Tuesday, November 28, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४/०८/१२

नेपालको संविधानमा अपाङ्गता भएकाहरुको लागि भएका व्यवस्थाहरुको कार्यान्वयन गरौंै ।       
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

हराएका कृष्ण फर्केपछि परिवारमा खुशी

रामहरी ओझा
डोटी, मंसिर ११

सात बर्षदेखि बेपत्ता  छोरो घर फर्केपछि ६३ बर्षीया मन्धरीदेवी जोशीको खुशीको सिमा रहेन । उनी खुशीले धुरुधुरु रुन थालिन् । छोरो फर्केर आउने आश समेत मारिसकेकी मन्धरीले आँगनमा छोरो उभिएको देख्दा सपना जस्तै ठाँनिन् । ‘न कुनै खवर न कुनै फोन, सात बर्ष हराएको छोरो एकाएक दैलोमा पुगेपछि बिश्वासै गर्न गा¥हो भयो’ हर्षका आशु बगाउँदै मन्धरी भन्छिन् ‘एक त आँखा पनि कमजोर भईसकेका छन, ठम्याउनै सकिनँ ।’  
२०६५ सालमा रोजगारीको लागि भारत गएका डोटी के आई सिंह गाउँपालिका–६ का कृष्ण    राज जोशी २०६७ साल देखि परिवारको सम्पर्कमा थिएनन् । यस अघि पनि भारत आउजाउ गर्ने कृष्ण २०६७ सालसम्म लुधियानामा थिए । उनी लुधियाना हुँदा श्रीमती ललिता पनि गएकी थिईन । ललिता गर्भवती भएपछि स्याहार गर्न गा¥हो हुने भन्दै कृष्णले उनलाई घर पठाएका  थिए । गर्भबती श्रीमतिलाई आफन्तसंग घर पठाएदेखि कृष्ण पनि परिवारको सम्पर्कबिहिन भएका थिए । त्यो गर्भबाट जन्मेकी छोरीलाई ६ बर्ष पुग्यो ।
गाउँमा अनेकथरी कुरा हुन्थे कृष्णका बिषयमा । ‘बेपत्ता भयो, कसैले उनलाई मारेर फाल्यो होला’ भन्ने कुरा गाउँलेले गर्दा आमा मन्धरी र श्रीमति ललिताको मन कटक्क हुन्थ्यो । अव छोरो आउँदैन लाग्थ्यो मन्धरीलाई ।   तर, ललिता भने आफ्नो श्रीमान् एक दिन पक्कै आउँछ भन्ने आशामा बाँचिरहेकी थिईन । तिनै कृष्ण ७ बर्षपछि एकाएक आँगनमा टुप्लुक्क आईपुग्दा एकछिन त ललितालाई पनि पत्याउन गा¥हो भयो ।  
के भएछ कृष्णसंग ? 
भारतको लुधियानामा काम गर्दै आएका कृष्ण राम्रो काम पाउने आशामा भारतको राजधानी दिल्ली पुगेछन् । उनले त्यहाँ राम्रो काम पाए पनि । ट्र्याक्टरका पुर्जा बन्ने कम्पनीमा काम गर्न सुरु गरेका कृष्णलाई काम सुरु गरेको ६ दिनमै जेल जानु प¥यो । कम्पनीले कामदारहरुको सामुहिक आवासको व्यवस्था गरेको थियो, त्यही झगडा भयो । ‘राती खाना खाने क्रममा साथीहरुका बिचमा झगडा भयो, त्यो झगडामा एक जनाको ज्यान गयो’ कृष्ण भन्छन् ‘अनि प्रहरीले हामी चार जना नेपालीलाई लगेर जेल हाल्यो ।’ प्रहरीले कुटपिट गरि आफुले मारेको भन्ने वयान दिन लगाएपछि उनी अपराधी सावित भए । उनलाई दिल्लीको तिहार जेलमा राखियो ।
‘त्यहाँ कामदारहरुका बिचमा सधैं झगडा हुँदो रहेछ, म त नयाँ मान्छे थाह भएन’ कृष्णले भने ‘झगडा हुँदा एक जना बैतडीबासीको निधन भएको थियो तर भारतीयहरुलाई थुनेन, हामीलाई लग्यो ।’ जेल परेको ६ बर्षपछि भारतमै बस्दै आएकी मृतककी श्रीमतिले कृष्ण निर्दोष भएको बयान दिएपछि उनी जेलमुक्त भए । जेलमुक्त भएकै दिन उनी सिधै नेपाल फर्के । आफुले अपराध नगरेर पनि जेल कुर्नु परेको पीडाले कृष्ण मानसिक रुपमा पनि सन्तुलित देखिदैनन् । 
के के गुमायो कृष्णको परिवारले ? 
कृष्णका भाई चेतराज भारतको मुम्वइ जाने भनि १४ वर्ष पहिले घरवाट हिडेका थिए । बाल्यकालमै भारत गएका चेतराज भारत गएदेखिनै वेपत्ता छन । कृष्ण पनि भाई जस्तै भारत गई सात बर्षसम्म सम्पर्कबिहिन भएपछि परिवारको बिचल्ली भयो । दुवै छोराहरु सम्पर्कबिहिन भएपनि कृष्णका बुवा छोराहरुको खोजी गर्ने भन्दै भारत गए तर उनी जीउदा घर फर्केनन् । बिरामी भएर मृत्यु भएको खवर पठाए आफन्तहरुले । आफुलाई खोज्न हिडेका बुवाको भारतमै निधन भएको खवर पनि उनले घर पुगेर मात्रै थाह पाए ।
के के गरिन आमाले कृष्णको खोजीमा ? 
छोराहरुको खोजीका लागि मन्धरीले आफन्तहरुलाई भारत पठाईन । ज्योतिषी, धामी झाक्रीसम्म पुगिन् उनी । देउतालाई भाकल समेत गरिन् तर छोराहरुको कुनै पत्तो लागेन लामो समयसम्म । ‘सवै त देउता मिल्यो भन्छन् तर मेरा लागि त न देउता छन् न ज्योतिषी’ भन्ने सोचेर मन्धरीले आश मारिसकेक थिईन । उनी भन्छिन् ‘रुदारुदै जीउ गलिसकेको थियो, आँखा कमजोर भईसकेका थिए ।’ पहिले पहिले आफ्ना छोराहरुलाई सपनामा देख्ने गरेकी मन्धरी अचेत त सपनामा देख्न छोडेकी थिईन । ‘जेठो छोरो आयो, अव त कान्छो छोरो पनि आउने आश पलायो’ मन्धरी भन्छिन् ‘बुढेसकालको सहारा छोरो त आयो तर छोरो खोज्न भारत गएको मेरो सिन्दुर भने उतै रह्यो ।’ 
तर ललिताले भने आश मारिसकेकी थिईनन् । निड्स नेपाल नामक संस्थाले सुरक्षित आप्रवासन प्रवद्र्धन तथा मानव वेचविखन रोकथाम परियोजनाले भारत तथा तेस्रो मुलुकमा बेपत्ता व्यक्तिका परिवारहरु सहभागि गरि गठन गरेको समूहमा आवद्ध ललिता भन्छिन् ‘भारतवाट धेरै वर्षपछि पनि घर फर्कने गर्छन्, एक दिन त मेरा श्रीमान् पनि आउनु होला भन्ने आशा थियो, भयो पनि ।’ 
फेरी भारत जान बाध्य कृष्ण 
जीवनको उर्वर उमेरका ६ बर्ष जेलमा बिताएको एक निर्दोष फेरी पनि भारत जान बाध्य छ । ‘रहर होईन भारत जाने, बाध्यता हो’ कृष्ण भन्छन् ‘जग्गा जमिन थोरै छ, आफुसंग न सीप छ, न लगानी छ, अनि कसरी पेट  पाल्नु ?’ आफु केही समय यतै बस्ने प्रयास गर्ने बताउँछन   कृष्ण । केही सानो तिनो काम गरेर आफु र परिवारको पेट पाल्न सकिन्छ भने यतै बस्छु नत्र    फेरी भारतै जानु पर्ला भन्छन् उनी । भारतमा नेपालीहरुले खेप्नु परेको दुःखबाट उनी परिचित छन् तर पनि बिकल्प छैन उनीसंग ।

