Tuesday, January 9, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल पुष २५ गते

नेपालको संबिधानमा अपाङ्गता भएकाहरुका लागि भएका व्यवस्था व्यवस्थाहरुको कार्यान्वयन गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बन्द फिर्ता, आन्दोलनको स्वरुप फेरियो

प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग राख्दै गत बुधवारदेखि गरिएको अनिश्चितकालीन डोटी बन्द सोमवार साँझबाट खुला भएको छ । 
सोमवार साँझ दिपायलको पिपल्लामा बसेको आन्दोलन संयोजन समितिको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको हो । बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने गरि बन्द फिर्ता लिईएको आन्दोलन संयोजन समितिको संयोजक एवं डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिएका    छन । 
‘सरकारले तत्काल अस्थायी राजधानी तोक्ने छाँट देखिएन’ खड्काले भने ‘लामो समयसम्म बन्द गरेर सर्वसाधारणलाई सास्ती हुनु भन्दा बन्द फिर्ता लिने निर्णय गरेका हौं ।’ खड्काका अनुसार यातायात, बजार, बिद्यालय, सरकारी कार्यालय सवै सुचारु हुन दिने निर्णय भएको छ । ‘हामीले आन्दोलनको स्वरुप परिवर्तन   गरेका छौं, आन्दोलन फिर्ता लिएका होईनौं’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै खड्काले भने ‘वन्दका कार्यक्रमहरु फिर्ता भएपनि हाम्रो आन्दोलन जारी छ ।’ उनले भोली देखि प्रत्येक दिन क्षेत्रीय प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको वताए । 
खड्काले भने ‘दिपायल राजधानी कायम नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ, यदि  सरकारले हाम्रो माग बिपरित निर्णय ग¥यो भने आकास्मिक रुपमा बन्द, हड्तालका कार्यक्रमहरु सुरु गर्ने भन्ने निर्णय पनि समितिले गरेको छ ।’ 
छिमेकी जिल्लाहरुबाट पनि बन्द फिर्ता लिन आग्रह भएको र बिद्यालयमा पनि बन्दका कारण पठनपाठनमा बाधा भएको कुरा ध्यानमा राख्दै आफुहरु बन्द फिर्ता लिने निश्कर्षमा पुगेको खड्काको भनाई छ । 
गत पुष १२ गते देखि सुरु भएको शान्तिपूर्ण आन्दोलन गत मंगलबार सरकारले प्रदेश नं. ७ को राजधानी कैलालीको धनगढी तोक्ने गरि तयारी गरेको खवर बिभिन्न सञ्चारमाध्यममा आएपनि अनिश्चितकालीन बन्दको घोषणा गरिएको थियो । बन्दका कारण जिल्लाका पसल, शिक्षालय, सरकारी कार्यालय, यातायात सवै ठप्प भएका थिए । 
यसअघि सोमवार दिउसो आन्दोलनकारीहरुले ठाउँकोमा कालो पट्टी बाँधेर सरकारका बिरुद्धमा प्रदर्शन गरेका थिए ।
आफै फोहर गरे आफै सफा गरे 
गत मंगलबारदेखि लगातार सडकमा टायर बान्दै आएका प्रदर्शनकारीहरुले सोमवार बिहानै भने सडक सफाई गरे । दिपायल सिलगढी नगर–पालिकोको दमकल प्रयोग गरि जिल्लाको मुख्य व्यापारिक केन्द्र पिपल्लाको सडकमा टायर बालेर जम्मा भएको खरानी धोएका  थिए । 
यस्तै सडक बन्दका लागि प्रयोग गरिएका ढुंगामुढा समेत हटाएका छन् । सोमबार गरिएको बजार सरसफाई र ढुंगामुढा हटाउने अभियानसँगै आन्दोलनको स्वरुप पनि केही परिवर्तन गरिनुका साथै बन्द गरिएका सबै क्षेत्र बिस्तारै खोलिने योजना रहेको प्रदर्शनकारीहरुले संकेत गरेका थिए । 
धुलो र धुवाँका कारण कुरुप भएको बजार आन्दोलनकारीहरुले टल्काए ।

सम्पादकीय 

बिवेकपूर्ण निर्णय

प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग सहित गत पुष १३ गतेदेखि सुरु भएको आन्दोलन जारी छ । ऐतिहासिक रुपमा, भौगोलिक रुपमा, भौतिक संरचनाका आधारमा, सामरिक महत्वको आधारमा र पहाडि जिल्लाहरुको बिकास गर्ने हिसावले दिपायल नै राजधानी हुनु पर्छ भन्ने कुरामा कसैको पनि दुई मत हुन सक्दैन । दिपायलमै राजधानी हुनु पर्छ । यसका लागि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनु, आफ्ना बिचार राख्न पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । मानवअधिकारको बिश्वव्यापी घोषणा पत्र, नागरिक तथा राजनीतिक अधिकार सम्वन्धि अन्तर–ाष्ट्रिय प्रतिज्ञा पत्र र नेपालको संबिधानले बिना हात हतियार शान्तिपूर्ण रुपमा भेला हुने र प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । 
आन्दोलनकै क्रममा गत पुष १९ गते देखि भएको अनिश्चितकालीन डोटी बन्द सोमवार साँझबाट खुला भएको छ । अनिश्चितकालीन बन्दका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुँदै गएको, छिमेकी जिल्लामा आउजाउ गर्ने यात्रुहरुले सास्ती भोग्नु परेको, बालबालिकाहरुको पठनपाठनमा समेत समस्या हुन थालेको कुरालाई मध्येनजर गर्दै वन्द फिर्ता गर्नु बिवेकपूर्ण निर्णय हो । उक्त निर्णयले आन्दोलनका नेतृत्वकर्ताहरु बिवेकपूर्ण सोचका साथ अगाडि बढेका छन भन्ने कुरा प्रष्ट्याएको छ ।
चाहे व्यक्तिगत स्वार्थका लागि होस्, समूहगत स्वार्थका लागि होस् वा दलगत स्वार्थका लागि होस् वा फेरी सामुहिक स्वार्थका लागि होस्, वन्द प्रमुख हतियार बनेको छ नेपाली चरित्रमा । यो सवैभन्दा दुर्भाग्यपूर्ण हो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ भन्ने मानवअधिकारको अन्तर–ाष्ट्रिय मान्यता र राष्ट्रिय कानुनहरुको धज्जी उडाउने गरि हचुवाको भरमा वन्द गरेर देशका बिभिन्न स्थानहरुमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बन्दकर्ताहरुका लागि त्यो आवश्यकता वा वाध्यता जे होला तर त्यो वन्दले सवैभन्दा पहिले सर्वसाधारणमाथी अन्याय हुन्छ । 
त्यसकारण यो बन्द गर्ने कुरा सधैंका लागि बन्द गर्नु पर्छ । बन्दका नाममा अनावश्यक रुपमा सडकमा टायर बाल्ने, ढुङ्गामुडा गर्ने, यातायतका साधानहरु जहाँको त्यही ठप्प पारेर यात्रुहरुलाई दुःख दिने जस्ता कुराहरुले कसैको पनि भलो हुँदैन । सर्वसाधारणहरु बिरामी हुँदा हुने खानेहरुको जस्तो एम्वुलेन्स लगेर उपचार गर्न जाने हिम्मत राख्दैनन् । उनीहरुका लागि सार्वजनिक यातायातमा जीवन र मृत्युबिचको दुरीको यात्रा गर्नु वाध्यता हो । यदि हामीले यातायात बन्द ग¥यौं भने उनीहरुको जीवनै समाप्त हुन सक्ने अवस्था आउँछ । त्यसकारण हामीले अहिले देखिनै सोच्नु पर्ने बेला आएको छ ।
बन्दकै कारण भरखर कखरा सिक्दै गरेका हाम्रा छोराछोरी–हरुको पढाईमा कस्तो प्रभाव परेको होला भन्ने अनुमान पनि हामीले गर्न सक्नु पर्छ । जे हामी गर्दैछौं, ति क्रियाकलापहरुले भविश्यका कर्णाधार वालबालिकाहरुको मानसिकतामा के प्रभाव पर्छ ? आन्दोलन भन्ने बित्तिकै टायर बाल्ने, चक्काजाम गर्ने, तोडफोड गर्ने, यातायात बन्द गर्ने कुरालाई नै उनीहरुले बन्दको परिभाषा बनाए भने के हुन्छ ? अहिले सडकमा देखिएका केही व्यक्तिहरु के साँच्चै आफुलाई मार्का प¥यो भनेर आक्रामक भएका हुन त ? होईनन् । उनीहरुले कलिलो उमेर हामीले गरेको बन्द देखेका थिए, टायर बालेको, ढुङ्गा हानेको, यातायातका साधनहरु तोड्फोड् गरेको देखेका थिए । जुन कुरा उनीहरुले फेरी पनि सिकेका हुन । यदि हामीले हाम्रा व्यवहारहरु, वानीहरु, कार्यशैलीहरुमा सुधार ल्याउन सकेनौंं भने यो प्रक्रिया नियमित रुपमा चलिरहनेछ । हुने खानेका छोराछोरीहरु यो दुनियाँ भन्दा टाढा छन, त्यो वेग्लै  कुरा हो । त्यसैले यो कुरा सोचौं ।

