Tuesday, October 30, 2018

बिम्ब साप्ताहिक, २०७५ साल कार्तिक १३ गते मंगलबार

२०७५ साल भदौ १ गते लागू भएको देवानी तथा फौजदारी संहितामा रहेका मुख्य व्यवस्थाहरु
अपराध अनुसन्धान तथा अदालती काम कारबाहीमा कुनै व्यक्ति वा साक्षीलाई बुझ्न श्रव्य दृश्य सम्वाद (भिडियो कन्फरेन्स) को प्रयोग गर्न सकिने,
समाचार पत्र वा विद्युतीय माध्यमबाट म्याद तामेल गर्न सकिने,
अठार वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालिग मानिने,
झुट्टा उजुरी दिएमा सजाय हुने तथा क्षतिपूर्ति तिर्नु पर्ने ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

पत्रकारहरु निश्पक्ष हुनु पर्नेमा जोड

रामहरी ओझा/डोटी
कार्तिक १२
“पत्रकारहरु स्वतन्त्र, निश्पक्ष र पारदर्शी हुनु पर्छ । देखेका सत्य समाचारहरुलाई लुकाउनु हुँदैन ।’ डोटी दिपायल सिलगढी नगरपालिका–४ की पार्वती चन्दले पत्रकारहरु निश्पक्ष हुनु पर्ने बताईन । उनले यदि सञ्चारकर्मीहरु निश्पक्ष भएन भने सुशासन कायम हुन नसक्ने बताईन । 
पार्वती चन्द जस्तै बिचार व्यक्त गर्छन नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका मन्त्री देव बोहरा । उनी भन्छन् ‘पत्रका–रहरुले राजनीतिक समाचार मात्र नभई कला, संस्कृति, शिक्षा स्वास्थ्यसंगै बिपद् जोखिम न्यूनीकरणका घटनामा पनि जो दिनु पर्छ ।’ पत्रकारहरुले पनि सकारात्मक सोचका साथ सर–कारले गरेका राम्रा कामहरुको पनि कलम चलाउनु पर्ने बोहराले वताए ।
नेपाल चेम्वर अफ कमर्सका डोटी सचिव तेज डुम्रेलले पत्रकार भईराख्ने तर सामाजिक सञ्जालमा राजनीतिक दोहोरी खेल्ने कुरा राम्रो नभएको बताए । ‘यदि पत्रकार हो भने पत्रकार भएरै बस्नु प¥यो, कुनै दलको अंगरक्षक हुनु भएन’ डुम्रेलले भने ‘राजनीति नै गर्ने हो भने पत्रकारिता छोडेर झण्डा बोकेर आउने हिम्मत गर्नु पर्छ ।’ उनले पत्रकारहरुको योग्यताको बिषयमा पनि प्रश्न गर्दै भने ‘कति पढेपछि पत्रकार हुन पाईन्छ ?’
नेपाल पत्रकार महासंघ डोटी शाखाद्वारा आयोजना गरिएको ‘नागरिकको नजरमा मिडिया’ बिषयक अन्तरसम्वाद कार्यक्रमका अधिकांश बक्ताहरुले सञ्चारकर्मीहरु निश्पक्ष नभएको आसय व्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख रामवहादुर ऐरल पत्रकारहरु समाजको ऐना हुनु पर्ने वताए । ‘पत्रकारहरु ऐना हुनु पर्ने ठाउँमा ऐनाको बिट भयो भने त्यो काम लाग्दैन’ ऐरले भने ‘पत्रकारले जो सुकै व्यक्तिका कमीकमजोरी पनि बाहिर ल्याउने हिम्मत गर्नु पर्छ ।’ 
डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सञ्चार क्षेत्र स्वतन्त्र र निश्पक्ष हुन सकेन भने नागरिकले सुशासनको अनुभुति गर्न नसक्ने वताए । ‘पत्रकारले समाजका पछाडी परेका आवाजबिहिनहरुको प्रतिनिधित्व गर्ने पुलको काम गर्नु पर्छ’ पौडेलले भने ‘राज्यको वाचडगको रुपमा काम गर्ने सञ्चार क्षेत्र भएकाले पत्रकारहरुले आफुलाई करेक्सन गर्नु पर्ने देखिन्छ ।’ उनले सञ्चारकर्मीहरुको शैक्षिक योग्यता, पारदर्शीता र प्राकृतिक न्यायको सिद्धान्त अनुरुप पत्रकारिता लागि बनेका नियमहरु पूर्ण रुपमा पालना गर्नु आवश्यक रहेको बताए । 
यस्तै दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले सञ्चारकर्मीहरुले कसैप्रति बिभेद् गर्नु नहुने बताईन । ‘समाचार लेख्दा यथार्थ कुराहरुको खोजी गरेर लेख्नु पर्छ’ मलासीले भनिन् ‘पक्षपातपूर्ण रुपमा मनगणन्ते कुराहरु बनाएर समाचार सप्रेषण गर्नु हुँदैन ।’ मलासीले डोटी जिल्लाका सवालहरुलाई राष्टिूयस्तरमा पु¥याउन समेत पत्रकारहरुलाई आग्रह गरिन । शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले पछिल्लो समयमा देश संघीयता गएपछि केही बिकास निर्माणका कामहरु भएका बताउँदै खोजी पत्रकारिता गर्नु पर्ने वताए । पत्रकारहरुले स्थानीय सवालहरुलाई प्राथमिकता दिनु पर्ने जोशीको भनाई छ । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पत्रकार र नागरिक समाज एकअर्काका परिपुरक भएकाले माछा(पानीको जस्तो सम्वन्ध हुनु पर्ने बताए । ‘हामी पत्रकारहरुले पनि नागरिक समाजको बिश्वास जित्न सक्नु पर्छ’ मिश्रले भने ‘यदि हामीले नागरिक समाजको बिश्वास जित्न सकेन भने हामीले बास्तविक सूचना बाहिर ल्याउन सक्दैनौं ।’ उनले थपे ‘हामीले कुनै दलको पक्षपोषण गर्ने गरी समाचार लेख्यौं भने हामीलाई कसैले बिश्वास गर्दैन, समाचारको ओज पनि रहँदैन र सञ्चार क्षेत्रप्रतिको जनताको बिश्वास पनि रहँदैन ।  
नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्पादकीय 

