Tuesday, November 21, 2017

बिम्ब नेपाली साप्ताहिकऽ २०७४ साल म‌सिर ५ गते म‌गलबार

गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार, अशिक्षा, जातीय भेदभाव हाम्रा शत्रु हुन् । यसका विरूद्ध सबै सचेत, सजग र क्रियाशील रहनु पर्दछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

श्रावण यता सवारी दुर्घटनामा ५८ ले ज्यान गुमाए

गएको चार महिनामा प्रदेश नं. ७ क्षेत्रमा भएका   सवारी दुर्घटनामा परि ५८ जनाले ज्यान गुमाएका छन । 

ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलालीले दिएको जानकारी अनुसार श्रावण देखि कार्तिकसम्म भएका साना ठुला ७३ सवारी दुर्घटनामा १५ महिला र ४३ पुरुषको ज्यान गएको हो । सडक दुर्घटनामा परि कार्तिकमा सवैभन्दा बढीको मृत्यु भएको छ । कार्तिकमा नौ महिला र १४ पुरुष गरि २३ जनाले ज्यान गुमाएका छन । यस महिला साना ठुला ३१ घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यि दुर्घटनामा १८ पुरुष र पाँच महिला गरि २३ जना गम्भिर र १४ पुरुष र तीन महिला गरि १७ जना गम्भिर घाईते भएका छन । 

यस्तै श्रावण महिनामा भएका १९ दुर्घटनामा २१ को मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र १९ पुरुष रहेका छन । श्रावणमा भएका सवारी दुर्घटनामा १० पुरुष गम्भिर घाईते भएका छन भने तीन महिला र नौ पुरुष गरि १२ जना सामान्य घाईते भएका छन । असोज महिनामा भएका १६ साना ठुला दुर्घटनामा तीन महिला र सात पुरुष गरि १० जनाले ज्यान गुमाउनु परेको छ । असोजमा १० पुरुष र ४ महिला गरि १४ जना गम्भिर घाईते भएका छन । यस्तै १२ महिला र ३६ पुरुष गरि ४८ सामान्य घाईते भएका छन । 
तुलनात्मक रुपमा यस क्षेत्रमा भाद्र महिनामा कम सवारी दुर्घटना भएको तथ्याङ्कले देखाएका छ । यस महिनामा भएका सात साना ठुला सवारी दुर्घटनामा एक महिला र तीन पुरुष गरि चार जनाको ज्यान गएको छ । दुई महिला र पाँच पुरुष गरि सात जना गम्भिर र १२ महिला १५ पुरुष गरि २७ सामान्य घाईते भएका छन । 
दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा तीन बालक र एक बालिका समेत रहेका छन । यस अवधीमा सवैभन्दा बढी ३३ मोटरसाईकल दुर्घटना भएका छन । यसैगरी १३ यात्रुबहाक बस र ११ जीप दुर्घटना भएका छन । 
बिगत तीन बर्षको तथ्याङ्क हेर्दा यस क्षेत्रमा सवारी दुर्घटनामै परि चार सयले ज्यान गुमाएका छन । तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७१/०७२ मा एक सय ४७, ०७२/०७३ मा एक सय २१ र ०७३/०७४ मा एक सय १३२ जनाले ज्यान गुमाएका छन । यस्तै आव ०७१/०७२ मा एक सय ५३, ०७२÷०७३ मा एक सय २७ र ०७३÷०७४ मा दुई सय ६ गरि चार सय ८६ जना गम्भिर घाईते भएका छन । 
चालु आर्थिक बर्षको पहिलो चौमासिकमा दुर्घटनामा परि ज्यान गुमाउनेहरुको संख्या हेर्दा बिगत तीन बर्षको तुलनामा यस बर्ष बढीको ज्यान जाने देखिन्छ ।  
सडकको अवस्था राम्रो नभएको र चालकको लापरवाहीका कारण अधिकांश घटनाहरु हुने गरेका छन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिबहादुर सिंह भन्छन् ‘पहाडको बाटोमा तिब्र गतिमा सवारी साधन हाकी–रहेका हुन्छन्, मोडमा नियन्त्रण गर्न नसक्दा कि त बिपरित दिशाँबाट आईरहेको साधनसंग ठोकिन्छन् कि तल खस्छन् ।’ मदिरा सेवन गरेर गाडी चलाउने, क्षमता भन्दा बढी यात्रुहरु बोक्ने, सहचालकले गाडी चलाउने जस्ता कारणहरुले पनि दुर्घटना हुने गरेको सिंहले बताए । उनी भन्छन् ‘सडकको अवस्था पनि राम्रो छैन्, अधिकांश कच्ची सडकहरु मापदण्ड बिपरित बनेको छन, त्यसमा सवारी चलाउँदा दुर्घटना हुने गर्छ ।’ 
ट्राफिक नियमको पालना नहुँदा सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक टेकबहादुर जोरा बताउँछन ।

सम्पादकीय

शान्ति सुरक्षा कायम गर ।

निर्वाचनको मिति नजिकिदैछ, गाउँ गाउँ चुनावमय भएका छन । राजनीतिक दलका झण्डाहरु, पोष्टर–पम्पलेटले गाउँ–शहर सजाईदैछन । गाउँगाउँमा, शहरशहरमा मायकमा बिभिन्न राजनीतिक दलका पक्षमा नाराहरु, गीतहरु घन्किएका छन । जनताको तहसम्म नपुगेको भएपनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको बिचमा एक प्रकारको उल्लास, उत्साह र आक्रोस देखिन्छ । किन कि अव निर्वाचन आउन धेरै समय छैन । 
नयाँ संबिधान अनुसार संघीय र प्रादेशिक व्यवस्थापिकाका लागि यही मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्नका लागि बिभिन्न क्रियाकलापहरु गर्दै आएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ, मत पत्र छपाईको कार्य भएको छ । कर्मचारी खटाउने, निर्वाचन सामग्रीहरु मतदान सामग्रीहरु तयार गर्ने कार्यमा निर्वाचन आयोगले आफुलाई व्यस्त वनाएको छ । सायद निर्वाचन आयोगल आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्नमा कुनै कमी छोडेको छैन । 
तर, के निर्वाचनको माहौल शान्तिपूर्ण छ त ? के भयरहित ढंङ्गले मतदाताले मतदान स्थलसम्म पुग्न सक्छन त ? के मतदान गरेर सकुशल आफ्नो घरसम्म पुग्न सक्छन त ? अहिलेको अवस्था हेर्दा त्यो वातावरण होला जस्तो लाग्दैन । राजनीतिक दलका नेताहरु, उम्मेदवारहरुलाई लक्षित गरि दिनहुँ जसो बम पड्काउने एउटा समूह छ, त्यो समूह त निर्वाचनको शान्ति सुरक्षा खल्वल्याउनका लागि आफैमा समस्या हो नै । त्यसको साथसाथै सामाजिक सञ्जालमा जे जस्ता अभिव्यक्तिहरु आईरहेका छन, ति अभिव्यक्तिहरुले पनि नेपाली जनतालाई मतदाता बन्नमा असुरक्षित गरिरहेको छ । एकातिर राजनीतिक दलहरुका व्यवहारले निर्वाचनप्रति बितृस्तित भईसकेका मतदाताहरु त्यसै पनि मतदान गर्न जाने कि नजाने भन्नेमा थिए भने अव ठाउँ ठाउँमा बम पड्किने, बुथ कव्जा गर्ने जस्ता कार्य हुने हल्ला आए उनीहरु घरबाट बाहिर पनि ननिस्कन सक्छन ।  
६४ जनाको मन्त्रीपरिषद् हुँदा सम्म पनि एक जना गृहमन्त्री हुने लायक नदेख्ने शेरबहादुर देउवाले आफैले पनि किन उक्त मन्त्रालय हाँक्न सकेनन् । उनीसंग त करवी करीव साँढे तीन बर्ष गृहमन्त्रालय हाँकेको अनुभव छ । उनी गृहमन्त्री भएकै बेला २०५१ सालको मध्यावधी निर्वाचन पनि भएको थियो । उनलाई त निर्वाचन सुरक्षा सम्वन्धि राम्रो अनुभव हुनु पर्ने हो । यद्यपी आफै प्रधानमन्त्री भएर निर्वाचन गराउने अवसर भने देउवाका लागि यो पहिलो हो, भलै उनले स्थानीय तहको निर्वाचन गराए । 
आफु शान्ति सुरक्षा कायम गर्नका लागि सक्षम छैनन् भने आफ्नो मन्त्रीमण्डलमा सक्षम व्यक्ति खोज्नु पर्ने हो । यदि त्यहाँ पनि सक्षम व्यक्ति छैनन् भने ६४ को ठाउँमा ६५ नै किन नहोस एक सक्षम व्यक्ति बाहिरबाट लगेर गृहमन्त्री बनाउँदा पनि हुने थियो । किन देउवाले त्यो चाहीरहेका छैनन् । कतै असुरक्षित बातावरणमा अलि बढीनै खेल्न पाईन्छ भन्ने दाउ त हैन ? 
१३ जिल्ला पूर्ण रुपमा असुरक्षित भईसकेको बिभिन्न सञ्चारमाध्यमले देखाउँदैछ तर सरकार भने अहिले पनि मुकदर्शक बनेको छ । कसरी सुरक्षित हुन सक्छ त अवस्था ? बम पड्केका छन, सञ्चारकर्मीहरुमाथी सांघातिक हमला भएका छन, ज्यान मार्ने धम्की आएका छन, राजनीतिक दलकै कार्यकर्ताहरुले पनि एकले अर्कोलाई धम्काउने प्रबृत्ति बढेको अवस्था छ । यस्तो अवस्थामा के हेरेको सरकार ?

