Tuesday, December 19, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४/०९/०४

शित–लहरको समयमा चिसोका कारण मानिसको मृत्यु हुन सक्छ, त्यसैले 
  • बालबालिका, बृद्धबृद्धा, गर्भवती महिला तथा बिरामीहरुको हेरचाहमा बिशेष सतर्कता अपनाउँदै बालबालिकाहलाई न्यानो अवस्थामा राख्ने व्यवस्था मिलाऔं । 
  • चिसोका कारण बिरामी भएमा तत्कालै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त उपचारको लागि जाने वानीको बिकास गरौं । 
  • शित–लहर चलेको बेलामा पाल्तु पशुपन्छिलाई सकेसम्म खुल्ला स्थानमा चराउन नलैजाऔं (गोठ/टहरामै राखेर पर्याप्त घाँस/पराल र दाना दिने व्यवस्था गरौं । 
  • कोठाभित्र आगो वाली तातो भेण्टिलेसनको व्यवस्था मिलाउन नभुलौं ।  

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रदेश राजधानीका लागि रस्साकस्सी

रामहरी ओझा
डोटी, पुष ३

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम घोषणा भएसंगै प्रदेश सभाको राजधानीका लागि रस्साकस्सी सुरु भएको छ । 
प्रदेश नं. ७ को राजधानी कहाँ हुने भन्ने बिषयमा आ–आफ्नै तर्क बितर्क सुरु भएका छन । राणाकालमा देशका चार गौणामध्ये एक डोटी गौणा रहेको र साविकको सुदूरपश्चिम बिकास क्षेत्र (हालको प्रदेश नं. ७) को क्षेत्रीय सदरमुकाम पनि डोटी भएका कारण डोटीनै राजधानी हुनु पर्ने एक पक्षको तर्क छ । 
क्षेत्रीय सदरमुकाम भएका कारण डोटीमा सरकारी भौतिक संरचनाहरु एथेष्ट भएको र भौगोलिक दुरीका आधारमा पनि प्रदेशका नौवटै जिल्लाको केन्द्र भएका कारण राजधानी डोटी हुनु पर्ने माग जवरजस्त रुपमा उठेको छ । डोटीका नेताहरु पनि डोटी राजधानी हुने बताउँछन । 
‘भौगोलिक दृष्टिले, संर–चनाको दृष्टिले, ऐतिहासिक दृष्टिले र सामरिक महत्वको दृष्टिले दिपायलनै उपयुक्त हो’ नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगर भन्छन् ‘दिपायल राजधानी हुने कुरामा दुई मत छैन ।’ राजधानी दिपायल बनाउनका लागि आफु जस्तो सुकै लडाई लड्न पनि तयार रहेको आलेमगरको भनाई छ । 
दिपायल राजधानी हुने दावी गर्छन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरवहादुर बलायर । बलायर भन्छन् ‘मैले अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा पनि दिपायलनै राजधानी हुने बताएको थिएँ, अहिले पनि मेरो अडान त्यसैमा कायम छ ।’ राजधानीका लागि पार्टीभित्र र मन्त्रीपरिषद्मा आफुले दवाव दिने उनले वताए । 
प्रदेश सभा क वाट निर्वाचित भरतबहादुर खड्का र क्षेत्र ख वाट निर्वाचित त्रिलोचन भट्टले पनि दिपायलमै राजधानी बनाउन लाग्ने बताएका छन । 
कैलालीको दावी कैलालीमै 
कैलालीका नेताहरु भने कैलालीमै राजधानी हुनु पर्ने दावी गर्दै आएका छन । कैलाली व्यापारिक केन्द्र भएको र कैलालीमा जनसंख्या पनि बढी भएका कारण कैलालीनै राजधानी हुने पर्ने कैलालीका नेताहरुको तर्क छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं कैलाली प्रतिनिधि सभा क्षेत्र–४ बाट निर्वाचित सांसद लेखराज भट्टले राजधानी कैलालीनै हुने दावी   गरेका छन । ‘हामी पाँच जना नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भिम रावल, म, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेता चन्द्रदेव जोशीबिच ७ नं. प्रदेशको राजधानी दिपायल बनाउने बिषयमा पहिलेनै सहमति भईसकेको हो तर मन्त्रालय सवै ठाउँमा बिकेन्द्रित गर्ने बिषयमा छलफल हुँदैछ’ नेता भट्टलाई उदृत कैलालीका सञ्चारकर्मी गोबिन्द रोस्याराले सामाजिक सञ्जालमा लेखेका छन ।
कैलाली प्रतिनिधि सभा क्षेत्र–५ बाट निर्वाचित एमाले नेता नारदमुनी राना पनि कैलालीमै  राजधानी हुने बताउँछन । ‘सवै हिसावले प्रदेश नं. ७ को राजधानी पायक पर्ने ठाउँ धनगढी–अत्तरिया नै हो’ सांसद रानाले भने ‘यसमा संका नगर्न आग्रह गर्दछु ।’
प्रदेश नं. ७ को एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले आफ्नो चुनावी अभियानकै क्रममा कैलाली राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाली कांग्रेसका नेता वड अहिले पनि धनगढी राजधानीका लागि सक्रिय छन् ।
दिपायल राजधानी तोक्न टोलीको सिफारिस 
सुदूरपश्चिम क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलको संयोजकत्वमा गठित प्रदेशको अस्थायी राजधानी निर्धारण सम्वन्धि अध्ययन टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दिपायल राजधानी तोक्न सिफारिस गरेको छ । राजधानीका लागि हालका क्षेत्रीय कार्यालयहरु मर्मत गर्न १६ करोड ३५ लाख बजेट मागिएको  टोलीका सदस्य सचिव एवं भवन निर्माण तथा सहरी विकास डिभिजन प्रमुख झपटसिंह विश्वकर्माले जानकारी दिए । 
मुख्यमन्त्री कार्यालयका लागि क्षेत्रीय स्वास्थ्य कार्यालयको नवनिर्मित भवन सिफारिस गरिएको क्षेत्रीय उपप्रशासक शंकर विष्टले जानकारी दिए । क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय र भवन निर्माण तथा सहरी विकास डिभिजन, क्षेत्रीय शिक्षा, सिँचाइ, खानेपानी, जलस्रोत, कृषि र पशु सेवालगायत कार्यालयमा मन्त्रालय राख्न सकिने बिष्टको उनको भनाइ छ । अन्य सरकारी कार्यालयहरुलाई आवासका लागि प्रयोग गर्न सकिने बिष्टले बताए ।
आन्दोलन जुर्मुराउँदै 
राजधानीको माग गर्दै बिभिन्न जिल्लाहरुमा आन्दोलन जुर्मुराउन थालेका छन । दिपायल राजधानीका लागि रगत बगाउन तयार रहेको युवाहरु बताउँछन् । सरकारी संरचनाहरु भएको, उच्च अदालत, प्रदेश प्रहरी प्रमुखको कार्यालय, सिटी हल, बिमान स्थल लगायतका सुबिधाहरु भएका कारण दिपायलमै राजधानी हुनु पर्ने माग यहाँका युवाहरुको छ । यस अघि पनि दिपायलमै राजधानी हुनु पर्ने भन्दै डोटी उद्योग बाणिज्य संघले चरणवद्ध आन्दोलन गरेको थियो ।
यस्तै प्रदेश राजधानी पहाडमै हुनु पर्ने माग सहित डडेल्धुरामा आन्दोलनको थालनी भएको छ । बिकासको दृष्टिले प्रदेश नं. ७ का पहाडी जिल्लाहरु पछाडी परेका कारण प्रदेशको  राजधानी पहाडी जिल्लामै हुनु पर्ने डडेल्धुराका आन्दोलनकारीहरुको तर्क छ । उनीहरुले कुन जिल्लामा बनाउनु पर्ने भन्ने बिषयमा भने केही बोलेका छैनन् । 
बैतडीको पाटनमा राजधानी बनाउनु पर्ने मागका साथ बैतडीमा पनि आन्दोलन भईरहेको छ । यसअघिनै जिल्लामा क्रियासिल राजनीतिक दलहरुले पाटनलाई राजधानी बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
कञ्चनपुरमा पनि प्रादेशिक राजधानी बनाउनु पर्ने माग उठ्न थालेको छ । 
यस्तो छ संबैधानिक व्यवस्था  
नेपालको संबिधान, २०७२ अनुसार प्रदेशको राजधानी सम्वन्धित प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय गरे अनुसार हुने व्यवस्था छ । संबिधानको धारा २८८ को उपधारा २ मा भनिएको छ “यस संविधान बमोजिमका प्रदेशको   राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ ।”