थप समाचार 

नाम मात्रका स्थानीय तहका वेवसाईट

२०३९ सालमा स्थापना भएको दिपायल सिलगढी     नगरपालिकाले आफ्नो  वेवसाईटमा पुराना बिवरणहरु मात्रै राखेको छ । नयाँ बिवरण अध्यावधिक गरेको देखिदैन । पदाधिकारीहरुको ठाउँमा  कर्मचारीहरुका नाम लेखिएका छन । गत असार १४ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपनि अहिलेसम्म पदाधिका– रीहरुको नाम लेखिएको छैन । 
डोटी शिखर नगरपालिकाको नाममा खोलिएको वेवसाईटमा कुनै बिवरण पनि पोष्ट गरिएको छैन । स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका नौ गाबिसहरुमा मिलाएर बनाईएको नगरपालिकाले आफ्नो वेवसाईट डिजाईन गरेको त देखिन्छ तर कुनै पनि सूचनाहरु पोष्ट गरेको छैन । नगरपालिकाको परिचय, पदाधिकारीहरुको नामावलीसम्म पनि पोष्ट गरिएको छैन ।
जिल्लाका सात गाउँपालिकाहरुमध्ये सवैभन्दा दुर्गममा रहेको बडीकेदार गाउँपालिकाले भने आफ्नो वेवसाईट नियमित रुपमा अध्यावधिक गर्ने गरेको छ । गाउँपालिकाले गरेका क्रियाकलापहरुका तस्विरहरु, नियमित क्रियाकलापहरु, बार्षिक नीति तथा कार्यक्रम र वजेट सवै आफ्नो वेवसाईटमा राखिएको  छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको फोटो सहितको परिचय राखिएको छ । 
सायल गाउँपालिकाले आफ्नो वेवसाईटमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतको फोटो सहितको नाम राखेको छ । गाउँपालिकाले गत भाद्र २५ गते बसेको गाउँसभाको निर्णय र गाउँपालिकाको आर्थिक कार्यबिधि ऐन, २०७४ वेवसाईट मार्फत सार्वजनिक गरेको छ । यस बाहेक अरु कुनै पनि सूचना उक्त गाउँपालिकाले सार्वजनिक गरेको छैन ।
जिल्लाका बोगटान, पूर्वीचौकी, जोरायल, आदर्श र के आई सिंह गाउँपालिकाले आफ्नो वेवसाईटमा कुनै पनि विवरण राखेका छैनन् । सूचना सम्प्रेषण गर्न सजिलो होस् भन्नका लागि वेवसाईट खोलिएका हुन ।
नियमित रुपमा अध्यावधिक हुनु पर्ने तर सूचना प्रबिधि अधिकृत (आईटी  अफिसर) नभएका कारण हुन नसकेको बताउँछन दिपायल सिलगढी नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेशचन्द्र जोशी । जोशी भन्छन् ‘त्योसंग ज्ञान भएका अन्य साथीहरुले अपडेट गरिरहनु भएको थियो तर उहाँहरुको पनि कार्यव्यस्तताका कारण नियमित हुन सकेको छैन । 
जनशक्ति अभावकै कारण आफुहरुले वेवसाईटमा कुनै पनि बिवरण राख्न नसकेको के आई सिंह गाउँपालिकाका कार्यकारी अधिकृत शिद्धराज शर्मा बताउँछन । ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट पनि वेवसाईट अपडेट गर्ने परिपत्र आएको थियो’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै शर्माले भने ‘त्यो सम्वन्धि ज्ञान पनि छैन, जनशक्ति पनि छैन ।’ उनले सूचना प्रबिधि अधिकृतको पदपूर्तिका लागि गाउँपालिकाले बिज्ञापन गरिसकेको वताउँदै भने ‘त्यसपछि नियमित रुपमा अपडेट हुनेछ ।’

पानी माग्दै बोको बली

लामो समयसम्म बर्षा नभएका कारण खानेपानीको मुहान समेत सुक्न थालेपछि   जोरायल गाउँपालिका–४ बाँजिलेकबासीले पानी पारिदिन भन्दै भगवतीलाई बोको बली दिएका छन ।
करीव ६५ घरधुरी रहेको बाँजिलेकमा सञ्चालित खानेपानीको योजना खडेरीका  कारण पानी कम हुँदै गएपछि चिन्तित स्थानीयबासीले पानी पारिदिने आशमा भगवतीको पुजा सहित बोबो बली दिएका छन । संकटका बेला भगवान सम्झिने परम्परागत विश्वास अनुसार बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरिएको हो । 
पानी सुक्दै गएपछि गाउँबाट करिब १ घण्टाको दुरीमा रहेको मुहानबाट पानी बोकेर खानुपर्ने अवस्था आएको स्थानीय शिक्षक भोजबहादुर थापाले बताए । उनले भने ‘गाउँ समाजको कुरा हो, वर्षा रोकिएको लामो समय भयो, गाउँमा खानेपानी र खेतीपातीका लागि समस्या देखियो । परम्परागत विश्वास अनुसार गाउँमा सबैले भगवतीको पूजा गर्ने सल्लाह भएर पञ्चमीको तिथीमा पूजा गरिएको हो । 
पहिलेका दिनहरुमा भगवती पूजामा बाख्राका पाठी र कुखुराका चल्लाले पूजा गरिंदै आएकोमा आजकाल भने बोका  काटेरै पूजा गर्न थालिएको थापाले बताए । विगतका वर्षहरुमा पनि सुख्खा मौसममा भगवती पूजा गर्ने गरिएको र पूजा गरिरहेकै बेलामा पानी पर्ने गरेकाले स्थानीयमा विश्वास कायम रहि आएको बुढापाकाहरुको भनाई छ । 
पानी नपरेका कारण अहिले बालीनालीमा समस्या भईरहेको तथा अब फलफूलको फुल्ने बेला भएकाले फलफुलका लागि पनि सिंचाईं समस्या देखिने जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत तपेन्द्रबहादुर शाहले बताए । उनले भने ‘गहुँबाली र अन्य बालीनालीमा हालसम्म शित र पूरानो चिस्यानले काम गरेको थियो, अब तत्काल पानी परेन भने झनै समस्या हुने देखिन्छ । जिल्लाका बेशी क्षेत्रभन्दा माथिल्लो भेगमा बढी समस्या हुन्छ ।’ 
यस वर्ष मनसुनी वर्षा सकिएपश्चात गत कार्तिक पहिलो साता परेको हल्का पानीले केहि राहत भएता पनि त्यस यता पानी परेको छैन । स्थानीयले पानी पर्ने आशमा भगवतीलाई बली दिएका छन ।

छोटकरी समाचार 

महासंघद्वारा खेद व्यक्त

बिहिवार राती नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले पत्रकार कर्ण चन्दलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ डोटी शाखाले खेद् व्यक्त गरेको छ । 
महासंघले शनिवार एक बिज्ञप्ती जारी गर्दै  सरकारका मन्त्रीले बिना कारण सञ्चारकर्मीलाई धम्काउनु प्रेस स्वतन्त्रताको बर्खिलाप भएको ठहर गरेको छ । बिज्ञप्तीमा भनिएको छ ‘समाचारको बिषयमा कुनै असहमति भए प्रक्रियामा जाने प्रसस्त कानुनी आधारहरु हुँदाहुँदै पनि प्रक्रिया भन्दा बाहिर गएर यस्ता धम्की नदिन हामी जोड्दार माग   गर्दछौं ।’
धम्काउने व्यवहारहरु नसच्चिए प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरुको पेशागत     सुरक्षाका लागि नेपाल पत्रकार महासंघ आन्दोलनका उत्रिने चेतावनी बिज्ञप्ती मार्फत दिईएको छ ।
यस्तै प्रेस चौतारी नेपाल र प्रेस सेण्टरले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै उक्त घटनाको निन्दा गरेको छ । वहालवाला मन्त्रीबाट यस्ता प्रकारका धम्कीहरु आउनु दुर्भाग्यपूर्ण रहेको ति दुई संगठनहरुको ठहर छ । 
पत्रकार चन्दका अनुसार मन्त्री बलायरले बिहिवार राती ९ वजेर २३ मिनेटमा फोन गरेर ठिक पारिदिन्छु भन्दै धम्काएका थिए । बिम्ब साप्ताहिकका सह–सम्पादक चन्द बिभिन्न सञ्चारमाध्यमहरुमा आवद्ध छन ।  