थप समाचार 

१२५ मुक्त हलिया पुनस्र्थापना हुने  

चालु आर्थि बर्ष २०७४/०७५ मा डोटी जिल्लामा मुक्त हलियाका लागि एक सय २५ नयाँ घर निर्माण गर्ने कार्यक्रम रहेको छ । 
जिल्ला मालपोत कार्यालय डोटीले दिएको जानकारी अनुसार एक सय मुक्त हलिया परिवारलाई जग्गा खरिद् गर्ने र एक सय २५ जनालाई घर निर्माण गर्ने गरि कार्यक्रम तय भएको छ । 
२०६५ साल भाद्र २१ गते सरकारले हलिया मुक्तीको घोषणा गरिसकेपछि २०७१/०७२ वाट मुक्त हलिया पुनःस्थापनाको कार्यक्रम सुरु भएको हो । सर–कारले मुक्त हलियाहरुलाई चार वर्गमा राखी पुनस्र्थापनाको कार्यक्रम अघि वढाएको हो । घर जग्गा केही नभएकालाई क वर्ग, घर भएका तर जग्गा नभएका लागि ख वर्ग, जग्गा भएका तर घर नभएकालाई ग वर्ग र घर जग्गा दुवै भएकालाई घ वर्गमा राखिएको छ । 
यस वर्गमा एक सय मुक्त हलिया परिवारका लागि जग्गा खरिद गर्न जनही दुई लाखका दरले दुई करोड रुपयाँ र घर निर्माणका लागि एक सय २५ परिवारका लागि जनही तीन लाख २५ हजारका दरले चार करोड ६ लाख २५ हजार रुपयाँ आएको मालपोत कार्यालय डोटीले जानकारी दिएको छ । यस बर्ष घर मर्मतका लागि भने कार्यक्रम नआएको मालपोत कार्यालय डोटीका मुक्त हलिया कार्यक्रमका सुपरभाईजर कर्ण चुनाराले जानकारी दिए 
गत आर्थिक बर्षमा जिल्लामा नियमित कार्यक्रम अन्तरगत घर मर्मत २० जना र जग्गा खरिद १६ गरि ३६ जनालाई पुनस्र्थापनाको कार्यक्रममा समावेश गरिएको थियो । थप कार्यक्रम अन्तरगत  घर निर्माणका लागि १५ र जग्गा खरिदका लागि पाँच जनालाई सहभागि गराईएको थियो । 
त्यस्तै जिल्लामा नमुना बस्ती बनाउने भनी ४० परि–वारका लागि जग्गा खरिद गर्न आएको ७४ लाख रकम फ्रिज भएको थियो । मालपोत कार्यालय, नापी कार्यालय, जग्गााधनी र हलिया अगुवाहरुका बिचमा कमिसनको भागवण्ड नमिलेपछि जग्गा खरिद नगरि उक्त रकम फ्रिज भएको एक हलिया अगुवा बताउँछन । 
डोटी जिल्लामा एक हजार ८ सय २६ मुक्त हलिया परिवार रहेको सरकारी तथ्याँङ्क छ । ति मध्ये हालसम्म १०३७ जना प्रमाणिकरण भएका छन । प्रमाणिकरण भएकामध्ये गत आर्थिक बर्षसम्म एक सय ६८ जना मात्रै पुनस्र्थापना कार्यक्रममा परेका छन । 
हलिया मुक्तीको घोषणा हुँदा पाँच बर्षभित्र न्यायिक पुनस्र्थापना गरिसक्ने सैद्धान्तिक सहमति भएको भएपनि पुनस्र्थापना कार्यक्रम कछुवा गतिमा अघि बढिरहेको डोटीका पुराना हलिया अधिकारकर्मी तथा हाल सायल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोरखबहादुर सार्की बताउँछन । 
प्रदेश नं. ७ का नौ र प्रदेश नं. ६ का तीन गरि १२ जिल्लामा १८ हजार ६९ मुक्त हलिया रहेको सरकारी तथ्याँङ्क रहेपनि त्यसको झण्डै दोव्वर मुक्त हलिया  परिवार रहेको हलिया अधिकारकर्मीहरुको दावी छ । उनीहरु मुक्त हलियाहरुको तथ्याङ्क लिन छुट भएका कारण फेरी तथ्याँङ्क लिनु पर्ने माग गर्दै आएका छन ।

चार बुँदे घोषणा पत्र जारी गर्दै समाज सेवाको साधारण सभा सम्पन्न

डोटीमा क्रियासिल गैर  सरकारी संस्थाहरुमध्ये सवैभन्दा पुरानो संस्था समाज सेवा डोटीको २७ औं बार्षिक साधारण सभा चार बुँदे घोषणा पत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ । 
पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा सम्पन्न साधारण सभाले पारित जारी गरेका घोषणाहरुमा प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्न सम्वन्धित सरोकारवालाहरुसंग माग गरिएको छ । यस्तै जिल्लामा हुने सम्भावित प्राकृतिक बिपत्तिका घटनाहरुमा तत्काल राहत तथा उद्धारमा लागि ‘समाज सेवा बिपद् व्यवस्थापन कोष’ स्थापना गर्न पहल गर्ने अर्को घोषणा गरिएको छ । 
प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रमुख प्रवेशद्वार डोटी जिल्ला सदरमुकाम सिलगढीलाई पर्यटकीय रुपले आकर्षक शहर बनाउन सम्वन्धित पक्षलाई आग्रह घोषणा मार्फत गरिएको छ । यस्तै स्थानीय तहमा सुशासन कायम गरि छिटो छरितो सेवा प्रदान गर्न जनप्रतिनिधिहरुलाई घोषणा पत्र मार्फत आग्रह गरिएको संस्थाका महाासचिव दिपेन मल्ले    जानकारी दिए ।  
गत २३ गते जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीद्वारा पानसमा बत्ति बाली उद्घाटन गरिएको सो संस्थाको बार्षिक उत्सव तथा साधारण सभाको अवसरमा बिबिध कार्यक्रम गरिएको संस्थाका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दिपायल सिलगढी नगरपालिकाको साविकका १ देखि ६ वडामा बसोवास गर्ने प्रत्येक वडाबाट तीन जना बृद्धबृद्धाहरुलाई कम्मल बितरण गरिएको     थियो । 
यस्तै डोटी अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल बितरण गरिएको, प्राथमिक बिद्यालयस्तरीय   हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको र बिभिन्न बाल खेल प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले वताए ।
साधारण सभाले आर्थिक बर्ष २०७३/०७४ को बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन पारित गर्दै आगामी कार्यदिशाँ समेत तय गरेको महासचिव मल्लले बताए । साधारण सभाले संस्थालाई स्वयंसेवी क्रियाकलापमा बढी केन्द्रित हुन सुझाव दिएको छ । 
समाज सेवा डोटी २०४७ सालमा मुनाफा रहित सामाजिक संस्थाको रुपमा स्थापना भई जिल्ल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भएको गैरसरकारी संस्था हो ।  

