Tuesday, July 10, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल असार २६ गते मंगलवार

सदाचारीलाई स्वागत, भ्रष्टाचारीलाई बहिस्कार । 
भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको विकास गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

स्थानीय तहका जनप्रतिनिधिहरुको एक बर्ष, के देखियो प्रतिस्पर्धीहरुको आँखाबाट ?

रामहरी ओझा 
असार २५
स्थानीय तहको निर्वाचन अन्तरगत दोश्रो चरणमा असार १४ गते भएको निर्वाचनबाट निर्वार्चित प्रतिनिधिहरुले पदभार सम्हालेको एक बर्ष पुरा भएको छ । 
निर्वाचनका क्रममा गरिएका बाचा अनुसार काम गर्न नसकेको र बिगतको भन्दा बढी अनियमितता भईरहेको आरोप लागिरहेका बेला निर्वाचनका प्रमुख प्रतिस्पर्धीहरुले पनि जनप्रतिनिधिहरुले मनोमानी   गरिरहेको आरोप लगाएका    छन् । 
डोटी दिपायल सिलगढी नगरपालिकाकाको प्रमुख पदका प्रमुख प्रतिस्पर्धी बाजीसिंह खड्का (बिजयी) जनप्रतिनिधिहरुले राजनीतिक आचरण बिपरित हैकम शैलीमा काम गरिरहेको आरोप लगाएका छन् । ‘देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हुँदाहुँदै पनि जनप्रतिनिधिहरु एकतन्त्रीय शासन जस्तो एकलौटी गरिरहेका छन्’ नेपाली कांग्रेसको तर्फवाट उम्मेदवार बनेका खड्का भन्छन् ‘राजनीतिक पूर्वाग्रही भएर योजना बाँड्ने, आफुलाई भोट दिने समुदायमा मात्रै योजना हाल्ने काम भईरहेको छ, यो राम्रो   होईन ।’ उनी केही व्यक्तिहरुलाई मात्रै फाईदा हुने तरिकाले गरेका कामबाट जनतामा असन्तुष्टी बढेको वताउँछन् । उनी थप्छन् ‘शत प्रतिशतै गलत भएको हो त म भन्दिनँ, केही सकारात्मक काम पनि भएका छन् तर सकारात्मक भन्दा  नकारात्मक बढी छन् । 
जनप्रतिनिधिहरुको कामबाट जनता सन्तुष्ट हुने ठाउँ नभएको बताउँछन् शिखर नगरपालिकाको प्रमुख पदका प्रमुख प्रतिस्पर्धी शेरवहादुर मल्ल । ‘चुनावमा जाँदा कुनै एक दलको उम्मेदवार भएर जाने कुरा लोकतन्त्रमा स्वभाविकै हो तर चुनाव जितिसकेपछि जनप्रतिनिधि कुनै दलको मात्रै हुँदैन’ तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका मल्ल भन्छन् ‘अहिलेका जनप्रतिनिधिहरु साझा बन्न सकेका छैनन् ।’ मनपरी ढंगले कार्यकर्ताहरुलाई पाल्नका लागि बजेट बिनियोजन गर्ने गरेको मल्लको आरोप छ । उनी भन्छन् ‘नीति, बिधि र प्रक्रियाको वास्ता छैन, कसरी आफु र आफ्ना कार्यकर्ताहरुलाई फाईदा हुन्छ भन्ने कुरामा बढी ध्यान छ ।’ उनी पहिलो बर्ष अनुभवको कमी भएका कारण पनि यस्तो भएको हुन सक्ने बताउँदै भन्छन् ‘तर आगामी दिनहरुमा पनि सही तरिकाले अगाडी बढ्ने लक्षण देखिदैन ।’ उनी अरुलाई अधिनायकबादी देख्नेहरुले पहिले आफु कति लोकतान्त्रिक छु भन्ने हेर्नु जरुरी भएको बताउँछन । 
सायल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार धर्मराज जोशी पनि जनप्रतिनिधिहरुको कामबाट सन्तुष्ट छैनन् । उनी भन्छन् ‘राजनीतिक व्यवस्था परिवर्तन त भयो तर जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । उनी भन्छन् ‘अधिकारको व्यापक दुरुपयोग भयो, पहिलेको भन्दा झन बढी भ्रष्टाचार बढ्यो ।’ उनी जनप्रतिनिधि र कर्मचारीहरु मिलेर भ्रष्टाचार भईरहेको दावी गर्छन । ‘नीति छैन, मापदण्ड छैन, योजना छैन, प्रक्रिया छैन’ कांग्रेसको तर्फवाट उम्मेदवार बनेका जोशी भन्छन् ‘कर्मचारी र जनप्रतिनिधिहरु कसले बढी कमाउने भन्ने होडमा मात्रै रहेको देखिन्छ ।’ उनी व्यवस्था मात्रै परिवर्तन भएर नहुने बताउँछन, भन्छन् ‘राजनीतिकर्मीहरुका व्यवहार परिवर्तन हुनु जरुरी छ ।’ 
के आई सिंह गाउँपालिकाको अध्यक्षमा प्रमुख प्रतिस्पर्धी यज्ञराज जोशी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई खुशी पार्नुको सट्टा   निराश बनाएको आरोप लगाउँछन । ‘परम्परागत शैलीमा योजनाहरु बाड्ने, जहाँ जति मन लाग्यो त्यति बजेट बिनियोजन गर्ने र कमिसन खाने खेलमा जनप्रतिनिधिहरु लागेका छन्’ एमालेबाट उम्मेदवार बनेका जोशी थप्छन् ‘राजनीतिक पूर्वाग्रही भएर एकलौटी गर्न खोज्यो भने यसले जनतालाई न्याय हुँदैन, अन्याय हुन्छ ।’ उनी अहिले जनतालाई अन्याय भईरहको बताउँछन् । सात वडा रहेको के आई सिंह गाउँपालिकामा  ३७ वटै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी भएका   हुन ।
जनप्रतिनिधिहरुले अधिनायकत्व कायम गरेको आरोप लगाउछन जोरायल गाउँपालिकाको अध्यक्ष पदका प्रमुख प्रतिस्पर्धी दिपक बिष्ट । उनी भन्छन् ‘कम्युनिष्टहरु जिते भने अधिनायकबाद लागु हुन्छ भन्थे, हो रहेछ ।’ जनप्रतिनिधि र कर्मचारीहरु मिलेर व्यापक रुपमा आर्थिक अनियमितता गरिरहेको आरोप लगाउँदै नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका बिष्ट थप्छन् ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत कानमा तेल हालेर सुतेको छ ।’ उनी आफुहरुले अख्तियारका बिरुद्ध पनि लड्नु पर्ने अवस्था आएको बताउँछन् । योजनामा कमिसन खाने गरेको आरोप बिष्टको छ ।  
बडी केदार गाउँपालिका–को अध्यक्षका प्रमुख प्रतिस्पर्धी भक्तवहादुर साउँदको आरोप पनि फरक छैन । ‘संबिधानले दिएको अधिकारको सही तरिकाले कार्यान्वयन हुन सकेन’ साउँद भन्छन् ‘जनप्रतिनिधिहरुले आफ्ना वरीपरी घुम्नेहरुलाई मात्र जनता ठानेका छन्, समग्र जनताको कुनै वास्ता छैन ।’ एमालेबाट उम्मेदवार भएका साउँद थप्छन् ‘स्थानीय तहको समग्र विकासको योजना बन्न सकेन, न त स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका कानुनहरु नै निर्माण गर्न सकेको छ ।’ उनले स्थानीय तहको जिम्मेवारी अनुसारको जनप्रतिनिधिहरुमा क्षमता नभएको आरोप लगाए । उनी थप्छन् ‘खेल कमिसनको मात्रै छ, सडकमा पैसा हाल्ने, डोजर लगाउने अनि कमिसन खाने, यस्तै यस्तै चलेको छ ।’
पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष पदका प्रमुख प्रतिस्पर्धी रामप्रसाद उपाध्यायको धारणा भने अलि परक छ । ‘एक बर्षको  छोटो अवधीमा धेरै कुरा हुने त हैन तर जुन गतिमा काम हुनु पर्ने थियो, त्यो हुन नसकेकै हो’ कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उपाध्याय भन्छन् ‘नयाँ व्यवस्था भएका कारण जनप्रतिनिधिहरुलाई अनुभव नहुँदा पनि यो समस्या आएको छ ।’ कानुनी जटिलता भएका  कारण पनि जनताले सोचे अनुसारको काम हुन नसकेको उपाध्यायको भनाई छ । ‘पहिले सवै अधिकार स्थानीय तहमा जाने भन्ने हल्लाले जनताको आकाँक्षा बढेको थियो, त्यो आकाँँक्षा अनुसार काम हुन नसक्दा निरासा छाएको छ’ स्थानीय तहको अधिकार क्षेत्रभित्रका काम कारवाहीमा अहिले पनि अन्यौलता रहेको उनको भनाई छ ।

