Tuesday, December 5, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल म‌सिर १९ गते म‌गलबार

मिति २०७४ मंसिर २१ गते हुन   गईरहेको निर्वाचनमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभुित भएकोले निर्भिकतापूर्वक मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई हार्दिक आव्हान गर्दछौ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

दुई सय ४२ स्थल अति सम्वेदनशील

रामहरी ओझा
डोटी, मंसिर १८
बिहिवार सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तोकिएका प्रदेश नं. ७ का मतदान स्थलमध्ये दुई सय ४२ स्थल    सुरक्षाको दृष्टिले अति सम्वेदनशील मानिएका छन । 
सुदूरपश्चिम क्षेत्रीय उपप्रशासक शंकर बिष्टले दिएको जानकारी अनुसार प्रदेश नं. ७ का दोश्रो चरणमा हुने निर्वाचन हुने पाँच जिल्लाका कुल ६ सय ८५ मतदान स्थलहरुमध्ये अति सम्वेदनशील दुई सय ४२, सम्वेदनशील दुई सय ७२ र साधारण एक सय ७० गरि वर्गीकृत गरिएको छ । 
‘कैलालीमा ७५, कञ्चनपुर ८६, डोटीमा १०, अछाममा ५५ र डडेल्धुरामा १६ स्थल अति सम्वेदनशीलको सूचीमा परेका छन’ अनलाईन खवरसंग कुरा गर्दै बिष्टले भने ‘कञ्चनपुरमा ३२, अछाममा ६५, डोटीमा ३०, डडेल्धुरामा ३७ र कैलालीमा एक सय आठ गरि दुई सय ७२ सम्वेदनशील स्थल मानिएका छन ।’ 
प्रतिनिधि सभा सदस्यका लागि १२ र प्रदेश सभा सदस्यका लागि  २४ गरि ३६ सदस्यहरु प्रत्येक्ष चयन हुने गरि हुने निर्वाचनमा प्रतिनिधि सभातर्फ ८६ र प्रदेश सभातर्फ एक सय ४४ उम्मेदवारहरु चुनावी मैदानमा छन । 
निर्वाचन सम्पन्न गर्न कैलालीमा सवैभन्दा बढी मतदान स्थलहरु तोकिएका छन । यस जिल्लामा दुई सय ३१ मतदान स्थल र पाँच सय ३८ मतदान केन्द्र रहेका छन । यस्तै डोटीमा एक सय १५ मतदान स्थल र एक सय ५७ मतदान केन्द्र, कञ्चनपुरमा एक सय ३२ मतदान स्थल र तीन सय २० मतदान केन्द्र, अछाममा एक सय २९ मतदान स्थल र एक सय ९७ मतदान केन्द्र र डडेल्धुरामा ७७ मतदान स्थल र एक सय १७ मतदान केन्द्र रहेका क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ । 
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार बिहिवार पाँच जिल्लाका १० लाख ५० हजार सात सय ३२ मतदाताले आफ्ना प्रतिनिधि छान्नका लागि मतदान गर्ने   छन । कैलालीमा सवैभन्दा बढी चार लाख ६० हजार पाँच सय ७८ मतदाता रहेका छन । यस्तै कञ्चनपुरमा दुई लाख ६४ हजार नौ सय ७३, अछाममा एक लाख ३६ हजार नौ सय तीन, डोटीमा एक लाख ६ हजार पाँच सय ४३ र डडेल्धुरामा ८१ हजार सात सय ३५ मतदाता रहेका छन । 
सवै मतदान केन्द्रहरुमा कर्मचारी हरुको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी आएको छ । सोमवार साँझ मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले मंगलवार र बुधबार मतदान स्थलको आवश्यक तयारी गर्ने र बितरण गर्न बाँकी मतदाता परिचय पत्र बितरण गर्ने गर्नेछन । 
मतदान स्थलहरुको सुरक्षा सम्वेदनशीलता हेरि सुरक्षा प्रवन्ध मिलाईएको क्षेत्रीय उपप्रशासक बिष्टले वताए । उनले भने ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि तीन घेराको सुरक्षा व्यवस्था मिलाएका छौं, यसका साथसाथै घुम्ती सुरक्षा टोलीको पनि व्यवस्था गरिएको छ ।’ 
बिष्टले मतदाताहरुलाई निर्भयका साथ मतदान केन्द्रमा गई मतदान गर्न पाउने पूर्ण व्यवस्था गरिएको जानकारी दिदै भने ‘निर्धक्क भएर मतदान गर्न हुन म आम मतदाताहरुलाई आग्रह गर्दछु ।’

सम्पादकीय 

‘मौन’ कि ‘मान’ अवधी ?

प्रतिनिधि सभा तथा प्रदेश सभाको दोश्रो चरणको निर्वाचन अन्तरगत २१ गते हुने मतदानका लागि उम्मेद्वारहरुले प्रचार प्रसार गर्ने अवधी समाप्त भएको छ । निर्वाचन आचार संहिता, २०७२ (संसोधन सहित) अनुसार सोमवार राती १२ वजेदेखि मौन अवधी सुरु भएको छ । आचार संहिताको परिभाषा अनुसार “मौन अवधि” भन्नाले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समय सम्झनु पर्छ । 
यस बिचमा राजनीतिक दलहरु र उम्मेद्वारहरुले कुनै पनि प्रकारको प्रचार गर्न पाउँदैनन् अर्थात भोट माग्न पाउँदैनन् । सञ्चार माध्यमको प्रयोग, आमसभा, भेला बैठक कुनै पनि प्रकारका क्रियाकलापहरु गर्न पाईदैनन् । ‘मौन’ भन्ने बित्तिकै चुप लाग्नु हो । यो निर्वाचन सम्वन्धि आचार संहिता भएका कारण निर्वाचनसंग सम्वन्धित हरेक बिषयमा ‘मौन’ बस्नु नै मौन अवधी हो । 
तर, बिगतका घटनाहरुले यो अवधी ‘मौन’ अवधी नभएर ‘मान’ अवधी हुन्छ दलहरुका लागि । चुनावी अभियान सञ्चालन गरेर निर्वाचन क्षेत्रमा आफ्नो हैसियत बुझिसकेका दलहरु र उम्मेद्वारहरुले मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरत गर्ने समय हो मौन अवधी । आफुभित्रका रुष्टहरुलाई मिलाउने र अरुभित्र भएका रुष्टहरुलाई आफु तिर तान्ने अवधी हो मौन  अवधी । सडकमा नारा लगाउने, पोष्टर टाँस्ने वा आमसभा गर्ने भन्दा पनि बढी खतरानाक देखिएको छ यो मौन अवधी बिगतका निर्वाचनहरुमा । आफ्नो शक्ति आँकलन गरेपछि अव कुन व्यक्तिलाई आफुतिर तानेर चुनाव जित्न सजिलो हुन्छ भन्ने अनुमान गरेका हुन्छन् दलहरुले । त्यसपछि यो मौन अवधीमा साम, दाम, दण्ड र भेद् जे जे अपनाउनु पर्छ सवै अपनाउँछन । यो कुनै बनावटी कुरा होईन । चुनावी प्रतिस्पर्धामा रहेका दलहरुले आफुलाई नढाँटेर भन्ने हिम्मत गर्छन यदि भने आफै स्वीकार गर्नेछन । 
त्यसैले यो ‘मौन’ अवधी होईन, ‘मान’ अवधी हो । कुनै प्रलोभन दिएर भए पनि मान, पैसा दिएर भएपनि मान, उम्मेदवाहरुले खुट्टा छोएर भएपनि मान, राजनीतिक भागवण्डा गरेर भएपनि मान, छलछाम गरेर भएपनि मान, अप्राकृतिक सम्वन्ध बनाएर भएपनि मान, अन्तमा केही चलेन भने धम्काएर भएपनि मान । मान्न चाँही मान्नु पर्छ । यदि मानेन भने त्यो मतदाता त्यो दल वा त्यो उम्मेदवार र उम्मेद्वारका हनुमानहरुको सधैंका लागि अझ बिशेष गरि चुनावको दिन ‘टारगेट’ हुनेछ । भरसक उसलाई मतदान नै गर्न नसक्ने वातावरण सृजना गरिन्छ । अनि यो मौन अवधी भयो कि मान अवधी भयो ?
अव गाउँ–गाउँमा राजनीतिक दलका कार्यकर्ताहरु रातारात घुम्नेछन् । भोलीपल्ट बिहानै तिनै कार्यकर्ताहरु ‘फलनो पार्टीले गाउँमा पैसा बाड्यो’ भन्दै चर्को स्वरले कराउनेछन् । बिगतका निर्वाचनहरुमा पनि यस्तो भएको हो र यो निर्वाचनमा पनि यस्तो संकेत देखिएको छ । जवसम्म मतदाताहरुले आफ्नो मतको मुल्य थाह पाउँदैनन् र जवसम्म उम्मेदवारहरु वा राजनीतिक दलहरुले जनतामाथी बिश्वास गर्न सक्दैनन् तवसम्म मतदाताको मतको अवमुल्ययन भईनै रहनेछ । जनताले ५० रुपयाँमा मत बिक्री गर्ने जमाना हटेको छैन । किनकी नयाँ सरकार बन्ने र समाज समृद्धिको बाटोमा लाग्ने आशा सहित पटक–पटक मतदान गरेका जनताले न समृद्धि पाए न सुशासन । यस्तो अवस्थामा चुनावको दिन मतदान गरेर ५० रुपयाँ पाएपनि उपलव्धी ठान्नु उनीहरुको दोष होईन । 
‘मेरो घरमा यति मत छ, मलाई यति रुपयाँ चाहिन्छ’ हाँकाहाँकी उम्मेद्वार वा उम्मेदवारका हनुमानहरुसंग बार्गेनिङ्ग गर्ने अवस्थामा पुगेका छन मतदाताहरु पनि । यसमैमा पनि फेरी दलालहरु सक्रिय भएका छन । ति दलालहरुले फेरी मतदाताका सवै पैसा पुग्न दिन्नन्, बिचमा आफ्नो हिस्सा सुरक्षित गर्छन । यसैलाई भनिन्छ ‘मौन अवधी’ ।  