“बलयार गुण्डा, आले तस्कर ?” आरोप—प्रत्यारोपको राजनीति 

रामहरी ओझा
डोटी, मंसिर ४
राजनीतिक दलहरुले चुनावी अभियान तिव्र गर्दै जाँदा एक–अर्काप्रति आरोप प्रत्यारोपको बर्षा गर्न थालेका    छन । 
अन्य उम्मेदवारहरुले पनि प्रतिद्वन्द्वी बिरुद्ध आरोप लगाउने गरेको भएपनि मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेद्वार बहालवाला भौतिक पूर्वाधार निर्माण तथा यातायत मन्त्री बिरबहादुर बलायर र बाम गठबन्धनका उम्मेद्वार एमाले केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरबिच व्यक्तिगत चरित्रमाथी धावा बोल्दै आरोप प्रत्यारोप हुन थालेको छ । 
मन्त्री बलायर प्रतिस्पर्धी आलेमगरलाई काठ तस्कर, भ्रष्टाचारीको संज्ञा दिन थालेका छन । उनी भ्रष्टाचार गरेको पैसाबाट सुखमय जीवन बिताईरहेको आरोप आलेमगरमाथी लाउँदैछन । विकासको नाममा जनतासंग आलेले झुटा बोलेको बलायरको आरोप छ । आफुले बिरवहादुरबाट बिरे वन्न नपरोस भन्ने चेतावनी समेत बलायरले आलेमगरलाई दिएका छन । मतदातालाई पैसा बाँड्ने गरेको, घोडा चढेर भोट माग्न लागेको भन्दै बलायरले आलेलाई गाली गर्दै आएका छन् । 
यस्तै आलेमगरले प्रतिस्पर्धी बलायरलाई गुण्डाको उपमा दिँदै आएका छन । काठमाण्डौंमा बसेर गुण्डागर्दी गर्दै राजनीतिमा होमिएको, महिलाहरुमाथी अनैतिक सम्वन्ध राखेर अवैध सन्तान जन्माएको, जुवा तास खेल्ने जस्ता आरोप आलेमगरले बलायरमाथी लगाईरहेका छन । उनी बलायरले अहिले पनि गुण्डा शैलीमा मतदातालाई धम्काई–रहेको आरोप लगाएका छन । उनी २०५६ सालको निर्वाचन देखिनै बिरबहादुरले मतदान स्थल कव्जा गर्दै र मतदातालाई धम्काउदै आएको भन्दै बलायरलाई गाली गर्दै आएका छन । 
यद्यपी दुई प्रतिस्पर्धीले एक–अर्कामाथी लगाएका आरोपहरुको कुनै कानुनी आधार भने देखिदैन । न बलायरले गुण्डागर्दी गरेको अरोप प्रमाणित भएको छ न उनीमाथी लगाईएका अन्य आरोप हरु । यस्तै आलेमगरमाथी लगाईएका काठ तस्कर, भ्रष्टाचारी जस्ता आरोपहरु पनि प्रमाणित भएका छैनन् । 
प्रजातन्त्रको रक्षा लागि काठमाण्डौंको भित्ता भित्तामा आफ्नो रकम छरिएको बलायरको दावी छ भने डोटेली जनताका लागि बिकास निर्माणका योजनाहरु निर्माणमा आफु सक्रिय रहेको, सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागि भएको आलेमगरको दावी छ । चुनावी सभामा दुवै प्रतिस्पर्धीहरुले गरेका आरोप–प्रत्यारोप अमर्यादित भएको प्रतिक्रिया आउन थालेको हो छ । नेताहरुका अभिव्यक्तिले कार्यकर्ताहरु आक्रामक हुन थालेका र द्वन्द्व सृजना हुन सक्ने खतरा रहेका बौद्धिक क्षेत्रको टिप्पणी छ । 
मन्त्री बलायरले बाम गठवन्धनले अधिनायकबाद लाद्न खोजेको आरोप लगाउँदै आएका छन । उनी बाम गठबन्धनले जिते लोकतन्त्र खतरामा पर्ने बताउँछन । आलेमगरले कांग्रेस भारतको ईसारामा चलिरहेको आरोप लगाईरहेका छन । उनी कांग्रेस जिते राष्ट्रियता  खतरामा पर्ने दावी गर्दै आएका छन । 
सामाजिक सञ्जालमा पनि उस्तै दोहोरी 
चुनावी मैदानमा प्रतिस्पर्धीहरुले एक–अर्काप्रति लाएका आरोप–प्रत्यारोपको पक्ष र बिपक्षमा सामाजिक सञ्जालमा कार्यकर्ताहरुको दोहोरी चल्ने गरेको छ । बलायर पक्षकाले आले पक्षका र आले पक्षकाले बलायर पक्षका कमीकमजोरीहरु खोतल्दै सामाजिक सञ्जालमा पोष्ट गर्र्दै आईरहेका छन । 
एक पक्षका कार्यकर्ताले पोष्ट गरेका सामग्रीमाथी अर्को पक्षका कार्यकर्ताहरुबाट आक्रामक टिप्पणी आउन थालेको छ । सामाजिक सञ्जालमा दोहोरी गर्नेहरुमा केही सञ्चारकर्मीहरु, केही सरकारी कर्मचारीहरु र केही सामाजिक अभियन्ता समेत रहेका छन ।

महिलाले बनाए ‘टनेल गाउँ’

कर्ण चन्द/डोटी 
मंसिर ४
डोटीको पुर्बिचौकी गाउँपालिका–१ खिरसैनको सिर्मा टनेलमय भएको छ । सदरमुकाम नजिकै रहेको खिरसैनमा  टमाटर उत्पादनका लागी दर्जन टनेल निर्माण भएका छन ।
प्लाष्टिक भित्र टमाटर खेती गर्नका लागी सिर्मामा टनेल निमार्ण गरिएको हो । कृषक दिर्घ सिंह खड्काले भने ‘टनेल घर निमार्ण ग¥यो भने टमाटर खेतीमा राम्रो उत्पादन लिन सकिन्छ, बाहिरी उत्पादन गर्दा रोग लाग्ने राम्रो उत्पादन हुन्न ।’ खड्काले थपे ‘म पहिला खुला रुपमा टमाटर लगाउने गर्थे, गत बर्ष देखि टनेलमा उत्पादन गरि रहेको छु,    राम्रो प्रतिफल छ. ।’
सिर्मामा स्थानीयले टेनल मार्फत तरकारी खेती सुरु गरेका छन । बाहिरी जिल्लाबाट आयात भैरहेको टमाटर खेतीमा आत्मा निर्भर बन्नका लागी सबैले टमाटर खेती गरेको पार्बती देबी खड्काले बताईन । खड्काले भनिन् ‘हामी हाम्रो गाउँलाई तरकारीको गाउँको पहिचान दिने प्रयासमा छौं,  सोही अनुसार सबैले टनेल घर निमार्ण तथा प्लाष्टिक हार्बेष्टिङको काम गरिरहेका छौं ।’
खिरसैनको सिर्मामा शान्ति महिला समुहले १५ ओटा टनेल निर्माण गरेका हुन । गाउँमा १५ ओटा टनेल निमार्ण भएपछि गाउँ नै टनेल गाउँ जस्तो देखिएको छ ।  लुथरन बिश्व फेडरेसन र उपेक्षित सशक्तीकरण बिकास तथा बिकास मञ्चको नेपाल बिकास कार्यक्रम ले महिला समुहलाई सहयोग गरेको हो । 
सदरमुकामबाट तीन किलोमिटरको दुरीमा रहेको सिर्मा गाउँ तरकारी खेतीका लागी उपयुक्त ठाउँ रहेको शान्ति कृषक समुहका अध्यक्ष शान्ति देबी खड्काले बताईन । खड्काले भनिन् ‘हामी सदर–मुकाम नजिकै छौं, जत्ति धेरै उत्पादन गरेमा पनि बिक्री गर्न सक्छौं, बिगत देखी सानो तिनो कृषी खेती गर्दै गरेको थियौं  यस बर्ष देखी ब्यबसायीक रुपमा तरकारी खेती सुरु गरेका छौं ।’
एउटा पोलिहाउस निर्माण गर्दा १० हजारको लागतमा लाग्ने गरेको कार्यक्रम संयोजक प्रभु ढकालले बताए । ढकालले भने ‘हामीले शान्ति महिला समुहमा १५ ओटा पोलीहाउस निर्माण गरेका छौं, पहिलो चरण बनेका पोलिहाउसबाट १२ हजार देखि २० हजारसम्म आम्दानी दिएका छन ।’
महिलाको काममा पुरुषको सहयोग 
खिरसैनमा शान्ति कृषक समुह महिलाले सञ्चालन गरेको भएपनि पुरुषको राम्रो सहयोग गर्ने गरेका छन । महिलाले तरकारी खेती गरेको भएपनि तरकारी बारीमा महिला र पुरुषले बारीमा समान खट्ने गरेको पुर्बिचौकी गाउँपालिका–१ खिरसैनका योगेन्द्र खड्काले बताए । खड्काले भने ‘म २ पटक भारत गएँ, अहिले तरकारी खेती गर्दै छु मेरो श्रीमती  समुहमा छिन हामी मिलेर टमाटर तथा तरकारी खेती गरिरहेका छौं ।’
श्रीमतीलाई दिनभर बारीमा सघाउने गरेको अनुभब सुनाउँछन दिर्घ सिंह खड्काको पनि । खड्काले भने ‘श्रीमती समुहमा छन, उनी भन्दा म बढी खेतबारीमा बढी ब्यस्त हुन्छन, म छोरालाई पनि घर फर्काउने र ठुलो फराम खोल्ने तयारीमा छु ।’ जिल्लाको पुर्बिचौकीमा बिभिन्न वडामा पोलीहाउस निर्माण गरेर कृषकले टमाटर उत्पादनको काम गरिरहेका छन ।

