ६ दशकसम्मको संघर्षको फलस्वरुप देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । मुलुकको संबैधानिक ईतिहासमा पहिलो पटक नेपाली जनताद्वारा चुनिएका प्रतिनिधिहरुले नयाँ संबिधान जारी भएको छ । संबैधानिक व्यवस्थाका आधारमा नागरिक तथा राजनीतिक अधिकारको लडाई एक तहसम्मको उचाईमा पुगेको छ । अव आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको लागि हाम्रा क्रियाकलापहरु केन्द्रित हुनु पर्ने वेला आएको छ । यद्यपी नागरिक तथा राजनीतिक अधिकारको लडाईमा पूर्ण बिराम लगाउनु पर्ने अवस्था भने आईसकेको छैन । मानव अधिकारका पाँच बिषयबस्तुहरुमा सामाजिक अधिकारलाई पनि महत्वपूर्ण बिषयबस्तुको रुपमा लिने गरिन्छ । जसभित्र शिक्षाको अधिकार पर्दछ ।
नेपालको वर्तमान संबिधानको धारा ३१ ले शिक्षालाई मौलिक हकको रुपमा स्वीकार गरेको छ । आधारभूत    (कक्षा–८ सम्म) निशुल्क तथा अनिवार्य र माध्यामिक तह (कक्षा(१२ सम्म) निशुल्क हुनु पर्ने व्यवस्था गरेको  छ । त्यसैले यो संबैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नु आजको टडकारो आवश्यकता हो ।
संबैधानिक व्यवस्था कार्यान्वयन गर्ने क्रममा मुलुकको शासकीय पुनर्संरचना भएको छ । केन्द्रिकृत एकात्मक शासन व्यवस्थाबाट अव बिकेन्द्रिकृत संघात्मक शासन व्यवस्थामा मुलुक गएको छ । पुनर्संरचनाकै क्रममा अधिकार सम्पन्न स्थानीय तहहरुको व्यवस्था भएको छ । ति स्थानीय तहहरुले आगामी दिनमा गुणस्तरीय शिक्षाको व्यवस्थापनका लागि कस्ता खालका नीति तथा कार्यक्रम लागु गर्नु पर्ला भन्ने बिषयमा यो आलेख तयार गरिएको  छ ।
हाम्रो शिक्षाको वर्तमान अवस्था सरकारले शिक्षामा बर्षेनी ठुलो धनराशी खर्च गर्दै आएको छ । गाउँगाउँमा बिद्यालय खोल्ने, शिक्षकहरु भर्ना गर्ने, शिक्षकहरुलाई तालिम दिने लगायतका कामहरु हुने गरेका छन । नेपालका केही महत्वपूर्ण शैक्षिक सूचनाहरु यस प्रकार रहेका छन । (शैक्षिक सूचना, २०७३)
१.नेपालमा हाल बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालयहरू कुल ३६०९३ रहका छन् । चार वर्ष उमेर समूहको जनसंख्या र बाल विकास केन्द्रमा भर्ना भएका बाल बालिकाको संख्याको आधारमा बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालयको कुल भर्नादर (न्भ्च्) ८२.९ रहको छ, जसमा ८३.१ प्रतिशत छात्रा र ८२.७ प्रतिशत छात्र रहेका छन् । 
२. देशभर कुल ३५२२२ विद्यालयहरू सञ्चालनमा  रहेका छन ।
३. कुल ३५२२२ विद्यालयहरूमध्ये १०६६ विद्यालयहरू धार्मिक विद्यालयका रूपमा (मदरसा, गुम्बा÷बिहार, आश्रम÷गुरुकुल) सञ्चालनमा रहका छन्  । 
४. पूर्व प्राथमिक, प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहमा क्रमशः ९७३४१३, ४१३५२५३, १८५९३५९, ९५८५०२ र ४९२९८४ जना विद्यार्थीहरू अध्ययनरत छन्  ।
शिक्षामा जति लगानी भएको छ, त्यो अनुसारको प्रतिफल प्राप्त हुन नसकेको जन गुनासो छ । शिक्षालयहरुलाई शैक्षिक व्यरोजगार उत्पादन गर्ने उद्योगका रुपमा बुझिएको छ । अर्कोतिर शिक्षा क्षेत्रमा हुने गरेको           राजनीतिकरणले यस क्षेत्रलाई अझ बढी दुर्गन्धित बनाएको छ ।
गुणस्तरीय शिक्षा केलाई मान्ने ?
“शिक्षा भनेको विषयवस्तुको तथ्य जान्नु मात्र नभई रचनात्मक क्षमता वृद्धि गराउने तालिम हो” त्यसैले त्यस्तो खालको कलेज रोज जहाँ सम्बन्धित पाठ्यपुस्तकको ज्ञान हासिल गर्नुमा मात्र सिमित नभई सृजनशीलता पनि वृद्धि गर्न सकियोस् ।” —अल्वर्ट आईस्टाईन ।
