Tuesday, July 3, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल असार १९ गते मंगलबार

आफ्नै सूचना 
आर्थिक बर्ष २०७४/०७५ सकिन थोरै दिन मात्र बाँकी रहेको हुँदा यस पत्रिकामा शुभकामना, सूचना, सन्देश, बिज्ञापन प्रकाशन गर्नु भएका आदरणीय बिज्ञापनदाताहरुलाई समयमै भुक्तानी गरि अमुल्य सहयोग गरिदिन हुन हार्दिक अनुरोध छ । साथै बिगतका बर्षहरुझैं आगामी बर्षहरुमा पनि यहाँहरुको निरन्तर सहयोग पाउने आशा र बिश्वास छ । 
बिम्ब साप्ताहिक, परिवार  

आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : 
ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण”
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

समस्यै समस्यामा बित्यो : स्थानीय तहका जनप्रतिनिधिहरुको एक बर्ष

रामहरी ओझा 
असार १८
‘मुख्य समस्या हामीलाई कर्मचारीको भयो । कर्मचारीहरु आउँदै आउँदैनन्, आएपनि बिचमै सरुवा भएर जान्छन् । न हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार छ, न केन्द्र सरकारले कर्मचारी पठाउँछ ।’ 
डोटी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी आफ्नो कार्यकालको एक बर्ष कर्मचारी अभावमै बितेको दुखेसो गर्छन । २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनवाट गाउँपालिकाको अध्यक्षमा छानिएपछि गाउँपालिकाको विकासका लागि केही गर्न उत्साहित थिए उनी । तर धेरै कुराले उनलाई साथ दिएन । 
कर्मचारी अभाव मुख्य कारण भयो उनका लागि, भन्छन् ‘न हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार दिईयो न कर्मचारी पठाईयो ।’ स्थानीय तहको निर्वाचन पहिले हुनु, संघ र प्रदेशको निर्वाचन पछि हुनु पनि उनी समस्या मान्छन् । ‘निर्वाचन भयो, जनप्रतिनिधि त छौं तर कसरी काम गर्ने भन्ने कानुन छैन, मन्त्रालयको पत्रको आधारमा काम गर्नु पर्ने अवस्था आयो’ उनी भन्छन् ‘हामी हतियार बिनै युद्धमा खटिएका सैनिक जस्तै भयौ ।’ 
बोगटीको जस्तै दुखेसो छ के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रवहादुर शाहीको पनि । कर्मचारी अभावकै कारण चाहे अनुसार काम गर्न नसकेको उनी बताउँछन् । ‘एक त मलाई अनुभव पनि थिएन, मैले सिक्नमै बित्यो यो बर्ष’ शाही भन्छन् ‘नीतिगत अन्यौलताका कारण पनि धेरै समस्या भयो ।’ बजेट कसरी बिनियोजन गर्ने भन्ने बिषयमा पनि लामो समयसम्म अन्यौल रहेको शाही बताउँछन् । ‘यो बर्षदेखि काम गर्न सहज होला जस्तो लागेको छ’ उनी थप्छन् ‘तर कर्मचारीको अभाव कहिलेसम्म रहन्छ ।’ 
बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला “एनान” को समस्या पनि उस्तै छ । ‘गाउँपालिका टाढा भएका कारण कर्मचारीहरु जान मान्दैनन्’ उनी भन्छन् ‘गएपनि तीन महिना टिक्दैनन् । कानुनी अस्पष्टता, आफैलाई अनुभवको कमीका कारण चाहे अनुसार काम गर्न नसकेको उनले  स्वीकारे । 
निर्वाचित भएको नौ महिनापछि मात्र न्याय सम्वन्धी तालिम पाएको बताउँछिन् जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा । न्यायिक समितिको संयोजक समेत रहेकी बोहरा भन्छिन् ‘न्यायिक क्षेत्रको अनुभव थिएन, समयमै तालिम दिनु पर्ने थियो त्यो भएन ।’ अन्य स्थानीय तहजस्तै जोरायल गाउँपालिकाले पनि कर्मचारीको अभाव झेल्नु प¥यो । ‘१७ जनाको दरवन्दी हो गाउँपालिकामा तर जम्मा तीन जना मात्रै हाजिर छन्’ उनी थप्छिन् ‘उनीहरु पनि फेरबदल भईराख्छन् ।’ 
अनुभवको अभाव र कर्मचारीको अभाव झेल्यो बडीकेदार गाउँपालिकाले पनि । ‘धेरै गा¥हो भयो यो एक बर्ष काम गर्न’ गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहरा (भाट) भन्छिन् ‘बस्नलाई घर छैन, कर्मचारीहरु छैनन्, नीति नियमहरु प्रष्ट छैनन् ।’ जनअपेक्षा धेरै रहेका तर श्रोत थोरै रहेका कारण पनि काम गर्न समस्या भएको उनी बताउँछिन् । भौतिक पूर्वाधार अभावका कारण पनि काम गर्न गा¥हो भएको बोहराको अनुभव छ । उनी भन्छिन् ‘एउटै कोठामा तीन÷तीन जना बस्नु पर्ने अवस्था छ । 
बैङ्कहरुले समयमै शाखा बिस्तार नगरि दिँदा पनि काम गर्न समस्या भएको जनप्रतिनिधिहरुको गुनासो छ । बोगटान गाउँपालिकाका अध्यक्ष एनान भन्छन् ‘एक पटक खाता खोल्नका लागि, एक पटक पहिलो किस्ता निकासा गर्नका लागि, फेरी अन्तिम किस्ता लिनका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने अवस्था भयो’ एनान भन्छन् ‘यसले गर्दा उपभोक्ताहरु झन मारमा परे ।’
बैङ्ककै कारण पनि आफुहरुले गाली खानु परेको के आई सिंह गाउँपालिकाका अध्यक्ष शाही बताउँछन् ।
सायल, आदर्श, बडीकेदार गाउँपालिकाहरुमा अझै बैङ्किङ कारोवार सुचारु हुन सकेको    छैन । 
भौतिक पूर्वाधार नहुनु, ईमेल–ईन्टरनेटसम्मको सहज पहुँच नहुनु जस्ता समस्याहरुले सोचे अनुसार काम गर्न नसकिएको जनप्रतिनिधिहरुको गुनासो छ । 

सम्पादकीय 

ढिलै भएपनि न्याय भयो

स्वास्थ्य विभागले स्थानीय स्वास्थ्य चौकीमार्फत बालबालिकाहरुलाई लाउने खोपमध्ये दादुराको खोप लगाएका चार जना बालबालिकाहरुको मृत्यु भएको खवरले आजभन्दा ६ बर्ष पहिले डोटी जिल्लामा सनसनी मच्चाएको थियो । घटनाले देशव्यापी रुपमै चर्चा पायो । डोटी जिल्लाको तत्कालीन काडामाण्डौं गाविसमा रहेको स्वास्थ्य चौकीबाट खोप सेवा पाएका चार जना बालबालिकाहरुले मृत्युवरण गरे भने दुई जना गम्भिर घाईते भए । 
उक्त घटना पनि अन्य घटनाहरु जस्तै बिस्तारै सेलाउँदै  गयो । केही पिडित पक्षले दोषीलाई कारवाही गर्नु पर्ने र आफन्तहरुले क्षतिपूर्ति पाउनु पर्ने माग राखे । सुनुवाई भएन, घटनाको पनि बिस्तारै चर्चा हुन छोड्यो । अव आश मारिसकेका थिए पीडित परिवारले । 
तर असार १४ गतेको सर्वोच्च अदालतको आदेशले देशमा न्याय मरेको छैन भन्ने देखाएको छ । समयमै निरुपण हुनु पर्ने थियो त्यो हुन सकेन तर तर फैसला पीडितको पक्षमा आएको    छ । एकातिर जनताले न्यायालय गएपछि न्याय पाईन्छ भन्ने आश गर्ने ठाउँ बढेको छ भने अर्कोतिर पीडितले राहात पाएका छन् । अझै यो घटनामा नेपाल सरकारले क्षतिपूर्ति दिने नभई जस जसको कमजोरी भएको छ, तिनिहरुको छानविन गरी दोषीहरुबाटै क्षतिपूर्ति भराउने गरी आदेश आउनु पर्ने थियो । जसवाट आफ्नो पेशागत कर्तव्यप्रति लापरवाही गर्ने स्वास्थ्यकर्मीहरु, भायल निर्माताहरु र अन्य संलग्न व्यक्तिहरुलाई पनि सचेत गराउने थियो, जिम्मेवार वनाउने थियो । यसको साथसाथै अन्य निकायका व्यक्तिहरुलाई पनि आफ्नो कर्तव्यप्रति सजग गराउने थियो । 
मानवअधिकारको दृष्टिकोणले प्रत्येक व्यक्तिको सम्मान, संरक्षण र परिपुर्तिको दायित्व राज्यको हो । जनताका आवश्यकताहरु, चाहनाहरु राज्यले पुरा गर्नु पर्छ । नेपाल मानवअधिकारमैत्री कानुन निर्माण गर्न र मानवअधिकार सम्वन्धी अन्तराष्ट्रिय सन्धी सम्झौताहरु गर्न माहिर छ । तर ति कानुनहरुको व्यवहारिक कार्यान्वयन गर्नमा जहिले पनि कन्जुस्याई गर्दै आएको छ । एकातिर लोककल्याणकारी राज्य हो भन्ने देखाउने तर व्यवहार जहिले पनि पछि नै रहने परिपाटी रहेका कारण समस्या छ । 
राज्यको कार्यकारी पदमा बस्ने शाषकहरु र प्रशासकहरुको लापरवाहीका कारण जनताले पटक पटक सास्ती खेपिरहनु परेको छ । अनाहकमा ज्यान जाँदैछन् । कतै खोपका कारण, कतै सवारी दुर्घटनाको कारण, कतै जंकफुडका कारण कतै यस्तै अन्य कारणहरुले जनताको ज्यान जाने, अंगभंग हुने जस्ता समस्याहरु रहेका छन । यस्ता समस्यामा जनताले सहारा लिने कुनै ठाउँ नभएका बेला आएको फैसलाले एक पटक फेरी आश जगाएको  छ । 
सरकारले लगाएकाके खोपकै कारण बालबालिकाको ज्यान गएको भन्दै अधिवक्ताद्वय दलवहादुर धामी र जितेन्द्रवहादुर मडैले सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परामादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भनी रिट निनिवेदन दिएका थिए ।  रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, जिल्ला स्वास्थ्य कार्यालय, डोटी लगायतलाई विपक्षी बनाईएको थियो । 
उक्त रिटको फैसला गर्दै सर्वोच्च अदालतले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिन आदेश गरेको छ । यदि आदेशको कार्यान्वयन भयो भने जिल्ला प्रशासन कार्यालय डोटीमार्फत पीडितले क्षतिपूर्ति पाउनेछन् । यस फैसलाले ढिलै भएपनि पीडितहरुले न्याय पाएका छन ।