थप समाचार 

आफै उम्मेद्वार आफै कार्यकर्ता

एक हातमा पोष्टर–पम्पलेटको झिल्ली, झिल्लीभित्रै पोष्टर चिप्काउन प्रयोग हुने गमको बोतल । अर्को हातमा माईक्रोफोन, काँधमा भिरिएको मायक । पिठ्युमा झोला, झोलामा एक जोर लुगा, टावल, ब्रस । यो अवस्थाको मान्छे भन्दा चुनावको बेलामा सहजै अनुमान गर्न सकिएला यो कुनै राजनीतिक दलको कार्यकर्ता होला भनेर तर उनी कार्यकर्ता होईनन्, आफै उम्मेदवार हुन । 
राष्ट्रिय जनमोर्चाको तर्फबाट डोटी प्रदेश सभा ‘क’ का उम्मेद्वार नरेश आले आईतवार चुनावी प्रचार प्रसारको क्रममा एक्लै भेटिए । ठुला दलका उम्मेदवारहरुसंग लावा लस्करै छ । मायकिङ्ग गर्ने, पोष्टर टाँस्ने, झण्डा बोक्ने हुलका हुल छन । अगाडी पछाडी गाडी हुईकिन्छन, तर आले एक्लै सवै काम गर्दै हिडेका छन । उनी भन्छन् ‘जनताको बिचमा गएर आफ्ना कुरा राख्नका लागि हुलका हुल चाँहिदैन ।’ हुलका हुल कार्यकर्ता साथमा लैजानेहरुले अनावश्यक खर्च गरिरहेको आलेको भनाई छ । 
‘चुनाव प्रचारका नाममा अनावश्यक खर्च भईरहेको छ, यस्तो अनुत्पादनमुलक क्षेत्रमा गरिने खर्च रोकिनु पर्छ’ आले भन्छन् ‘राजनीतिक दलका कार्यकर्ताहरु समाजसेवी हुन, उनीहरुसंग करोडौं खर्च गर्नका लागि कहाँबाट आउँछ भन्ने कुराको पनि खोजी हुनु जरुरी  छ ।’ उनी उम्मेद्वारहरुले जनतालाई आफ्नो आर्थिक स्रोत देखाउनु पर्ने समेत बताउँछन । ‘जनताको सेवा गर्छु भनेर राजनीतिमा आउनेहरुले आफु जित्नका लागि करोडौं खर्च गर्छन् भने उनीहरुले कस्तो सेवा   गर्लान् ?’ आलेको प्रश्न छ । 
‘भड्किलो चुनाव प्रचार शैलीले बर्तमान राजनीतिमा सर्वहारा÷श्रमजीवी बर्गको पहुँच छैन भन्ने नकारात्मक सन्देश दिँदैछ’ चुनावी प्रचार अभियानका क्रममा भेटिएका आले बिम्ब साप्ताहिकसंग कुरा गर्दै भन्छन् ‘यो भ्रष्टाचार हुने संकेत पनि हो ।’ उनले भने ‘ठुला दलका उम्मेद्वारहरुले चुनावमा खर्च गरेको पैसा उनीहरुले पाउने पारिश्रमिकबाट असुल हुन सक्दैन, त्यसैले उनीहरु भ्रष्टाचार गर्ने गर्छन् ।’ ठुला दल तथा तिनका उम्मेदवारहरुले आचार संहिता बिपरित तोकिए भन्दा धेरै खर्च गरिरहेको भएपनि निर्वाचन आयोगले अनुगमन गर्न नसकेको आलेको आरोप छ । 
आफु प्रदेश सभा क्षेत्र ‘क’ को करीव करीव सवै स्थानहरुमा एक्लै घुमेको बताउने आलेले भने ‘बिगतको भन्दा यस पटकको निर्वाचनमा राष्ट्रिय जनमोर्चाप्रति जनताको समर्थन बढेको छ ।’ आफुहरुको पार्टी अहिले पनि संघर्षमै रहेको र यो चुनावलाई पनि संघर्षकै रुपमा आफुहरु लडिरहेको आले बताउँछन । 
‘अरुलाई पटक–पटक, राष्ट्रिय जनमोर्चालाई यस पटक’ उनी आफै नारा लगाईरहेका   थिए । उनी भन्दैथिए ‘आदरणीय जनसमुदाय, ठुला दलहरुले दिएका कोरा आश्वासनमा नपर्नुहोला । यिनीहरुले देशको बिकास गर्न सक्दैनन् । देशमा  राजनीतिक अस्थिरता ल्याउने यिनै ठुला दलहरु हुन ।’ 
राष्ट्रिय जनमोर्चाले डोटीबाट प्रतिनिनिधि सभा र प्रदेश सभामा उम्मेद्वारी दिएको छ ।

डडेल्धुरामा देउवा हार्ने माओवादीको दावी
कांग्रेस नेता भन्छन्–प्रदेशमा हाम्रै सरकार हुन्छ

