Tuesday, December 26, 2017

बिम्ब साप्ताहिक, २०७४ पुष ११ गते मंगलबार

शित–लहरको समयमा चिसोका कारण मानिसको मृत्यु हुन सक्छ, त्यसैले 
न्यानो कपडाको जोहो समयमै गरौं । ड्डशित–लहरको समयमा घरबाहिर खुलास्थानमा धेरै समय नविताऔं । घर बाहिर निस्कनु परेमा वा धेरै समय बिताउनु पर्ने भएमा न्यानो कपडा लगाऔं । 
रातको समयमा सिरक कम्वल जसता न्यानो ओढ्न गरौं । घरभित्र राती सुत्दा शरीरको साथै अनिवार्य रुपमा छाती तथा टाउको ढाक्ने प्रवन्ध मिलऔं । 
शित–लहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राख्ने  गारौं, छाती र टाउकोलाई चिसोबाट जोगाउने कार्य गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

‘संकल्प’ को संघर्षपूर्ण जीवन ः चौकीदारदेखि सांसदसम्म

रामहरी ओझा
डोटी, पुष १०
मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रचार प्रसार चलिरहेका बेला सामाजिक सञ्जालमा केही व्यक्तिहरुले ‘बम्बैका चौकीदार–लाई राजनीति गर्न आउँदैन’ भन्दै होच्याए । चौकीदारले राजनीति गरेको सुहाउँदैन, चौकीदारै भएको सुहाउँछ भनेर प्रचार प्रसार गरियो । तर तिनै व्यक्ति साँच्चिकै नेता भए । 
बाम गठबन्धनको तर्फबाट डोटी प्रदेश सभा क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य त्रिलोचन भट्ट ‘संकल्प’ ले बाजी मारे । लामो समयदेखि राजनीतिक यात्रामा रहेका, औपचारिक रुपमा स्नातकोत्तर तहको पढाई पुरा गरेका र पेशागत रुपमा पनि शिक्षा क्षेत्रमै लागेका आफ्ना प्रतिस्पर्धीलाई भन्दा मतदाताले कक्षा पाँचसम्मको मात्रै औपचारिक शिक्षा लिएका संकल्पलाई माया गरे ।  
२०२६ साल जेठ ७ गते डोटी के आई सिंह गाउँपालिका–६, फलेडीमा जन्मेका संकल्प १४ बर्षको उमेरमै रोजगारीका लागि भारत भए । ‘त्यतिबेला गाउँमा कक्षा ५ सम्म मात्रै बिद्यालय थियो, पाँच कक्षा पास गरेपछि टाढाको बिद्यालयमा पढ्न पारिवारिक अवस्थाले साथ दिएन’ भट्ट भन्छन् ‘औपचारिक शिक्षा त्यतिमै सिमिति रह्यो ।’ पढाई छोडेर घरमै बसेका भट्ट बिरामी परेपछि भारतमा काम गर्दै  गरेका उनका दाजुले उपचारका लागि उतै लगे । उपचारपछि भट्ट भारतमै काम गर्न थाले ।  
भट्टले केही समय पञ्जावमा बिताए । पञ्जावपछि उनलाई अर्को शहर रोज्न मन लाग्यो, उनी बम्बे (मुम्बई) पुगे । मुम्बईको एक कम्पनीमा काम गर्ने क्रममा उनले मजदुर युनियनको संगत गर्ने मौका पाए । युनियनवाट उनले बर्ग संघर्ष र माक्र्सवादको ज्ञान पाए । युनियनका नेताहरुको प्रशिक्षणबाट उनलाई आफ्नो गाउँ समाजको परिवेश याद आयो । कलिलै उमेरदेखि आफुले भोगेको दुःख सम्झँदै उनले पनि समाज परिवर्तनका लागि संघर्षमा होमिने निर्णय गरे । २०४७ सालमा उनले अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएर आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरे । समाजमा रहेका सम्पूर्ण प्रकारका उत्पिडनहरुको अन्त्य गर्ने र न्यायपूर्ण समाज स्थापना गर्ने उनको सपना थियो ।  
२०४७ सालदेखि २०५२ सालसम्म उनले एकता समाजका बिभिन्न कमिटीमा रहेर काम गरे । ०५२ सालमा स्वदेश फर्केपछि उनको बिवाह भयो । मंसिरमा बिवाह गरेका भट्ट फागुनमा तत्कालीन नेकपा माओवादीले सशस्त्र बिद्रोहको घोषणा गरेपछि फेरी प्रवासमै गई संगठनमा सक्रिय भए । उनी जागिरमा त्रिलोचन भट्ट र        राजनीतिमा ‘संकल्प’ भनेर चिनिन थाले । ०५६ सालसम्म उनले नौकरी गर्दै संगठनका बिभिन्न पदमा रहेर काम गरे । संगठनिक काममा प्रतिवद्ध भट्टलाई ०५६ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा काम गर्ने जिम्मेवारी आईलाग्यो । उनले नौकरी छोडेर सांगठनिक जिम्मेवारीमै समय बिताउन  थाले । 
नेपाल सशस्त्र संघर्ष चर्कदै गएपछि भारत सरकारले एकता समाजमाथी प्रतिवन्ध लगायो । त्यसपछि नेपाली जनअधिकार   सुरक्षा समिति गठन भयो । समितिको महाराष्ट्र राज्य समिति संयोजकको जिम्मेवारी पाए  भट्टले । प्रवासमा हुँदा पार्टीका प्रवासमा रहेका बिभिन्न कमिटीहरु र भातृ संगठनको बिभिन्न तहमा बसेर जिम्मेवारी सम्हालेका भट्टले २०६१ सालमा स्वदेशमै फर्केर सक्रिय राजनीति गर्ने निर्णय गरे । आफुले सम्हाल्दै आएको जिम्मेवारीबाट बिदा लिँदै उनी डोटी आएर भुमिगत भए । उनलाई २०६२ सालमा नेकपा माओवादी डोटी जिल्ला कमिटी सचिवको जिम्मेवारी आयो । 
माओवादी बृत्तमा सोझा र ईमानदार राजनीतिज्ञको रुपमा आफ्नो पहिचान बनाएका भट्ट खुला राजनीतिमा आएपछि माओवादी डोटी जिल्ला सहईन्चार्ज, जिल्ला ईन्चार्ज हुँदै अहिले पार्टी पोलिट व्यूरो सदस्य बनेका छन । 
२०६४ सालको संबिधान सभाको निर्वाचनमा डोटी क्षेत्र–१ बाट पराजित भट्ट २०७० को संबिधान सभा निर्वाचनमा डोटी क्षेत्र–२ बाट पराजित भए । हारलाई सहज रुपमा पचाउने भट्टले यस पटक भने बाजी मारे । ‘संसदीय राजनीतिक अभ्यासमा चुनाव हार्नु र जित्नु सामान्य कुरा हो’ भट्ट भन्छन् ‘म दुई दुई पटक चुनाव हारेर पनि जनताको सेवामा सधैं सक्रिय रुपमा लागिरहेको थिएँ, अव जितेपछि थप जिम्मेवारी महसुस गरेको छु ।’ उनी आफु हारेर पनि संगठनिक कामले सधैं जनताको बिचमा गईरहेका कारण नै जनताले माया गरेको बताउँछन ।
बिपक्षीले ‘बम्बैको चौकीदार’ भनेर लगाएको नारा उनका लागि फलिफाप सावित भयो । डोटीबाट भारतमा गई काम गर्नेहरुका परिवारले बिपक्षीको नाराको मुखतोड् जवाफ दिएको भट्ट बताउँछन । ‘हो, मैले भारतमा गएर चौकीदा–री गरेको हुँ, यसमा मलाई कुनै प्रकारको आत्मग्लानी छैन’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै भट्टले भने ‘तर भारत गएर चौकीदारी गर्नु मेरो रहर थिएन, बाध्यता थियो जो म जस्तै लाखौं नेपालीहरुको बाध्यता हो ।’ 
कुनै पनि नेपाली रहरले भारतमा चौकीदार नभएको बताउँदै भने ‘सत्तामा बसेर मोज गर्नेहरुले देशभित्रै रोजगारी सृजना गरेको भए सवै नेपालीहरु आफ्नै देशमा पसिना बगाईरहेका हुन्थ्ये ।’ उनले गरीवी र वेरोजगारी आफुले राम्रोसंग भोगेको वताउँदै जनताका  आधारभुत आवश्यकताहरु सहज रुपमा परिपुर्ति हुने गरि आफुले भुमिका निर्वाह गर्ने वताए । ‘भारतमा काम गरिरहेका सवै नेपालीहरुलाई अहिल्लै नेपालमै   रोजगारी दिन सकिन्छ भन्न सकिँदैन’ भट्ट भन्छन् ‘तर भारतमा गएर काम गरिरहेकाहरुका कठिनाईहरु कम गर्नका लागि म प्रयासरत रहन्छु ।’ 
०६३ सालको राजनीतिक परिवर्तनपछि केही समययता तरकारी खेतीमा सक्रिय भएका भट्ट राजनीतिलाई पेशाको रुपमा मान्दैनन् । उनी भन्छन् ‘राजनीति पेशा होईन, समाज सेवा हो । तर राजनीतिकर्मीहरुले राजनीति लाई पेशाको रुपमा बुझेर समस्या भएको हो ।’ उनी प्रत्येक राजनीतिक कार्यकर्ताले कुनै न कुनै पेशामा आवद्ध भएर आफ्ना आधारभुत आवश्यकता पुरा गर्नतिर लाग्नु पर्ने बताउँछन । अव आर्थिक समृद्धिको लडाईलाई अवको मुख्य मुद्धा बनाउनु पर्ने भट्टको भनाई छ । 


सम्पादकीय
 

यो के हो सरकार ?