खेल समाचार

भलिवल प्रतियोगिता फागुनमा

नेपाल भलिबल संघले चौथो राष्ट्रिय भलिबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन गर्ने भएको छ ।
गत शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघले महिला तथा पुरुष क्लब च्याम्पियनसीप प्रतियोगिता आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने जनाएको छ । संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख र तेस्रोले  ६० हजार रुपैयाँ पुरस्कार पाउने बताए ।
प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई १५÷१५ हजार रुपैयाँ, उत्कृष्ट ब्लकर, लिफ्टर, लिब्रो, स्पाइकर, सरभर र प्रशिक्षकलाई जनही पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिने शर्माले बताए । प्रतियोगितामा महिलातर्फ नौ तथा पुरुषतर्फ १२ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीलाई छनोट गरी आगामी चैत/वैशाखमा हुने राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी गराइने नेपाल भलिवल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक नेपाल स्याटलाइट टेलिकम प्राइभेट लिमिटेलका अध्यक्ष अस्मिता सुमार्गी र भलिबल संघका अध्यक्ष शर्माले भलिबल खेल कम्पनीले दुई वर्षसम्म प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार भलिबल खेलको लागि कम्पनीले रु ४० लाख सहयोग गर्नेछ ।

चलचित्र/मनोरञ्जन

खोटाङ आईडल पुष २८ बाट

सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन पुस २८ बाट हुने भएको छ । 
‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुल नाराका साथमा सञ्चालित ‘खोटाङ आईडलको दोश्रो अडिसन पुस २८ गतेबाट हुने भएको हो । परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजा–पानीद्वारा आयोजित रियालिटी शो अन्त–रगतको दोश्रो चरण अडिसनका लागि जिल्लाको आठ गाउँपालिका, दुई नगर–पालिकाबाट एक सय ६८ जना प्रतियोगीहरु छनौटमा परेका छन् । 
दोश्रो अडिसनबाट एक सय जना बाहिरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।
दिक्तेल बजारको स्थानीय हेलिप्याडमा सञ्चालन हुने दोश्रो अडिसनका लागि गायक सागर संसार राई, राजेश पुमा राई, भक्त बिक निर्णायकमा कार्यक्रम व्यवस्थापक दिपेश पायल राई बताए ।
जिल्लाको हकमा ठूलो धनराशी भएको रियालिटी शोमा साकेला गाउँपालिका रतन्छाबाट १०, दिप्रुङ गाउँपालिका ११, खोटेहाङ गाउँपालिका १६, जन्तेढुंगा गाउँपालिका ८, बराह पोखरी गाउँपालिका ९, केपिलासगढी गाउँपालिका १६, ऐसेलुखर्क गाउँपालिका १०, लामिडाडाँ गाउँपालिकाबाट ७, हलेसी तुवाचुङ नगरपालिका १५, रुपाकोट मझुवागढी नगरपालिका बुईपा २१ र सोही नगरपालिकाको दिक्तेलबाट ४५ जना खोटाङ आईडलको दोश्रो चरण अडिसनका लागि छानिएका छन् ।

‘निर्जला’ सुटिङ्ग सकियो

नारी चरित्र प्रधान रहेको फिल्म ‘निर्जला’ को सुटिङ सकिएको छ । भक्तपुरको घ्याम्पे डाँडामा दसैं गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो । 
त्यसो त फिल्म पनि आगामी दशैंकै छेको पारेर रिलिज गरिने बताइएको छ ।
दिनेश सुवेदीको शब्दमा बाबुल  गिरीको संगीत रहेको दसैं गीतमा सुजता बर्मा र बाबुल स्वयंले स्वर भरेका छन् । गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन् भने कमल राईले यसको कोरियोग्राफी गरेका हुन् ।
राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेको निर्माण रहेको फिल्ममा शुभेच्छाकै कथा तथा संवाद रहेको छ । निर्देशक गिरी र नायिका थापाको जुगलबन्दीमा यसअघि बनाइएका फिल्मलाई दर्शकले अश्लील मानिदिएपछि व्यावसायिक रूपमा कमजोर सावित भएका थिए । यस पटक ‘निर्जला’ पूर्णतः नेपाली शैलीको हुने दाबी गर्दै यसअघि लागेका अश्लीलताको ट्यागलाई पनि यस फिल्मले हटाउने दुवैले विश्वास लिएको बताए । निर्देशक गिरीले अश्लील लाग्ने कुनै दृश्य समावेश नगरेकोले पनि परिवारसहित बसेर हेर्न मिल्ने फिल्म बन्ने जिकिर गरे ।
व्यवसायीसमेत रहेका प्रकाशचन्द्रले यसै फिल्ममार्फत निर्माणमा हात हालेका छन् । फिल्ममा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, शर्मिला श्रेष्ठ, राजकुमार थापालगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’ मा अशोक खडकाको द्वन्द्व तथा रवि कोइरालाको छायांकन रहेको छ ।

