Wednesday, January 17, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४, माघ २ गते मंगलबार

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भनि पिडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चारमाध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आफ्नो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

‘बालश्रममुक्त कागजमा मात्रै हो मेयरसाप ?’

दिपायल सिलगढी नगरपालिका भित्र बालश्रमिकहरुको संख्या धेरै भएका कारण ठोस योजनाका साथ बालश्रम मुक्त नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
शुक्रबार दिपायल सिलगढी नगरपालिकाबाट आ.ब. ०७४/०७५ को प्रथम चौमासिक अबधिमा गरिएको सेवा प्रबाह सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन । 
जिल्लामा सधैंभरी बालबालिकाको कुरा मात्र उठाउने तर वास्ता कसैले पनि नगर्ने गरेको दिपायल सिलगढी नगरपालिका ४ का योगेन्द्र बहादुर कठायतले बताए । कठायतले भने, ‘भर्खरै चिया ल्याउने श्रमिक बालक हो । अनि बालश्रम मुक्त घोषणा गरेको कागजमा मात्र सीमित हो मेयरसाप ?’ श्रमिक बालकहरुबाट नै अरुले अप्रत्यक्ष रुपमा सेवा  लिइरहेको उनले बताए ।
नगरपालिका भित्रै घर तथा होटलहरुमा श्रमिक बालबालिकाहरु दिनानु दिन बढ्दै गएका छन । कानुनले तोके भन्दा कम उमेरका बालबालिका दिपायल सिलगढी नगरपालिका भित्रै स्थानीय बजार तथा ७ नं प्रदेशको मुख्य ब्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा अधिकाशं होटल तथा पसलहरुमा श्रमिक भएर काम गरिरहेका  छन ।
दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख शिबराज खड्काले भने ‘हामी जनप्रतिनिधि भएर आइसकेपछि हामीले नगरभित्र अनुगमन ग¥यौं, बालश्रमिक राख्ने परिवारलाई सचेत गराएका छौं र केही बालबालिकाहरुलाई फिर्ता पनि पठाएका छौं ।’
अनुगमनका क्रममा जाने बुझेकाहरुले नै बालबालिकालाई श्रममा लगाउँदै आएका पाईएको बताउँदै खड्का भन्छन् ‘उनीहरुलाई सचेत गराउन हामीले पहल गरिरहेका छौं ।’
‘कसैले पनि बालबालिका लाई ललाई, फकाई, झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाउनु हुँदैन भन्ने बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ परिच्छेद (२) को दुई नं बुँदामा छ । 
तर, दिपायल सिलगढी नगरपालिकामा भने बालबालिकालाई फकाउनु भन्दा पनि अभिभाबकलाई फकाएर बालबालिकालाई श्रममा लगाइएको ब्याप्त भेटिन्छ । १४ बर्षदेखि १६ बर्षसम्मको बालबालिकालाई कसैको घरमा काम गर्नको लागि श्रम कार्यालयले अनुमती दिएको हुनुपर्ने कानुनी प्राब्धान छ । 
१४ बर्ष भन्दा कम उमेरको बालबालिकालाई कुनै पनि कानुनी प्राब्धान छैन श्रममा लगाउनलाई तर जिल्ला   सदरमुकाम सिलगढी र दिपायल बजारमा भने सबै जसो बालबालिका १४ बर्षभन्दा कम उमेरका नै छन । दिपायलका केही होटेलहरुमा भने जनकपुरबाट ल्याएका बालबालिकाहरु होटलको काममा बर्षौदेखिका श्रममा लगाउदै आएका छन । 
चौमासिक अबधीमा गरिएको सेवा प्रबाहको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीका जिज्ञासामा नगरपालिकाका प्रमुख र उपप्रमुखले जवाफ दिएका थिए । नगरबस सञ्चालन, बिद्यालय गाब्ने प्रक्रिया, सरसफाई, सार्वजनिक शौचालय, ब्यवस्थित बसपार्क, स्वच्छ खानेपानीको ब्यवस्था किन हुन सकेन ? भन्ने सहभागीका प्रश्नहरुमा नगरपालिकाका मेयर मञ्जु मलासीले सवै कामका लागि योजना निर्माण भई प्रक्रियामा रहेको बताईन । 
यस बर्षको कुल बजेट ४२ करोड पाँच लाख ६६ हजार दुई सय ५४ रुपैयाँ मध्ये बिभिन्न शीर्षक गरी एक करोड २८ हजार पाँच सय ९२ रुपैयाँ चालु खर्च र ९१ लाख ४९ हजार छ सय १० पुँजीगत गरी एक करोड ९१ लख ७८ हजार दुई सय दुई रकम खर्च भएको देखाएको छ । यसरी बिकास निर्माणका काममा खर्च कम गर्दा अन्तिममा छोटो समयमा नै रकम फ्रिज जाने चिन्ताले रछोटो समयमा बाडफाँड बढी गर्ने गरिन्छ । 
प्रथम चौमासिकसम्म कै जसरी कछुवा गतिमा काम गर्दा अन्तिममा करिब ६० प्रतिशत भन्दा बढी रकम फ्रिज जाने निश्चित छ । त्यसैले बिकास निर्माणका काममा अन्तिममा हतार गरी हप्ता दिनमै करोडौंको बजेट बाँडफाडँ गर्नु भन्दा आजैबाट सोच्नु जरुरी हुन्छ ।