सञ्चार क्षेत्रले सुधार्नु पर्ने बिषय

सोमवार डोटीको दिपायलमा एक कार्यक्रमको आयोजना गरियो, “नागरिकको नजरमा मिडिया” । समय सान्दर्भिक कार्यक्रम । उक्त कार्यक्रम आयोजना गर्नमा सहयोग गर्ने नेपाल पत्रकार महसंघ, केन्द्र र आयोजना गर्ने नेपाल पत्रकार महासंघ डोटी दुवै धन्यवादका पात्र छन् । सधैंभरी अरुका समाचार लेख्ने हामी सञ्चारकर्मीहरु र सञ्चार क्षेत्रको बिषयमा नागरिक वा पाठक, दर्शक, स्रोताको बुझाई के छ ? नागरिकले “पत्रकार” भन्ने बित्तिकै के बुझेका छन् ? भन्ने कुरा बुझ्नु जरुरी छ ता कि भविश्यमा आफुलाई सुधार गर्ने अवसर प्रदान होस् । 
राणाकालीन डोटी गौंडा, पञ्चायतकालीन र बिगतको प्रजातन्त्रकालीन क्षेत्रीय सदरमुकाम भएको जिल्ला भएपनि पत्रकारिता क्षेत्रको विकास हेर्दा डोटी सवैभन्दा सवैभन्दा पछाडी छ । हामी सञ्चारकर्मीहरुले पत्रकारिताको उद्देश्य वा मर्म नागरि–कलाई बुझाउन सकेनौं वा नागरिकले पत्रकारिताको महत्व बुझेनन्, त्यो छुट्टै समीक्षाको पाटो होला तर डोटीको नागरिक समाज, नीजि क्षेत्र र सरकारी क्षेत्रले समेत सञ्चार क्षेत्रलाई पु¥याउनु पर्ने सहयोग नपु¥याएको यथार्थ हो । त्यसका पछाडी के कारण रहेछ भन्ने कुराको खोजी गर्दा सोमवारको कार्यक्रमले सवै उत्तर दिएको छ । डोटीको नागरिक समाजमा पत्रकारको बिषयमा परेको छाप नै डोटेली पत्रकारिताको दुभाग्र्य हो । 
सोमवारको कार्यक्रमबाट उठान भएका बिषयवस्तुप्रति हामी गम्भिर हुनु पर्ने बेला आएको छ । सञ्चारकर्मी कुनै तेश्रो दुनियाँबाट आएका व्यक्ति होईनन्, यसै दुनियाँका उत्पादन हुन । त्यसकारण यो समाज जसरी चलिरहेको छ त्यसका सकारात्मक तथा नकारा–त्मक गुणहरु हामीमा स्वभावैले हुन्छन् तर हामी सञ्चारकर्मी भनेपछि समाजले हामीसंग फरक अपेक्षा राखेको हुन्छ । सञ्चारकर्मी निश्पक्ष भईदेवस्, हामीले निश्पक्ष सूचना सुन्न पाउँ भन्ने अपेक्षा राख्ने जमात धेरै छ । यद्यपी सञ्चारकर्मीका अस्थायी मित्र र अस्थायी शत्रु कोही पनि हुँदैनन् भनिन्छ तर पनि हाम्रा स्थायी मित्र ति आवाजबिहिनहरु हुन सक्नु पर्छ र हाम्रा स्थायी शत्रु भ्रष्टाचार, कालोबजारी, अनियमितता, अपराध हुनु पर्छ । 
यदि हामीले हाम्रा स्थायी मित्र र स्थायी शत्रुको पहिचान  गरी अगाडी बढ्न सक्यौं भने पक्कै पनि ति पाठकहरुले, स्रोताहरुले, दर्शकहरुले हामीलाई बिश्वास गर्नेछन्, अपनत्व लिने छन्, पत्रका–रिताको विकासमा योगदान दिनेछन् । त्यसकारण आफुले आफैलाई  सुधार गर्नु जरुरी छ । 
निश्चित रुपमा नागरिक तथा राजनीतिक अधिकारको दृष्टिले कुनै दलप्रति आस्था राख्न पाउने अधिकार हरेक नागरिकमा छ तर त्यो हाम्रो अधिकार पनि हो । तर हाम्रो पेशामा राजनीति गर्नु हुँदैन । पत्रकार र पत्रकारिता फरक बिषय हो । पत्रकार कुनै राजनीतिक दलप्रति अस्थावान हुन्छ तर पत्रकारिता निश्पक्ष हुन्छ र हुनु पर्छ पनि । हामी पत्रकारहरु कुनै राजनीतिक दलमा आस्था राख्न पाउने भन्दैमा जनताका लागि सम्प्रेषण गर्ने बिषयमा पनि कुनै राजनीतिक दलको कार्यकर्ता हुन थाल्यो भने जनताले बिश्वास गर्दैनन् । 
त्यसकारण हामीले आफुमा भएका कमीकमजोरीहरु सच्याउनु पर्ने छ । हाम्रा आनीबानी, हाम्रा व्यवहार, हाम्रो संगतलाई संरक्षण गर्नु पर्छ । नागरिक समाजले पत्रकारहरुको बिरोध ग¥यो भन्ने बिषयमा धेरै दुःख मनाउनु पर्ने केही छैन । बरु आगामी दिनहरुमा त्यस्ता आरोपहरु नआउन पाउने गरी हामीहरुले काम गर्दै जानु पर्ने हुन्छ ।