छोटकरी समाचार 

चमेलिया बाल्ने तयारी

चमेलिया जलविद्युत आयोजनाबाट बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ । बिजुली बाल्नु पूर्व आयोजनाले १३२ केभी प्रसारण लाइन निर्माण गरिसकेको छ र त्यसमा आगामी बिहीबारदेखि विद्युत प्रवाह (चार्ज) गर्दैछ ।
दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरिया सम्म प्रशारण लाइन निर्माण   गरिएको छ ।
४१२ वटा टावर रहेको यो प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको छ ।
यो आग्रह गर्दागर्दै पनि कसैले बर्जित क्रियाकलाप गरेर दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने सूचनामा उल्लेख छ ।
चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय कुमार दाहालले अनलाइनखबरसँग भने, ‘प्रशारण लाइन बनिसकेकाले विद्युत चार्ज गर्न लागेका छौं । डिसेम्बर १२ मा वेट टेस्ट गर्ने प्लान छ र कुनै समस्या नदेखिएमा तत्कालै चमेलियाबाट बिजुली बल्छ ।’
यसअघि नोभेम्बर ४ देखि नै वेटटेस्ट शुरु गर्ने प्लान थियो । तर हेडवरक्सको काममा समस्या देखिएकाले बिजुली बाल्ने काम पछि सरेको दाहालले बताए । बन्द गर्नुपर्ने दुईवटा गेटमा यसपालीको वर्षाले क्षति पु¥याएकाले पूरै पानी नथुनिएपछि बिजुली बाल्ने काम पछि सरेको हो ।

खेल समाचार 

सडक बालबालिका टिम घोषणा

रूसमा हुने सडक बालबालिकाको विश्वकपका लागि नेपाली टोली घोषणा गरिएको छ । 
आगामी बर्ष हुने उक्त प्रतियोगिताका लागि सडक वालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेल्टर आश्रय नेपालले टिम घोषणा गरेको हो । संस्थाले आइतबार पत्रकार सम्मेलन गरेर पाँच अतिरिक्त खेलाडीसहित १४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
विश्वकपमा नेपालको सहभागिताका लागि संस्थाले नेपालमा रहेका बालबालिका तथा असहाय बालबालिकाको क्षेत्रमा काम गरिरहेका अन्य संघ संस्थासँग आवद्ध बालबालिकाबीच गत भदौ महिनामा  दशरथ रंगशालामा सडक बालबालिकाको लिग फुटबल आयोजना भएको थियो । ‘अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालित लिगमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई छनोट गरी टिम निर्माण गरेका छौं ’सेल्टरकी अध्यक्ष खुस्बु ओलीले भनिन् ‘छनोट भएका खेलाडीले एन्फा र जाउलाखेलको सेन्ट जेभियर्स स्कुलमा तयारी गरेका छन्। खेलाडी छनोटका लागि प्रमुख प्रशिक्षक–राजन न्यौपाने र एन्फाका प्रशिक्षक नविन मर्हजनले समेत सहयोग गर्नु भएको    थियो ।’
टिममा नौ  खेलाडी र एक जना प्रशिक्षक छन् । टिम बाहेक अन्य पाँच अतिरिक्त खेलाडीहरु पनि छनोट भएका छन् ।
सेभेन ए साइड नियममा हुने विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा छात्र र छात्रामा समान १२÷१२ टिम छन् । नेपालले पहिलो पटक छात्र टिममा भाग लिन लागेको हो । नेपालका विभिन्न आश्रयमा बस्दै आएका वालवालिकालाई समावेश गरेर सेल्टर आश्रय नेपालले खेलाडी छनोट गरेको छ ।
सहाराविहिन बालबालिकालाई हाम्रो पनि कोही छ भन्ने आभाष दिन उनीहरुलाई विश्वकपमा खेलाउन लागिएको संस्थाकी अध्यक्ष खुस्वु ओलीले जानकारी दिईन ।
खेलाडी टोलीमा एरोन कार्की, मनवीर लामा, विकास तिमल्सीना, रोहन भुसाल र रमेश शाह रहेका छन् । यस्तै सचिन विके, सन्तोस खत्री, हर्ष ठकुरी र  पवन शाही रहेका छन । 
संस्थाले घोषणा गरेको टिममा अतिरिक्त खेलाडीहरु विशाल बादी, राजु, रोशन कामी, राजु बादी र जिवित कुमार थारु रहेका छन । खेलको प्रमुख प्रशिक्षक राजन न्यौपानेलाई छनौट गरिएको अध्यक्ष ओलीले जानकारी दिईन ।

त्रिशुलीमा जलप्रतियोगिता आजबाट

आज मंगलवारदेखि त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइट हाउस च्यालेन्ज नामक जलखेलकुद प्रतियोगिता हुने भएको छ । 
नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा गत वर्ष झैँ तीन दिने १६ औँ प्रतियोगिता धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए । 
प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ । 
नेपालमा खेलकुद पर्यटनको विकास र प्रवद्र्धन, साहसिक जलयात्रा पर्यटनको विकास, जलयात्रा व्यवसायमा संलग्न रिभर गाइड तथा जलखेलाडीको सीप र दक्षता वृद्धि, सहासिक पर्यटन उद्योगको विकास, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको     हो ।