उपेन्द्र पोखरेल
मंसिर १८
प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रदेश–७ मा कसले सरकार बनाउला भन्ने बहस चुलिएको छ । वाम र लोकतान्त्रिक गठबन्धन दुवैले आ–आफूले    सरकार बनाउने दाबी गरेका छन् ।
पछिल्लो समय यस प्रदेशमा माओवादी नेता लेख राज भट्ट र कांग्रेस नेता रमेश लेखक क्रमशः वाम र लोकतान्त्रिक गठबन्धनका खास रणनीतिकार मानिन्छन् । दुवै नेताले अनलाइनखबरसँगको   कुराकानीमा आ–आफ्नै दाबी प्रस्तुत गरे ।
भट्टको दाबी छ, प्रतिनिधिसभाका १६ मध्ये १० देखि १२ वटा सिट जित्ने । यस्तै, प्रदेशसभातर्फका ३२ मध्ये २१ देखि २५ सिटमा विजय हासिल हुने उनी दाबी गर्छन् ।
उनको बुझाइमा स्थानीय तह निर्वाचनमा बाजुरामा प्राप्त गरेको एमालेको मतमा माओवादीको मत पनि जोडिएको छ । ‘०७० सालको दोस्रो संविधानसभा निर्वाचनको मत जोड्दा पनि त्यस्तै देखिन्छ,’ उनी भन्छन्, ‘त्यसमा ०६४ सालको पनि मत विश्लेषण गर्नुपर्छ, जसबाट एउटा आँकडा     आउँछ ।’
बझाङमा वाम गठबन्धनमा विवाद छ । आन्तरिक रुपमा नमिलेका कुराले केही थपघट हुन सक्ने भट्ट बताउँछन् । उनका अनुसार बैतडीमा पनि माइनस–प्लसको अवस्था छ ।
‘दार्चुलामा वाम गठबन्धनको मत बढ्ने देखिन्छ । अछाममा पनि घटबढकै अवस्था छ,’ उनी भन्छन, ‘डोटीमा प्रतिस्पर्धा छ र दुवैको मत विश्लेषण गर्दा वाम गठबन्धन अगाडि छ । तथापि, भन्न नसकिने स्थिति छ ।’
भट्टको विश्लेषणमा वाम गठबन्धनका कारण डडेलधुरामा शेरबहादुर देउवाले चुनाव हार्ने अवस्था छ । भन्छन्, ‘जनलहरका हिसाबले प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा वाम गठबन्धनको लहर देखिन्छ, त्यस हिसाबले देउवाजी चुनाव हार्दैछन्, डडेलधुरामा ।’
उनी थप्छन्, ‘कञ्चनपुरमा केही थपघट हुन सक्छ । त्यहाँ विना मगरले जित्ने निश्चित छ । अरु दुई सिटमा प्रतिस्पर्धा देखिन्छ ।’
कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये केही ठाउँमा प्रतिस्पर्धा र केहीमा वाम गठबन्धनको जित सुनिश्चित रहेको भट्टको दाबी छ ।
‘त्यसैले प्रदेश ७ मा  सरकार वाम गठबन्धनले बनाउँछ । त्यसमा कुनै शंका छैन । अझ, बहुमतकै सरकार बन्छ,’ भट्ट भन्छन् ।
कांग्रेस नेता लेखक भने यस प्रदेशमा कांग्रेस सरकार निश्चित भइसकेको दाबी गर्छन् । कञ्चनपुरका तीनवटै सिट कांग्रेसले जित्ने र कैलालीका अधिकांश सिटमा कांग्रेसले नै जित निकाल्ने दाबी पनि उनको छ ।
‘समग्रतामा भन्नुपर्दा प्रदेशमा कांग्रेसको सरकार बन्छ,’ लेखक यसरी आफ्नो तर्क पेश गर्छन्, ‘सबैभन्दा बढी सिट कैलाली र कञ्चनपुरमा छन्, दुवै जिल्लामा अधिकांश सिट हामी जित्छौं । त्यसो हुनासाथ हामी बहुमतमा जान्छौं ।’
प्रतिनिधिसभाका १६ मध्ये आठ वटा सिट कैलाली र कञ्चनपुरमा छन् । दुवै जिल्लामा कांग्रेस मजबुत रहेको लेखकको दाबी छ । पहाडमा पनि कुनै ठाउँमा कांग्रेसले जित्दा बहुमत हासिल हुने उनको तर्क छ ।
प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ३०/३५ सिटमा कांग्रेसले जित्ने तथा प्रतिनिधिसभाका बहुमत सिट हासिल गर्ने लेखकको दाबी छ ।
प्रदेश राजधानीको रस्साकस्सी
प्रदेश–७ को राजधानी कहाँ राखिएला ? कैलालीका अधिकांश उम्मेदवार अत्तरिया र धनगढीलाई समेटेर राजधानी स्थापना हुनुपर्ने पक्षमा देखिन्छन् । माओवादी नेता भट्ट पनि तिनैमध्येका हुन् । कांग्रेस नेता लेखक भने यो प्रदेशसभाको जिम्मामा रहेको बताएर उम्किन चाहे । 
उच्चअदालत र प्रहरीका एआईजीको कार्यालय साविकको सुदूरपश्चिमको सदरमुकाम दिपायलमा        राखिएको छ, जुन पहाडी जिल्ला डोटीमा पर्छ । सुदूरपश्चिमका नौ वटै जिल्ला प्रदेश–७ मा छन् । पहाडका सात वटा जिल्लाका बासिन्दा दिपायलमै राजधानी राखिँदा पायक पर्ने बुझाइमा देखिन्छन् । तराईका बासिन्दा भने कैलालीमा राजधानी सारिनुपर्ने पक्षमा छन् ।
मुख्यमन्त्री को ?
कुराकानीका क्रममा धेरैले माओवादी नेता भट्ट या कांग्रेस नेता लेखकमध्ये एकजना मुख्यमन्त्री बन्दा राम्रो हुने बताए । तर, दुवै नेता प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाका उम्मदेवारले मुख्यमन्त्री बन्न पाउँदैनन् ।
वाम गठबन्धनबाट बाजुरामा प्रदेशसभा उम्मेदवार बनेका पूर्वमन्त्री कर्ण थापाले आफूलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सार्दै आएका छन् । कैलालीका कांग्रेस नेता डा. रणबहादुर रावलले पनि मतदातासँगको भित्री संवादमा आफूलाई भावी मुख्यमन्त्री बताउने गरेका छन् ।
प्रदेशसभामा निर्वाचित भएर आउने प्रभावशाली नेताहरुमध्येबाटै यसको छिनोफानो हुने निश्चित छ ।
‘प्रदेशबाट कस–कसले जितेर आउँछन्, त्यहीअनुसार निर्णय लिइनेछ, मुख्यमन्त्रीमा,’ कांग्रेस नेता लेखक भन्छन्, ‘प्रदेशसभाको संसदीय दलले नै आफ्नो नेता छान्ने हो । प्रदेश–७ मा कांग्रेसको संसदीय दलले जसलाई नेता तोक्छ, उही मुख्यमन्त्री ।’
माओवादी नेता भट्ट पनि को मुख्यमन्त्री भन्ने विषय तत्काल टुंगो लागिनसकेको बताउँछन् । पार्टीले आफूलाई मुख्यमन्त्री बनाउन चाहे पनि त्यसको उपाय खोज्न सकिने उनी बताउँछन् ।
एसियाली राजमार्गदेखि त्रिदेशीय व्यापारसम्म
भट्टको बुझाइमा भारतमा सञ्चालन आइसकेको एसियाली राजमार्गले प्रदेश–७ को कायापलट गराउन सक्छ ।
भन्छन्, ‘इरान र अफगानिस्तान हुँदै एसियाली राजमार्ग यता जोडिँदैछ । नेपालसँग मात्र जोड्न बाँकी छअब, जसले प्रदेश–७ को आर्थिक विकासमा ठूलै फड्को मार्न सकिनेछ ।’
त्यसबाहेक पश्चिम सेती आयोजना, खुटिया–दिपायल फास्ट ट्रयाक, सेती राज मार्गलगायत आयोजनाको कार्यान्वयनबाट पहाडी भेगको आर्थिक विकासमा पनि फड्को मार्न सकिने भट्टको बुझाइ छ ।
भारतको राजधानी नयाँदिल्ली, उत्तरप्रदेशको लखनऊ, उत्तराञ्चलको देहरादुन, उत्तराखण्डका रुद्रपुर, किच्छा, बरेली, मुरादावाद, मेरठ, नोयडा, फरिदावाद, गुडगाउँजस्ता औद्योगिक तथा व्यापारिक केन्द्रसँग कनेक्टिभिटी विस्तार गर्दा पिछडिएको यस प्रदेशको विकास तीव्र गतिमा हुने उनी बताउँछन् ।
लेखक भने त्रिदेशीय व्यापारको कुरा गर्छन् । भन्छन्, ‘भारत र चीन जोडेर त्रिदेशीय व्यापार सञ्चालनको प्रचुर सम्भावना छ । दक्षिण र उत्तर दुवै छिमेकी मुलुकको व्यापारिक नाका बन्न सक्छ यो ।’
— अनलाईन खवरबाट