थप समाचार 

वडासम्म समुदाय–प्रहरी साझेदारी

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको संरचना वडा तहम्म बन्ने भएको छ । 
आईतवारदेखि देशव्यापी रुपमा लागु भएको समुदाय–  प्रहरी कार्यक्रममा जिल्लादेखि वडासम्म तीन तह रहने भएका छन् । जिल्ला तहमा जिल्ला समन्वय समिति प्रमुख यस कार्यक्रमको संयोजक हुनेछन् भने प्रमुख जिल्ला अधिकारी कार्यक्रममा सल्लाहकार          रहनेछन् । 
यस्तै नगरपालिकामा नगर प्रमुख यस कार्यक्रमको संयोजक रहने व्यवस्था गरिएको छ । वडा तहमा वडाध्यक्ष यस कार्यक्रमको संयोजक रहने गरी व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले डोटीमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय डोटीले आइतबारबाट देशव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदा–री’ कार्यक्रम सञ्चालन भएको छ ।
डोटी जिल्लामा पनि एक कार्यक्रम आयोजना गरी समुदाय–प्रहरी साझेदारीका बिषयमा जानकारी गराईएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न यो कार्यक्रमले ऐतिहासिक योगदान दिने बिश्वास व्यक्त गरे ।
‘हर प्रहर, गाउँ नगरी ः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ सुरु भएको सो कार्यक्रमबारे जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझीले समाजमा दिगो शान्ति स्थापना तथा जनताको जीउ धनको रक्षाका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले लामो समयको गहन अध्ययनपछि सञ्चालन गरिएको सो कार्यक्रमले समाजमा दिगो शान्ति कायम गर्ने समेत दावी गरे ।
मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, टोल टोलमा प्रहरी पछि आएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । सो अवसरमा डोटीका तीन स्थानीय तहहरु दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकासंग जिल्ला प्रहरी कार्यालयले साझेदारी पत्रमा हस्ताक्षर समेत गरेको छ । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामवहादुर ऐर, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी र शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । 
नेताहरु छोडेर गए 
समुदाय–प्रहरी कार्यक्रमबारे जानकारी गरि स्थानीय तहसंग औपचारिक स्पमा साझेदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नेताहरुले बिचमै छोडेर गएका छन् । 
कार्यक्रममा बोलाएर अपमान गरेको भन्दै डोटीमा क्रियासिल दलका नेताहरु कार्यक्रम छोडेर गएका हुन । ‘कार्यक्रममा बोलाउने तर आशन ग्रहण समेत राम्रोसंग नगराउने’ राष्ट्रिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले बिम्ब साप्ताहिकसंग भने ‘त्यसैले हामीले छोडेर आयौं ।’ उनले यसलाई बहिस्कारै त भन्न नमिल्ने तर आफुहरुको असहमति रहेको बताए । उनले समुदाय–प्रहरी कार्यक्रम सफल पार्नका लागि दलहरुको सहयोग र सहकार्य भने जारी रहने बताए । 
नेताहरुले डोटीका प्रहरी निरीक्षक धु्रव बिष्टलाई आफ्नो असहमति जिल्ला प्रहरी कार्यालय आफ्नो असहमति बताउँदै बाहिरिएका थिए । कार्यक्रममा दलका प्रतिनिधिहरुलाई एकमुष्ट आशन ग्रहण गराईएको थियो भने शुभकामना मन्तव्य राख्ने समय दिईएको थिएन । ‘कि त हामीलाई बोलाउनै नहुने हो’ नेपाली कांग्रेसका प्रतिनिधि जितवहादुर खड्काले भने ‘बोलाईसकेपछि त स्थान पनि दिनु पर्ने हो ।’

२० प्रतिशत युवति २० बर्षमुनीकै आमा

डोटी जिल्लामा २० प्रतिशत युवतिहरु २० बर्ष उमेर नपुगि आमा बन्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा डोटीमा कुल पाँच हजार पाँच सय ३७ गर्भबती महिलामध्ये एक हजार ८२ जना २० बर्ष मुनीका रहेका छन् । ‘गर्भ जाँच गराउन आएका महिलाहरुमध्ये २० प्रतिशत २० बर्षभन्दा कम उमेरका रहेका छन्’ जिल्ला स्वास्थ्य कार्यालय डोटीका सम्पर्क व्यक्ति कपिलदेव जोशीले भने ‘सम्पर्कमा नआएका गर्भवती युवतीहरु अरु पनि हुन सक्छन् ।’
यस्तै जिल्लामा सो अवधीमा गर्भ पतन गराउने एक हजार ७४ मध्ये ४४ जना २० बर्ष भन्दा कम उमेरका रहेको जोशीले जानकारी दिए । मुलुकी (अपराध संहिता) ऐन, २०७४ अनुसार बिवाहको उमेर २० बर्ष भएपनि जिल्लामा २० बर्ष उमेर नपुगी आमा बन्नेको संख्या धेरै रहेको उनले बताए । 
२४ औं कण्डम दिवसको अवसरमा जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिईएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डा. भुषण मिश्रले समाजमा अहिले पनि कण्डमप्रति सकारात्मक धारणा नरहेकोले अनईच्छित गर्भ रहने गरेको बताए । ‘कण्डले अनईच्छित गर्भ रहनबाट रोक्छ, यसको साथसाथै एचआईभी र अन्य यौन संक्रामक रोगहरु सर्नबाट रोक्छ’ डा मिश्रले भने ‘त्यसैले कण्डमको बिषयमा समाजमा खुला रुपमा बहस चलाउनु जरुरी छ ।’ मिश्रले कण्डमनै सवैभन्दा भरपर्दो परिवार नियोजनको अस्थायी साधन भएको र यसको कुनै साईड ईफेक्ट नभएको समेत जानकारी गराए ।
“दोहोरो सुरक्षाका लागि कण्डमको सही प्रयोग गरौं” भन्ने मुल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय, नेपाल परिवार नियोजन संघ, सामुदायिक विकास मञ्च लगायतका संस्थाहरुको आयोजनामा भएको उक्त कार्यक्रमका सहभागिहरुले कण्डमको सहज पहुँचका लागि पहल गर्नु पर्ने कुरामा जोड् दिएका थिए । 
कार्यक्रममा जिल्लामा गत आर्थिक बर्षमा चार लाख ३० हजार चार सय ८१ कण्डम बितरण भएको जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति कपिलदेव जोशीले जानकारी दिए । डोटी जिल्ला अस्पताल, जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा उक्त संख्यामा कण्डम बितरण गरिएको हो । 

अपाङ्गमैत्री संरचनाका लागि पहल गर्ने

संरचना निमार्ण गर्दा अपाङ्ग मैत्री बनाउने बिषयमा जिल्ला ब्यापी छलफल गर्ने जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले बताएका छन् ।  
नेपाल सरकारले अंगिकार गरेको अपाङ्गतामैत्री संरचनाको नीति पूर्ण कार्यान्वयनका लागी सबै स्थानीय तह पूर्ण रुपमा प्रतिबद्धत रहेको ऐरले उनले थपे । नयाँ संरचनामा अनिवार्य भएपनि पुराना संरचनामा पनि कसरी अपाङ्ग मैत्री बनाउन सकिन्छ भनेर जिल्ला समन्वय समितिको बैठकमा छलफल गर्ने ऐरले बताए । 
अपाङ्गता  सेवा संघ डोटीको आर्थिक बर्ष ०७४/०७ को सामाजिक परीक्षण कार्यक्रममा बोल्दै संयोजक ऐरले सो   कुरा बताएका हुन । अपाङ्गता भएका ब्यक्तिका अधिकारका सवालमा काम गर्र्दै आएको अपाङ्ग सेवा संघ डोटी नामक गैर सरकारी संस्थाले बर्षभरी संचालन गरेका कार्यक्रमको बारेमा सेवाग्राही तथा सरोकारवाला ब्यक्तिलाई जानकारी गराएको थियो । 
अपाङ्गता भएका ब्यक्तिका लागी बिद्यालयसम्म पुग्नु र शिक्षा आर्जन गर्ने  बिषय अहिले पनि अत्यन्त चुनौतीपूर्ण     रहेको अपाङ्ग सेवा संघ डोटीका अध्यक्ष  रोशन बोगटीले बताए । 
अपाङ्ग सेवा संघ मार्फत संचालित सामुदायमा आधारित पुर्नस्थापना, सामुदायमा आधारित बाल्य अबस्थाको एकिकृत ब्यबस्थापन लगायतका कार्यक्रमका बार्षिक गतिबिधि तथा आगामी योजनाका बारेमा कार्यक्रम संयोजक नबराज जोशीले प्रस्तुत गर्नु   गरेका । संस्थाले युएमनको साझेदारीमा बिभिन्न परियोजनाहरु सञ्चालन गर्दै  आईरहेको छ ।
बार्षिक समाजिक परीक्षण कार्यक्रमको पत्रकार कर्ण चन्दले  सहजीकरण गरेका थिए । अपाङ्ग सेवा संघ डोटीको आजै १० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