थप समाचार 

कालो झण्डा देखाएको भन्ने समाचारको खण्डन 

७ नं. प्रदेश सकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहरालाई पार्टी कार्यकताहरुले अछामको   रामारोसनमा कालो झण्डा देखाएको भन्ने समाचारको मन्त्रालयले खण्डन गरेको छ । 
आर्थिक मामिला तथा योजना मन्त्री बोहराका प्रेस संयोजक भरत बोहराद्वारा सोमवार जारी बिज्ञप्तीमा मन्त्री बोहराको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले बिरोध नगरेको स्पष्ट गरिएको छ । बिज्ञप्तीमा केही उश्रृंखल व्यक्तिहरुबाट होहल्ला गरिएको जनाईएको छ ।
शनिवार प्रदेश सरकारको बजेट प्रदेश सभाबाट स्वीकृत भएपछि मन्त्री बोहरा आफ्नो निर्वाचन क्षेत्रका जनातासंग भेटघाट गर्ने सिलसिलामा अछामको रामारोशन पुगेका  थिए । रामारोसन गाउपालिकाको मुजाबगरमा कार्यकर्ता भेटघाट गरि फर्केने क्रममा मन्त्रीलाई लक्षित गरी केही व्यक्तिहरुले होहल्ला गरेको बिज्ञप्तीमा उल्लेख छ । 
बिज्ञप्तीमा भनिएको छ ‘मन्त्री ज्यूलाई पार्टीका कार्यकर्तालेले कालोझण्डा देखाएको भनेर बिभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भएका खबरमा कुनै सत्यता छैन । रामारोसनका कार्यक्रमहरु सकेर मन्त्री ज्यू फिर्ता हुने क्रममा केही उश्रृंखल व्यक्तिहरुले होहल्ला गरेको घटनाप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको समेत बिज्ञप्तीमा उल्लेख छ । केही उश्रृंखल समुहले बिरोध गरेकोमा पार्टी कार्यकर्ताको बिरोध भन्नु सान्दर्भिक नहुने बिज्ञप्तीमा उल्लेख छ । 
बिज्ञप्तीमा थप भनिएको छ ‘मन्त्री बोहराले रामारोसन क्षेत्रको समग्र विकासका लागि बनाएका योजनाले आफ्नो व्यक्तिगत स्वार्थ पुरा हुन नसक्ने भयले अत्तालिएको समूहलाई धैर्यधारण गरेर जनताको सेवा र रामारोसन क्षेत्रको विकासप्रति सक्रिय हुन समेत आग्रह छ । रामारोसन क्षेत्रको पर्यटकीय विकास र त्यहाँका जनताको न्यायका लागि प्रदेश सरकारले आशलाग्दो बजेट विनियोजन  गरेको कुरा स्पष्ट गर्न चाहान्छौं ।’
प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने क्रममा जिल्लाका अन्य क्षेत्रको तुलनामा रामारोसन क्षेत्रमा बढी वजेट विनियोजन  गरेको भन्दै मन्त्री बोहराको उनकै पार्टी नेकपाका कार्यकर्ताहरुले बिरोध गरेको भन्ने समाचार बिभिन्न सञ्चारमाध्यमबाट आएको थियो । मन्त्री बोहरा आईतवार गह जिल्ला अछाम पुगेका हुन । 

एचआईभी संक्रमण दर घट्यो  

७ नं. प्रदेशमा एचआईभी संक्रमण दर घटेको एक अध्ययनले देखाएको छ । 
राष्ट्रिय एचआईभी/एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुको आर्थिक सहयोगमा नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रा.लि. नामक संस्थाले  गरेको अध्ययनले एचआईभीको नयाँ संक्रमण दर घटेको देखाएको हो । संस्थाले प्रदेशका कैलाली, डोटी, अछाम र कञ्चनपुर गरी चार जिल्लाहरु एकिकृत जैबिक तथा ब्यबहारिक सर्बेक्षण गरेको थियो । 
रोजगारीको सिलसिलामा भारत जाने ब्यक्तिका श्रीमतीहरुलाई सर्बेक्षणमा सहभागी गराईएको अध्ययन गर्ने संस्थाका अध्यक्ष तर्कराज भट्टले बताए । सर्बेक्षणमा सहभागी कामदारका श्रीमतीहरुमा एचआईभी र यौन रोग भए÷नभएको जाँच गरिएको थियो । यस्तै एचआईभी÷एड्स र यौन रोगका सम्बन्धमा ज्ञान, चेतना र ब्यबहारको बिषयलाई पनि सर्वेक्षणमा समावेश गरिएको अध्यक्ष भट्टले बताए । उनले भने “यस क्षेत्रमा एचआईभी/एड्सको संक्रमण दर उच्च छ भनेर हल्ला गरिएपनि पछिल्लो अवधीमा संक्रमण दर घट्दै गएको देखिएको छ ।” सर्बेक्षणमा यौन ब्यबहार, एचआईभी संक्रमणको अवस्थालाई बिस्तृत रुपमा अध्ययन गरिएको भट्टले वताए । 
डोटीमा ८०, कैलालीमा एक सय २०, कञ्चनपुरमा एक सय ४० र अछाममा ६० गरी जम्मा चार सय जनामा अध्ययन गरिएको थियो । अध्यायनका क्रममा जांच गरिएका महिलाहरुमध्ये कसैमा पनि एचआईभीको संक्रमण फेला  नपरेको बताईएको छ । यौन रोग भने कतिपयमा देखा परेको थियो । अध्यायनका क्रममा यौन ब्यबहार, कण्डमको नियमित प्रयोग, एचआईभी संक्रमण भए/नभएको जाँच लगायतका अवस्थाको अध्ययन भएको हो । 
जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डा भुषण मिश्रका अनुसार जिल्लामा लामो समयदेखि एआरभी औषधी सेवन गरिरहेका एचआईभीको संक्रमितहरुको संख्या जिल्लामा ठुलो भएपनि नयाँ संक्रमितहरु पत्ता लाग्ने क्रम भने अघिल्ला बर्षहरुको तुलनामा घट्दै गएको छ । डा मिश्रले भने “सरकारी तथा गैरसकारी क्षेत्रवाट सञ्चालन भएका जनचेतना मुलक कृयाकलापहरुका कारण पनि नयाँ संक्रमण दर कम भएको हो ।”