सम्पादकीय 

व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तैछ

विगतका बर्षहरुझैं यस बर्ष पनि विकासे अड्डाहरुमा सेवाग्राहीको घुईतो छ । असारमा आउने सेवाग्राहीहरु दैनिक जसो आफुलाई चाहिने प्रशासनिक सेवाका लागि आउने होईनन्, विकास निर्माणका कामहरुका भुक्तानी लिनेहरु हुन । कर्मचारीहरुलाई फाईल हेर्ने फुर्सद् छैन, प्राबिधिकहरुलाई एमवी उठाउने फुर्सद् छैन, लेखाका कर्मचारीहरुलाई चेक काट्ने फुर्सद् छैन । सयौं चेक एकैदिनमा काटिदैछन् । 
विगतका बर्षहरुमा जसो गरी अन्तिमतिर आएर चेक काट्ने चटारो हुन्थ्यो यो बर्ष पनि त्यसै भएको छ । नयाँ व्यवस्था अर्थात तीन तहको सरकार आएर पनि देशमा केही भएको अनुभुति देखिदैन । न जनताले राम्रोसंग सेवा पाएका छन् न गुणस्तरीय विकास । विकास निर्माण हुँदाहुँदै भत्किने चलन बढेको छ । सेवा प्रवाहको अवस्था उस्तैछ । कर्मचारीहरु त थिए नै जनप्रतिनिधिहरुले समेत लोभ देखाउन थालेपछि फेरी हुने विकास पनि नहुने अवस्थामा पुगेको छ । 
“योजना पारिदिएको छु, मलाई यति प्रतिशस चाहिन्छ’ भनेर योजना छनौट देखिनै कमिसनको खेती चलाउनेहरु अहिले थप सक्रिय भएका छन । आफु उपभोक्ता समितिको अध्यक्ष वन्न पाएपछि व्यक्तिगत फाईदा कमाउने उद्देश्य वोकेकाहरु साम, दाम, दण्ड, भेदको नीति अवलम्वन गरेर अध्यक्ष बन्दैछन् । उपभोक्ताहरु समेत विकास योजनाहरुमा अपनत्व लिनको सट्टा कमिसनको खेलमा लागेका छन् । कमिसनको खेल न सही आठ घण्टाको मजदुरी गर्नु पर्ने ठाउँमा चारै घण्टा मात्रै गर्नेसम्म भएका छन् ।  
तर, व्यवस्था परिवर्तन भएको छ । हिजोको जस्तो केन्द्रिकृत एकातत्मक राज्यसत्ता छैन अव, अधिकार बिकेन्द्रित भएको छ । अव संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तीनै तहमा जनप्रतिनिधिहरु छन् । अझ भन्नु पर्दा तीन तहमा बहुमत आफुलाई समाजवादी भन्नेहरुको छ । समाजवादीहरुले हरेक कुराको सामाजिकीकरण गर्नु पर्ने हो । व्यक्तिगत सम्पत्ति समेत सामाजिकीकरण गर्नु पर्ने हो । व्यक्तिकेन्द्रित योजनाहरु र कमिसनले कस्तो समाजवाटमा पुग्न खोजेका हुन भन्ने कुराको व्याख्या हुन सकेको छैन । 
के यही हो त नयाँ नेपाल ? के हामीले खोजेको सुशासन यही हो त ? बर्षभरी घाम तापेर बस्ने अनि असारमा आएर विकास  गर्ने, त्यो विकास साउनमा बाढीले वगाएर लैजान, फेरी अर्को असारसम्म कुर्ने अवस्था त उहिलेको व्यवस्थामा पनि थिएन र ? उहिलेको व्यवस्थामा भएकै अवस्था अहिलेको व्यवस्थामा पनि हुने हो भने नेपाली जनताको त्याग र बलिदानीको अर्थ के रह्यो । विगतका जस्तै शैलीहरु रहिरहने हुन भने किन हामीले नाम मात्रै फेरिरहने ? सुराको नाम अमृत राखेर अमृतको काम गर्ने होईन । न बोतल परिवर्तन गर्दैमा उसको गुण परिवर्तन हुने हो । सुराले आफुनो गुण अनुसारको काम गर्ने हो, नाम अनुसारको होईन, बोतलको आकार अनुसारको होईन । अनि नाम मात्रै फर्ने हो भने, व्यवहार जस्ताको त्यस्तै राख्ने हो भने अहिलेको व्यवस्थालाई राम  राज्य भनिदिएपनि कुनै फरक पर्नेवाला छैन । 
त्यसैले हामीले व्यवस्था मात्रै फेरेका छौं, अवस्था फेरेका छैनौं । अवस्था फेर्नका लागि सवैभन्दा पहिले हामीले हाम्रो वानी, व्यवहार सच्याउनु जरुरी छ । लोकतन्त्रको नारा जपिरहनेहरुले र समाजवादको नारा जपिरहनेहरुले कम्तीमा आफुलाई लोकतान्त्रिक  र समाजवादी कसरी वनाउन सकिन्छ भन्ने बिषयमा सोच्नु जरुरी छ । विकास समयमै गरौं, बिगतको अवस्थालाई पनि परिवर्तन  गरौं अनि मात्रै व्यवस्था परिवर्तन भएको मानिनेछ ।

थप समाचार 

नगरपालिकामा ईजलास बन्दै

नगर कार्यपालिकाको कार्यालय रहेको भवनको माथिल्लो तलामा रहेको हलमा गोलो टेवल सहित लहरै कुर्चीहरु लगाईएका छन । हलको एकातिर काठको बार लगाईएको छ । फर्समा काठ राखेर अहिले माथी उठाई मञ्च जस्तै बनाईएको छ । 
मञ्चको बिच्चैमा एक ठुलो घुम्ने कुर्ची र दायाँ बायाँ दुई अरु कुर्चीहरु । 
ठुलो कुर्चीको सिधा माथी पर्ने गरी भित्तामा ईजलास लेखिएको टिनको पातो टाँसिएको छ । नेपालको संबिधान अनुसार स्थानीय तहरुले पनि न्यायिक अभ्यास गर्ने गरी न्यायिक समितिको व्यवस्था गरेपछि दिपायल सिलगढी नगरपालिकाले न्यायिक अभ्यास गर्न ईजलास तयार गरिरहेको छ । ‘धेरै काम भईसकेको छ, अव थोरै मात्र बाँकी छ’ न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख शिवराज खड्का भन्छन् ‘केही दिनभित्रै हामी ईजलासमा बसेर मुद्धा टुंग्याउछौं ।’ 
हालसम्म नगरपालिकामा १८ वटा मुद्धाहरु आएको बताउँदै खड्काले भने ‘ईजलास नुहँदा आफ्नै कार्यकक्षमा मुद्धामाथी छलफल गर्नु पर्ने वाध्यता थियो, अव केही दिनमै यो समस्या समाधान हुन्छ ।’  आफ्नै कार्यकक्षमा मुद्धामाथी छलफल गरिरहेका बेला अरु सेवाग्राहीहरु पनि आउने भएका कारण समस्या हुने गरेको उनको भनाई छ । 
१८ मुद्धाहरुमा १४ टुंग्याएको नगरपालिकाका कानुनी सल्लाहकार नवराज भट्टले   बताए । उनले भने ‘भाडा असुल सम्वन्धि दुई, लेनदेन सम्वन्धी दुई, बाटो मिचेको एक र घरेलु हिंसा सम्वन्धी नौ गरी १४ मुद्धा समितिले टुंग्याएको छ ।’ उनले एक मुद्धा घरेलु हिंसासंग सम्वन्धित आएको तर पछि नाता कायम गर्नु पर्ने देखिएपछि समितिले अदालत पठाएको भट्टले वताए । 
समितिमा छलफल भएपछि मुद्धाका पक्षहरु सन्तुष्ट भएर जाने गरेको समितिकी सदस्य लक्ष्मी बादी बताउँछिन् । उनी भन्छिन् ‘हामीले दुवै पक्षहरुसंग छलफल गरेर एक लाख ३० हजार रुपैयाँको लेनदेनको मुद्धा समेत मिलापत्र गरेर पठाएका छौं । दुवै पक्ष मिलेर गएका छन, उनको पैसा पनि असुल भएको छ ।
  

प्रसुति गृहलाई सामग्री वितरण

दिपायल सिलगढी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका प्रसुति गृहहरुलाई उपकरण तथा अन्य भौतिक सामग्रीहरु उपलव्ध गराएको छ । 
सोमवार नगर उपप्रमुख शिवराज खड्काले नगरभित्रका तीन प्रसुति गृहहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका छन । वडा नं. १ को तिखा स्वास्थ्य चौकी, वडा नं. ८ को लडागडा स्वास्थ्य चौकी र वडा नं. ९ को कलेना स्वास्थ्य चौकीमा सञ्चालित प्रसुति गृहहरुलाई व्यवस्थित गर्नका लागि सामग्रीहरु  वितरण गरिएको हो । 
“प्रसुति गृहमा सुत्केरी महिला र कुरुवाका लागि खाना पकाउन सजिलो होस् भनेर ग्यास समेतको व्यवस्था गरिएको छ’ सामग्री हस्तान्तरण गर्दै उपप्रमुख खड्काले भने ‘भौतिक पूर्वाधारको कमीका कारण स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने हाम्रो प्रयास छ ।’ कुरुवाहरुका लागि आड्ने ओछ्याउने समेत व्यवस्था गरिएको उनी वताउँछन । 
सामग्रीहरुमा डेलिभरी वेड, पेरीलाईट, अटोक्लेन, हस्पिटल वेड, मास्ट्रेस ग्यास सिलिण्डर, चुलो, कम्मल लगायत २७ बस्तुहरु रहेको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य ईकाईकी राजु खड्काले वताईन । 