अहिले बिभिन्न गोष्ठीहरुमा गुणस्तरीय शिक्षाको बिषयमा व्यापक रुपमा छलफल हुने गरेको छ । सरकारले पनि गुणस्तरीय शिक्षा प्रवद्र्धन भन्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । तर के भयो भने सिकारुले    गुणस्तरीय शिक्षा प्राप्त गरेको मान्ने ? भन्ने बिषयमा शिक्षाबिद्हरुका बिचमा पनि मतऐक्यता रहेको पाईदैन । आफुले सिकेको ज्ञान यदि सिकारुले व्यवहारिक कार्यान्वयनमा ल्याउन सक्यो भने त्यो नै गुणस्तरीय शिक्षा हुनु पर्छ जस्तो लाग्छ । शिक्षाले शिष्ट, सभ्य, शालीन र सुसंस्कृत नागरिक उत्पादन गर्न सक्नु पर्छ । आत्मनिर्भर, स्वावलम्वी, उत्पादनमुखी ज्ञान र जीवनोपयोगी सीप भएका नागरिक उत्पादन गर्न सक्नु पर्छ ।
सरकारले पनि ‘तोकिएको लक्ष्य र उद्देश्य तोकिएको समयमा हासिल गर्नु गुणस्तरी शिक्षा हो’ भन्ने परिभाषा बनाएको छ । तर, अहिले बिद्यार्थीले कति प्रतिशत अंक ल्यायो वा कति प्रतिशत बिद्यार्थीहरु पास भए वा कक्षागत, बिषयगत, तहगत, बिद्यालयगत सिकाई उपलव्धी कति भयो भन्ने कुरालाई गुणस्तरीय शिक्षाको मुल आधार मानिएको छ । त्यो मात्रै होईन अझ अंग्रेजी बोल्न जान्ने, पाठ्यबस्तुहरुलाई घोकेर परीक्षामा हुबुह लेख्न सक्ने भयो भने गुणस्तरीय शिक्षा प्राप्त गरेको मान्ने चलन छ । यस्तै व्यक्ति र शिक्षालयलाई पुरस्कृत गर्ने सरकारी नीति छ । 
शिक्षाको व्यवस्थापन र गुणस्तर सुधारका लागि स्थानीय तहको भूमिका ः राज्यको पुनर्संरचना भईसकेपछिको कानुनी तथा नीतिगत व्यवस्थाले माध्यामिक तह (१२) सम्मको शिक्षा स्थानीय तहलाई जिम्मा दिएको छ । संबिधानको अनुसूची ८ अनुसार माध्यामिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मा सम्वन्धित गाउँ÷नगरपालिकाको हो । यस्तै अनुसूची ९ अनुसार संघ, प्रदेश र स्थानीय तहले शिक्षाको उचित व्यवस्थापनको जिम्मेवारी पाएका छन ।
स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धि आदेश, २०७४ को बुँदा नं. १८ मा गाउँ÷नग–रपालिका क्षेत्रभित्र रहेका बालबिकास केन्द्र, पूर्व प्राथमिक बिद्यालय, आधारभूत तह, माध्यामिक तहका शिक्षण संस्था, स्रोत केन्द्र, अनौपचारिक शिक्षा र सामुदायिक अध्ययन केन्द्रको सुपरिवेक्षण, समन्वय, नियमन र निर्देशन सम्वन्धित स्थानीय तहले गर्ने व्यवस्था गरेको छ ।
यस्तै स्थानीय शासन ऐन, २०७४ अनुसार प्रारम्भिक बाल शिक्षा, बिद्यालय, अनौपचारिक शिक्षा, खुला तथा बैकल्पिक निरन्तर सिकाई, बिशेष शिक्षा सम्वन्धि नीति, कानुन, योजना निर्माण, कार्यान्वयन र नियमन गर्ने, प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन, पाठ्यक्रम तथा पाठ्य सामग्रीको बितरण कार्यान्वयन, शिक्षक तथा कर्मचारीको व्यवस्थापन, बिद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन र नियमन, शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार, आधारभूत तहको परीक्षा व्यवस्थापन, सिकाई उपलव्धीको परीक्षण र व्यवस्थापन, बिद्यार्थी प्रोत्साहन तथा छात्रबृत्ति व्यवस्थापन, शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन, स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रबिधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण, स्थानीय पुस्तकालय तथा बाचनालयको सञ्चालन र व्यवस्थापन, माध्यामिक तहसम्मको शैक्षिक कार्यको समन्वय र नियमन गर्ने जिम्मा दिएको छ । 
कानुनी तथा नीतिगत आधारमा माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन र गुणस्तर सुधारको जिम्मा स्थानीय तहलाई दिइएको हुँदा स्थानीय तहहरु सक्रिय हुनु जरुरी छ । त्यसका लागि
क) व्यवस्थापन ः — गाउँ÷नगरपालिकास्तरीय स्वतन्त्र शिक्षा संगठन स्थापना गर्ने । शिक्षा संगठनमा शिक्षाबिद्, शिक्षाशास्त्री, शिक्षाकर्मी, सामाजिक अभियन्ताहरुलाई सहभागि गराउने ।