चलचित्र/मनोरञ्जन 

प्रदेशीका पीडामा आधारित गीत गाउँछु । — रेखा जोशी

तपाँईको पुरा परिचय पाउँ न ।
— मेरो नाम रेखा जोशी । ठेगाना भिमदत्त नगरपालिका–७ कञ्चनपुर । पूख्र्यौली साविकको कुल्देवमाण्डौं गाबिस बाजुरा । म अहिले कलाकारिता क्षेत्रमा आवद्ध छु ।
संगीत क्षेत्रमा प्रवेश गर्नुभएको कति समय भयो ?
— २०७१ बैशाख १३ गतेदेखि “घुटुक्क बाडुली लाय” गीतमा स्वर दिएकी थिएँ । त्यो नै हो मेरो पहिलो गीत । अहिले तीन बर्ष जति भयो ।
कति गीतहरुमा तपाँईको स्वर छ ?
— बजारमा आएका र आउन बाँकी तर रेकर्ड भैसकेका जम्माजम्मी एक सय ५२ वटा गीतहरुमा मैले स्वर दिएकी छु ।
कस्ता खाले गीतहरु गाउनु भएको छ ?
— मैले देउडा, दोहोरी र ठाडिभाका गाएकी छु ।
तपाँईले गाएका गीतहरुबाट समाजले के सन्देश लिइरहेको छ ? तपाईले कस्तो सन्देश दिइरहनु भएको छ श्रोता तथा आम जनतालाई ?
— मैले आजसम्म जति पनि गीतहरु गाएकी छु ती गीतहरु मार्मिक अनि आम जनताको मन छुने र रुवाउने खालका गीतहरु छन । खास गरी प्रदेशी पीडामा  आधारित हाम्रा नेपाली दाजुभाई प्रदेश गएपछिको त्यो अवस्था र उनीहरुले भोग्नु परेको दुःख कष्ट दर्शाउने खालका गीतहरु प्रायः गाएकी छु । यो देउडा गीतहरुबाट हाम्रो समाजले एउटा यथार्य पीडाको सन्देश पाइरहेको छ । गीत मार्फत मैले पनि यस्तै सन्देश दिइरहेकी छु ।
सबैभन्दा बढी कुन गायक/गायिकाका शब्दहरुमा स्वर दिनुभयो ?
— मैले थुप्रो श्रष्टाका शब्दमा स्वर दिएकी छु । गोपाल दयाल, सूर्य बिरही साउँद, रमेश मुस्कान नागरी लगायत धेरै गायकहरुको शब्दमा स्वर दिएकी छु ।
सामाजिक सञ्जाल, टेलिफोन तथा भेटेर नै कस्तो प्रतिक्रिया पाइरहनु भएको छ आम जनसमुदायबाट ?
— मैले जहाँ जसरी जुन अवस्थामा जसलाई भेटे पनि हौसलाजनक सकारात्मक प्रतिक्रिया पाइरहेकी छु । गीत संगीतमा प्रबेश गरेर छोटो समयमा नै राम्रो प्रगति हासिल गरेको भन्ने प्रसंसा पनि पाइरहेकी छु । कला संस्कृतिको जगेर्ना गर्न कलाकारको महत्वपूर्ण हात हुन्छ । यसलाई नछोड्नु होला भन्ने जस्ता सुझाव सल्लाहहरु पनि बटुलिरहेकी छु ।
तपाँईले धेरै किसिमका गीतहरु गाउनु भएको छ । आधुनिक गीत र देउडा गीतमा के फरक पाउनु भयो ?
— गाउन त मैले देउडा, लोकदोहोरी र ठाडिभाका मात्र गाएकी छु । मेरो बुझाइमा देउडा र आधुनिक संगीत अलि फरक पाटो हुन । देउडामा महिला र पुरुष बीच सवाल जवाफका गीतहरु गाइन्छ भने एउटा कथा बस्तु बनाएर पुरुष वा महिलाले अलग अलग पनि गाउन सक्ने रसात्मक गीत नै आधुनिक गीत हो ।
सुदूरको संस्कृति झल्काउने नै देउडा हो । संस्कृति नै हाम्रो सभ्यता हो । हाम्रो सभ्यता नै स्वाभिमान हो तर पछिल्लो समयमा तपाँइलाई थाहा भएकै कुरा केही कलाकारहरुले बिशुद्ध देउडा गीत बनाउनुको साँटो काटँछाट गरेर तोरी लाउरे देउडा बजारमा ल्याएका छन । लोकसंस्कृतिलाई बंग्याउदै बिकृतिहरु फैलाउँदै आएका छन भन्ने सुनिन्छ । तपाँई जस्ता नबयुग देउडा गायक÷गायिकाले यसलाई रोक्न के प्रयास गरिरहनु भएको छ ?
— अहिले भन्ने हो भने जुन पुराना देउडा गीतहरु छन, ती गीतहरुको जस्तो रस मार्मिकपन नयाँ गीतहरुमा छैन । लोप पनि हुँदै गएका छन । अब समय परिवर्तन हुँदै जाँदा पिंढी परिवर्तन भयो । अहिलेका पिंढीहरुले पुराना गीतहरुलाई रुचाउन छोडे की जस्तो पनि लाग्छ । त्यसैले अलि मोडिफाइ गरेर कलाकारहरु दर्शक श्रोताका माझमा देउडाको परिवर्तित रुप दिन चाहिरहेका छन । कलाकारले दर्शक श्रोताको मन जित्न सक्नु पर्छ तर धेरै हाम्रो संस्कृति देउडाको पनलाई मर्न नदिएर गीत गर्दा ठिकै हुन्छ । अलि अलि गीतलाई मोडिफाई गरेर गीत गाएकोमा मलाई त्यति राम्रो चाँही लाग्दैन तर सबै खाले पुराना गीतहरुको प्यास मेटिने खालका गीतहरु पनि कलाकारले दिइराख्नु पर्छ । बाँकी दर्शक श्रोताको हातमा छ ।
अन्य कलाकारहरुले आफ्नो संस्कृतिलाई झल्काउने गरी देउडा गीत  कसरी प्रस्तुत गरेको पाउनु भयो ?
— देउडा गीतहरुलाई कलाकारहरुले बिभिन्न किसिमले प्रस्तुत गरेका छन । कसैले देउडा गीतलाई जल्दोबल्दो फेसनका रुपमा लिइराखेका छन । कसैले ब्यापारिक   तबरले, कसैले मनोरञ्जनको हिषाबले दिने गरेका छन । अग्रज कलाकारहरुले भने देउडा हाम्रो संंस्कृति हो । यसलाई संस्कृतिमै बिकास गरी बचाइ राख्नुपर्छ भनेर गीतहरु बनाएका छन । यो राम्रो कुरा पनि हो ।  
कलाकारिता क्षेत्रमा समस्या र चुनौतीहरु के पाउनु भयो ?
— हरेक क्षेत्रको तुलना गर्ने हो भने कलाकारिता क्षेत्रमा अलि बढी नै समस्या र चुनौती छन । धेरै कलाकारहरु यस क्षेत्रमा प्रबेश गरेर पनि बिलिन हुँदै गइरहेका छन । यो क्षेत्रमा कला हुन्छ तर आर्थिक समस्याले कलालाई लुकाइरहेको छ । लगानी गरेको पैसा पनि फिर्ता नहुने हुँदा यसै क्षेत्रमा लागिरहँदा जिबिकोपार्जन गर्न नसक्नु एउटा ठूलो समस्या रहेको छ ।
बिबिध कतिपय राम्रै प्रतिभा भएका कला र गलाका धनीहरु गुपचुप भैरहेका छन । तिनीहरुलाई यो क्षेत्रमा प्रबेश गर्न र सक्षम कलाकार बन्न के सुझाब दिन चाहानुहुन्छ ?
— हाम्रो ठाउँमा कला र गला प्रतिभाका धनी ब्यक्तिहरु जुन मौका नपाएर वा बिबिध कारणले लुकेर बस्नु भएको छ , यस्ता साथीहरु यदि कलाकारिता क्षेत्रमा रुचि छ भने अवश्य पनि आउन सक्नुहुन्छ । किनकी कुनै पनि क्षेत्रमा प्रबेश गर्नुभन्दा पहिला रुचि, इच्छा र चाहना हुनुपर्छ । साथै यस पेशामा संघर्ष धेरै गर्नुपर्छ सफल हुनका लागि । त्यसैले आइसकेपछि एक दुइटा गीतहरु गाएर चटक्कै नछोडी निरन्तरता दिनुपर्छ । सांगितिक क्षेत्रमा केही नयाँ कुरा थप्छु भन्ने उद्देश्यले सिकेर आउनुस र बिभिन्न किसिमका प्रतिभा प्रस्तुत गर्ने ठाउँ जस्तैं, सुप आइडल, नेपाल आइडल जस्ता क्षेत्रमा सहभागी गरेर राम्रो भन्दा राम्रो गरेर आउनुस । निरन्तरता दिदै जाँदा एक पटक अवश्य सफल भइन्छ ।