बस साहुले मोटर साईकल चोरे

मोटरसाईकल चोरी गरेको आरोपमा बसका साहुँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
आईतवार राती डोटी जिल्ला सदरमुकाम सिलगढीको रिमझिम होटलका सञ्चालक डम्मर डौडीको से २ प ९६६१ नम्वरको पल्सर मोटर साइकल हराएपछि त्यसको खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१ बस्ने वर्ष २५ को चालक साजन रिजालले मोटरसाइकल चोरेको पत्ता लागेको हो ।
सुदुरपश्चिम यातायतको ना ४ ख ८१३९ नम्वरको बसका धनी रिजालले मोटरसाइकल चोर्न बसका सहचालक गोदावरी नगरपालिका ४ अत्तरिया बःने २४ वर्षीय लोकेशवहादुर शाहलाई समेत प्रयोग गरेको पुष्टि भएको छ । सिलगढी नगरपालिका वडा नम्बर ६ मा होटल व्यवसाय संचालन गर्दै आएका डौडीले आफन्तको घरआगनमा मोटरसाइकल राखे । त्यसको केहीबेरमा मोटरसाइकल हरायो । पछि खोजी गर्दै जाँदा चोरी भएको मोटरसाईकल २ किलोमिटर टाढा सोमबार विहान पाटपुर्जा खोलिएको अवस्थामा भेटिएको हो ।
त्यसबारेमा खानतलासी गर्दै जाँदा उक्त मोटरसाइकल बस चालक समेत   रहेका  साहुँ रिजालले चोरेको पत्ता लागेको हो । मोटरसाइकल चोर्ने गाडी धनी रिजाल र सहचालक शाहलाई प्रहरीले पक्राउ गरेको छ । बसलाई समेत कब्जामा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक धुव्र बिष्टले बताए ।

काम सम्पन्न नहुँदै पोल ढल्यो

कर्ण चन्द÷डोटी
असार २५
डोटीको बोगटान गाउँपालिका वडा नं. ६ गगुडामा निर्माण कार्य सम्पन्न नहुँदै बिद्युतका पोल ढलेका छन । नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय लाईन बिस्तार कार्यक्रम अन्तरगत गाडिएका बिद्युतका  अधिकांस पोलहरु ढलेका छन । 
राम्रोसंग खाडल नखनेको र काम टार्ने गरी पोल गाडेकोले गगुडा क्षेत्र भित्रका अधिकांस पोलहरु ढलेको स्थानीयले बताएका छन ।
पोल निर्माणका लागी निर्माण पक्षलाई सचेत गराएको बोगटान गाउँपालिका वडा नं. ६ का अध्यक्ष बिरेन्द्रबहादुर चन्दले वताएका छन् । एक दिन परेको पानीले नै पोल ढलेको अध्यक्ष चन्दले बताए । 
निर्माण कार्य भैरहेको अबस्थामा ढलेका पोलहरु पुनः निर्माण भएपछि मात्र प्राबिधिक मूल्याङ्कन गर्ने नेपाल बिद्युत प्राधिकरण डोटी बितरण केन्द्रका प्रमुख बुद्धीनारायण झाले बताएका छन् । एक बर्षभरी केही भत्किए बिग्रिएमा निर्माणको जिम्मा सम्बन्धित निर्माण कम्पनीको नै भएको झाको भनाई छ ।
राष्ट्रिउ प्रसारण लाईनसंग जोड्ने उद्देश्यका साथ बोगटान क्षेत्रमा बिद्युत बिस्तारको कार्यक्रम भईरहेको छ । 

अस्पतालभित्रै छन बिचौलिया 

सेती अञ्चल अस्पतालमा उपचारका लागि आउने विरामीहरु अस्पतालभित्रैका बिचौलियाहरुबाट ठगिने गरेका छन । 
अस्पतालमा आउने बिरामीहरुलाई नीजि अस्पतालमा लैजान बिचौलियाहरु सक्रिय रहेको स्रोतले जानकारी दिएको  छ । सेती अञ्चल अस्पतालमा प्रदेशको नौ वटै जिल्लाका विरामीहरु उपचारका लागि आउने गरेका छन् । तर, त्यहि अस्पतालमा उपचार गराउन आएका    विरामीलाई दलाल र बिचौलियाहरुले वार्डबाटै उठाएर क्लिनिक लगायत अन्य अस्पतालमा लैजाने गरेका स्रोतको दावी छ ।  बिचौलियाहरुले आफ्नो फाइदाका लागि विभिन्न वार्डमा पुगेर विरामीलाई बाहिर उपचार गराउनका लागि फकाउने गरेको अस्पतालका एक कर्मचारीले   बताए । 
‘अस्पलातमा भर्ना भएका बिरामीहरुलाई पनि दिनहुँ फकाएर महंगा अस्पतालमा लैजान गरेका छन’ ति कर्मचारीले भने ‘यस्तो कार्य अस्पताल प्रशासनले रोक्न सकेको छैन ।’ यसका साथै बिचौलियाहरुले अस्पताल परिसर, टिकट काट्ने ठाउँबाट पनि विरामीलाई अन्यत्र लैजाने गरेको बताइएको छ । दलाल र बिचौलियाको रुपमा काम गर्नेमा विभिन्न क्याम्पसबाट ओजीटी गर्नका लागि अस्पतालमा आएका विद्यार्थी, अस्पतालमा कार्यरत कर्मचारी र बाहिरका व्यक्ति रहेका बताइएको छ । अस्पतालमा कार्यरत कर्मचारी र कतिपय चिकित्सकको अस्पताल परिसर बाहिर आ–आफ्नै नीजि क्लिनिकहरु रहेको छ । उनीहरुको ध्यान अस्पतालमा सेवा दिनु भन्दा पनि आफ्नै क्लिनिकमा विरामी तान्नेतिर रहने गरेको जनाइएको छ । 
कर्मचारीहरु पनि बिचौलियाको काम गर्ने गरेको बाहिर गुनासो सुनिने गरे पनि लिखित रुपमा कसै विरुद्ध     उजुरी नआएको र प्रमाण सहित फेला पार्न नसकेको अःपतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सजन केसीले बताए । तर, ओजीटी गर्ने विद्यार्थी र बाहिरका व्यक्तिलाई भने रङ्गेहात फेला पारेको उनले जानकारी दिए । 
‘हामीले तीन÷चार जनालाई पक्राउ गरेर आइन्दा त्यस्तो नगर्न र शिक्षक सहित विद्यार्थी पठाउनका लागि उनीहरु अध्ययनरत कलेजलाई जानकारी गराएका छौं’ उनले भने ‘बिचौलियाहरुको गतिबिधिहरु बढेको गुनासो सुनिन्छ ।’
यसअघि अस्पताल प्रशासनले पक्राउ गरेका बिचौलियाबाट दुई जना विरामीलाई क्षतिपूर्ति दिलाएको छ । बिचौलिया समस्याका कारण अस्पतालले टिकट घरको अगाडिको ढोका समेत बन्द गरेको थियो । तर, समस्या समाधान हुन सकेन । कसै विरुद्ध लिखित उजुरी नआएकाले बिचौलियाका रुपमा काम गर्नेहरुलाई प्रशासनले कारबाही गर्न नसकेको सुपरीटेण्डेण्ट डा. केसीले बताए । उनले समयमै यस्तो समस्या नियन्त्रण गर्न नसकिएमा त्यसले भविष्यमा विकराल रुप लिने उल्लेख गरे । 
‘यहाँ कार्यरत सबै कर्मचारीको सहयोगबीना अस्पतालभित्र भइरहेको बिचौलिया समस्या समाधान गर्न सकिदैन’ उनले भने ‘समयमै नियन्त्रण गरिएन भने यो समस्याले पछि गएर विकराल रुप लिन्छ ।’ 
सरोकारवाला निकायले अःपतालमा समयसमयमा अनुगमन नगरेको डा. केसीको गुनासो छ । ‘अनुगमनमात्रै भइ दिएमा केहि न्यूनिकरण हुने थियो’, उनी भन्छन् ‘तर, सरोकारवाला निकायको यसतर्फ ध्यान गएको छैन । अस्पताल प्रशासनलेमात्रै समःया समाधान गर्न गाह्रो छ ।’ सेती अञ्चल अस्पतालमा बेथितिको पराकाष्ठा यतिसम्म छ की, त्यहाँ कार्यरत कतिपय चिकित्सक अस्पतालको ओपीडी भन्दा पनि क्लिनीकमा प्रायः भेटिन्छन् । अस्पताल परिसर बाहिर रहेको क्लिनीकहरुमा चेकजाँच गराउनेको थेग्नै नसक्ने भीड रहने गरेको छ । अःपतालमा पुगेका बिरामीहरुलाई बिचौलियाले नै निजी क्लिनीकमा लैजाने गरेको बताइएको छ । निजी क्लिनीकमा बढी फाइदा हुने गरेकाले कतिपय चिकित्सक पनि क्लिनिकमै ध्यान दिने गरेका छन् ।