— बिद्यालय समायोजन गर्ने, बिद्यालय तह घटाउने÷बढाउने र सामुदायिक आवाशीय बिद्यालयको अवधारणा सरकारीस्तरबाटै लागु गर्ने ।
— हाल सञ्चालनमा रहेका आवाशीय बिद्यालयहरुलाईमा एकरुपता ल्याउनका लागि ठोस् नीति बनाईनु पर्ने । सामुदायिक बिद्यालयमा रहेका आवशीय बिद्यालयमा    भईरहेको व्यापारिकरण बन्द गर्नु पर्ने ।  
— बिद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने योजना तर्जुमा, कार्यान्वयन र नियमन ।
ू— प्रधानाध्यापकको व्यवस्थापन, अभिलेख व्यवस्थापन, परीक्षा प्रणाली व्यवस्थापन ।
ू— वर्तमान स्रोत केन्द्रको संरचना खारेज गरि स्थानीय तहस्तरीय शैक्षिक सूचना तथा स्रोत केन्द्र स्थापना र स्रोतव्यक्तिको आवधिक नियुक्ति ।
— मौजुदा भौतिक पूर्वाधारहरुको अध्ययन, स्तर सुधार, मर्मत, नयाँ संरचना निर्माण
— शिक्षालयमा राजनीतिक हस्तक्षेपको अन्त्य, आवश्यकताको आधारमा शिक्षकहरुको सरुवा ।
— बिद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरुलाई दण्ड तथा पुरस्कारको व्यवस्था ।
— प्राबिधिक तथा व्यवसायिक शिक्षालयहरुको स्थापना ।
ख) गुणस्तर सुधार
शिक्षाको गुणस्तरमा सुधार ल्याउने कुरा त्यति सजिलो छैन । राज्यको तर्फबाट थुप्रै प्रयासहरु भएका छन गुणस्तर सुधार लागि र गैससबाट पनि पहल र प्रयासहरु नभएका होईनन् । तर, शिक्षाकर्मीहरुको लापरवाही हो वा उचित सामग्री, सीप र दक्षताको अभाव हो अहिले पनि गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हुन सकेको अवस्था छैन । अहिले पनि कुन बिद्यालयले कति बिद्यार्थी उत्तीर्ण गर्न सक्यो भन्नेमै हाम्रो गुणस्तर घुमिरहेको अवस्था छ । यसैले यसका लागि पनि ठोस कदम चाल्नु अनिवार्य छ ।
गुणस्तरीय शिक्षाका नाममा अहिले शैक्षिक व्यापार फष्टाएको छ । अझ दुर्भाव्य के छ भने त्यो व्यापारमा सिकारु अर्थात बिद्यार्थीहरु ग्रहाक हुँदैनन् बल्की अभिभावकहरु ग्रहाक हुन्छन् । बिद्यार्थीले कितावको भारी बोक्न सक्छ कि सक्दैन, बिद्यार्थीको रुची घोक्ने छ कि छैन, बिद्यार्थीले त्यसरी रटाएको पाठ आफ्नो व्यवहारिक जीवनमा लागु गर्न सक्छ कि सक्दैन् भन्ने भन्दा पनि आमा बुवाको आर्थिक अवस्था कस्तो छ, त्यो आधारमा बिद्यालय स्थापना गर्ने र शुल्क निर्धारण गर्ने, सोही आधारमा पाठ्य सामग्रीहरु लागु गर्ने अवस्था छ ।
शिक्षाको गुणस्तर सुधारका लागि मुख्यतया तीन कुराहरु आवश्यक छन । पाठ्यक्रमको अन्तरवस्तु, सिकाई पद्धति र मुल्याङ्कन प्रणाली । शिक्षाका अन्तर–बस्तु मुलतः सैद्धान्तिक हुन्छ । अन्तर–बस्तुलाई सिकाउने शैली व्यवहारिक र प्रयोगात्मक हुनु जरुरी छ । त्यसका लागि शिक्षकलाई आवश्यक ज्ञान हुनु पर्छ र सोही अनुसारको शैक्षिक सामग्रीहरुको पनि आवश्यकता पर्दछ । अर्को महत्वपूर्ण    कुरा मुल्याङ्कन पद्धति बिश्वासनीय र बैधानिक हुनु जरुरी छ । त्यसैले गुणस्तर सुधारका लागि निम्न कार्यहरु गर्नु पर्ने देखिन्छ ः
— स्थानीय सामाजिक परिबेश अनुसार स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको निर्माण, कार्यान्वयन र नियमन ।
— प्रत्येक बिद्यालयमा शैक्षिक सामग्रीहरुको व्यवस्था ।
— शिक्षकहरुलाई व्यबहारिक तथा प्रयोगात्मक शिक्षाको ज्ञान ।
— खुला तथा घुम्ती कक्षाको अवधारणा
ू— सिकारुहरुको रुची, क्षमता, कौशल, परीक्षण गरि सो आधारमा शिक्षा दिने व्यवस्था ।
— शिक्षक–बिद्यार्थीहरुको अनुपात र शिक्षक–कक्षा अनुपातको व्यवस्थापन गर्ने
— शिक्षकहरुलाई उचित पारिश्रमिक तथा अन्य सुबिधाहरुको व्यवस्था गर्ने ।
— अभिभावक शिक्षामा जोड दिने । (सम बिकास केन्द्र नेपालको साझेदारीमा शिक्षक महासंघले आयोजना गरेको डोटी जिल्ला शिक्षा सम्मेलनमा प्रस्तुत आधार पत्र ।)
 