लेख 

भ्रष्टाचारको बिउ भड्किलो चुनावी खर्च

राधाकृष्ण देउजा
२०४८ साल वैशाख २१ गते हुनुपर्छ एमाले नेता मदन भण्डारी एमालेको चुनावी सभालाई सम्बोधन गर्न बनेपा आउनु भएको थियो । तत्कालीन अवस्थामा काभ्रेको २ नम्बर क्षेत्रबाट प्रतिस्पर्धी रहनु भएको मेरो बुवा शिवबहादुर देउजासहित मदन भण्डारीलगायत नेतासँग बसेर चिया खाएर बाहिर निस्किदै गर्दा आफ्नो छोराले पनि सम्वोधन गर्ने सभा हेर्न पुगेकी मेरी हजुरआमाले थैली खोलेर एउटा सानो कपडाको पोको खोलेर एक हजार रुपयाँको नोट मेरो बुवाको हातमा हाल्दिनु भयो ।
४० वर्ष काटिसकेको छोरालाई आमाले खर्च दिएको त्यो क्षण मेरो निम्ति सदा स्मरणीय छ तर त्यो बेला मैले बुझेको थिइन कि, त्यो बेलाको पैसा केवल आमाको माया थियो वा निर्वाचन लड्दै गरेको छोरालाई आमाको सहयोग थियो । तर जब हुर्कदै गएँ एकदिन बुवाले भन्नुभयो २०४८ सालमा  हजुर आमाले दिएको हजार रूपयाँसहित जोड्दा बुवासँग २९०० (उनन्तिस सय) रुपयाँ थियो रे जम्मा !
समग्र चुनाव सकिँदा बुवासँग त्यसमध्यबाट करिब नौ सय रुपयाँ बचेको थियो रे जसबाट बुवाले सांसद भएर पहिलो पटक संसद भवन छिर्दा लगाएको दौरा सुरुवाल कोट किन्नु भएको थियो रे । मेरो मास्टर बुवाको निर्वाचन खर्चको सत्यता अहिले धेरैको निम्ति काल्पनिक कथा जस्तो पनि लाग्न सक्छ किनकि अहिले चुनाव लड्ने भनेको अत्यन्त महँगो भइसकेको छ ।
अहिले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका जोसुकैसँग सोध्यो भने पनि उनीहरुको साझा चिन्ता छ–चुनाव अत्यन्त महँगो भयो । उनीहरुको यस्तो भनाई सुन्दा कतिपयलाई लाग्न सक्छ उनीहरु सहयोगको निम्ति याचना गरिरहेका छन् । यद्यपि उम्मेदवारहरु सत्य बोलिरहेका छन्, हो साँच्चै चुनाव महँगो हुँदै गएको छ । निर्वाचन आयोगले नै एउटा उम्मेदवारले लाखौँ खर्च गर्न पाउने छुट दिएको छ ।
निर्वाचनको दौरानमा गरिने गरेका भद्दा प्रचारहरू, ठूलो संख्यामा प्रचार टोली बोकेर हिड्नु पर्ने खर्चिलो वाध्यता, कतिपय अवस्था र स्थानमा निर्वाचनको बेला विकास वा अन्य नाममा उम्मेदवारसँग पैसा असुल्नु पर्छ भन्ने खालको चिन्तन, कतिपय अवस्थामा नेताहरुको चुनाव खर्च व्यहोर्ने सर्तमा टिकट पाउने सत्यता आदिले गर्दा पनि चुनाव महँगो हुँदै गएको हो । तर, के महँगो हुँदै गएको चुनावमा प्रतिस्पर्धा गर्नेहरुसँग जनताको आशा र अपेक्षा फेरिएका हुन् त ? के जनता चुनावमा ब्यापक खर्च गर्ने वा गर्न सक्नेले जितोस् अनि जितेर गएपछि आफ्नो खर्च अशुल गर्न जे सक्छ त्यो गरोस् भन्ने तहमा पुगेको हो त ? त्यो पनि पक्कै होइन । जनता अहिले पनि आफ्नो प्रतिनिधिमा सरलता इमान्दारिता अनि जनताको सेवक हुने भावना सहितको पहिचान देख्न चाहन्छन् । सांसदको तलव, सुविधा बढाउने भन्ने विषय जनताले न हिजो सुन्न चाहन्थे, न आज सुन्न चाहन्छन् न त भोलि नै सुन्न चाहन्छन् ।
उनीहरु ठान्छन् सांसद भनेको न्यून वा शून्य सेवा सुविधाको भरमा जनताको सेवामा दत्त चित्त भएर लाग्नु पर्ने प्राणी हुन् । सिद्धान्ततः जनताको त्यो चाहना गलत भन्न मिल्दैन तर चुनावमा अथाह खर्च गर्नै पर्ने वाध्यताको बिचमा हामी उम्मेदवारलाई खडा गर्ने अनि निर्वाचन जितेपछि सेवा, सुविधा समेत नलिएरै इमान्दार भएर मास्टरसाबले जस्तो भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा राख्ने हाम्रो चाहना कति जायज छ ? यो गम्भीर प्रश्नको उत्तर नखोज्ने हो भने समयक्रम सँगै निर्वाचन झन–झन् महंगो हुँदै जाने अनि चाहेर नचाहेर हाम्रा प्रतिनिधि आर्थिक मामिलामा लालची र भ्रष्ट हुँदै जाने खतरा रहन्छ ।
यसो भनेर फेरि नेताहरुले गरेको वा गर्न सक्ने भ्रष्टचारलाई सहि ठहर गर्न खोजेको विल्कुल हैन बरू चुनावलाई महंगो होइन सस्तो अझै सकिन्छ भने निःशूल्क बनाउन सकियो भने स्वच्छ, इमान्दार र नैतिकवान नेताहरुको वोलवाला हुने र भ्रष्टहरुको राजनीतिबाट वहिर्गमन हुँदै जाने सत्यको स्मरण गराउन खोजिएको  हो ।
केहि दिन अगाडि एउटा लोकप्रिय संचार माध्यममा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भनेका छन्, ‘न पैसा छ, न ठेकदार कसरी चुनाव लड्ने ?’ समकालीन नेताहरुमा इमान्दार नेतामा पर्ने एमाले उपाध्यक्ष ज्ञवालीको त्यो अभिव्यक्ति तितो लागे पनि यथार्थ हो अहिलेको । उनले भनेजस्तै चुनाव खर्च व्यहोरिदिने दाता नहुने वा आफैंसँग मनग्य पैसा नहुने हो भने चुनाव लड्ने विषय भनेको ‘मुङ्गेरिलाल कि हसिन सपने’ भनेजस्तै भैसकेको छ। र यस्तो हुनुको जिम्मेवार राजनीतिक दलका नेताहरु भन्दा ज्यादा सर्वसाधारण जनता नै हौँ भन्दा हामीले चित्त देखाउनुको साटो सत्य स्वीकार्नु पर्छ ।
सर्वसाधारण जनताले ठण्डा दिमागले सोचेर यस्तो महंगो निर्वाचनको चुनौती स्वीकार गरेर मैदानमा उत्रिन वाध्य पारिएका उम्मेदवारहरुले विजित भएर जनअपेक्षा अनुरुप काम गर्ने भन्दा पनि आफ्ना दाताहरुको स्वार्थ अनुरुप काम गर्ने वा निर्वाचनमा लागेको ऋण तिर्नमा आफ्नो ध्यान लगाउने सत्यसँग आफूलाई वाकिफ गराउनु पर्छ । त्यसो हुनसक्दा कम खर्चिलो चुनाव अनि त्यसबाट स्वच्छ वा कम भष्ट जनप्रतिनिधि छनोट हुन सक्ने छ ।
माथि उल्लेख गरिएजस्तै २०४८ सालमा २९०० रुपयाँमा चुनाव जित्नेदेखि संसद भवन जान आवश्यक दौरा सुरुवालको जोगाड गर्नसम्म मेरो बुवा अर्थात काभ्रेका ‘देउजा सर’ (लामो समय शिक्षण पेशामा रहेकोले धेरैले सर भन्ने) सफल हुनु उहाँको स्वच्छता ,सरलता र इमान्दा–रिता प्रतिको प्रतिवद्धता काफी थिएनन् त्यसको निम्ति आफ्नै खर्चमा चिउरा र दालमोट खाएर खट्ने कार्यकर्ता, जहाँ गयो त्यहाँ उमेद्वारले के खुवाउँछ होइन के खान्छ भनेर चिन्ता गर्ने जनताको पंक्तिले सवैभन्दा ठूलो भुमिका निर्वाह गरेको थियो ।
अनि लाग्छ वर्तमानमा भ्रष्टाचारी पात्रको रूपमा लिइने खुमबहादुर खड्काले पनि  २०४८ सालको चुनाव जित्दा सायदै ज्यादा खर्च गरे होलान् । तर, जब उनी विजयी भएर बिभिन्न पदमा पुगे अनि उनलाई कमाउने बाटो देखाइयो, कतिपय अवस्थामा नेताहरुको आदेश अनुरूप  खर्च गर्न बाध्य बनाइयो तव उनी भ्रष्टाचार गर्ने तर्फ उन्मुख भए । जब बहुदलपछिको दोस्रो चुनाव हुने अवस्था भयो तबसम्म खुमबहादुरको चुनाव प्रचार टोलीमा पर्ने विषय अवसरको विषय बन्न पुग्यो भने उनको मतदाता हुने विषय पनि लाभको अवसर ।
कसैले मानोस् वा नमानोस् कार्यकर्ताको लालच र कतिपय स्थानमा जनताले अनुशरण गरेको गलत शैलीले खुम बहादुरलगायतका नेतालाई भ्रष्टाचारको राजमार्गमा वायुवेग अगाडि बढ्न प्रेरित ग¥यो । खर्च गरेर मात्रै चुनाव जित्ने अवस्था बनेकोले खुम बहादुर भ्रष्टाचारमा अग्रसर भएजस्तै खर्च गरेर चुनाव जित्न नपरेकोले नै होला देउजा सर र उहाँजस्ताले आफूलाई भ्रष्टाचार र अनैतिकताबाट टाढा नै राख्न सफल भएको ।
स्वच्छता र इमान्दारितालाई हेरेर जनताले देखाएको त्यही माया र आशिर्वादले देउजा सर एक पटक होइन तीनपटक निर्वाचित हुनुभयो सांसदको रूपमा । उहाँको तीन पटकको निर्वाचन खर्च अहिलेको एउटा निर्वाचनमा निर्वाचन आयोगले अनुमति दिएको खर्चकै तुलनामा पनि  २५ गुणा भन्दा कम थियो भन्ने कुरा अहिले सायदै कसैले पत्याउला तर त्यो नै सत्य हो ।
केवल जनताको माया र कार्यकर्ताको समर्पणकै आडमा निर्वाचन जितेको हुनाले उहाँ सधैं सवैको प्यारो र आदरणीय देउजा सर नै रहन सक्नुभएको छ भने पैसा खर्च नगरिकन केही नहुने अवस्थामा पुगेका वा पु¥याइएका खुमबहादुर खड्का त चुनाव नै लड्न नपाउने अवस्थामा पुगेका छन् भने उनी जस्ता कैयौं पात्रहरु अथाह पैसा बोकेर अहिले पनि मैदानमा छन् । हो ,अहिले भ्रष्टाचारमा गन्हाएका खुमबहादुर जस्तै मान्छेहरू कानुनी वाध्यताले गर्दा चुनाव लड्न पाउदैनन् तर त्यसो भन्दैमा के अहिले देउजा सरहरू जस्ता पात्रहरुले चुनाव लड्ने र जित्ने आँट गर्ने अवस्था छ त ?
अनि छैन भने किन छैन ? हामी सवैले यसको उत्तर व्यवहारमा खोज्न सक्नु पर्छ । निर्वाचनमा केवल नीति कार्यक्रम र आफ्नो स्वच्छ छविकै आधारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी अरू कसैको हैन जनताको नै हो । जब जनताले भडकिलो चुनावी प्रचार, खर्चिलो प्रचार समूह अनि चुनाव उठेको बेला नै हो फाइदा उठाउने भन्ने लालची संस्कारलाई वाईवाई गर्न सक्छन तव मात्रै मुलुकभर खुमबहादुर प्रवृतिका पात्रहरु हैन शिव बहादुर प्रवृति र पात्रहरुको वोलवाला हुनेछ अनि राजनीति सम्मानित र नेताहरु स्वच्छ र इमान्दार हुनेछन् ।
तसर्थ एकपटक हामीले आफैंसँग प्रश्न सोधौं ‘चुनावमा खर्च चाहिं खुमबहादुरले जस्तो गर्नु पर्ने सत्यता अनि जित्न चाहिं शिब बहादुर जस्ताले जित्नुपर्ने अपेक्षाको विचमा तादम्यता छ ?’ र स्वाभाविक रुपमा त्यसको उत्तर भनेको सत्यता र अपेक्षा विचमा तादम्यता छैन भन्ने नै आउने छ । त्यसैले आजैबाट आफूलाई भड्किलो र खर्चिलो चुनावको विपक्षमा उभ्याउँ, ताकि अहिले नभए पनि कमसेकम आउने निर्वाचनहरुमा फेरि एकपटक रित्तो खल्ती भएपनि जनताको सेवाप्रति प्रतिवद्धहरुले आफूसँग पैसा र ठेकदार नभएकै कारण आफूलाई चुनाव उठ्न अयोग्य र असक्षम नठानुन !                                      — सेतोपाटी अनलाईनबाट