लेख 

यसकारण प्रदेश राजधानी दिपायल

रामहरी ओझा

प्रदेश नं. ७ को राजधानी दिपायल कायम हुनु पर्छ भन्ने बिषयमा पटक पटक आन्दोलनहरु भए । स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बिजय र पराजय भोग्ने सवै उम्मेदवा–रहरुले प्रादेशिक राजधानी दिपायल बनाउने कुरालाई चुनावको मुख्य एजेण्डा वनाएका थिए । प्रादेशिक          राजधानी दिपायल तोक्नु पर्ने माग राख्दै पुष १२ गते देखि नियमित आन्दोलनको सुरुवात भयो डोटीमा । डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्का नेतृत्वको आन्दोलन संयोजन समितिले तय गरेको साताव्यापी संघर्षका कार्यक्रम समापन भएकै दिन थियो गत मंगलबार । बिभिन्न सञ्चारमाध्यमबाट सरकारले ७ नंं. प्रदेशको राजधानी कैलालीको धनगढी तोक्ने गरी तयारी गरेको कुरा आयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको हवाला दिदै प्रकाशित तथा      प्रशारित समाचारले डोटीमा नयाँ तरंग सृजना ग¥यो । मंगलबारै सडकमा टायर बाल्ने र सरकारको उक्त तयारीको बिरुद्धमा नाराबाजी गर्ने क्रम सुरु भयो । बुधबार अलि बढीनै चर्कियो आन्दोलन । शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय दिपायलमा तोड्फोड भयो, क्षेत्रीय निर्देशनालयहरुमा तालावन्दी गर्ने काम भयो । आन्दोलन जारी छ । आन्दोलन आक्रोसित बन्दै गएको छ र यस्तै हो भने अनियन्त्रित बन्दै जाने छ । 
कुनै पनि आन्दोलनको निश्चित मापदण्ड हुन्छ र कमाण्डिङ्ग हुन्छ । मापदण्ड तय नगरि गरिएको आन्दोलन र कमाण्डरले कमान गर्न नसकेको आन्दोलन अराजकतातिर जान्छ, त्यसपछि आन्दोलन हुँदैन, अपराध हुन्छ, जसको लक्षण यो आन्दोलनमा पनि देखियो । आकस्मिक रुपमा बन्द गरिएका कारण वाटोमा रोकिएका सवारी साधनहरुलाई गन्तव्यमा पुग्न दिने भन्दै समितिले गरेको निर्णय मान्दैनौं भन्ने कुरा आए, आन्दोलनकारीहरु आपसमा बाँझाबाँझ गर्न थाले । मदिराको मातमा आन्दोलन गर्ने साहस जुटाउन थालेको अनुभुति भयो । यो पक्कै पनि राम्रो कुरा होईन । 
यद्यपी नेपालको संबिधान २०७२ को धारा २८८ को उपधारा २ अनुसार प्रदेशको राजधानी सम्वन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाई बहुमतले निर्णय गरे बमोजिम हुनेछ । उपधारा २ अनुसार राजधानी नतोकिएसम्म नेपाल सरकारले तोकेको स्थानबाट प्रदेशको प्रशासनिक कार्य सञ्चालन हुने कुरा उपधारा ३ मा उल्लेख गरिएको छ । नेपालमा हालसम्म जारी भएका सातवटा संबिधानमध्ये यो संबिधान उत्कृष्ठ भन्दै हामीले दिपावली गरेको जम्माजम्मी दुई बर्ष मात्रै बितेको छ । त्यतिबेला यो संबैधानिक व्यवस्था हामीले स्वीकार ग¥यौं । संबिधान सभामार्फत संबिधान जारी गरेको भन्दै हामीले तत्कालीन सरकारको र सभासद्हरुको मुक्तकण्ठले प्रसंशा ग¥यौं । आज त्यही व्यवस्थाका बिरुद्ध संघर्ष गर्दैछौं । देशका बिभिन्न स्थानहरुमा राजधानीकै लागि आन्दोलन हुँदैछ । बिना हातहतियार शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनु हाम्रो मौलिक हक हो तर नीति, बिधि र पद्धति पनि महत्वपूर्ण कुरा हो । संबिधान अनुसार सरकारले अस्थायी केन्द्र तोक्ने अधिकार राख्छ । नतोकेसम्म सभ्य एवं शान्तिपूर्ण आन्दोलनमार्फत सरकारलाई दवाव दिऔं, तोकिसकेपछि सरकारी निर्णय स्वीकार गर्ने हिम्मत पनि राखौं ।  
डोटीबासीले गर्ने आन्दोलनसंग एजेण्डा छ, दम छ र तर्क छ । दिपायलले कसैको अधिकार खोस्नका लागि वा कसैलाई मार्कामा पार्नका लागि आन्दोलन गरेको होईन । डोटीले नयाँ राजधानी मागेको होईन पुरानै ‘कायम’ गर्न भनेको हो, जो उसको ईतिहाससंग जोडिएको छ अर्थात डोटेली राज्यदेखिनै प्रशासनिक केन्द्र रहेको दिपायललाई फेरी पनि कायमै राख्नु पर्छ भन्ने माग हो । डोटीबासीसंग यि सात मुख्य कुरा छन् जसले प्रदेश नं. ७ को राजधानी दिपायल कायम हुनु पर्छ भन्ने द¥हो प्रमाण पेश गर्छ ः
ऐतिहासिकता ः 
डोटी आफैमा राज्य हो । नेपाल एकिकरणको अभियानमा डोटी राज्य नेपालमा गाभियो । राणा शासनका बेला देशका चार गौणामध्ये पश्चिम गौणाको प्रशासनिक केन्द्र डोटीमा थियो । त्यो आधारमा डोटी उहिलेदेखिकै केन्द्र हो । कर्णालीदेखि हाल भारतमा पर्ने कुमाउ, गड्वाल लगायतका क्षेत्रहरुको केन्द्र डोटी थियो । 
राजा महेन्द्रले देशलाई चार बिकास क्षेत्रमा बिभाजन गरेपछि सेती महाकाली अञ्चल अन्याय भएको ठानेर २०३८ सालमा राजा बिरेन्द्रले सुदूरपश्चिमाञ्चल बिकास क्षेत्र घोषणा गरे र त्यसको क्षेत्रीय सदरमुकाम पनि दिपायल बनाए । यो एउटा अर्को आधार हो डोटेलीहरुको राजधानी दावी गर्ने । 
भौगोलिकता ः
भौगोलिक दुरीका आधारमा प्रदेश नं. ७ मा रहेका नौ जिल्लाहरुको केन्द्र भागमा पर्ने डोटीनै हो । फिता बोकेर नाप्दै जाँदा दुई÷किलोमिटर तलमाथी हुने कुरा एउटा होला नत्र समदुरीका हिसावले हेर्ने हो भने दिपायलनै उपयुक्त हो । दिपायलदेखि अछाम ११७ किमि, दिपायल–बाजुरा १३५ किमी, दिपायल, दिपायल–बझाङ १९२ किमी, दिपायल–बैतडी १४२ किमी, दिपायल–दार्चुला २४९ किमी, दिपायल–डडेल्धुरा ५७ किमी, दिपायल–कञ्चनपुर २१३ किमी र दिपायल–कैलाली १८७ किमीको दुरीमा रहेका छन । यसैमा यदि खुटिया–बिपीनगर–दिपायल सडक, बन्डुंग्रीसैन (डोटी)–खोड्पे (बैतडी) सडक, दिपायल–चैनपुर, बझाङ्ग सडक निर्माण भयो भने कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र बझाङ्गको दुरी करीव आधामा झर्नेछ । 
भौतिक पूर्वाधार ः 