चुनाव जुनसुकै होस्, पार्टी हैन व्यक्ति चुनौं ।

मानवी पौडेल
 
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा सयौंको भीड देखिन थालेको एक महिना बढी भयो । चहलपहलमा धेरैजसो कार्यकर्ता आगामी निर्वाचनका लागि जिल्लाबाट सिफा–रिस भएर आएका प्रस्तावित उम्मेदवार छन् । स्थानीयका अनुसार दैनिक दुई हजार जनाभन्दा धेरै कोइराला निवासमा पुगेका हुन्छन् ।
उता प्रधानमन्त्री निवास बालुवाटारमा लाग्ने कांग्रेस कार्यकर्ताको भीड व्यवस्थापनमा सुरक्षाकर्मीलाई हम्मे–हम्मे छ । प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न आएका कार्यकर्ताहरु भित्र छिर्न नपाएको पीडा बोकेर भए पनि हप्तौंदेखि कुदिरहेका छन् ।
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा भने न कोही नेता जान्छन् न कार्यकर्ताकै चासो छ । पार्टी कार्यालयमा केही कर्मचारी बाहेक कोही भेटिन्नन् ।
कोइराला निवास अगाडि भेटिएका रसुवा जिल्लाका एक पुराना कार्यकर्तासँग गत साता सामान्य कुराकानी भएको थियो । उनी भन्दै थिए ‘जिल्लाबाट सिफारिस भएर त आइयो तर, पैसा नभएकालाई टिकट नै      दिन्नन् । दिए पनि पैसा बिना जित्न नै गाह्रो छ । हामी जस्तो जीवनभर राजनीतिलाई समाजसेवा भनेर लागेकाहरू सँग पैसा हुने कुरा भएन र पैसा नहुनेलाई कसैले पत्याउँदा रहेनछन् ।’ उनी एकपटक कांग्रेसकै टिकटमा सांसद चुनाव लडिसकेका व्यक्ति हुन् ।
कोइराला निवासबाट करिब दुई सय मिटर पर एमालेको मुख्यालय छ । मुख्यालयमा बरिष्ठ नेता कोही भेटिँदैनन् । जिल्लाबाट आएका कार्यकर्ता मझौला तहका केन्द्रीय सदस्यहरूसँग आफ्नो दावी र गुनासो कागजको चिर्कटोमा टिपाउँदै फर्किरहेका देखिन्छन् ।
माओवादी केन्द्रको हालत पनि उस्तै छ । लाजिम्पाटस्थित पुष्पकमल दाहाल प्रचण्ड निवास अगाडिको साघुँरो गल्ली कार्यकर्ताकै भीडले धेरै जसो जाम भैरहन्छ । तर माओवादी नेताहरूले पार्टी कार्यालयमा न नियमित छलफल गर्ने सिस्टम बसालेका छन् न कार्यकर्ता नै जान्छन् ।
निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउने अन्तिम साता राजनीतिक दलहरुमा गठजोड र उतारचढाव देखियो । पार्टीहरूको एकीकरण र पार्टी प्रवेश कार्यक्रम तीव्र भए ।
लोकतन्त्रको सुन्दरता चुनाव हो । तर, चुनाव कुनै औपचारिक प्रक्रिया मात्रै हैन । चुनावी प्रक्रियालाई जनताको वास्तविक छनोटको माध्यम बनाउने हो भने पार्टीहरुले जनतालाई पनि पूर्ण अवसर दिनुपर्छ । छनोटका विकल्पहरू नदिई पार्टी नेतृत्वले लादेको उम्मेदवारबीचको प्रतिस्पर्धाले जनताले चाहेको प्रतिनिधि चयन हुन       सक्दैन ।