संकटमा सुदूरका तीन हस्ती

मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोश्रो चरणको चुनावी मैदानमा रहेका सुदूरका तीन राजनीतिक हस्तीहरु सेफ जोनमा छैनन् । 
बहालवाला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा आफ्नो गृह जिल्ला डडेल्धुराबाट प्रतिस्पर्धा गरिरहेका छन । २०४६ सालको राजनीतिक परिवर्तनपछि हालसम्म भएका संसदीय तथा संबिधानसभा गरि पाँच निर्वाचनमा देउवाले सोही क्षेत्रबाट निर्वाचन जित्दै आएका छन । उनी सोही क्षेत्रमा लगातार छैटौं पटक चुनाव लड्दैछन् । 
बिगतका निर्वाचन जस्तो यस पालीको निर्वाचनमा देउवालाई सहज नहुने आँकलन गरिएको छ । ‘जित्न त जितिहाल्नु हुन्छ होला तर बिगतको जस्तो सजिलो जित छैन’ डडेल्धुराका एक कांग्रेस नेताले भने ‘चुनाव हो, भन्न सकिदैन ।’ देउवाका व्यक्तिगत आनीबानीका कारण र पार्टीभित्रको द्वन्द्वका कारण डडेल्धुरा देउवाका लागि सेफ जोन नदेखिएको ति नेता बताउँछन । 
देउवाका मुख्य प्रतिस्पर्धी बामगठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट देखिएका छन । भट्ट देउवासंग लगातार तेश्रो पटक भिड्दै छन । भट्टलाई देउवाले दुई पटक हराई सकेका छन । तर, यस पटक बाम बठबन्धन हुनु, स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार कांग्रेस पछाडि हुनुले देउवालाई यो चुनाव फलामे च्युरा भएको छ । राष्ट्रिय जनमोर्चाका उम्मेदवार लालबहादुर जाग्रीले पनि बामगठबन्धनलाई सघाउने घोषणा गरेपछि देउवाको यात्रा थप कष्टकर बनेको छ । 
यस्तै सुदूरका अर्का हस्ती एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीवबहादुर रावल पनि सेफ जोनमा    छैनन् । अछाम क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा रहेका रावललाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भरत स्वारले चुनौती दिईरहेका छन । २०५१ सालमा उक्त क्षेत्रबाट निर्वाचन जितेका रावल २०५४ सालमा एमाले बिभाजन भएपछि २०५६ को संसदीय निर्वाचनमा पराजित भएका थिए । २०६४ सालको संबिधान सभा निर्वाचनमा समानुपातिक सूचीमा आफ्नो नाम समावेश गरि सेफ जोनमा गएका रावल २०७० को संबिधान सभाको निर्वाचनमा बिजयी भएका थिए । 
रावल चुनाव लड्ने क्षेत्रमा उनको प्रतिस्पर्धामा स्वार मात्रै छन । अरु कुनै दल तथा व्यक्तिले क्षेत्र क्षेत्रमा उम्मेदवारी दिएका छैनन् । स्थनीय तहको निर्वाचनमा अछाममा एमालेले नराम्रो हार हात पारेको थियो । यस कारणले पनि रावलको यो यात्रा संकटपूर्ण  देखिन्छ । ‘रावल जित्ने कुरामा त कुनै दुई मत छैन, उहाँ जित्नु हुन्छ’ अछाममा क्रियासिल एक सञ्चारकर्मीले भने ‘तर सजिलो भने पक्कै छैन ।’ 
यस क्षेत्रका अर्का हस्ती नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री लेखराज भट्ट कैलाली क्षेत्र–४ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन । उनका लागि पनि उक्त क्षेत्र सेफ जोन देखिदैन । २०६४ सालको संबिधानसभा निर्वाचनमा साविबको क्षेत्र–५ बाट चुनाव जितेका भट्ट ०७० मा पराजित भएका थिए । 
भट्टका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल कुमार भण्डारी छन । भट्ट र भण्डारीको पुख्र्याैली घर डोटीको गड्सेरा भएको र उनीहरु चुनावी प्रतिस्पर्धा गरिरहेको क्षेत्रका अधिकांश बासिन्दाहरु डोटेली भएका कारण पनि यस्सै हुन्छ भन्ने अवस्था देखिदैन । 
यस क्षेत्रमा अन्य पाँच जना उम्मेदवारहरु पनि चुनावी प्रतिस्पर्धामा रहेका छन । ति उम्मेदवारहरुले कसलाई घाटा लगाउन सक्छन् भन्ने अनुमान गर्न गा¥हो भएकाले पनि भट्ट सेफ जोनमा नभएको अनुमान कैलालीको अत्तरियामा कार्यरत एक सञ्चारकर्मी लगाउँछन ।

बिद्यालयमा लगातार ९ दिन बिदा बिद्यार्थीहरु चिन्तामा

मुस्लिम धर्मगुरु हजरत मुहम्मद् सल्ललल्लाहो अलैहे बोसल्लमको जन्म दिनको अवसरमा सरकारले शुक्रवार सार्वजनिक बिदा दिएसंगै बिद्यालयहरुमा नौ दिनसम्म लगातार बिदा हुने देखिएको छ । 
शुक्रबार उक्त बिदा, शनिवार नियमित सार्वजनिक बिदासंगै आईतबार उधौली पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ । यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि सरकारले १८ देखि २१ गतेसम्म सरकारी बिदा दिने निर्णय गरेको छ । 
अधिकांश शिक्षकहरु मतदानका लागि आफ्नो घर जाने भएका कारण उनीहरु २२ गते बिद्यालय समयमा बिद्यालय नपुग्ने देखिन्छ । त्यसकारण २२ गते पनि अघोषित बिदा हुने निश्चित प्रायः छ । २३ गते शनिवार छ । यसरी हेर्दा अव बिद्यालय एकैचोटी २४ गते मात्रै खुल्ने देखिएको छ । 
नौ दिनसम्म लगातार बिद्यालय बन्द हुँदा बिद्यालय शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेका बिद्यार्थीहरु भने चिन्तित् भएका छन । ‘मतदान हाम्रै बिद्यालयमा हुने रे, त्यसैले बिद्यालय बन्द गरेको रे’ डोटी शिखर नगरपालिका–१० को सिद्धेश्वर माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राले भनिन् ‘यस बर्ष चुनावका कारण हाम्रो पढाईमा धेरै बाधा भयो ।’ 
उनी जस्तै प्रतिक्रिया छ आदर्श गाउँपालिका–४ को प्रभात माबिमा अध्ययनरत बिद्यार्थीहरुको पनि । ‘असरको महिना पनि स्थानीय चुनावमा सरकारले चार दिन मात्रै बिदा दिने भनेको थियो सात÷आठ दिनसम्म बिद्यालय बन्द भयो’ उक्त बिद्यालयका एक छात्रले भने ‘यसपाली पनि त्यस्तै हुने देखिन्छ ।’ 
कहिले कुनै बहानामा त कहिले कुनै बहानामा बिद्यालय बन्द हुँदा आफुले चाहेर पनि एसईईको तयारी राम्रोसंग गर्न नसकेको छात्रछात्राहरुको भनाई छ । ‘सरहरुलाई बिद्यालय बन्द गर्ने बहाना चाहिन्छ, दुई दिन भनेपछि चार दिन बन्द गरिदिन्छन्’ डोटी बोगटान गाउँपालिका–६ को मण्ष्टेश्वर माबि गगुडाका एक छात्रले भने ‘केही बिद्यार्थीहरु पनि जति बढी बिदा भयो त्यसैमा रमाउँछन ।’ सम्वन्धित निकायले प्रभावकारी अनुगमन नगर्दा समस्या भएको ति छात्रको भनाई छ । 
जिल्लाका ग्रामिण क्षेत्रमा रहेका अधिकांश बिद्यालयहरुमा बिहिवार पनि   राम्रोसंग अध्ययन÷अध्यापन हुन सकेन। शुक्रवारदेखि लामो बिदा हुने हुँदा शिक्षकहरु बिहिवार बिचमै बिद्यालय बन्द गरेर हिडेको अभिभावकहरुको गुनासो छ । अधिकांश बिद्यालयहरु २४ गते पनि नखुल्ने अभिभावकहरुको चिन्ता छ । ‘जति भनेपनि हुँदैन के गर्नु ?’ एक अभिभावकले अनलाईन खवरसंग कुरा गर्दै भने ‘खै, मलाई त २४ गते पनि पढाई होला भन्नेमा बिश्वास छैन ।’
सरकारी नीतिकै कारण बढी समस्या भएको डोटीका जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौड्याल बताउँछन । बिद्यालयमै मतदान केन्द्र तोक्नु पर्ने भएपछि बिद्यालयको पढाई प्रभावित भएको उनको भनाई छ । उनी भन्छन् ‘निर्वाचनपछि लगत्तै बिद्यालय खुल्छन्, म कडाईका साथ अनुगमन गर्छु ।’

कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिहरु भन्छन् ः दया होईन, अवसर दिनुहोस्

राससबाट
पाँच बर्षको उमेरमै पक्षघात हुँदा अपाङ्गता भएका कञ्चनपुरको लालझाडी गाँउपालीका–१ नौरंगाका ४२ बर्षीय दयाराम रानाले सीपमुलक कार्य गर्नका लागि अनुदान रकमको व्यवस्था गर्ने उम्मेदवारलाई भोट दिने सोच बनाएका छन । 
फर्निचर निर्माण गर्ने परम्परागत सीप सिकेका राना आधुनिक किसिमका फर्निचर निर्माण गर्नका लागि सीप सिकेर आप्mनै फर्निचर उद्योग सञ्चालन गर्न चाहान्छन् । ‘परम्परागत सीपलाई आधुनिकिरण गर्न नसक्दा थोरै आम्दानी हुन्छ’ उनले भने ‘तीन छोरा सहित पाँच जनाको परिवारको खर्च चलाउन परम्परागत सीपले धान्दैन ।’ अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमुलक कार्य गर्नका लागि अनुदान रकम र तालिमका लागि सहयोग गर्ने उम्मेदवारलाई यस पटक मतदान गर्न आतुर भएपनि अहिलेसम्म कोही पनि मत माग्नै नआएको उनको भनाई छ । ‘अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नआउदा उम्मेदवारले समेत भेटेनन्’ नौरंगामा आयोजना गरिएको २६ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा भेटिएका रानाले गुनासो गर्दै भने । 
राजनीतिक दलका कार्यकर्ताहरुलाई अपाङ्गका आवाज उम्मेदवार सम्म पु¥याई दिन रानाले आग्रह गरे । अपाङ्गता भएका व्यक्तिहरुलाई सपांग जस्तै शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा अवसर दिई आत्मनिर्भर बनाईनु पर्ने उनी बताउँछन । 
‘हामी पनि परिवार र समाजका लागि केही गर्न चाहन्छौं’ उनले भने ‘हामीलाई अवसर दिनुप¥यो, त्यसका लागि सक्षम उम्मेदवारलाई यस पटक छनौट गरेरनै मतदान गर्छौ ।’ अपाङ्गता हुदा विगतमा समाजमा घृणा गर्ने, होच्याउने, अपाङ्गता भएकाहरु परिवारका लागि बोझ जस्ता शव्द सुनेर २७ बर्षीय सोमवती राना वाक्क र दिक्क मान्ने गरेको बताउछिन् । हाल गैरसरकारी संस्थामा सानै पदमा भएपनि जागिर पाएपछि समाजले हेर्ने दृष्टिकोणमा परि–वर्तन आएको उनको भनाई छ ।  
‘अपाङ्ग मैत्री सरकारी संरचना निर्माण नहुदा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा प्राप्त गर्न असुविधा हुने गरेको छ’ स्थानीय मुकेश रानाले भने ‘महिला तथा बालबालिका मन्त्रालयले जारी गरेको निर्देशिकामा सरकारी कार्यालयमा अनिवार्य रुपमा अपाङ्ग मैत्री संरचना निर्माण गरिनु पर्ने उल्लेख गरिएको भएपनि अधिकांस सरकारी कार्यालय अपाङ्गग मैत्री हुन नसक्दा सेवा पाउन सकेका छैनौं ।’ भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाईनु पर्ने उनको माग छ ।