सम्पादकीय

स्थानीय सरकार चलाउन सकस

स्थानीय तह निर्वाचन भएको छ महिना बितिसक्यो । स्थानीय स्तरमा निर्वाचित भएका जनप्रतिनिधिहरु के गर्ने, कसो गर्ने भन्दै अलमलमा छन । स्थानीय तह सञ्चालन गर्नको लागि सरकारलाई पनि निकै अन्योल यथावत् छ । जनताले जनप्रतिनिधिहरु आएपछि बिकास निर्माणका कामहरु चाँडै नै सुरु हुने आशा गरेका थिए तर त्यो सबै तुसारापात भएको छ ।
संघियतामा जानुपूर्व ‘गाउँगाउँमा सिंहदरबार’ को नारासहित स्थानीय तह पुनर्गठन गरिएको हो । नागरिकहरुले नजिकैको स्थानीय सरकारबाट प्रत्यक्ष कामहरु प्रभाबकारी ढंगले काम गरेको हेर्ने दिनहरु आउन पनि फेरी बर्षौं कुर्नुपर्ने अवस्था आएको छ । स्थानीय तहमा पनि एकथरी स्रोत साधन भएकाले आफ्ना पदाधिकारीका निम्ति तलबभत्ता तोकिसकेका छन् । अर्काथरी स्रोत साधन नहुनेको अवस्था बेग्लै छ । 
स्थानीय तहका जनप्रतिनिधिहरु आफूले सेवासुविधा पाउनुपर्ने माग गर्दै स्थानीय विकास मन्त्रालयमा धाउन थालिसकेका छन् । स्वाभाविक पनि हो, स्थानीय तहमा निर्वाचित पदाधिकारी बनेपछि आफ्नो दैनिक आवश्यकताका निम्ति पनि सुविधा अपेक्षित बन्न जान्छ । उनीहरूको पनि दैनिक व्यवहार चलाउनुपर्ने हुन्छ । हो, कुनै बेला स्थानीय निकायमा काम गर्नु भनेको शुद्ध समाजसेवा जस्तो थियो । तिनले बैठकभत्ताकै भरमा काम गर्ने गरेका थिए । तर, राज्य पुनर्संरचनाका नाममा सबैजसो निर्वाचित प्रतिनिधिले सरकार सञ्चालकका रुपमा तलबभत्ता पाउने व्यवस्था गरेपछि त्यसको अपेक्षा गर्नु अस्वाभाविक होइन ।
अहिलेको पद्धतिले जनप्रतिनिधिहरुको सेवा सुबिधादेखि उसको सम्पूर्ण जिम्मेवारी लिनु पथ्र्यो । तर, तिनले राम्ररी काम गर्न सकेनन् र अहिलेकै परिस्थितिलाई निरन्तरता दिने हो भने यो पद्धति बस्न नपाउँदै बदनाम हुन सक्छ । मुलुकले तीन तहका सरकारको परिकल्पना गरेको छ । त्यसमा पनि स्थानीय तहलाई बढीभन्दा बढी अधिकार सम्पन्न तुल्याइएको छ । यस अर्थमा स्थानीय तहका प्रमुख–उपप्रमुख र वडाध्यक्षले नियमित पारिश्रमिक लिन पाउनेछन् । 
जसरी केन्द्रमा मन्त्रीहरूका निम्ति पारिश्रमिकको व्यवस्था गरिएको छ, त्यसैगरी स्थानीय सरकारलाई समेत यो सुविधा उपलब्ध छ । मुलुकको बजेटको आयतन भन्दा ठूलो खर्चको प्रबन्ध गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर निर्वाचित प्रतिनिधिले आफू जिम्मेवारीमा आएदेखिकै सेवा सुविधा पाउनुपर्ने मानवीय आवश्यकताले पनि पिरोलिरहेको छ ।
स्थानीय निर्वाचनअघि नै जनप्रतिनिधिका लागि आवश्यक प्रबन्ध सरकारले गर्नुपर्ने थियो । अहिले यसको कार्यान्वयनमा समस्या देखिएको भए बाधाअड्काउ फुकाउने प्रावधानबाट समेत काम गर्न नसकिने थिएन । कुनै पनि कामका निम्ति इच्छाशक्ति सबैभन्दा महत्वपूर्ण हुन्छ । हाम्रो सरकार सञ्चालन भने भद्रगोल जस्तो बन्न पुगेको छ । सेवासुविधाको विषयमा मात्र होइन, स्थानीय तहका  पदाधिकारीको जिम्मेवारीका विषयमा पनि स्पष्ट पार्ने काम भएको छैन । सबैजसो उपप्रमुखलाई स्थानीय तहमा आउने विवादमा न्याय निरुपणको जिम्मेवारी समेत दिइएको छ । तर उपप्रमुखहरुले पुरै अधिकार थामेर काम गर्न पाइरहेका छैनन् । यसरी जनप्रतिनिधिलाई अन्योलमा नपारी ब्यवस्थित गर्न सरकारको ध्यान जाओस ।

थप समाचार

दिपायल राजधानीका लागि २१ दिनदेखि आन्दोलन जारी

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दे २१ औ दिनदेखि डोटीमा आन्दोलन जारी रहेको छ ।
१३ दिनदेखीको आम हड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले गत बुधबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरी धर्ना र रिले अनसनको आजपनि जारी राखेको छ ।
बुधबारदेखि उद्योग बाणिज्य संघ, होटल ब्यवसायी संघ, गैसस, शिक्षक संघ लगायतले पालैपालो धर्ना तथा रिले अनसन बसी दबाब दिइरहेको उद्योग बाणिज्य संघ तथा संघर्ष समितिका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए ।
सुदूर पश्चिम क्षेत्रीय प्रशासन कार्यालयको गेट अगाडी धर्ना दिईरहेका छन् । सातादिनम्म धर्ना तथा रिले अनसन बस्ने साताको भोलीपल्ट बिशाल जनप्रदर्शनको कार्यक्रम गरिने संघर्ष समितिका संयोजक खड्काले बताए ।
सरकारले दिपायलको बिपक्षमा निर्णय गरे सरकारको बिरुद्धमा कडा आन्दोलनमा उत्रने उनले बताए । 
सायल गाउँपालिका–५,पटकानीका ३५ वर्षीय तेज डुम्रेल  सायल गाउँपालिकाकै डबल साउँद र केआइसिंह गाउँ पालिका–४, चन्केसैनका ५० वर्षीय खगेन्द्र प्रसाद भट्टले रिले अनशन जारी राखेका छन । 
यसैबिचमा सरकारको ध्यानाकर्षणको लागि तेज डुम्रेलको नेतृत्वमा क्षेत्रीय प्रशासन मार्फत ध्यानाकर्षण पत्र पनि पठाएका छन ।

सुदूरपश्चिममा ‘धुमधाम’का साथ माघेपर्व मनाइयो

हिन्दु धर्मालम्बीहरुले मकर संक्रान्ति (माघे संक्रान्ति) पर्व धुमधामका साथ मनाईरहेका छन् ।
हिन्दु धर्मालम्बीहरुले माघेसंक्रान्ती मनाइरहँदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ ।
सुदूरपश्चिममा यो पर्व आफ्नै मौलिकताका साथ मनाईन्छ । बिशेषगरी पहाडी समुदायले यो पर्वलाई ‘माघी’ तिहारका नामले मनाउने  गर्दछन् । 
‘त्यार’ डोटेली भाषाको शब्द हो । जसको अर्थ चाडपर्व भन्ने हुन्छ । माघे संक्रान्तीमा मनाईने भएकाले यसलाई यहाँको समुदायमा ‘माघेत्यार’को नामले सदियौं प्रचलित नाम हो ।
पौषको अन्तिम रात पनि  बिशेष महत्वका साथ मनाइन्छ । जसलाई माघ महिनाको स्वागतको रातको रुपमा बुझिन्छ । यसका लागि पौष महिनाभरी नै तयारी गरिएको हुन्छ ।
समुदाय नजिक पर्ने पबित्र नदी, कुण्ड, तलाउ, कुवा वा  पधेंरामा ठुल्ठुला काठका मुडाहरु जम्मा गरिएका हुन्छन् । जसलाई ठुलो चाङ लगाएर राखिन्छ ।  पुष अन्तिम रात त्यही नजिकै समुदाय भरिकै मानिसहरु जम्मा भएर ‘जाग्राम’ बस्छन् ।
जहाँ माघेत्यारका लागि पाकेका पकवानहरु बिशेषगरी तरुल, कन्दमूल, तिल, घ्यू, चाकुबाट बनेका परिकारहरु खादै दन्त्यकथा, लोककथा, गाउँखाने कथा सुनाएर रात बिताईने प्रचलन पनि कतिपय ठाउँमा छ । यसबाहेक भजन किर्तन, लोक देउडा लगायतका खेलहरु खेलिन्छ ।
भोलीपल्ट बिहान सबेरै त्यही छेउमा रहेको मुडाको चाङमा आगो लगाएर स्नानकर्म गर्दै आगो तापेर जीउ सेक्ने प्रचलन रहिआएको छ ।
माघको पहिलो दिन शिवालय तथा देवालयहरुमा दर्शन गर्ने तथा मेला लाग्ने पनि गर्दछन् । पछिल्ला केही बर्ष यता पबित्र धाम, नदी तथा कुण्डहरुमा ‘महास्नान’ मेलाहरु समेत आयोजना हुन थालेका  छन् ।
माघे संक्रान्तीमा पबित्र स्थानमा गएर स्नान गर्नाले पुण्यप्राप्ति हुने मान्यता छ । ‘धर्मग्रन्थहरुमा माघ महिनालाई धर्मिक महिना मानिएको छ,’ पण्डित केशबराज ओझा भन्छन, ‘यसैले माघ महिनामा पवित्र तीर्थस्थलमा गएर स्नान गर्दा पुण्यप्राप्ति हुने मान्यता छ । यसमा पनि माघे संक्रान्ति, माघ शुक्लपक्ष द्वादशी र माघ शुक्ल पक्षको पुर्णिमा झन बिशेष मानिन्छ ।’
माघ १ गतेकै दिनबाट सुर्य उत्तरायण लाग्ने पनि मान्यता छ । माघे संक्रान्तिको दिनबाट चिसो घट्दै जाने र गर्मीयाम शुरु हुने बिश्वासले यो पव मान्ने गरेको पनि कतिपयको धरणा छ ।
स्कन्द पुराणको मानस खण्डमा भगवान रामका पूर्बज राजा दिलिप र स्वयं राम, लक्ष्मण, गुरु बशिष्ट, लगायतका देवर्षि, महर्षि, राजर्षि सहित सो क्षेत्रमा स्नान गरेर पुजा अर्चना गरेको जानकारहरु बताउछन् । भगवान श्रीरामकै पूर्बज राजा दिलिपको नामबाट नै दिपायलको नामाकरण भएको पनि किंबदन्ती छ ।