जलबिद्युत निर्माण अन्तिम चरणमा

डोटीको बडीकेदार गाउँपालिका–१ बिपिनगरमा निर्माणाधीन सालमुनी जलबिद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
स्थानीय कापडी गाडमा निर्माण भइृरहेको उक्त आयोजनाका सुरुङ्ग ईन्चार्ज मिन पोखरेलका अनुसार आयोजनाको निर्माण कार्य करीव करीव अन्तिम       चरणमा रहेको छ । ‘वैशाखमै काम सक्ने लक्ष थियो, विभिन्न कारणले ढिलो भयो’ पोखरेलले भने ‘अब हामी करिब करिब अन्तिम चरणमा पुगेका छौंं ।’ 
करीब एक अर्बको लगानीमा निर्माण भएको आयोजना सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भु कन्स्टूक्सनले निर्माण   गर्दैछन् । ३.३३ मेगावाट बिद्युत उत्पादन क्षमताको आयोजना हालसम्ममा डोटीकै सवैभन्दा ठुलो आयोजना हो । सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भु कन्स्ट्रक्सन र नेपाल सरकारबीच सम्झौता भए अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । उत्पादित बिद्युत नेपाल सरकारले नै आवश्यक क्षेत्रहरुमा विक्रि बितरण गर्ने भन्ने सम्झौता भएको छ । 
सम्झौता अनुसार ३० वर्षसम्म विद्युत विक्रिबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ । पहिलो गरिएको भन्दा लागत अनुमान बढेको पोखरेल बताउँछन् । उनी भन्छन् ‘हामीले सुरुमा काम गर्दा ८०÷९० करोडको लगानीमा काम सम्पन्न होला भन्ने सोचेका थियौं, पछि काम गर्दै जाँदा एक अर्बनै लागेको देखिएको छ, तर हामी काम सम्पन्न     गरेरै छोड्छौं ।’ 
आयोजनाको निर्माणका क्रममा स्थानीय कापडी गाडको पानी सुरुङ्गमार्फत आयोजनामा बिद्युत गृह हुँदै स्थानीय ठुलीगाडमा छोडिनेछ । त्यसका लागि एक हजार दुई सय तीन मिटर लामो सुरुङ्ग तयार भईसकेको निर्माण पक्षले जनाएको छ ।  
त्यसो त बिद्युत निर्माणका क्रममा अनावश्यक वन फडानी गरेको भन्ने अरोप समेत लगानीकर्ताहरु खेपिरहेका छन् तर आयोजना निर्माण हुन थालेपछि स्थानीयहरु उत्साहित भएका छन् । आयोजनाले गाउँमै रोजगारी सृजना भएपछि कामका लागि भारत जाने क्रम घटेको स्थानीय लोकेन्द्र बहादुर छेडालले बताए । उनले थपे ‘‘हाइडूोपावरले सबैलाई खुशी नै बनाएको छ, घरको खाना खाएर काम गर्न जान्छन्, रोजगारी मिलेको छ, यो भन्दा अरु के नै चाहियो र ।’
आयोजनाले उत्पादन दिन थालेपछि जिल्लाका सवै क्षेत्रमा बिद्युत बिस्तार हुने अनुमान गरिएको छ । 

खोपकै कारण मृत्यु भएको ठहर
१० लाख क्षेतिपूर्ति दिन न्यायालयको आदेश

दादुराको खोपका कारण मृत्यु भएका डोटीका चार बालबालिकाका परिवारले जनही १० लाख रुपैयाँका दरले क्षेतिपूर्ति पाउने भएका छन् । 
२०६९ साल भाद्र ३ गते डोटी पूर्वीचौकी गाउँपालिका–५ (साविकको काडामाण्डौंं गाविस) का बालबालिकाहरु–लाई खोप लगाउने क्रममा दादुराको खोप लगाईएका ६ जना बालबालिकाहरुमध्ये चार जनाको मृत्यु भएको थियो । दुई जना गम्भिर विरामी परेका थिए । खोप लगाएको भोलीपल्टै मृत्यु भएका चार बालबालिकाका आफन्तहरुले खोपकै कारण मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गर्दै आएका थिए । 
बिहिवार सर्वोच्च अदालतका न्यायाधिशद्वय बिश्वम्वर प्रसाद श्रेष्ठ र डा आनन्दमोहन भट्टराईको संयुक्त ईजलासले रिट निवेदकको दावी उपयुक्त भएको ठहर गर्दै मृतकका परिवारलाई क्षेतिपुर्ति दिन बिपक्षीका नाममा आदेश गरेको हो । आदेशमा भनिएको छ ‘राज्यका अधिकारीहरुको असावधानी र गैरजिम्मेवार कार्यका कारण निर्दोष बालवालिकाको ज्यान गएको देखिएकोले तिन महिनाभित्र मृतक बालबालिकाहरुको अभिभावकलाई जनही दश लाख रुपैयाँ क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालय, डोटीमार्फत दिलाई सो प्रदुषित भायलको प्रयोगबाट विरामी भएका अन्य बालबालिकाहरुको हकमा निशुल्क उपचार तथा उनीहरुले व्यहोर्नु परेको हैरानीको लागि चित क्षतिपूर्ति समेतका लागि विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’
दादुराको खोप लगाएको भोलीपल्ट अर्थात २०६९ साल भाद्र ४ गते खोपको भायलका कारण डोटी पूर्वीचौकी गाउँपालिका–५ का १२ बर्षीय मिलन नेपाली, आठ महिनाकी सुजाता नेपाली, १९ महिनाकी गौरी चिराल र पूर्वीचौकी–६ गाँजरी घर भई काडामाण्डौं मामाघर आएकी नौ महिनाकी अञ्जु विक रहेका थिए । 
सरकारले लगाएकाके खोपकै कारण बालबालिकाको ज्यान गएको भन्दै अधिवक्ताद्वय दलवहादुर धामी र जितेन्द्रवहादुर मडैले सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परामादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भनी रिट निनिवेदन दिएका थिए । रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, जिल्ला स्वास्थ्य कार्यालय, डोटी लगायतलाई विपक्षी बनाईएको थियो । 
रिटमा तत्कालीन अवस्थामा प्रयोग भईरहेको दादुरा खोपको भायल तत्काल रोकी परीक्षण गरेर मात्रै प्रयोग गरिनु पर्ने, नेपालको कानुन र अन्तराष्ट्रिय सन्धी महासन्धीको व्यवस्था बमोजिम जनताले गुणस्तरीय स्वास्थ्य उपचार पाउनु पर्ने, मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने र बिरामीहरुको उपचार सरकारले गर्नु पर्ने माग गरिएको थियो । रिटमा स्वास्थ्य क्षेत्रबाट पटक पटक यस्ता लावरवाहीहरु हुने गरेकाले अध्ययन गरी दोषीमाथी कारवाही गर्नु पर्ने समेत माग गरिएको थियो । 