छोटकरी समाचार 

मदिरा बन्द

बिहिवार हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोश्रो चरणको निर्वाचनलाई मध्येनजगर गर्दै डोटी जिल्लामा १५ दिन मदिराको कारोवार बन्द गरिएको छ । 
जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको सर्वपक्षीय बैठकले मंसिर १५ गते देखि २९ गतेसम्म जिल्लामा मदिराको सेवन र बिक्री बितरणमा रोक लगाएको हो । मदिरा सेवन पश्चात हुन सक्ने सम्भावित घटनाहरुलाई न्यून गर्न मदिराको कारोवारमा रोक लगाएका डोटीका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद खत्रीले जानकारी दिए ।

नागरिक समन्वय समिति गठन

निर्वाचनको बेलामा हुन सक्ने सम्भावित बिवादका घटनाहरुमा सहजीकरण गर्नका लागि जिल्लामा नागरिक समन्वय समिति गठन भएको छ । 
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमको संयोजकत्वमा गठन भएको समितिमा डोटी क्याम्पस प्रमुख कृष्णबहादुर कठायत, सञ्चार–कर्मीहरु योगेन्द्र बलायर, रामहरी ओझा, मोहन शाही र गणेश मौनी र अधिकारकर्मी अधिराज बिसी रहेका छन । 
निर्वाचनको बेलामा दलहरुका बिचमा हुन सक्ने बिवादमा मध्यस्थताको भुमिका निर्वाह गर्नका लागि समिति गठन गरिएको संयोजक वमले  जानकारी दिए । समितिले निश्पक्षताका साथ मध्यस्थता गर्ने उनको भनाई छ ।

खेल समाचार 

अभ्यास खेलमा नेपालको जित

नागरिक दैनिकबाट
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार अभ्यास खेलमा केन्यामाथि ६ विकेटको विजय हासिल    गरेको छ ।
ललित भण्डारीले चार विकेट लिएपछि अबुधाबीस्थित नर्सरी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र जोड्न सकेको थियो । दीपेन्द्रसिंह ऐरीले ४६ तथा कप्तान शरद् भेषावकरले अविजित ३१ रन जोडेपछि १ सय ११ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
शुक्रबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले अमेरिकालाई ५ विकेटको नतिजा सुम्पिएको थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलमा नेपालले मिश्रित नतिजा निकालेको थियो । काठमाडौंमा नै वर्षाले प्रभावित बनेको पहिलो खेलमा केन्या डर्कवर्थ लुइस पद्धतिका आधारमा ५ विकेटले विजयी भएको थियो । केन्यासँग पराजित भएपछि शीर्ष चारमा रहेर विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कमजोर बनेको थियो । 
दोस्रो खेलमा ७ विकेटको नतिजा निकाल्दै नेपालले सम्भावना कायम राखे पनि २ महिनाअघि हङकङसँग १ खेल  बराबर चए पनि अर्काे खेल गुमाएपछि नेपालले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्ने मौका गुमाएको थियो ।
नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको खेलमा बुधबार युएईविरुद्ध खेल्दै छ । जुन खेल नेपाल र युएई दुवैका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । प्रतियोगिताको छैटौं चरणका खेल सकिँदा नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ भने ६ अंक जोडेको युएई अंकतालिकाको पुछारमा छ ।
ओपनर रुसब पटेल र एलेजउमा ओबान्डाले केन्यालाई राम्रो सुरुआत दिए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । रुसब र एलेजउमाले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । छैटौं ओभर लिएर आएका करण केसीले चौथो बलमा एलेजउमालाई शक्ति गौचनमार्फत क्याच गर्दै साझेदारी तोडेका थिए । तगत्तै अर्को ओभरमा सागर पुनले रुसबलाई एलबिडब्लु आउट गरेपछि केन्याले निरन्तर विकेट गुमायो । गुरदीप सिंह २२ र नेल्सन ओधिएम्बोले १० रन जोड्नुबोहक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका ललित भण्डारीले १० ओभरमा १ मेडन राख्दै ४६ रन दिएर ४ विकेट लिँदा सन्दीप लामिछानेले ३.२ ओभरमा ५ रन दिएर २ विकेट लिए । करण, सागर र आरिफ शेखको नाममा १/१ विकेट रह्यो ।
नेपालका ओपनर दिलीप नाथ शून्य र सागर १ रन बनाएर पवेलियन फर्किएपछि १.४ ओभरमा नेपाल २–३ को स्थितिमा थियो । त्यसपछि अर्का ओपनर शरद् भेषावकर र अनिलकुमार शाहले नेपालको इनिङ उकासेका थिए । अनिल १३ रन बनाएर पवेलियन फर्किएपछि शरद् र दीपेन्द्रसिंहले चौथो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । दीपेन्द्रसिंह ४६ रन बनाएर रनआउट हुँदा शरद् ३१ रनमा अविजित रहे । अरिफले अविजित ४ रन जोडे ।

चलचित्र/मजोञ्जन 

‘लिलिबिली’ चैत्र ३० मै आउने

निर्माणधिन चलचित्र ‘लिलिबिली’  आगामी चैत्र ३० गते नै रिलिज हुने भएको छ । 
सुरुवाती दिन देखि नै चैत ३० मा आउने भनिएको चलचित्र निर्माण कार्यमा केही ढिलाई भएका कारण रिलिज हुने मिति अन्योलमा थियो । सिनेमाका निर्माता गोविन्द शाहीले पुर्वनिर्धारित मितिमै रिलिज गर्न तयार रहेको बताए ।
युकेका रमणीय स्थल छायाँकन   भैरहेको सिनेमाको ५५ प्रतिशत काम सकिएको छ । अब विदेश छायाँकनको ३५ प्रतिशत काम बाँकी छ । ‘चैत ३० मा काम सकिदैन की भन्ने अन्योल थियो । तर, टिमले राम्रो काम गरिर–हेकोले पुर्वनिर्धारित मितिसम्म सिनेमा सम्पूर्ण पक्षबाट तयार हुने भएपछि यो मितिलाई लक गरिएको हो ।’ वितरक समेत रहेका शाहीले बताए । साथै, क्रिसमसमा सिनेमाको पहिलो गीत समेत सार्वजनिक गरिने जानकारी दिए ।
मिलन चाम्सले एक्सनकट गरिर–हेको सिनेमामा प्रदीप कार्की, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीको मुख्य भूमिका छ । स्थानीय काउन्सिलको अनुमति र १० मिलियन पाउन्डको पब्लिक ल्याबिलिटी इन्सुरेन्स (पीएलआई) गरेर छायाँकन गर्न चुनौती र अवसर दुवै आफुले महसुस गरेको निर्देशक चाम्सले बताए ।
काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको सिनेमामा गोविन्दका अलावा सुदिप खड्का र निर्देशक चाम्सको पनि लगानी छ ।

राज–प्रतिमाको लगन गाँठो बाँधियो

 एजेन्सी  
अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको बिवाह सम्पन्न भएको छ । डिसेम्वर ३ तारिख आइतवारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेकी प्रेमिका प्रतिमा बिमलीसँग बिवाह भएको छ । प्रतिमा जीव चिकित्सा अभियन्ता (बायो मेडिकल इन्जिनियर)   हुन ।
उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त, नातेदारसँग शुभचिन्तक, साहित्यकार, समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।
चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको शिलसिलामा अमेरिका पुगेका राजबल्लभ अहिले अमेरिकामै आइटीको काम गर्छन् । ‘पर्खि बसें’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेका राजबल्लभले पहिलो पहिलो माया, छोडी गए पाप लाग्ला, राघब लगायतका फिल्ममा काम गरेका राजबल्लभले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।