छोटकरी 

सहायता सामग्री प्रदान 

पूर्बीचौकी गाउँपालिकाका १७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री हस्तान्तरण गरिएको छ । 
उपेक्षित समुदाय सशक्तिकरण विकास मञ्च डोटीले चार जनालाई ह्विल चियर, पाँच जनालाई बैशाखी, पाँच जनालाई सेतो छडी र तीन जनालाई ट्राई साइकल प्रदान गरको छ । संस्थाका कार्यक्रम संयोजक कृष्ण उपाध्यायले  सामग्रीहरु सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन ।  
पूर्बीचौकी गाउँपालिकामा रहेका सवैखाले अपाङ्गहरुका लागि आवश्यक पर्ने सहायता सामग्री आगामी दिनमा पनि वितरण गर्ने कार्यक्रम संयोजक उपाध्यायले बताए ।

धमाधम तालिम दिदै

शिक्षा क्षेत्रमा सुधार ल्याउने उदेश्यका साथ सामुदायिक विकास केन्द्र सिडिसिले डोटीका १७३ विद्यालयका शिक्षकहरुमा तालिम दिन थालेको छ ।
पहिलो चरणको तालिममा पुर्विचौकी गाँउपालिकामा दिबा खाजा संचालन रहेका विद्यालयका शिक्षकहरुलाई कक्षा १ देखी ३ सम्मका बालबालिकाहरुलाई कसरी पढाउने भन्ने विषयमा तालिम दिईएको कार्यक्रम संयोजक सतिश गुरुङ्गले बताएका छन् । 
अमेरिकी सरकारको सहयोगको सहयोग र सामुदायिक विकास केन्द्रले डोटीको जोरायल गाँउपालिका बाहेकका ८ स्थानिय तहहरुमा प्रारम्भीक शिक्षा कार्यक्रम संचालन गर्दै आएको छ ।  

खेल समाचार 

१५० किशोरीलाई कुरोदया तालिम

राष्ट्रिय खेलकुद् परिषदले डोटीका एक सय ५० किशोरीहरुलाई कुरोदया सेल्फडिफेन्स मार्सल आर्ट सम्वन्धी तालिम सञ्चालन गरेको छ । 
राष्ट्रपति खेलकुद् महिला महिला सहभागिता कार्यक्रम–२०७५ अन्तरगत उक्त तालिम आयोजना गरिएको जिल्ला खेलकुद् विकास समिति डोटीका सचिव किरण श्रेष्ठले जानकारी दिए । उक्त तालिममा जिल्लाका नौ बिद्यालयमा अध्ययनरत किशोरीहरुको सहभागिता रहेको थियो । 
महिलाहरुलाई केलकुदमा सहभागि गराउने र महिलहरुमाथी हुने हिंसावाट बच्ने उपायहरुको बारेमा जानकारी   गराउने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको प्रशिक्षक यज्ञराज उपाध्यायले जानकारी दिए । उनले भने ‘अहिले महिला हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन, यि घटनाहरुबाट आफुलाई कसरी वचाउने भन्ने ज्ञान दिनका लागि कुरोदया सेल्फ डिफेन्स मार्सल आर्ट सम्वन्धी तीन दिने प्रशिक्षण आयोजना गरिएको हो ।’ 
शनिवारदेखि सुरु भएको उक्त तालिमको समापन समारोहमा बौलदै दिपालय सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले महिलाहरुलाई पनि खेल क्षेत्रमा उत्प्रेरित गराउनु पर्ने वताईन । उनले भनिन् ‘अवसर पाएपछि महिलाहरु पनि पुरुषसंग प्रतिस्पर्धा गर्न सक्छन्, यसरी प्रतिस्पर्धा गर्न सक्ने वनाउनु हामी सवैको कर्तत्वय हो ।’ उनले किशोरीहरुलाई अनुशासित भएर आफ्नो प्रगति गर्न र खेल क्षेत्रमा रुची राख्न समेत आग्रह गरिन । जनप्रतिनिधिको हैसियतले किशोरीहरुलाई खेल क्षेत्रमा ल्याउन आफु प्रतिवद्ध रहने समेत मलासीले वताईन । 
तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्न आग्रह गर्दै समापन समारोहकी अध्यक्ष देवकी बोहराले खेलले अनुशासन सिकाउने भएका कारण अनुशासित हुन किशोरीहरुलाई आग्रह गरिन । 

नेपाल नेदरल्याण्डसंग भिड्ने

एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको पहिलो शृङ्खलामा नेपाल नेदरल्याण्ड्ससँग भिड्ने भएको छ ।
एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले नेदरल्यान्डमै गएर उसैसंग पहिलो प्रतिस्पर्धा गर्नेछ । इङ्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एकदिने ट्वेन्टी ट्वेन्टी त्रिकोणात्मक शृङ्खला नेपालले नेदरल्यान्ड्स गएर दुई वटा एक दिवसीय खेल खेल्न लागेको हो ।
पहिलो खेल साउन १६ गते र दोश्रो खेल साउन १८ गते हुनेछ । नेल्यान्ड्ससँग दुई खेल खेल्ने तय भएको नेदरल्याण्ड क्रिकेट बोर्डले पुष्टी परेको छ ।
केही महिनाअघि जिम्माम्बेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताबाट चार वर्षका लागि एक दिवसीय क्रिकेट खेल्ने हैसियत बनाउन सफल भएको   थियो । तर अन्तराष्ट्रिय क्रिकेट परिषद्  (आइसीसी) ले नेपालको क्रिकेट संघ निलम्बन गरेकाले नेपाली टोली कहिले र को विरुद्ध एक दिवसीय क्रिकेट खेल्छ भन्ने अन्योल थियो । यसैबीच नेदरल्यान्ड्स क्रिकेट बोर्डले नेदरल्याण्ड भ्रमणको तय गरेको हो । नेदरल्याण्ड विरुद्धको एक दिवसीय खेल नेपालको डेब्यू हुनेछ ।
दुई खेलहरू भोर्गबर्ग सिसि र भिआरए मैदानमा हुने भएको छ । यो नेपालले एक दिवसीय मान्यता पाएपछिको पहिलो एक दिवसीय प्रतियोगिता हुनेछ । 