छाउपडी प्रथाको प्रभाव रहेका जिल्लाहरुमा बिशेष सम्मेलन गरिने

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छाउपडी प्रथा हटाउन छाउपडी प्रथाको बढी प्रभाव रहेका जिल्लाहरुमा बिशेष सम्मेलन गरिने वताएका छन । 
छाउपडी प्रथाले महिलाको जीवनमा पारेका प्रभाव बिषयक अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोगले आईतवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष शर्माले सो कुरा वताएका हुन । “छाउपडी प्रथाले महिलाहरुको जीवनमा धेरै नकारात्मक प्रभाव पारेको छ” अध्यक्ष शर्माले भने ‘यसको अन्त्यका लागि सबै जिम्मेवार हुनु जरुरी छ ।’ उनले थपे ‘छाउपडी प्रथा समाजमा रहेको नराम्रो संस्कृति हो, यो प्रथाबाट नेपाली महिलाहरू मानसिक तथा शारीरिक रूपले पीडित छन् । उनले छाउपडी प्रथाको अन्त्य गर्न महिला स्वयंले आफैबाट परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।
अध्यक्ष शर्माले आयोगले सार्वजनिक गरेको ‘छाउपडी प्रथाले महिलाको जीवनमा पारेको प्रभाव अध्ययन प्रतिवेदन’ ले महिलाका सबै पीडा समेट्न नसकेको बताए । ‘रजस्वला भएका बेला छाउपडीका नाममा महिलाले भोगेका प्रभावहरू धेरै छन्’ उनले भने ‘अध्ययन प्रतिवेदनले ती सबै समेट्न सकेको छैन ।’ 
कार्यक्रममा कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी जनक भट्टले छाउपडी प्रथा ७ नम्बर प्रदेशमा मात्र नरहेको चर्चा गरे । ‘देशभरी नै अधिकांस नेपालीले महिला रजस्वला भएका वेला छाउ वा नछुने मान्ने गरेका छन’ उनले भने ‘तर प्रदेश ७ मा छाउ भएका बेला महिलाले अकालमै ज्यान गुमाउनु परेकाले बढी चर्चा पाइरहेको छ ।’
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले थारू समुदायमा किशोरी महिनावारी हुँदा ‘फूल फुलल बा’ भनेर सम्मान गरेर राख्ने गरेको चर्चा गरिन् । उनले थपिन ‘तर क्षेत्री, बाहुन तथा दलित समुदायका महिला तथा किशोरी रजस्वला हुँदा गोठमा वा घरभन्दा टाढा राखिने गरिएको छ, अब महिनावारीलाई सरसफाईसँग जोडेर अघि बढ्नुपर्ने हुन्छ ।’
महिलाहरूले रजस्वला हुँदा अहिलेको जस्तो स्यानेटरी प्याडहरू नभएकाले जहाँ बसेपनि रगतका थोपाहरू देखिने हुनाले महिनावरी हुँदा घरबाट केही टाढा राख्ने गरिएको हुन सक्ने उनले वताए । 
‘अहिले अवस्था र व्यवस्थामा परिवर्तन आएपनि मानसिकता फेरिएको छैन’ उनले भनिन् ‘समाजको कलंकका रूपमा रहेको यो छाउपडी प्रथाबारे मानसिक रूपमै परिवर्तन गर्नु जरुरी छ ।’ उनले छाउपडी प्रथालाई हटाउन बाध्यकारी कानुनसँगै सचेतनामूलक कार्यक्रम प्रभावकारी सञ्चालन गर्नुपर्ने बताइन् ।
मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले आयोगले तयार पारेको छाउपडीको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताइन् । अन्सारीले नेपाल सरकारले २०६४ सालमै छाउपडी प्रथाको अन्त्यका लागि निर्देशिका जारी गरेपनि कार्यान्वयन हुन नसकेको बताइन् । अभियानलाई अगाडि बढाउनुभन्दा पनि बनेका कानुनलाई कार्यान्वयन गर्नमा जोड दिन जरुरी रहेको बताइन् ।
प्रतिवेदन तयार पार्नका लागि गरिएको अध्ययनको क्रममा शिक्षित वर्ग र धर्मगुरुबाट लुकिछिपी छाउपडीलाई प्रशय दिएको पाइएको आयोगका प्रवक्ता समेत रहेकी अन्सारीले बताइन् ।  
‘परिवर्तनको सन्देश दिन धामी झाँक्री, धर्मगुरुहरु, शिक्षकको भूमिका महत्वपूर्ण रहन्छ’ उनले भनिन् ‘तर उनीहरुले नै हिडेन रुपमा छाउपडीलाई प्रशय दिएको पाइएको छ ।’
उनले सरकारले संरचना बनाई विकास गर्ने र फेरि भत्काइदिने परिपाटीका कारण पनि समाजमा अझै विकृति, कुरीतिहरू कायमै रहेको बताइन् ।  छाउपडी प्रथा एक जिल्लाबाट अर्को जिल्लामा सर्दै विकराल बन्दै गएको अन्सारीको भनाई । ‘पहिला दैलेखमा छाउपडी प्रथा थिएन, तर अहिले सो क्षेत्रमा पनि यो कुप्रथाले विकराल रूप लिएको छ’ उनले थपिन ।
पत्रकार निर्मला खडायतले आफु डेरामा बस्नका लागि कोठा खोज्दा घरवेटीले महिनावारी भएको बेला पाँच दिनसम्म कोठामा बस्न नपाईने शर्त राखेको घटना सुनाईन । कञ्चनपुरस्थित आफ्नो घरमा कहिल्यै महिनावारी      नबारेकी खडायतलाई धनगढीमा बस्नका लागि पनि घरवेटीको शर्त मान्नु पर्ने वाध्यता थियो । ‘महिनावारी हुँदा कोठाबाहिर गएन, ढाँट्दै, घरभित्र बस्दै गएँ’ उनले भनिन् ‘तर, थाहा पाइसकेपछि मलाई त्यो घर छोड्न बाध्य पारियो ।’ 
शहरमा घरैपिच्छे छाउपडी गोठ रहेको सामाजिक कार्यकर्ता धनपति ढुङ्गेलले वताए । ‘धनगढीका घरमा अगाडितिर सटर छ र घरैपिच्छे पछाडितिर छाउँगोठ छ’ उनले थपे ‘यो कुप्रथा हो । यसलाई नष्ट नगरी हुँदै हुँदैन ।’ अहिले प्रदान  गरिने शिक्षामा रुपान्तरण नहुँदासम्म छाउपडी कुप्रथा समस्याको रुपमा रहि  रहने ढुङ्गेलले जिकिर गरे । 
कार्यक्रममा अधिवक्ता जोहारीलाल चौधरीले सर्वोच्च अदालतले २०६२ सालमा छाउपडीलाई कुप्रथाका रूपमा घोषित गरेपनि अहिलेसम्म सरकार पक्षले पालना गरेको नदेखिएको बताए ।
अधिकारकर्मी चित्रा पनेरूले छाउपडी प्रथा हटाउन सचेतना कार्यक्रमभन्दा पनि दण्डीत गर्ने बाटोमा अघि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा सहभागीहरूले छाउपडी प्रथालाई समाजबाट हटाउन व्यक्तिको सोचाईमा परिवर्तन ल्याउन जरुरी रहेको बताएका थिए ।
७ नं. प्रदेशको अछाम सहित पहाडी जिल्लामा छाउपडी कुप्रथाको डर लाग्दो अवस्था रहेको र तराईका शहरमा पनि उत्तिकै रहेको प्रतिवेदनले देखाएको छ । २०५८ सालयता छाउपडी कुप्रथाको कारणले अछाममा मात्रै १४ जना महिलाको ज्यान गइसकेको छ । छाउपडी कुप्रथाले ज्यानै लिन थालेपछि यसको विरुद्ध व्यापक आवाज उठे पनि अझै प्रथाकै रुपमा निरन्तरता दिइएको छ ।

छोटकरी 

बर्षाका कारण ११ को मृत्यु

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गरी ११ जनाको ज्यान गएको छ । 
गृह मन्त्रालयका अनुसार आठ जिल्लामा ११ जनाको मृत्यु भएको हो । रोल्पामा तीन र बाँकेमा चार जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौं र पर्सामा नदीले बगाएर तथा कैलाली घर भत्किएर एकएक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

तालिम सम्पन्न

डोटी जिल्ला सदरमुकाम सिलगढीमा पोषण र आधारभुत पत्रकारिता सम्वन्धी दुई दिने तालिम आईतवार सम्पन्न भएको छ । 
बागेश्वरी अशल शासन क्लव (बास) डोटीको आयोजना र जिल्लाका बिभिन्न स्थानीय तहको सहयोगमा सञ्चालित उक्त तालिममा २१ जना युवायुवतीहरुको सहभागिता रहेको थियो ।  
बहुक्षेत्रीय पोषण परियोजना लागु भएकाक दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका, बोगटान गाउँपालिका र के आई सिंह गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको बासका अध्यक्ष गणेशवहादुर मौनीले जानकारी दिए । उनले तालिममा भरखरै पत्रकारिता सुरु गरेका र पत्रकारिता पेशामा आउन ईन्छुक युवा युवतीहरुलाई सहभागि गराईएको जानकारी दिएका छन ।