अपाङ्ग बालबालिकालाई जाकेट बितरण

डोटीको बिभिन्न बिद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई जाकेट बितरण गरिएको छ । 
महिला तथा बालबालिका कार्यालय डोटी र अपाङ्ग सेवा संघ डोटीले अपाङ्गता भएका १७ बालबालिकाहरुलाई जाकेट  बितरण गरेको छ । साजेन्द्रेश्वर माबि फुलौटमा सञ्चालित बिशेष कक्षामा अध्ययनरत तीन छात्रा र पाँच छात्र गरि आठ जना दृष्टिबिहिन बिद्यार्थीहरुलाई जाकेट बितरण गरिएको छ । यस्तै पद्म पव्लिक माध्यामिक बिद्यालयमा अध्ययनरत दुई छात्रा र पाँच छात्रा गरि सात जना सुस्त मनस्थितिलाई जाकेट दिईएको महिला तथा बालकालिका कार्यालयका निमित्त प्रमुख सविना श्रेष्ठले जानकारी दिईन् । श्रेष्ठका अनुसार शारदा माबि मौवा अध्ययनरत एक छात्र र एक छात्रा गरि दुई जना सुस्त श्रवणलाई जाकेट बितरण गर्ने क्रममा रहेको छ । 
‘गत ३ डिसिम्वरमा अन्तराष्टिूय अपाङ्गता दिवसको अवसरमा जिल्लास्तरीय कार्यक्रम गर्नका लागि बजेट छुट्याईएको थियो तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण त्यसबेला उक्त कार्यक्रम गर्न सकिएन’ निमित्त प्रमुख श्रेष्ठले भनिन् ‘उक्त रकमबाट हामीले बालबालिकाहरुलाई जाकेट  बितरण ग¥यौं ।’ अन्तराष्टिय अपाङ्गता दिवस बनाउनका लागि महिला तथा बालबालिका कार्यालयले १० हजार र अपाङ्ग सेवा संघले पाँच हजार छुट्याएको श्रेष्ठले जानकारी दिईन ।

बर्षदिन पुग्दा पनि सञ्चालन भएन हाटबजार

एक पटक हाटबजारका लागि गरिएको अभ्यास असफल भएको झण्डै एक दशकपछि फेरी डोटीका दुई ठाउँमा हाटबजारको सुरुवात गरिएको थियो ।
तामझाम सहित गत बर्ष पुष २३ गते डोटी जिल्ला सदरमुकामको टुँडिखेलमा हाट बजारको सुरुवात गरियो । सरकारी तथा गैरसरकारी कार्यालयहरुले हाट बजारको ठुलै प्रसंसा गरे । जिल्लामा भएका सबै बिद्युतीय सञ्चारमाध्यमहरु र पहुँचमा भएका छापा सञ्चारमाध्यमहरुमा पनि नियमित रुपमा बिज्ञापन प्रकाशन भए । सरकारी कार्यालयहरु, गैरसरकारी संस्थाहरुले फोटो खिचे, भिडियो क्लिप पनि तयार गरे । हाटबजार भनेपनि बजार त खासै थिएन तर चहल पहल भने त्यो दिन धेरै नै थियो । लाग्दैथ्यो सायद अब बर्षौंसम्म नियमित रुपमा चल्छ । तर हाटबजार भयो फरक । 
साप्ताहिक रुपमा लाग्ने भनिएको हाटबजार दोश्रो साता स्थानीय टुँडीखेलमा एक पसल मात्रै देखियो । सायद माघ १ गते अर्थात स्थानीय चाँडपर्व भएका कारण किसानहरुले आफ्नो उत्पादन ल्याएनन् अव अर्को साता आउँछन होला भन्ने अनुमान गरिएको थियो तर त्यसो भएन । अर्को साता अर्थात गत शनिवार पनि यस्तै दृष्य देखियो हाटबजारको । हाटबजार हेर्न केही सरकारी तथा गैरसरकारी कार्यालयहरुका प्रतिनिधिहरु आएका थिए । उनीहरुले फेरी एउटै पसल देखेर चित्त बुझाए । थप आएको थियो त बेसार बिक्री गर्ने महिलाहरुको एक समूह । 
शनिवार जिल्ला सदरमुकाम सिलगढीको टुँडीखेलमा र बुधबार क्षेत्रीय सदरमुकाम राजपुरको खेल मैदानमा हाटबजार सञ्चालन हुने गरी उद्घाटन गरिएको थियो हाटबजार । क्षेत्रीय प्रशासन कार्यालय दिपायलको पहल र जिल्ला कृषि बिकास कार्यालय डोटीको अगुवाई बिभिन्न सरकारी, गैर सरकारी र नीजि क्षेत्रको समेत सक्रिय सहभागितामा हाटबजारको सुरुवात गरिएको भन्ने कार्यक्रमका ब्यानरमा देखिएको थियो । मन्तब्यमा पनि सबै अगुवाहरुले अब नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘जिल्लामा उत्पादित कृषि सामाग्रीहरु कृषकका लागि बेचबिखन गर्न टेवा पु¥याउने उद्देश्यले जिल्ला कृषि हाटबजार सुरु गरिएको हो ।’ जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले भने, ‘अब कृषकहरुले आफ्ना उत्पादित बस्तुहरु पसल पसलमा बेच्न धाउनुपर्ने छैन । सहजै हाटबजारमा बिक्री गर्न पाउने धारणा राखेको थिए । उनकै कुरामा सबैले समर्थन जनाएका थिए ।’
त्यो धेरै दिन टिकेन । दोश्रो हप्तामा बन्द भयो । बिम्ब साप्ताहिकसंग कुरा गर्दै डा. शाहले भने, ‘हामीले त्यो बेलामा उत्पादित बस्तु देखेर सबैले प्रतिबद्धता जनाएका थियौं । ब्यापारीहरुसंग पनि हाटबजारबाटै उत्पादित बस्तु किन्ने भन्ने सल्लाह भएको थियो तर सबैले त्यो सल्लाहलाई लत्याए र ढिलाई भएको हो । अब केही दिनमा सुरु गर्ने उनले बताए ।’
यो हाटबजारको प्रसंगमा निकै छलफल भयो, स्रोत पनि परिचालन भयो, जनशक्ति पनि परिचालन भयो । तर अवस्था उस्तै देखियो । यहाँ दोष कसैको पनि होईन, दोष हाम्रो अर्थ व्यवस्थाको हो । कसैले हामी पूर्ण रुपमा पूँजीबादी अर्थ व्यवस्थामा छौं भनेर चिच्याएपनि नेपालको बर्तमान अर्थ व्यवस्था अर्धसामन्ति अर्थ व्यवस्थानै रहेको छ । अर्ध सामन्ति अर्थ व्यवस्था निर्वाहमुखी अर्थ व्यवस्था हो । किसानहरु निर्वाहका लागि उत्पादन गर्छन । घर परिवारमा आफूलाई चाहिने जति उपभोग गरेर बचेको जति बिक्री गर्ने चलन छ अर्थात अधिकांश किसानहरु अहिलेसम्म पनि व्यवसायिक उत्पादन गर्दैनन् । जसको कारण उत्पादन कम हुन्छ । 
जव उत्पादन कम हुन्छ भने बजारमा कसरी उत्पादन आउँछ त ? यसलाई ध्यान दिनु जरुरी छ । उत्पादनमा बृद्धि गर्नका लागि भूमि सुधार नीतिमा परिवर्तन आउनु जरुरी छ पहिलो कुरा । जसरी जमिनको खण्डीकरण हुँदैछ, यस अवस्थाले व्यवसायिक कृषि प्रणालीमा कुनै पनि किसान जान सक्दैन, सधैं निर्वाहमुखी नै हुनेछ । व्यवसायिक हुनका लागि किसानहरुसंग प्रसस्त जमिन हुनुप¥यो, त्यो छैन । 
अर्को महत्वपूर्ण कुरा सिंचाईको हो । सेती नदी बिना काममा सलललल बगेको छ । सात सय ५० मेगावाट बिद्युत उत्पादन गर्ने सपना बाहेक अरु हामीले केही पनि देखेका छैनौं सेती नदीबाट । नदी किनारमा आकाशे पानीको भरमा रहेका उर्वरक जमिन सिंचाई गर्नका लागि यदि हामीले आधुनिक सिंचाई प्रणाली अपनाउन सक्यौं र स्थानीय कृषकहरुलाई आधुनिक एवं व्यवसायिक खेतीका बारेमा जानकारी दिन सक्यौं भने मनज्ञ उत्पादन हुनेछ । त्यो उत्पादनले जव सामान्य रुपमा वजार पाउँदैन अनि हाटबजारमा आउने छ । हाटबजार भन्ने बित्तिकै कृषि उत्पादनसंग जोडिने बिषय हो । 
बाजा बजाएर वा भाषण गरेर वा फोटो खिचेर मात्रै हाटवजार सफल हुने भए डोटीमा २०६२ सालदेखिनै निरन्तर रुपमा हाटबजार सञ्चालन भएको हुने थियो । त्यसैले सवै सरोकारवालाहरुले के सोच्नु जरुरी छ भने हाट बजार बाजा बजाएर मात्रै सफल हुने हैन । बाहिरी जिल्लाको उत्पादन हाटबजारमा ल्याएर बेच्न सक्ने सम्भावना छैन । हाटबजारका लागि उत्पादनमा बृद्धि हुनु आवश्यक छ । त्यसका लागि हामी सवैले पहल गर्नु जरुरी छ । नत्र केही समयमै यो हाट बजार पनि हराएर जाने निश्चित छ ।