दुई पैसाको लोभमा म्यादीमा भर्ना भएका युवाहरुले आफुले पाउने रकम अनाहकमा कटौती भएपछि कुरा उठाउन स्वभाविकै हो । ज्यान हतेलीमा राखेर १५ दिनको तालिमको भरमा निर्वाचन सम्पन्न गराउनका लागि दुर्गम र सुरक्षाको दृष्टिले अति संवेदनशील ठाउँहरुमा उनीहरुले लौरो घुमाए । दुई पैसा आउला र एकसरो लुगा लगाउला भन्ने रहर थियो होला उनीहरुको पनि । त्यो दुई पैसा पनि अनेक बहाना बनाएर नदिने अनि यस्तो किन भयो भनेर आवाज उठाउदा गोलीले भुन्ने सरकार कसरी लोकतान्त्रिक हुन सक्छ ? के मुखले ‘म लोकतन्त्रबादी हुँ’ भन्दैमा कोही लोकतान्त्रिक हुन्छ र ? के लोकतन्त्रको परिभाषाभित्र यस्तै बिषयहरु पर्छन र ?
म्यादी प्रहरीहरु नियमित सुरक्षाकर्मीहरु जस्ता होईनन्, निश्चित समयका लागि उनीहरुलाई तोकिएको सुबिधा दिने भनेर सरकारले भर्ना गर्छ । अनि तोकिएको सुबिधा मैले पाएन भन्न पनि नपाउने हो भने सरकारले कायम गर्न खोजेको सुशासन कस्तो खालको हो ? के म्यादी प्रहरीहरु सरकारका दास हुन र ? 
यस्तै अर्को एउटा घटना भयो । समाचार प्रकाशन एवं प्रसारण गर्ने पाँच सञ्चारमाध्यमलाई प्रहरीले समाचारको स्रोत दिन पत्राचार ग¥यो । समाचारको स्रोत माग्ने हैसियत कहाँबाट आयो सरकार ? समाचारको स्रोत गोप्य रहन्छ भन्ने अन्तराष्ट्रिय मान्यताको धज्जी उडाउने सरकारबाट हामीबाट कसरी पूर्ण प्रेस स्वतन्त्रताको आश गर्न सक्छौं ? 
हुन त राज्यको प्रकृति आफैमा तानाशाही हो । आफ्नो योजनाहरु लागु गर्नका लागि राज्यले जहिले पनि नागरिकहरुसंग रुखो व्यवहार देखाएको ईतिहास हाम्रो देश र अन्य देशहरुमा पनि छ । तर, बामपन्थीहरुको सरकार आयो भने रुन पनि नपाईने र हास्न पनि नपाईने भन्ने प्रचार गर्ने सरकारले आफ्नै पालामा    गरेको यो हर्कत तानाशाही होईन र ? 
२०६२÷०६३ को जनआन्दोलनको नेतृत्वकर्ता हो सञ्चार क्षेत्र । लोकतन्त्र नभएसम्म पूर्ण प्रेस स्वतन्त्रता हुन सक्दैन भन्ने बिचारका साथ लोकतन्त्र प्राप्तीलाई मिसन बनाएर आन्दोलनमा होमिएको थियो । अहिले लोकतन्त्र आईसक्यो, लोकतान्त्रिक संबिधान निर्माण भईसक्यो, सो संबिधान अनुसारका राज्य संयन्त्रहरु पूर्णता पाउने क्रममा रहेका बेला प्रहरीले समाचार लेखेकै भरमा सञ्चारगृहलाई पत्राचार गरेर समाचारको स्रोत माग्छ तर आफुलाई बिश्वकै उत्कृष्ठ लोकतान्त्रिक भन्ने सरकारले चुईक्क समेत नवोल्नुका पछाडि सरकारले गर्न लगाएको हो भनेर बुझ्ने कि नबुझ्ने ? 
लोकतन्त्रको आफु अनुकुलको व्याख्या हुन्छ र ? लोकतन्त्रको त सामान्य मापदण्ड हुन्छ । देशमा बाम गठवन्धनले जित्दा लोकतन्त्र खतरामा परेको देख्ने सरकारले आफ्नै प्रहरीबाट निहत्था म्यादीमाथी गोली चलाएकोमा कहाँ नेर लोकतन्त्र देखेको रहेछ । आफ्नो अधिकारका लागि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनु मानवअधिकारको बिश्वव्यापी मान्यता हो । नेपालको संबिधानले पनि बिना हातहतियार शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ तर प्रदर्शनकारीहरुलाई गोली हान्ने अधिकार दिएको  छैन । 
यस्तै राष्ट्रियता खतरामा पर्ने, साम्प्रदायिकता भड्किने खालका बाहेक अन्य समाचारहरु प्रकाशन र प्रसारण गर्न पाउने हक संबैधानिक हक हो । जनताले सूचना पाउने हक पनि संबैधानिक हक हो । तर, कसैको बिषयमा समाचार लेखेकै कारण सञ्चारगृहलाई समाचारको स्रोत माग गरिनु यो कुन लोकतान्त्रिक चरित्रभित्र पर्छ सरकार ? 
आफुले व्याख्या गरेको जति सवै लोकतन्त्र हो भने त त्यसमा कसैले पनि टिप्पणी गर्न आवश्यक नहोला तर हामीलाई बिधिको शासन चाहिन्छ, बिथीको होईन ।

थप समाचार 

प्रदेश सभामा चार दल मात्रै, एमाले पहिलो कांग्रेस तेश्रो


प्रदेश नं. ७ को प्रदेश सभामा चार दलको मात्रै उपस्थिति हुने भएको छ । 
निर्वाचन आयोगले शुक्रवार समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या अनुसार प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी गरि चार पार्टीको मात्रै उपस्थिति भएको छ । प्रत्यक्षतर्फ पनि यि चारवटै दलको प्रतिनिधित्व रहेको छ । 
प्रत्येक्ष तर्फका ३२ सिटमा जम्मा चार मात्रै हात पारेको कांग्रेसले समानुपातिकमा भने दुई लाख ९५ हजार सात सय २९ मत पाई मतका हिसावले पहिलो भएको छ । कांग्रेसले समानुपातिकतर्फबाट ८ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १७ स्थान जितेको एमाले समानुपातिकमा कांग्रेसजस्तै ८ सिट प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । एमालेले सरकार गठनका लागि एक्लै बहुमत पु¥याउन भने सकेन । तर, बाम गठबन्धनको दुई तिहाई पुग्ने भएको छ । एमाले एक्लैको २५ सिट भएको छ । एमालेले समानुपातिकतर्फ दुई लाख ६० हजार नौ सय ५५ मत प्राप्त गरेको छ । 
प्रत्येक्षतर्फ १० सिट जितेर प्रदेशका लागि दोश्रो ठुलो दल बनेको माओवादी केन्द्रले समानपातिकमा भने तेश्रो स्थानमै चित्त बुझाउनु परेको छ । आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिक तर्फ चार सिट पाएको छ । यस पार्टीले एक लाख ४२ हजार सात सय दुई मत पाएको छ । माओवादी केन्द्रको प्रदेश सभामा १४ सिट पुगेको छ । समग्रमा माओवादी केन्द्र प्रदेश सभामा दोश्रो भएको छ ।  
त्यस्तै ३६ हजार नौ सय दुई मत प्राप्त गरेको राष्ट्रिय जनता पार्टीले एक सिट पाएको छ । प्रत्येक्षतर्फ पति राजपाले एक स्थान जितेको थियो । निर्वाचन परिणाम अनुसार पहिलो नेकपा एमाले, दोश्रो नेकपा माओवादी केन्द्र, तेश्रो नेपाली कांग्रेस र चौथोमा राजपा भएको छ । 
आयोगले सार्वजनिक गरेको सिट संख्या अनुसार एमालेले समानुपातिकतर्फका सवै ८ सिट महिलाहरु पठाउनु पर्ने देखिन्छ । प्रत्येक्षमा एमालेले जितेका १७ सिटमा एक पनि एमाले नभएका कारण संबिधानको धारा १७६ अनुसार प्रदेश सभामा ३३ प्रतिशत महिला पु¥याउन महिलाहरु मात्रै लैजानु पर्ने देखिएको छ ।