लेख

जीवनी ः डा.के.आई.सिंह

नरबहादुर कार्की  

डोटी जिल्लाको डुम्राकोटमा बि.सं. १९६३ बैशाखमा कुँवर नरध्वज शाहीका सुपुत्रका रुपमा जन्मेका डा.के.आई.सिंहको बास्तबिक नाम कुँवर ईन्द्रजित सिंह थियो । कसैकसैले उनको बास्तबिक नाम इन्द्रध्वज शाह थियो भन्ने गरेको पाइन्छ । उनलाई ८ बर्षको कलिलै उमेरमा डोटेली राजाको हिउदँका महिनाहरुमा बस्ने ठाउँ भारतको लखिमपुर जिल्लाको सिङ्हाईमा लगिएको थियो । सिङ्हाईमै उनले प्राथमिक शिक्षा हासिल गरे भने बलरामपुर, लखनउ, गोण्डा बसेर हाई स्कुलसम्मको शिक्षा आर्जन गरेका थिए । हाई स्कुलको पढाईपछि उनले बि.सं. १९८१ मा ब्रिटिस भारतीय सेनाका हवल्दार पदबाट जागिर शुरुवात् गरे । ४ बर्षमै उनले सेनाको जागिर छोडेर कलकत्ता गई होमियोप्याथी उपचारको अध्ययन गरे । होमियोप्याथीको अध्ययनपछि उनी बर्मा गए । बर्मामा उनले बिरामीको औषधी उपचार सुरु गरे, जसका कारण बर्मा सरकारले उनको कामको प्रशंसा ग¥यो । दोस्रो विश्वयुद्धपछि उनी बर्माबाट भारत फर्के र भारतको नउतनवा गएर औषधालय खोले । त्यस समयमा महामारीको रुपमा फैलिएको मलेरियाको आफ्नो मिहिनेत र परिश्रमले भ्याएसम्म औषधी गर्नुका साथै बिरामीहरुको ज्यान बचाए । भारतको नउतनवा धेरै नेपाली जनताको ओहरदोहर हुने ठाउँ भएकाले उनले नेपाली जनतासँग नजिक हुने अवसर पाउनुका साथै नेपालको इतिहास, राजनीति, अर्थब्यवस्था, राजा, राणा शासन र नेपाली जनताको बारेमा धेरै गहिरो अध्ययन मनन् गरे । ’दुःखी नेपाल’ नामक लेख लेखे ।
डा.के.आई.सिंह नउतनवा बसेकै समयमा नेपाली राजनीतिमा रुचि राख्ने भए र त्यसै समयमा उनी राष्ट्रिय कांग्रेसमा लागे । उनले नउतनवामा भएको एक राजनीतिक सभामा राणा बिरोधी भाषण गरे । जसको हावा नेपालका राणाहरुको कानसम्म पुग्यो । राणाहरुले उनलाई नेपाल प्रवेश गर्न नपाउने वारेन्ट जारी गरे । त्यो वारेन्टको जानकारीपछि उनी झनै मन, बचन र कर्मले राजनीतिमा लागे । बि.सं.२००७ सालमा उनलाई नेपाली कांग्रेसले नेपालको पश्चिम क्षेत्रका गभर्नर बनाएपछि उनले आफ्नै बलबुताले शक्ति बटुलेर हातमा राइफल बोकेर मोर्चाको नेतृत्व गर्दै भैरहवा माथी आक्रमण गरे । त्यसै समयमा दिल्ली सम्झौता भयो । दिल्ली सम्झौता गर्दा उनलाई बेवास्ता गरियो जसको कारण उनी रिसाए र जनताका बास्तबिक प्रतिनिधि उपस्थित नभएर भएको सम्झौता धोका हो भन्दै बिरोध गर्न थाले ।
दिल्ली सम्झौता भई मंन्त्रीमण्डलको गठन भएपछि डा.के.आई.सिंहले गरेको बिद्रोह बिबरण ः 
ड्ड बि.सं.२००७ साल फागुन ८ गते बेलुकी ४ बजेतिर उनले भैरहवामा ठुलो आक्रमण गरे । सरकार तर्फका ४ मरे, ५ घाइते भए । डा.के.आई.सिंहतर्फका ९ जना मारिए, ९ जना पक्राउ परे । 
ड्डबि.सं. २००७ मंसिर ९ गते बेलुका ९ बजे भारतका एरिया कमान्डर फौज लिई आए र भारत नेपालका फौजले मिलेर डा.के.आई.सिंहलाई उनका ३५७ अनुयायीका साथ पक्राउ गरे ।
ड्डबि.सं.२००८ साल असार २७ गते का दिन सरकारद्वारा गिरफ्तार गरिएका डा.के.आई.सिंह आफ्ना केही सहचारीका साथ भैरहवा जेलबाट भागे । नेपाली प्रहरी र भारतीय प्रहरीको संयुक्त पहलमा उनको खोजी हुन थाल्यो । 
ड्डबि.सं.२००८ साल साउन ६ गते राती २ बजेतिर के.आई.सिंहको बल ज्याम गढीतिरबाट तानसेन जान लागिरहेका सरकारी सैन्यको सानो टुकडीमाथि आक्रमण भयो । आक्रमणबाट सरकारी सेनाका ले.भगवान सिंह क्षेत्री गोलीले घाइते भए र के.आई.सिंह तर्फका एक जना संगिनले घाइते भए । सरकारी सैनिक तर्फका   गिरफ्तार भएका ९ जनालाई हतियार खोसी ७ गते छोडिए । 
ड्डबि.संं.२००८ साउन २६ गते डा. के.आई.सिंहलाई तत्कालीन श्री ५ बाट लेखेको मानको नक्कली चिठ्ठी दिई धोकामा नेपाल सरकारका सैनिकहरुले ठ्याकुरे खोलातिर धोरभुजीमा पक्रे । उनका साथ उनका साथीहरु पनि गिरफ्तार भए । उनीहरुका साथमा हातहतियार फेला परे र जफत गरिए । 
ड्ड बि.सं. २००८ साल भाद्र २७ गतेका दिन डा.के.आई.सिंहलाई पाल्पा देखि पहाडको बाटो कैदीको रुपमा काठमाण्डौं ल्याईयो । जनतालाई यसको कुनै जानकारी दिइएन ।
ड्ड बि.सं.२००८ साल माघ ९ गते बुधबार बिहान डा.के.आई.सिंह नजरबन्दबाट गायब भई उत्तरतिरको केरुङ् नाकाको कठिन बाटो पार गर्दै चिनमा राजनीतिक शरण लिए । 
ड्डबि.सं.२०१२ साल भाद्र २६ गते श्री ५ बाट डा.के.आई.सिंहलाई क्षमादान भएको शाही घोषणा भयो । उनी आफ्ना सहकर्मी सहित नेपाल फर्के । 
ड्डबि.सं.२०१२ साल असोज ८ गते काठमाण्डौंको टुडिखेलमा आमसभा गरेर भाषण गरे ।
डा.के.आई.सिंहले गरेको भाषणको बिबरणः
“राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेको पूर्ब इतिहास बनाउदै त्यसमा रहेका सभापति, उपसभापति लगायत सारा कार्यकारिणी सुवर्ण–महावीरबाट तलब खान्थे । बनारसस्थित तुलसी घाटको कार्यकर्ता सम्मेलनमा महेन्द्र बिक्रम शाहको तलब १५०० बाट ७०० मा ओर्लायो । त्यस्तै सूर्य प्रसाद जीको तलब पनि घट्यो । सेटेम्बर २२, २५, ३०, १९५० को बैरगनिया सम्मेलनको इतिहास सन्दर्भमा मैले नेपाली जनतामा राजनैतिक चेतना नआएकोले अहिले क्रान्तिको टायम ठिक भएको छैन । हामीले राणा शासन अवश्य खतम गर्नु पर्छ तर जनचेतना नल्याई क्रान्ति गर्दा दुईचार ब्यक्तिको स्वार्थपुर्ति मात्र हुन्छ भनेको थिएँ । राजसत्ता खतम गर्नुपर्छ भन्नेहरुको पनि कडा बिरोध दर्साए । तर सुबर्ण र महाबीरको सयसय रुपियाँ नोट तलब खाने कोइरालाहरुले मेरो      कुरा सुनिदिएनन् । श्री मातृका प्रसाद कोइरालालाई डिक्टेटर बनाउँदा वहाँले बिरोध गरी वहाँको आडर नमान्ने प्रतिज्ञा गरेका थिए । खान नपाउने कोइरालाहरुले ठाउँठाउँको लुटको पैसा कुम्ल्याएपछि ब्यांकेटस् लगाएर उटँको जस्तो गर्दन बंग्याएर हिड्ने भए । प्रवासी कोषाध्यक्ष श्री सुबर्ण शमशेर र महावीर शमशेरको मनमा देशमा प्रजातन्त्र ल्याउने थिएन, बाफ बैरी साध्नु थियो । स्वार्थपूर्तिका लागि सुरु देखि जम्मा १० लाख रुपयाँ खर्च गरेका थिए तर २००७ कार्तिक १९ गतेमा बिरगञ्ज लुटी दश लाखको बदला २० लाख फेला पारे । त्यपछि उहाँले भैरहवा कमान्डर भई खटिएका गोपाल शमशेर र पछि सम्पूर्ण पश्चिमाञ्चलका कमाण्डर महेन्द्र बिक्रम शाहले हतियारसम्मको मद्दत नदिई धोका दिएका थिए । उनीहरुको एक मात्र उद्देश्य उस बखतको भैरहवा अड्डाको ३० लाख नगद रुपयाँ हात लगाउनु थियो । त्यसपछि आफूले दिल्ली सम्झौताको बारेमा गोरखपुरमा बिरोध गर्दै नेपालका श्री ५ को बैबाहिक नायिकत्वमा प्रजातन्त्र कायम हुनु पर्दछ । क्रान्तिमा लड्ने साथीहरुको पनि सल्लाह नलिई विदेशमा आई सम्झौता गर्नु देश र जनतालाई धोका दिनु हो । श्री ५ पनि यस्तो धोकामा पर्नुहोला भनी मैले लेखेको थिएँ । दिल्ली सम्झौतापछि क्रान्ति गरिरहेको बखतमा भैरहवामा सामन्ती अत्याचारी भुवनेश्वर शुक्ललाई किसानले मारेको कुरामा निजको ससुरा गोरखपुरको कलेक्टर चन्द्रमान दुवेले के.आई.सिंह भारत बिरोधी हो भनी नेहरुलाई लेखी संयुक्त कार्बाही गराई भैरहवामा थुनाएको थियो । भैरहवा जेलमा छदा सुरेन्द्र बहादुर बस्न्यातको नेतृत्वमा गएको कमिसनले मेरा साथीहरुलाई अलग अलग राखी पिटी बयान गराएको र मलाई ज्यानमारा ठह¥याई झुण्ड्याउने भन्ने बि.पि.को सड्यन्त्र पत्ता लागेकोले जेल फोरी निक्लेको हुँ । त्यसपछि नेपाली राष्ट्रिय फौजले शान्ति कमिशन पठाई बोलाएर झुक्याउदै कैद गरेर काठमाण्डु ल्याए । काठमाण्डु सिंहदरबारमा एक महिना बन्दी भइसकेपछि २००८ साल माघ ८ गतेको दिन एक्कासी केही रक्षा दलका सैनिकहरुले उठाए र रातभर मैले सारा अड्डा, कोत, मुलुकी खाना कब्जा गरे । श्री ५ कहाँ १ संयुक्त मन्त्रीमण्डल बन्नु पर्दछ तर म चाहि बस्दिनँ भन्ने  कुरा लिएर गणेशमान सिंह, टंक प्रसाद आचार्यलाई पठाएको थिएँ । त्यसको केही निकास नभएकोले कुनै सहारा नदेखी केरुंगको बाटो गरी चिन लागि ३ बर्षको कैदबाद श्री ५ को निगाह र तपाईहरुको प्रयासले माताको सेवा गर्न उपस्थित हुदै छु । कोइरालाहरुले जुन विश्वास घात गरे, धोका दिए, त्यो अब तपाईहरु बुझ्न सक्नु हुनेछ । हालसालै मन्त्रीमण्डल गठन नभएमा नेपाल कोरिया बन्ने छ भन्ने प्रतिक्रियाबादी र अवसरबादीको प्रपोगण्डा हो । दक्षिणमा हाम्रो मित्र राष्ट्र भारत छ । उत्तरमा कम्युनिष्ट चिन छ जसको हाल हामीसित पञ्चशिलको आधारमा दौत्य सम्बन्ध स्थापना भएको छ । यी दुबै तर्फबाट हामीलाई कुनै डर छैन । सात समुन्द्र पारीको ब्रिटेनबाट पनि डर छैन ।” 
के. आई.सिंहले उक्त भाषणमा विभिन्न रहस्योद्घाटन गर्नुका साथै आफ्नो देश र जनताप्रतिको सेवाभाव प्रकट गरे ।
राजा महेन्द्रले उनलाई बि.सं.२०१४ साल साउन ११ गते प्रधानमन्त्री बनाए । उनले देशको आर्थिक, सामाजिक तथा सबै पक्षको विकास गर्न खोजेका थिए । आफ्नै प्रधानमन्त्रित्व कालमा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई शिक्षामन्त्री बनाएका थिए । सच्चा देशभक्त नरुचाउने राजा महेन्द्रले बि.सं.२०१४ साल कार्तिक २९ गते उनको मन्त्रीमण्डल बिघटन गरे । बि.सं.२०१५ सालमा आमनिर्वाचन गरायो । जुन आम निर्वाचनमा उनी पराजित भए । तर उनले आफ्नो राजनीति निरन्तर अगाडि बढाइ रहे । बि.सं.२०३९ साल असोज १९ गते जनताको सेवामा समर्पित हुदाहुदै एक निडर, साहसी, परिश्रमी, बुद्धिमान, प्रखर क्रान्तिकारी महान् ब्यक्तिको उपचार गर्ने क्रममा निधन भयो । उनको भौतिक शरीर यस संसारमा नभएपनि हाम्रा माझ भने उनी सदा सदा जीवित रही प्रेरणाका स्रोत बनिरहने छन् ।