एक सय १६ कर्मचारी छड्केमा

गणेश मौनी/सिलगढी
कार्तिक ११
जिल्ला प्रशासन कार्यालय डोटीको छड्के अनुगमन पाँच कार्यालय प्रमुख सहित एक सय १६ जना परेका छन् । 
जिल्लाका १५ वटा सरकारी कार्यालयहरुको हाजिरी छड्के अनुगमन गर्दा पाँच जना कार्यालय प्रमुख सहित एक सय १६ जना कर्मचारीहरु कार्यालयमा अनुपस्थित देखिएका छन् । प्रशासनले गरेको छड्के हाजिर अनुगममा पाँच जना कार्यालय प्रमुख र १० जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित रहेको पाईएको छ । यस्तै एक सय एक अन्य तहका कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनले भने ‘सार्वजनिक सेवालाई छिटो छरितो सेवामुखी, प्रभावकारी बनाउन कर्मचारीहरुको उपस्थित हुन आवश्यक छ ।’ 
चाँडबाडको समयमा सेवाग्राहीहरुको चाप बृद्धिसगै कर्मचारीहरुको उपस्थिति आवश्यक छ सेवा प्रभाव र उपस्थितिको अवस्थाको बारेमा प्रभावकारिता ल्याउने उद्देश्यले छड्के अनुगमन गरेको पौडेलले बताए । प्रशासनले जिल्ला स्थित १५ कार्यालयको गरेको हाजिरी छड्के अनुगमनमा ११ वटा कार्यालयका   कर्मचारीहरुको हाजिरी अनियमित रहेको र चार वटा कार्यालयका कर्मचारीहरुको मात्र नियमित रहेको समेत बताए । 
दिपायल सिलगढी नगरपालीका, जलाधार संरक्षण, डिभिजन बन, मालपोत, नापी, जिल्ला प्राविधिक, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य, जिल्ला समन्वय समिति, शिक्षा तथा समन्वय इकाई, नेपाल टेलिकम, जिल्ला हुलाका, कोलेनिका, जिल्ला निर्वाचन र कारागारको अनुगमन गरेको थियो ।

सुदूरपश्चिममा मल अभाव

सुदूरपश्चिम प्रदेशमा मल–खादको अभाव कायमै रहेको छ । 
बिगतका बर्षहरुले यस बर्ष पनि किसानहरू हिउदे बाली लगाउनका लागि आवश्यक पर्ने रसायनिक मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि यस क्षेत्रमा मद खादको अभाव देखिएको हो । सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी यि दुई कम्पनीले पाएको छ । जिल्लामा मलको अभाव सिर्जना भएको हो । मल अभाव हुँदा यस वर्ष तोरी र गहुँको उत्पादन घट्ने स्थानीयमा चिन्ता छ ।
धनगढीस्थित कृषि सामग्री कम्पनीले दैनिक आउने मलभन्दा किसानको तेब्बर बढी माग रहेको जनाएको छ ।
केही मात्रामा दैनिक रसायनिक मल आइरहेकाले भएपनि आवश्यकता अनुसार पुर्ति हुन नसकेको कृषि सामग्री कम्पनी क्षेत्रीय प्रवन्धक दुर्गाप्रसाद पाण्डेयले बताए । उनले सुदूरपश्चिममा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यक्ता पर्ने भएपनि करिब २० हजार मेट्रिकटन मात्रै मल पुग्ने गरेको उनले बताए । आवश्यक्ता अनुसार मल आपूर्तिका लागि सरकारी पक्षबाट पहल नहुँदा समस्या आएको उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयले ३० प्रतिशत रसायनिक मल वितरण गरिसकेको जानकारी दिए । भइरहेको छ । कृषकहरूको सहजताका लागि २०७० सालबाट कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि विक्री गर्न पाउने व्यवस्था गरेको छ ।
गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालकहरू दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन् । कार्यालयले सबै स्थानीय तहमा पुर्रुयाउने उद्देश्यका साथ मल वितरण गरिरहेको छ । दैनिक सहकारीमा धाएर किसानले हैरान पारेपछि सहकारी सञ्चालकहरू पनि मल लिनका लागि कृषि सामग्री कम्पनीमा पुग्न बाध्य छन् । किसानको मागको आधा पनि मल नपुग्दा किसान समस्यामा परेको उनीहरूको भनाई छ ।

१०१ बर्षीया आमा बल्ल बनिन् नेपाली नागरिक

डोटीमा एक महिला आफ्नो जीवनका एक सय १ बर्ष पार गरेपछि नेपाली नागरिक बनेकी छिन् । 
डोटी पूर्विचौकी गाँउपालिका–७ पोखरीकी जगुदेवी खड्काले आईतवार जिल्ला प्रशासन कार्यालय डोटीबाट एक सय एक बर्षमा नेपाली नागरिकता प्रमाण पत्र पाप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय डोटीमा आएर यो उमेरमा  नागरिकता प्राप्त गर्ने जगुदेवी पहिलो नागरिक हुन ।    
१९७४ साल असोज ५ गते जन्मिएकी जगुदेवीका  चार छोरा दुई छोरी हुन् । अहिले एक छोरी र तीन छोराहरुको मृत्यु भईसकेको र माईला छोरा र एक छोरी मात्र जिवित रहेको उनका नाति तेजेन्द्र कुमार खड्काले बताए । ‘बजै पहिलेदेखि जन्मदर्ता र  चिनाका आधारमा बृद्ध भत्ता खाईरहनु भएको थियो’ तेजेन्द्रले भने ‘साउन महिना देखि बृद्ध भत्ता पाउनका लागि नेपाली नागरिकता अनिवार्य भनेपछि नागरिकता लिन आएका हौं ।’ 
जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत सन्तोष शर्माको हस्ताक्षरमा जारी नेपाली नागरिकता प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले  हस्तान्तरण गरेका थिए । 