सतायो छाडा चौपायाले

भूमिराज जोशी/दिपायल
पुष १०
सोमबार बिहानै दिपायलका स्थानीयको खेतबारीमा दर्जन भन्दा बढी गाइगोरु देखिए । भरखर उम्रिएको गहुँ ती गोरुले चरेर बाँझो खेत जस्तै देखिएको थियो । त्यसपछि स्थानीयहरुले गोरु लखेट्दै बीच पिपल्ला बजारमा पु¥याए । बजारमा पुग्दासम्म दुई दर्जन भन्दा बढी छाडा चौपायाहरु जम्मा भैसेका थिए । 
बजारमा आफ्ना बेच्न राखिएका तरकारी बचाउन एकले अर्को ठाउँमा धपाउँने, अर्कोले अर्को ठाउँमा धपाउँने । यो क्रम दिपायलबासीका लागि नौलो भने थिएन । त्यो दिन ‘अब त छाडा चौपायाले धेरै दुःख दिन थाले, यिनलाई दिपायलबाट अर्कै ठाउँमा धपाउनु प¥यो’ भन्दै चिया गफ पनि हुँदै थिए । कतिले ‘दूध खाने अनि गाई छोड्ने’ भन्दै गाली बेज्जत गरिरहेका थिए त कसैले आफैंले पालेका पशुको पनि माया नै नलाग्ने रैछ ती पापीहरुलाई भन्दै गाली बेज्जत गरिरहेका थिए ।
पछिल्लो समयमा छाडा चौपाया सार्वजनिक यातायात सेवामा पनि चुनौती भएको छ । सडकभरी छाडा चौपायाका कारण दुर्घटना समेत त्यत्तिकै बढेको छ । तर गाइगोरुको न्यायोचित ब्यवस्थापन भने हुन सकेको छैन । नगरपालिकाले सामुदायिक बनमा काञ्जिहाउस बनाएमा छाडा चौपायाको ब्यवस्थापन हुने उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए ।
बिम्ब साप्ताहिकसंग कुरा गर्दै अध्यक्ष खड्काले भने ‘छाडा चौपायालाई ब्यवस्था गर्न नगरपालिकाले सामुदायिक बनमा टहरा (काञ्जिहाउस) बनाएमा ब्यवस्थापन हुन्थ्यो । नगरपालिकाले त्यो अभियान चालेमा २÷४ जना युवाले रोजगार पनि पाउने थिए ।’ उनले भने ‘ब्यस्त सहरमा बेकर्ना गाई पाल्न फुर्सद नहुँदा काञ्जिहाउसमा छोड्ने र गाई गर्भवती हुँदा घरमा ल्याएर पाल्न, दुहुन सकिन्छ ।’ त्यसको लागि उद्योग बाणिज्य संघ डोटीले भरपुर सहयोग गर्ने उनले बताए ।
केही बर्ष यता छाडा चौपायालाई ब्यवस्थापन गर्न स्थानीय सडक तथा बजारमा निकै समस्या भएको छ । यो अवस्थामा छाडा चौपायाहरु आफ्नो आहाराका लागि बेइमानी बनेका छन । रातभरी स्थानीय बजार वरिपरी बालीनाली तथा तरकारी बारीको नोक्सान गर्ने र बिहान स्थानीयले लखेटेर सडक तथा बजारमा छोड्नुले यात्रु तथा अन्य सबै सेवाग्राहीका लागि सास्ती बन्दै आएको छ ।
रैथाने गाइले धेरै दूध दिन नसकेपछि तथा बेकर्ना भएपछि फेरी गर्भवती नहुने समस्याले सडकमा छोडिएका छन । रैथाने गाइलाई अर्को बर्ष दूध दिने अवस्था सिर्जना गर्न खासै पहल नहुँदा पनि गाईहरु छोडिएका हुन सक्ने स्थानीय खेम भण्डारी बताउँछन । जिल्ला पशु सेवा कार्यालयले पनि उन्नत जातका गाइलाई मात्र कृतिम गर्वाधारण गर्ने लक्ष्य लिएपछि रैथाने गाइहरु अहिले सडक आइरहेका उनले बताए ।
साघुँरो सडकमा देखिने छाडा चौपायाका कारण सडक दुर्घटना हुने गरेको सबारी चालकहरु बताउँछन । छाडा चौपायाको ब्यवस्थापन गर्न स्थानीय तहले कुनै आधिकारिक कार्यक्रम ल्याएको छैन जसका कारण सरोकारवालाहरु नै दोषी बनेका छन ।
हिन्दु धर्मालम्बीहरुको दान लिने दिने जनावर नै गाइ भएकाले ब्रामणहरुले नै बढी छोड्ने गरेका छन । कतिपयले गाई दुहुनका लागि या गोरु जोत्नका लागि किन्ने र बिना सिजनमा छाडा छोड्ने  गरेको उद्योग बाणिज्य संघका सदस्य गणेश बहादुर साउँदले बताए । 
गोरु असार मंसिरमा प्रायः बजारमा थोरै मात्र देखिन्छन, त्यस्तै गाइहरु पनि व्याउन केही दिन अगाडी नै घरमा पाल्नका लागि डो¥याउने गरेका छन । ‘पशुसंग स्वार्थ लुट्नेलाई कडा कार्बाही गर्नुपर्छ’ साउँदले भने ‘बाँचे अर्को साल फिर्ता ल्याउला, मरे पनि उतै मर्छन भन्ने प्रबृतिले छाडा चौपायाको बिचल्ली भएको छ । यसरी छोड्नेलाई स्थानीय प्रशासनले कडा कार्बाही गर्नुपर्छ ।’
बकेर्ना गाई छोड्ने प्रबृतिले गाई जोगाउनै मुस्किल भएको बिश्व हिन्दु महासंघ डोटीका अध्यक्ष राज प्रसाद जोशीले बताए । जोशीले भने ‘यसरी गाईलाई छोड्दा नेपालको राष्ट्रिय जनावर नै संकटमा पर्न थालेको छ ।’ हिन्दुबादीहरुले नै यसरी गाई गोरुको बिचल्ली गर्दा हिन्दु धर्मलाई नै प्रश्न खडा हुने गरेको जोशीले वताए । उनले आम हिन्दुबादीले सचेत हुन जरुरी भएको जिकिर गरे ।
छाडा चौपायाले सडकमा मात्र नभएर किसानहरुलाई पनि सास्ती दिदै आएका छन । बेमौषमी तरकारी तथा अन्नबाली पनि जोगाउनै कठिन भएको माओबादी केन्द्र डोटीका नेता तेज डुम्रेलले बताए । ‘केही दिन अगाडी त चौपायालाई जंगलमा लगेर छोडिएका हुन’ डुम्रेलले भने ‘त्यो जंगलमा पनि राती स्थानीयका बारीमा नोक्सान गरेपछि भोलीपल्ट नै उनीहरुले बजारतिर लखेटे ।’
दिपायलको पिपल्ला बजारमा मात्र होइन, अधिकाशं सुदूरका बजारहरुमा नै छाडा चौपायाले सबैलाई सास्ती दिने गरेका छन ।

गाउँ शिक्षा सम्मेलन हुने

गाउँपालिका तहमा शिक्षाको समग्र अवस्थाको बारेमा बहस गरि ठोस योजना बनाउने उद्देश्यका साथ पूर्वीचौकी गाउँपालिकाले गाउँ शिक्षा सम्मेलन गर्ने भएको छ । 
गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले पूर्वीचौकी गाउँपालिकाको शिक्षाको गुणस्तरलाई सुधार गर्नका लागि शिक्षासंग सम्वन्धित सवै बिषयमा बहस  गर्न आवश्यक रहेकोले शिक्षा सम्मेलन गर्ने वताए । रेष्टलेस डेभेलपमेण्टको साझेदारीमा सामुदायिक बिकास केन्द्रले सञ्चालन गरिरहेको सम्भव परियोजना अन्तरगत गाउँपालिकामा रेडियो कार्यक्रम ‘सम्भव सवाल’ रेकर्डिङ्गको क्रममा बोगटीले सो कुरा बताएका हुन ।
‘म आफै पनि केही बिद्यालयहरुमा अनुगमनका लागि गएको थिएँ, शिक्षाको गुणस्तर राम्रो छैन’ बोगटीले भने ‘कतै शिक्षक नभएको, कतै भएका शिक्षकहरुले पनि राम्रोसंग नपढाएको, कतै फर्निचर नभएको अवस्था छ ।’ उनले पाँच बर्षभित्र भौतिक पूर्वाधारको दुष्टिले सवै बिद्यालयहरु सु–सम्पन्न बनाउने लक्ष राखेको बताए । उनले भने ‘पूर्वीचौकी गाउँपालिकामा सिकाई उपलव्धी दर ४६ प्रतिशत मात्रै  रहेको छ । यसलाई बढाउनका लागि गाउँपालिकाले के के गर्नु पर्छ, म तयार छु ।’ 
सामुदायिक रेडियो त्रिवेणीबाट प्रशारण हुने उक्त कार्यक्रममा सहभागि बिद्यार्थीहरुले बिद्यालयमा खानेपानी, फर्निचर, आवश्यक संख्यामा शिक्षकहरु र आवश्यक शिक्षण सामग्री नभएको गुनासो गरेका थिए ।
माघी महोत्सव दुई स्थानमा हुने
विगत दुई बर्ष देखि उपत्यकाका दुई ठाँउमा हुँदै आएको थारु राष्ट्रिय माघी महोत्सब यस बर्ष पनि दुई ठाँउमा हुने भएको छ । 
थारु कल्याणकारिणी सभा उपत्यका समितिको मुल संयोजनमा बसेको बैठकले पौष ४ गते डम्मर प्रसाद चौधरीको संयोजकत्वमा महोत्सब समिति गठन गरेपछि, थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्षको अध्यक्षतामा बसेको बैठकले शनिबार पौष ८ गते ३२ वटा आदिवासी जनजाति संस्था आवद्व १०१ सदस्य सहितको थारु राष्ट्रिय माघि महोत्सब समिति गठन गरेको छ ।
बैठकले चम्पन साँस्कृतिक समुहका अध्यक्ष नन्दु राज चौधरीलाई थारु राष्ट्रिय माघि महोत्सबको संयोजकमा चयन गरेको छ । १४ उपसमिति संयोजक सहित १०१ सदस्य रहेको थारु राष्ट्रिय माघि महोत्सबको उपसमितिमा प्रचार प्रसार, अर्थ ब्यवस्थापन एवं परिचालन, मंच ब्यवस्थापन, साउण्ड सिस्टम ब्यवस्थापन, फुड स्टल ब्यवस्थापन, सांस्कृतिक, झाँकी र्याली, स्वयम् सेवक परिचालन, अतिथि सत्कार, औषधी उपचार, सल्लाहकार, अनुगमन तथा मुल्याङ्कन, रक्तदान व्यवस्थापन र जिता व्यवस्थापनको जिम्मेबारी बाँडफाँड गरेको छ । 
महोत्सव एक ठाउँमा हुँदा हुने उल्लासमय वातावरण दुई ठाउँमा महोत्सव हुँदा नहुनेगरेको बुझाई दर्शकरुको छ । बैठकमा थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद चौधरीले भने ‘माघी महोत्सवलाई यस वर्ष एकै ठाउँमा गर्ने प्रयास जारी रहेको बेला थारु कल्याणका–रिणी सभाले गैर जिम्मेबारी पुर्वक एकलौटी रुपमा आयोजक समिति सार्वजनिक गरेकोले थारु माघि महोत्सब फेरी पनि दुई ठाँउमा हुने निश्चित नै भयो ।’
नामसंगै सेवाग्राही पनि फेरिए
कुनै बेला निकै भिडभाड हुन्थ्यो, कर्मचारीहरुलाई सेवाग्राहीहरुको काम गर्न भ्याई नभ्याई हुन्थ्यो । त्यसमैमा कर्मचा– रीहरुले घुष खान खोजेको, अनावश्यक दुःख दिन खोजेको भन्दै हल्लीखल्ली हुन्थ्यो । कर्मचारी र सेवाग्राहीहरुबिच बाजाबाज हुन्थ्यो । 
तर, अचेत त्यस्तो छैन् । निर्जिव भवनहरु ठिङ्ग उभिएका छन्, रुखका पातहरु खसेर आँगन ढाकिएको छ । कर्मचारीहरु घरी बाहिर घरी भित्र गर्दैछन । साविकको जिल्ला विकास समितिको कार्यालय (जिल्ला समन्वय समितिको कार्यालय) सुनसान छ । 
स्थानीय तहको पुनर्संरचनासंगै अधिकार गाउँपालिका÷नगरपालिकामा बिकेन्द्रित भएपछि जिल्ला विकास समितिको नाम जिल्ला समन्वय समिति  रह्यो । नाम परिवर्तन भएसंगै उक्त कार्यालयमा आउने सेवाग्राहीहरु पनि परिवर्तन भएका छन । 
‘पुराना उपभोक्ता समिति पदाधिका–रीहरु धरौटी रकम निकासाको सिफारिस माग्न आउने गर्छन’ जिल्ला समन्वय समितिका नासु हरिसुन्दर श्रेष्ठले भने ‘गैर सरकारी संस्थाको नविकरणका लागि सिफारिस माग्ने र ठेक्कापट्टाको ईजाजत पत्र नविकरण गर्नेहरु आउँछन ।’ श्रेष्ठका अनुसार त्यस्ता सेवाग्राहीहरुको संख्या पनि ज्यादै न्यून मात्रामा छ । उनले भने ‘फाट्टफुट्ट हुन यस्ता सेवाग्राहीहरु आउने, अनुपात निकाल्दा दैनिक एक जना मात्रै पर्ला ।’
योजना माग गर्ने, योजनाको फरफारक गर्ने लगायत कामहरुका लागि सेवाग्राहीले भरिभराउ हुने उहिलेको जिल्ला विकास समिति अचेत भने शान्त एवं सुनसान छ । ‘जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख ज्यूहरुसंग राजनीतिक कार्यकर्ताहरु भेटघाट गर्न आउँछन र मान्छेको अनुहार देख्न पाईन्छ’ समन्वय समितिको कार्यालयका एक कर्मचारीले भने ‘सेवाग्राहीहरुको त बाटो कुरेरै बस्नु पर्ने अवस्था छ । 