लोकसेवाको तयारीका लागि उपयोगी 

१. डट्पेनको अविष्कार कसले गरेका हुन् ?    — जोन जे. लाउड
२. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?— वि.सं. २०६४ असार २३
३. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?    — टेनिस
४. खुट्टामा जिव्रो हुने जीव कुन हो ?     — पुतली
५. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?    — आँखा झिम्काउनु
६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?      — तीतो
७. मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?   — १३ प्रकारका
८. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?      — रुघा
९. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के हो ?     — डुक एयर
१०. याहुका संस्थापक को को हुन् ?      — डेविड फिलो र जेरी याङ्ग
११. सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?   — स्पेन
१२. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?  — भेनेजुयलामा 
१३. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?     — ४ डलर
१४. सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?  — प्रसिद्धजङ्ग राणा
१५. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?    — गुल्मी
१६. नेपालमा गद्य कविताको शुरुवात गर्ने साहित्यकार को हुन् ?  — गोपाल प्रसाद रिमाल
१७. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?    — जापान
१८. भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?   
— मूल सर्वास्ति विनय
१९. लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?    — ईश्वरको पार्टी
२०. अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?   — नेपालको चितवनमा
२१. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? 
— माइक्रोसफ्ट कर्पोरेशन
२२. सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?    
— सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२३. लोटस–१२३ केसँग सम्बन्धित छ ?   — कम्प्युटर
२४. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?  — इजरायल
२५. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रमाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?  
— चाल्र्स डार्बिन
२६. अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ? — कृष्णकुमार पाण्डे
२७. पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ ?      — ०.९ सेकेन्ड
२८. कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ? 
— अस्ट्रेलियाको सिड्नी
२९. सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–बिजेता भएको थियो ?   — नेदरल्याड
३०. नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखि वितरण गर्न थालियो ?    
— वि.सं. २०६६ मंसीर १ गतेबाट 
३१. फिलामेन्ट बत्तीको आयु कति हुन्छ ?    — १००० घण्टा
३२. नेपालको पहिलो सर्च इन्जिन कुन हो ?     — भ्दगशशबकष्ब।अयm
३३. हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?   — हेलियम
३४. भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?    — दुर्गा मल्ल
३५. जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?  — सिन्धुपाल्चोक
३६. लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ?  — कलैया (बारा)
३७. नेपालको सबैभन्दा होचो भाग कुन हो ?  — मुसहरनिया ५९ मि.(धनुषा)
३८. इतिहासका पिता भनि कसलाई भनिन्छ ?    — हेरोडोटस
३९. क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?   — पास्कल
४०. घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?    — ३० डेसिबल
४१. नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ?    — वि.सं. २०६३ माघ १
४२. संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?    
— विजया लक्ष्मी पण्डित (भारत)
४३. पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ?    — स्टेट बैंक अफ पाकिस्तान
४४. विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?    — भारत
४५. नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?     — सर एडमण्ड हिलारी
४६. ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ?  — जे.के.रोलिङ
४७. प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?  —लेबनान
४८. नेपालको राष्ट्रिय गानमा कति शब्द र कति ओटा अक्षर छन् ?    — ४६ शब्द र १२८ अक्षर
४९. संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्ने पहिलो मुलुक कुन हो ?    — बेलायत
५०. अठारौं सार्क शिखर सम्मेलन कहाँ भएको थियो  ?   — काठमाडौं (नेपाल)