चलचित्र/मनोरञ्जन 

‘भैरे’ साउन ४ मा आउने

नेपाली कथानाक चलचित्र “भैर” साउन ४ गतेदेखि रिलिज हुने भएको   छ । 
नायक दयाहाङ राइको शिर्ष भूमिका रहेको यो चलचित्रलाई बिशेष महत्वका साथ हेरिएको छ । सामाजिक कथामा तयार भएको यो चलचित्रलाई दया पूर्ण रुपमा व्यवसायिक चलचित्र भन्न   चाहन्छन् । ‘भैरेको कथा निकै मनपरेकाले छाड्न सकिनँ’ उनले भने  ‘यो मेरो टाइपको चलचित्र हो ।’
चलचित्रले दर्शकलाई सोच्न वाध्य नबनाएपनि मनोरञ्जनको खुराक भने दिने उनको भनाई छ । उनले थपे ‘मेरो      करिअरकै फरक चलचित्र हो त भन्दिनँ । तर, मेकिङको हिसाबबाट यो फरक छ ।’ 
एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो चलचित्रले व्यवसायिक रुपमा पनि सफलता हात पार्ने दयाको दाबी छ ।
प्रेमप्रसाद पौडेल र देविमाया अधिकारी यो चलचित्रका निर्माता हुन् । चलचित्रमा दयाको साथमा सुनिल थापा, बुद्दि तामाङ, सुरक्षा पन्त, विक्रान्त बस्नेत, बर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।
छक्कापञ्जा संगै अर्को चलचित्र एकै दिन आउने
यो वर्षको दशैं आउन अझै तीन महिना भन्दा बढी समय बाँकी छ । दशैं विदालाई लक्षित गरि दुई चलचित्र जय भोले र छक्कापञ्जा ३ ले एकैदिन रिलिज मिति तोकेपछि नेपाली चलचित्र क्षेत्र तातिएको माहोल तातेको छ । 
चलचित्र वितरक कम्पनी डिसीएनसँग आवद्द निर्देशक अशोक शर्माले झण्डै दुई दशकपछि निर्देशन गरेको चलचित्र जय भोलेले निर्माण अघि नै आगामी दशैंमा रिलिज हुने घोषणा गरेको थियो । उता पहिलो चलचित्रदेखि नै हरेक दशैंमा रिलिज गर्दै आएको चलचित्र छक्कापञ्जा टिमले तेस्रो सिक्वेल पनि दशैंकै अवसरमा रिलिज गर्ने घोषणाका साथ हाल धमाधम छायांकन जारी राखेको छ । जय भोलेले सम्पूर्ण छायांकन सकाएर गीत र टिजर समेत सार्वजनिक गरिसकेको छ । तर दर्शकहरुको प्रतीक्षाको सूचीमा रहेको दुवै चलचित्रले दशैंको विदालाई   रिलिज मिति तय गरेपछि माहोल अहिलेबाटै तातिन शुरु गरेको छ ।
जय भोलेका निर्देशक एवम् निर्माता अशोक शर्मा आफ्नो पूर्व घोषणाबाट पछि हट्ने मुडमा देखिदैनन् । आफूले छक्कापञ्जा ३ भन्दा अगाडिदेखि नै दशैंमा रिलिज गर्ने योजनाकासाथ चलचित्र निर्माण गरेकोले कुनै हालतमा पछि नहट्ने निर्देशक शर्मा बताउछन् । परिआए आफू छक्कापञ्जा ३ सँग भिड्न तयार रहेको उनले बताए । उनले भने–’मैले कुनै फिल्मसँग जुधाउछु भनेर जय भोलको निर्माण गरेको होइन । फेरि एक दुईटा फिल्मसँग जुध्दैमा खासै आत्तिनुपर्ने अवस्था पनि छैन ।’
उता विगत केही वर्षदेखि सोलो मार्केट क्याप्चर गर्दै आएको छक्कापञ्जा ३ का निर्देशक दीपाश्री निरौला भने यसपटकको दशैं पनि आफ्नै पोल्टामा पार्ने रणनीतिमा रहेकी छिन् । उनी जयभोलेसँग मात्र होइन कुनै नेपाली चलचित्रसँग छक्कापञ्जा ३ जुधाउने योजनामा छैनन् । न त चलचित्रको रिलिज मिति सार्न नै उनी राजी छिन् । ‘हरेक वर्षको दशैंमा हामीले फिल्म रिलिज गर्दै आएकाछौं । त्यसैले यसपटक पनि दशैंमा अशोक दाइसँग छलफल गरेर छक्कापञ्जा ३ रिलिज गर्छौं’,दीपाले भनिन् ।
‘हरेक वर्षको दशैंमा हामीले फिल्म रिलिज गर्दै आएकाछौं । त्यसैले यसपटक पनि दशैंमा अशोक दाइसँग छलफल  गरेर छक्कापञ्जा ३ रिलिज गर्छौं ।’