सम्पादकीय 

सफल होस् १६ दिने अभियान

“लैङ्गिक हिंसा अन्त्यको लागि सवै जुटौं ! कोही नछुटौं” भन्ने मुल नाराका साथ महिला हिंसा बिरुद्धको १६ दिने अभियान शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसिम्वर १० सम्म बिविध कार्यक्रम गरि मनाईने यो अभियानमा मुख्यतया महिला तथा बालिकाहरुमाथी हुने हिंसा न्युनीकरणका लागि समाजलाई सचेतीकरण गर्ने गरिन्छ । 
लेटिन अमेरिकाको डोमेनिकन गणराज्यमा तत्कालीन तानाशाही त्रिजुलो सरकारले महिलामाथी गरेको दमनबाट मुक्ती पाउनका लागि मिरावेल परिवारका तीन दिदीबहिनीहरु प्याट्रिया, मिर्नावा र मारियाले सरकारबिरुद्ध संघर्ष गरे । उनीहरुलाई तानाशाही सरकारले नियन्त्रणमा लिई २५ नोभेम्वर सन १९६० मा निर्ममतापूर्वक हत्या ग¥यो । त्रिजुलो सरकारको अन्त्य भईसकेपछि उक्त दिनको सम्झनामा लेटिन अमेरिकाले सन १९८१ देखि उक्त दिनलाई महिला हिंसा बिरुद्धको दिवसका रुपमा मनाउन थाल्यो । सन १९९१ बाट महिला बिश्वव्यापी नेतृत्व केन्द्रको अगुवाई मा महिला हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भयो । 
अहिले बिश्वभरी यो दिवस बनाउने गरिएको छ । महिलामाथी भईरहेका हिंसाका घटनाहरु न्यून गर्नका लागि यो अभियान सञ्चालन गरिएको भएपनि पछिल्लो समयमा यो अभियान कर्मकाण्डी मात्रै भएको जस्तो देखिन्छ । बर्षमा एक पटक रेडिमेड क्रियाकलापहरु सम्पन्न ग¥यो, सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त ग¥यो, फेरी बिस्र्यो जस्तै भएको छ । महिलामाथी हुने हिंसा किन न्यून हुन सकेका छैनन् ? भन्ने बिषयमा न कसैले खोजी गरेको छ न हिंसा न्यून गर्नका लागि ठोस योजना बनेको छ । 
महिलामाथी हुने हिंसका घटनाहरु न्यून गर्नका लागि ठोस योजनाका साथसाथै आफ्ना जीवनशैली परिवर्तन गर्नु जरुरी छ । शासन पद्धति प्रजातान्त्रिक भएर केही हुँदैन, प्रजातान्त्रिक पद्धतिलाई आफ्नो जीवनशैली बनाउन सकिएन भने कुनै पनि प्रकारका रुढीगत मान्यताहरु न्यून हुन सक्दैनन् । महिला हिंसाको चरम उदाहरणका रुपमा रहेको छाउपडी प्रथाकै बिषयमा कुरा गर्ने हो भने महिला हिंसाका न्यून गर्छौं भनेर लागेका सरकारी तथा गैर सरकारी क्षेत्रका महिलाहरु स्वयं पनि सुनपानी छर्केर घरभित्र प्रवेश गर्ने चलन छ । के यो चलन मेटाउनका लागि चेतनामुलक कार्यक्रम आवश्यक छ ? के चलन हटाउनलाई ति अधिकारकर्मी महिलाहरुलाई अरु कुनै अधिकारकर्मीहरुले भनिदिनु पर्ने हो ? होईन, उनीहरु सचेत पनि छन्, बुझेका पनि छन तर आफ्नो जीवनशैली परिवर्तन गर्न चाहान्नन् । 
महिलाहरुमाथी हुने हिंसाका अनेक रुपहरु छन । ति रुपहरुमा आफु यो वा त्यो कोणबाट संलग्न हुँदै जाने अनि अरुलाई महिला हिंसा रोक्नु प¥यो भन्ने हो भने कसैले पनि बिश्वास गर्ने ठाउँ रहँदैन । आफु पहिले स्पष्ट हुनु जरुरी छ कि मैले उठान गरिरहेको बिषयबस्तुसंग मेल खाने जीवनशैली म अंगिकार गर्न सक्छु कि सक्दैन भन्ने कुरा । पहिले आफुले आफुलाई तयार गर्न जरुरी छ, अनि अरुको अधिकारका लागि लड्ने शक्ति आउँछ । 
त्यसकारण आफ्नो जीवनशैली परिवर्तन गर्नु जरुरी छ । होईन भने प्रत्येक बर्ष अभियान आउने छ, अभियानका नाममा केही व्यक्तिहरुले दुई÷चार पैसा मिलाएर खानेछन् । एक दिन ¥याली निस्कनेछ, फेरी हामी पुरानै संस्कार र संस्कृतिमा फर्कने  छौं । घटनाहरु भईरहनेछन्, हामी मुकदर्शक मात्रै हुने छौं । यस बिषयमा सवैले सोच्नु जरुरी छ ।

थप समाचार 

गीतबाटै पीडा पोखिन् रजनीले

“देशमा लोकतन्त्र आयो, गाउँघर आएन ।
रातदिन कामकै झर्को, पढ्न त पाएन ।” 
डोटी पूर्वीचौकी गाउँपालिका–७ कि १५ बर्षीया रजनी बिक देशमा आएको राजनीतिक परिवर्तनले आफु जस्ता बिपन्न किसोरीहरुलाई केही नदिएको बताउँछिन् । लेख्ने पढ्ने रहर हुँदाहुँदै पनि आफुले पढ्न नपाएको गुनासो छ उनको । 
रजनी सानै उमेरमा बिद्यालय त गईन तर नियमित बिद्यालय जान नपाउँदा उनले आफुले चाहे अनुसार पढ्न सकिनन् । स्थानीय मण्टामाण्डौं माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्ययनत उनी आफ्नो उमेरका साथीसंगीहरु माथिल्लो कक्षामा पढ्दै गरेको देख्दा दिक्दार हुन्छिन् । भन्छिन् ‘मेरो दिमागमा पढेर डाक्टर बन्ने थियो तर नियमित रुपमा बिद्यालय जान पनि पाईन । तर पनि उनले डाक्टर हुने सपना छोडेकी   छैनन् । 
महिला हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा सामुदायिक बिकास केन्द्र डोटीको सहयोग तथा महिला तथा बालबालिका कार्यालय डोटीको समन्वयमा बिद्यालयले आयोजना गरेको प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा रजनीले एकल गीतको माध्यमबाट आफ्नो पीडा पोखेकी थिईन । 
‘म भन्दा तीन बर्ष कान्छो भाई कक्षा ८ मा पढ्दैछ, उसको पढाई पनि ठिकै छ तर म सातमा पढ्दैछु’ रजनी भन्छिन् ‘हामी छोरीहरुले घरको काम गर्नु पर्छ, घरको कामबाट बचेको समयमा मात्रै बिद्यालय आउने हो ।’
‘आधा आकाश ढाक्ने महिला नौकर जस्तै छन । 
साद्धेपाद्धे केही हुँदैन नारा त सस्तै छन ।’ 
उनले गितको माध्यमबाट भनिन् ‘नारा जति लगाए पनि महिलाहरु अहिले पनि नौकर   सरह छन ।’ 
उनी बिद्यालयले आयोजना गर्ने हरेक क्रियाकलापमा आफ्नो रचना प्रस्तुत गर्छिन् । भन्छिन् ‘यसरी सुनाएपछि कुनै दिन समाज परिवर्तन होला भन्ने आश गरेकी छु । गाउँमा मदिरा सेवन गरेर पुरुषले महिलाहरुमाथी  गरेको हिंसाबाट उनी आक्रोसित  छन । भन्छिन् ‘सरकारले रक्सी किन बन्द गर्न सक्दैन ?’
नियमित बिद्यालय आउन नपाउँदा रजनीले पढ्न नसकेको बिद्यालय प्राचार्य कर्ण भण्डारी बताउँछन् । उनी भन्छन् ‘मेहनती त छन् तर नियमित बिदालय आउँदिनन् ।’ बिद्यालयका अतिरिक्त क्रियाकलापहरुमा रजनी सधैं सक्रिय रहने गरेको भण्डारीले बताए ।  