अहिले डोटीमा भौतिक पूर्वाधार नै छैनन् भनेर हल्ला फैलाउने काम भएको छ । क्षेत्रीय निर्देशनालय र डिभिजन कार्यालयहरुका २६ वटा भवन छन । त्यस्तै स्थानीय तहमा समायोजनपछि जिल्लास्तरीय १३ सरकारी कार्यालयका भवनहरु पनि खाली हुनेछन । २६ र १३ जोड्दा ३९ हुन्छ । ३९ सरकारी कार्यालय अहिलेनै बनेका छन । त्यस्तै नेपाल प्रहरीको क्षेत्रीय कार्यालय, नेपाली सेनाको सुदूरपश्चिम पृतना र अनुसन्धान लगायतका सुरक्षा निकायका भवनहरु, न्यायालयका भवनहरु, जिल्ला प्रशासन कार्यालयको भवन पनि छन । 
संघीयताको नयाँ अभ्यास गरिरहेको मुलुकले प्रादेशिक प्रशासनिक खर्च जुटाउन समेत दाता खोज्नु पर्ने अवस्था रहेका बेला हामीसंग भएका संरचनाहरु अलपत्र छोडेर नयाँ संरचना निर्माणका लागि फेरी दाताहरुसंग भिख माग्नु उपयुक्त हुँदैन । अहिलेको अवस्थामा पर्याप्त भौतिक संरचनाहरु छन डोटीमा । यसलाई उपयोग गर्नु पर्छ र अपुग संरचनाहरु थप गर्दै जानु पर्छ ।  
क्षेत्रीयस्तरका कार्यालयहरु सञ्चालनका लागि बनाईएका यि भवनहरुसंगै सरकारले अधिग्रण गरेर राखेको तर कुनै प्रयोगमा नल्याएको करीव एक सय ५० रोपनी जमिन छ । त्यहाँ प्रसस्त ठाउँ छ । तीन सय जना क्षमताको सिटी हल तयार हुने क्रममा छ । क्षेत्रीयस्तरको खेल मैदान छ । बिमान स्थलको स्तरोन्नतीको काम तिब्र गतिमा चलेको छ । 
व्यापार व्यवसायको दृष्टिले ठुल्ठुला नीजि भवनहरु र सपिङ्ग मलहरु निर्माण भईरहेका छन् । यो अर्को प्रमाण हो डोटीनै राजधानी हुनु पर्छ भन्नका लागि । 
प्रदेशस्तरमा अन्य निकायहरु ः
राज्यका तीन अंगहरुमध्ये न्यायपालिकाको प्रदेशस्तरीय संरचना उच्च अदालत दिपायलमा स्थापना भईसकेको छ । प्रदेश प्रहरी प्रमुखको कार्यालय दिपायलमै स्थापना भईसकेको छ । नेपाली सेनाको प्रदेशस्तरीय पृतना मुख्यालय दिपायलमै छ । प्रहरीको प्रदेश प्रहरी शिक्षालय दिपायलमै रहेको छ । नेपाल कृषि अनुसन्धान परिषद्को क्षेत्रीय कृषि अनुसन्धान केन्द्र दिपायलमै छ । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र, सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रदेशस्तरीय कार्यालय लगायतका निकायहरु यस अघिनै डोटीमा स्थापना भईसकेका छन । यसले पनि प्रदेश राजधानीमा डोटेलीको दावीलाई मद्दत गर्छ । यता स्थापना भईसकेका निकायहरुलाई फेरी सार्नुको कुनै अर्थ हुँदैन । 
सामरिक महत्वको दृष्टिकोले ः 
सामान्य अन्तराष्ट्रिय मान्यता दुई देशको सिमानामा लगेर राजधानी राख्नु उपयुक्त हुँदैन भन्ने छ । यद्यपी  धेरै मुलुकका राजधानी सिमानामा रहेका पनि देखिन्छन् तर पनि त्यो त्यति राम्रो हुँदैन । खुला सिमानाका कारण अहिले पनि सिमा पारबाट कैलाली कञ्चनपुरमा आएर दिउसै अपराध गरेर जानेहरुले भोली राजधानी समेत त्यतै राखियो भने राज्यका महत्वपूर्ण दस्तावेजहरु र महत्पूर्ण व्यक्तिहरुको सुरक्षा अवस्था के हुन्छ ? यो एक थप कारण हो दिपायल राजधानी बनाउनुको । 
पहाडि जिल्लाहरुको विकास 
ऐतिहासिक राणाकालीन गौणा, सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको क्षेत्रीय सदरमुकाम जे जे भएपनि न त दिपायलको विकास हुन सक्यो न यस प्रदेशका अन्य ६ पहाडि जिल्लाहरुको बिकास भयो । यस क्षेत्रको प्रशासनिक केन्द्र नाम मात्रको दिपायल भयो । कुनै पनि प्रशासकहरु आफ्नो पुरा अवधी दिपायलमा बसेनन् । आर्थिक केन्द्रका रुपमा बिकास भएका तराईका दुई जिल्लाहरु कैलाली र कञ्चनपुरले एक प्रकारको आन्तरिक उपनिवेश लादिरहे पहाडी जिल्लाहरुमाथी । क्षेत्रीयस्तरका कार्यालयहरु दिपायल जान मानेनन् । दिपायलमा भवन बाँझै हुने तर कैलालीमा भाडामा भवन लिएर कार्यालय सञ्चालन गर्ने अवस्था समेत भयो । त्यसकारण न क्षेत्रीय सदरमुकाम दिपालयले विकासको गति लिन सक्यो त अन्य पहाडी जिल्लाहरुले । त्यसको क्षेतिपूर्ति पनि पाउनु पर्छ दिपायलले, त्यसैले दिपायल राजधानीको माग गरिएको हो । 
सिलफारिस पनि दिपायलमै भएको ः 
सहरी बिकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलसंग बुधवार मात्रै टेलिफोनमा कुरा हुँदा उनले आफुले तयार गरेको प्रतिवेदनमा कुनै बिकल्प नदिएर दिपायललाई राजधानीका लागि सिफारिस गरेको बताएका छन । प्रदेशको प्रशासनिक कार्य सञ्चालन गर्न अस्थायी केन्द्रको सम्भाव्यता अध्ययन गर्ने जिम्मा पाएको पौडेलको टोलीले विकल्प बिनैको दिपायल सिफारिस गर्दा गर्दै पनि फेरी धनगढीको प्रस्ताव तयार हुनु ‘को बढी जान्ने भएका होलान ?’ भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । आफ्नै प्रशासकहरुलाई बिश्वास नगर्ने शासकहरुले कसरी जनतालाई न्याय दिन सक्छन र ? यो समितिको प्रतिवेदन अर्को आधार हो ।
अन्य थुप्रै कारणहरु छ, जो राजधानी दिपायल हुनु पर्ने आधार हुन । यद्यपी दिपायल राजधानी भएन भने डोटेलीको सर्वश्व गुमिहाल्ने भन्ने केही होईन । जसरी प्रचार गरिदैछ त्यो पनि गलत हुन जान्छ । ‘रगतको खोलो बगाउन तयार छौं’ भन्ने अभिव्यक्तिहरु दिनु त एउटा   कुरा होला तर आन्दोलनको नाममा उत्छृंखलता प्रस्तुत गर्नु सान्दर्भिक होईन । दिपायल  राजधानी बनाईनु पर्छ त्यो हाम्रो पहिलो दावी हो ।
डोटेली जनताले थप कुरा मागेका छैनन्, न कसैबाट खोसेर दिपायल राजधानी बनाउने भन्दैछन् । जे थियो त्यसैको निरन्तरता खोजका हुन । यदि दिपायल भन्दा उपयुक्त अरु कुनै ठाउँ हो भन्ने दावी हो भने आधार र प्रमाण सहित आउनु प¥यो । कुनै व्यक्तिलाई वा कुनै स्थानलाई होच्याएर राजधानी कायम हुन सक्दैन । दिपायल राजधानीको बिकल्प छैन ।