छोटकरी समाचार 

हिमशिखरमा फेरी भण्डारी

डोटी दिपायलमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पूनः खेम भण्डारी चयन भएका छन । 
सोमवार सम्पन्न संस्थाको नवौं साधारणसभाले भण्डारीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा धनवहादुर शाही, सचिव खडक शाही र कोषाध्यक्ष बासुदेव जोशी रहेका छन । यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, रमेश अवस्थी, भरतबहादुर कठायत र राजेन्द्रबिक्रम शाही रहेका छन । एक महिला सदस्य पछि कार्यसमितिले चयन गर्ने निर्णय भएको डोटी होटल व्यवसायी संघका अध्यक्ष दिपक खड्काले जानकारी दिएका छन । 

ओझेलमा झडी झरना

बझाङको थलारा गाउँपालिकामा रहेको झडी झरना प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।
समुन्द्री सतहबाट झण्डै २५ सय मिटरको उचाइमा रहेको झरनाको लम्बाई तीन सय मिटरभन्दा बढी रहेको छ । खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो झरनामा थलारा गाउँपालिका बासिन्दाले नुहाउने, शिव भगवानको पूजा आराधाना गर्छन् ।
गाउँ नजिकै रहेको यो  झरना पुग्न सदरमुकाम चैनपुरबाट हिँडेर झण्डै ५ घण्टा लाग्छ भने सवारी साधनमा यात्रा  गरियो भने २ घण्टामा नै पुग्न सकिन्छ ।

खेल समाचार 

दवावमा फ्लप स्टारहरु

कान्तिपुर दैनिकबाट
टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आशा गरिएका ठूला नामका केही खेलाडीको प्रदर्शन निकै कमजोर छ । लिग चरण अन्त्य नजिकिँदा उनीहरू फ्लप स्टारमा दाँजिएका छन ।
ठूलो रकम, ठूलो अपेक्षा । प्रदर्शनचाहिँ निराशाजनक । टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आशा गरिएका ठूला नामका केही खेलाडीको प्रदर्शन निकै कमजोर छ । लिग चरण अन्त्य नजिकिँदा उनीहरूफ्लप स्टारमा दाँजिएका छन ।
विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, आसिफ शेख जितेन्द्र मुखिया राजेश पुलामी, नरेश बुढाऐर, सिद्धान्त लोहनी, अनिल मण्डल, महबुब आलम,  राजु रिजालदेखि दिलीप नाथसम्मका नाम चलेका खेलाडीले अपेक्षा अनुसार खेल्न सकेका छैनन् । यी सबै तिनै खेलाडी हुन् जसले राष्ट्रिय टोलीबाट खेलिसकेका    छन ।
ईपीएलमा उनीहरूले देखाएको प्रदर्शन त्यो अनुरूपको छैन । अहिले यी मध्येका कोही राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत छन । कोही पुनरागमनमा छन, कोही आफ्नो स्थान नियमित बनाउने प्रयासमा छन । कीर्तिपुरमा चलिरहेको नेपाली क्रिकेटको ठूलो मेलामा उनीहरूको प्रदर्शनले भने त्यो प्रमाणित गर्दैन ।
विनोद र सागर राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका छन्रु। पछिल्ला वर्षहरूमा उनीहरूको प्रदर्शन अन्तराष्ट्रिय स्तरमा पनि कमजोर छ । सोही कारण विनोद र सागर नेपालको हारमा आलोचनाका पात्र बन्दै आएका छन । गत महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यूएई जानु अगाडि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले विनोद र सागरतर्फ इंगित गर्दै यूएईसँगको खेल केही खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अन्तिम अवसर रहेको जनाएका थिए ।
विनोद र सागरको प्रदर्शन अबुधाबीमा पनि खासै उपलब्धिजनक थिएन । ईपीएलको अक्सनमा ‘ए’ ग्रेडमा रहेका खेलाडीले अधिकतम १ लाख ७५ हजार पाउँथे । विनोदमा पूरा भाउ लागेको थियो । प्रदीप ऐरी १ लाख ६० हजार र सागर पुन १ लाख ५० हजार मूल्यमा बिक्री भएका थिए ।
विराटनगर वारियर्ससँगको खेलमा पहिलो बलमा चौका प्रहार गरेका विकेटकिपर–ब्याट्सम्यान विनोद अर्को बलमा आउट भएका थिए । काठमाडौं किंग्स ११ सँगको अर्को खेलमा ब्याटिङ गर्न पाउँदा उनले ५ बलमा ४ रनमात्र बनाउन सके । पोखरा राइनोजले उनीमाथि ठूलो आशा गरेको छ । त्यही भएर प्रायः गरी मध्यक्रममा खेल्ने उनलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाइरहेको छ । 