७ नं प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीमा

राष्ट्रियसभा निर्वाचनका लागि ७ नं प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको छ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न ७ नं प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला  अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे ।
निर्वाचन आयोगले उच्च अदालत रहेको जिल्लाको जिल्ला न्यायाधीश नै प्रदेशको निर्वाचन अधिकृत रहने निर्णय गरेको थियो । ७ नं प्रदेशको उच्च अदालत डोटीको दिपायलमा स्थापना भइसकेको छ । सोही अनुसार ७ नं प्रदेशको राष्ट्रिय सभा निर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिम्मेवारी पाएका छन् । 
सोही जिम्मेवारी पछि जिल्ला अदालत डोटीको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन कार्यक्रम अनुसार यही माघ ७ गते मतदाता नामावली सार्वजनिक हुनेछ । त्यसपछि ८ र ९ गते मतदाता नामावलीउपर दाबी विरोधको कार्यक्रम छ । १० गते उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । ११ गते उम्मेदवारी विरुद्ध दाबी विरोध र १३ र १४ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । यस्तै १५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदानको कार्यक्रम तय गरिएको छ भने २४ गते मतदान हुनेछ ।
प्रदेश नं ७ मा ८८ स्थानीय तहका १७६ जना अध्यक्ष÷उपाध्यक्ष तथा प्रमुख÷उपप्रमुख र प्रदेशसभाका ५३ जना सांसद गरी २२९ जना मतदाता हुनेछन् । उनीहरुले कूल आठजना राष्ट्रिय सभाका सांसद चुन्नेछन् । सबै मतदाता डोटीमा आएर मतदान गर्नेछन् ।


छोटकरी समाचार

कट्वालले बचाए बमको ज्यान

रगतको मात्रा कम भएर सुत्केरी गराउन समस्या भएकी बोगटान गाउँपालिका ६ गगुडाकी २२ वर्षीया सानु बम बमलाई एकजना नेपाली सेनाका  अधिकारीले रत्तदान गरेर बचाएका छन । डोटीको सिलगढीमा रहेको रुद्रध्वज गणका नायक टंक बहादुर कट्वालले रगत दिएर बमको ज्यान बचेको हो ।
सुत्केरी गराउन दिपायल पिपल्ला स्थित शैलेश्वरी अस्पालमा भर्ना हुन भएकी २२ वर्षीया बमको शरीरमा रगतको मात्रा कम हुदाँ सुत्केरी हुन नसकी ज्यान जाने खतरामा  थियो । त्यसै क्रममा कट्वालले कसैलाई बचाउनु भनेको मानबीय धर्म भन्दै बमलाई रगत दिएर ज्यान जोगाएका हुन ।
पछिल्लो समयमा हामीलाई प्राप्त भए अनुसार नेपाली सेनाका जवानहरुले गत बर्षदेखि हालसम्म चार जनाको ज्यान बचाएका छन । बिभिन्न किसिमका रोगले ग्रसित भइ अन्तिममा आफ्नो ज्यान पनि बच्न नसक्नु सबैभन्दा गरिबी र   चेतनको कमीले गर्दा भएको शैलेश्वरी अस्पतालका प्रबन्ध निर्देशक आईजंग कुँवरले   बताए ।
महिलाहरुमा उमेर नपुग्दै बिबाह गरी गर्वाधारण गर्नाले अन्तिममा रक्तश्राब भइ ज्यान जोखिमा पर्दै जान्छ । कुवँरले भने, सानु बमको त अस्पतालमा नै यस्तो समस्या देखिदा ज्यान बच्यो । गाउँमा त सुत्केरी गराउन क्लिनिक लैजादै गर्दा या घरमै पनि कतिपय महिलाको ज्यान जाने गर्छ ।


खेल समाचार

सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

दोस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ट्राइब्रेकरमा ५.४ ले हराउँदै आर्मीले ११ लाख ११ हजार ११ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । 
निर्धारित समयमा दुबै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । ट्राइब्रेकरमा नेपाल एपिएफ क्लबका सुदीप सिंख्राकारको प्रहार गोलपोष्टको बायाँ बारमा लागेर बाहिरिएको थियो ।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि सोमबार पुरस्कार प्रदान गरिएको छ । प्रतियागितामा नेपाल एपीएप क्लबका खेलाडी अञ्जन श्रेष्ठ सर्वा्धिक गोलकर्ता घोषित भए । एपीएफकै तोप विष्ट उत्कृष्ट रक्षपंक्तिका खेलाडी, आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक, आर्मीकै सन्तोष तामाङ उत्कृष्ट अग्रपंक्तिका खेलाडी घोषित भएका छन् । राइजिङ प्लेयरको पुरस्कार सुदूरपश्चिम ११ क्लबका अमानक शेषले    पाए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका त्रिभुवन आर्मी क्लबका खेलाडी भरत खवास सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले यामाहा कम्पनीको मोटरसाइकल पुरस्कार पाए । विजेता टिम र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको समापन गर्दै सुदूरपश्चिम ११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको तेस्रो   संस्करणको पुरस्कार राशीको घोषणा गरेका छन् । उनले प्रतियोगितामा प्रथम हुनेले २१ लाख रुपैयाँ र दोस्रो हुनेले १० लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिए ।