मोफसल पत्रकारिता 

मोफसलका पत्रकारहरुमा लगनशिलताको कमी छ

विजयकुमार बौडेल
पाल्पा जिल्ला रिपोर्टर, अनलाईन खवर डट कम
तपार्इंको पुरा परिचय पाउँ न ? 
— म विजयकुमार बौडेल । मेरो घर पाल्पा जिल्ला तानसेन नगरपालिका–९ खर्केडाँडा । दक्षिण एसियाकै पहिलो गाउँले सामुदायिक रेडियो मदनपोखरामा विगत ४ बर्षदेखी कार्यरत छु । नेपालमै सर्वाधिक रुपमा हेरिने अनलाईनखबर डट कममा पाल्पा रिपोर्टिंग गर्छु । पाल्पाकै माडिखबर डट कममा पनि सम्पादक छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ? 
— नेपालको परिस्थितिमा पत्रकारिता भनेको आफैमा    रोजेर, चाहना भएर आउने विषयबस्तुभित्र पर्दैन । सोही अनुसार म पनि सोचेर, योजना बनाएर पत्रकारितामा प्रवेश गरेको चाँही होईन । तर सानै हुँदा समाजमा पत्रकारलाई गर्ने सम्मान देखेर पत्रकार हुन चाँही मन लाग्थ्यो । समाजमा धेरै कुराको जानकारी पत्रकारलाई हुन्छ भन्ने मान्यता अझै पनि छ । एक हिसाबले वास्तविक पनि हो । साथीभाई पैसो कमाउने मेलोमा लाग्दा मलाई भने मानसम्मान प्यारो लाग्यो । पत्रकारिता रोज्न पुगें ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— सामान्यतया गर्ने पत्रकारिता पत्रकारिता नै होईन । सहकारीका साधारणसभाका समाचार, फलानाको अध्यक्षता, फलानाको सञ्चालन, बार्षिकोत्सव सम्पन्न भन्ने समाचारले पत्रकारलाई हनुमानगिरीतर्फ डो¥याउँछ । मलाई खोजपत्रकारिता मन पर्छ र गर्ने नै त्यै हो । जसले समाजमा लुकेर रहेका विकृत्ति, विसंगति र कालो अनुहारहरु बाहिर ल्याउन मदत गरोस । हार्ड न्युजको कुरा अलग हो । जुन जरुरी छ । जुनसुकै खाले खोजपत्रकारितामा बिट भने फरक फरक हुन सक्छ । मैले प्राय समसामयिक राजनीतिका बिषयमा कलम चलाउने गरेको छु ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ? 
— पत्रकारिताको सुरुवाती गासमै ढुंगा चपाउनु परेको थियो मलाई । त्यही पहिलो सिकाईले अहिलेसम्म धेरै ढुंगा चपाईसकें । अहिले त वानी पर्न लागिसकेको छ । कुनै एउटा तालिमको शिलशिलामा खोज पत्रकार शिव गाउँलेले भनेको कुरा याद छ मलाई । उहाँले “अलिअलि पनि डर लाग्छ भने पत्रकारिता आजैबाट छाडिदिनुस् प्लिज” भन्नुभएको थियो । त्यो दिनदेखि ठुलो आत्मबल बढ्यो । समाचार लेखेकै भरमा आउने गाली, धम्की सामान्य कुरा हो । पत्रकारिता भनेकै अपजस आउने काम हो । तर सही विचार र सोंच भएकाले कहिल्यै पत्रकारलाई गाली, धम्की दिँदैनन् । खराव चरित्र र गलत व्यक्तीहरुले मात्र समाचार र समाचार लेख्ने पत्रकारलाई गाली गर्छन । फेरी लोभिपापी र केही कौडीमा बिक्ने पत्रकार पीि छन् । तिनको हकमा यो कुरा लागु हुँदैन । एउटा सिधा कुरोलाई बत्तिस बुट्टा भरेर बाङ्गो बनाउने पेशालाई पत्रकारिता भनिने वातावरण हामीले नै तयार गरेका हौं ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि ? 
— मोफसलमा हुने सबैभन्दा ठुलो समस्या पत्रकारहरुमा लगनशिलताको कमी छ । पैसा बाहेक अरु कुराको हिसाबले पत्रकारिता गर्ने मोफसलमा नै हो । मोफसलमा भएका ग्रामिण बिषयबस्तु उठान गर्दा, त्यहाँका जनताको समस्या बाहिर उजागर गर्दा वेग्लै आनन्द आउँछ । त्यै कुराले पत्रकारितामा अहिलेसम्म टिकाएको छ ।
पाल्पा जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? 
— पाल्पामा पत्रकारिताको विकास मध्यम स्तरको छ । यहाँका पत्रकार र पत्रकारहरुका संस्थाले जनजीविकाका कुरा उठान गर्ने विषयमा अव्वल छन् । ८ वटा एफ. एम. स्टेशन छन् । स्थानीय टेलिभिजन र प्रसस्तै रुपमा दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक पत्रिकाहरु छन् । जति छन्, धेरैजसोले पत्रकारिताको भुमिका निर्वाह गरेका छन् । खासमा पत्रकारिता भनेको नागरिकका लुकेर रहेका आवाजहरु, गुनासाहरु बाहिर जागर गर्ने र समाधान गर्ने निकायलाई खबरदारी गर्ने हो । त्यो कुरामा पाल्पाली पत्रकार र सञ्चारमाध्यम निकै जागरुक छन् । पाल्पा पत्रकारिताको लामो ईतिहास बोकेको जिल्ला हो । जुनसुकै काल र परिस्थितिमा पनि यहाँका पत्रकार र सञ्चारमाध्यम डग्मगाएको ईतिहास सुनिएन । माओवादीले गरेको सशस्त्र युद्धको बेला होस् या राजतन्त्र मोलाएको बेला होस् । पाल्पाली सञ्चारमाध्यमले कहिल्यै कसैको गुलामी गरेन । बरु कलम समाउने धेरै पत्रकारले जेल र नेल भोगे । त्यसैले पनि हामी जस्ता पाल्पाका नयाँ पुस्ताका पत्रकारहरुलाई हौसला बढेको छ । सय प्रतिशत त कही पनि हुँदैन भनेजस्तै पाल्पाली पत्रकारि–ताभित्र पनि समस्या त छन् तर समस्या भन्दा धेरै    गौरव गर्ने ईतिहास र सम्मान योग्य वर्तमानले पाल्पाली पत्रकारिताको शिर उँचो बनाएको छ ।
मोफसल पत्रकारिताका समस्या समाधान गर्न    सरकारले कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?
— सरकारले सबैभन्दा पहिले पत्रकारलाई तलबभत्ता खुवाउने सञ्चारमाध्यमको अवस्था बलियो बनाउनु     पर्छ । सडकछेउँ खुलेका चियापसल सरि अललाईन र पत्रिका तथा एफ.एम. रेडियोहरुले पत्रकारलाई काम गराएर तलव खुवाउन सक्ने स्थिति छ की छैन मुल्यांकन पनि गर्नुपर्छ, त्यसै अनुसार लाईसेन्स वितरण गर्नुपर्छ । लोककल्याणकारी विज्ञापन वितरणमा पनि बैज्ञानिक पद्धति लागु हुनुपर्छ । सम्बन्धित निकायबाट औपचारिक समाचार आउनु पुर्व नै गेस गरेको भरमा भ्रामक र कपोकल्पित समाचार बाहिर ल्याउने सबै मिडियालाई कारबाही गरिनु पर्छ । तब मात्र सही सूचना प्रणालीले पत्रकारिता जगतको विश्वसनीयता बढ्न जान्छ ।
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधान गर्न नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ? 
— कामै नगरेका त होईनन् । तर देखिने काम पनि भएको छैन । महासंघको नेतृत्व हत्याउन र नेता पत्रकार बन्न मात्रै बनेको महासंघको भान धेरै पत्रकारले अनुभुती गरेका छन् । केही गरेका राम्रा निर्णय पनि कार्यान्वयन हुने स्थितिमा छैनन् । जसले  पत्रकारिता मास्ने र दलीय हुमानगिरी गर्ने काम गर्छ । उही महासंघको नेतृत्वमा पुग्ने परिस्थितिको अन्त्य नहुँदासम्म पत्रकार महासंघको भुमिका निर्वाह हुन सक्दैन । धेरैथोरै काम र         औपचारिकतामा सिमित रहेर काम गरिरहेकै छन् । सन्तुष्ट हुने स्थिति भने छैन । गर्न मिल्ने र सक्ने कामहरु धेरै छन् । जो बाँकी छन् ।
तपाइको विचारमा पत्रकारिता के हो ?
— मनमा पाप र कुनै पनि स्वार्थ नबोकी लेखेको समाचारले केहीलाई हानी त गर्ला तर समग्र समाजलाई फाईदा नै गर्छ । त्यही नै पत्रकारिता हो । आत्तिनै पर्दैन । अरु आर्थिक रुपमा पर्ने समस्या त सामान्य नै हो । पैसा नै कमाउने हो भने पत्रकारितामा कोहि पनि नआए हुन्छ । पैसा कमाउन त व्यापार गर्ने हो नी ! अर्को कुरा मेहेनत बढी गर्नु पर्छ भन्ने हो । मेहेनत त जहाँ पनि गर्नु पर्छ । पत्रकारितामा मेहेनत नगरिकन चल्नै गाह्रो हुन्छ । एउटा नेतामा र पत्रकारमा जहिले पनि अरु भन्दा भिन्न हुने चाहना भएन भने उ गतिशिल हुनै सक्दैन । आजकल पत्रकारितामा मेहेनत बिना कपीकारिता र पेष्टकारिता अली बढी चलनचल्तीमा छ । जुन पत्रकारितामा कहिल्यै निको नहुने हो ।
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
— सामान्य मान्छेबाट पत्रकार भनेर चिनिएको छु, २४ बर्षको उमेरमा कमाई हुने बाटो छोडेर नामको पछि दगुरेको देख्दा रेडियोमा कैलेसम्म गर्छस ? बिदेश नजाने ? जस्ता प्रश्न आउँदा झसंग हुन्छु । अनि सोंच्छु । जिउँदो हुँदा गरेको कामले मरेपछि २÷४ जना मलामी थप्न सके भैगो । पैसा नभएपनि तिनिहरुले लाश कुहिन त नदेलान । नामका लागि अनि थोरै दामका लागि र समाज परिवर्तन, सामाजिक र आर्थिक विकासका लागि पत्रकारिता र सामाजिक कार्य क्षेत्र सदा सदा खुल्ला छ, तर आम्दानीको लागि मात्र पत्रकारिता हैन भनेर अघि बढीरहेको छु ।
समय र बिचारका लागि धन्यबाद ।
— लोकप्रिय पत्रिका बिम्ब नेपाली साप्ताहिकलाई धेरै  धेरै धन्यवाद । मेहेनती र तिव्र रचनाशैली हुनुभएका र मलाई मेरो बिचार पोख्न निमन्त्रणा गर्नुहुने पत्रकार मित्र रामहरी ओझालाई पनि धेरै धेरै धन्यवाद । मोफसलका पत्रकारहरुको समस्या र बिचारलाई पत्रिकामा स्थान दिनुभएको कुरा एकदमै सकारात्मक छ । थप सफलताको शुभकामना । जय पत्रकारिता ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. डटपेनको अविष्कार कसले गरेका हुन् ?     — जोन जे. लाउड
२. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?— वि.सं. २०६४ असार २३
३. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?    — टेनिस
४. खुट्टामा जिव्रो हुने जीव कुन हो ?     — पुतली
५. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?    — आँखा झिम्काउनु
६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?      — तीतो
७. मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?   — १३ प्रकारका
८. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?      — रुघा
९. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?     — डुक एयर
१०. याहुका संस्थापक को–को हुन् ?     — डेविड फिलो र जेरी याङ्ग
११. सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?   — स्पेन
१२. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?   — भेनेजुयलामा 
१३. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?     — ४ डलर
१४. सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?   — प्रसिद्धजङ्ग राणा
१५. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?    — गुल्मी
१६. नेपालमा गद्य कविताको शुरुवात गर्ने साहित्यकार को हुन् ?     — गोपाल प्रसाद रिमाल
१७. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?     — जापान
१८. भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?  
— मूल सर्वास्ति विनय
१९. लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?    — ईश्वरको पार्टी
२०. अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?   — नेपालको चितवनमा
२१. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? 
— माइक्रोसफ्ट कर्पोरेशन
२२. सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?     — 
सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२३. लोटस–१२३ केसँग सम्बन्धित छ ?     — कम्प्युटर
२४. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?   — इजरायल
२५. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?  
— चाल्र्स डार्बिन
२६. अन्तराष्ट्रियस्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?     — कृष्णकुमार पाण्डे
२७. पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ ?       — ०.९ सेकेन्ड
२८. कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?  
— अस्ट्रेलियाको सिड्नी
२९. सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–बिजेता भएको थियो ?   — नेदरल्याड
३०. नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ?   
 — वि.सं. २०६६ मंसीर १ गतेबाट 
३१. फिलामेन्ट बत्तीको आयु कति हुन्छ ?    — १००० घण्टा
३२. नेपालको पहिलो सर्च इन्जिन कुन हो ?     —  भ्दगशशबकष्ब।अयm
३३. हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?     — हेलियम
३४. भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?   — दुर्गा मल्ल
३५. जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?   — सिन्धुपाल्चोक
३६. लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ?  — कलैया (बारा)
३७. नेपालको सबैभन्दा होचो भाग कुन हो ?   — मुसहरनिया ५९ मि.(धनुषा)
३८. इतिहासका पिता भनी कसलाई भनिन्छ ?   — हेरोडोटस
३९. क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?  — पास्कल
४०. घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?  — ३० डेसिबल
४१. नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ?    — वि.सं. २०६३ माघ १
४२. संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ? 
— विजया लक्ष्मी पण्डित (भारत)
४३. पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ?   — स्टेट बैंक अफ पाकिस्तान
४४. विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?    — भारत
४५. नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?   — सर एडमण्ड हिलारी
४६. ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ?     — जे.के.रोलिङ
४७. प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?   — लेबनान
४८. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?      — ४६ शब्द र १२८ अक्षर
४९. संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक कुन हो ?    — बेलायत
५०. अठारौं सार्क शिखर सम्मेलन कहाँ भएको थियो  ?   — काठमाडौं (नेपाल)