२०७२ यता ३७ महिला हराए

२०७२ साल श्रावण यता डोटी जिल्लामा ३७ जना महिलाहरु हराएका छन । 
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा १२ महिला हराएको प्रहरीमा उजुरी परेको थियो । त्यसमध्ये ६ जना फेला परेका थिए भने बाँकी ६ जना सम्पर्कमा आएनन् । 
यस्तै आर्थिक बर्ष ०७३÷०७४ मा २६ महिला हराएको प्रहरीलाई जानकारी आएकोमा सो मध्ये चार जना मात्रै पाईएका छन । २२ जना फेला परेनन् । यस्तै चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १० जना महिला हराएकामा एक जना फेला परेका प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।
यस्तै यस अवधीमा ३९ जना बालबालिकाहरु हराएको उजुरी आएकोमा २९ जना फेला परेका र ११ जना बालबालिकाहरु अझै फेला नगरेका सिंहले जानकारी दिए । सिंहका अनुसार पाँच बालिका र पाँच बालक फेला परेका छैनन् । 
महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सिंहले भने ‘फेला नपरेका भन्ने हाम्रो रेकर्डमा भएपनि अधिकांस फेला परेका छन तर प्रहरीलाई हराएको मात्रै जानकारी गराउँछन, फेला परेपछि फेला प¥यो भन्दैनन् त्यसैले यो संख्या बढी देखिएको हो ।’ सिंहले मदिराका कारण जिल्लामा महिला तथा बालबालिकाहरुमाथी हुने हिंसाका घटनाहरु बढिरहेको सिंहको भनाई छ । उनले हिंसा न्यूनीकरणका लागि समुदायमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने कुरामा जोड दिए । 
कार्यक्रमका प्रमुख अतिथि पद्म पव्लिक माध्यामिक बिद्यालयका प्रचार्य गिता जोशीले महिला माथी हने हिंसा न्यूनीकरणका लागि पुरुषहरुले पनि सक्रिय हुनु पर्ने बताईन । उनले भनिन् ‘पुरुषहरुले पनि एक पटक आफुलाई महिलाको स्थानमा राखेर सोच्ने हो भने महिलाहरुका पीडा ज्ञात हुनेछन् । 
महिला तथा बालबालिका कार्यालय डोटीको आयोजना तथा बिभिन्न गैरसर–कारी संस्थाहरुको सहकार्यमा शनिवारदेखि १६ दिने अभियान प्रारम्भ भएको छ । अभियान अन्तरगत बिभिन्न स्थानहरुमा चेतनामुलक नाटकहरु, साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिने निमित्त महिला विकास अधिकृत सविना श्रेष्ठले जानकारी दिईन ।  

बिद्यालय नियमित गर्न खेलकुद

बालबालिकाहरुलाई नियमित बिद्यालय आउन उत्साहित गर्न बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताहरु सञ्चालन भएका छन । 
युनिसेफ नेपाल र रेष्टलेस डेभेलोप्मेन्ट नेपालको आर्थिक सहयोगमा जिल्ला शिक्षा कार्यालय डोटीको समन्वयमा सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित सम्भव कार्यक्रमको सहयोगमा रामपुर माबि बुडर डोटीमा अन्तर विद्यालय कबड्डी प्रतियोगिता गरिएको सिडिसीका कार्यक्रम संयोजक सतिश गुरुङ्गले जानकारी दिए । कार्यक्रममा रामपुर माबि र गौरीशंकर माबि गैरा बिच प्रतिस्प्रधा भएको थियो । 
यस्तै शारदा माबि मुडभरामा सरस्वती माबि पचनाली, राधाकृष्ण माबि तिजाली र शारदा माबिबिच कवड्डी प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । सिद्धेश्वर माबि वनलेकको आयोजनामा सिताराम माबि उच्चाकोट, गणेश माबि जिजौडामाण्डौ, लाटामाण्डौ माबि लाटामाण्डौ, राधाकृष्ण माबि गोपघाट र सिद्धेश्वर माबिविच छात्रा लङ्जम्प प्रतियोगिता सम्पन्न भएको छ ।  
बिद्यालयमा यस्ता प्रतियोगिताहरु आयोजना गर्दा बिद्यार्थीहरु अतिरिक्त क्रियाकलापका कारण पनि निरन्तर बिद्यालय आउन मद्दत पुग्ने रामपुर माबिका प्राचार्य टेक बहादुर बोगटीले बताए । उनले भने ‘यस्ता खेलहरुले बालबालिकाहरुलाई बिद्यालयप्रति आकर्षित गर्छ ।’ 
विद्यालयमा विद्यार्थीहरुलाई टिकाई राख्नु, नियमित विद्यालय भित्र्याउन तथा सिकाई उपलब्धी बढाउनु यो खेलकुद क्रियाकलापको उद्देश्य रहेको सिडिसीका कार्यक्रम संयोजक गुरुङ्गको भनाई छ । गुरुङ्गले प्रतियोगितामा भाग लिने बिद्यार्थीहरुलाई प्रोत्साहान स्वरुपमा मिेडल र पुरुस्कारको रुपमा शिक्षण सामग्रीहरु बितरण गरिएको बताए । उनले संस्थाले समय समयमा यस्ता परियोजनाहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।

विद्यालय सुधारका क्षेत्रमा स्वमुल्यांकन कार्यशाला सम्पन्न

बिद्यालय शिक्षाको गुणस्तर सुधारका लागि भएका प्रयासहरुको अवस्था बुझ्नका लागि स्व–मुल्याङ्कन कार्यशाला सम्पन्न भएको छ । 
सार्वजनिक शिक्षा तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागी बिद्यालयमा भएका प्रयासहरुबाट पारेको प्रभावका वारेका मुल्याङ्कन गर्नका लागि उक्त स्व–मुल्याङ्कन कार्यशाला आयोजना गरिएको आयोजक संस्था सम विकास केन्द्रले जानकारी दिएको छ ।  संस्थाले एक्सन एडको साझेदारीमा सञ्चालन गर्दै आएको स्थानीय स्रोतको परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजना सञ्चालन गरिएका क्षेत्रका बिद्यालयहरुलाई लक्षित गरि उक्त कार्यशाला सञ्चालन गरिएको संस्थाका कार्यक्रम संयोजक अधिराज बिसीले जानकारी    दिए । 
विद्यालयहरुमा भएका सिकाई, अनुभव र चुनौतिका वारेमा प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षा सरोकार समुह, वालकल्व, आमासमुह, सम्वन्धित वडाका वडा अध्यक्ष, सदस्यहरु लगायतको सहभागीतामा सम्पन्न कार्यशालाले  वालवालिकाहरु नियमित बिद्यालय आउने गरेको, कक्षाकोठामा बालकेन्द्रित सिकाई प्रक्रियाको अबलम्बन गरिएको, बिद्यालयमा बालमैत्री बातावरण सृजना भएको निश्कर्ष निकालेको कार्यक्रम संयोजक बिसीले बताए । उनले भने ‘अभिभावकहरु विद्यालयमा आफनो छोराछोरीको पढाईको अबस्था र विद्यालयको वाताबरणका    वारेमा वुझ्ने र अनुगमन गर्ने गरेको पाईएको छ ।’