सम्पादकीय 

नआत्तिऔं, नमात्तिऔं ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । मत परिणाम पनि सार्वजनिक भईसकेको अवस्था छ । यद्यपी निर्वाचन आयोगले समानुपातिक प्रणाली तर्फ कुन दलले कति सिट पाउने भन्ने बिषयमा अहिलेनै सार्वजनिक गरिसकेको छैन तर हेर्दा कुन दलको आकार कति हुने भन्ने करीव करीव प्रष्टै भएको छ । संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त पाँच दलहरु मात्रै रहने छन । अन्य दलहरुको तर्फबाट प्रत्येक्ष जितेका सांसदहरुको हैसियत स्वतन्त्र हुने भएको छ । दलहरुले निर्वाचनमा खसेको कुल मत संख्याको तीन प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था भएका कारण उनीहरुले राष्ट्रिय दलको मान्यता पाउन नसक्ने अवस्था भएको   हो । 
परिणाम जे आयो, आईसक्यो । पूर्व अनुमान अनुसार बाम गठबन्धनले बर्चश्व कायम गरेको छ । बिगत लामो समयदेखि अस्थिर सरकार झेल्दै आएका जनताले अव सायद पाँच बर्षसम्म स्थिर सरकार आउँछ कि, देश समृद्धिको बाटोतिर जान्छ कि, लामो समयदेखि अन्यौल रहेको शान्ति प्रक्रियाले पूर्णता पाउँछ कि, राजनीतिक संक्रमणकालको व्यवहारिक रुपमा अन्त्य हुन्छ कि भन्ने आश लगाएका छन । त्यो आश अहिलेको संसदीय निर्वाचनमा मिलेर लडेका बाम गठबन्धनहरुसंग बढी लाएका छन जनताले किनभने अवको सत्ता सञ्चालक उनीहरुनै हुने हुन । यद्यपी नेपाली कांग्रेससंग कम आश छैन जनताको । निर्वाचन प्राबिधिक कुरा   हो । नेपालको राजनीतिमा बिगत लामो समयसम्मको प्रमुख खेलाडीका रुपमा रहेको नेपाली कांग्रेसले पनि कम्तीमा अवका पाँच बर्ष रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिदिनु पर्छ भन्ने जनताको म्याण्डेट हो । यो म्याण्डेट नेपाली कांग्रेसले स्वीकार  गरोस भन्ने आशा जनताको छ । 
तर, दुर्भाग्य ! फेरी पनि राजनीतिक किचलो सकिएको छैन । जितको उन्माद्मा मात्तिएकाहरु र हारको पीडामा छट्पटाई–रहेकाहरु दुवैले संबिधानको आफु खुशी र आफु अनुकुल ब्याख्या गरिरहेका छन । निर्वाचनमा भाग लिएपछि हारजित भन्ने कुरा स्वभाबिक हो भन्ने बुझाई किन बनाउन सकेनन् हार र जित भएकाहरुले ? ईतिहास किन हेर्दैनन् ? २०४६ सालको राजनीतिक परिवर्तनपछिको कुरा मात्रै गर्ने हो भने पनि नेपाली कांग्रेसले दुई दुई निर्वाचनमा सुबिधाजनक बहुमत प्राप्त गरेको थियो । त्यो जितको उन्माद्ले नेपाली कांग्रेसलाई डुवायो । २०६४ साल संबिधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले सबैभन्दा ठुलो दल हुने मौका पायो, त्यो जितले उसलाई पनि डुवायो । अवको पालो एमालेको हो । अहिले जसरी दोश्रो र तेश्रो ठुलो दलले पाएको सिट भन्दा धेरै अगाडि छ एमाले, यदि यसले पनि आफुलाई जनताको सेवक बनाउन सकेन भने अवको निर्वाचनमा टर्च लाएर खोज्नु पर्ने अवस्था आउन सक्छ । 
निर्वाचन लडेपछि हारिन्छ वा जितिन्छ भन्ने बिषयमा अनुमान पहिले लगाउन नसकिएला तर हारे पनि जितेपनि म परिणामलाई स्वीकार गर्छु भन्ने मनस्थिति पहिलेनै बनाउनु जरुरी हुन्छ । नेपालका राजनीतिज्ञहरुमा यही सवैभन्दा ठुलो कमजोरी देखियो । आफुले जित्दा जनताको अभिमतबाट जितेको हुने तर अरुले जित्दा जनतालाई धम्कायो, प्रलोभन दियो, आश्वासन दियो, पैसा बाड्यो भन्ने आरोप लगाउने कुरा यो नौलो होईन । 
तर, अव जे भयो भयो । निर्वाचन सम्पन्न भएको छ । अव देशमा शान्ति चाहिन्छ, समृद्धि चाहिन्छ । स्थायी सरकार चाहिन्छ । जनताका आधारभुत आवश्यकताहरुको निर्वाध रुपमा परिपूर्ति हुनु पर्छ । त्यसैले निर्वाचनको परिणामलाई सहजै रुपमा पचाऔं । जितेकाहरुले मात्तिनु पर्ने र हारेकाहरुले आत्तिनु पर्ने कुनै कारण छैन । फेरी पनि अर्को निर्वाचन आउने छ, आफुलाई सुधार गर्दै लैजाऔं । नआत्तिऔं, नमात्तिऔं ।


थप समाचार 

चर्चामा मुख्यमन्त्रीका ७ अनुहार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतगणना अन्तिम चरणमा पुगेसंगै ७ नं. प्रदेशका मुख्यमन्त्री को बन्ने भन्ने चर्चा सुरु भएको छ ।
प्रदेश नं. ७ का प्रत्येक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरि कुल ५३ सदस्यीय प्रदेश सभामा बाम गठबन्धनले प्रत्येक्षतर्फबाटै २७ स्थान अर्थात पूर्ण बहुमत प्राप्त गरेको छ । प्रत्येक्षतर्फबाटै सरकार गठनका लागि आवश्यक बहुमत पुगेपछि अव मुख्यमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीका प्रवल दावेदार मानिएका एमाले बैकल्पिक पोलिट व्यूरो सदस्य एवं पूर्व मन्त्री कर्णबहादुर थापाको सांसद बन्ने यात्रा अन्यौलपूर्ण भएपछि यो बिषयले थप चर्चा पाएको हो । 
एमालेले पेश गरेको समानुपातिकको सूचीमा खस आर्यको कोटामा पहिलो प्राथमिकतामा छ थापाको नाम र प्रत्येक्षतर्फ एमालेले जितेका १७ सिटमा एक पनि महिला नभएका कारण समानुपातिकबाट एमालेका भाग पर्ने सवै सदस्य महिला पठाउनु पर्ने सम्भावना देखिएपछि थापाको प्रादेशिक संसदीय यात्रामा पूर्ण बिराम लाग्ने देखिन्छ । थापाका समर्थकहरू अहिले पनि उनलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका   छन् । सामाजिक सञ्जालमा उनका समर्थकहरूले सांसद हुने र मुख्यमन्त्री पनि हुने दावी गदैछन । 
संबिधान, २०७२ को धारा १७६ को उपधारा ९ मा “प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरूमध्ये कुनै राजनीतिक दलको एक तिहाई सदस्य महिला निर्वाचित नभएमा त्यस्तो राजनीतिक दलले सोही उपधाराको खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट प्रदेश सभामा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाई महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।” भन्ने व्यवस्थाले थापाको मुख्यमन्त्री बन्ने सपनालाई धमिल्याईदिएको छ । 
कैलाली जिल्लाको मतगणना जारी रहेपनि एमालेले प्रदेश सभामा समानुपातिक तर्फबाट आठ सिट पाउने आश गरिएको छ । संबैधानिक व्यवस्था अनुसार ति आठै जना महिला हुनेछन । ५३ सदस्यीय प्रदेश सभा बन्ने छ । सो सभामा १७ महिला सदस्य हुनेछन् ।
थापा प्रदेश सभा सदस्य बन्ने सम्भावना कम भएपछि यतिवेला एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह र कैलाली पार्टी अध्यक्ष दीर्घ सोडारीको नाम चर्चामा छ । समानुपातिक सूचीको पहिलो नं. रहेकि डडेल्धुरा जिल्ला पार्टी उपसचिव सकुन्तला नगरकोटीको नाम पनि चर्चामा रहेको छ । एमालेबाट प्रदेश नं. ३ को मुख्यमन्त्रीका लागि अष्ठलक्ष्मी शाक्यको कुरा चलेको भएपनि अन्य प्रदेशमा महिला नेतृ मुख्यमन्त्री हुने सम्भावना छैन । त्यसैले सकुन्तलाको सम्भावना बढी छ भन्नेहरुको पनि कमी छैन । 
त्यसो त नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले प्रदेश नं. ७ को मुख्यमन्त्रीको भागवण्डा माओवादीको भागमा जाने आँकलन पनि गरिएको छ । एमालेले आफ्नो अत्यधिक बहुमत रहेका प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्रीको दाबी गर्ने सम्भावना छ । त्यो अवस्थामा प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रले भाग पाउने सम्भावना पनि रहेको छ । प्रदेश नम्बर २ मा भने मधेसवादी दल आफैंले वा अरू दलसँग मिलेर सरकार बनाउने सम्भावना छ ।
यदि माओवादी केन्द्रले ७ नम्बर प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा वीरमान चौधरी र अछामका नेता झपट बोहरालाई भावी मूख्यमन्त्रीका रूपमा हेरिएको छ । माओवादीका नेता हरिराम चौधरी उत्सव पनि प्रदेश संसदको समानुपातिक सूचीमा छन् ।
७ नं. प्रदेशमा प्रत्यक्षका ३२ सिटमा एमालेले १७, माओवादीले १०, काँग्रेसले ४ र राजपाले १ सिट जितेका छन् ।