साहित्य/सृजना 

गाली 

तिमिले प्रेमले दिएको 
गाली नै मन पर्छ 
बरु मलाई 
कसैका 
मिथ्या बर्णन भन्दा, 
तिमी गाली गर्दा पनि 
यति मायालु पारामा गरिदिन्छौ कि 
मानौ 
तिम्रो गाली 
मेरो लागि 
गाली नभएर
ताली हो
तिमिले मलाई
प्रेम दर्शाएको हो
तिमि गालि गर्दा खेरी पनि 
कतै
माहुरीले जम्मा गरेको
मह त चोर्दैनौ ?
जुन यति मिठो लाग्छ
त्यसैले त,
अरुका मिथ्या वर्णन भन्दा पनि
तिम्रो गाली प्रिय लाग्छ मलाई
तिम्रो गालीमा पनि
माधुर्यता छ
तिम्रो गालीमा पनि
आफ्नोपन छ
सबै भन्दा ठुलो कुरो
तिम्रो गालीमा
प्रेम लुकेको छ
त्यसैले होला
मलाइ पनि
तिम्रो गाली खाने बानी परिसक्यो
म त
जीवनभर
तिमीले
प्रेमले दिएको गाली खान
तयार छु
कसैको मिथ्या वर्णन भन्दा
तिमिले 
प्रेमले दिएको
गालीको स्वाद नै
बेग्लै छ
अलौकिक छ
त्यसैले त,
मलाइ
अरुका मिथ्या वर्णन भन्दा
तिमिले दिएको 
गाली नै मन पर्छ ।
पुस्पा जोशी  “काली’’ 
धनगढी ,कैलाली

सूचना/सन्देश/बिज्ञापन 

सूचना !               सूचना !!             सूचना !!!

यस दिपायल सिलगढी नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम तपशिलको मिति, समय र स्थानमा हुने भएको हुँदा नगरपालिकाभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, उपभोक्ता समिति, उद्योगी, व्यापारी, नागरिक सचेतना केन्द्र, जेष्ठ नागरिक, महिला, दलित, बालक्लवका प्रतिनिधिहरु, गैससहरु, सञ्चारकर्मी एवं आम नगरवासीहरुमा हार्दिक अनुरोध छ । 
 तपशिल 
मिति ः २०७४÷०९÷२८ गते 
समय ः बिहान ठिक ११ वजे 
स्थान ः दिपायल सिलगढी नगरपालिकाको सेती सभाहल

सका आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/०९/१४ 
उपरोक्त सम्बन्धमा बडीकेदार गाउँपालिका–३, पाल्सेनी, घाङल डोटीमा रहेको यस श्री बालज्योति प्राथमिक बिद्यालयमा रिक्त रहेको तपशिल अनुसारको सहयोगी कार्यकर्ता पद खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७४÷०७५, 
पद ः बाल बिकास सहयोगी कार्यकर्ता 
संख्या ः १    
किसिम ः अस्थायी,    
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका  (एसएलसी÷एसइई) वा सो सरह उत्तीर्ण, 
उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता 
दरखास्त दस्तुर ः रु.१०००÷–
तलव सुबिधा ः नेपाल सरकारको नियमानुसार 
पेश गर्नुपर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
पासपोर्ट साईजको फोटो २ प्रति  
तालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷०९÷२८ गते 
सम्पर्क मिति ः २०७४÷०९÷३० गते 
परीक्षा मिति ः सम्पर्क मितिका दिन जानकारी गराईने छ ।
नोट ः स्थानीय, महिला, दलित, जनजाति तथा अपाङ्गता  भएकालाई प्राथमिकता दिईनेछ । म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुने छैन ।
सम्पर्कका लागि ः ९६१९४१७२१३


दिपायल सिलगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयसिलगढी, डोटी प्रदेश नं. ७

सूचना प्रविधि अधिकृत करार सेवामा भर्ना सम्वन्धि पुनः प्रकाशित सूचना

सूचना पुनः प्रकाशन मिति ः २०७४/०९/२४
उपर्युक्त सम्वन्धमा यस नगरपालिकाको मिति २०७४÷०८÷२६ गतेको प्रकाशित सूचनामा केही संसोधन योग्यता तथा दरखास्त शुल्क सम्वन्धमा अन्यथा भएकोले मिति २०७४÷०९÷१७ गतेको निर्णयानूसार पूर्व प्रकाशित सूचना अनूसार दर्ता भएका दरखास्तहरु कायम राख्दै पुनः सात दिनको सूचना प्रकाशित गर्ने निर्णय भएकोले ईच्छुक नेपाली नागरिकहरुले आफ्नो योग्यताको प्रमाण पत्र, नेपाली नागरिकको प्रमाण पत्र तथा अन्य प्रामाणहरु (अनूभव सम्वन्धी) को फोटोकपी सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (लोकसेवा आयोगले  निर्धारण गरेको दरखास्त) रितपूर्वक निम्न शर्तको अधिनमा रही दरखास्त दिन हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
निम्न 
१. पद सूचना प्रविधि अधिकृत 
२. आवश्यक संख्या ः १ 
३. पारिश्रमिक ः मासिक रु. ४००००÷– 
४. योग्यता ः कम्प्युटर ईन्जिनियरिगंमा स्नातक वा ईलेक्ट्रोनिक ईन्जिनियरिङ्गमा स्नातक वा ईलेक्ट्रिकल र ईलेक्ट्रोनिक ईन्जिनियरिगंमा स्नातक वा ईलेक्ट्रोनिक र कम्युनिकेसन ईन्जिनियरिङ्गमा स्नातक गरेको, मान्यता प्राप्त शिक्षण संस्थावाट Computer jf Information and Communications Technologies वा सो सरहको विषयहरु मध्ये कूनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, VCA, BCIS, DEIT, DSc, IT, CSIT) गरेको उपाधीलाई आधार मान्ने । 
४. उमेर १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको । 
५. दरखास्त दिने मिति ः यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सो दिन 
विदा परे भोली पल्ट । 
६. सम्पर्क मिति ः दरखास्त दिने अन्तिम मितिको भोली पल्ट सो दिन विदा परेमा भोली पल्ट  
७. दरखास्त दिने स्थान ः  दि.सि.न.पा. कार्यालय, डोटी 
८. दरखास्त दिने माध्यम ः  ईमेल, फ्याक्स, हुलाक, स्वंम उपस्थित भएर दिन सकिनेछ । 
९. दरखास्त छनौट ः  छनौट तथा सिफारिस समितिले तयार गरेको छोटो सूची (short List)  एवं निर्धारित मापदण्डको आधारमा छनौट गरिने छ । 
१०. दरखास्त दस्तूर     ः रु. १०००÷– (एक हजार मात्र) तिरेको यस कार्यालयको नगदी रसिद वा यस कार्यालयको रा.वा. वैंक डोटीस्थित ग ४३०२ नं. को खातामा जम्मा गरेको भौचर संलग्न हुनु पर्ने छ । 
११. अन्य जानकारीकालागि कार्यालयमा कार्यालय समयमा सम्पर्क नं. फोन नं. ०९४–४२०२९७ मा सम्पर्क गर्न सकिने छ । 