१२७ औं पटक ज्ञापन पत्र बुझाईयो

रासस
डडेल्धुराको परशुराम नगर–पालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा  हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । 
नगरपालिका वडा नं २ र ३ मा विसं २०६२ असोज ८ गते अविरल वर्षापछि विस्थापित जीवन बिताउँदै आएका पीडितले आफूहरुको पुनःस्थापनाका लागि खरिद गरिएको जग्गा हस्तान्तरणको माग गरेका हुन् । 
तेह्र वर्षअघि आएकोे पहिरोमा एकै परिवारका आठ सदस्यसहित ३२ जनाले ज्यान गुमाएका थिए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन बताउँदै आएका छन् । विस्थापितको पुनःस्थापनाका लागि खरिद गरिएको जग्गा प्लटिङ गरी लगत तयार हुँदासमेत काम अगाडि नबढेको भन्दै पीडितले १२७ औँ पटक ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । 
साविकको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले आफ्नै नाममा राखेको जग्गामा अहिलेसम्म कुनै काम अगाडि नबढेपछि प्रदेश सरकारलाई निकासा रकम दिएर पुनःस्थापनाको काम अगाडि बढाउन ज्ञापन बुझाइएको शीर्ष पहिरो पीडित सङ्घर्ष समितिका संयोजक प्रजापती नाथले बताउनुभयो । 
परशुराम–४ रातीमाटीमा ३७ रोपनी र वडा नं ५ परीगाउँमा नौ रोपनी गरी ४६ रोपनी जग्गा अघिल्लो सरकारमा खरिद गरेको थियो । सो जग्गा अहिलेसम्म पनि योजना बनाएर हस्तान्तरण हुन नसकेपछि पीडितले सरकारी निकायले तदारुकता नदेखाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 
डोटीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले आवास तथा अन्य पूर्वाधार निर्माणका लागि जग्गा प्लटिङ गर्दै रु दुई करोड ६५ लाखको लगतसमेत मन्त्रालयमा पेश गरेको थियो । सो रकम निकासाका लागि पहल गरीदिन र निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै बुझाइएको ज्ञापनपत्र बुझ्दै डडेल्धुराका प्रजिअ मोहनराज जोशीले ज्ञापनपत्र सम्बन्धित मन्त्रालयमा पठाउने र सरकारले छिट्टै नै बाढीपीडितको समस्या समाधान गर्ने बताउनुभयो ।

स्वास्थ्य गतिबिधिहरुको समिक्षा गर्नु पर्ने

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले स्वास्थ्य क्षेत्रमा भएका गतिविधिको मसिनो ढंगले समीक्षा गर्नुपर्ने बताएका छन् ।
सोमवार कैलालीको धनगढीमा आयोजित समीक्षा कार्यक्रममा मन्त्री सोडारीले निर्ममतापूर्वक समीक्षा गर्दा आगामी योजना बनाउन र भावी लक्ष्य प्राप्त गर्न सहज हुने बताए । उनले  राम्रा योजनाका लागि बजेटको अभाव नहुने आश्वासन पनि दिए ।
“तत्कालीन सुदूरपश्चिम विकास क्षेत्र स्वास्थ्य क्षेत्रमा देशकै पहिलो विकास क्षेत्र हो” मन्त्री सोराडीले भने ‘यहाँका चार जिल्ला पनि मुलकभर राम्रा जिल्लामा गणना भएका थिए, त्यतिबेला भन्दा अझ राम्रो अवस्था सिर्जना गर्न म सवै  स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्दछु ।’
कैलाली र कञ्चनपुर जिल्लाका २२ स्थानीय तहको स्वास्थ्य समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सोराडीले सो कुरा बताएका हुन । मन्त्रालयका सचिव इन्जिनियर गोगनबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा सेती र महाकाली अञ्चल अस्पतालका प्रमुख तथा प्रतिनिधिहरू, साविका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र २२ वटा पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरूको सहभागिता रहेको छ । समिक्षा दुई दिनसम्म सञ्चालन हुने मन्त्रालयका उपसचिव किसानराज चिलुवालले जानकारी दिए ।

छोटो समाचार 

कञ्चनपुरमा फेरी प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा ¥याली सहित प्रदर्शन गरिएको छ । 
महिला अधिकारकर्मी र पीडित परिवारले चाँडो अपराधी पत्ता लगाउन माग गर्दै प्रदर्शन गरि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आइतबार बसेको सर्वपक्षीय बैठकले ¥याली सहित प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

एकिकृत फोहर व्यवस्थापन सुरु

धनगढी उपमहानगरपालीकामा निर्माण हुने एकिकृत फोहर मैला ब्यबस्थापन केन्द्र निर्माणका लागि छलफल थालिएको छ ।
उपमहानगरपालीकाले देशकै ठूलो र ब्यवस्थित एकिकृत फोहरमैला ब्यवस्थापन केन्द्र वडा नं २ स्थित मोहना नदी संगै जोडिएको जग्गामा निर्माण गर्ने तयारी थालेको छ । यसका लागि सम्पूर्ण अध्ययन तथा प्रारुप तयार पारी सकेकाले निर्माणका लागि वातावरण बनाउन स्थानीय सरोकारवालाहरु संग छलफल सुरु गरेको धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने “यो आयोजना देशकै सबैभन्दा ठूलो हो, यसमा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणका साथै बायो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ ।”