देउवा बने कांग्रेसका एक्ला सांसद  

प्रदेशमै सवै भन्दा पछिसम्म चलेको कैलाली प्रतिनिधि सभा क्षेत्र–२ को मत परिणाम घोषणा नहुँदासम्म कांग्रेस कार्यकर्ताहरुलाई झिनो आश थियो, प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह प्रदेशबाट प्रतिनिधि सभामा एक जना साथी पाउने छन भन्ने तर उक्त क्षेत्रको परिणाम घोषणा भएपछि त्यो आशा पनि टुङ्गियो । 
नेकपा एमालेमा लामो समयसम्म सक्रिय राजनीतिक गरेका पूर्वमन्त्री मोहनसंह राठौर कांग्रेसबाट चुनाव लडेका थिए । उनी आफ्नो क्षेत्रमा   राम्रै पकड भएका नेता मानिन्छन् तर उनका प्रतिस्पर्धी बाम गठबन्धनमा उम्मेद्वार झपट रावलले बाजी मारे । राठौर शिक्षा राज्यमन्त्री हुँदा रावल उनका पिए थिए । तिनै पिएले राठौरको संसदीय यात्रामा कम्तीमा पाँच बर्षका लागि बिराम लगाए । 
राठौरको पराजयसंगै प्रत्येक्षतर्फ प्रदेश नं. ७ बाट बर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा एक्ला सांसद बनेका छन । देउवाले गृहजिल्ला डडेल्धुराबाट बाम गठबन्धनका उम्मेद्वार खगराज भट्टलाई हराउँदै छैटौं पटक संसदीय यात्रा तय गरेका छन । डडेल्धुरामा प्रतिनिधि सभाका लागि मतदान गर्ने ५४ हजार ५९ मतदातामध्ये देउवाले २८ हजार ४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी भट्टले २१ हजार एक सय १५ मत पाएका थिए । 
नेपालको राजनीतिक ईतिहासमा प्रदेश नं. ७ अर्थात साविकको सुदूरपश्चिम बिकास क्षेत्रबाट कांग्रेस यसरी खुम्चिएको यो पहिलो घटना हो । २०१५ साल देखि २०७० को निर्वाचन सम्म पनि कांग्रेसले यस क्षेत्रमा आफ्नो साख बचाएकै थियो । कांग्रेस(एमालेका लागि खरेडी परेको २०६४ को संबिधान सभा चुनावमा पनि कांग्रेसले यस क्षेत्रबाट हरेसै खानु पर्ने अवस्था आएको थिए । 
यस पटकको निर्वाचनमा भने यस क्षेत्रमा कांग्रेसले नराम्रो धक्का खाएको छ । प्रधानमन्त्री देउवा पत्नि डा. आरजु राणाको पहिलो प्रत्येक्ष चुनावी लडाई पनि फलदायी भएन । उनलाई कैलाली क्षेत्र–५ बाट बाम गठबन्धनका उम्मेद्वार नारदमुनी रानाले पराजित गरिदिए । यस्तै देउवाका बिश्वास पात्र मानिने कांग्रेसका प्रभावशाली नेताहरु नारायणप्रकाश साउँद र रमेश लेखकले पनि क्रमशः कञ्चनपुर क्षेत्र–२ र ३ बाट पराजय भोग्नु  प¥यो । 
बहालवाला मन्त्री कांग्रेस केन्द्रीय सदस्य बिरबहादुर बलायर जित्ने आशमा थिए कांग्रेस नेता कार्यकर्ताहरु तर उनलाई पनि बाम गठबन्धनका उम्मेद्वार प्रेमबहादुर आलेमगरले पराजित गरेपछि उनको संसदीय यात्रामा पनि कम्तीमा पाँच बर्षका लागि पूर्ण बिराम ल्याग्यो । बलायरलाई नेपाली कांग्रेसभित्र प्रभाव राख्ने र सभापति देउवासंग निकट सम्वन्ध भएका व्यक्तिका रुपमा  हेरिन्छ ।  
प्रतिनिधि सभामा मात्रै होईन प्रदेश सभाको प्रत्येक्षतर्फ पनि कन्तबिजोगै भयो कांग्रेसका लागि । प्रदेशका नौ जिल्लामध्ये बाजुरा, बझाङ्ग, अछाम, बैतडी, दार्चुला र कञ्चनपुर गरि सात जिल्लामा बाम गठबन्धनले क्लिनस्वीप ग¥यो । बाँकी तीन जिल्लामा पनि कांग्रेसले आफ्नो उपस्थिति मात्रै देखाउन सक्यो । डोटी प्रदेश सभा क, डडेल्धुरा प्रदेश सभा ख, कैलाली प्रतिनिधि सभा क्षेत्र–१ अन्तरगतको प्रदेश सभा ख र प्रतिनिधि सभा–५ अन्तरगतको ख गरि प्रत्येक्षतर्फ जम्मा चार ठाउँमा मात्रै कांग्रेसले आफ्ना उम्मेदवारहरुलाई उत्तीर्ण गर्न सफल भयो । 
यद्यपी प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. ७ मा बसोबास गर्ने दर्जन बढी नेता कार्यकर्ताहरु समानुपातिकको सूचीमा रहेका छन ।