लोकसेवा तयारीको लागि उपयोगी 

१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?  – अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया
३.UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ?  – सन १९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको थियो ?  – ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?    – ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ?    – रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेका छन् ?    – १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?   – शैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन ः जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?   – बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?   
–बछ्यौली चितवन, बर्दियाको थारु साँस्कृतिक संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ?
– जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
– १६ देखि ४० वर्ष
१४. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?   – अष्ट्रेलिया
१५. SDR Basket  मा थपिएको छ ?  – रेन्मिल्वि
१६.International Labour Organisation ले कहिले नोबेल शान्ती पुरस्कार पायो ? 
– सन १९६९
१७. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?  – ट्युनिसिया
१८. Price Floor के सग सम्बन्धित छ ?
A price floor is the lowest legal price a commodity can be sold at
१९. RBC  शरीर कुन अंगमा रहेको हुन्छ ?  – Bone marrow मा
२०. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?   – अवशिस्ट अधिकार
२१. कुन हरित गृह ग्यास होइन ?   – नाइट्रोजन
२२. शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ?   – पेरिस, फ्रान्स
२३. EU को प्रधान कार्यालय कहाँ पर्छ ?     — बेल्जियमको ब्रसेल्स 
२४. खेल सम्बन्धी ः
धनुषवाण – भुटान
भलिबल – श्रीलंका
हकि – पाकिस्तान र भारत 
टेबलटेनिस – मलेसिया 
कब्बडी – बङ्लादेश
२५. खडग निशानी अड्डाको स्थापना कहिले भएको थियो ?   – चन्द्रसम्शेर
२६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ?    – विर समशेर
२७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
१५ – श्रीलङ्का
१६ – भुटान
१७ – माल्दिभ्स
१८ – नेपाल
२८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?   – इन्डोनेसिया
२९. CITES के सँग सम्बन्धित छ ?   – बन्यजन्तु
३०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?  – रासायनिक
३१. UNEP को स्थापना कहिले भएको हो ?  – १९७२
३२. लामोसाघु–रामेछाप सडकलाई के नामाकरण गरिएको छ ?  – पुष्पलाल
३३. लिच्छवीकालमा युक्त पुरूष भनेको के हो ? 
– युध्दमा विजयी भई वा अन्य कारणले प्राप्त हुन आएका सम्पत्तीहरुको लेखा राख्ने पदाधीकारी
३४. पुनर्निर्माण सम्मेलन सरकारले कहिले आयोजना ग¥यो ?  – २०७२ असार १० गते
बिभिन्न स्थानमा रहेका अध्ययन केन्द्रहरु 
मृग अध्ययन केन्द्र ः गोदावरी, ललितपुर
गोहि प्रजनन केन्द्र ः चितवन र बर्दिया रा. निकुञ्ज
जैबिक विविधता सूचना केन्द्र ः टिकौली, चितवन
जटायु रेष्टुरेन्ट ः कावासोती र पिठौली, नवलपरासी
चमेरा सरक्षण क्षेत्र ः देवानगढिया, कपिलवस्तु
सर्प सग्राहलय ः दमक, झापा
अन्तरास्ट्रिय पर्वतीय उद्यान ः ककनी, नुवाकोट
गिद्ध प्रजनन् केन्द्र ः कसरा, चितवन
हात्ती प्रजनन केन्द्र ः मेघौली, चितवन
जिन बैंक ः खुमलटार, ललितपुर

साहित्य/सृजना 

“स्त्री”

एउटी स्त्रीको लागि 
उसको जीवनमा सबैभन्दा
महत्वपूर्ण 
एक उसको सन्तान 
र अर्को 
उसको प्रेम हुन्छ
आमा बन्नुले उसलाई
आफ्नो प्रेम साकार 
भएको महसुस हुन्छ भने,
प्रेमले उसलाई
आमा बन्ने सौभाग्य 
प्राप्त भएको हुन्छ
त्यसैले त,
एउटी स्त्रीको लागि
आमा बन्दाको पल खास हुन्छ
जब एउटा सन्तानले
उसको शरीरभित्र बाँस गर्छ
तेतिबेला त्यो आमाले
आफ्नो शरीरभित्र बाँस गरिरहेको
सन्तानको हर धड्कनलाई
महसुस गरिरहेकी हुन्छ
त्यो पेटमा हुर्किरहेको बच्चा 
आमाकै एक हिस्सा बन्न पुग्छ
त्यो बच्चाप्रति प्रेम
असिमित हुन्छ
आमा सङ्सङ्गै उसले पनि
स्वास लिरहेको हुन्छ
तर, अचानक कसैले
त्यही उसको पेटमा हुर्कदै गरेको
पूर्ण रुपमा आकार पनि नलिसकेको
बच्चाको गर्भ मै हत्या गर्न खोज्छ
हत्या गर्न बाध्य तुल्याउछ भने,
त्यतिबेला,
पिडा के हो ? पीडा सहदा कस्तो हुन्छ ?
त्यो आमालाई सोध ?
एउटी स्त्रीको लागि
उसको प्रेम
सबै भन्दा माथी हुन्छ
सबै भन्दा उच्च हुन्छ
सबै भन्दा पुज्य हुन्छ
आफ्नो प्रेमको लागि उ
सबथोक छोड्न तयार हुन्छे
आफुलाइ नै भुलेर प्रेम गर्छे
आफ्नो प्रेममा यति डुबेकी हुन्छे कि
आफू भित्र उसलाइ पाउँछे
उभित्रै आफू हराउछे
उसको सहयात्री बनेर
जीबनभर
उसैसङ्ग सहयात्र गर्न चाहन्छे
तर, अचानक कसैले
उस्को मनमा उम्रेको प्रेमको टुसालाइ
हुर्कनै नपाइ तोडिदिन्छ भने
त्यतिबेला मुटु कति दुख्छ ?
पीडा कस्तो हुन्छ ?
त्यो प्रेमिकालाई सोध ?
पुष्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