नेपाल जस्ता मुलुकमा दलहरूले चुनाव केन्द्रित  राजनीति मात्रै गरेका कारण शासन प्रणाली र प्रजातन्त्रिक प्रक्रियाहरु बदनाम हुन थालेका छन् । यदि जनताको मनमा चुनाव र राजनीतिको यस्तै छवि मात्र कायम भए देशको सही नेतृत्व चयनमा कठिनाई देखिन्छ ।
नेताका घर, पार्टी कार्यालय, चिया पसलमा भेला भएका सर्वसाधारण र  कार्यकर्ताहरुको एउटै गुनासो छ, राजनीति भ्रष्ट भयो ।
कुनै पार्टीले टिकट दिने मुख्य आधार उसले चुनावमा गर्न सक्ने आर्थिक र कार्यकर्ता परिचालन बनेको छ । त्यसपछि मात्र पार्टी, राजनीति र सिद्धान्तप्रतिको प्रतिबद्धता हेरिन्छ । व्यक्ति, आचरण, पृष्ठभूमि, योग्यता जस्ता कुरा गणनामै पर्दैनन् ।
यसो भन्दैमा पार्टीहरुमा निष्ठा र इमानको राजनीति गर्नेहरु नभएका होइनन् । यस्तै राजनीतिज्ञका बलमा ती पार्टीको जनाधार टिकेको छ । तै उनीहरु आवाज उठाउन सक्दैनन् । विकृत राजनीतिक परम्पराबिरुद्ध उनीहरुले बेलैमा आवाज उठाइदिएको भए आजको राजनीति जनताप्रति उत्तरदायी हुनेमा दुई मत देखिन्न । अहिले एमालेसहितको वाम गठबन्धन र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन चर्चामा छ । यो गठबन्धन         राजनीतिक स्थिरता र आपसी मेलका लागि नभई चुनावी नतिजा र सत्ताका लागि भएको देखिन्छ ।
पद भागबण्डा गर्ने पार्टीका गतिविधिमा आलोचना भए पनि कुनै पनि सचेत मतदाता र कार्यकर्ताले आवाज उठाएको र विद्रोह गरेको सुनिदैंन । चुनाव लोकतन्त्रको मेरुदण्ड हो भने यसलाई वास्तविक चुनाव बनाउन     जरुरी छ । जनताले आफूले दिएको मतको हिसाब खोज्न पाउने चुनाव आवश्यक छ । एकपटक चुनिएको पार्टीले जे गरे पनि जनताले सहनु पर्ने भन्दा जनताले फिर्ता बोलाउन सक्ने अवस्था हुनुपर्छ ।
विकृत राजनीतिले धमिलिएको व्यवस्था सुधार्ने उपाय चुनावबाहेक अरु केही छैन । चुनाव जसरी पनि जित्नैपर्ने एक सुत्रीय उद्देश्यका साथ लागेका दलहरूलाई पाठ सिकाउने मौका यही हो । दलहरुले राम्रा उम्मेदवार दिन सकेनन् भने कार्यकर्ता र मतदाताले अस्वीकार गर्न सक्नु पर्छ ।
चुनाव प्रतिनिधि सभाको चुनाव होस् वा प्रदेशको, पार्टी हैन व्यक्ति चुनौं ।      —सेतोपाटी अनलाईनबाट
 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी

१. हप्ताको ६ दिन बग्ने र १ दिन नबग्ने नदि “मलआमा” हो ।
२. एउटै नामबाट २ तिर बग्ने नेपालको एकमात्र नदि “राप्ती” हो ।
३. नेपालको सबैभन्दा ठुलो नदि “सप्तकोशी” हो भने सबैभन्दा ठुलो हिमनदि “लाङटाङ” हो ।
४. नेपालको सबैभन्दा लामो नदि “कर्णाली” हो । यसको लम्बाई ५०७ कि.मी रहेको छ भने नेपालको सबैभन्दा लामो हिमनदि “खुम्बु” हो, जसको कुल लम्बाई ३२ कि.मी रहेको छ ।
५. तीन तिरबाट नदिले सिमाना छुट्टाएको जिल्ला “ओखलढुङ्गा” हो ।
६. चीनको मानसरोवरबाट प्रभावित हुँदै आएको नदि “त्रिशुली” हो ।
७. शालिग्राम पाईने एकमात्र नदि “कालीगण्डकी” हो ।
८. महाकाली नदिलाई भारतमा पुगेपछि “शारदा” नदिको नामद्वारा चिनिन्छ ।
९. सबैभन्दा अग्लो स्थानबाट बग्ने नदि “अरुण” हो ।
धरातलको आधारमा नेपालको वर्गीकरण
१. धरातलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ? – ३, (हिमाल,पहाड र     तराई)
२. हिमाली प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ?
– ४८७७ देखि ८८४८ मिटरसम्म
३. हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ? — १५ प्रतिशत
४. हिमाली प्रदेशमा कति जिल्ला पर्दछन ? — १६ जिल्ला
५. हिमाली प्रदेशलाई कुन कुन ३ भागमा विभाजन गर्न सकिन्छ ?
– मुख्य हिमालय, भित्री हिमालय र सिमान्त हिमालय
६. पहाडी प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ? – ६१०—४८७७ मिटरसम्म
७. पहाडी प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?  — ६८ प्रतिशत
८. पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?  — ३९ जिल्ला
९. पहाडी प्रदेशलाई कुन कुन ३ भागमा विभाजन गर्न सकिन्छ ?  
— सिवालिक श्रेणी, महाभारत पर्वत र मध्यभूमि
१०. तराई प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ?   — ७०—६१० मीटर
११. तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?  — १७ प्रतिशत
१२. तराई प्रदेशको फैलावट कति छ ?  — २५देखि ३० किलोमिटरसम्म
विश्व किर्तिमानमा नेपाल
१. विश्वको सर्वोच्च शिखर ः सगरमाथा (८८४८ मिटर)
२. विश्वको सर्वोच्च उचाइको धानखेती ः जुम्ला जिल्लाको पतरासी गाविसको घुमचौर जिउलोमा गरिने “जुम्लि मार्सी” नामको धानखेती (२८५० मिटर उचाइ)
३. विश्वको सर्वाधिक गहिरो गल्छी ः म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पर्ने अन्नपुर्ण र धौलागिरी हिमालको बिचमा कालीगण्डकी नदीले बनाएको ६८६७ मिटर गहिरो गल्छी
४. विश्वको सर्वोच्च स्थानमा रहेको ताल ः
— मनाङ जिल्लाको तिलिचो ताल (४९१९ मिटर उचाइ)
५. होचो उपत्यका ः अरुण उपत्यका (पूर्वमा ८५८६ मिटर अग्लो कञ्चनजंघा र पश्चिममा ८८४८ मिटर अग्लो सगरमाथाको बीचमा पर्ने उपत्यका)
६. विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज ः सगरमाथा राष्ट्रिय निकुञ्ज
७. अद्वितीय चरा ः काँडे भ्याकुर (स्पाइनी ब्याबलर)
८. दुर्लभ च्याउ ः ट्रयाफिना नेपालेन्सिस
९. सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी ः अरुण नदी
१०. सर्वोच्च स्थानमा रहेको झरना ः
—डोल्पा जिल्लास्थित सुलिगढ झरना (३६१३ मिटर उचाइमा)
११. सर्वोच्च स्थानमा रहेको बस्ती ः डोल्पा जिल्लाको छार्का भोट र तराप बस्ती
१२. सर्वोच्च स्थानमा रहेको होटल ः सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित १२७१३ फिट उचाइमा रहेको “होटल एभरेष्ट भ्यु”
१३. विश्वको सर्वोच्च स्थानमा रहेको वैज्ञानिक प्रयोगशाला ः पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको ५०५० मिटरको उचाइमा रहेको पिरामिड नामक वैज्ञानिक प्रयोगशाला
१४. विश्वको सर्वाधिक उचाइमा पाइने फूल ः स्टेलरिया डेकुम्बेन (६४९२ मिटरको उचाइमा)
१५. नेपालको कूल छेत्रफल १४७१८१ वर्ग किलोमिटर छ ।
१६. नेपालले विश्वको कूल क्षेत्रफलको ०.०३ र एसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ ।
१७. नेपाल ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर तथा २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशबीच अवस्थित छ ।
१८. नेपालको औसत लम्बाई ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर छ । यसको सबभन्दा बढी चौडाई २४१ किलोमिटर र सबभन्दा कम चौडाई १४५ किलोमिटर छ ।
१९. नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर     रेखाका आधारमा निर्धारण गरिएको छ ।
२०. यो प्रामाणिक समय ग्रिनवीच समय भन्दा ५ घण्टा २४ मिनेट छिटो छ । यो समय २०४२ वैशाख १ देखि लागू गरिएको हो ।
 