प्रदेश नं. ७ मा चार दलको प्रतिनिधित्व

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना सकिएसंगै प्रदेश नं. ७ को प्रदेश सभामा चार दलको मात्रै उपस्थिति हुने संकेत देखिएको छ । 
निर्वाचन आयोगले शनिबार समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएको छ तर कुन दलबाट कति जना प्रतिनिधित्व गर्ने भन्ने बारेमा अहिले नै केही बताएको छैन । समानुपातिकतर्फको मतगणना नतिजा अनुसार संघीय संसदमा पाँच वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउने     छन् । प्रत्यक्षमा कम्तिमा एक सिट जितेका र समानुपातिकमा खसेको कुल मतको कम्तिमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने थ्रेसहोल्ड प्रावधानका कारण नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ ।
समानुपातिकतर्फ नेकपा एमालेले ३१ लाख ७३ हजार चार सय ९४ मत प्राप्त गरि पहिलो पार्टी भएको छ । नेपाली काँग्रेसले ३१ लाख २८ हजार तीन सय ८९ मत प्राप्त गरि दोश्रो दल बनेको छ । प्रत्येक्षतर्फको निर्वाचनमा दोश्रो ठुलो दल बनेको नेकपा माओवादी केन्द्र समाुनपातिक तर्फभने तेश्रो भएको छ । यस पार्टीले १३ लाख तीन हजार सात सय २१ मत प्राप्त गरेको छ । 
यस्तै थ्रेसोल्ड कटाउने अर्को दल  राष्ट्रिय जनता पार्टीले चार लाख ७२ हजार दुई सय ५४ मत प्राप्त गरि चौथो दल बनेको छ । संघीय समाजबादी फोरम  नेपालले चार लाख ७० हजार दुई सय एक मत प्राप्त गरेको छ ।
यता, प्रदेश नम्बर ७ मा भने नेपाली काँग्रेसले समानुपातिकमा सबैभन्दा बढी मत पाएको छ । प्रत्येक्ष तर्फका ३२ सिट मा जम्मा चार मात्रै हात पारेको कांग्रेसले समानुपातिकमा भने दुई लाख ९५ हजार सात सय २९ मत पाई पहिलो भएको छ । प्रत्यक्षतर्फ १७ स्थान जितेको एमाले समानुपातिकमा भने कांग्रेस भन्दा ३४ हजार सात सय ७४ मतले पछाडि परेको छ । एमालेले दुई लाख ६० हजार नौ सय ५५ मत प्राप्त गरेको छ । 
प्रत्येक्षतर्फ १० सिट जितेर प्रदेशका लागि दोश्रो ठुलो दल बनेको माओवादी केन्द्रले समानपातिकमा भने तेश्रो स्थानमै चित्त बुझाउनु परेको छ । यस पार्टीले एक लाख ४२ हजार सात सय दुई मत पाएका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीले ३६ हजार नौ सय दुई मत प्राप्त गरेको छ । राजपाले प्रत्येक्षतर्फ एक स्थान जितेको छ ।
निर्वाचन आयोगले कुन दलले कति सिट पाउने भन्ने हिसाव निकालीसकेको छैन । सेन्ट लग मेथडका आधारमा कांग्रेस र एमालेले समान आठ÷आठ सिट पाउने सम्भावना छ । भने माओवादी केन्द्रले चार र राजपाले एक सिट पाउने सम्भावना छ ।
यि चारवटै दलले प्रत्येक्षतर्फबाट प्रदेश सभामा आफ्नो उपस्थिति देखाईसकेका छन । प्रत्येक्षतर्फ एक सिट पनि जित्न नसकेका अन्य दलहरुले समानुपातिकतर्फबाट पनि प्रदेश सभामा जान नसक्ने पक्कापक्की भएको छ ।

खाजाको रकम बचत गर्दै महिलाहरु

‘निड्स नेपालले मासिक बैठकमा खाजा खर्च बाफत हाम्रो समूहलाई नौ सय रुपैयाँ दिने गरेको छ, त्यो रकम हामी खर्च गर्दैनौं, बचत गरेका राखेका छौं ।’ 
डोटी शिखर नगरपालिका–३ जोरागाउँमा रहेको छडी आप्रवासन समूहकी सचिव मनु नेगीले संघसंस्थाहरुले खाजा खर्चका लागि दिएको रकम आफुहरुले बचत गर्दै आएको बताईन । उक्त समूहमा जुनसुकै संस्थाले आएर छलफल गरेपनि नास्ताको रकम आफुहरुले वचत गर्ने गरेको उनको भनाई छ । ‘निड्स नेपालले बित्तीय साक्षरता तालिम दिएपछि हामीले खर्चको महत्व बुझ्यौं’ समूहकी सदस्य निर्मला धामी भन्छिन् ‘त्यसैले हामीले अहिले बचतमा जोड दिएका छौं ।’ 
समूहमा बचत गरेको रकम समूहका सदस्यहरुलाई कुनै आपत बिपद् पर्दा साधारण व्याजमा ऋण दिने गरेको बताउँछिन समूहकी अर्की सदस्य महेश्वरी भण्डारी । उनी भन्छिन् ‘हचेल हामीले मासिक रुपमा पनि बचत गर्ने गरेका छौं ।’ 
निड्स नेपाल नामक गैर सरकारी संस्थाले यस क्षेत्रबाट कामका लागि भारत तथा तेश्रो मुलकुमा गएका        परिवारका सदस्य महिलाहरुलाई सहभागि गराई सुरक्षित आप्रवासन महिला समूह गठन गरेको छ । समूहमा सुरक्षित आप्रवासन सम्वन्धि छलफल गर्ने गरिएको समूहका अर्का सदस्य डम्मरी फुलाराले जानकारी दिईन । 

एमाले–कांग्रेसमा अन्तरघातको आरोप

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणाम घोषणा भएसंगै डोटीका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसभित्र बिवाद चुलिएको छ । 
दोश्रो चरण अन्तरगत २१ गते सम्पन्न निर्वाचनको परिणाम पछि पार्टीभित्रैबाट अन्तरघात भएका कारण चुनाव हारिएको भन्दै नेता कार्यकर्ताहरुलाई    कारवाही गर्न नेतृत्वलाई जवर–जस्त दवाव आएको छ । डोटी प्रदेश सभा निर्वाचन क्षेत्र क बाट पराजित एमाले डोटी जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल आफुलाई पार्टीभित्रैका नेता÷ कार्यकर्ताहरुले हराएको दावी गर्दैछन् । ‘एकातिर बिपक्षीहरु–संग चुनाव लड्नु पर्ने अर्कोतिर पार्टीभित्रैकाहरुसंग पनि लडाई गर्नु पर्ने अवस्था आयो’ मल्लले भने ‘मैले पटक पटक नेता कार्यकर्ताहरुसंग अनुरोध गरे, म हार्ने होईन पार्टी हार्ने हो भनेर तर पनि उहाँहरुले हाँकाहाकी बिपक्षी उम्मेदवारहरुलाई सहयोग गर्नु भयो ।’ यो बिषयमा छानविन हुने र दोषीमाथी कारवाही हुने मल्लको भनाई छ ।
पार्टीभित्रैबाट घात भएको बिषयमा छानबिन गरि दोषीमाथी कारवाही गर्न एमाले डोटीले तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । एमाले नेता तथा पूर्व सांसद मोहन बमको संयोजकत्वमा गठित समितिमा पार्टी जिल्ला उपसचिव एवं दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी र पार्टी जिल्ला सचिवालय सदस्य शंकरदीप मडै सदस्य रहेका छन । 
नेपाली कांग्रेस डोटीमा पनि अन्त–रघातीहरुलाई कारवाही गर्नु पर्ने माग जवरजस्त रुपमा उठेको छ । निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित कांग्रेस केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री हार्नुको कारण पार्टीभित्रैको घात भएको नेता कार्यकर्ताहरुको दावी  छ । मन्त्री बलायर स्वयंले पनि आफ्ना बिरुद्धमा पार्टीभित्रैका नेताहरु लागेकाले त्यस्तालाई लामो समयका लागि कारवाही हुनु पर्ने दावी गर्दैछन । उनले अन्तर–धातीहरुलाई लाई पार्टीमा पालिराख्नु    जरुरी नभएको र पार्टीको केन्द्रीय सदस्यको हैसियतले त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्न पार्टी जिल्ला सभापतिलाई निर्देशन दिईसकेको समेत बताएका छन ।
अन्तरघात गर्नेहरुको बिषयमा छानबिन वडा तहको कमिटीमा छलफल गर्ने निर्णय भएको कांग्रेस डोटीका सभापति प्रदिप देउवा बताउँछन । ‘कुन नेताले गाउँमा कस्तो भुमिका खेल्यो भन्ने कुरा सम्वन्धित गाउँका कार्यकर्ताहरुलाई थाह हुन्छ’ देउवाले भने ‘त्यसैले गाउँबाटै छलफल भई दोषी ठानिएका व्यक्तिलाई कारवाही हुन्छ ।’ उनले प्रत्येक वडा समितिमा छलफल गरि वडाहरुले सम्वन्धित गाउँ÷नगरपालिकास्तरीय समितिलाई प्रतिवेदन दिने र गाउँ÷नगरपालिकास्तरीय समितिका संयोजकहरुले जिल्लामा प्रतिबेदन बुझाएपछि सो अनुसार कारवाही हुने बताए । 
त्यसो त प्रत्येक निर्वाचनपछि दलहरुभित्र अन्तरघातको बिषयले चर्चा पाउने गर्छ । असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यि दुई दलहरुभित्र अन्तरघातको बिषय उठेको थियो ।  आन्तरिक बिवाद नेता कार्यकर्ताहरुबिच हात हालाहालको अवस्थामा पुगेको थियो । तर कसैलाई कारवाही भएको आधिकारिक जानकारी सार्वजनिक भएको पाईएन । २०७० सालको संबिधान सभा निर्वाचनमा पनि यि दुवै पार्टी नेताहरुकै अन्तरघातका कारण चुनाव हारेको बिषय अहिले पनि चर्चामा आउने गरेको छ । 
यस पटक पार्टीभित्रैका उम्मेदवा–रहरुलाई समेत एक–अर्कालाई असहयोग गरेको चर्चा छ । प्रतिनिधि सभाका उम्मेद्वारले प्रदेश सभा र प्रदेश सभाका उम्मेद्वारले प्रतिनिधि सभाका उम्मेद्वारलाई असहयोग गरेको चर्चा छ । 