चलचित्र/मनोरञ्जन

‘हरियो ढुङ्गा’ मा शरणार्थीको पिडा

नागरिक दैनिकबाट
रातुको बगरमा ढुंगा खोज्ने निचुले कान्छाले एकदिन हरियो ढुंगा फेला पार्छ । देखिरहेको ढुंगाभन्दा फरक ढुंगाले निचुलाई कौतुहल बनाउँछ । उसले त्यो ढुंगा आफ्नी श्रीमतिलाई देखाउँछ । पालैपालो सबैले हेर्छन् । ढुंगालाई कसैले हिरा भन्छन् त कसैले यसलाई अमूल्य वस्तु भन्ठान्छन् ।
भुटानी शरणर्थी क्याम्पमा बस्ने निचुले कान्छाको दुइछोरा र एकछोरी  हुन्छ्न । एकदिन छोरी सक्कली र निचुलेकी बुढी हरियो ढुंगासँगै  घरबाट वेपत्ता   हुन्छन् ।
उनीहरु फर्केर आउँछन् वा आउादैनन् ? त्यो हेर्न भने यतिबेला शिल्पी थिएटर वत्तिसपुतलीमा मञ्चन भैरहेको नाटक ‘हरियो ढुंगा’ हेर्न पुग्नैपर्छ । चर्चित कवि तथा कथाकार उपेन्द्र सुब्बाको ‘लाटोपहाड’ कथा संग्रहमा रहेको ‘हरियो ढुंगा’ कथालाई नाटकमा रुपान्तरण       गरेका हुन् नाट्यकर्मी सुनिल पोखरेलले । उनकै परिकल्पना तथा निर्देशनमा मंसिर २९ गतेदेखि यो नाटक मञ्चन सुरु भएको हो ।
भुटानको सर्वाङस्थित निचुलबाट आएका निचुले कान्छाको कथासँगै उतिबेला भुटानबाट लखेटिएका         शरणार्थीहरूको कथा ‘हरियो ढु्रंगा’मा बुनिएको छ । भुटानी शरणार्थीलाई अमेरिका पुर्नस्थापनका लागि लैजाने बेलाको यो कथाभित्र शरणार्थीका रुन्चे हाँसोका पललाई प्रस्तुत गरिएको छ ।
यता जा भन्छ उता जा भन्छ खोलाको पातैले,
न यता जानु न उता जानु भुटाने जातैले... 
कथाको सुरुवातमै शरणार्थीले गाएको यो गीतले उनीहरूको वास्तविकता उजागर गरेको छ । नेपालको झापास्थित बेलडाँगी शिविरमा बस्दाको उनीहरूको दिनचर्यालाई टपक्कै टिप्ने प्रयास नाटकमा गरिएको छ । निचुले कान्छाको भुमिकामा पोखरेलको निर्देशनलाई साकार पारेका छन् अभिनेता विपिन कार्कीले । त्यसैगरी, सुस्तीको रुपमा सुनिशा बजगाँईको भूमिकाले पनि दर्शकलाई प्रभावित पार्छ ।
 ‘कलाकारको अभिनय नै भयंकर छ’ नाटक हेर्न आइपुगेका वरिष्ठ साहित्यकार अभि सुवेदीले भने ‘कथा त पहिल्यै पढेको हो । नाटकमा कस्तो बनेछ भनेर हेर्न आएको, मज्जा लाग्यो ।’
निर्देशक सुनिल पोखरेलले कथाभित्र रहेको मानवीय पक्षले छोएका कारण नाटकको रुपमा तयार पार्ने सोच बनाएको बताए । ‘कुन नाटक गर्ने भनेर खोजिरहेका थियौं’ पोखरेल भने, ‘खै कसो कसो यही कथामा गएर ठोक्कियौं ।’ हाम्रो समयको ठूलो त्रासदी को कथा भएकाले पनि मन पर्याे । कथाकार उपेन्द्र सुब्बाले भने ‘देशखोज्दै जाँदा’ नामको फिल्म सुटिङका बेला यो कथा फेला पारेको उल्लेख गरेका छन् । शरणार्थीले सुनाएको कथालाई हतारमै लेखेको उनले बताए । त्यही कथा मञ्चमा नाटक बन्दा उनी पनि मख्ख थिए ।
नाटकमा आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन सिवाकोटी, दिपेन्द्र शाही, सुरज तमु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात वास्कोटा, अर्जुन थापा, कृतिका भट्टराई लगायतले अभिनय गरेका छन् ।
समूहले तेस्रो प्रस्तुतिका रुपमा नाटक मञ्चमा उतारेको हो । समूहले यसअघि इन्द्रबहादुर राईको ‘जयमाया आफुमात्र लेखापानी आइपुगी’ र सेक्सपियरको नाटकमा आधारित ‘अ मिडसमर सपना’ नाटक प्रस्तुत गरिसकेको छ । नाटक ‘हरियो ढुंगा’ पुस २२ गतेसम्म मञ्चन हुनेछ ।

लेख 

फेरी पनि नबन्ने हो त आवधिक सरकार ?