लेख 

सशक्तिकरण र सामाजिक रुपान्तरणका लागि सहजीकरण

चम्पासिंह भण्डारी

विकासका लागि स्थानीय स्रोतहरूको पहिचान, प्रयोग र संरक्षण गर्ने काम महत्वपूर्ण काम हो तर सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय समुदायको संलग्नता आवश्यक हुन्छ । स्थानीय विकासका सन्दर्भमा त्यहाँको आवश्यकता स्थानीय समुदायलाई थाहा हुन्छ । स्थानीय समुदायले नै स्थानीय स्रोतको पहिचान, संरक्षण र परिचालन गर्न सक्ने विकास प्रकृया दिगो हुन्छ ।
स्थानीय ज्ञान सीपमाथि विश्वास गर्नु, उनीहरूले पनि गर्न सक्छन् भन्ने विश्वास गर्नु र स्थानीय तरिकालाई प्राथमिकतामा राखेर विकास निर्माणका योजना छनौट प्रकृयादेखि नै स्थानीय समुदायको सहभागिता खोज्नु र उनीहरूले तयार पारेको योजना कार्यान्वयनमा उनीहरू नै सहभागिता हुने वातावरण निर्माणविना विकास दिगो हुनै सक्दैन । यस दिशामा सरकारी तथा गैर     सरकारी प्रयास र प्रयत्नहरू अघि बढ्नु आवश्यक छ । 
विकास प्रकृयालाई रणनीतिक योजनामा जोड्ने र गरेका विकास प्रयत्नलाई परिणाममा आधारित गरेर जाने हो भने नेपालको विकासलाई गति दिन सकिन्छ । मानिसहरूमा ज्ञान, सीप र स्रोत र उनीहरूकै सङ्गठनमा विश्वास गरेर मात्रै विकासलाई दिगो बनाउन सकिन्छ । विकास अरूले गरिदिनु पर्छ भन्ने मानिसमा रहेको धारणामा परिवर्तन ल्याउनका लागि उनीहरूलाई सङ्गठित रूपमा सशक्त बनाउनु आवश्यक छ । 
मानिसहरू मिलेर सामूहिक रूपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, योजना बनाउने र कार्यान्वयन गर्दै त्यसको मूल्याङ्कन गर्दै अघि बढ्ने हो भने विकासका लागि हामी आफैसँग हाम्रा वरिपरि धेरै स्थानीय स्रोतहरू रहेका छन् । हामीमा हाम्रा लागि हामी आफै भन्ने भावना जाग्ने हो भने दिगो विकासका लागि कुनै विश्व विद्यालयमा सिद्धान्त पढ्नु पर्दैन । हाम्रा आफ्नै अनुभव र सिकाइहरूले विकास अभियानलाई तीव्र बनाउन सकिन्छ । समुदायमा रहेका सामुदायिक समूहबाट हामीले दिगो विकासका बारेमा धेरै सिक्न सक्छौँ ।
मानिसहरूलाई उनीहरूभित्र रहेको उर्वरशीलताले सिञ्चित गराउनका लागि, म पनि गर्न सक्छु भन्ने    गराउनका लागि, आफ्नो जीवनको विश्लेषण गराउनका लागि, म को हुँ ? मैले गरे भने के हुँदैन ? भन्ने कुराको बोध गराउने प्रयास र प्रयत्न गरिन्छ, तब लाग्छ, साँच्चै मानिसहरूभित्र शक्ति छ । ऊर्जा छ र उनीहरूले गर्न सक्छन् भन्ने कुरा सजिलै उनीहरूलाई मनाउन गाह्रो त छ । तर असम्भव भने छैन । काम गर्दै जाँदा, छलफल विश्लेषण गराउँदै जाँदा, मानिसहरू आफ्नो शक्तिलाई चिन्न थाल्छन् । आफू र आफ्नो समुदायको बारेमा विश्लेषण गर्दै व्यक्तिमा अन्तरनिहित क्षमता चिन्न थाल्छन् र गरे सकिन्छ भन्ने विश्वास जाग्न थाल्छ । त्यसपछि उनीहरू एक्लै होइन, सामूहिक रूपमा, सङ्गठित रूपमा कामको थालनी गर्छन् । 
आफू किन गरिब ? किन सीमान्तकृत ? किन कमजोर ? किन अरू मात्रै धनी ? किन आपूm मात्रै स्रोतविहीन ? म किन गर्न नसक्ने ? मैले चाहे भने गर्न सकिन्छ ? के म नेपाली नागरिक होइन, किन ममाथी विभेद ? के मेरो सम्मानित र मर्यादित रूपमा बाँच्न पाउने अधिकार छैन ? जस्ता धेरै प्रश्नहरूको  विश्लेषण गर्न थाल्ने अवस्थाले विकल्पविहीनता हट्छ । आलोचनात्मक चेतनाको विकास हुन्छ र मानिस आफ्नो जीवनप्रति उत्साही बन्न थाल्छन् । 
विकास के हो ? यो किन चाहिन्छ ? यो कसले गरिदिने हो ? के विकास गर्ने ठेक्का सरकारको मात्रै हो ? स्थानीय निकायको मात्रै हो ? के मैले मेरो ठाउँको विकास आफै गर्न सक्दिन ? विकासका लागि वरिपरी स्रोत साधनहरू छैनन् ? जस्ता प्रश्नहरूको जवाफ खोज्दै जाँदा विकास निरन्तर चलिरहने प्रकृया हो, विकासले मानिसको जीवनमा सहजता ल्याउनुपर्छ । आफ्नो जीवनमा सहजता ल्याउने कुरा मैले आफै थाल्दा के बिग्रिन्छ ? जःता सकारात्मक सोचको विकास हुन थाल्दछ । 
आफ्नो विकास आफै भन्ने सकारात्मक सोच र चिन्तनको विकाससँगै मानिसहरूले आफ्नो घर अगाडिको खाल्डो पुर्न, बिग्रिएको धारा मर्मत गर्न, पानीको कुवा सफा गर्न, बाटो र घर आँगन सफा गर्न र आपूmले दिसा गर्ने चर्पी निर्माण गर्नका लागि गाविस नगरपालिकाको बजेट चाहिने अवस्थावाट मुक्त हुन थाल्दछ र आफै काम गर्नका लागि तयार भएका थुप्रै उदाहरणहरू छन् । 
स्थानीय समुदायका समस्याहरूको पहिचान विश्लेषण र विकल्पहरू खोजी खोलामा बाँसको पुल निर्माण गर्ने, बाटोको खाल्डो पुर्नका लागि माटो भर्ने वा ग्राभेलिङ गर्ने, घरमा चर्पी निर्माणका खाल्डो निर्माण  गरी काठका प्यानहरू राख्ने, बाटोका वरिपरी नाली खन्ने, सामुदायिक समूहका घरहरू निर्माण गर्ने, विद्यालयको सरसफाइ गर्ने, विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षकका बीचमा अन्तरक्रिया गरी विद्यालयको पढाइमा सुधार गर्ने, सामुदायिक वनहरूको निर्माण तथा वृक्षरोपण गर्ने, खानेपानीका धाराको मर्मत, कुवाको मर्मत तथा सरफाइ, व्यक्तिगत तथा सामुदायिक सरसफाइ गर्ने,  तरकारी खेती, नगदेबाली, बाख्रा, कुखुरा, बङ्गुरपालन, गाईपालन जस्ता कामहरू मार्पmत स्थानीय समुदायको जीविकोपार्जनमा सहजता ल्याउने कुरामा उनीहरू दृढतापूर्वक लागेका छन् ।
स्थानीय समुदाय आफैले सामुदायिक समूहमा बचत सङ्कलन गर्ने, सदस्यहरूलाई विभिन्न आयआर्जनका क्षेत्रमा न्यून ब्याजमा ऋण लगानी असुली गर्ने जस्ता कामहरूबाट धेरै समुदायका मानिसहरूले घुम्तीपसल, चमेना पसल, विभिन्न पशुपक्षीपालन गरेर जीविकोपार्जनलाई सहज बनाउने अभ्यास गरेका छन् । उनीहरू आफैले आफ्नो बचत नै परिचालन गरेर काम गरेकाले इमानदारिता छ, काम गर्ने जोश र जाँगर छ । सिकेका अनुभव सिकाइहरूको आदान प्रदान गर्ने कामले उनीहरूमा एउटा विश्वास सिर्जना गरेको छ ।
विकासका भौतिक पूर्वाधारहरू निर्माणका लागि स्थानीय स्रोतहरू मात्रै पर्याप्त नहुन सक्छन् तर स्थानीय स्रोतहरूको पहिचान र परिचालनबाट नहुने वा नपुग्ने स्रोतहरूका लागि मात्रै बाह्यस्रोतको खोजी गर्नुपर्छ । सबै स्रोतसाधनहरू सरकार वा अन्य सङ्घसंस्थाहरूले दिएपछि मात्रै विकास गरौँला भन्ने चिन्तनबाट मुक्त नभएसम्म विकासले गति लिन सक्दैन । त्यस्तो विकास दिगो पनि हुन सक्दैन । विकासका लागि सबैभन्दा पहिले मानवीय विकास आवश्यक छ । मानिसहरूका चिन्तन, धारणा र विचारमा परिवर्तन नआएसम्म गरिने भौतिक पूर्वाधारहरूको विकासले दिगोपना ल्याउन सक्दैन भन्ने मान्यतालाई आत्मसाथ गरेर सामुदायिक समूहमा सङ्गठित मानिसहरू अघि बढिरहेका छन् । 
सामुदायिक समूहहरूका गतिविधि, क्रियाकलापहरू तथा उनीहरूले व्यवहारमा प्रयोग गरी जीवनलाई सहज बनाउन गरिएका उत्तम अभ्यासहरूको आदान प्रदान गर्दै विकासलाई जनकेन्द्रित बनाउनका लागि आवश्यक अन्तरक्रिया मार्पmत सामाजिक रूपान्तरणको अभियानलाई अघि बढाउनका लागि हाम्रा साझा तथा सामूहिक प्रयासहरूबाट एकअर्कोले सिक्ने वातावरण सिर्जना     गर्दछ ।
आम नागरिकहरू उत्पादन प्रणालीसँग जोडिने, आफ्ना लागि आफै उत्पादन गर्ने र ताजा तथा पोषणयुक्त खाद्यान्न खाने बानीको विकास गर्नका लागि सबै नागरिकहरूको सहभागिता र सचेतना दुवै आवश्यक  छ । उत्पादन प्रणालीलाई समष्टिमा व्यवस्थित बनाउने योजना र त्यसको कार्यान्वयनविना हाम्रो परनिर्भरता घट्नै सक्दैन । परनिर्भरताबाट अन्तरनिर्भरतातिर लाग्ने हो भने नेपालीहरूले अभियानका रूपमा सामूहिक खेती प्रणाली, सामूहिक अभियानहरूमा सँगसँगै मिलेर अघि बढाउन आवश्यक छ । यसका लागि सामुदायिक समूहहरूको साझा अभियानले ठूलो योगदान गरेको छ ।
मानिसलाई भौतिक विकासभन्दा पहिले मानवीय विकास आवश्यक छ ।  निर्माण गरिएका कुवाहरू बन्द भएका छन् । सरकारी र अन्य गैरसरकारी संस्थाले उपलब्ध गराएका बोरिङहरूमा पानी आउँदैन र काम नलाग्ने अवस्थामा छन् । काम त भयो तर त्यसको सदुपयोग हुन सकेन । मानिसहरूले यो हाम्रो हो, हामी आफैले त्यसको संरक्षण गर्नुपर्छ भन्ने कुरा बुझ्दै नबझी प्राप्त भएका स्रोतहरूको संरक्षण र उपयोग हुन सकेन । 
समुदायका मानिसहरूले आफैले मिलेर बनाएका कुनै पनि सुविधाहरूको उपभोग र तिनीहरूको संरक्षणमा उनीहरू आफै जुट्ने र आफ्नो ज्ञान सीप र श्रमको लगानी गरेका कारण मानिसहरूमा अपनत्व र स्वामित्वको भावना जाग्छ र विकासमा जनसहभागिताको लहर सिर्जना हुन सक्छ । विकासका लागि जनसहभागिता आवश्यक छ । दिगो विकासका लागि साझा र सामूहिक प्रयत्न आवश्यक छ भन्ने सन्देश हाम्रो सामुदायिक समूहहरू, मूल समितिहरू र समुदायमा आधारित संस्थाका प्रयासहरूले स्पष्ट पारेको छ । 
विकासका लागि स्थानीय रूपमै पर्याप्त स्रोतसाधनहरू छन् । समस्याको ठीक पहिचान, विश्लेषण र उपयुक्त विकल्पको छनौटको आवश्यकता छ । त्यसका लागि साझा र सामूहिक प्रयत्न, सङ्गठित अभ्यास आवश्यक छ । यो एक दिन वा एक वर्ष गरेर पूरा हुँदैन । यसका लागि नियमित अभ्यास आवश्यक छ । श्रम गर्ने, मिहिनेत गर्ने मानिसहरूको सम्मान गर्ने कुरा प्रमुख हो । काम गर्ने, मिहिनेत गर्ने मानिसहरू अपहेलित, अपमानित हुने अवस्थाको अन्त्य आवश्यक छ । सामाजिक रूपान्तरणको अभियानमा सामूहिक सङ्कल्प, प्रतिबद्धता र सामूहिक कार्यप्रणालीमा विश्वास आवश्यक छ । यसका लागि साझा सामुदायिक प्रयासहरू आवश्यक छन् ।
समुदायमा बस्ने मानिसहरूको विचार, धारणा र चिन्तनमा एकरूपता हँुदैन । फरक फरक खालको संस्कृति, आर्थिक, सामाजिक हैसियतमा रहेका समुदायका मानिस सबैलाई एकै पटकमा विकासका सन्दर्भमा परिचालन वा सहभागी गराउन आफैमा कठिन काम हो । मानिसहरूले आफैले गर्दै आएका अभ्यासबाट सिक्दै जाने हुँदा कतिपय समुदायमा मानिसहरू उपभोक्ता समितिको सदस्य हुनु भनेको कमाउने राम्रो अवसरका रूपमा बुझ्छन् । 
समुदायका मानिसको यही नकारात्मक बुझाइले सरकारी तथा गैर  सरकारी निकायमा निश्चित मानिसको पहुँच स्थापित भएको हुन्छ । उनीहरू कागजी प्रकृया मिलाउन खप्पिस हुन्छन् । सरकारी तथा गैरसरकारी निकायमा कर्मचारी प्राविधिकहरूलाई कसरी रिझाउने र आफ्नो उद्देश्य पूरा गर्ने भन्ने ध्याउन्नबाहेक विकास निर्माणका परि–योजनाहरू गुणस्तरीय बनाउनेभन्दा पनि खल्तीमा कसरी आउन सक्छ भन्ने मान्यतामा हिँडेका हुन्छन् ।
कतिपय समुदायका मानिसहरूले तत्काल फाइदा खोज्छन् । आज के पाइन्छ भन्ने जिज्ञासा राख्छन् र केही नपाउने जवाफपछि उनीहरू किन सहभागी हुने भन्ने प्रश्न उठाउँछन् र छलफल, अन्तर–क्रिया र बैठकहरूमा उपस्थित हुन मान्दैनन् । परिणाम के हुन्छ भने टाठाबाठाहरूले अवसर छोपिरहन्छन् र उनीहरूको पहुँच स्वतः स्थापित हुन    पुग्छ ।
सीमान्तीकृत समुदायका मानिसहरूको धारणामा परिवर्तन नआएसम्म उनीहरू जहिले पनि सबै खाले अवसरहरू गुमाइरहेका हुन्छन् । एक त उनीहरू असङ्गठित रूपमा रहेका छन् । आर्थिक सामाजिक अवःथा कमजोर रहेका कारण उनीहरूमा एक खालको डिप्रेसनहीन भावना जीवित छ । बाँचेर के गर्ने, केही गर्न सकिँदैन, भाग्यले यस्तै गरेको छ जस्ता सङ्कुचित अवस्थामा रहेका हुन्छन् । उनीहरूमा विद्यमान रहेको यही अवःथाको अन्त्यका लागि उनीहरूमा हामी गर्न सक्छौँ भन्ने आत्मबलको विकास गर्नु अहिलेको प्रमुख चुनौती हो । 
यही पृष्ठभूमिमा गैरसरकारी संस्था सहकर्मी समाज सुर्खेत सीमान्तकृत समुदायलाई सामुदायिक समूहमा सङ्गठित गर्दै उनीहरूमा आफ्नो समस्याको पहिचान गर्ने, विश्लेषण गर्ने र समाधानका विकल्पहरूको खोजी गर्दै स्थानीय साधनस्रोतहरूको अधिकतम परिचालन गरी मानिसहरूको जीवनमा सहजता ल्याउने अभियान, दिगो विकास प्रकृया र अभ्यास विगत दुई दशकदेखि निरन्तर रूपमा गरिरहेको छ ।
— रातोपाटी अनलाईनवाट