छोटकरी समाचार 

११ को घरौटी गयो

मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका ११ उम्मेद्वारहरुको  जमानत जफत भएको छ ।
चुनावमा सहभागी नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र पार्टी बाहेकका दलका उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जानकारी दिएको छ ।
सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि उमेदवारको धरौटी फिर्ता नहुने प्रावधान रहेको छ । कार्यालयका अनुसार विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी तथा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुको जमानत जफत भएको हो ।


भारत जानेको तथ्याङ्क राख्नु पर्ने 

कामका लागि भारत जाने आप्रवासीहरुको तथ्याङ्क राखिनु पर्ने  डोटीका सञ्चारकर्मीहरुले बताएका छन । 
अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सोमवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा डोटीमा क्रियासिल सञ्चारकर्मीहरुले उक्त कुरा उठाएका हुन । निड्स नेपालद्वा–रा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा सुदूर–पश्चिम क्षेत्रबाट कामका लागि धेरै युवाहरु भारत जाने गरेको तर कति जना भारत जान्छन् भन्ने बिषयमा कुनै पनि तथ्याङ्क नभएकोले स्थानीय तहहरुले तथ्याङ्क राख्नु पर्ने सञ्चार–कर्मीहरुको धारणा छ । 
भारतमा काम गर्न जानेको तथ्याङ्क हालसम्म कसैले पनि राख्ने गरेको छैन ।

खेल समाचार 

अटो जिमखाना च्याम्पियनसीप हुने

नेपाल मोटर स्पोर्ट्स क्लबले पुस १५ गते पहिलो फक्सवागन नेशनल अटो जिमखाना च्याम्पियनसीप आयोजना गर्ने भएको छ । नेपाल अटोमोबाईल एसोसिएसन नाडासँगको सहकार्य तथा काठमाडौं जिल्ला खेलकुद बिकाश समितिसँगको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।
टाइम, डिस्ट्यान्स, र स्पिड ढाँचामा मोटर रेस तथा ¥यालीहरू आयोजना हुँदै आए पनि अटो जिमखाना भने यो पहिलो प्रतियोगिता हो । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा तयार पारिएको हिमालयन मोटर ल्याण्डमा हुने प्रतियोगितामा नेपालका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रथम स्थान हात पार्ने खेलाडीले अर्को वर्ष ईन्डोनेसियामा आयोजना हुने एसियन अटो जिमखाना च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । यो प्रतियोगितामा सहभागी खेलाडीले झन्डै १५० फिट लामो रेसिब कोर्समा आयोजकले दिएको ढाँचा अनुसार गाडी चलाउनुपर्नेछ ।
यसका लागि प्रतियोगिहरूमा स्पीडसँगै स्किल र माइन्ड सेट–अपको पनि आवश्यकता पर्दछ । रेस कोर्समा डिभाईडर कोनहरूको सहायताले बाटो निर्धारण गरिएको हुन्छ । सहभागी खेलाडीले एक पटक उक्त बाटोको नक्सा हेरेपछि सम्झनाकै भरमा उक्त ट्र्याकमा कार कुदाउनु पर्नेछ । बाटो बिर्सिएको खण्डमा वा डिभाइडरहरूलाई छोएको खण्डमा जरिवाना गरिनेछ ।
पहिलो चरणमा उच्च अंक ल्याउने १६ खेलाडी दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ८ खेलाडी फाइनल चरणका लागि छनोट हुने छन् ।
नेपालमै पहिलो पटक अन्तराष्ट्रिय मापदण्डभित्र रहेर अन्तराष्ट्रियस्तर र ढाँचाकै अटो जिमखाना च्याम्पियनसिप गर्न लागिएको हो ।
क्लबले नेपालका लागि फक्सवागनको अधिकृत बिक्रेता पूजा इन्टरनेसनलसँग मिलेर यो प्रतियोगिता गर्न लागेको हो भने कार्यक्रमको ब्यवस्थापन भूमी एडभरटाईजिङ प्रालिले गर्नेछ ।

चलचित्र/मनोरञ्जन 

‘सङ्गलो यो मन’ को भिडियो सार्वजनिक

अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकारहरुको ‘सङ्गलो यो मन’ नयाँ नेपाली गीतको भिडियो सार्बजनिक गरेको छ ।
अमेरिकाको जर्जियास्थित काठमाण्डौ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिखमा अमेरिकाको एटलान्टाको जर्जियामा छायाँकनको भिडियो शुभारम्भ गरेको हो ।
रिदम स्क्रिन क्रिएसनले उक्त ‘सङ्गलो यो मन’ नयाँ नेपाली गीतको भिडियो डिसेम्बर १७ तारिखदेखि आधिकारिक रुपमा सार्बजनिक गरेको जनाएको छ । उक्त संगीत भिडियोमा मुख्य अभिनयमा नायिका नन्दिता केसी तथा भानु तिवारी (देवजन) को रहेको छ ।
स्वर किरण गजमेर तथा टीका लामिछानेको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । शव्द मनिष अधिकारीको हो भने संगीत व्यवस्थापन कमल राईले गरेका छन ।
भिडियोको निर्देशन कमल राई तथा भुवन रनपाल को रहेको छ भने छायांकन (क्यामरा) सुरेन्द्रमान सिंहको रहेको छ । यसैगरी सम्पादन कल्पना कमल राईले गरेका छन् ।
रिदम स्क्रिन क्रिएसनले दिलिप दाहाल, प्रकाश दर्नाल, बीएम खालिंग ,सिमन रमदम ,सन्तोष रमदम तथा      सुरज राईलाई विशेष धन्यवाद दिएको छ ।

“कृ” माघ २६ मा आउने

अनमोल केसीको बुहप्रतिक्षित चलचित्र ‘कृ’ माघ २६ गते सार्वजनिक हुने भएको छ । 
अहिलेका सर्वाधिक चर्चामा रहेका अनमोल झन्डै दुई वर्षको अन्तरालमा ‘कृ’ दर्शकसामु आउन लागेका हुन् । चलचित्र ‘गाजलु’ पछि उनी दर्शकमाझ आएका थिएनन् । 
‘कृ’ मा अनमोलको जोडीको रूपमा अदिति बुढाथोकीले डेब्यु गर्दै छिन् । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने फिल्ममा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, सुदाम सिके, अमिती गिरी, टीकाभक्त जिरेललगायतका कलाकारको अभिनय रहेको छ ।
‘कृ’ मा अनमोल यसअघिका फिल्ममा देखिँदै आएको चकलेटी लुक्सभन्दा भिन्न देखिएका छन् । चरित्रका लागि उनले ज्यान बनाउनेदेखि दाह्री कपाल पाल्नेसम्म गरेका छन । अनमोलले दर्शककै चाहना अनुरूप गेटअप र भूमिकामा परिवर्तन गर्न खोजेको बताउँदै आफ्नो मिहिनेत सार्थक हुने विश्वास व्यक्त गरे । साथै, को–एक्टर अदिति पनि राम्रो कलाकार भएको तारिफ गर्दै भविष्य उज्वल देखेको टिप्पणी गरे । अनमोलले यति बेला आफूलाई फिल्म खेल्न ५० लाख रुपैयाँसम्मका प्रस्ताव आउने गरेको स्वीकार गर्दै थपे, ‘तर म कहिले पनि पैसाका लागि काम गर्दिनँ । स्क्रिप्ट चित्त बुझेन भने जति नै दिए पनि खेल्ने छैन । म आफ्ना दर्शक, फयानलाई निराश पार्न चाहन्नँ ।’ 
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, प्रदीप भारद्वाज र आशिष रेग्मीको पटकथा तथा संवाद, अल्मोडा उप्रेती राना र विशेष पाण्डेको संगीत रहेको छ ।