रामहरी ओझा
अनलाईन खवरमा ‘केपी ओली अढाई बर्ष मात्रै प्रधानमन्त्री’ शिर्षकको समाचार प्रकाशन भएपछि अनेक प्रकारका तर्क बितर्कहरु भए । एक जना मित्रले सामाजिक सञ्जालमा ‘केपी ओली पनि ईतिहास कायम गर्न नसक्ने भए’ भनेर लेख्नु भयो । साँच्चै २००७ साल सालको राजनीतिक परिवर्तनपछि आवधिक सरकार बन्न सकेनन् । बाम गठबन्धनले सुबिधाजनक बहुमत प्राप्त गरेपछि अव बन्ने सरकार पुरै अवधी चल्ला र नयाँ ईतिहास कायम होला भन्ने धेरैले अड्कल गरेका थिए तर “आलोपालो” सरकार चलाउने सम्झौताको जगमा बनेको गठबन्धनले पनि नयाँ ईतिहास बनाउन नसक्ने लक्षण देखिएपछि धेरैमा नैरास्यता आउनु स्वभाविकै हो । 
००७ सालमा भारतको नयाँ दिल्लीमा तत्कालीन राजा त्रिभुवन, नेपाली कांग्रेस र राणाहरुबिच दिल्लीको दवावपूर्ण मध्यस्थतामा भएको सम्झौतापछि सुरु भएको अस्थिर सरकारको सिलसिला २०७२ सालमा बनेको नयाँ संबिधान अनुसारको व्यवस्थापिका बनिसक्दा पनि खत्मा होला जस्तो देखिएन । ००७ साल फागुन ७ गते तत्कालीन श्री ३ महाराज मोहन सम्सेर जवरा नेतृत्वको सरकार एक बर्ष नपुग्दै ढलेपछि त्यसपछि २०१५ सालको पहिलो आम निर्वाचनसम्म ९ वटा सरकार फेरिए अर्थात आठ बर्षमा १० सरकार । 
०१५ सालको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्यायो । निर्वाचनपछि २०१६ साल जेठ १३ गते बनेको २१ सदस्यीय मन्त्रीमण्डल २०१७ साल पुष १ गतेसम्म मात्रै चल्यो । देशमा राजनीतिक बिकृत्ति फैलिएको र दलहरुको दलदल भएको भन्ने आरोप लगाउदै तत्काली राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेर निरंकुश शासन लागु गरे । संबिधान सभामार्फत नयाँ संबिधान बनाउने भन्ने जगमा भएको दिल्ली सम्झौता बिस्तारै तुहिदै गएपछि भएको यो निर्वाचनले कम्तीमा  राजनीतिक स्थिरता ल्याउँछ, देशमा प्रजातान्त्रिक       सरकार आउँछ भन्ने आश थियो जनतामा तर त्यो आशैमा सिमित रह्यो । 
महेन्द्रले प्रजातन्त्र मासेर ‘नेपालको माटो सुहाउदो व्यवस्था’ भन्दै निर्दलीय पञ्चायती शासन लागु गरे ।   राजाको प्रत्येक्ष शासनमा राजाको आदेशमा चल्ने कुनै पनि सरकारको आयु पाँच बर्षको हुन सकेन । ६ महिना, एक बर्ष, दुई बर्ष, तीन बर्ष, यस्तायस्तैमा सरकार परिबर्तन भए । राजाले आफु अनुकुलका व्यक्तिहरुलाई सरकारको नेतृत्व दिने तर आदेश भन्दा थोरै दायाँ बायाँ भयो भने फेरिहाल्नु पर्ने हुन थाल्यो र यसरीनै देश  चल्यो । 
२०४६ सालको राजनीतिक परिवर्तनपछि संबैधानिक राजतन्त्र सहितको नयाँ व्यवस्था आयो । निरंकुश राजतन्त्रात्मक व्यवस्थाबाट दमित जनताले अव प्रजातन्त्रमा आफ्ना नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारहरु सुरक्षित हुनेछन्, पूर्ण स्वतन्त्रताको उपभोग गर्न पाईनेछ भन्ने आश गरे । संबैधानिध रुपमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाईयो । निरंकुश राजालाई असिमित अधिकार सहितको संबैधानिक राजा बनाईयो । आवधिक निर्वाचन हुने, बहुदलीय राजनीतिक व्यवस्था, बिधिको शासन, स्वतन्त्र न्यायपालिका जस्ता बिशेषताहरु बोकेको संबिधान २०४७ साल कार्तिक २३ गते जारी गरियो । यद्यपी त्यो संबिधान घोषणाकै भोलिपल्ट जलाईएको पनि थियो, आलोचनात्मक समर्थन गर्ने, अन्धभक्ती समर्थन गर्ने आ–आफ्नो शैलीका दल र समूहहरुले बिरोध वा समर्थन गरे । 
राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्रको स्थापनाको माग सहित आन्दोलनमा होमिएका जनताले संबैधानिकै राजतन्त्र भएपनि राजनीतिक स्थायित्व, बिधिको शासन, समृद्धि र आधारभुत आवश्यकताको परिपुर्ति सहज ढंगले हुनेछ भन्ने आश लगाएका थिए तर त्यो हुन सकेन । जनताले अपेक्षा गरे भन्दा ठिक उल्टो भयो । नेताहरु कुर्चीको लडाईमा लागे, कार्यकर्ताहरु भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने धन्दामा । ‘बिधिको शासन’ नभएर ‘बिथीको शासन’ भयो, ‘सुशासन’ ‘कुशासन’ भयो । ‘स्थिरता’ को सट्टा ‘अस्थिरता’ बढ्यो । जनताले आफ्ना मागहरु राख्नका लागि शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संबैधानिक अधिकार पनि उपभोग गर्न नपाउने अवस्था सृजना भयो । 
२०४८ सालको आम निर्वाचनमा सुबिधाजनक बहुमत पाएर गठन भएको सरकार नेपाली कांग्रेसको अन्तरकलहका कारण तीन बर्षमै मध्याबधी निर्वाचन गराउन बाध्य भयो । ०५१ साल कार्तिक २९ गते भएको मध्याबधी निर्वाचनले कुनै पनि दललाई सरकार गठनका लागि आवश्यक बहुमत नदिएपछि राजनीतिक अस्थिरता संस्थागत भयो । एमाले र कांग्रेस दुई ठुला दल भए, राप्रपाहरुले ‘भिलेन’ को भूमिका निर्वाह गरे । ६÷६ महिनामा सरकार परिवर्तन हुँदै पाँच बर्षे अवधी पार भयो । यही बिचमा तत्कालीन नेकपा माओवादीले सशस्त्र बिद्रोह (जसलाई जनयुद्धको नाम दिईयो, यद्यपी उक्त सशस्त्र बिद्रोह ‘जनयुद्ध’ परिभाषाभित्र पर्छ÷पर्दैन भन्ने कुराको अध्ययन हुनु जरुरी छ) सुरु भयो । संसद त जेनकेन पाँच बर्षसम्म जिबित रह्यो तर सरकार पाँच बर्षमा पाँचवटा बने (मनमोहन अधिकारी, शेरवहादुर देउवा, लोकेन्द्रवहादुर चन्द, सुर्यबहादुर थापा र गिरीजाप्रसाद कोईराला) ।
सशस्त्र बिद्रोहकै कारण ०५६ सालमा दुई चरणमा भएको (बैशाख २० र जेठ ४) निर्वाचनमा फेरी नेपाली कांग्रेसले सुबिधाजनक बहुमत ल्यायो । अव त राजनीति दलहरु चेते होलान्, अव त अनुभव पनि बटुले होलान्, केही सिकाई पनि भयो होला नेताहरुलाई भन्ने लागेको थियो । अव राजनीतिक स्थिरता होला, देश समृद्धिको बाटोतिर जाला भन्ने आश लगाईएको थियो । तर, फेरी उस्तै दुभाग्र्य सरकार फेरी पनि अस्थिर भयो । सरकार बनाउनका लागि जनताबाट आदेश पाएको नेपाली कांग्रेसभित्र कुर्चीका लागि फेरी लडाई सुरु भयो । सरकार बनाउने र भत्काउने क्रम एक बर्षमै सुरु भयो । चुनाव भएको दुई बर्षमै क्रमशः कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला र शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भयो । राजनीतिक अस्थिरता चल्यो । अन्ततः शेरबहादुर देउवा नेतृत्वको सरकार बिरुद्ध पनि संसदमा अबिश्वासको प्रस्ताव आयो । आफ्नो कुर्ची खोसिने पक्कापक्की भएको देखेपछि देउवाले ६ महिना भएपनि कुर्ची जोगाउने आशमा संसद बिघटन गरेर नयाँ चुनाव घोषणाका लागि राजालाई बिन्ती गरे । 
तर, दुभाग्र्य उनको यो कदमले फेरी एक पटक देशलाई निरंकुशतातिर धकेल्यो । संकटकालीन अवस्था घोषणा भयो, राजनीतिक अधिकारहरु कुण्ठित भए । २०५९ असोज १८ हुँदै २०६० माघ १९ मा राजा ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्री मण्डल गठन गरे । अघोषित रुपमा बहुदलीय व्यवस्थामाथी प्रतिवन्ध लगाईयो । नेताहरुलाई जेल हालियो, नजरबन्दमा राखियो । केही नेताहरु भुमिगत भए । फेरी नागरिक तथा राजनीतिक अधिकारको लडाई लड्नु पर्ने अवस्था सृजना भयो ।  निरंकुश शासन व्यवस्था रहेसम्म ट्रेड युनियन अधिकार सुरक्षित हुन सक्दैन भन्ने बिश्वासका साथ पेशाकर्मीहरु आन्दोलित भए, प्रजातन्त्र नभएसम्म पूर्ण प्रेस स्वतन्ता हुन सक्दैन भनेर सञ्चारकर्मीहरु आन्दोलनमा उत्रे, निरंकुश शासन व्यवस्थामा स्वतन्त्र न्यायपालिका हुन सक्दैन भन्दै कानुन व्यवसायीहरु आन्दोलनमा आए, हुँदा हुँदा देशै आन्दोलनमय भयो । यो आन्दोलनलाई भारतको नयाँ दिल्लीमा २०६२ मंसिर ७ गते तत्कालीन आन्दोलन–रत सात राजनीतिक दल र सशस्त्र बिद्रोहमा रहेको नेकपा माआवादीबिच भएको १२ बुँदे समझदारीले थप बलियो बनायो । 
अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र आफ्नो कदमबाट पछि हट्यो । ‘जनताको नासो जनतालाई फिर्ता’ भन्दै २०५९ सालमा बिघटन गरेको संसदको पुनस्थापना भएको घोषणा गरे । शान्ति प्रक्रियाका कामहरु सुरु भए । थुप्रै बिवादहरु समाधान गर्दै अन्तरीम संबिधान जारी भयो । अन्तरीम संबिधान अनुसार संबिधान सभाको निर्वाचन भयो । संबिधान सभामार्फत आफ्नो संबिधान बन्ने र देशमा स्थायी शान्ति हुने आशमा जनताले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाए । 
निर्वाचन भयो, तर दुभाग्र्य सरकार गठनका लागि आवश्यक बहुमत कुनै दलले पाउन सकेन । १० सशस्त्र बिद्रोहमा रहेको नेकपा माओवादीले संबिधान सभामा सवैभन्दा ठुलो दलको उपस्थिति जनायो । संबिधान सभा मार्फत नयाँ संबिधान जारी गर्ने लक्षका साथ गठन भएको संबिधान सभा आफ्नो लक्ष भन्दा बढी सरकार बनाउन र भत्काउनमा केन्द्रित भयो । जसरी २०५१ सालको संसदमा राप्रपाको ‘भिलेनगिरी’ त्यसैगरी २०६४ संबिधानसभामा सरकार गठन र बिघटनमा एमालेको ‘भिलेनगिरी’ देखियो । 
दुई बर्षको संबैधानिक अवधीका लागि गठन भएको संबिधान सभाले चार बर्ष बितायो । यो चार बर्षमा पाँच पटक सरकार गठन हुँदासम्म न त शान्ति प्रक्रिया टुङ्गोमा पुग्यो न संबिधाननै बन्यो । अवस्था यस्तो आईपुग्यो कि दलहरुले एक अर्काको सरकार पनि स्वीकार नगर्ने । कस्तो दुभाग्र्य बहुदलीय प्रजातन्त्रमा दलहरुले नै दलहरुको सरकार अस्वीकार गर्ने । या भन्दा भद्दा राजनीति अरु के हुन सक्छ र ? अन्ततः प्रधानन्यायाधिशको नेतृत्वमा मन्त्रीपरिषद् गठन गर्ने र सो मन्त्रीपरिषद्ले दोश्रो पटक संबिधान सभाको निर्वाचन गराउने सहमति भयो । 
२०७० को संबिधान सभामा पनि सरकार ढाल्ने र बनाउने खेलका बिच संबिधान जारी भयो । जे जस्तो भएपनि नयाँ संबिधान जारी भएको छ । नयाँ संबिधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयो । कुनै पनि दलले एकल बहुमत ल्याउन नसके पनि बाम गठबन्धनले सुबिधाजनक बहुमत ल्याएको छ । आफुलाई क्रान्तिकारी समाजबादी भन्नेहरुको नेतृत्वमा सरकार बनेपछि पक्कै पनि राजनीतिक स्थायीत्व र आर्थिक समृद्धि होला भन्ने आश थियो तर त्यो समृद्धि त अढाई बर्षको ‘आलो पालो’ मा पो खोज्नु पर्ने भएछ । फेरी पनि स्थायी     सरकार नहुने भएछ । 
००७ सालको राजनीतिक परिवर्तनपछि हालसम्म ५३ पटक सरकार बनेको रहेछ । ००७ साल देखि १७ सालसम्म १२ पटक सरकार गठन भए । ०१७ सालको शाही ‘कु’ देखि ०४६ सालसम्मको राजनीतिक परिवर्तनसम्म आई पुग्दा १६ पटक पञ्चायती सरकार फेरिएछन । ०४७ सालदेखि ०५९ साल असोज १८ को शाही ‘कु’ सम्म १० पटक सरकार फेरियो । ०५९ देखि यताको निरंकुश अवधीमा चार पटक सरकार फेरिए । ०६३ सालको राजनीतिक परिवर्तनपछि यो ११ बर्षको अवधीमा ११ पटक सरकार फेरियो । 
६÷६ महिनामा सरकार फेर्न अभ्यस्त भईसकेका दलहरुका लागि अवको अढाई बर्षसम्म कुर्नु पनि आकाशै खसे जस्तो होला तर जनताका लागि यो ‘आलो पालो’ शव्दले कुनै उत्साह दिने अवस्था देखिएन । त्यसकारण यो ६७ बर्षे राजनीतिक उथलपुथलको अवधीमा पाँच बर्ष एकमना सरकार चलाएर न कसैले ईतिहास कायम गर्न सके न अवको पाँच बर्षमा त्यो ईतिहास बन्न सक्ने अवस्था छ । कुर्चीमुखी, सत्तामुखी, लोभी–पापीहरुको जस्तो गठबन्धन भएपनि स्वार्थ भन्दा टाढा नरहेको संकेत हो यो । 