प्रदेश नं. ७ मा शान्तिपूर्ण मतदान  

६२ प्रतिशत मतदान
प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन अन्तरगत प्रदेश नं. ७ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । करीव ६२.७५ प्रतिशत मत खसेको क्षेत्रीय प्रशासन कार्यालयले  जानकारी दिएको छ । 
सुदूरपश्चिम क्षेत्रीय उपप्रसाशक शंकर बिष्टले दिएको जानकारी अनुसार प्रदेश नं. ७ का नौ जिल्लाहरुमध्ये चार जिल्ला बझाङ, बाजुरा, बैतडी र दार्चुलामा आईतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । ‘बाजुराको पाण्डुसैसन क्षेत्रका दुई मतदान केन्द्र र बुढीगंगा क्षेत्रको एक मतदान केन्द्रमा दिउसो सामान्य बिवाद भएको थियो’ अनलाईन खवरसंग कुरा गर्दै उपप्रशासक बिष्टले भने ‘त्यो बिवाद तत्काल समाधान गरि फेरी मतदान सुचारु भएको थियो ।’ यस क्षेत्रका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको बिष्टले जानकारी दिए । 
उनले अनुपातमा चारै जिल्लाका करीव ६२.७५मतदान भएको जानकारी दिए । ‘हामीसंग आएको बिवरण अनुसार बाजुरा जिल्लामा सवैभन्दा बढी करीव ७६ प्रतिशत मतदान भएको छ’ बिष्टले भने ‘बैतडी जिल्लामा करीव ५५ प्रतिशत मत खस्यो, बझाङ्ग र दार्चुलामा करीव ६० प्रतिशत मत खसेको छ ।’
चार जिल्लामा प्रतिनिधि सभाका लागि २० र प्रदेश सभाका लागि ३५ गरि ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन । पाँच सय ७१ मतदान केन्द्रमा मतदान भएको थियो । दार्चुलामा एक सय २९ वटै मतदान केन्द्रमा मतदान भएको थियो । यस्तै बैतडीमा एक सय ८२, बझाङमा एक सय ६० र बाजुरामा एक सय मतदान केन्द्रमा मतदान भएको थियो । 
दार्चुला प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि १० जना उम्मेदवा–रहरु चुनावी मैदानमा छन । यस जिल्लामा ७८ हजार पाँच सय १२ मतदाता छन । 
यस्तै बैतडीमा प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि सात, बझाङमा प्रतिनिधि सभाका लागि ७ र प्रदेश सभाका लागि १०, बाजुरामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि आठ उम्मेदवारहरु चुनावी मैदानमा छन । बैतडीमा एक लाख ३२ हजार तीन सय १७, बझाङमा एक लाख चार हजार दुई सय ७५ र बाजुरामा ६९ हजार आठ सय ३४ चारवटै जिल्लामा तीन लाख  ८४ हजार नौ सय ३८ मतदाता मतदाता रहेका छन । 

छोटकरी समाचार 

डडेल्धुरामा ५३ स्थल संबेदनशील
प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७७ मतदान स्थल रहेको प्रधानमन्त्री शेरवहादुर देउवाको गृहजिल्लामा ५३  मतदानस्थल संवेदनशील रहेका छन । 
जिल्लामा अति संवेदनशील, ३७ संवेदनशील र २४ मतदानस्थल प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले  बताए । 
जिल्लामा ७७ मतदान स्थलहरुमा एक सय १७ केन्द्रहरु रहेका जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जानकारी दिएका  छ ।

मतदान अधिकृतहरुलाई तालिम दिईदै

मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई तालिम दिन सुरु गरिएको छ । 
जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सोमवार देखि तालिम दिन सुरु गरिएको हो । तालिम दुई चरणमा हुँदैछ । पहिलो चरणमा मतदान अधिृकतहरुको सोमवार र मंगलबार प्रशिक्षण भईरहेको छ भने दोश्रो चरणमा बुधवार र बिहिवार सहायक मतदान अधिृकतहरुका लागि प्रशिक्षण हुनेछ । 
जिल्लामा एक ५७ मतदान केन्द्रहरु रहेका छन । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई गोलाप्रथाद्वारा चयन गरिने कार्यालयले जनाएको छ ।  

खेल समाचार 

युएई बिरुद्ध नेपाली टोली घोषणा

नागरिक दैनिकबाट
सातौं चरणको विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यूएई विरुद्ध खेल्नका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाली टीमको छनोटमा आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का थिए । दोस्रो चरणमा परेका २० जना खेलाडीहरूबाट सोमबार १४ सदस्यीय नेपाली टीमको घोषणा गरिएको हो । 
नेपाली टोलीमा दीलीप नाथले पुनरागमन गरेका छन् । उनले गत चैतमा भएको इमर्जिङ टिम्स कपमा सिनियर टीममा डेब्यू गरेका थिए । दोस्रो चरणमा परेका हसिम अन्सारी र सुशील कँडेल भने अन्तिम टीममा अटाएनन् । नेपाली टीम बुधबार यूएई प्रस्थान गर्नेछ । वैकल्पिक खेलाडीको रुपमा रहेका अनिलकुमार साह र कुशल भुर्तेल पनि यूएई जाने बताइएको छ ।
यूएईसँग प्रतिस्पर्धा गर्नुअघि आउँदो शुक्रबार अमेरिका र आइतबार नेपाली टोलीले केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम तय भइसकेको छ ।
डब्लुसीएल च्याम्पियनसीप अन्तर्गत नेपाल र यूएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ । डब्लुसीएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र यूएई दुवै डिभिजन–२ मा झरिसकेका छन् । नेपाली टीममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन  रहेका छन । यस्तै वैकल्पिक खेलाडीहरुमा कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया र सिद्धान्त लोहनी रहेका छन ।

नेपालद्वारा हङकङ पराजित

एजेन्सी
आइसीसी महिला टि–२० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । 
नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् ।
टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाएकी थिइन् ।
नेपालले समूहमा ६ अंक बनाउदै तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । थाइल्याण्ड र यूएई ९ र ८ अंक बटुल्दै क्रमशः पहिलो र दोस्रो स्थान बनाउँदै ग्लोबल क्वालिफार्यसमा छनोट भएका   छन् ।

चलचित्र/मनोरञ्जन 

अर्को ‘फिल्म फेष्टिभल’ हुने

दुई अन्तराष्ट्रिय स्तरका फेस्टिभल सकिएको केही समय बित्न नपाउँदै अर्को छोटो फिल्म फेस्टिभलको तयारी शुरु भएको छ । 
सर्ट फिल्म निर्माता तथा निर्देशकलाई प्रोत्साहन गर्न ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७’ हुन लागेको हो ।राजधानीमा हालसालै दुईवटा फिल्म फेस्टिभल भएका छन् । ‘फिल्म साउथ एसिया’ र ‘एकादेश’ले दुई हप्ताको अन्तरालमा राजधानीका दर्शकलाई डकुमेन्ट्री र छोटा फिल्मको आनन्द दिएका थिए । 
छाँयाछवि क्रिएसनले आयोजना गर्न लागेको फेस्टाका लागि आयोजकले छोटा फिल्म दर्ता गराउन निर्माता तथा निर्देशकलाई आव्हान गरेको छ । आयोजकले पुषको अन्त्यमा हुन लागेको फेस्टाका लागि मंसिर १५ सम्म सर्ट फिल्म दर्ता गराउन समयसीमा तोकेको छ । ‘यो फेस्टामा वृत्तचित्र, चलचित्र, कार्टुन÷एनिमेशन फिल्मले भाग लिन पाउने छन् । सम्बन्धित फिल्मको लम्बाई ३ मिनेटदेखि ४५ मिनट भित्रको हुनुपर्ने छ,’क्रिएसनका अध्यक्ष शान्तिप्रियद्वारा  जारी विज्ञप्तिमा भनिएको छ,‘जुनसुकै विधा र शैलीका फिल्मले पनि फेस्टामा भाग लिन पाउने छन् ।’
फेस्टामा छोटा फिल्मको प्रदर्शनसँगै फिल्मसम्बन्धी अन्तरक्रियालगायतका कार्यक्रम पनि गरिने आयोजकले जनाएका छन् । फेस्टामा सहभागी फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कारसँगै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, ‘इनकरेजमेन्ट अवार्ड’ र ‘पब्लिक च्वाइस अवार्ड’ सहित केहि विधामा अवार्ड पाउनेछन् ।