साहित्य/सृजना

“परेवा”

शान्तिको प्रतिक मानिने परेवा
हिजोआज कता कता
शान्ति देखि नै
अशान्त भैरहेका छन
देवादी देव मानिने महादेवका मन्दिरका सामुन्ने नै
ती
गगन चुम्ने रहरका साथ
स्वतन्त्र भएर बिचरण गर्न खोज्ने
परेवाका पखेटा नै काटिदैछन
कसैले,
केवल आफ्नो नीजिगत स्वार्थका निम्ति
शान्तिका अग्रदुत परेवालाइ
कैद गर्न खोज्दैछन
तर पनि
ती मन्दिरभित्र गद्दीमा बिराजमान महदेव
आँखा बन्द गरेर बसिरहेका छन
सायद, ध्यानमा लिन भएर होला
उनलाई, ध्यान नभएको
हे देवादी देव
महादेव
जाग अब
होसमा आउ अब
हैन भने
तिमिलाइ महादेव बन्ने कुनै अधिकार छैन
आफ्नै आखाको सामुन्ने अनर्थ हुदा सम्म नि
यदि तिमी मुर्ती नै भएर बस्छौ भने
तिमीप्रतिको आस्था अनि भक्ति
डगमगाउने छ
जोगाउ आफ्नो महादेव पदको इज्जत

बचाउ ती शान्तिका प्रतिक परेवालाइ
पुष्पा जोशी ‘काली’
धनगढी, कैलाली

 

सूचना/सन्देश/बिज्ञापन

हार्दिक समवेदना

आत्मीय मित्र प्रविन श्रेष्ठ र भाई प्रदिन श्रेष्ठका पुजनीय बुबा हरिओम श्रेष्ठको हिजो सोमवार अल्पआयुमा स्वर्गवास भएको खबरले अत्यन्त मर्माहित बनाएको छ । यस दुखको घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्दछु । 
रोजेन्द्र जोशी
दि सि न पा ६, डोटी
 

श्री जिल्ला प्रशासन कार्यालय डोटीको सूचना

आगामी मिति २०७४ मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि शान्ति सुव्यवस्था कायम गर्न देहाय बमोजिमको व्यवस्था गरिएकाले सर्व साधारण सवैको जानकारीको लागि यो सूचना प्रकाशित  गरिएको छ ।
१. सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानून बकोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको बिष्फोटन पदार्थ वा रसायनिक बिषालु पदार्थ वा लाठी, खुकुरी, बन्दुक, त्यस्तो प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पूर्णतया निषेध गरिएको छ ।
२. कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधीभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा मिति २०७४/०७/२५ गतेभित्र बुझाउन हुन अनुरोध छ 
३. निर्वाचन अबधीभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री बितरण कार्यमा पूर्ण वन्देश लगाईएको छ ।
४. यदि कोही कसैले माथी उल्लेखित कार्यहरु गरे÷गराएको पाईएमा कानून बमोजिम कारवाही हुनेछ ।
 
                                                                     नेपाल सरकार

कृषि विकास मन्त्रालय
व्यवसायिक कृषि तथा व्यापार आयोजना
आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालय
दिपायल डोटी

सूचना ! सूचा !! सूचना !!! 