लोकसेवा तयारीका लागि उपयोगी 

१. नेपालमा धान दिवस कहिले मनाईन्छ ?  — असार १५
२. २०७२ बैशाख १२ गते कति रेक्टर स्केलको भुकम्प गएको थियो ?   – ७.६
३.UNO का वर्तमान महासचिव कुन देशका नागरिक हुन ?   – पोर्चुगल
४. साना किसान विकास वैंकको संचालक समितिमा कतिजना सदस्य रहने व्यवस्ता छ ? – ७ जना
५. नेपालको आर्थिक नीति कसले सार्वजनिक गर्दछ ?  — अर्थ मन्त्रालय
६. डोनाल्ड ट्रम्पले कतिमत प्राप्त गरे ?   – ३०४
७. नेपालको इतिहासको पहिलो पार्टी कुन हो ?   – नेपाल प्रजा परिषद्
८. कुन कार्य सफलताको कामना गरि रातो मच्छिन्द्रको पुजा गरिन्छ ?    – सहकाल र वर्षा
९. चिन र भारत दुवैसंग सिमाना जोडिने जिल्ला कुन कुन हुन ?  – ताप्लेजुङ र दार्चुला
१०. RADAR को पुरा रुप केहो ?  – Radio Detection And Ranging
११. नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?  – शे–फोक्शुण्डो (३५५५ वर्ग कि मी)
१२. १७ औं एसियाली खेलमा पदक जित्ने एकमात्र खेलाडी को हुन ?  – विमला तामाङ
१३. नेपालको पहिलो जलविध्धुत आयोजना कुन हो ?   – फर्पिङ (चन्द्रज्योती)
१४. ADV को प्रधान कार्यलय कुन देशको कुन सहरमा छ ?   – फिलिपिन्स को मनिला
१५. साना किसान विकास वैंक लि. रजिष्टारको कार्यालयमा कहिले दर्ता भएको हो ?
 – २०५८ असार २२
१६. नेपाल राष्ट्र वैंकको गभर्नरको कार्यकाल कति वर्षको हुन्छ ?   – ५ वर्ष
१७. थोक कर्जा दिने लघुवित्त वैंकले वि स २०७५ साल सम्म चुक्ता पूजि कति पु¥याउनुपर्ने व्यवस्ता  गरिएको छ ?      – ६,००,००,०००
१८. साना किसान विकास वैंक लि. को संस्थापक शेयरधनि कृषि विकास वैंकको स्थापना कहिले भयो ?
– वि.स. २०२४ माघ ७ गते
१९. आ व २०७३÷०७४ को मैद्रिक नीतिले कती प्रतिशत आर्थिक बृद्दिदर हासिल हुने गरी तरलता व्यवस्थापनको उदेश्य लिएको छ ?     – ६.५५
२०. नेपालमा हालसम्म कति प्रकारका कागजी नोट निष्कासन भइसकेका छन् ?   – ११
२१. स्वर्गमा स्थान सुरक्षित गर्नका लागी मर्नुभन्दा अगाडि गरिने दान पुजालाई के भनिन्छ ? 
— वैतरनी
२२. पोखरा विस्वबिद्यालयको स्थापना कहिले भएको हो ? — २०५४
२३. पुर्वमा झापा जिल्ला (मेची अञ्चल) को काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुर जिल्ला (महाकाली अञ्चल) को वनवासासम्म पुग्ने राजमार्गको लम्बाई कति छ ? — १०२७.६७ कि.मी. 
२४. वि.सं. २०१८ मसिँर ३ गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व–पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भए अनुरुप वि.सं. २०१९ बैशाख १ गतेका दिन            नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
२५. महेन्द्र राजमार्ग पनि भनिने यो राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने पहाडका जिल्ला मकवानपुर र अर्घाखाँची हुन् । यो राजमार्गले ३१ जिल्ला छुन्छ ।
२६. महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरी (७१ मिटर) मा पर्छ भने सबैभन्दा अग्लो भाग बाँकेको पुस्मा (९५० मिटर) मा पर्छ ।
२७. महेन्द्र राजमार्गले सबैभन्दा कम छुने जिल्ला अर्घाखाँची र सबैभन्दा बढि छुने जिल्ला नवलपरासी हो ।
२८. महेन्द्र राजमार्गको निर्माणमा सहयोग गर्ने विभिन्न राष्ट्र तथा संस्थाहरुको विवरण निम्न बमोजिम छ ः
क. मेची – ढल्केबर खण्डः भारत
ख. ढल्केबर – पथलैया खण्डः रुस
ग. हेटौँडा – नारायणगढ खण्डः एसियाली बिकास बैँक
घ. नारायणगढ – बुटबल खण्डः बेलायत
ङ. बुटवल – कोहलपुर – बनवासा खण्डः भारत
२९. नेपालमा ‘नीजि वनजंगल राष्ट्रियकरण ऐन’ कहिले ल्याइएको हो ? – विस २०१३
३०. नेपालको संविधान २०१९ को मस्यौदा आयोगमा कति सदस्य रहेका थिए ?  – ६ जना
३१. भारतका राष्ट्रपिता भनेर कसलाइ चिनिन्छ ?   – माहात्मा गान्धी
३२. कुन खातामा रकम जम्मा गर्दा ब्याज पाइदैन ?  – चल्ती खाता
३३. नेपालमा धितोपत्र कारोबार कहिले देखि सुरु भएको हो ?  – वि स २०५०
३४. जापानी भाषामा अनुबाद भएको पहिलो नेपाली कृति कुन हो ?  – सेतो बाघ
३५. “उ मरि अरे” नामक कृतिका रचनाकार सुवास सिङ हुन भने “उ मरेकी छैन” नामक कृतिका     रचनाकार को हुन ?   – बालकृष्ण सम
३६. नेपालको पहिको आधुनिक बैंक कुन हो ?   – नेपाल बैंक लिमिटेड
३७. नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत शब्दकोष कहिले प्रकाशित भएको हो ? – वि स २०४०
३८. साहित्यमा कति रस हुन्छन् ?   – ९
३९. हाल नेपालका कति जिल्ला सदरमुकाममा सडक यातायात पुगेको छ ?– ७३ जिल्ला
४०. ५०० किलोवाटको नेपालको पहिलो जलविद्युत परियोजना फर्पिङको जलविद्युत केन्द्र कुन जिल्लामा पर्दछ ?   – ललितपुर

साहित्य÷सृजना 

सपना 


मेरा आखामा पनि
केही सपनाहरु छन
मेरा सपनाहरुले 
कल्पनाको महासागरमा
डुबुल्की मार्दैनन
मेरा सपनाहरुले त
यथार्थलाई साकार भएको
हेर्न चाहान्छन
त्यसैले,
म यस्ता सपनाहरु देख्छु
मान्छेले,
हावामा उडेको होइन
जमिनमै
स्वफुर्त आफ्नै खुट्टामा
बिना बैशाखीको साहाराले
हिड्न सकोस ।
मान्छेले,
आकासका जुन तारा टिपेर ल्याउने होइन 
खेतीयोग्य उर्वर भुमिमा
बालिनाली प्रसस्त उब्जाएर 
आफू लगायत, भोकाहरुको पनि 
पेट भर्न सकोस ।
मान्छेले,
किताबका पानाहरुमा
कोरिएका अक्षरहरुलाइ रटेर
ठुला ठुला डिग्री हासिल गरेर
सर्टिफिकेटको दोकान तयार पार्न होइन 
ती अक्षरहरुलाइ पढेर, बुझेर
ज्ञान् हासिल गरि
अन्धकार मेटाइ
शिक्षाको ज्योति फैलाउन 
सफल बनोस ।
मान्छेले,
तराइमा बसेर
हिमालको जाडोको
अनुमान लाउन
हिमालको उचाई नाप्न होइन
हिमालमै चढेर
हिमालकै जाडो खेपेर
हिमालको चुचुरो चुम्न सकोस।
मान्छेले,
स्वर्णिम महलामा बसेर
बिलासिताको जीवन बिताएको होइन
कसैले पनि
हिउँदको कठ्याङ्ग्रिने जाडोमा 
बस्ने बाँस नपाइ
थरथर काप्दै
भोकै नाङ्गै
भौतारिन नपरोस
सवैको बाँस गर्ने
एउटा सानो झुपडी होस
जसमा बिना डर त्रास
स्वतन्त्र भएर
आनन्दका साथ बास्न पाउन ।
पुस्पा जोशी  ‘काली’ 
धनगढी ,कैलाली

सूचना/सन्देश/बिज्ञापन

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/०९/०७ 
उपरोक्त सम्बन्धमा आदर्श गाउँपालिका–४, रोडिङ डोटीमा रहेको यस श्री जनता आधारभुत बिद्यालयमा रिक्त रहेको तपशिल अनुसारको शिक्षक पद खुल्ला प्रतियोगिता द्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७४÷०७५, 
पद संख्या ः १    
तह ः प्रा. बि. तृतीय,  
किसिम ः करार,    
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रबिणता प्रमाण पत्र तह वा सो  सरह उत्तीर्ण, 
उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 
पेश गर्नुपर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
स्थायी अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
तालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷०९÷२१ गते 
सम्पर्क मितिः २०७४÷०९÷२२ गते 
परीक्षा दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
परीक्षा मिति ः सम्पर्क मितिका दिन जानकारी गराईने छ ।
नोट ः स्थानीय, महिला, दलित, जनजाति तथा अपाङ्गता  भएकालाई प्राथमिकता दिईनेछ । म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुने छैन ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/०९/०७ 
उपरोक्त सम्बन्धमा आदर्श गाउँपालिका–५, लामिखाल डोटीमा रहेको यस श्री मष्टमाण्डौं माध्यामिक बिद्यालयमा रिक्त रहेको तपशिल अनुसारको शिक्षक पद खुल्ला प्रतियोगिता द्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७४÷०७५, 
पद संख्या ः १    
तह ः प्रा. बि. तृतीय,  
किसिम ः महिला करार,    
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रबिणता प्रमाण पत्र तह वा सो  सरह उत्तीर्ण, 
उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 
पेश गर्नुपर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
स्थायी अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
तालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷०९÷२१ गते 
सम्पर्क मितिः २०७४÷०९÷२२ गते 
परीक्षा दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
परीक्षा मिति ः सम्पर्क मितिका दिन जानकारी गराईने छ ।
नोट ः स्थानीय, दलित, जनजाति तथा अपाङ्गता भएका महिलालाई प्राथमिकता दिईनेछ । म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुने छैन ।

जिल्ला स्वास्थ्य कार्यालय, डोटी 
खिरसैन स्वास्थ्य चौकी, पूर्वीचौकी–१
सूचना !   सूचना !!   सूचना !!!