खेल समाचार 

महिला फुटबल प्रतियोगिता हुने

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले खेलकुदमा महिलाको संख्या बढाउनका लागि नगरस्तरीय मेयर कप महिला फुटवलको आयोजना गरिने बताएका छन् । 
धनगढी–१२, जुगेडास्थित मनकामना युवा क्लबले आयोजना गरेको प्रदेशस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख वडले यसका लागि वडास्तरमा महिला खेलाडीहरुको टिम तयार पार्न वडा अध्यक्षहरुलाई निर्देशन समेत दिए । 
फागुन महिनाभित्र मेयर कप महिला फुटवलको आयोजना गरिने नगर प्रमुख वडले बताए । उनले धनगढीलाई खेलकुदको हव बनाउने आफ्नो अभियान भएको बताए । दशै यतामात्रै धनगढीमा वडा तहमा थुप्रै फुटवल तथा भलिवल प्रतियोगिता संचालन गरिएको बताउँदै वडले भने ‘एक वडा एक खेलकुद मैदान निर्माणका लागि काम गरिरहेका छौं ।’ उनले खेलाडी भएको समाज अनुसाशित हुने पनि नगर प्रमुख वडले बताए । 
धनगढी उपमहानगरपालिका–१२, का अध्यक्ष गणेशप्रसाद जोशीले जुगेडा खेलाडी उत्पादन गर्ने क्षेत्र भएको       बताए । उनले भने ‘खेलकुदको विकासका लागि पूर्वाधार विकासको काम हामीले    गरिरहेका छौं ।’
जिल्ला फुटवल संघ कैलालीका अध्यक्ष मोहित शाहले फुटबलमा नयाँ पीँढीको अकर्षण रहेको बताए । उनले भने ‘यसका लागि वातावरण बनाउने काम संघले गरिरहेको छ ।’
मनकामना युवा क्लबका अध्यक्ष डबलबहादुर थापाले फुटवल प्रतियोगितामा विभिन्न स्थानका १६ वटा टिमको सहभागिता रहेको जानकारी  दिए । जसमध्ये ६ वटा महिलाहरुका टिम रहेका आयोजकले जनाएको छ ।

भारतलाई पछार्दै नेपाल दोश्रो चरणमा

थाइल्याण्डमा सम्पन्न एएफसी यू–१९ च्याम्पियनसीप छनोटमा भारतलाई पछि पार्दै नेपाल दोस्रो चरणमा प्रवेश  गरेको छ ।
छनोटको समूह बी मा रहेको नेपालले तीन खेलमध्ये २ मा जीत हात पार्दै अघिल्लो चरण प्रवेश गरेको हो । आयोजकसमेत रहेको थाइल्याण्ड शीर्ष स्थानमा रहेपनि आगामी अन्तिम प्रतियोगिताको आयोजक भएकाले ऊ सोझै फाइनल राउण्ड प्रवेश गरेपछि दोस्रो भएको नाताले नेपाल छानिएको हो । 
पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको नेपालले पहिलो सहभागितामा नै ऐतिहासिक नतिजा प्राप्त गरेको हो । नेपाल र भारतको समान ६÷६ अंक भएपनि हेड टु हेडको आधारमा नेपालले भारतलाई पन्छाएको हो ।
यसअघि समूहको दोस्रो खेलमा नेपालले भारतलाई २/० ले हराएको थियो । अन्तिम खेलमा भारतले आयोजकलाई १/० ले हराए पनि नेपालसँग हेड टु हेडमा पछि परेको हो ।
नेपालले समूहको पहिलो खेल घरेलु टोली थाइल्याण्डसँग ३/० ले गुमाएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतमाथि २/० को सानदार जीत निकालेको थियो । आजै भएको तेस्रो तथा समूहको अन्तिम खेलमा पाकिस्तानलाई ९/० को फराकिलो   अन्तरमा हराउँदै नेपालले दोस्रो चरणको स्थान पक्का गरेको हो ।
आइतबार समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९/० ले हराएको हो । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राख्दै सहज जित दर्ता गरेको थियो । दोस्रो चरणमा नेपालसँगै समूह ए बाट अष्ट्रेलिया, सी बाट उज्वेकिस्तान, समूह डीबाट दक्षिण कोरिया, समूह ईबाट भियतनाम, समूह एफबाट इरान र म्यानमार दोस्रो चरणमा प्रवेश गरेका छन् ।

चलचित्ररमनोरञ्जन

दिपिका-दिवार बिहे मंसिरपछि 

फिल्मी खवर
केही महिना अगाडि फिल्मीखबरले ‘ऐश्वर्य’ निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँ प्रेम सम्बन्धमा  रहेको खुलासा गरेको थियो । यो कुरालाई दुबैले नकार्दै आएपनि दीपावलीको छेकोमा अन्ततः यो सत्य प्रमाणित भएको छ । दुबैले प्रेम स्वीकार गरेका छन् । 
प्रेममा मात्र नभई उनीहरुले इन्गेजमेन्ट समेत गरिसकेका छन् । इन्गेजमेन्ट केही हप्ता अगाडि मात्र भएको हो । फिल्मीखबरसँग कुरा गर्दै निर्देशक भट्टराईले विवाह भने मंसिरपछि मात्र हुने बताए । उनले फिल्मीखबरमा समाचार प्रकाशन हुँदा आफूहरु अफेयरमा रहेको पनि बोले । 
दीपिकालाई दीवाकरले नै फिल्म क्षेत्रमा ल्याएका हुन् । अहिले दीपिका अभिनीत नयाँ फिल्म ‘छक्का पञ्जा ३’ प्रदर्शन भइरहेको छ । दीवाकर निर्देशित नयाँ फिल्म ‘क्याप्टेन’ शिवरात्रीको छेकोमा रिलिज हुँदैछ, जसमा अनमोल केसी लिड रोलमा छन् । दीपिका र दीवाकर ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएका हुन् । 
दुबैले आफ्नो आधिकारिक फेसबुकमा एकअर्काको अंगालोमा बाँधिएको तश्बिर राख्दै प्रेममा रहेको पुष्टि गरेका हुन् । दीपिकाले तस्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘र उहाँ मेरो लागि सधैं ।’ दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् । दुबैले एकै समयमा तस्बिर फेसबुकमा शेयर गरेका हुन् ।

द भ्वाईसमा निर्मला पन्तको घटना

महेन्द्रनगर, बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तले अझै सम्म न्याय पाएकी छैनन् । 
गत साउन १० गते भीमदत्त नगरपालिका १८ मा निर्मलाको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला      परेको थियो । त्यस यता कञ्चनपुरमा तनाव सृजना हुँदै आएको थियो । पिडित पक्षले न्यायका लागि सम्बन्धित सबै पक्षहरु संग हारगुहार गर्दा पनि न्याय पाउन सकेका छैनन् । उक्त घटनामा छानबिनमा लापरवाहि गरेको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा इन्चार्ज जगदिश भट्ट बर्खास्त गरिएका छन् भने सीआईबीका डिएसपी अंगुर जिसी लगायत अनुसन्धानमा संलग्न अन्य केही प्रहरी निलम्बनमा परेका छन् । साथै मृतक पन्तको परिवार शोखमग्न भएको छ । 
चाँडबाड नआए हुन्थ्यो जस्तो परिवारका सदस्यहरुलाई लाग्ने गरेको छ । चाँडबाँडका बेला छोरीको याद बेस्सरी आउने गरेको आमा दुर्गा देवी पन्तले सुनाईन् । छोरीको यादमा आमा दुर्गा र कान्छी आमाले गीत समेत लेखेका छन् । उनीहरुले छोरीले न्याय नपाएको पिडा गीत मार्फत पोखेका छन् । कञ्चनपुर स्थित मृतक पन्तको घरमा  दुवै आमाहरुले कोही घरमा आउँदा बेदनाको गीत सुनाउने गरेकी छिन् ।