‘मिस नेपाल’का लागि आवेदन खुला

युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संकरण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ती जारि गर्दै प्रतियोगिताको आवेदन खुल्ला गरिएको जनाएको छ ।
‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका कम्तिमा ५ फिट उचाही भएका अविवाहित युवतीले मात्र आवेदन भर्न सक्नेछन् ।
आवेदन फारम नेक्स्ट मोडल्स् नेपालको अनामनगरस्थित कार्यलय तथा नेक्सट् मोडल डटकममा उपलब्ध छ । मंसिरको अन्तिम साता काठमाडौमा आयोजना गरिने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रबि धमलाको दाबी रहेको छ ।
अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउदै नर्सिङ पेसा रोजेका र अध्यायन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता बिगत ६ बर्षदेखि नियमित आयोजना हुँदै आएको हो ।
प्रारम्भिक छनौट देशका बिभिन्न स्थान बेष्ट क्यान्सर सम्बन्धि जन चेतना र हेल्थ क्याम्प सहित आयोजना हुनेछ । प्ररम्भिक चरणमा छानिएका प्रतियोगिलाई संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।
प्रतियोगिताका शिर्ष बिजेताले एक लाख नगद, नेपाल बेस्टक्यान्सर फाउण्डेसनको गुडबिल एम्बेसडरका साथै बिभिन्न उपहार समेत जित्न सक्नेछन् ।