शिक्षक सेवा आयोगको तायरीका लागि उपयोगी 

१. नेपाली भाषाका भाषिक सीपहरु के के हुन ? सुनाइ सीपको विकासको लागि के के कार्यकलाप  गर्नुहुन्छ ? लेख्नुहोस । 
नेपाली भाषाको भाषिक सीपहरु निम्नलिखित रहेका छ्न ।
सुनाइ
बोलाइ
पढाइ
लेखाइ
नेपाली भाषाको सुनाइ सीपको बिकासको लागि निम्न लिखित कर्यकलाप गर्न सकिन्छ ।
बिद्यार्थीहरुको आखा बन्दगर्न लगाइ ध्वानी पहिचान गर्न लगाउने ।
विभिन्न किसिमको निर्देशन दिएर सोही अनुसार कर्य गर्न लगाउने ।
बिद्यार्थी र उसको परिवारको बारेमा प्रश्न उत्तर गर्ने ।
कुनै घाटना सुनाई त्यसको मुख्य मुख्य अंश भन्न लगाउने ।
बाल गीत लयमा सुनाई त्यस्तै गीत गाउन लगाउने ।
वर्ण अक्षर र शब्दको श्रुति लेखन गराउने ।
अन्ताक्षरी जस्तो शब्द खेल खेलाउने ।
सञ्चारमाध्यमबाट बाल साहित्यिक कर्यक्रम सुनाइ प्रश्न उत्तर गर्ने ।
बालगीत बाल कथा कबिता आनन्द लिने गरि सुन्न लगाउने
कुनै बिषयको वर्णन छलफल सुनी आसय बुझी प्रतिकृया दिन लगाउने
यसरी नै विभिन्न किसिमका क्रियाकलाप मार्फत बिधार्थीहरुमा सुनाई सीपको बिकास गराउन सकिन्छ ।
नमुना बस्तुगत प्रश्नहरु 
१) गाउँपालिका तथा नगरपालिकामा रहने वडाको संख्या कसले तोक्छ ?  — संघीय कानुन
२) राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष पदमा को रहने व्यवस्था छ ?  — मन्त्रालयको सचिव
३) शिक्षा ऐनको पाँचौ संशोधन कहिले भएको हो ?   — २०४९ कार्तिक १३
४) ४५ जना रिक्त पद संख्यामा विज्ञापन हुँदा अन्तिम क्रम संख्यामा २ जना उमेदवारले बराबर अंक
प्राप्त गरेमा आयोगले कति उमेद्बारको सूची प्रकाशन गर्छ ? — ५५ जना
५) अक्षरांक शिक्षामा कहिले प्रतिबन्ध लागाईयो ?   — १९६४ सालमा
६) पाठ्यक्रम कार्यान्वयन २०३८ अनुसार निम्न माध्यमिक तह कति बर्षको थियो ? — २ बर्ष
७) केशर पुस्तकालय को स्थापना कहिले भएको हो ?  — वि. सं. १९६५
८) शिक्षा क्षेत्रमा तथ्यांक संकलनको कार्य कहिलेबाट सुरु भएको हो ?  — आ.व. २०२०÷०२१
९) नेपालमा शिक्षा नीति प्रकाशनमा कस्तो व्यवस्था रहेको छ ?  — बहुद्वार
१०) विषयवस्तुको प्रकृति र विद्यार्थीको स्तर तथा वैयक्तिक भिन्नता ख्याल गर्नु शिक्षकको कुन सक्षमताभित्र पर्छ ?   — शिक्षण सिकाई तौर तरिका सम्बन्धी ज्ञान
११) खुला तथा दूर शिक्षा नीतिमा कतिवाटा रणनीति तर्जुमा गरिएका छन ?   — ३४८
१२) राष्ट्रिय शिक्षा पद्दतिको योजना अनुसार पाठ्यक्रम लागू गर्दा कक्षा ९ कुन चरणमा लागू भएको   हो ?   — दोस्रो
१३) राष्ट्रिय शिक्षा आयोग २०४९ को प्रतिवेदन अनुसार विद्यार्थी विद्यालय अनुपात कुन जिल्लामा बढी थियो ?   — मोरङ
१४) रा शि आ २०४९ ले प्रतिवेदन कहिले बुझाएको थियो ?  — २०४९ असार १४
१५) जोम्टिन सम्मेलनले प्राथमिक तह पूरा गर्ने संख्या कति पु¥याउने लक्ष्य लिएको थियो ? — ७०%
१६) सबैका लागि शिक्षा कार्यक्रममा विश्व बैंकको सहयोग कति थियो ?  
— ५० मिलियन अमेरिकी डलर
१७) राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रमुख अवयबहरु कति छन ?  — ७ वटा
१८) शैक्षणिक योजना कसले बनाउँछ ?   — शिक्षकले
१९) गाउँ शिक्षा योजना कतिप्रति तयार गरिन्छ ? —४ प्रति
२०) विद्यालय सुधार योजनाका तेस्रो खण्डमा कति चरण छन ?   — ५ चरण
२१) ’पाठ्यक्रमका चार तत्व हुन्छन जुन विषयसूची, विधि, उद्देश्य र मुल्यान्कन हुन’ यो भनाई कसको
हो ? (ए।व्। ज्ष्ििक
२२) सामाजिक विषयको पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?  — बृहत क्षेत्र पाठ्यक्रम
२३) माध्यामिक तहको पाठ्यक्रम २०७१ अनुसार ऐच्छिक विषयको पूर्णाङ्क कति हो ? — २००
२४) स्थानीय पाठ्यक्रम प्रारुप कहिले जारी भयो ?  — २०७१ असार ३०
२५) अक्षरांकन पद्धति अनुसार म्ं लाई के भनी ब्याख्या गरिएको छ ? 
— उबचतष्बििथ बअअभउतबदभि
२६) मनोविज्ञानको आत्माको विज्ञानपछि विकास भएको धाराणा कुन हो ?  — मस्तिष्कको विज्ञान
२७) खेल समुहको उमेर भनेर कुन उमेरलाई चिनिन्छ ?    — उत्तर बाल्यावस्था
२८) उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुन ?  — इगअजष्
२८) मानव सम्बन्ध सिद्धान्तका प्रतिपादक को हुन ?   — भ्तियल ःबथय
२९) विद्यालय सिकाई संगठनका पिता भनेर कसलाई चिनिन्छ ?   — एष्ततभच क्भलवभ
३०) केन्द्रिय बलकल्याण समितिमा कति सदस्य हुन्छन ?  — बढिमा २१
३१) समावेशी शिक्षाका सूचक कति छन ?   — १५