मालपोत कार्यालय डोटीको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकासित मिति ः २०७४/७/२०        
        जिल्ला डोटी सायल गाउँपालिका वडा नं.५ (साविक डौड गा.वि.स.वडा नं.५) स्थित कि.नं.४७० ऐ.वडा नं.६ स्थित कि.नं.७६६, ७८८, ९०५, ९४६, १०८२, को जग्गा सोही गा.वि.स.वडा नं.६ बस्ने मनुवाको नाती कपुरे थापाको छोरा गगने थापाको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनी गगने थापाको मिति ः २०७४/२/३१ मा निजको पत्नि राईमति थापाको मिति ः 2०५०/४/१४ मा मृत्यु भएको र मृतकद्वयबाट सन्तान छोराछोरी कोहीकेही नभई अपुताली परेकोले मृतक जग्गाधनीको शेषपछिको हकदार एकमात्र भतिजा पदि थापा मात्र भएको हुदां मृतक गगने थापाको नाउँमा रहेको डोटी डौड गा.वि.स.स्थित पुरै कित्ता घर जग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरी पाउँ भनी सायल गाउँपाीिका ५ नं. वडा कार्यालय डोटीको च.नं.४६ मिति ः २०७४/७/१३ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी सायल गाउँपालिका वडा नं.५ बस्ने पदि थापाले यस मालपोत कार्यालय, डोटीमा मिति २०७४÷७÷१७ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, गगने थापाको अपुताली नपरेको भए वा अन्य हकदार भए वा निज निवेदकको माग दावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।


युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।


सुशासनको अवधारणा
भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमी जस्ता विशेषता भएको खराब शासन प्रणालीले गर्दा विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना भएकोले सन् १९९० को दशक देखिनै दिगो विकास र गरिवी न्युनिकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणा अगाडि सारेको पाइन्छ । यो अवधारणा पश्चिमी देश तथा वैदेशिक सहायता प्रदान गर्ने संस्थाहरुद्वारा विकासशील देशहरुको शासन व्यवस्थामा सुधार ल्याइ विकास निमार्णको प्रक्रियामा गतिशिलता प्रदान गर्ने प्रयोजनको लागि विकास गरिएको हो । 
सन् १९९५ को “सामाजिक विकास सम्वन्धी विश्व सम्मेलन” ले “समाजका सबै क्षेत्रमा प्रजातान्त्रिक, पारदर्शी, उत्तरदायीपूर्ण शासन प्रणाली सामाजिक र मानव केन्द्रित दिगो विकासका अभिन्न आधारशिलाहरु हुन्” भनेर उदघोष गरेपछि सुशासन तर्फ सारा विश्वकै ध्यानाकर्षण भएको हो । यसको मुख्य उद्देश्य जनतालाई उपलव्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता र प्रभावकारीता बढाउनु हो । नागरिकहरुको क्षमता तथा सवलताका मार्गहरु प्रशस्त गर्ने तर्फ शासकीय अधिकारको प्रयोग गर्नुपर्ने कुराहरुमा सुशासनले जोड दिन्छ ।
जनसहभागिता पूर्वानुमानीयता, जवाफदेहिता र पारदर्शीता सुशासनका चार आधार स्तम्भ हुन् । यसको प्रमुख पूर्वाधारका रुपमा जनसहभागितालाई लिइन्छ । वास्तवमा सुशासन जनताको लागि नै भएको हुँदा शासन व्यवस्थामा जनताको व्यापक सहभागिता हुनपर्दछ जसबाट जनआकांक्षा अनुरुप सरकारी क्रियाकलाप अघि बढ्न सकुन् र प्रत्येक नागरिक एवम् सर्वसाधारण जनता सवैले आफ्नो योग्यता र प्रतिभा अनुरुप राष्ट्र निमार्णमा सहभागी भई योगदान दिन सकोस भन्ने यसको मुल मान्यता हो । यसबाट शासन व्यवस्थामा जनताको अपनत्व कायम हुन्छ ।
सुशासन लोकतान्त्रिक सरकारको एउटा आधार स्तम्भ हो । यसले सार्वजनिक पदमा बस्ने व्यक्तिलाई आफ्नो कामप्रति जवाफदेही बनाउछ । त्यसैगरी पारदर्शीता र पूर्वानुमानीयतालाई पनि सुशासन कायम गर्ने आधारभूत पक्ष मानिन्छ । पारदर्शीता र जबाफदेहीताले सरकारमा हुने खुल्लापन र मूल्यको त्यस्तो प्रणालीलाई बुझाउँछ जसले सरोकारवालाहरुको बीच सूचना र दायित्वका बाँडफाँडलाई प्रवद्र्धन गर्दछ ।
सुशासनका चुनौतीहरु
कुनै पनि राज्यकालागि सुशासनलाई प्रभावकारी ढंगमा जनतासामु प्रत्याभूत दिलाउन कठिन पर्ने गर्छ किनकी सुशासन कायम गर्नु आफैमा एउटा चुनौतीको विषय हो । राज्यका सबै अंगबीच सन्तुलन कायम गर्न जति कठिन पर्छ लोकतान्त्रिक संस्कारको विकास गर्न पनि सुशासनका लागि उत्तिकै चुनौतीको विषय हो । निजी क्षेत्र गैर सरकारी संस्थादेखि लिएर नागरिक समाजसँग साझेदारी कायम गर्नु सुशासनका लागि एउटा चुनौतीको विषय हो भने प्रशासनिक क्षेत्रको सुधार गर्नु यसका लागि अर्को चुनौतीको विषय छ ।
त्यसैगरी विकासका लागि अनूकुल वातावरणको सृजना गर्नु, मानव अधिकारको संरक्षण गर्नु, द्वन्द्व समाधान गर्नु, शान्ति स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु पनि सुशासनका लागि अन्य चुनौतीका विषयहरु हुन् ।
सुशासन नभए के हुन्छ ?
सुशासन नभएमा कुनै पनि मुलुकको सकारात्मक परिवर्तन गर्न प्राय असम्भव नै हुन्छ किनकी सुशासन नभएमा मुलुकमा सामाजिक द्वन्द्व र अराजकता बढ्न   सक्छ । त्यसैगरि सुशासन नहुदा सामाजिक तथा आर्थिक न्यायको उपहास हुन्छ । असन्तुलित विकासले प्रशय पाउछ भने विकासमा साझेदारीको समस्या देखापर्दछ । कानुनको उल्लंघन भई सत्ताको लुछाचुडि हुन सक्छ । त्यसैले राज्यको सर्वाङ्गीण विकासका लागि आजको युगमा सुशासनको निकै महत्व भएको पाइन्छ ।

श्री जिल्ला निर्वाचन कार्यालय, डोटीको अत्यन्त जरुरी सूचना 

२०७४ साल मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदातालाई नमुना मतपत्रद्वारा मतदाता शिक्षा प्रदान गर्न यस डोटी जिल्लामा निर्वाचन शिक्षा कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवकहरु सबै नगरपालिका÷गाउँपालिका भित्रका बडाहरुमा पर्ने गाउँघर टोलमा मिति २०७४/०७/०२५ गतेबाट खटिई जानु भएकोले मतदाताहरुले आफ्नो अमुल्य मत बदर हुन नदिन मतदान गर्ने सही तरिकाको बारेमा जानकारी लिनु हुनका साथै मिति २०७४/०८/२१ गतेका दिन बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म हुने मतदान कार्यको लागि सम्वन्धित मतदान केन्द्रमा गई मतदान गर्न हुन सबै मतदाताहरुमा हार्दिक अनुरोध गरिन्छ ।
जिल्ला निर्वाचन कार्यालय, डोटी




No comments:

Post a Comment