उपरोक्त सम्वन्धमा यस खिरसैन स्वास्थ्य चौकी डोटीलाई पूर्वीचौकी गाउँपालिका वडा नं. १, फुलौट डोटीमा कम्तीमा चार रोपनी जमिन (घरेडी) चाहिएकाले बेच्न ईच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खिरसैन स्वास्थ्य चौकीको कार्यालय डोटीमा वा तपशिलका व्यक्तिहरुलाई सम्पर्क राख्न यो सूचना प्रकाशित गरिएको जानकारी गराईन्छ । 
तपशिल 

नोट 
— स्वास्थ्य संस्थाको वरिपरीको जमिनलाई प्रमुख प्राथमिकता दिईनेछ । 
— सम्पर्क गर्ने अन्तिम मिति २०७४÷१०÷०८ गतेसम्म

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४÷०८÷१८
जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ३ साविक दिपायल नगर पञ्चायत कोटभैरव ८ स्थित कि नं. १३९, २८९ को जग्गा दिपायल सिलगढी नगरपालिका वडा नं. ३ बस्ने श्यामको नाती फकरेको छोरा बलविर दमाई, जोगी दमाईको नाउँमा र ऐ. कोटभैरव ४ को कि.नं. १५८ को जग्गा दिपायल सिलगढी नगरपालिका वडा नं. ३ बस्ने श्याम दमैको नाती फगिरेको छोरा बलविर दमाईको नाउँमा नापनक्सा भई श्रेष्तापुर्जा कायम भएकोमा जग्गाधनी बलविर दमाईको मिति २०४८÷०५÷१० मा, निजको पत्नी देवा दमाईको मिति २०४९÷०२÷०५ मा मृत्यु भएको । मृतकको शेषपछिको हकदार दुई जना छोराहरु मनि दमाई र लोकबहादुर दमाई भएकोमा लोकबहादुर दमाईको मिति ः २०५९÷०८÷२० मा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार म एक मात्र पत्नी सन्तला दमाई मात्र भएकी । मनि दमाईको मिति २०५०÷१२÷२३ मा र निजको पत्नी धौली दमाईको मिति २०६४÷८÷१५ मा मृत्यु भएको । निज मनि दमाई र धौली दमाईबाट सन्तान छोराछोरी कोही केही नभई अपुतालि परेकोले शेषपछिको हकदार म एक मात्र भाई बुहारी भएकी । यसैगरी जग्गाधनी जोगी दमाईको मिति २०४७÷१२÷१० मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले मृतकको शेषपछिको हकदार म एकमात्र बुहारी सन्तला दमाई भएकीले मृतक ज.ध. बलविर दमाई, जोगी दमाईको नाउँमा दिपायल नगर पञ्चायत कोटभैरव ८ स्थित कि.नं. १३९, २८९ को जग्गा र बलविर दमाईको नाउँको ऐ. कोटभैरव ४ कि.नं. १५८ को जग्गा मेरा नाउँमा एकलौटी नामसारी गरि पाउँ भनी सन्तला दमाईले दिपायल सिलगढी नगरपालिका–३ नं. वडा कार्यालय डोटीको च.नं. ११०, मिति २०७४÷०८÷०७ को किटानी सिफारिस पत्र, मृतकको नाउँको जग्गाधनी प्रमाण पुर्जा, नेपाली ना.प्र.प., चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी यस मालपोत कार्यालय, डोटीमा मिति २०७४÷०८÷१४ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, जोगी दमाईको अपुताली  नपरेको भए, मनि दमाईको सन्तान  छोराछोरी कोही केही नभएको भए वा अन्य हकदार भए वा निज निवेदकको मागदावी बमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफुसंग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।

सुशासनको अवधारणा
भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमी जस्ता विशेषता भएको खराब शासन प्रणालीले गर्दा विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना भएकोले सन् १९९० को दशक देखिनै दिगो विकास र गरिवी न्युनिकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणा अगाडि सारेको पाइन्छ । यो अवधारणा पश्चिमी देश तथा वैदेशिक सहायता प्रदान गर्ने संस्थाहरुद्वारा विकासशील देशहरुको शासन व्यवस्थामा सुधार ल्याइ विकास निमार्णको प्रक्रियामा गतिशिलता प्रदान गर्ने प्रयोजनको लागि विकास गरिएको हो । 
सन् १९९५ को “सामाजिक विकास सम्वन्धी विश्व सम्मेलन” ले “समाजका सबै क्षेत्रमा प्रजातान्त्रिक, पारदर्शी, उत्तरदायीपूर्ण शासन प्रणाली सामाजिक र मानव केन्द्रित दिगो विकासका अभिन्न आधारशिलाहरु हुन्” भनेर उदघोष गरेपछि सुशासन तर्फ सारा विश्वकै ध्यानाकर्षण भएको हो । यसको मुख्य उद्देश्य जनतालाई उपलव्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता र प्रभावकारीता बढाउनु हो । नागरिकहरुको क्षमता तथा सवलताका मार्गहरु प्रशस्त गर्ने तर्फ शासकीय अधिकारको प्रयोग गर्नुपर्ने कुराहरुमा सुशासनले जोड दिन्छ ।
जनसहभागिता पूर्वानुमानीयता, जवाफदेहिता र पारदर्शीता सुशासनका चार आधार स्तम्भ हुन् । यसको प्रमुख पूर्वाधारका रुपमा जनसहभागितालाई लिइन्छ । वास्तवमा सुशासन जनताको लागि नै भएको हुँदा शासन व्यवस्थामा जनताको व्यापक सहभागिता हुनपर्दछ जसबाट जनआकांक्षा अनुरुप सरकारी क्रियाकलाप अघि बढ्न सकुन् र प्रत्येक नागरिक एवम् सर्वसाधारण जनता सवैले आफ्नो योग्यता र प्रतिभा अनुरुप राष्ट्र निमार्णमा सहभागी भई योगदान दिन सकोस भन्ने यसको मुल मान्यता हो । यसबाट शासन व्यवस्थामा जनताको अपनत्व कायम हुन्छ ।
सुशासन लोकतान्त्रिक सरकारको एउटा आधार स्तम्भ हो । यसले सार्वजनिक पदमा बस्ने व्यक्तिलाई आफ्नो कामप्रति जवाफदेही बनाउछ । त्यसैगरी पारदर्शीता र पूर्वानुमानीयतालाई पनि सुशासन कायम गर्ने आधारभूत पक्ष मानिन्छ । पारदर्शीता र जबाफदेहीताले सरकारमा हुने खुल्लापन र मूल्यको त्यस्तो प्रणालीलाई बुझाउँछ जसले सरोकारवालाहरुको बीच सूचना र दायित्वका बाँडफाँडलाई प्रवद्र्धन गर्दछ ।
सुशासनका चुनौतीहरु
कुनै पनि राज्यकालागि सुशासनलाई प्रभावकारी ढंगमा जनतासामु प्रत्याभूत दिलाउन कठिन पर्ने गर्छ किनकी सुशासन कायम गर्नु आफैमा एउटा चुनौतीको विषय हो । राज्यका सबै अंगबीच सन्तुलन कायम गर्न जति कठिन पर्छ लोकतान्त्रिक संस्कारको विकास गर्न पनि सुशासनका लागि उत्तिकै चुनौतीको विषय हो । निजी क्षेत्र गैर सरकारी संस्थादेखि लिएर नागरिक समाजसँग साझेदारी कायम गर्नु सुशासनका लागि एउटा चुनौतीको विषय हो भने प्रशासनिक क्षेत्रको सुधार गर्नु यसका लागि अर्को चुनौतीको विषय छ ।
त्यसैगरी विकासका लागि अनूकुल वातावरणको सृजना गर्नु, मानव अधिकारको संरक्षण गर्नु, द्वन्द्व समाधान गर्नु, शान्ति स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु पनि सुशासनका लागि अन्य चुनौतीका विषयहरु हुन् ।
सुशासन नभए के हुन्छ ?
सुशासन नभएमा कुनै पनि मुलुकको सकारात्मक परिवर्तन गर्न प्राय असम्भव नै हुन्छ किनकी सुशासन नभएमा मुलुकमा सामाजिक द्वन्द्व र अराजकता बढ्न   सक्छ । त्यसैगरि सुशासन नहुदा सामाजिक तथा आर्थिक न्यायको उपहास हुन्छ । असन्तुलित विकासले प्रशय पाउछ भने विकासमा साझेदारीको समस्या देखापर्दछ । कानुनको उल्लंघन भई सत्ताको लुछाचुडि हुन सक्छ । त्यसैले राज्यको सर्वाङ्गीण विकासका लागि आजको युगमा सुशासनको निकै महत्व भएको पाइन्छ ।

No comments:

Post a Comment