चलचित्र/मनोरञ्जन

कहिलेकाँही साथीहरुसंग डेटिङ्गमा जान्छु ः डेबिड

पछिल्लो समय चर्चा रहेका केही गायकमध्येका एक हुन् डेविड शङ्कर । उनले केही पहिले सार्वजनिक गरेको गीत ‘आईकम बीकम’ यतिबेला चर्चाको शिखरम छ । शब्द, सङ्गीत र स्वर पनि आफैले दिएको यो गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा पनि उनले नै मोडलिङ गरेका छन् । वैदेशिक रोजगारीको कथामा निर्माण भएको भिडियो समेत रुचाइएको छ । आफ्नो गीतको अलवा डेविड अचेल चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् । उनले दुई दर्जन हाराहारी चलचित्रका गीतमा आवाज दिएका छन् । चलचित्र ‘गोरे’बाट पाश्र्व गायन सुरु गरेका उनले प्रदर्शनको तयारीमा रहेको ‘पञ्जेबाजा’ चलचित्रसम्मका गीतमा स्वर दिने भएका छन् । ०६२ मा पाँचथर आइडलको उपाधिसँगै साङ्गीतिक क्षेत्रमा होमिएका शङ्करल ०६४ मा पूर्वाञ्चल आइडलको उपाधि समेत हासिल गरेका थिए । उनको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ मा सार्वजनिक भएको थियो । त्यसपछि उनले ‘इन्टिमेट’ र ‘दशैँ’ एल्बम ल्याएका छन् । साङ्गीतका तीन विधा गीत लेखन, सङ्गीत र स्वरमा सक्रिय डेविड शङ्करसँग रातोपाटीको दश प्रश्न ।
गायनबाट सन्तुष्ट हुनुहन्छ ?
नाम, दाम र चर्चा मलाई गायनले दिलाएको छ । यो पेसााबाट सन्तुष्ट नहुने त कुरै भएन । आफ्नो एल्बम मात्र होइन, पाश्र्व गायनमा पनि मलाई मन पराइएको छ । त्यसैले त मैले तीन दर्जनभन्दा बढी चलचित्रका गीतमा आफ्नो आवाज दिन सफल भएको छु । छोटो समयमा यति धेरै गीत गाउने अवसर पाएको हिसाबले आफूलाई भाग्यमानी ठान्छु ।
कतिको हेन्ड्सम छु जस्तो लाग्छ ?
आफैले आफ्नो तारिफ त कसरी गर्नु तर धेरै जनाले राम्रो नै भन्नुहुन्छ । पक्कै पनि राम्रो छु होला । राम्रो बनेर हिँड्न मनपर्छ पनि ।
कस्तो पहिरन मनपर्छ ?
म अलि अलि फेसनेबल छु । फेसन फेरेर हिँड्न रुचाउँछु । यसमा ब्रान्ड भन्ने छैन । आफूलाई फिट हुनु पर्यो । राम्रो देखिनु पर्यो भन्ने मेरो मान्यता हो ।
गायकलाई युवतीका प्रेम अफर कति आउँछन् ?
धेरै आउँछन् नि । कतिपयले गीत मनपर्यो भनेर कुरा सुरु गर्दै प्रेमका अफर राख्छन् । कतिले तपाईं मनपर्छ भनेर सीधै प्रस्ताव राख्छन् । कतिले भेटौँ, कतै घुम्न जाउँसमेत भन्ने गरेका छन् ।
विवाहका प्रस्ताव नि ?
धेरै केटी साथीहरू छन् । तीमध्ये धेरैले मन पराउँछन् । विवाहका लागि भने कसैले अफर गरेका छैनन् । मेरो अझै २, ३ वर्ष विवाह गर्ने सोच पनि छै्रन । 
रोजाइकी युवती ?
आफूलाई बुझ्ने, माया गर्ने, घुर्की नलगाउने यस्तै यस्तै हो ।
पूरा नभएको सपना ?
जिन्दगीमा धेरै सपना देखेको छु । केही पूरा गरेँ । केही पूरा हुन बाँकी छन् । कस्ता गीत बढी मनपर्छ ?
सबै प्रकारका गीत गाएको छु । भजन, आधुनिक, मैथली, भोजपुरी र चलचित्रका सबै प्रकारमा गीत मनपर्छ । 
अभिनयतिर पनि रुचि हो ?
हो, केही म्युजिक भिडियोहरूमा पनि अभिनय गरेको छु । त्यस्तै केही सर्ट चलचित्र पनि खेलेको छु । अभिनय पनि गायनजस्तै बच्चैदेखिको रुचिको विषय हो । 
डेटिङ कतिको जानुहुन्छ ?
कहिलेकाहीँ फ्यानसँग डेट जाने गरेको  छु । कोही कोही फ्यानले धेरै कर गर्छन् । डेट जान मलाई प्राकृतिक सौन्दर्यले भरिएको र शान्त स्थान नै मनपर्छ ।