लेख 

सरकार गठनमा संबैधानिक ढिलाई

सच्चिदानन्द जोशी
प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसंगै सरकार गठनको प्रक्रिया वारे छलफल सुरु भएको छ । मुख्य  गरी सरकार वनाउन राष्ट्रिय सभाको गठन हुनु आवश्यक छ की छैन भन्ने विषयमा नै विवाद केन्द्रित छ । संविधानको धारा ७६ को उपधारा १ ले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने भन्ने व्यवस्था गरेकोले प्रत्यक्ष रुपमा सरकार गठनमा राष्ट्रिय सभाको कुनै भुमिका देखिदैन । त्यस अवस्थामा राष्ट्रिय सभाको निर्वाचन हुनु वा नहुनुले सरकार निर्माणमा तात्विक अर्थ राख्दैन । 
तर, संविधानकै धारा ८४ को उपधारा ८ ले ‘संघीय संसद’ मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्ने र त्यसरी निर्वाचित गर्दा उपधारा १ को खण्ड क ले निर्धारण गरेको ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अनुसार प्रतिनिधि सभामा र धारा ८६ को उपधारा २ को खण्ड क ले निर्धारण   गरेको ‘निर्वाचक मण्डलबाट निर्वाचित हुने प्रणाली’ अनुसार राष्ट्रिय सभामा निर्वाचित सदस्यहरूमध्ये कुनै राजनीतिक दलको एक तिहाइ सदस्य महिला निर्वाचित हुन नसकेमा त्यस्तो राजनीतिक दलले उपधारा १ को खण्ड ख अनुसार ‘समानुपातिक निर्वाचन प्रणाली’ बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्ने व्यवस्था गरेकोले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म प्रतिनिधि सभामा कुन दलको वहुमत छ भन्ने निर्धारण गर्ने संवैधानिक आधार नहुने हुँदा राष्ट्रिय सभाको निर्वाचन सरकार गठनका लागि अनिवार्य शर्त हुन पुगेको छ । त्यसका साथै समानुपातिक निर्वाचन प्रणाली बमोजिम सदस्य निर्वाचित नभएसम्म प्रतिनिधि सभामा वहुमत प्राप्त दलको संसदीय दलको नेता छनौट गर्न पनि सम्भव छैन ।
अर्काेतर्फ संविधानको धारा ८६ को उपधारा २ को खण्ड क ले राष्ट्रिय सभाको निर्वाचन प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगर–पालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल द्वारा हुने व्यवस्था गरेकोले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुन प्रदेश सभाको निर्वाचन सम्पन्न हुनु अनिवार्य देखिन्छ । यस विषयलाई क्रमवद्ध हेर्ने हो भने सर्वप्रथम प्रदेश सभाको समानुपातिक मतको गणना सम्पन्न गरी प्रदेश सभालाई पूर्णता दिनु पहिलो अनिवार्य काम   देखिन्छ । तवमात्र प्रदेश सभाले पूर्णता पाए पश्चात    राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरी संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य पुग्ने गरी प्रतिनिधि सभाको समानुपातिक तर्फको सदस्य निर्वाचित गर्नु पर्नेछ । यसरी प्रतिनिधि सभाले पूर्णता पाए पश्चात मात्र प्रतिनिधि सभामा वहुमत प्राप्त दलले संसदीय दलको नेता छनौट गरी प्रस्ताव गरे वमोजिम सरकार गठन हुनेछ ।
यता संविधानको धारा ७६ को उपधारा १ वमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरी निजको अध्यक्षतामा गठन हुने मन्त्रिपरिषदको गठनका लागि त संविधानले कुनै समय सीमा निर्धारण नगरी अत्यन्त उदार व्यवस्था गरेको छ । जव की सोहि धाराको उपधारा २ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यको प्रधानमन्त्रीत्वमा गठन हुने सरकार गठनका लागि भने सोहि दफाको उपदफा ३ ले प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र गरिसक्नु पर्ने समय सीमा निर्धारण गरेको छ । यसरी प्रतिनिधि सभामा अमुक दलको एकल वहुमत देखिएमा धारा ७६ को उपधारा १ बमोजिमको उदार व्यवस्था र एकल वहुमत नदेखिएमा उपधारा ३ वमोजिमको संकुचित व्यवस्था आकर्षित हुनेछ । यो निर्धारण पनि प्रतिनिधि सभाको पूर्णता पछि मात्र हुने र उक्त पूर्णता   राष्ट्रिय सभाको निर्वाचनपछि मात्र हुने भएकोले सरकार गठन फटाफट भैहाल्ने अवस्था देखिदैन ।
यसका साथै संविधानको धारा ९३ को उपधारा १ वमोजिम राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नुपर्ने भएकोले प्रतिनिधि सभाले पूर्णता नपाएसम्म संघीय संसदको अधिवेशन पनि आह्वान गर्न सकिने छैन ।           — अनुमोदन दैनिकबाट