खेल समाचार 

यसरी हरायो जापानलाई

एजेन्सी
रसियामा भर्खरै सम्पन्न भएको जापान तथा बेल्जियमबीचको रोमाञ्चक प्रतिष्पर्धात्मक खेलमा अन्ततः बेल्जियमले ३–२ को विजय हासिल गरेको छ । खेलको इन्जुरी समयमा बेल्जियमले काउन्टर एट्याकमा खुकुलो जापानी डिफेन्सको फाइदा उठाउँदै जापानमाथि जित हात पारेको हो ।
काउन्टर एट्याकमा गोल खानुअघि जापानले बेल्जियमविरूद्ध कर्नर पाएको थियो र उसका प्रायः सबै खेलाडी बेल्जियमको पोस्टमा थिए । बेल्जियमले त्यसैको फाइदा उठाउँदै जापान विरूद्ध विजयी गोल ग¥यो ।
सो गोल नासेर चडालीले ९४ औं मिनेटमा गरेका हुन् । अन्तिम समयमा नतिजा बेल्जियमको पक्षमा भएपनि जापानले सोमबार राती सम्पन्न खेलमा गतिलो टक्कर दिएको थियो । एक समय नतिजा उसको पक्षमा थियो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेका जापान र बेल्जियमबीचको खेलमा जापानले तीन मिनेटभित्र दुई गोलको झट्का दियो । बेल्जियमलाई झट्का दिने क्रममा जापानले दोश्रो हाफको तीन मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो ।
नकआउट प्रवेश गरेको एक मात्र एसियाली राष्ट्र जापानका लागि हारागुचीले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए। जापानको सो गोलबाट उम्कन नपाउँदै जापानले फेरि बेल्जियमलाई ३ मिनेटमा नै अर्को झट्का दिएको थियो । जापानका लागि ५१ औं मिनेटमा जापानका इनुले दोश्रो गोल गरेका थिए ।
खेलमा जापानले यसरी लगातार दुई गोल गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावनालाई बढाएको थियो तर २ गोलको अग्रताले हौसिएको जापान आक्रमण छोडेर रक्षात्मक हुँदा उसले सो सम्भावना र अग्रतालाई धेरै बेर जोगाउन सकेन ।
३ मिनेटभित्र २ गोलको झट्का बेहोरेको बेल्जियमले जापानलाई ५ मिनेट भित्र लगातार २ गोल गर्दै बराबरी ग¥यो र ब्राजिलसँग हुने भिडन्तको दौडमा आफूलाई कायम राख्यो ।
बेल्जियमका लागि पहिलो गोल खेलको भेर्टङ्गनले खेलको ६९ औं मिनेटमा गर्दा दोश्रो गोल फेलानीले ७४ औं मिनेटमा हेडमार्फत गरे।
सेमिफाइनल फ्रवेशका लागि बेल्जियमले ब्राजिलसँग शुक्रबार कजान रंगशालामा भिडन्त गर्नेछ ।

चलचित्र/मनोरञ्जन 

“ईन्टु मिण्टु लण्डनमा” को टिजर सार्वजनिक

तोपाटी अनलाईनबाट
साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगर स्टारर ’इन्टु मिन्टु लन्डनमा’ ले आफ्नो टिजर रिलिज गरेको छ । बिहिबार एक कार्यक्रम गर्दै फिल्मको टिजर रिलिज गरिएको हो ।
फिल्म कोरियोग्राफर रेनेशा बान्तवा राईको निर्देशकीय डेब्यू फिल्म हो ।
टिजर रिलिज कार्यक्रममा बोल्दै रेनशाले फिल्म पूर्णतया प्रेमकथामा निर्माण गरिएको बताउँदै निर्देशकिय डेब्यू फिल्मका लागि करिब डेढ वर्षसम्म अन्य फिल्ममा कोरियोग्राफी नगरेको बताइन् ।
‘सिनेमा एकदमै राम्रो बनाएका   छौँ ’ उनले भनिन् ।
नेपालमा ३५ र ६५ प्रतिशत लण्डनमा छायाँकन गरिएको फिल्मलाई आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल फिल्मका सह–निर्माताका रूपमा रहेका छन् ।
निर्देशक रेनशा र निर्माता प्रज्ज्वल समशेरको कथा रहेको फिल्ममा शारुक ताम्राकार पनि मुख्य भूमिका छ । फिल्म असोज पाँचमा रिलिज हुनेछ ।
अभिमन्यु दिक्षित र रेनशाले समूक्त रूपमा लेखेको फिल्ममा आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत छ ।  

लेख 

छोरीलाई आत्मनिर्भर बनाउने कि “ग्रिनकार्डवाला” ज्याई खोज्ने ?
पुरुषहिंसा अन्त्य गरौं, एकै रथका दुई पांग्रा बनौं

निरुपा प्रसुन
नुवाकोटका सुमन खत्रीले ३५ बर्षको हुदाँ १७ बर्षकी युवतीसँग विवाह गरे । आफ्नै फुपूले खोजि दिएकी ललितपुरको केटी । भर्खर प्लस टु सकेकी छोरी अझै अगाडि पढोेस् र आफ्नै खुट्टामा उभियोस् भन्ने अभिलाषा बाबु–आमाको नभएकै त होला, केटा जापान बसेको भनेपछि बिहे गरियो । न उमेरले फरक पा¥यो, न शिक्षाको नै अभाव खड्क्यो ।
अन्ततः परिवारकै सहमतिमा आफूभन्दा दोब्बर उमेरको केटासँग छोरीकै राजीखुशीमा विवाह गरिदिएर पठाइयो । विवाह पनि हतार हतारमै मन्दिरमा भयो र बिहे गरेको चार दिनपछि नै दुबैजना जापान गए ।
जापान केटीले सोचेजस्तो सजिलो थिएन । शहर झिलिमिली थियो । तर, संघर्षको पहाड आ–आफ्नै ।
विवाह गर्ने बेलैमा आफूभन्दा धेरै सानो उमेर भएकाले सुमनले हुन्न भनेको थियो तर केटीपट्टि र स्वयं केटीले नै सबै सहन सक्ने र आफू यस विवाहप्रति अत्यन्तै खुशी हुने बताएपछि बिहे भएको थियो ।
जापान गएको केही दिनपछि नै केटीमा परिवर्तन आयो । उसले के सोचेकी थिई, के भयो कुन्नी ! जहिल्यै रिसाउन थाली । बोलीपिच्छे झर्कन थाली । सुमनसँग सँगै हिँड्न लाज मान्न थाली ।
अन्ततः दुबैजना नेपाल फर्किए । काठमाडौं जोरपाटीमा ऋण–धन गरेर बनाएको घर श्रीमतीका नाममा गरिदियो सुमनले । केही दिनको नेपाल बसाइपछि पुनः जापान फर्कियो ।