लेख 

निर्वाचन आयोगको सक्षमता

रामहरी ओझा
बाजुराका एक जना सक्रिय एवं अनुभवी सञ्चा– रकर्मी मित्रले आईतवार सम्पन्न भएको मतदानको बिषयमा आलोचनात्मक टिप्पणी गरे । बिदेशमा भएका, कामको सिलसिलामा जिल्ला बाहिर रहेका, अन्तै बसोबास गरिरहेका, मृत्यु भएका, बिरामीले थला परेका सवैले मतदान गरे रे । बाजुरामा सायद देशैभरीमा राम्रो मतदान भयो, करीव ८० प्रतिशत । 
दार्चुलाका अर्का सक्रिय सञ्चारकर्मी मित्रले मतदान अधिकृतको हस्ताक्षर बिनाका सयौंको मत्रपत्र खसेको टिप्पणी गरेका छन । उनले मतपत्र गिन्दा कति मतमत्र हस्ताक्षर बिनाका खसेका छन भन्ने कुराको जानकारी हुने वताएका छन । त्यस्ता मतदान अधिकृतलाई  कारवाही हुने कि नहुने भन्ने उनको प्रश्न छ । यो भुलबस हो वा नियतबस भन्नेमा उनको संका छ । 
बिभिन्न सञ्चारमाध्यममा आएको खवर अनुसार कुनै ठाउँमा मतदान अधिकृत स्वयंको मिलेमतोमा ५० औं मत फर्जी खसेका छन । कुनै ठाउँमा मतदाताहरुलाई मतदान स्थलसम्म जानमा रोक लगाइएको भन्ने समेत आएको छ । कुनै ठाउँमा अमुक दलका कार्यकर्ताहरुले मतदान केन्द्र नै कव्जामा लिएर राखे, फरक दलका कार्यकर्ताहरुलाई बाटोमा ढुङ्गा मुडा गरेर लोकतान्त्रिक चरित्र प्रदर्शन गरे भन्ने कुरा पनि आएको छ । कव्जा गरेको मतदान केन्द्र सेनाले गएर सामान्य अवस्थामा ल्याउनु परेको खवर छ ।
यस्ता समाचारहरु आईरहँदा दुईवटा घटनाहरु स्मरणमा आए । पहिलो ः आईतबार बिहान मात्रै केही निजामति कर्मचारी साथीहरुसंग निर्वाचनमा धाँधली हुन सक्ने बिषयमा भएको थियो । साथीहरुले जवर्जस्त ढंगले मतदानको समयमा धाँधली हुन नसक्ने तर्क प्रस्तुत गरेका थिए । आधारहरु र नजिरहरु प्रस्तुत गर्दा समेत चित्त बुझेको थिएन साथीहरुलाई । यद्यपी उहाँहरु आफ्नो ठाउँमा अडिक हुनु होला, उहाँहरुलाई जो सुकै दलले जिते पनि परवाह छैन होला, त्यसकारण उहाँहरुले आफ्नो अडान कायम राख्नु भएको होला, त्यसमा कुनै गुनासो छैन तर बहस गरेको १० घण्टा पनि बित्न नपाउँदै आएका यि समाचारहरुले ति साथीहरुलाई पनि झस्काएको चाँही हुनुपर्छ । 
दोश्रो घटना ः २०७० सालको निर्वाचन ताका मत गणनामा खटिएका एक जना कर्मचारीले लाजै पचाएर भन्नु भएको कुरा स्मरण भयो । ‘फलनो पार्टीका करीव पाँच सय मत त मैले गणनाको बेला आफैले बढाईदिएको हुँ, एजेण्टहरु निदाउन थालेका थिएँ, त्यही मौकामा मैले पनि फाईदा लिएँ ।’ बडो बहादुरीपूर्वक आफ्नो अपराध प्रस्तुत गरेका थिए ति व्यक्तिले । अहिले पनि ति व्यक्ति निजामति सेवामै छन् । उनले त त्यो हिम्मत त गरे तर त्यस्ता कतिपय कर्मचारीहरु छन जो “फलानो पार्टी” जिताउनका लागि आफ्नो ज्यान दिन पनि तयार हुन्छन् ।
यि सवै घटनाहरु हेर्दा निर्वाचन आयोगले आफुलाई कति सक्षम छु भनेर हेर्नु पर्ने बेला आएको त हैन ? भलै निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण भयो । शान्तिपूर्ण निर्वाचन हुने कुरा आयोगसंग मात्रै सम्वन्धित कुरा होईन, सुरक्षा निकायसंग सम्वन्धित कुरा पनि हो । यस आधारमा निर्वाचन आयोगले आफ्नो सक्षमता प्रकट गरेको भन्न मिल्ला । तर, समग्रमा हेर्दा के निर्वाचन बिश्वसनीय भयो त वा भयरहित बातावरणमा निर्वाचन सम्पन्न भयो त ? हिंसाका घटनाहरु कम हुनु वा नहुनुलाई निर्वाचनको निश्पक्षता वा भयरहिततासंग दाँज्न मिल्दैन ।  
निर्वाचन आयोग सम्वैधानिक निकाय हो । निश्पक्ष, स्वच्छ र भयरहित एवं बिश्वसनीय निर्वाचन गराउनु आयोगको उद्देश्य हो । यो उद्देश्य पुरा गर्नका लागि बिभिन्न नीतिगत व्यवस्थाहरु र आचार संहिता बनेका छन । ति नीतिहरुको आधारमा निर्वाचन गराउने जिम्मेवा–री पाएको आयोगलाई पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा असक्षम त भन्न नमिल्ला तर के सक्षम हो त भन्ने प्रश्न हो । 
निर्वाचन सम्पन्न गर्नका लागि खटिएका सवै कर्मचारीहरु निर्वाचन आयोगका कर्मचारीहरु मानिन्छन् । आयोगले उनीहरुलाई तालिम दिएको छ, मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी भनेर नियुक्ती दिएको छ, आयोगको म्याण्डेट अनुसार उनीहरु काम गरिरहेका  हुन्छन् । तिनै कर्मचारीहरुको उपस्थितिमा मृत्यु भएको मतदाताले समेत मतदान गर्छ भने त्यसलाई आयोगले कसरी स्वच्छ निर्वाचन मान्न सक्छ ? मतादन अधिकृत स्वयंले अमुक पार्टीका लागि ५० औं मत फर्जी खसाउने सहमति दिन्छ भने यो कसरी निश्पक्ष हुन सक्छ ? मतदाताहरुलाई घरमै वा बाटोमै रोकिन्छ वा मतदान स्थलसम्म जान छेकवार लगाईन्छ भने कसरी भयरहित निर्वाचन भएको मान्न सकिन्छ ? अनि कति प्रतिशत बिश्वसनीय मान्न सकिन्छ मंसिर १० गते सम्पन्न भएको निर्वाचनलाई ? सोही आाधारमा निर्वाचन आयोगको सक्षमताको कुरा पनि आउने होला । यसको जिम्मेवारी आयोगले लिने कि नलिने ?
निर्वाचन घोषणा भईसकेपछि निर्वाचन आचारसंहिता सक्रिय हुन्छ । कुनै दिन आयोगका प्रमुख आयुक्तले भन्नु भए जस्तो आचारसंहिता सक्रिय भईसकेपछि सरकार सञ्चालन गर्ने आयोगले नै हो अर्थात आयोगको सहमतिका आधारमा मात्रै सरकारले काम गर्ने हो । अन्यथा दैनिक प्रशासनिक कार्य बाहेक अन्य कामहरु सरकारले गर्न पाउँदैन । त्यसकारण निर्वाचन स्वच्छ भयो वा भएन, मर्यादित भयो वा भएन, भयरहित भयो वा भएन, निश्पक्ष भयो वा भएन भन्ने कुराको प्रमुख जस र अपजस आयोगले नै लिनु पर्ने हुन्छ । 
तर दुर्भाग्यको कुरा छ, निर्वाचन घोषणा हुँदा जसरी खरो उत्रेको थियो आयोग, निर्वाचनको मिति नजिकिदै जाँदा गल्दै गयो । सरकारले जे जे भन्यो त्यसैमा औंठा छाप लगाउँदै गयो । जसको नतिजा मंसिर १० गतेले देखाएको छ । रातारात प्रमुख जिल्ला अधिका–रीहरु, सुरक्षा निकायका प्रमुखहरु, अन्य महत्वपूर्ण पदमा रहेका कर्मचारीहरु चलाइदा समेत स्वभाविक देख्ने आयोगले निर्वाचन अस्वच्छ हुनुमा यि एलिमेण्टहरुले काम गर्छ भन्ने बिषयमा त सोचेकै हुनु पर्ने होईन र ? 
नेपालमा यो नौलो कुरो होईन, यस अघिका निर्वाचनमा पनि यस्ता घटनाहरु भएका हुन, आज फेरी दोहोरिएका मात्रै हुन । निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन गर्दा सायद फोटो सहितको परिचय पत्र हुँदा फर्जी मत खस्दैनन् भन्ने आँकलन    गरेको थियो तर दुर्भाग्य, फेरी उही नियति ।
यद्यपी निर्वाचनको बेलामा धाँधली हुने नेपाल एक्लो मुलुक होईन । लोकतान्त्रिक पद्धतिमा संसदीय अभ्यास गरिरहेका अन्य कयौं मुलुकहरुमा पनि यस्ता अमर्यादित क्रियाकलापहरु हुने गरेका समाचारहरु थुप्रै छन । आफुलाई बिश्वकै सवैभन्दा ठुलो लोकतान्त्रिक देश मान्ने भारतमा यो भन्दा अझ बढी निकृष्ट कामहरु हुने गरेका छन । भारतकै सिको नेपालमा पनि भईरहेको जस्तो लाग्छ । 
निर्वाचन प्रक्रिया र प्रणालीमा सुधार र बिकास गर्न अनुसन्धान प्रक्रियामा जोड दिने उद्देश्य बोकेको आयोगले २०६४ सालमा भएको पहिलो संबिधान सभाको निर्वाचनमै देशभरीका मतदान केन्द्रहरुमा प्रयोग गर्ने भनी हल्ला फैलाईएको ईलेक्ट्रोनिक भोटिङ्ग मेसिन (ईभिएम) लागु गर्ने सवालमा १० बर्ष बित्दा समेत कुनै अनुसन्धान गर्न सकेको देखिदैन । न त कुनै बैकल्पिक प्रक्रियाको खोजी गर्न सक्यो । यसलाई पनि आयोगको सक्षमता र असक्षमतासंग जोड्न मिल्ला कि नमिल्ला ? 