लेख

टायर बाल्ने प्रविधि हस्तान्तरण

रामहरी ओझा
प्रदेश नं. ७ को राजधानी दिपायल माग गर्दै पुष १९ गतेदेखि भएको अनिश्चितकालीन डोटी बन्दको चौथो दिन सुनसान सडकमा ‘प्रेस’ लेखेको मोटरसाईकलमा दुई जना सञ्चारकर्मी रिपोटिङ्गका लागि निश्कियौं । जिल्ला सदरमुकाम सिलगढीबाट जिल्लाको मुख्य व्यापारिक केन्द्र दिपायलसम्म जम्माजम्मी १२ किलोमिटर छ । त्यो १२ किलोमिटरको यात्राले धेरै प्रश्नहरु उव्जायो । एकप्रकारको आत्मग्लानी पनि भयो । भविश्यका कर्णाधार भनेर सम्वोधन गरिने कलिला बालबालिकाहरु लाई हाम्रो समाजले कस्तो खालको शिक्षा दिईरहेको छ ? के यो शिक्षा लिएर ति बालबालिकाहरु भोलीका कर्णाधार हुन सक्छन् त ? धेरै पटक आफुले आफैलाई प्रश्न गर्न मन लाग्यो ।
करीव १० देखि १४ उमेरका सात जना बालकहरुको समूह सडकमा मोटर साईकलको पुरानो टायर गुडाउँदै आयो । टायर किन सडकमा गुडाउँदै छौं भनेर जिज्ञासा राख्दा तीन जनालेसंगै एउटै शव्दमा एउटै उत्तर दिए ‘जलाउनलाई’ । ति बालकहरुको उत्तरले झसङ्ग बनायो । बिद्यालय जानु पर्ने बिद्यालय उमेरका बालबालिकाहरुलाई बन्दका नाममा हामीले बिद्यालय बन्द गराएर के कुरा सिकाउँदैछौं वा के कुरा पढाउँदैछौं भन्ने कुरा सोच्न बाध्य बनायो । 
बन्दका क्रममा सरकारी कार्यालयहरु, बजार, नीति क्षेत्र, गैरसरकारी क्षेत्र सवै बन्द थिए । बिद्यालयहरु बन्द भएपछि बालबालिकाहरु स्वतःस्फुर्त रुपमा सडकमा आउने नै भए । सुनसान सडक बालबालिकाहरुको क्रिकेट मैदान भएको थियो । ठाउँठाउँमा बालबालिकाहरु बन्दकर्ताहरुको सिको गर्दै सडकमा ढुङ्गा फाल्न लागेका थिए, सडक अवरुद्ध गर्न पर्खालै वनाउँदै थिए । आन्दोलनमा संलग्न वयस्कहरुले गरेको व्यवहारको सिको गर्दै हातमा ढुङ्गा लिएर कुनै गाडी आए ढुङ्गा हान्ने  तयारीमा बसेका थिए । 
निश्चित रुपमा मानवअधिकारको बिश्वव्यापी घोषणा पत्र, नागरिक तथा राजनीतिक अधिकार सम्वन्धि अन्तराष्टिय प्रतिज्ञा पत्र र नेपालको संबिधान अनुसार बिना हतियार शान्तिपूर्ण रुपमा भेला हुन पाउने, प्रदर्शन गर्न पाउने, कुनै बिचारको समर्थन गर्न पाउने, कुनै बिचारको बिरोध गर्न पाउने र आफ्ना मागहरु पुरा  गराउनका लागि शान्तिपूर्ण रुपमा दवाव दिन पाउने नागरिक अधिकार सुरक्षित गरेको छ । 
यस आधारमा आन्दोलन गर्न पाउने नागरिक तथा राजनीतिक अधिकारभित्रको कुरा हो । तर, आन्दोलनको स्वरुप के हो भन्ने कुरालाई पनि हामीले ध्यान दिनु  जरुरी छ । आन्दोलन गर्न पाउनु आफ्नो अधिकार हो भन्ने बुझेकाहरुले अरुको पनि अधिकार हुन्छ भन्ने बुझेकै हुनु पर्ने हो । मानवअधिकारको बिश्वव्यापी   घोषणा पत्रको धारा २९ मा आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् हुनु हुँदैन भन्ने व्यवस्था प्रष्टसंग उल्लेख गरेको छ । त्यो कुरा कहिले लागु   होला ? 
‘आन्दोलन’ भन्ने ‘बन्द, चक्काजाम, तोड्फोड्’ मात्रै बुझिने गरिएको छ नेपाली समाजमा । खासगरी २०६२/०६३ को राजनीति परिवर्तनयता आन्दोलनको परिभाषानै बन्द, हड्ताल, तोड्फोड्, चक्काजाम हो भन्ने बुझाई भएको छ । यद्यपी २०४६ सालको राजनीतिक परिवर्तनसंगै ‘नेपाल बन्द’ हाम्रो प्रजातान्त्रिक सभ्यताको मौलिक संस्कृति बन्यो । प्रतिपक्षमा रहेका दलहरुले बिभिन्न समूहहरुलाई उस्काउँदै आन्दोलनको नाममा बन्द गराउने महान कार्य भयो । सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीले अलि लामै समयसम्म बिनाकारण बन्द गर्ने गरेको पाईन्छ । २०४६ सालभन्दा अघि पनि बिभिन्न राजनीतिक समूहहरुले बन्द गर्ने गरेको ईतिहास छ तर व्यवहारिक रुपमा जे जस्तो भएपनि शाव्दिक रुपमा सुधारिएको व्यवस्था “लोकतन्त्र” मा त राजनीतिक/गैरराजनीतिक समूहहरुले ‘बन्द’ शव्दको भरपुर रुपमा प्रयोग गरे । 
पछिल्लो व्यवस्थाको यो ११ बर्षको अवधीमा बिभिन्न समूहका नाममा भएका बन्दका क्रमका झड्पहरुमा एक सय ४७ जनाले ज्यान गुमाएका छन (बिभिन्न सञ्चारमाध्यममा आएका समाचारहरुको संकलनका आधारमा) अर्थात हाम्रो लोकतन्त्रले बर्षेनी १३ जनाको ज्यान लिदैछ । 
खैर, बन्दको मौलिकताको कुरा भयो तर यहाँ बालबालिकाहरुलाई हामीले के सिकाउँदैछौं भन्ने बिषय छ । अन्य देशहरुमा बालबालिकाहरुलाई नयाँ नयाँ प्रबिधिहरु हस्तान्तरण गर्ने गरिन्छ । बालकालिकाहरुलाई तकनिकीको बारेमा ज्ञान दिईन्छ, शैक्षिक भ्रमणहरु गराईन्छ, कक्षाकोठामा नयाँ नयाँ प्रयोगहरु गरिन्छ । तर, हाम्रो देशमा आन्दोलनको पहिलो निशाला बिद्यालय बनाईन्छ । बिद्यालय बन्द गराईन्छ, बालबालिकाहरुलाई सडकमा ल्याईन्छ अनि गाडीमा ढुङ्गा हान्न सिकाईन्छ, सडकमा टायर बाल्न सिकाईन्छ, सडकमा ढुङ्गा राखेर सडक अवरोध गर्न सिकाईन्छ, तोड्फोड् गर्न सिकाईन्छ । 