दोस्रोपटक उता गएपछि श्रीमती अलग्गै बस्न थाली । सुमन अहिले पहिलेजस्तै साथीहरुसँग बस्न थालेको छ । यता नुवाकोट घरमा बुढा आमा–बुवा छन् । उनीहरुलाई नराम्रो लाग्ला भनेर आफ्नो भत्किएको सम्बन्धका बारेमा सुमनले भनेको छैन । दुबैजना सँगै छौं भन्छ सुमन । यता आफ्नो बैवाहिक जीवनको कथा भने अर्कै छ । के यो पुरुषहिंसा होइन त ?
यो त एउटा उदाहरण मात्र हो । अलि अगाडि पोखराका एकजना दाइले सुनाउँदै हुनुहुन्थ्यो पोखरा लेखनाथ निवासी वहाँकै आफन्त पर्नेको घरमा घटेको घटना रे । ग्रिनकार्ड होल्डर छोराको धुमधामसँग विवाह गरेर अमेरिका गए दुलहा–दुलही । उता अमेरीकामा ल्यान्ड हुने बित्तिकै दुलहीले आफ्नो अमेरिकामै बस्दै आएको ब्वाइफ्रेण्डलाई बोलाई र त्यहीँ मगंलशुत्र फुकालेर दिईवरि दुलाहालाई ‘गुडबाई’ गरेर ब्वाईफ्रेण्डसँग गई   रे । के हो यो ? पुरुषहिंसा होइन त ?
यस्ता घटना सुन्दा ओठबाट फुत्कन्छ अनायसै बिचरा पुरुष ! यो त एउटा पक्ष हो पुरुषपीडित भएको । सुमन विवाह गरेर पनि एक्लो जीन्दगी जिउन विवश छ भने उता जीन्दगीभर लगाएर कमाएको पैसा खर्च गरेर विवाह गरेर केटीलाई अमेरिका पु¥याई दिने माध्यम पो बन्नु प¥यो लेखनाथको युवकले ।
हाम्रो समाजभित्र घट्ने यस्ता घटनाका प्रतिनिधि घटना मात्रै हुन् । पुरुषलाई तिरस्कार गर्दैमा अनि पुरुषलाई हेयको दृष्टिकोण राखेर पीडा दिँदैमा र पुरुषलाई अन्याय गरेर बर्षौंदेखि पुरुषले महिलालाई गरेको जस्तो व्यवहार गर्दैमा महिलाले आफ्नो अधिकार प्राप्त गर्ने होइन होला । बर्षौं बर्षपछि ‘पुरुषवादी’ भनेर फेरी पुरुषहरुले आफ्नो आवाज उठाउनु प¥यो भने के अर्थ नारी–पुरुष एक  रथका दुईपांग्रा भन्ने उक्तिको ?
एउटाले अर्कोलाई उछितो काढ्नु र बदलाको भाव पैदा गर्नु भन्दा एकअर्काप्रति उदारभाव राख्दा कसको के बिग्रन्छ ?
कतिलाई लाग्न सक्छ, हामी पुरुषको दासत्वबाट थोरै मुक्तिको आभाशतिर ढल्कदैछौं । एकदुई नारीको बेइमानीको गाथा लेख्न किन हतार ? त्यो पनि स्वयंम नारी भएर ।
तर, नारी भएरै यो सोच आएको हो । नारीले मात्रै ठेक्का लिएको पनि छैन घर परिवार सम्माल्न अनि समाजलाई सही मार्गदर्शन दिन । तर, पुरुष आफैंमा  अराजक छ, मनोमानी छ । फेरि नारी पनि उस्तै बनिदिन्छे भने कता जान्छ समाज ?
हुन त प्रत्येक निर्मित वस्तुहरु आफैंमा निश्चित उमेर लिएर आएका हुन्छन् । एक न एक दिन त्यसको विनाश अवश्यभावी छँदैछ । अन्त्य कसरी हुन्छ भन्ने मात्रको कुरा हो । यो पृथ्वी र हाम्रो पनि एक दिन अन्त्य हुन्छ नै । यस्तो पलभरको संसारमा आएर पनि हामी अजम्बरी पाएको जस्तो किन गर्छौं ? भावी पिँढीलाई नारी–पुरुष अलग जात भनेर किन चिनाउन लागिपर्छांै ? तँ नारी, म पुरुष भनेर लुछाँचुँडीमा अन्त्य हुनु भन्दा हामी र हाम्रो भन्न सिकाउन जरुरी छ ।
मान्छे हो दुवै प्राणी । दुबैको अस्तित्व बराबरी छ, यस ब्रह्माण्डमा । मलाई उदेक लाग्छ कहिलेकाँहि, एक नारीले ‘हामी बच्चा पाउने मेसिन होइन ।’ ‘हामी बच्चा पाउन सक्दैनौं ।’ भन्ने जस्ता आशयका नाराहरु जब अन्तराष्ट्रिय टीभी च्यालनमा देख्छु । नारीले आफ्नो जन्मसिद्ध पाएको उपहारलाई पनि अभिशाप ठान्नु के यो मानव विकास ध्वस्त हुने संकेत होइन ? 
मलाई यहीनिर अचम्म लाग्छ । गर्व गर्नुपर्ने कुरामा हामी किन हीनताबोध गरिरहेका छौं ? सौन्दर्यलाई किन घृणा गरिरहेका छांै ? तँ पुरुष, म नारीभन्दा माथि गएर सोचौं । बस् हामी मानव हौं । त्यसपछि यावत   कुरा आउँछन् । हो, कति नारीले अनेक नाममा भौतिक रुपमा जिउँदै जल्न परेको छन् । उनीहरु आगो पिएर जीवन धान्न विवश छन् । यो थाहा हुदाँहुदै पनि म  थोरै पुरुषको वकालतमा उत्रिएकी छु । हामीकहाँ पीडक र पीडित अलग परिबेश र अलग समुदायका छन् । कहीँ भयंकर हिंसा सहेर बाँच्न विवस छन् महिलाहरु । कहीँ सास फेर्न सक्ने जति हिँसा सहेका छन् र सजिलैसँग बाँचेका छन् महिलाहरु दुःखको भारी बोकेरै पनि ।
हो यहीँनेर दुःखको भारी महिलामाथि मात्र छैन, पुरुषमाथि पनि छ भन्ने देखेँ । हिंसा पुरुषले पनि सहेर जीन्दगी घिसारिरहेको आफ्नै आँखाले देखेँ । त्यसैको प्रभावले केही लेखुँ लाग्यो र लेख्न बसेकी हुँ ।
२१ औं शताब्दीसम्म आइपुग्दा हाम्रो नेपाली समाजमा कहिले दाइजोका नाममा महिलालाई जलाइन्छ त कहिले संस्कृति र परम्पराका आडमा महिलाहरु मर्न विवश हुन्छन् छाउपडीका नाममा । मलाई लाग्दैन कि यो पुरुषले मात्र गरेको अपराध हो । यसमा त सम्पूर्ण समाज नै दोषी देख्छु म । तर, विद्धानहरु यस विषयमा छलफल गर्न उद्दत्त छन्, निर्मूल गर्नपट्टि लाग्दैनन् कहिल्यै पनि ।
अचेल युवतीहरुले पनि बिदेश जाने आकांक्षामा, धनको प्रलोभनमा त्यसै गरी आफ्नो स्वार्थ पूर्तिका लागि पुरुषहरुलाई प्रयोग गरेका घटनाहरु प्रशस्त सुन्नमा आएका छन् । आमा–बुवाहरु पनि विदेश बस्ने केटा भनेपछि आँखा चिम्लेर छोरी दिन्छन् छोरीले सुखै पाउँछे भन्ने सुनिश्चितताका साथ । तर, किन छोरीलाई आत्मनिर्भर बनाउन छाडेर यो बाटो अपनाउँछन् शिक्षित अभिभावकहरु नै ?
यसरी यस्तो तरिकालाई नारीले चाँहि किन गर्न नहुने भन्न मिल्छ त ? यो एउटा हिंसा र विकृति नै हो  नि । होइन त ? पहिले त हामीले सोच बदल्नु जरुरी छ । पुरुषहरुले जसरी हेपेका थिए त्यसै गरी हामीले पनि उनीहरुलाई हेप्नुपर्छ भन्ने छैन । बदला लिनुपर्छ भन्ने छैन । बराबरी त शिक्षामा, आर्थिक रुपमा अनि बौद्धिकतामा पो हुनुप¥यो । सामाजिक र राजनैतिक रुपमा हुनुपर्छ । पहिले आफू सक्षम हुनु प¥यो । यसरी नाटक गरेर जालझेल गरेर पनि कहिल्यै बराबरीमा पुगिन्न । यो क्षणिक हो ।
जुनदिन महिलाले पुरुषलाई र पुरुषले महिलालाई हिंसा गर्नुपर्छ भन्ने सिद्धान्तबाट हामी मुक्त हुन्छौं, त्यो समयदेखि हामी स्वतः हामीले कल्पना गरेको सधैं भनिने एक रथका दुई पाग्रा हुनेछौं भन्ने यो पंक्तिकारलाई     लागिरहन्छ ।               — अनलाईन खवरबाट

लोकसेवा आयोगको तायरीका लागि उपयोगी 

१. स्थानीय तह भनेको के हो ?
— नेपालको संविधान अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो ।
२. गाउँपालिका भनेको के हो ?
— गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो ।
३. गाउँ कार्यपालिका भनेको के हो ?
— गाउँपालिकाको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हो ।
४. गाउँसभा भनेको के हो ?
— गाउँपालिकाको व्यवस्थापिकीय कार्य गर्ने अङ्ग गाउँसभा हो ।
५. नगरपालिका भनेको के हो ?
— नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो ।
६. नगर कार्यपालिका भनेको के हो ?
— नगरपालिकाको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हो ।
७. नगरसभा भनेको के हो ?
— नगरपालिकाको व्यवस्थापिकीय कार्य गर्ने अङ्ग नगरसभा हो ।
८. गाउँ सभा कसरी बन्छ ?
— गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष, गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरु, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दलित) सहित ४ जना सदस्यहरु रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिका भित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यहरु समेत मिलेर गाउँसभा बन्छ ।
९.दलहरुले महिला वडा सदस्यमा उम्मेदवारी दिंदा कसरी दिनु पर्दछ ?
— दुई जना महिला वडा सदस्यको लागि दलहरुले मनोनयनपत्र दर्ता गर्दा एक जना दलित महिलाको नाम समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ भने एक जना मात्र महिला सदस्यको लागि मनोनयनपत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समावेश नगरे पनि हुने व्यवस्था रहेको छ ।
१०. गाउँकार्यपालिका कसरी बन्छ ?
— गाउँ कार्यपालिकामा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, गाउँसभाले आफुमध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका २ जना सदस्यहरु मिलेर गाउँकार्यपालिका बन्छ ।
११. नगरसभा कसरी बन्छ ?
— नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख, नगरपालिका भित्रका वडाका वडा अध्यक्षहरु, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला सहित ४ जना सदस्यहरु र सो सभाले सम्बन्धित नगरपालिका भित्रका दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर सभा बन्छ ।
१२. नगर कार्यपालिका कसरी बन्छ ?
— नगर कार्यपालिकामा एक जना प्रमुख, एक जना उपप्रमुख, नगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगर सभाले आफुमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर कार्यपालिका बन्छ ।
१३. गाउँसभा र नगर सभाको कार्यकाल कति वर्षको हुन्छ ?
— गाउँ सभा र नगर सभाको कार्यकाल ५ वर्षको हुन्छ । गाउँसभा र नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि सदस्यको निर्वाचन हुन्छ ।
१४. जिल्ला सभा कसरी बन्छ ?
— सम्बन्धित जिल्ला भित्र रहेका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु सदस्य रहेको जिल्ला सभा बन्छ ।
१५. जिल्ला सभाले के काम गर्छ ?
— जिल्ला सभाले जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ । जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धी कार्यको अनुगमन गर्ने र जिल्लामा रहने सङ्घीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने कार्य गर्छ ।
१६. जिल्ला समन्वय समिति कसरी बन्छ ?
— जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य निर्वाचित गरी जिल्ला समन्वय समिति बनाउँछ ।
१७. जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यमा क–कसले उम्मेदवारी दिन पाउँछन् ?
— जिल्ला सभाका सदस्यहरुका साथै जिल्ला भित्रका गाउँसभा र नगरसभाका सदस्यहरुले समेत उम्मेदवारी दिन पाउँछन् ।
१८. जिल्ला समन्वय समितिले के काम गर्छ ?
(क) जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने,
(ख) विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने,
(ग) जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने

साहित्य/सिर्जना 

उल्टो युगको मानिस

अँधेरी सुत्छ झिस्मिसे उठ्छ अँधेरी देख्द छ
नयनभित्र लागेछ जाली उभिण्डो लेख्द छ
भन्द छ दोषी लाउदै यहाँ संसार कस्तो छ ?
त्यो लोभी पन, घमण्डी मन मानिस उस्तो छ ।

उल्टो ऊ खेद्छ बात नै पिछे किन हो त्यसरी
बोतलभित्र जीवन देख्छ पिएर बेस्सरी
शिक्षित मान्छे बनेन अझै खै कैले बन्दछ ?
भएर दृष्टी उ आफै अझै देख्तैन अन्धो छ ।

ओरालो हिड्छ उकालो चड्न सिकेन कहिले
भीरको ढुङ्गो झर्द छ मुनी पल्टदै जहिले
निन्द्रामा बित्छ आधा यो जीवन समाती सिरानी
संझन्छु कैले झस्केर उठ्छ मानिस विहानी ।।

न सिकाउनु परोस गल्ती आफैँ ऊ जान्द छ
लामो त्यो हात पार्नु र धुत्नु तै ठूलो मान्द छ
के भन्नु भावी जीवन यस्को देखिन्छ कस्तो छ
त्यो लोभीपन, घमण्डी मन मानिस उस्तो छ ।
जे एन दाहाल

अन्तरिम नोस्तालजिया

हरेक बिहान म
अकारण
आफ्नै सपनाहरूको कैदी बन्छु
तर नजरमा मलाई
अपराधी चिनिन् मन्जुर छैन ।
अहिले म
निगरानी आँखा छलेर
बेतोड भागिरहेछु
मेरै मनको सुदूर प्रदेशतिर
जहाँ यादहरूको चिहानघारी चिनिने छैन ।
लाग्दै छ
यतिखेर गुलाफका नजरबन्द ओठहरूबाट
पीडाको बहुरूपी गन्ध फैलिरहेछ
हुन सक्छ
यसरी नै मान्छेको चेतना
आफ्नै मनको ब्ल्याकहोलमा
विरूपाक्षझैँ
आधा फसिरहेको हुन्छ ।
अन्तरिम नोस्तालजिया !
जीवन साँच्चै नै
साहै भोग्नलायक छ ।
मोमिला

सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना       

सूचना प्रकासित मिति : २०७५/०३/१७                             
समान पहुुँच विकास केन्द्र (सिड) नेपाल डोटीद्वारा युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रम लागी तपशिल अनुसारको कर्मचारी आवश्यक भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकासित भएको मितिले ७ दिनभित्र संस्थाको सिलगढीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।   
कार्यक्रम ः मानसिक स्वास्थ्य  कार्यक्रम
पद ः कार्यक्रम सहायक (अनमि/अहेव)    
संख्या     ः  १ (एक) 
योग्यता   ः मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमि/अहेव उत्तीर्ण गरेको ।
अनुभव    ः सम्बन्धित विषयगत कार्यअनुभव भएको ।         
कार्य क्षेत्र ः शिखर नगरपालिका २, ३, ४ र ५ (साविकका तिजाली, मुडभरा र मुडेगाँउ गाविसहरु) 
पेश गर्नु पर्ने कागजातहरु    
अनमि÷अहेव उत्तीर्ण गरेको प्रमाण पत्र 
काउन्सिल दर्ता प्रमाण पत्र 
नेपाली नागरिकता प्रमाण पत्र 
हस्त लिखित निवेदन 
कार्यालयमै उपस्थित भई कार्यालयको फाराम सहित कार्यालय समयभित्र पेश गर्नु पर्ने छ ।
सेवा/सुविधा ः कार्यक्रमको नियमानुसार  
परीक्षाको किसिम  ः लिखित तथा अन्तरवार्ता ।
दरखास्त          ः सिड नेपालको निवेदनको ढाँचा (फाराम) संस्थाको सिलगढीस्थित सम्पर्क कार्यालयबाट लिई र शैक्षिक योग्यताको प्रतिलिपि सहित वुझाउनु पर्नेछ ।
ग्राह्यता          ः कार्यक्षेत्रका उम्मेदवारलाई विशेष ग्राह्यता दिईनेछ ।
दरखास्त दिने अन्तिम मिति  ः २०७५ असार २४ गते ।
सम्पर्क मिति  ः २०७५ असार २४ गते
दरखास्त दस्तुर   ः रु ३००
नोट ः रित नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कार्यवाही हुने छैन । यस सम्बन्धमा थप जानकारी चाहिएमा संस्थाको सिलगढीस्थित सम्पर्क कार्यालयको फोन नं. ०९४–४११०११  मा सम्पर्क गर्न सकिनेछ ।                       
पदपुर्ति समिति                                            

सूचना ! सूचना !! सूचना !!!

क्षयरोग एक प्रकारको सरुवा रोग हो । यो रोग स्वास प्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ । यो रोगको समयमै पहिचान तथा उपचार नहुँदा बर्षेनी सयौं मानिसहरुको यो रोगका शिकार भईरहेका हुन्छन् । यो रोगको समयमै पहिचान गरी उपचार हुन सकेमा सजिलै निको हुन्छ । रोगको समयमै पहिचान तथा नियमित उपचारमा सहयोग पु¥याई क्षयरोगमुक्त नगरपालिका तथा देश निर्माणमा यहाँहरुको महत्वपूर्ण सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं । 
क्षयरोगका मुख्य लक्षणहरु निम्नानुसार रहेका छन् ः 
लगातार खोकी लागिरहनु,  खानाको रुचीमा कमी आउनु 
खकारमा रगत देखा पर्नु, स्वास बढ्नु (दम लाग्नु) 
साँझपख पसिना सहित मसिनो ज्वरो आउनु, 
दुव्लाउँदै जानु, ड्डछाती दुख्नु 
तथा क्षयरोगले असर गरेको अङ्ग अनुसार अन्य लक्षणहरु समेत देखिने गर्दछन् । 
उपरोक्त लक्षणहरु देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच तथा खकार परीक्षण गराऔं । 
दिपायल सिलगढी नगरपालिका
स्वास्थ्य ईकाई, डोटी

जनहितका लागि जारी सन्देश 

१. बाढी पहिरो नियन्त्रण सबै मिली गरौ । 
२. नाङ्गा डाँडाहरुमा सवै मिली बृक्षारोपण गरौं ।
३. बन जंगलको संरक्षण गरौं । 
४. बन जंगल तथा प्राकृतिक स्रोतहरुको अनावश्यक दोहन नगरौं । 
५.  कुनै कारणले पुरानो बृक्ष काट्नु परेमा त्यसको ठाउँमा तत्काल नयाँ बृक्षारोपण गरौं । 
६. भु–क्षय तथा नदी कटान हुने क्षेत्रमा पर्खाल तथा जाली लगाई बृक्षारोपण गरौं । 
७. गल्छी नियन्त्रणमा समयमै ध्यान दिऔं । 
८. बाढीबाट हुने क्षतिलाई रोक्न समयमै भल कुलो तथा नालीहरुको निर्माण गरौं ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय 
राजपुर, दिपायल डोटी 


“हरेक ठाँउठाँउमा सिचाईको विकास गरौं
सिचाईको लागि कोही पछि नपरौं”
सिचाई सुविधा कसरी सहज हुन्छ ? 
१ खेर गईरहेको पानी संकलन गरेर राखौं । 
२. पानी मुहानको संरक्षण गरौं । 
३. जथाभावी बन जंगलको बिनाश नगरौं । 
४. पानी मुहानको वरीपरी बृक्षारोपण गरौं । 
५. मुहानको माथीतिर डाँडाहरुमा आकासे पानी संकलन हुने पोखरी वा खाल्डाहरु खनौं । 
६. बन जंगलमा आगलागी हुन नदिऔं । 
त्यसैले समयमै ध्यान दिऔं, अन्न उत्पादन बढाउन र भोकमरीबाट बच्च सिचाईको ब्यवस्थापनमा एक जुट भएर लागौं । 

सु.प. सिचाई डिभिजन कार्यालय राजपुर डोटी


सूचना ! सूचना !! सूचना !!!