बिगतका निर्वाचनहरुमा पनि राजनीतिक दलहरुबाट मतदान अधिकृत कै सक्रियतामा वा मतदान अधिकृतलाई बिभिन्न कुराले प्रभावमा पारेर यस्ता अमर्यादित गतिबिधिहरु भएका थिए । त्यतिबेलाका ति मतदान अधिकृत वा मतदान अधिकृतहरुलाई प्रभावमा पार्ने व्यक्तिहरुलाई कारवाही भएको कुरा खासै सुन्न पाईएन । सायद यही प्रमुख कारण हुन सक्छ निर्वाचनमा अपराधिक क्रियाकलाप गर्नेहरुको मनोबल बढेको । के अव सक्छ त आयोगले त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्न ? 
यदि आजै त्यो आँट र साहस गर्छ भने निश्चित रुपमा मंसिर २१ मा हुने दोश्रो चरणको निर्वाचनमा यस्ता अवान्छित क्रियाकलापहरु केही कम हुनेछन् । आयोग आफैमा एक शक्तिशाली संबैधानिक निकाय हो । निर्वाचनको बेलामा हरेक अवान्छित गतिबिधिहरुलाई आयोगले नियन्त्रण र नियमन गर्ने हिम्मत गर्नु जरुरी   छ । तिनै कर्मचारीहरु खुल्याआम राजनीतिक दलको चुनावी प्रचारमा लाग्ने, सामाजिक सञ्जालमा “फलनो पार्टीलाई जिताउँ” भन्दै अपील गर्ने अनि तिनै नेता कर्मचारीहरुलाई मतदान अधिकृत बनाएर पठाउने हो भने त्यो निर्वाचन कति निश्पक्ष, कति स्वच्छ होला ? एकातिर त्यस्ता केही कर्मचारीहरुका कारण मतदानमा खटिएका वा नखटिएका अन्य सवै कर्मचारीहरुले पनि शीर निहुराउनु पर्ने, अर्कोतिर निर्वाचन आयोग स्वयंले पनि आत्मग्लानी महसुस गर्नु पर्ने अवस्था आउँछ । कर्मचारीहरु खटाउने संयन्त्रहरुलाई अनुगमन गर्नु पर्ने र नियमन गर्नु पर्ने जिम्मेवारी पनि आयोगकै होला ।
त्यसकारण आयोगले आफ्नो हैसियत चिन्नु जरुरी छ । मातहतमा बनाईएका संयन्त्रहरुलाई बिशेष अनुगमन गर्नु जरुरी छ । कुनै पनि राजनीतिक दलसंग संलग्न नभएको व्यक्ति सक्षम हुँदा हुँदै पनि निर्वाचन सम्पन्न गराउनका लागि खट्न सक्ने अवस्था छैन । अरु गैससकर्मीहरु खटिएलान तर स्थायी निजामति कर्मचारी भएरै पनि त्यस्ता व्यक्तिहरु खटिदैनन् । किनकी उनीहरुका लागि भनिदिने वा बोलिदिने कुनै संयन्त्र छैन । निर्वाचनमा कर्मचारी खटाउँदा कस्ता कस्ता हर्कतहरु हुन्छन् भन्ने बिषयमा आयोग अनबिज्ञ होला भन्ने   लाग्दैन । अनि यसरी भएको निर्वाचन कसरी निश्पक्ष हुन सक्ला र ? यस्ता कर्मचारीहरुलाई नियन्त्रण गर्न सक्ने आँट राख्छ आयोगले ? 
यि र यस्ता कतिपय कुराहरुले आयोगको सक्षमता नापिएला । अन्यथा शान्तिपूर्ण रुपमा मतदान हुनु मात्रै सक्षमता होईन । शान्तिपूर्ण निर्वाचन हुनु र भयरहित निर्वाचन हुनु वा स्वच्छ निर्वाचन हुनु वा निश्पक्ष निर्वाचन हुनु फरक(फरक बिषय हुन । आयोगको उद्देश्य शान्तिपूर्ण रुपमा स्वच्छ, निश्पक्ष र भयरहित निर्वाचन गराउनु हो, शान्तिपूर्ण निर्वाचन गराउनु मात्रै होईन । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. नेपालका कुन जिल्लामा सवैभन्दा छोटा वहाव भएका नदी छन ? — दाङ 
२. दिपायल कुन नदीको किनारमा अवस्थित छ ?  — सेती 
३. इन्द्रावती र सुनकोशी कुन स्थानमा मिसिन्छन ?   — दोलालघाट 
४. चेपे नदीको पौराणिक नाम के हो ?    — चम्पवती
५. सप्तकोशीका सात सहायक नदीमध्ये सवभन्दा पूर्वको नदी कुन हो ?  — तमोर
६. डोल्पा जिल्लाको पुरानो सदरमुकाम कहाँ थियो ?   — ताराकोट
७. नेपालमा ५ जिल्ला भएको अन्चलहरू कति छन ? — ५
८ नेपालको कति प्रतिशत भु–भाग समथर छ ? २३ प्रतिशत
९. जडिवुटीको भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ?  — कर्णाली
१०. नेपालको सवभन्दा सानो नगरपालिका कुन हो ?   — वनेपा
११. निलगिरी हिमाल कुन हिमशृङ्खलामा पर्दछ ?   — धौलागिरी
१२. सप्तगण्डकीको औसत जलप्रवाह कति छ ? — १७१३ क्युबिकमिटर प्रति सेकेण्ड
१३. नेपालले विश्वको जलश्रोतको कुल भागको कति ओगटेको छ ? — २.२७ प्रतिशत
१४. तराइको सवभन्दा सानो जिल्ला कुन हो ?   — महोत्तरी
१५. ताल्चा विमानस्थल कुन जिल्लामा पर्दछ ?     — मुगु
१६. स्वयम्भुको पुरानो नाम कुन हो ?   — पदमकण्ठगिरी
१७. चोभार डाँडालाई प्राचिन कालमा के भनिन्थ्यो ?  —कच्छपाल गिरी
१८. लार्के भन्ज्याङ कहाँ पर्दछ ?   — गोर्खा
१९.गलवन्दीका लागि प्रसिद्ध जिल्ला कुन हो ?   — कास्की
२०. नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?   — चमेलीया नदीको किनारमा
२१. हिमालका जिल्लाहरूमध्ये सवभन्दा सानो जिल्ला कुन हो ?   — रसुवा
२२. नेपालको पहाडी प्रदेशले कति क्षेत्रफल ओगटेको छ ? — १०००८३ वर्ग कि. मी .
२३. नेपालको तराइ प्रदेशले कति क्षेत्रफल ओगटेको छ ?  — २५०२१ वर्ग कि . मि .
२४. हिमाली प्रदेशले कति क्षेत्रफल ओगटेको छ ?  — २२००७७ वर्ग कि. मी
२५. सबैभन्दा गहिरो महासागर कुन हो ? – प्रसान्त महासागर 
२६. बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ? – सिन्धुली 
२७. सबैभन्दा ठूलो हिमनदी कुन हो ? – लाम्टाङ 
२८. मरुभूमीमा पानी नपर्नुको कारण के हो ? – आद्रता 
२९. सुगौली सन्धि कहिले भएको हो ? – सन् १८१६ मार्च ३ 
३०. उधौली, उभौली पर्व कसले मनाउंछन ? – किरांत 
३१. निर्वाचन आयोग कस्तो निकाय हो ? — संवैधानिक 
३२. महिला सशक्तिकरण भन्नाले के बुझिन्छ ? — लैसमस 
३३. मुन्सिखानाले के काम गर्दथ्यो ? – परराष्ट सम्वन्धि 
३४. निजी क्षेत्रबाट निर्मित पहिलो जलबिद्युत आयोजना कुन हो ? – खिम्ती 
३५. २०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ? – ९४.१६ 
३६. नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको हो ? – २३ ब्उचष् ि२००४
३७. २०७२ सालको बिनाशकारी भुकम्प सम्वन्धि ः 
ड्डनेपालमा २०७२ बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा जाँदा नेपालको ईतिहाँसकै दोस्रो ठूलो भुकम्प गएको थियो । जुन ७.६ रेक्टर स्केलको थियो । 
ड्ड२०७२ बैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा रहेको थियो । 
ड्ड२०७२ बैशाख २९ गते २०७२ बैशाख १२ गतेको भुकम्पको सबैभन्दा ठूलो पराकम्प गएको     थियो । जुन ६.८ रेक्टर स्केलको थियो । 
ड्ड२०७२ बैशाख २९ गते गएको पराकम्पको केन्द्रविन्दु दोलखा जिल्लामा रहेको थियो ।
ड्डनेपालमा भुगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले भुकम्पको मापन गर्ने गर्दछ । 
ड्डभुगर्भ विभाग उद्योग मन्त्रालय अन्तर्गत पर्दछ ।
३८. चन्द्रसूर्य अंकित झण्डा बनाउने व्यक्ति को हुन ? — शंकरनाथ रिमाल 
३९. नेपालको नयाँ राष्ट्रिय गानमा स्वर २० गायकगायिकाको रहेको छ । 
४०. गौतम बुद्धको चित्र अंकित मुद्रा प्रचलनमा ल्याउने राष्ट्र कुन हो ? — सिंगापुर 
४१. संविधान सभाबाट संविधान निर्माण भएको विश्वका मुलुकको संख्या कति छ ? — ४२ 
४२. मुस्ताङको लोमन्थाङ दरबार बनाउने को हुन ?  — राजा आमपाल 
४३. खुला दिसामुक्त क्षेत्र घोषित पहिलो गाविस  — तनहुँको बन्दिपुर 
४४. खुला दिसामुक्त क्षेत्र घोषित पहिलो जिल्ला  — कास्की 
४५. नेपाल कुष्ठरोगमुक्त देश घोषणा  — २०६६ माघ ५ 
४६. नेपाललाई ध्ज्इ ले पोलियोमुक्त पहिचानको प्रमाणपत्र दिएको — मार्च १७, २०१४ 
४७. नेपालमा कमलरी मुक्तिको घोषणा  — २०६९ साउन ३ 
४८. सबैभन्दा बढी धनराशी (७५ लाख) भएको एनसेल कप फूटबल प्रतियोगिता २०७० को विजेता टिम — मनाङ–मस्र्याङ्दी 
४९. भ्ग् को सबैभन्दा कान्छो सदस्य राष्ट्र — क्रोएशिया 
५०. भ्ग् कस्तो संस्था हो ? — क्षेत्रीय आर्थिक संगठन