लोकसेवा तयारीका लागि उपयोगी 

१. विश्वभरमा सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियानलाई आत्मासाथ गर्दै नेपालले कहिलेसम्म        भोकमरी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ? — सन् २०२५
२. सर्वसाधरण सेवाग्राहीलाई सरल र सहज ढङ्गबाट अधिकतम सेवा प्रदान गर्ने उद्देश्यले सरकारी कार्यालयमा १२ घण्टे सेवा कहिले देखि सञ्चालन गरियो ?   — वि.सं.२०७१ पौष १
३. पाकिस्थानको पेसाबरस्थित सेनाद्वारा सञ्चालित विद्यालयमा कट्टरपन्थि मुस्लिम समुह तालिवानद्वारा १४८ जना भन्दा बढीको ज्यान जाने गरि  (मारिनेमा अधिकतम विद्याार्थी रहेका) विभत्स घटना कहिले भएको थियो ?   — सन् २०१४ डिसेम्बर १६
४. विद्यालय शिक्षाको फलामे ढोका भनेर चिनिने प्रवेशिका (एस एल सी) परिक्षाको मुल्याङ्कन पद्दतिमा कहिले देखि ग्रेडिङ सिस्टमको व्यवस्था व्यवस्था गरिएको हो ?  —वि.सं. २०७१
५. २०७१ सालमा प्रदान गरिएको भुपि स्मृति पुरस्कारबाट सम्मानित हुने सृष्टा को हुन ? — मोमिता
६. अन्तराष्ट्रिय मुद्रा कोष (क्ष्ःँ) द्वारा सन् २०१४ मा प्रकाशित तथ्याङ्क अनुसार विश्वको सवैभन्दा ठुलो अर्थव्यवस्था भएको राष्ट्र कुन तोकेको छ ?  — चीन
७. अर्थमन्त्रालय एवं माताहतका विभाग तथा कार्यलयका काम प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याईएको गुनासो सुनवाई कक्षलाई के भनि चिनिन्छ ?   — विगुल
८. सन् २०१४ नोवेल शान्ति पुरस्कार विजेता भारतका वाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता कैलास सत्यार्थी नेपालको तीन दिने भ्रमणका क्रममा कहिले काठमाण्डौ आएका थिए ?
— वि.सं.२०७१ पौष ४
९. योगशास्त्रका प्रवतक को हुन ?   — पतञ्जलि
१०. सर्वोच्च अदालतले अनलाईन तारेख सेवा कहिले देखि शुरु गरेको हो ?  
— वि.सं.२०७१ मंसिर १४
११. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (पेस्वोसा) पाँचौ वैठकले कति बुँदे काठमाण्डौ घोषणा पत्र जारी गरेको छ ?  — १०
१२.विश्व एड्स दिवस कहिले मनाईन्छ ?  — डिसेम्बर १
१३. सार्क मनोचिकित्सकहरुको आठौं सम्मेलन कहिले र कँहा भयो ?   
— वि.सं.२०७१ मंसिर ११—१३ लुम्बिनी, नेपाल
१४. प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता कहिले र कँहा भयो ?
— वि.सं.२०७१ पुस ४—८ काठमाण्डौ
१५. अन्तराष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ ?   — डिसेम्बर १८
१६. सन् २०१४ डिसेम्बरमा जापानमन भएको मध्याबधि निर्वाचनमा कुन दलले वहुमत प्राप्त गरेको  छ ?     — लिवरल डेमोत्रेटिक पार्टी
१७. शिक्षामा सिमान्तकृत तथा अन्य समुह विच रहेको असमानता हटाई सवैलाई सर्वशुलभ र     गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय क्षेत्रको एकिकृत समता रणनीति २०७१ कहिले सार्वजनिक गरियो ?   — वि.सं.२०७१ मंसिर १९
१८. सात महादेशका सात उच्च हिमाल आरोहन गर्ने पहिलो नेपाली महिला को हुन ?  
— सुस्मिता मास्के
१९. जापानको प्रतिष्ठित एवं चर्चित एसियन टाउन स्कोप अवार्ड सन् २०१४ मा नेपालको कुन संस्थालाई प्रदान गरियो ?  — वागमति सभ्यता एकिकृत विकास समिति 
२०. नेपालमा पहिलो पर्वतीय खेलकुद महोत्सवको आयोजना कहिले गरिएको थियो ?
– वि.सं २०६९ फागुन १८ देखि चैत्र १८ सम्म
२१. गायक फत्तेमान राज भण्डारीको निधन कहिले भएको थियो ?  – वि.सं २०७० भदौ २५ गते
२२. “एक गाउँ एक उत्पादन” कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ?  – जापान
२३. भारतका सम्राट अशोकले लडेको एकमात्र युद्ध कुन हो ? – कलिङको युद्ध
२४. इतिहासको बत्ती भनेर कुन देशलाई चिनिन्छ ?    – ग्रिस
२५. नेपालका राष्ट्रिय विभूति अमरसिहं थापाको मृत्यु कुन ठाउँमा भएको थियो ?   – गोसाईकुण्ड
२६. विश्व बन्यजन्तु कोषले नेपालका कसलाई बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको छ ?
– राजेश हमाल
२७. नेपाल र चिन बीचको रसुवागढी नाका कहिलेबाट सञ्चालन गरिएको हो ?
– वि.सं २०७१ मंसिर १५ गते
२८. नेपालको मौद्रिक नीति कसले निर्धारण गर्छ ?   — नेपाल राष्ट्र बैंक
२९. अपेक्षित वृद्धिदर र सामान्य वृद्धिदर भनी दुई प्रकारको लक्ष्य तय भएको आबधिक योजना कुन    हो ?      — १० औं
३०. राज्य केन्द्रीत अवधारणाबाट नीजि क्षेत्र केन्द्रीत अवधारणातर्फ भएको प्रथम योजना कुन हो ?
— आठौं
३१. ‘शिक्षा भावी जीवनको तयारी मात्र होइन, यो त जीवन यापनको प्रकृया हो ।’ यो भनाइ कसको     हो ?    — जोन डिवे
३२. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो ? 
 — अक्षरांक शिक्षा
३३. कुन बाजालाई ‘नगरा’ पनि भनिन्छ ?   — दमाहा

साहित्य/सृजना 

याद 
तिमी भन्छ्यौ म तिम्रो यादमा
कति पनि छटपटिन्न भनेर
तर मलाई थाहा छ या शुन्य रातलाई
अनि यो रेगिस्तानी छातीलाई
किनकी याद भनेको चौरस्ताको
भाषण होइन रहेछ ।
याद कुनै मन्दिरको घण्टा र भजन होईन रहेछ
या त कुनै कुरान या बाईबल
आपद्िबपदमा मात्र सम्झनाको पात्र बन्ने

याद त आईरहन्छ बिना उद्देश्य
बिना रुकावट
बिना बोलावट
बिना प्रयोजन
बिना आमन्त्रण
सप्तकोशी बनेर
आकाश भन्दा अग्लो नयनका
छाँगाबाट खसिरहन्छन
त्यहिं बिरानीमा, त्यहिं शिरानीमा
त्यहिं छातीमा, त्यहिं धर्तीमा
जहिं–तहिं साक्षत्कार भएर
हृदयलाई सुकाउँदै
कलेजोलाई कम्पन गर्दै

फरक यति हो यादहरु आउँछन मस्तिष्कमा
ठोकिन्छन हृदयमा
अनि आवाज बिहिन भएर
सताईरहन्छन बालकले आमालाई झैं
सताईरहन्छन पवनले फूललाई झैं
सताईरहन्छन पिंडाले घाउलाई झैं
अनि बादलले सुर्यलाई झैं ।
म यति धेरै याद सजाएर
यादै यादको महलभित्र
महलपति भएको छु प्रीये !
तिमी मलाई तिम्रो याद बिहिन
कंगाल कहिल्यै नसम्झनु ।
फरक यति हो
तिमी मेरो यादको महलमा बिराजमान छ्यौ
तर तिम्रो अलिशान तिमी स्वयम् देख्दिनौ ।
तिमी हिंडीरहिछौ मेरो हृदयको चौकोसभरी
यो पनि तिमी स्वयम देख्दिनौ,

बिडम्वना !
मैले नटिपेको त्यो तारा तिमी माथि छ
मैले नचढेको जून, तिमी माथी छ
केवल म तिम्रो लागी जून रुपी फूल टिप्न सकें
केवल, तिम्रो निम्ती तारा रुपी रहर टिप्न भागें
आज खण्डित भएर तिम्रै यादमा जिउँदा
नफ्याँक्नु म तिर, नकुल्चनु मेरो हस्तलिपीहरु
किनकी त्यहाँ पनि मेरै यादहरु
समेटिएका छन, सत्य यत्ति हो
जो बोल्न सक्दैनन्
हात फैलाएर तिमीसँग धुजा हुनको लागी
बिन्ती भाउ गर्न सक्दैनन् ।
हो, बिन्ती भाउ गर्न सक्दैनन् ।
— अज्ञात 


सूचना/सन्देश/बिज्ञापन 

आदर्श गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
     पश्चिम चौकी, मौवा नगरदह, डोटी
७ नम्बर प्रदेश, नेपाल