हाल देशभरी गर्मी मौषम तथा बर्षाका कारण खानेपानी दुषित भई बिभिन्न पानीजन्य, खाना जन्य तथा स्वासप्रश्वासको माध्यमबाट सर्ने रोगहरु जस्तै  भाइरल ज्वरो झाडापखाला, कमलपित्त, टाइफाइट, रगतमासी लगायलका अन्य ब्यक्तिगत सरसफाईको कमी तथा फोहोरमैलाको उचित ब्यवस्था नहुँदा लाग्न सक्ने रोगहरुबाट पीडित हुनेहरुको संख्या बढीरहेको तथा ती रोगहरुको प्रकोप र महामारी हुन सक्ने भएकाले समयमै निम्नलिखित उपायहरु अपनाई क्षति हुनबाट जोगाऔं र जोगिऔं ।
उपायहरु
१. सधंै सुद्धिकरण गरिएको सुरक्षित पानीमात्र प्रयोग गरौं, पानीको मुहान  वरिपरी सफा राखौं, पानीको सुरक्षित भण्डारण गरौं, सफा ताजा खाने कुरा मात्र खाने गरौं ।
२. भिडभाडमा नजाने र खोक्दा वा हाच्छिउ गर्दा नाक मुक छोपौं । 
३. खाना बनाउनु अघि, खाना खानु अघि र बच्चालाई खुवाउनु अघि, दिसापिसाब गरेपछि, बच्चाको  दिसा सफा गरेपछि र फोहोर कुराहरुलाई छोएपछि हात धुने ।
४. प्रशस्त मात्रामा झोलिलो पदार्थ र पोसिलो खानेकुरा खाने, खुवाउने । 
५. सधैं चर्पीमा मात्र दिसापिसाब गर्ने । 
६. आफ्नो घर आगन सधैं सफा राख्ने र पानी जन्य खाल्डाखुल्डी पुर्ने ।
आदर्श गाउँपालिका 
स्वास्थ्य ईकाई, डोटी

सूचना ! सूचना !! सूचना !!!

क्षयरोग एक प्रकारको सरुवा रोग हो । यो रोग स्वास प्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ । यो रोगको समयमै पहिचान तथा उपचार नहुँदा बर्षेनी सयौं मानिसहरुको यो रोगका शिकार भईरहेका हुन्छन् । यो रोगको समयमै पहिचान गरी उपचार हुन सकेमा सजिलै निको हुन्छ । रोगको समयमै पहिचान तथा नियमित उपचारमा सहयोग पु¥याई क्षयरोगमुक्त नगरपालिका तथा देश निर्माणमा यहाँहरुको महत्वपूर्ण सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं । 
क्षयरोगका मुख्य लक्षणहरु निम्नानुसार रहेका छन् ः 
लगातार खोकी लागिरहनु,   खानाको रुचीमा कमी आउनु 
खकारमा रगत देखा पर्नु,  स्वास बढ्नु (दम लाग्नु) 
साँझपख पसिना सहित मसिनो ज्वरो आउनु, ड्डदुव्लाउँदै जानु, 
छाती दुख्नु  तथा क्षयरोगले असर गरेको अङ्ग अनुसार अन्य लक्षणहरु समेत देखिने गर्दछन् ।
बोगटान गाउँपालिका
स्वास्थ्य ईकाई, डोटी

म त आफ्नो स्वास्थ्यप्रति सचेत छु, म त बेला बेलामा एचआईभी तथा यौन रोग परिक्षण गर्दछु । तपाई नि ? 
एचआईभी परिक्षण तथा यौनिक तथा लैङ्गिक अल्पसख्ंयक समुदायको बारेमा जानकारी प्राप्त गर्न सम्पर्क गर्नुहोस् । 
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई विभेद होइन, समान सहभागिता, अवसर सिर्जना गरौं ।  
एचआईभीको जोखिमपूर्ण व्यवहारमा रहेको व्यक्तिहरुले हरेक ६, ६ महिनामा एचआईभी परीक्षण गर्नुपर्दछ । 
एचआईभी परीक्षणको लागि सम्पर्क गर्नुहोस् ।
नील हिरा समाज परियोजना
सिलगढी, डोटी सम्पर्क नं. ः ०९४–४२०१४७

खानामा सरसफाई  

१.सबै खाना र पानीलाई माखा र मच्छरबाट सफा राख्न छोप्नुहोस यसो गर्दा तपाईको खाना स्वादिलो र राम्रो हुन्छ ।
२. खाना पकाउनु र खाना खानु भन्दा पहिले सधै आफ्नो हात साबुन वा खरानी पानीले धुनुपर्दछ ।
३.फलफूल खानु भन्दा पहिले अथवा तरकारी पकाउनु भन्दा पहिले सफा पानीले राम्रो सित पखाल्नु होस । 
४.तरकारीलाई पकाउनु र खानु भन्दा पहिले नुन पानीमा ३० मिनेट डुवाएर राख्नु उत्तम हुन्छ ।
५. खाना पकाउने र खाना खाने भाडाहरु जस्तै ः प्लेट, कप आदि खरानी र साबुनले सफा गर्नुपर्छ र माखा र धुलोवाट मुक्त राख्नु पर्दछ । 
६. राम्रो संग स्याहार गर्नाले भाडा कुडा लामो समयसम्म चल्न सक्छ ।
७.खाना खानु भन्दा अगाडि खानालाई राम्रोसंग तताउनु पर्छ ।
७.बच्चाहरुले आमाले चवाएको खाना खान दिनु हँुदैन । यसो गर्दा आमामा भएको रोग बच्चामा सर्न सक्छ ।्
सुप क्षेत्रीय अनुगमन तथा सुपरीबेक्षण कार्यालय राजपुर डोटी

सूचना ! सूचना !! सूचना !!!

आजका बालबालिकाहरु भोलीका देशका कर्णाधार हुन । बालबालिकाहरुमाथी लगाईएको लगानीले देश समृद्ध बन्नेछ । त्यसैले सवै बालबालिकाहरुलाई बिद्यालय पठाऔं, गुणस्तरीय शिक्षाका लागि पहल गरौं, बढीकेदार गाउँपालिका पूर्ण साक्षर गाउँपालिका बनाउनका लागी सवैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं ।
बडीकेदार गाउँपालिका, डोटी

नसर्ने रोग रोकथाम सम्वन्धी जानकारी 

क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मधुमेह (चिनीरोग) स्वासप्रस्वास अवरोध सम्वन्धि   रोग जस्ता नसर्ने रोगहरु लाग्नबाट बच्नको लागि निम्न उपायहरु अपनाऔं, दीर्घ जीवन बाचौं । 
चुरोट, बिडी, खैनी गुट्खा, सुर्ति आदि कहिल्लै सेवन नगरौं । 
रक्सी, जाँड जस्ता मदिराजन्य पदार्थहरुको सेवन नगरौं 
शरीर सक्रिय राख्ने क्रियाकलापहरु जस्तै योगा, हिड्डुल, साईकल चलाउने, पौडी खेल्ने आदि हल्का पसिना आउने गरी हप्ताको कम्तीमा पाँच दिनसम्म कमसेकम ३० मिनेट नियमित व्यायाम गरौं । 
उक्त रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रण गरौं । 
के आई सिंह गाउँपालिका, स्वास्थ्य ईकाई, डोटी

‘बालश्रम निषेध गरौं, बालअधिकार सुनिश्चित गरौं’

तपाईलाई थाह छ ? 
नेपालको संबिधानको धारा ३९ अनुसार ः 
१. कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाईदैन । 
३. कुनै पनि बालबलिकालाई बाल विवाह, गैरकानुनी ओसार पसार र अपहरण गर्न वा बन्धक राख्न पाईदैन । 
४. कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृति वा धार्मिक प्रचलनको नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शौषण गर्न वा अनुचित प्रयोग गर्न पाईदैन ।  
५. असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा परेका बालबालिकाहरुलाई राज्यले बिशेष संरक्षण दिन्छ ।
त्यसैले होसियार बनौं, बालबालिकाहरुको बृद्धि र विकास रोकिने गरी र उनीहरुलाई शारीरिक, मानसिक रुपमा हानी हुने गरी कुनै क्रियाकलाप नगरौं । यस्ता क्रियाकलापहरु कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा निन्दनीय छन् ।  
दिपायल सिलगढी नगरपालिका, डोटी

No comments:

Post a Comment