त्यसपछि हामी भन्छौं ‘हाम्रो देशको शिक्षा अन्तराष्टिय बजारमा बिक्री भएन, हाम्रो देशको उत्पादन अन्तराष्टिय शैक्षिक उत्पादन भन्दा कमजोर भयो ।’ यदि अन्तराष्टिय बजारमा टायर बाल्ने प्रतियोगिता हुन्थ्यो भने हाम्रो देश प्रथम हुन्थ्यो, यदि ढुङ्गा हानेर गाडीका सिसा फोड्ने वा गाडीमा आगो लगाउने प्रतियोगिता हुन्थ्यो भने हामी प्रथम हुन्थ्यौं । तर, दुर्भाग्य त्यस्ता प्रतियोगिता हुँदैनन् अन्तराष्टिय बजार न त त्यस्ता  कारखानाहरु छन जहाँ हामीले पाएको शिक्षा उपयोग गर्न पाईयोस् । 
बिषय प्रसङ्गले अर्को अर्थ नलागोस्, यहाँ बालबालिकाहरुलाई कसैले सिकायो भनेर आरोप लगाउन खोजिएको होईन तर हाम्रा व्यवहारहरुले यस्ता कुरा पुष्टी गरेको छ । आन्दोलनका नाममा बिद्यालय बन्द भयो भने बिद्यार्थी कहाँ जान्छ ? जिज्ञासु उमेरका बालबालिकाहरु सडकमा जुलुस निस्कियो भने त्यही जुलुसमा समाहित हुन्छन् । अनि जुलुसले जे जे गर्छ त्यही सिक्दै जाने हो उनीहरुले पनि, बालक सिकारु हो, समाज गुरु हो । गुरुले के सिकायो शिष्यले त्यही कुरा सिक्ने हो, अनुशरण गर्ने हो । 
आन्दोलनका क्रममा केही शिक्षक साथीहरुले पनि फोन गरेर आन्दोलनको अवस्था बुझ्नु भयो । उहाँहरुले ‘संघर्ष समितिलाई अन्दोलन चर्काउन भन्नुहोस्, अनि हामी पनि आउँछौं बिद्यालय बन्द गरेर आन्दोलनमा’ भन्ने सल्लाह दिनु भयो । कस्तो दुर्भाग्य ! जसले आफ्नो कारखानामा (बिद्यालयमा) रहेको कच्चा पदार्थ (बालबालिका) लाई निश्चित आकारमा ढालेर नयाँ रुप दिनु पर्ने हो उनैले ‘बिद्यालय बन्द गरेर आन्दोलनमा आउछौं’ भन्नुले उहाँहरुको आफ्नो पेशाप्रतिको लगाव कति छ भन्ने कुरा प्रष्ट्यो । 
शैक्षिक सत्र समाप्त हुन तीन महिना मात्रै बाँकी  रहँदा अर्धबार्षिक परीक्षा सञ्चालन गरिरहेका बिद्यालयहरुको परीक्षामा बाधा पुग्दा दुःख मान्नु पर्नेमा उल्टो ‘हामी पनि बिद्यालय बन्द गरेर आन्दोलनमा आउछौं’ भन्ने पो सुझाव आयो । यो मानसिकता बोकेकाहरुले आफ्नो कारखानाबाट कस्तो उत्पादन देलान भन्ने पनि छलफलको बिषय बन्नु पर्ने होे । 
यद्यपी यहाँ सवै शिक्षकहरु यस्ता छन भनेर सामान्यीकरण गर्न खोजिएको होईन, त्यस ढङ्गले नबुझिदिन आग्रह पनि छ तर केही शिक्षकहरु यस्ता छन् जसलाई बिद्यालयमा पढाउन झ्याउ लाग्छ, यस्ता यस्तै बन्दका कार्यक्रम गर्न रहर लाग्छ । पार्टीका कार्यक्रममा, गैर  सरकारी संस्थाका कार्यक्रममा, समूहहरुका बैठकमा, मेला, जन्तमा सहभागी हुन बढी आनन्द आउँछ । शिक्षकको आवरणमा सक्रिय राजनीतिक गरिरहेका र राजनीतिक संरक्षण पाएकाहरु यस्ता क्रियाकलापमा बढी संलग्न हुन्छन्, उनीहरुका बिषयमा सही कुरा भन्दा कुनै अन्याय हुँदैन होला । 
हामीले बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेका छौं, जस्तो सुकै परिस्थिति आएपनि बिद्यालय बन्द गर्दैनौं भन्ने प्रतिवद्धता पनि गरेका छौं । बालबालिकाको बृत्ति र बिकासका लागि बाहेक अरु कुनै पनि कार्यक्रमहरु बिद्यालय कम्पाउण्डमा नगर्ने प्रतिवद्धता व्यक्त गरेका छौं तर व्यवहार ? बर्षभरीमा जम्मा एक सय ८० दिन पढाई हुनै पर्ने भन्ने नीतिगत व्यवस्था रहेछ । 
दुई सय २० दिन बिद्यालय खुल्नै पर्ने भन्ने व्यवस्था रहेछ । तीन सय ६५ दिनमा एक सय ८० दिन बाल बालिकाहरुले बिद्यालयमा आफ्ना गुरुहरुसंग शिक्षा लिन पाउने रहेछन् । त्यसैमा हामीले हप्तौं बन्द गरेपछि, शिक्षकहरुले गोष्ठी सेमिनारहरु धाएपछि, समयमै पाठ्यपुस्तकहरु नआएपछि के होला त बालबालिकाहरुको अवस्था ?
त्यसकारण आन्दोलनका नाममा बिद्यालय बन्द गर्ने अनि सडकमा टायर बालेर बालबालिकाहरुलाई देखाउने र टायर बाल्ने प्रबिधिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै जाने प्रबृत्तिलाई सदा सदाका लागि अन्त्य गर्नु जरुरी छ ।
आन्दोलनका अनेक स्वरुपहरु छन्, बन्दै गर्नु पर्छ, टायरै बाल्नु पर्छ, तोड्फोडै गर्नु पर्छ भन्ने जरुरी छैन । बन्द गर्ने रहर भएकाहरुले आफ्नो पेशा व्यवसाय बन्द गरेर सडक छेउमा बस्दा केही फरक पर्दैन । 
जनतालाई सास्ती हुने गरी वा अरुको अधिकार हनन् हुने गरी बन्द गर्ने काम नगरेकै राम्रो । त्यसमाथी बिद्यालय बन्द गराएर बालबालिकाहरुको पुरै जीवन सडकमा ल्याउने काम बन्द गरौं ।