दिपायल सिलगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयसिलगढी, डोटी प्रदेश नं. ७

औषधी तथा सर्जिकल सामाग्री खरिद सम्वन्धी सिलवन्दी दरभाउ पत्र आव्हान

(आ.व. २०७४/०७५)
प्रथम पटक सूचना प्रशासन मिति ः २०७४/०९/२४ 
उपर्युक्त सम्वन्धमा यस कार्यालय अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरुवाट वितरण गरिने निःशुल्क प्राथमिक स्वास्थ्य सेवाका औषधी तथा सर्जिकल सामग्रीहरुको खरिद कार्य सिलवन्दी दरभाउ पत्रको सूचना मिति २०७४÷०९÷२४ गते (प्रथम पटक सूचना प्रकाशित) मा दिपायल सिलगढी नगरपालिकाको कार्यालय डोटीीमा टाँस गरिएकोछ । वोलपत्र फाराम दस्तुर रु. १०००÷– (एक हजार मात्र) तिरी यस कार्यालयमा सूचना प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समयभित्र  खरिद गरि १६ औं दिन दिनको १२ वजेभित्र दरभाउ पत्र फाराम भरि यस कार्यालयमा दर्ता गर्न हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यदि वोलपत्र किन्ने अन्तिम दिन वा दाखिला गर्ने दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट उक्त समय भित्र दरभाउ पत्र खोलिने   छ । लागत अनुमान रु. ९६३१८८.८३ मु.अ.कर र कन्टेन्जेन्सी वाहेक ।


शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/०९/२३ 
उपरोक्त सम्बन्धमा के आई सिंह गाउँपालिका–४, वायल डोटीमा रहेको यस श्री झिमे मालिका माध्यामिक बिद्यालयमा रिक्त रहेका तपशिल अनुसारका शिक्षक पदहरु खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
१. बिज्ञापन नं. ०१÷०७४÷०७५,  पद ः शिक्षक,  संख्या ः १ जना,  बिषय ः सामाजिक,   
तह ः माध्यामिक, श्रेणी ः तृतीय (अस्थायी करार) 
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण (समाज शास्त्र बिषयलाई प्राथमिकता),  आवेदन दस्तुर ः ३०००÷– 
२. बिज्ञापन नं. ०२÷०७४÷०७५, पद ः शिक्षक, संख्या ः १ जना, तह ः नि.मा.बि. 
श्रेणी ः अस्थायी करार, बिषय ः बिज्ञान 
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट बिज्ञान बिषय लिई प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण,  दरखास्त दस्तुर ः रु.२०००÷–
उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको (दुवै पदका लागि)
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता 
तलव सुबिधा ः नेपाल सरकारको नियमानुसार 
पेश गर्नुपर्ने कागजातहरु 
¨ शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
¨ नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
¨ पासपोर्ट साईजको फोटो २ प्रति  
¨ तालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷१०÷०७ गते 
सम्पर्क मिति ः २०७४÷१०÷०८ गते 
परीक्षा मिति ः सम्पर्क मितिका दिन जानकारी गराईने छ ।
नोट ः स्थानीय, महिला, दलित, जनजाति तथा अपाङ्गता  भएकालाई प्राथमिकता दिईनेछ । म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुने छैन ।
सम्पर्कका लागि ः ९८०१७२३८७१

दिपायल सिलगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयसिलगढी, डोटी प्रदेश नं. ७

राशन सिदा खुवाउने कार्यको शिलवन्दी दरभाउ पत्र अव्हान सम्वन्धि सूचना 

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/०९/२४
उपर्युक्त सम्वन्धमा यस कार्यालय अन्तर्गत जिल्ला अस्पताल डोटीमा १५ शैयाको भएको र दैनिक १५ जना विरामीहरुका लागि मिति २०७४ माघ १ गते देखि २०७५ पौष मसान्तसम्म एक वर्षका लागि राशन सिदा खुवाउने कार्यको वन्दोवस्त सिलवन्दी दरभाउ पत्र आव्हान वाट गर्नू पर्ने भएकोले ईच्छिुक ईजाजत प्राप्त व्यक्ति वा फर्मले निम्न शर्तहरुको अधिनमा रहि रितपूर्वकको सिलवन्दी दरभाउपत्र पेश गर्नू हून आव्हान गरिन्छ । 
निम्न 
१.सिलवन्दी दरभाउपत्र फाराम रु. १०००÷– (फिर्ता नहुने गरी) दस्तुर वूझाई यस कार्यालयवाट    खरिद गर्न सकिने छ । 
२. सिलवन्दी दरभाउपत्रका साथ निम्न कुराहरु संलग्न हुनु पर्ने छ । 
  (क) नेपाली नागरिकताको र ठेक्का ईजाजत पत्रको अध्यावधिक प्रमाणित प्रतिलिपि । 
  (ख) आय कर दर्ता प्रमाण पत्रको प्रमा०िात प्रतिलिपि । 
  (ग) मु.अ.कर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि । 
  (घ) अध्यावधिक कर चुक्ताको प्रमाणित प्रतिलिपि । 
  (ङ) आफुले कवोल गरेको अंकको घ (तीन) प्रतिशतले हुने रकम रा.वा. वैंक डोटीस्थित ग ४३०२ नं.को खातामा जम्मा गरेको वैंक भौचर वा मान्यता प्राप्त वाणिज्य वैंकवाट नियमानुसार जारी भएको वैंक जमानत । 
३. यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ दिनको कार्यालय समय सम्म दरभाउ पत्र खरिद गर्न सकिने छ । र १६ औं दिनको १२ वजेसम्म सिलवन्दी दरभाउपत्र दाखिला गरि सक्नु पर्ने छ । 
४. पेश हुन आएका सिलवन्दी दरभाउ पत्रहरु १६ औं दिनको दिउसो २ वजे यस कार्यालयमा खोलिने   छ । यदि वोलपत्र किन्ने अन्तिम दिन वा दाखिला गर्ने दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट उक्त समयभित्र दरभाउ पत्र खोलिने छ । उक्त समयमा दरभाउपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि खोल्न वाधा हुने छैन । 
५. राशन सिदाको नमुना सिलवन्दी दरभाउ पत्र दर्ता पेश गर्नू पर्नेछ । 
६. दरभाउको अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिनईनेछ । 
७. नियमानुसार लाग्ने कर ठेकेदारको विलवाट कट्टी गरिनेछ । 
८. ठेक्का अवधिभर कुनै मूल्य वृद्धि, क्षेती र ढूवानी रकम दिईने छैन । 
ढ.प्राप्त दरभाउ पत्र स्वीकृत गर्ने, आंशिक स्वीकृत गर्ने वा स्वीकृत नगर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ । 
१०. रित नपुगेको र म्याद नाँघी आएका दरभाउ पत्रमा कुनै पनि कारवाही गरिने छैन । 
११. यसमा उल्लेख भएको कुराहरुको हकमा यसै वमोजिम र अन्य कुराहरुको हकमा सार्वजनिक खरीद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र अन्य प्रचलित ऐन, नियम अनुसार हुने छ । अन्य कुराहरु वुझ्नु परेमा यस कार्यालयमा कार्यालय समयमा सम्पर्क राख्न सकिने छ । 
१२. लागत अनुमान अंक मू.अ. कर सहित रु. ८०००००÷– (आठ लाख मात्र)

No comments:

Post a Comment