साहित्य/सृजना 

आमा  

रुवाई रुवाई मलाई
अन्मायौ आमा डोलिमा 
के गल्ती नै थियो र मेरो 
थमाई दियौ अरुकै हातमा
एकै कोखका दाई र म 
दाईलाई काखा मलाई पाखा 
लगाई दियौ
छोरी भै जन्मिनु अभिसाप भो 
न त दुधको भारा तिर्न सकेँ 
न त तिम्रो भारा तिर्न सकेँ 
न त तिम्रो सेवा नै गर्न सकेँ
तिम्रै सन्तती नै त हो म 
आमा हेर त
२२ बर्षपछि घर
छोडाई दियौ
मन थिएन आमा
आफ्नो जन्मघर छोड्ने
समाजको रित अनि 
तिम्रो इज्जतका लागि
हेर आज म पराई भै दिएँ 
कस्तो निष्ठुर मन तिम्रो आमा
सानो हुँदा घामपानीले पोल्ला भनी
ओभानो पारी हुर्कायौ
हेर त 
आम म सक्षम हुँदा
अरुकै सेवा गर भनी
नचिनेका सित साइनो लगाइ दियौ 
तिमीले त आफ्नो थर गोत्र 
मलाई दिन नौ महिना तपस्या बस्यौ
हेर त 
एक चिम्टी सिन्दु 
अनि गलाको पोतेले 
अजनबीले बिना तपस्या 
आज उसकै थर अनि 
गोत्र भिराइदियो 
आफुबाट तिम्रो मुटुको टुक्रा 
अलगाउनु नै थियो त 
किन यो पापी संसार देखायौ 
ए बाबा 
म तिम्रै पुतलि हुँ
हेर त 
आज रातो सारीमा
कति राम्री देखिएकि छु 
तिम्रै परि म बाबा किन 
मलाई जीवनभर तिम्रै
घरमा बस्ने अधिकार छैन 
मान प्रतिष्ठा खोसिने डरले 
हेर त आज 
अरुको घरको शोभा बनाइ दियौ
नाई बाबा  
नाई आमा
मलाई बिदा नदेउ 
तिम्रै काखमा लुटुपुटु गर्छु आमा
बिन्ती अरुको इज्जत नबनाइदेउ  
शान्ति मोक्तान 
काठमाण्डौं

सूचना/सन्देश/बिज्ञापन 


युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।

सुशासनका केही आधारभूत तत्वहरु
सार्वजनिक नीजि वा व्यापारिक संगठनद्वारा सेवाहरुको प्रभावकारी तथा कुशल प्रभाव गर्ने असल शासनका आधारभूत तत्वहरुमा निम्न पक्षहरुलाई समावेश गर्न सकिन्छ ः
— संविधानवाद
— विधिको शासन
— न्यायपूर्ण एवम् प्रभावकारी न्याय प्रणाली
— व्यक्ति र सम्पत्तिको सुरक्षा
निर्वाचनमा आधारित सहभागिता मूलक प्रजातन्त्र मानव अधिकारको सम्मान अभिव्यक्ति दिन स्वतन्त्रता समता सु–सूचित नागरिक
सुशासनका चुनौतीहरु
कुनै पनि राज्यकालागि सुशासनलाई प्रभावकारी ढंगमा जनतासामु प्रत्याभूत दिलाउन कठिन पर्ने गर्छ किनकी सुशासन कायम गर्नु आफैमा एउटा चुनौतीको विषय हो । राज्यका सबै अंगबीच सन्तुलन कायम गर्न जति कठिन पर्छ लोकतान्त्रिक संस्कारको विकास गर्न पनि सुशासनका लागि उत्तिकै चुनौतीको विषय हो । नीजि क्षेत्र गैर सरकारी संस्थादेखि लिएर नागरिक समाजसँग साझेदारी कायम गर्नु सुशासनका लागि एउटा चुनौतीको विषय हो भने प्रशासनिक क्षेत्रको सुधार गर्नु यसका लागि अर्को चुनौतीको विषय छ । त्यसैगरी विकासका लागि अनूकुल वातावरणको सृजना गर्नु, मानव अधिकारको संरक्षण गर्नु, द्वन्द्व समाधान गर्नु, शान्ति स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु पनि सुशासनका लागि अन्य चुनौतीका विषयहरु हुन् ।
नेपालको सन्दर्भमा सुशासनको थालनी
नेपालको सन्दर्भमा सर्वप्रथम नेपाल अधिराज्यको संविधान, २०४७ मार्फत सुशासनको आधारशिला कायम गरिएको हो भन्न सकिन्छ । नियालेर उक्त संविधानको प्रस्तावना, मौलिक हकहरु, राज्यका निर्देशक सिद्धान्तहरु हेर्ने हो भने त्यहाँभित्र सुशासनका धेरै अन्तरवस्तु भेट्याउन सकिन्छ । नेपालको प्रशासनयन्त्रलाई चुस्त, दुरुस्त, पारदर्शी बनाउने प्रयास स्वरुप २०४८ सालमा गठित उच्चस्तिरीय प्रशासन सुधार आयोगले दिएका विभिन्न सुझावहरुमध्ये सुशासनका पक्षलाई समेट्ने विकेन्द्रिकरण, प्रशासकीय संगठन, सरकारको कार्य क्षेत्रको निर्धारण, बजेट तथा लेखा व्यवस्थामा गर्नुपर्ने   सुधार, भ्रष्टाचार नियन्त्रण तथा पारदर्शीता अभिवृद्धि जस्ता सुझावहरु पनि उक्त प्रतिवेदनमा समावेश भएको पाइन्छ ।
यसैगरि आठौं, नवौं र दशौं योजनाले पनि सुशासनको पक्षलाई विशेषगरी जोड दिएको छ । प्रशासकीय सुधार कमिटीले प्रस्तुत गरेको सुझावलाई कार्यन्वयन पक्षमा जोड दिँदै आठौं योजनाले सुशासन प्रवद्र्धधनमा टेवा पु¥याएको पाइन्छ । त्यसैगरी नवौं र दशौं योजनाले पनि सुशासनका सम्वन्धमा सार्वजनिक प्रशासनलाई प्रतिस्पर्धी, मितव्ययी, पारदर्शी, सेवामुखि, परिणाममुखी, उत्तरदायी बनाउदै लौङ्गकि समता अभिवृद्धि गरी न्याय प्रशासन क्षेत्रमा समेत सुधार गरी जनतामा सुशासनको अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।
सामान्य प्रशासन मन्त्रालयबाट प्रशासन सुधारका लागि बनाइएको २५ वर्षे गुरु योजनाले पनि सुशासनका लागि सरकारको वैधता र वैधानिकता दुवै अपरिहार्य हुने कुरा उल्लेख गरेको छ । त्यसैगरी सुशासनका लागि नै भनेर २०५९ सालमा सार्वजनिक सेवा सञ्चालन (अनुगमन तथा निरीक्षण) अध्यादेश जारी गरियो । यसै समयमा नागरिक बडापत्र, सार्वजनिक सुनुवाइ र घुम्ति सेवालाई प्रभावकारी रुपमा लागु गर्ने प्रयासहरु पनि भएको पाइन्छ ।
आर्थिक वर्ष २०६४ र २०६५ देखि लागु भएको अन्तरिम योजनाले सुशासनलाई ५ वटा मूल क्षेत्रगत योजना मध्येको एक क्षेत्रको रुपमा समाबेश गरेको छ ।

श्री जिल्ला निर्वाचन कार्यालय, डोटीको अत्यन्त जरुरी सूचना 

२०७४ साल मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदातालाई नमुना मतपत्रद्वारा मतदाता शिक्षा प्रदान गर्न यस डोटी जिल्लामा निर्वाचन शिक्षा कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवकहरु सबै नगरपालिका÷गाउँपालिका भित्रका बडाहरुमा पर्ने गाउँघर टोलमा मिति २०७४/०७/०२५ गतेबाट खटिई जानु भएकोले मतदाताहरुले आफ्नो अमुल्य मत बदर हुन नदिन मतदान गर्ने सही तरिकाको बारेमा जानकारी लिनु हुनका साथै मिति २०७४/०८/२१ गतेका दिन बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म हुने मतदान कार्यको लागि सम्वन्धित मतदान केन्द्रमा गई मतदान गर्न हुन सबै मतदाताहरुमा हार्दिक अनुरोध गरिन्छ ।
जिल्ला निर्वाचन कार्यालय, डोटी






































No comments:

Post a Comment