लोकसेवा तयारी

१. इन्द्रणीका सातै रंग (RED, ORANGE, YELLOW, GREEN, BLUE, INDIGO, VIOLET) मिसायो भने कुन रंग वन्छ ?      - सेतो
२. भगवान शिवको धनुलाई पिनाक भनिन्छ भने भगवान रामको धनुलाई के भनिन्छ ?    अजगव
३. स्वयम्भु महाविहार नेपालमा छ भने त्रिपिटक महाविहार कहाँ छ ?             तिव्वत
४. पानी कति डिग्री फरेनहाइटमा उम्लन्छ ?                         २१२ डिग्री फरेनहाइट
५. सन् १९९२ जुन ३ देखि १४ सम्म व्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी शिखर सम्मेलनमा   
   पृथ्वीको सुस्वास्थ्यको लागि विश्वभरि कति समय मौनधारण गरिएको थियो ?       २ मिनेट
६. नेपालमा प्रथम पटक औद्योगिक नीति कहिले वनेको हो ?                  वि.सं. २०१७
७. म्यागासासे पुरस्कार पाउने प्रथम नेपाली महेशचन्द्र रेग्मीले के काम गरेवापत सो पुरस्कार पाएका 
   हुन ?                  भूमि व्यवस्थाको वृहत्त अध्ययनका लागि
८. काठमाण्डौ नेपालको राजधानी कहिले भयो ?      वि.सं. ११२९(पृथ्वीनारायण शाहको पालामा)
९. सार्क महासचिवको पदावधी ३ वर्ष वनाउने निर्णय कुन सम्मेलनले गरेको हो ?   नवौं सम्मेलन
१०. हाँसलाई के को प्रतिक मानिन्छ ?       न्यायको 
११. प्रत्येक वर्ष मानव विकाश प्रतिवेदन कसले प्रकाशन गर्छ ?                 ग्ल्म्ए
१२. विश्वमा तीनवटा सदन भएको एकमात्र देश कुन हो ?      दक्षिण अफ्रिका
१३. गरीवहरुको घर भनेर कुन क्षेत्रीय संस्थालाई व्यंग्य गरिन्छ ?           क्ब्ब्च्ऋ
१४. प्रशासकिय अदालत कुन ऐन अन्तर्गत गठन भएको हो ?     निजामती सेवा ऐन
१५. एक विगाहमा कति रोपनी हुन्छ ?            १३.३१ रोपनी
१६. विस्केट जात्रा कुन दिन मनाइन्छ ?                 वैसाख १ गते
१७. सुप्रसिद्ध देवि दक्षिणकाली स्थापित गर्ने राजा को हुन ?      प्रताप मल्ल
१८. नेपालको प्रथम महिला मन्त्री द्वारीकादेवि ठकुरानी कुन मन्त्री भएकी थिइन ? 
                                                 स्वास्थ्य तथा स्थानीय सहायक मन्त्री
१९. नेपाल सरकार र नेकपा माओवादी वीच मिति २०६३।८।५ मा भएको विस्तृत शान्ति सम्झौता नेपालको अन्तरिम संविधान २०६३ को कतिऔं अनुसूचीमा उल्लेख गरिएको छ ?       ४ औं
२०. विश्वको सवैभन्दा ठूलो भूपरिवेष्ठीत राष्ट्र कुन हो ?  मंगोलिया, क्षेत्रफल १५,६५००० वर्ग कि.मी.    २१. नेपालमा निजि क्षेत्रमा संचालित प्रथम विमान सेवा कुन हो ? 
                                               नेपाल एयरवेज (वि.सं.२०४९ जेठ ४ देखि)
२२. नेपालको अन्तरिम संविधान २०६३ कहिले लागू भएको हो ? वि.सं.२०६३ माघ १ गते (सोमवार)
२३. नेपालको प्रमाणिक समय निर्धारण गर्न आधार लिइएको हिमाल कुन हो ? 
                                  गौरीशंकर (उचाई ७११५ मिटर), वि.सं.२०४२।१।१
२४. कोतपव हुँदाका समयमा (वि.सं.१९०३ आश्विन २) नेपालका प्रधानमन्त्री को थिए ? फत्तेजंग शाह
२५. नेपालमा प्रथम जनगणना कहिले भएको हो ?         वि.सं. १९६८ (जनसंख्या ५६,३८,७४९)
सौर्यमण्डलबारे जानकारी
१. सौर्यमण्डल अन्तरगत के–के पर्दछन् ?
– सूर्य, ग्रह, उपग्रहहरु तथा अनेर्को पिण्ड, उल्का, शिशु ग्रह, लामपुच्छ्रे तारा, उल्का पिण्डहरु
२. ब्रह्माण्डसम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?              –(ऋयकmयिनथ)
३.सूर्य र अन्य ताराहरुको समूहलाई के भनिन्छ ?            – आकाशगंगा
४. ब्रहमाण्डको अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक अन्धकारमय प्वाललाई के भनिन्छ ?
                                                     – आकाशगंगा
५. ब्रहमाण्डको अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक अन्धकारमय प्वाललाई के भनिन्छ ?
                                                            – कालो प्वाल
६. प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ?         – प्रकाश वर्ष
७. प्रकाशले १ सेकेन्डमा कति दूरी पार गर्छ ?      – ३ लाख किलोमिटर
८. कुनै ग्रहले आफ्नो अक्ष (ब्हष्क) मा एक फन्को घुम्न लागेको अवधिले त्यस ग्रहको केलाई              
    जनाउँछ ?                         – त्यस ग्रहको एक दिनको अवधि
९. सूर्य आकाशगंगाको तारपुञ्जीय केन्द्र (न्बबिकतष्अ ऋभलतचभ) बाट कति टाढा रहेको छ ?
                                             – ३० हजार प्रकाश वर्ष
१०. लाखौं करौडौं ताराहरु मिली आकाशमा उनीहरुको समूह जस्तो देखिने ताराहरुको गुच्छालाई 
    के भनिन्छ ?                          – तारापुञ्ज (न्बबिहथ)
११. आकाशमा रहेका ताराहरुको समूहलाई तामण्डल (ऋयलकतििभबतष्यलक) भनिन्छ । आकाशमा यस्ता तारामण्डलहरु कतिवटा रहेको पाइएको छ ।         – ८८ वटा
१२. सूर्यलाई केन्द्र बनाई पृथ्वीलगायत अन्य ग्रह, उपग्रहरुले सूर्यको परिक्रमा गर्छन् भन्ने तथ्य सार्वजनिक गर्ने व्यक्ति को हुन् ?    – निकोलस कोपर्निकस, पोल्यान्ड (सन् १५४३ मा)
१३. सूर्यलाई आकाशगंगाको तारापुञ्जीय केन्द्र (न्बबिकतष्अ ऋभलतचभ) को परिक्रमा गर्न कति समय लाग्छ ?                                – २५ करोड वर्ष
१४. धुम्रकेतु कति समयको अन्तरालमा सूर्यको नजिक भएर जान्छ ?  – हरेक ३÷३ वर्षमा


साहित्य/सृजना

मेरोपन

हारजितको संगम, यो जिन्दगानी
कहिँ ताँमा खानी, कहीँ सुन खानी
कहीँ अपी देख्छु, कहीँ रबि देख्छु
म बुध मंगलको कबिता लेख्छु ।
सैपाल मेरै हो पुगेको छैन 
जीबित छ आशा मरेको छैन ।
सृजनाले बोल्छु म सर्बहारा
मेरै हो खप्तड, मेरै उग्रतारा
म भाइ सबैको हे मेरा बहिनी 
जय होस जननी हे निंलासैनी
कहीँ भगवती कहीँ छन कालिका 
नागार्जुन यहीँ, यहीँ बडिमालिका
सैपालमा जन्मे, सेतीमा हुर्के 
मालिका अर्जुनको काखैमा फुर्के
आफू गोठाले भटाउँछु ग्वाला
पाताल भूमेश्वर, र अश्द्धाला 
काली मेरै हो, सेती मेरै हो
चुरे पर्वतको फेदी मेरै हो ।
आस्था निहित छ बैद्यनाथ धाम
संगाल्छु मनमा बुढीगंगा नाम
सामिप्य रहोस हे शैलेश्वरी
रमेको स्थल हिमालकी छोरी
अपरो छ काब्य बाँकी छन कुरा 
नरोक्कियोस कलम माता त्रिपुरा

खेम रौतेडा ‘रसिक’
आदर्श गापा ३ डोटी

दुई गजल

हिमाल तेरो पहाड मेरो, मधेश कसको हो ।
भन्नुस् न  सरकार  यो  देश कसको  हो ।

चारैतिर यहाँ पार्टी नै  पार्टीको हल्ला देख्छु, 
बेरोजगारी भएको देशमा निषेश कसको हो ।

सत्ता र भत्ताको भाषण हुँदैछ, बालुवाटारमा, 
दिनहँु बाटो बन्द गरायौं प्रवेश कसको हो ।

सिटामोल नपठाए नि जहर पठाउ कर्णालीमा,
पीडितहरु बाँचोस या मरोस प्रेश कसको हो ।

फर्किएन घर परदेश गएका परदेशीहरु,
हरेक दिन बाकसमा आउने फेश कसको हो ।
तराई पहाड र हिमाल प्यारो लाग्छ ।
ज्यान भन्दा मेरो नेपाल प्यारो लाग्छ ।

बोलाउने छु बुद्धलाई फेरि यो माटोमा,
बुद्धको हरेक बोलचाल प्यारो लाग्छ ।

कति राम्रो चराचुरुङ्गी फुलेका गुराँस, 
धुनमा नाच्ने डाँफे मुनाल प्यारो लाग्छ ।

चन्द्र र सुर्य बिनाको धर्तीको के काम 
दिनरात बग्ने खोला ताल प्यारो लाग्छ ।

डराउनु भन्दा मर्नु बेस स्वाभिमान बोकी,
दुश्मनहरुको अगाडी काल प्यारो लाग्छ ।

संजिव कुमार पटेल
सर्लाही (साबिकको गोनर्वा गाविस)
हालः मलेसिया

सूचना/सन्देश/बिज्ञापन 

हार्दिक श्रद्धाञ्जली

जन्मः २००७ भाद्र ८                                                                                                        मृत्युः२०७४ पौष २१
यस संस्थाका सदस्य एवं ग्रामीण गरिवी न्यूनिकरण कार्यक्रमका संयोजक श्री कृष्ण थापाकी ममतामयी आमा पूर्णमाया थापाको असामयिक स्वर्गारोहण भएकाले मृत आत्माको चिर शान्तिको कामना गर्दै दुःख को यस घडीमा सोक सन्तप्त परिवार जनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना ब्यक्त गर्दछु ।
केशव परियार  (अध्यक्ष)
सम विकास केन्द्र  भ्म्ऋ नेपाल डोटी

No comments:

Post a Comment