लेख 

नेपाल बदल्ने दश कुराः फजुल खर्च रोक्नेदेखि एकवर्षे जागिरसम्म

कृष्णहरि बास्कोटा
आम नेपाली र विश्व जगतले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा होस् भन्ने अपेक्षा गरेका  छन् । यस्का निमित्त बडादशैं २०७५ को शुभकामना सहित दश ओटा सोच अघि सार्न चाहान्छु, जस्ले हामीले अपेक्षा गरे अनुसार नेपाल बदलिने छ ।
१. मदिरा मुक्त नेपाल
नेपालीले अच्चकाली गरेको भनेको रक्सी धोक्ने बानीनै हो । उमेर नपुग्दै पिउन शुरु गर्नेले मृत्युको मुखमा नपुगुञ्जेल यस्को लतबाट बाहिरन सकेको   देखिदैन । नेता, प्रशासक, कलाकार वा बेरोजगार सबै साँझ पर्दा नपर्दै रक्सीको खोजीमा हुन्छन् । भ्रष्ट्राचारको मूलजरो रक्सी हो । समाजमा देखिएको विकृति–विसंगति, फजुल खर्च सबैको जड पनि रक्सी नै हो । रक्सी नै उपहार दिएका छन्, लिएका छन् ।
यो बर्ष छोरी सुम्पेको ज्वाँईलाई अर्को बर्ष जेठानले रक्सी पिलाउन थाल्छ । राजनैतिक कार्यकर्ता र कर्मचारीहरु ठर्राबाट पिउन शुरु गरेर पद र जिम्मेवारी बढेसँगै रक्सीको गुणस्तर र मूल्य बढाउँदै जान्छन्, ती रेडलेवल, व्ल्याक लेबल र व्ल्यू लेवल हुदै रक्सीका सबै आर्जन लगानी गर्न ईच्छुक हुन्छन् । मुलुकमा बलात्कारका घटना भईरहेका छन् ।
मुलुकका स्वयं गृहमन्त्रीले ७०/८० प्रतिशत   अपराधमा रक्सीको भूमिका छ भनी रहँदा पनि यस्को नियन्त्रणलाई अन्य जिम्मेवार पदाधिकारीले अभियानका रुपमा साथ र सहयोग दिन नसक्नु ठूलै बिडम्बना हो । यसर्थ, नेपालमा ७५३ ओटा स्थानीय तह छन्, जस्ले मदिरा नियन्त्रणको पहल आरम्भ गर्छ, उसलाई तत्कालै केन्द्रीय सरकारबाट रु १ करोड दिने घोषणा गर्नुपर्छ ।
२. शिक्षा र स्वास्थ्यमा व्यापार निषेध
नेपालको वर्तमान संविधानले आधारभूत स्वास्थ्य सेवा र शिक्षा पाउने नागरिकको हक हो भनेको छ । कुनै पनि नेपालीले उपचार नपाएर छटपटिनु हुँदैन । हाल नेपालमा सरकारी र सामुदायिक अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क छ । अपरेशन थियटर र चिकित्सकको सेवा निःशुल्क प्राप्त हुन्छ । आकस्मिक सेवा पनि निःशुल्क छ । सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गरेको छ । कडा रोगमा सरकारले नागरिकलाई निःशुल्क उपचार, निश्चित आर्थिक सहायता र विभिन्न स्कीम दिएको छ । उदाहरणका लागि मृगौला रोगीले जीवनभर निःशुल्क डाईलासिस सेवा पाउँछन् । सरकारी अस्पतालमा प्रसुती सेवा लिने महिलाले तराईमा पाँच सय, पहाडमा हजार र हिमालमा पन्द्र सय यातायात सुविधा पाएका छन् ।
पन्द्र बर्ष मुनीका र ७५ बर्ष माथिका मुटु रोगीको निःशुल्क उपचार हुन्छ । महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया निःशुल्क हुन्छ । सरकारले स्वास्थ्य बीमा अगाडि बढाएको छ । यी सबैलाई एक ठाउँमा प्याकेजिङ्ग गरी स्वास्थ्य सेवा निःशुल्क गरी यस्मा भैरहेको व्यापार पूर्णतः निषेध गर्नुपर्छ ।
संविधानमा आधारभूत शिक्षा अनिवार्य र निःशुल्क हुनेछ भनिएको छ । माध्यामिक शिक्षा निःशुल्क हुने संवैधानिक व्यवस्था छ । यसर्थ सबै निजी क्षेत्रका स्वास्थ्य निकाय र शिक्षा क्षेत्रका स्कूल र कलेजलाई क्षतिपूर्ति दिएर सरकारी नियन्त्रणमा लिनु पर्छ वा ट्रष्टमा रुपान्तरित गर्ने लगायतका विभिन्न विकल्पमा जान सकिन्छ । जरोकुरा भनेको शिक्षा र स्वास्थ्यको व्यापार निषेध गर्ने नै हो ।
३. बिए, एमका विद्यार्थीलाई एकबर्षे जागिर दिने
नेपालमा युवाहरुलाई राज्य प्रणाली बारे जानकारी दिने कुनै बिधि र प्रक्रिया छैन । साविकका एमएडका बिद्यार्थीलाई ‘राबिसे’ को नाममा जिल्ला जिल्लामा खटाईन्थ्यो । हाल यो क्रम भंग भएको छ ।
कैयौं देशमा युवाहरुलाई एक वा दूई वर्षे, एक प्रकारको सैनिक तालिम दिईन्छ । नेपालमा यस प्रकारको क्रियाकलाप पनि गरिदैन । यसर्थ बिए र एमए पास गर्नुपूर्ब अनिबार्य रुपमा एकबर्ष सरकारी जागिर दिनु पर्छ । यसबाट हरेक युवाले राज्य प्रणाली बुभ्mने अबसर पाउनेछन् । उनीहरु आफ्नो अध्ययन पूरा भएपछि उपयुक्त पेशामा लाग्न स्वतन्त्र हुनेछन् । यसबाट यूवामा एक्सपोजर बढ्ने छ । यसबाट बहुआयामिक फाईदा पुग्नेछ ।        सरकारी जागिर भन्नाले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सार्बजनिक संस्थान, आयोग, समिति, सेना, प्रहरी, सरकारी स्कूलको शिक्षक लगायतलाई जनाउनेछ ।