साहित्य/सिर्जना 

संकटमा बिश्वास

टुक्रा टुक्रा बनेर हराऊदै छु म 
शायद यो त हुन नै थियो, एक दिन
तटमा चलु त बाढीले बगाऊछ कि ? 
बालुवामा चलु त, उठाउदै मलाई
महलमै बिलिन गर्ने हो कि
सिधा बाटो बन्द गर्दै बिवसता 
मलाई हाँस्दै गिज्याउने पो हो कि ?
फेरी पनि उपहार सम्झेर 
उपहास, मन हुदैन लिन
सामन्तीहरूको बस्तीमा 
क्रान्ति गित गुन्गुनाउदै छु म किन ?
कुन पीडा बोक्न जान्छ, भोली मलाई 
थाहै नपाई, तालमेल कसरी बसालु म 
घामकै बिच पानी परे, समस्या थपिने झन
सम्बन्धमा नै अपनत्वपन नरहे 
आफ्नो को हुन्छ र गर्नु गन्थन
सुखको ईच्छा बिच जब, 
हमेसा दुःखनै अघि लागे
शिखरबाट आफ्नैले
जब तल पछारे
रहन्छ के नै र समाधान 
रहन्छ के नै र समाधान !!
सूर्य बस्याल 
बङ्नासकाली ६ पाल्पा,

दुःखी छोरीको बिलौना 

भाइको हातमा कापी कलम मेरो हातमा डोको
मेरो पनि थियो नि बाबा अक्षर चिन्ने धोको
बुझ्ने पाइन महिले कोही छोरीको मन रोको
खोल्ने ठाउ नै कतै थिएन वेदनाको पोको
साँझ बिहान चुलो चौका भुल्थे सधै मझेरीमा
झिस मिसेमा गाग्री बोकी रुदै पुग्थे पंधेरीमा
जिन्दगीनै सुक्यो बाबा अशिक्षा को खडेरीमा
यो छोरीको दुःखी जीवन फस्यो किन अधेरीमा
छोड्नै पर्ने माईती घरलाई मेरो पाईतो स¥यो
न्याउली बनी यो मन रोयो आँसु धारा झ¥यो
छोरी हेप्ने कु चलनले मलाई जिउदै मा¥यो
अशिक्षाको उपज होला मैले दासी बन्न प¥यो
रात दिन ढिकी जाँतो हात मा उठ्छन ठेला
वर्षा मास झरी बादल दिनै धाउनै पर्छ मेला
अभागी म छोरिलाई किन गर्रुयौ माइती हेला
कर्मको फल भोग्दै छु म आज यती बेला
मलाई जस्तै छोरीहरुलाई नगर्नु है हेला
योगेन ढोली

गजल 

घरबाट ननिकाल, तिम्रो पाउ छुन्छौ हामी 
बास देउ छोरा बिन्ती, तिम्रै नोकर हुन्छौ हामी !! 
दिएहुन्छ बासी खाना, बाँडीचुडी खान्छौ दुवै 
दुख्न पुगे मन मुटु, आँशुहरु थुन्छौ हामी !! 

बोल्ने छैनौ कैले केही, लाउ वचन् जति पनि 
आश्रय नै छोराछोरी, तिम्रै कुरा सुन्छौ हामी !!
कुल्ची हिंड हाम्रो आशा, बोझ भनि मातापिता 
वृद्ध मन टुटे पुन, एकान्तमा रुन्छौ हामी !!

धेरै प्रश्न गर्छ आत्मा,धिक्कारदै आफैलाई 
सही सिख दिएनौ कि,यहि कुरा गुन्छौ हामी !!
सजना गुरुङ्ग

सूचना/सन्द्श/बिज्ञापन 

सूचना ! सूचना !! सूचना !!!

हाल देशभरी गर्मी मौषम तथा बर्षाका कारण खानेपानी दुषित भई बिभिन्न पानीजन्य, खाना जन्य तथा स्वासप्रश्वासको माध्यमबाट सर्ने रोगहरु जस्तै भाइरल ज्वरो झाडापखाला, कमलपित्त, टाइफाइट, रगतमासी लगायलका अन्य ब्यक्तिगत सरसफाईको कमी तथा फोहोरमैलाको उचित ब्यवस्था नहुँदा लाग्न सक्ने रोगहरुबाट पीडित हुनेहरुको संख्या बढीरहेको तथा ती रोगहरुको प्रकोप र महामारी हुन सक्ने भएकाले समयमै निम्नलिखित उपायहरु अपनाई क्षति हुनबाट जोगाऔं र जोगिऔं ।
उपायहरु
१.सधंै सुद्धिकरण गरिएको सुरक्षित पानीमात्र प्रयोग गरौं, पानीको मुहान  वरिपरी सफा राखौं, पानीको सुरक्षित भण्डारण गरौं, सफा ताजा खाने कुरा मात्र खाने गरौं ।
२. भिडभाडमा नजाने र खोक्दा वा हाच्छिउ गर्दा नाक मुक छोपौं । 
३. खाना बनाउनु अघि, खाना खानु अघि र बच्चालाई खुवाउनु अघि, दिसापिसाब गरेपछि, बच्चाको  दिसा सफा गरेपछि र फोहोर कुराहरुलाई छोएपछि हात धुने ।
४. प्रशस्त मात्रामा झोलिलो पदार्थ र पोसिलो खानेकुरा खाने, खुवाउने । 
५. सधैं चर्पीमा मात्र दिसापिसाब गर्ने । 
६. आफ्नो घर आगन सधैं सफा राख्ने र पानी जन्य खाल्डाखुल्डी पुर्ने ।
आदर्श गाउँपालिका 
स्वास्थ्य ईकाई, डोटी

सूचना ! सूचना !! सूचना !!!

क्षयरोग एक प्रकारको सरुवा रोग हो । यो रोग स्वास प्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ । यो रोगको समयमै पहिचान तथा उपचार नहुँदा बर्षेनी सयौं मानिसहरुको यो रोगका शिकार भईरहेका हुन्छन् । यो रोगको समयमै पहिचान गरी उपचार हुन सकेमा सजिलै निको हुन्छ । रोगको समयमै पहिचान तथा नियमित उपचारमा सहयोग पु¥याई क्षयरोगमुक्त नगरपालिका तथा देश निर्माणमा यहाँहरुको महत्वपूर्ण सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं । 
क्षयरोगका मुख्य लक्षणहरु निम्नानुसार रहेका छन् ः 
लगातार खोकी लागिरहनु,   खानाको रुचीमा कमी आउनु 
खकारमा रगत देखा पर्नु,    स्वास बढ्नु (दम लाग्नु) 
साँझपख पसिना सहित मसिनो ज्वरो आउनु, 
दुव्लाउँदै जानु, छाती दुख्नु 
तथा क्षयरोगले असर गरेको अङ्ग अनुसार अन्य लक्षणहरु समेत देखिने गर्दछन् 
उपरोक्त लक्षणहरु देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच तथा खकार परीक्षण गराऔं । 
दिपायल सिलगढी नगरपालिका
स्वास्थ्य ईकाई, डोटी

सूचना ! सूचना !! सूचना !!!

क्षयरोग एक प्रकारको सरुवा रोग हो । यो रोग स्वास प्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ । यो रोगको समयमै पहिचान तथा उपचार नहुँदा बर्षेनी सयौं मानिसहरुको यो रोगका शिकार भईरहेका हुन्छन् । यो रोगको समयमै पहिचान गरी उपचार हुन सकेमा सजिलै निको हुन्छ । रोगको समयमै पहिचान तथा नियमित उपचारमा सहयोग पु¥याई क्षयरोगमुक्त नगरपालिका तथा देश निर्माणमा यहाँहरुको महत्वपूर्ण सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं । 
क्षयरोगका मुख्य लक्षणहरु निम्नानुसार रहेका छन् ः 
लगातार खोकी लागिरहनु,   खानाको रुचीमा कमी आउनु 
खकारमा रगत देखा पर्नु,    स्वास बढ्नु (दम लाग्नु) 
साँझपख पसिना सहित मसिनो ज्वरो आउनु, दुव्लाउँदै जानु, 
छाती दुख्नु  तथा क्षयरोगले असर गरेको अङ्ग अनुसार अन्य लक्षणहरु समेत देखिने गर्दछन् ।
बोगटान गाउँपालिका
स्वास्थ्य ईकाई, डोटी

‘बालश्रम निषेध गरौं, बालअधिकार सुनिश्चित गरौं’
तपाईलाई थाह छ ? 
नेपालको संबिधानको धारा ३९ अनुसार ः 
१. कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाईदैन । 
३. कुनै पनि बालबलिकालाई बाल विवाह, गैरकानुनी ओसार पसार र अपहरण गर्न वा बन्धक राख्न पाईदैन । 
४. कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृति वा धार्मिक प्रचलनको नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शौषण गर्न वा अनुचित प्रयोग गर्न पाईदैन ।  
५. असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा परेका बालबालिकाहरुलाई राज्यले बिशेष संरक्षण दिन्छ ।
त्यसैले होसियार बनौं, बालबालिकाहरुको बृद्धि र विकास रोकिने गरी र उनीहरुलाई शारीरिक, मानसिक रुपमा हानी हुने गरी कुनै क्रियाकलाप नगरौं । यस्ता क्रियाकलापहरु कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा निन्दनीय छन् ।  
दिपायल सिलगढी नगरपालिका, डोटी



No comments:

Post a Comment