साहित्य/सृजना 

शहर

कति पट्यार लाग्दो छ यो शहर
कैयौंका आशा, भरोसा जति सबैलाई
बिस्कुनमा सुकाई
आफू महलमात्र ठड्याइरहेको छ ।
कति डरलाग्दो छ यो शहर
कुनै मसान भन्दा कम छैन
जहाँ,
हजारौंका चिताहरु जलिरहेका छन्
जलेका चिताहरु पनि शान्त छैनन्
उडिरहेका छन धुँवा बनी
यताउती साउती गर्दै
त्यही धँुवाले कालो रुप लिई
घेरिरहेको छ शहरलाई ।
कति अपत्यारिलो छ यो शहर
न त दिनको पत्तो हुन्छ
न रात्रीको नै
हेर्दा हेर्दै
आँखाको सामुन्ने
मान्छेहरुलाई नाङ्गेझार पारिन्छ
युवतीहरु लुटिन्छन
कतिका गला रेटिन्छन
तर पनि
यो शहर
मुर्ती झैं स्थिर भैदिन्छ
मानौं उ प्राणहिन छ
कति निस्टुर छ यो शहर
कति बालबालिका सडकका किनारमा बास बसिरहेका छन्
सडकमा भिख मागिरहेका छन
कापी, कलम बोक्ने हातमा
सडकमा फ्यकिएका फोहोरका थैली छन ।
कति कुरुप छ यो शहर
मौलिकताको नाम निसाना देख्न पाइदैन
सब एक अर्काको देखासिखिमा मस्त छन
सबैमा अरुको रङ्ग हाबी भएको छ
आफ्नो रङ्ग मेटिएको छ
आफुलाइ, आफू भन्दा बढी
अरु जस्तो देखाउने कोशिसको होडबाजी नै चलेको छ ।
यस्तै छ यो शहर ।
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

मुक्तक 

हिमालझैँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ
मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा,
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ ।
लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो
स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा
झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो
आमा एकभारी घाँस लिएर आउनुहुन्थ्यो
हातभरी लाली गुराँस लिएर आउनुहुन्थ्यो
म बिरही भएर कोक्रोमा हल्लिरहेको बेला,
अंगालो भरी मधुमास लिएर आउनुहुन्थ्यो !
झुल्किएर डुबी जाने घाम जिन्दगी
संघर्षको अर्को एउटा नाम जिन्दगी
सुख दुःख समयको खेल सम्झिएर,
मै पनि त बाँचुला नी आम जिन्दगी ।
नैना निर्झरा 
धाँदिङ, नेपाल


सूचना/ सन्देश/बिज्ञापन
 

जिल्ला निर्वाचन कार्यालय, डोटीको अत्यन्त जरुरी सूचना 

२०७४ साल मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदातालाई नमुना मतपत्रद्वारा मतदाता शिक्षा प्रदान गर्न यस डोटी जिल्लामा निर्वाचन शिक्षा कार्यकर्ता/मतदाता शिक्षा स्वयंसेवकहरु सबै नगरपालिका÷गाउँपालिका भित्रका बडाहरुमा पर्ने गाउँघर टोलमा मिति २०७४/०७/०२५ गतेबाट खटिई जानु भएकोले मतदाताहरुले आफ्नो अमुल्य मत बदर हुन नदिन मतदान गर्ने सही तरिकाको बारेमा जानकारी लिनु हुनका साथै मिति २०७४/०८/२१ गतेका दिन बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म हुने मतदान कार्यको लागि सम्वन्धित मतदान केन्द्रमा गई मतदान गर्न हुन सबै मतदाताहरुमा हार्दिक अनुरोध गरिन्छ ।
जिल्ला निर्वाचन कार्यालय, डोटी


युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।

नेपालमा २०६२/६३ को जनआन्दोलन लगत्तै सुशासन 
सरकारले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ पारित गरी व्यवहारमा ल्याएको छ । उक्त ऐनमा 
(क) संगठनमा संलग्न विभिन्न पदाधिकारीको जिम्मेवारी तोकिएको छ ।
(ख) कुनै पनि विषयमा निर्णय गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने प्रावधान राखिएको छ ।
(ग) सरकारी काम कारबाही पारदर्शी तुल्याउने, 
(घ) कार्यालयमा नागरिक बडापत्र राखी आवश्यक सूचना दिने 
(ङ) जिम्मेवार पदाधिकारीको कार्यसम्पादन सूचक तयार गरी कार्य सम्पादन गराउने 
(च) सुशासनका आधारभूत तत्व अनुसरण गर्ने र 
(छ) नागरिक अधिकारको सम्मान गर्ने उल्लेख छ ।  
यसै सन्दर्भमा नेपालको तेह्रौँ योजना २०७०÷७१–२०७२÷७३ मा सुशासन कार्यान्वयन प्रभावकारी तुल्याउन 
(क) घरदैलो सेवा उपलब्ध गराउने 
(ख) घुम्ती सेवा व्यवहारमा ल्याउने, 
(ग) एकीकृत सेवा सञ्चालन गर्ने 
(घ) क्षतिपूर्ति सहितको बडापत्र कार्यान्वयन गर्ने व्यवस्था मिलाएको पाइन्छ ।  
उपरोक्त कानुनी एवं व्यवहारिक व्यवस्थाका बाबजुद नेपालमा सुशासनको कार्यान्वयनले मूर्त रूप लिन सकेको देखिन्न ।   
नेपालको वर्तमान प्रशासन पुरानै शैलीबाट सञ्चालित छ भन्दा अत्युक्ति नहोला ।  राजनीतिक परिवर्तनसँगै अहिले देश संक्रमण अवस्थाबाट गुज्रिरहेको छ ।  संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सयौँको संख्यामा नयाँ कानुन निर्माण गर्न बाँकी नै छ । अर्काेतर्फ संविधानमा विमति जनाई विगत लामो समयदेखि मधेस केन्द्रित दलहरू आन्दोलित छन् । गत वर्षको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण कार्य पनि त्यत्तिकै महत्वपूर्ण छ । वर्षा र हिउँदका याममा पाल र टहरामा दिनचर्या बिताएका जनताको राहतका लागि पुनःनिर्माणको कार्यलाई पनि प्राथमिकतामै सम्पन्न गर्नु जरुरी छ ।  
सुशासन स्थापनाका लागि सरकारको स्थायित्व पूर्व आवश्यकता हो । तर वर्तमान प्रधानमन्त्रीको साढे आठ महिनाको कार्यकालमा दुई पटक सरकार परि–वर्तनको हल्ला चलिसकेको छ ।  प्रधानमन्त्री र सत्तामै संलग्न नेकपा (माओवादी) केन्द्र बीच भएको भनिएको भद्र सहमतिको पनि दृष्टान्त दिने गरेको पाइन्छ । संविधान निर्माण भैसकेको पृष्ठभूमिमा अब यस्ता आपसी समझदारी, सम्झौताभन्दा पनि संविधानले निर्देश गरेका बुँदा अनुरूप सरकारको परिवर्तन हुनु पर्दछ ।  
नेपालमा विगतका १० वर्षमा आठवटा प्रधानमन्त्री सत्तामा आइसके । यही अवस्थाले निरन्तरता पाइरहने हो भने छिटो, छिटो सरकार परिवर्तन गर्ने राष्ट्रको नाममा ‘गिनिज बुक अफ वल्र्ड’ले नेपालको नामाङ्कन गर्न बेर छैन ।  एसियाली राष्ट्र मलेसिया, सिङ्गापुर, भियतनामको सम्बृद्धि स्थायी सरकारबाटै भएको हो । यसबारे पनि हाम्रा राजनीतिज्ञहरूले सवक लिनु जरुरी छ । सत्तामा पुगेका कसैलाई पनि तोकिएको अवधिसम्म कामै गर्न नदिने हो भने देशमा शान्ति समृद्धिको कुरै नगर्दा हुन्छ ।  छद्म भेषमा गरिएका सम्झौताले राजनीति त चल्ला तर प्रशासन चल्दैन ।  
सुशासन सञ्चालनका लागि स्वतन्त्र न्यायपालिका हुनु पर्दछ ।  वर्तमान समयमा नेपालको न्यायालयमा के कस्ता समस्या देखिएका छन, सर्वाेच्च अदालतको न्यायधीश चयन र नियुक्तिमा कस्ता अड्चन आइपरे भन्ने विषयले पनि सुशासनको सफल कार्यान्वयन हुन नसकेको देखिन्छ ।  तेस्रो बुँदा कानुनी राज्यको स्थापना हो ।  तर विडम्बना देश प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरे पनि कानुनको प्रयोग सबैमा समान ढङ्गले भएको पाइँदैन ।

No comments:

Post a Comment