यस कार्यालयसंग सम्झौता गरि लघु अनुदान कार्यक्रम सञ्चालन गरेका कृषक समूह, सहकारी संस्था तथा नीजि फर्महरुले भुक्तानीका लागि आवश्यक कागजात र कार्य सम्पन्न प्रतिवेदन सहित मिति २०७४ कार्तिक मसान्तसम्ममा यस कार्यालयमा सम्पर्क राख्न हुन जानकारी गराईन्छ । समयभित्र सो नभएमा अनुदानग्राही स्वयं जिम्मेवार हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी  गराईन्छ ।
 

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।

सुशासनका विशेषताहरु
संयुक्त राष्ट्रसंघले सुशासनलाई एउटा ‘असल शुसान प्रणाली’ का रुपमा परिभाषित गर्दै त्यस्तो शासन प्रणालीका निम्न बमोजिम विशेषताहरु हुनु पर्ने कुरा अघि सारेको छ ः
सहभागिता ः निर्णय प्रक्रियामा वृहत नागरिक सहभागितालाई प्रोत्साहन गर्ने
सहमतिमूखी ः व्यापक सहमतिमा आधारित भएर निर्णयमा पुग्न प्रयत्न गर्ने
पारदर्शी ः निर्णय प्रक्रियामा सबै खाले जाँचबुचका लागि खुल्ला रहने
जवाफदेही ः नागरिकहरुका आवश्यकतालाई सुन्ने र सम्बोधन गर्ने
प्रभावकारी एवम् कुशल ः सरल, सहज र सुलभ ढंगले आधारभूत वस्तु तथा सेवाहरुको प्रभाव गर्ने
समतामूलक एवम् समावेशी ः जनसख्याको कुनै पनि (खासगरी कमजोर तथा सिमान्तकृत) क्षेत्रलाई बञ्चित नगर्ने
सुशासन किन आवश्यक पर्छ ?
आजको विश्वमा सुशासनको महत्व र उपादेयतालाई सामाजिक, आर्थिक, राजनैतिक, नैतिक र व्यवस्थापकीय दृष्टिकोणले मूल्याकंन गर्न सकिन्छ । यसमा मुख्यतया देहायका उपादेयता पर्दछन् ।
— कानुनी राज्यको पालना र विधिको शासनको स्थापना गर्न
— पारदार्शीता र जवाफदेहिताको प्रवद्र्धन गर्न
— भ्रष्टाचार र अनुशासनहिनताको रोकथाम र नियन्त्रणलाई प्रभावकारी तुल्याउन
— मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्न
— सार्वजनिक सेवामाथि नागरिक अधिकारको सुनिश्चितता हासिल गर्न
— जनसहभागिता प्रवद्र्धन गर्न
— जनमुखी र सक्षम प्रशासनयन्त्रको स्थापना गर्न
— नागरिक समाजको विकास र सहकार्य परिचालन गर्न आदि ।
सुशासन र आर्थिक पारदर्शिता ः
आर्थिक र सामाजिक विकासका लागि पारदर्शिता महत्वपूर्ण हुन्छ । पारदर्शिताले लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्न, लगानीको वातावरण बनाउन, राज्यको कर प्रशासनलाई पारदर्शी, चुस्त र परिपक्व तथा मुलुकभित्र हुने आयव्यय चुस्त बनाउन सहयोग गर्छ ।
भरपर्दो वित्तीय प्रणाली, प्रभावकारी लेखापरीक्षण, नियामक निकायहरूबीच तालमेल र जनप्रतिनिधिहरू आफ्ना मतदाताप्रति उत्तरदायी हुने हो भने पारदर्शी     राज्य व्यवस्थाको प्रभावकारी अभ्यास गर्न सकिन्छ ।
देशको आर्थिक विकासको मुख्य चुनौती भनेको भ्रष्टाचार र करछली हो । हाम्रो मुलुकमा सुशासन र पारदर्शिताका लागि राजनीतिक दलहरूको आर्थिक स्रोतको सार्वजनिक, स्पष्ट कर कानुन र करदातामैत्री कर प्रशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रभावकारी नियमन, कालोधन नियन्त्रण, सम्पत्ति शुद्धीकरणलगायतका आधारभूत कार्य सरकारी तवरबाट गर्नु जरुरी देखिन्छ ।
सुशासन र आर्थिक पारदर्शिताका लागि नीतिगत तहमा जनप्रतिनिधिहरू तयार हुनुपर्छ भने कार्यान्वयनको तहमा प्रभावकारी बनाउने जिम्मेवारी त नागरिककै हो । प्रत्येक नागरिकले आफ्नो जनप्रतिनिधिलाई उत्तरदायी, मितव्ययी र पारदर्शी हुन सचेत बनाउनुपर्छ ।
वैधानिक र कानुनी बाटोबाटै आयआर्जन गर्न सकिन्छ भन्ने कुरा आमजनतालाई स्पष्ट बुझाउन सक्नुपर्छ ।

No comments:

Post a Comment