सूचना प्रविधि अधिकृत करार सेवामा भर्ना सम्बन्धि सूचना ।

 प्रथम पटक सूचना प्रकासित मिति : २०७४/०९/०३
यस गाउँपालिकामा १ (एक) जना सूचना प्रविधि अधिकृत IT Officer  करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली  नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण ९द्यष्य(म्बतब० सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 
विज्ञापन नं. ः १/०७४/०७५
पद ः सूचना प्रविधि अधिकृत 
आवश्यक संख्या ः १ (एक)  
पारिश्रमिक ः मासिक रु. ४०,०००।०० (चालीस हजार मात्र) ।
शैक्षिक योग्यता ः लोकसेवा आयोगले लिने कम्प्युटर अधिकृत पदको न्यूनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर वा सूचना प्रविधि वा सो सरहको विषयहरुमध्ये कुनै एक विषय लिई स्नातकत तह -BIT, BIM, BBIS, BCA, BCIS, BEIT, Bsc.IT,  Bsc.CSIT_ उत्तीर्ण गरेको । 
उमेर ः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
परीक्षण पद्धति ः प्राप्त दरखास्त मध्येबाट शैक्षिक योग्यता र कार्य अनुभव आधारमा छनौट तथा सिफारिस समितिले मूल्यांकन गरी                       सूचिकृत उम्मेदवार मध्येबाट अन्तरवार्ताको माध्यमबाट छनौट गर्ने छ । 
दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरु ः 
ड्डशैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी ।
ड्डनेपाली नागरिकताको प्रमाण(पत्रको प्रमाणित प्रतिलिपी ।
ड्डकार्य अनुभवको प्रतिलिपी ।
ड्डपरीक्षा दस्तुर बुझाएको सक्कलै भौचर ।
पुनश्च ः पेश गरिएको सबै प्रमाण–पत्रको प्रतिलिपीको पछाडी उम्मेदवार स्वयंको हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ । 
दरखास्त दस्तुर ः रु. १०००।  (एक हजार मात्र ।)
दरखास्त दर्ता ः दरखास्त फाराम लोकसेवा आयोगले निर्धारण गरेको ढाँचामा भरी तोकिएको अवधि भित्र कार्यालय समयमा बुझाई सक्नु पर्ने छ । 
सम्पर्क मिति ः दरखास्त दिने अन्तिम मितिको भोलीपल्ट, सो दिन विदा    परेमा कार्यालय खुलेको दिन ।
दरखास्त दिने स्थान ः  आदर्श गाउँ कार्यपालिकाको कार्यालय, मौवा     नगरदह, डोटी 
दरखास्त दिने माध्यम ः ईमेल, फ्याक्स, हुलाक वा स्वयं उपस्थित भएर । 
सम्झौता र कार्य शुरु गर्नुपर्ने मिति ः छनौट भएका उम्मेदवार र आदर्श गाउँपालिका, गाउँ कार्यपालिकाका बीच करार सेवामा कार्य गर्न छनौट भएको मितिबाट ७ दिन भित्र सम्झौता गरी कार्यारम्भ गर्नुपर्नेछ । सो मिति भित्र सम्झौता गर्न नसकेमा बैकल्पिक सुचीमा रहेका अन्य उम्मेदवार संग सम्झौता गरी सेवामा लगाईने छ । 
सम्पर्क फोन नं. ः ९८४६१९१७५९÷९८४८४३१६३८ ÷९८४८४३४६४०       
Email  : rbbist@gmail.com
अन्य जानकारीको लागि कार्यालय समयमा कार्यालयमा सम्पर्क गर्न सकिने   छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४÷०८÷२९ 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–६, सलगढी डोटीमा रहेको यस श्री पद्म पव्लिक मुक्तिनारायण माध्यामिक बिद्यालयमा रिक्त रहेको तपशिल अनुसारको शिक्षक पद खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०२÷०७४÷०७५, पद संख्या ः १    
तह ः नि. मा. बि. तृतीय,  किसिम ः (राहात) करार,  बिषय ः अंग्रेजी  
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रबिणता प्रमाण पत्र तह वा सो  सरह उत्तीर्ण, उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 
पेश गर्नुपर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डस्थायी अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷०९÷१४ गते 
सम्पर्क मितिः २०७४÷०९÷१५ गते 
परीक्षा दस्तुर ः १५००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
परीक्षा मिति ः सम्पर्क मितिका दिन जानकारी गराईने छ ।
नोट ः स्थानीय, दलित, जनजाति तथा अपाङ्गता भएका महिलालाई प्राथमिकता दिईनेछ ।
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुने छैन ।


युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।

सुशासनका विशेषताहरु
संयुक्त राष्ट्रसंघले सुशासनलाई एउटा ‘असल शुसान प्रणाली’ का रुपमा परिभाषित गर्दै त्यस्तो शासन प्रणालीका निम्न बमोजिम विशेषताहरु हुनु पर्ने कुरा अघि सारेको छ ः
सहभागिता ः निर्णय प्रक्रियामा वृहत नागरिक सहभागितालाई प्रोत्साहन गर्ने
सहमतिमूखी ः व्यापक सहमतिमा आधारित भएर निर्णयमा पुग्न प्रयत्न गर्ने
पारदर्शी ः निर्णय प्रक्रियामा सबै खाले जाँचबुचका लागि खुल्ला रहने
जवाफदेही ः नागरिकहरुका आवश्यकतालाई सुन्ने र सम्बोधन गर्ने
प्रभावकारी एवम् कुशल ः सरल, सहज र सुलभ ढंगले आधारभूत वस्तु तथा सेवाहरुको प्रभाव गर्ने
समतामूलक एवम् समावेशी ः जनसख्याको कुनै पनि (खासगरी कमजोर तथा सिमान्तकृत) क्षेत्रलाई बञ्चित नगर्ने
सुशासन किन आवश्यक पर्छ ?
आजको विश्वमा सुशासनको महत्व र उपादेयतालाई सामाजिक, आर्थिक, राजनैतिक, नैतिक र व्यवस्थापकीय दृष्टिकोणले मूल्याकंन गर्न सकिन्छ । यसमा मुख्यतया देहायका उपादेयता पर्दछन् ।
— कानुनी राज्यको पालना र विधिको शासनको स्थापना गर्न
— पारदार्शीता र जवाफदेहिताको प्रवद्र्धन गर्न
— भ्रष्टाचार र अनुशासनहिनताको रोकथाम र नियन्त्रणलाई प्रभावकारी तुल्याउन
— मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्न
— सार्वजनिक सेवामाथि नागरिक अधिकारको सुनिश्चितता हासिल गर्न
— जनसहभागिता प्रवद्र्धन गर्न
— जनमुखी र सक्षम प्रशासनयन्त्रको स्थापना गर्न
— नागरिक समाजको विकास र सहकार्य परिचालन गर्न आदि ।
सुशासन र आर्थिक पारदर्शिता ः
आर्थिक र सामाजिक विकासका लागि पारदर्शिता महत्वपूर्ण हुन्छ । पारदर्शिताले लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्न, लगानीको वातावरण बनाउन, राज्यको कर प्रशासनलाई पारदर्शी, चुस्त र परिपक्व तथा मुलुकभित्र हुने आयव्यय चुस्त बनाउन सहयोग गर्छ । 
भरपर्दो वित्तीय प्रणाली, प्रभावकारी लेखापरीक्षण, नियामक निकायहरूबीच तालमेल र जनप्रतिनिधिहरू आफ्ना मतदाताप्रति उत्तरदायी हुने हो भने पारदर्शी     राज्य व्यवस्थाको प्रभावकारी अभ्यास गर्न सकिन्छ । 
देशको आर्थिक विकासको मुख्य चुनौती भनेको भ्रष्टाचार र करछली हो । हाम्रो मुलुकमा सुशासन र पारदर्शिताका लागि राजनीतिक दलहरूको आर्थिक स्रोतको सार्वजनिक, स्पष्ट कर कानुन र करदातामैत्री कर प्रशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रभावकारी नियमन, कालोधन नियन्त्रण, सम्पत्ति शुद्धीकरणलगायतका आधारभूत कार्य सरकारी तवरबाट गर्नु जरुरी देखिन्छ । 
सुशासन र आर्थिक पारदर्शिताका लागि नीतिगत तहमा जनप्रतिनिधिहरू तयार हुनुपर्छ भने कार्यान्वयनको तहमा प्रभावकारी बनाउने जिम्मेवारी त नागरिककै हो । प्रत्येक नागरिकले आफ्नो जनप्रतिनिधिलाई उत्तरदायी, मितव्ययी र पारदर्शी हुन सचेत बनाउनुपर्छ । 
वैधानिक र कानुनी बाटोबाटै आयआर्जन गर्न सकिन्छ भन्ने कुरा आमजनतालाई स्पष्ट बुझाउन सक्नुपर्छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

दोश्रो पटक सूचना प्रकाशित मिति ः २०७४÷०९÷०४ 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–६, सलगढी डोटीमा रहेको यस श्री पद्म पव्लिक मुक्तिनारायण माध्यामिक बिद्यालयमा रिक्त रहेको तपशिल अनुसारको शिक्षक पद खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०३÷०७४÷०७५, पद संख्या ः १    
तह ः मा. बि. तृतीय,  किसिम ः सट्टा करार,  बिषय ः बिज्ञान  
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट बिज्ञान बिषय लिई स्नातक तह वा सरह उत्तीर्ण, उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 
पेश गर्नुपर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डस्थायी अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷०९÷१० गते 
सम्पर्क मितिः २०७४÷०९÷११ गते 
परीक्षा दस्तुर ः १५००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
परीक्षा मिति ः सम्पर्क मितिका दिन जानकारी गराईने छ ।
नोट ः स्थानीय, दलित, जनजाति तथा अपाङ्गता भएका महिलालाई प्राथमिकता दिईनेछ ।
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुने छैन ।


No comments:

Post a Comment