४. पाँच कुरामा आत्मनिर्भर हुने
नेपाल र नेपालीको स्वाभिमानका लागि पनि कम्तिमा हामी ५ कुरामा आत्म निर्भर हुनै पर्छ । यस्मा पहिलो खाद्यान्न हो । नेपालमा ३५ लाख हेक्टर जमिन कृषि उत्पादन योग्य छ ।
हाल बर्षेनी करिब एक करोड मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । एक हेक्टरमा ३.५ मे. ट. को औषत उत्पादनलाई सजिलै ७/८ टनको उत्पादनमा पु¥याउन सकिन्छ । यसबाट नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनेछ । दोस्रो, हरियो तरकारीमा आत्मनिर्भर हुनै पर्छ । नेपालमा भित्रिएको टनेल खेती र बेमौसमी तरकारी उत्पादनका कारण यो सम्भव छ । तेस्रो, फलफूलमा हामी आत्मनिर्भर हुनै पर्छ । हाल नेपालीले खपत गर्ने फलफूलको ८० प्रतिशत आयात हुने गरेको छ । यसैगरी चौथो, दुग्ध पदार्थमा पनि आत्मनिर्भर हुनै पर्छ । मिल्क होलीडेलाई व्यवस्थित गर्ने वित्तिकै यो सम्भव छ ।
पाँचौ, मासुजन्य वस्तुमा पनि हामी आत्मनिर्भर हुनै पर्छ । यस्मा करिब ७५ प्रतिशत खपत आयातमा भर परेका छौँ । तर पोल्ट्रीमा भने कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर छ । यी ५ कुरामा आत्मनिर्भर हुने वित्तिकै नेपालको मान, प्रतिष्ठा र सान उच्चो हुन्छ । आत्मबल बढ्छ ।
५. सामाजिक फजूल खर्च रोक्ने
फजूल खर्च रोक्ने भनेको सरकारी भोजभतेर बन्द गर्ने र सरकारी विदेश भ्रमण रोक्ने भन्ने मात्रै बुझएिको छ । कुनै पनि नागरिकले न्वारान गर्दा, विवाह, ब्रतबन्धको समारोह आयोजना गर्दा आफ्ना थरका गुठियार र नाता सम्बन्धका पाहुना बाहेकलाई आमन्त्रण गर्न नपाउने कानूनी व्यबस्था गर्नु पर्छ । ठूला नेता, प्रशासक वा व्यापारीले विवाहमा काठमाण्डौंमा काठमाण्डौं भरीका मानिस बोलाउने गरेका छन् । यही कुरा विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंजरसुर्खेत र महेन्द्रनगर हुँदै नेपालभरी फैलिएको छ । समाज नै फजूल खर्ची हुन्जेल मुलुकको समृद्धि संभव छैन ।
नागरिकले परिश्रम गर्न, आफ्नै खुट्टामा उभ्भिन, बचत गर्न, लगानी गर्न र उत्पादन बढाउन अग्रसरता देखाउनु पर्छ । ऋण काढेर, घुस खाएर, पाकेट मारेर, लुटेर भोज भतेरमा ‘सान’ देखाउन मिल्दैन । यसलाई अभियान कै रुपमा पूर्णतः निषेध गर्नुपर्छ ।
६. ७५३ कोशेली घर खोल्ने
प्रत्येक स्थानीय सरकारले कम्तिमा एउटा कोशेली घर सञ्चालनमा ल्याउनु पर्छ । यस्मा आम नगरवासी वा गाउँवासीले आफ्नो घरमा वा बारीमा जे उत्पादन हुन्छ, सो वस्तु कोशेली घरमा बिक्रीमा राख्न पाउने प्रबन्ध हुनुपर्छ । घरेलु उद्योगका रुपमा उत्पादन हुने अचार, पापड, चाउचाउ, डालो, चामल, तरकारी, कुखुरा, खसी, दुध, मह लगायत कोशेली घरमा लगेर छोड्ने र त्यहाँको व्यवस्थापनले अभिलेख राखी सो वस्तु बिक्री गरेर     नागरिकलाई नगद वा आवश्यक परेको वस्तु उपलब्ध गराउने प्रबन्ध गर्नुपर्छ ।
कोशेली घरमा प्रशस्त अम्बा आएका बखत पालिकाहरुले आयातित स्याउ निषेध गर्नुपर्छ । कोशेली घरमा बेस्सरी कुखुरा आएको छ भने भारतबाट आयात हुने खसी र चीनको च्याङ्ग्रा पालिकाभित्र बिक्री निषेध गर्ने आँट र हिम्मत निर्वाचित पालिकाका पदाधिकारीमा हुनुपर्छ । त्यसै मुलुक समृद्ध हुने भए किन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार चाहिन्थ्यो ? तिनले के गर्दा मुलुक ठीक दिशामा हिड्छ, त्यस अनुसार आफ्ना सोच लागू गर्नुपर्छ ।
७. पैत्रिक सम्पत्ति निषेध गर्ने
प्रत्येक युवा आफ्नो खुट्टामा उभ्भिनु पर्छ । बाबु बराजुको सम्पत्तिले समृद्धि हुने होईन । युवालाई आफ्नै कमाईको गर्व गर्न सिकाउनु पर्छ । यस्का लागि १८ बर्षको उमेरपछि प्रत्येक घरका युवाहरु घरबाट बाहिर निस्किएर आफैले कमाएर बाँच्न सक्ने हुनुपर्छ । यसका लागि पैत्रिक सम्पत्ती स्वतः छोरा छोरीमा अपुतालीका रुपमा जाने प्रणालीलाई कानूनद्वारा निषेध गर्नुपर्छ । आमा–बाबुको सम्पत्ती ट्रष्ट वा पालिकामा जाने भएपछि स्वतः ‘राम्रै आकारको सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्न सकिनेछ । यसबाट जेष्ठ नागरिकको ठूलो ‘कल्याण’ हुनेछ भने प्रत्येक युवा आफ्नै खुट्टामा उभिई स्वतन्त्र र स्वाभिमानी भै केही गर्न सक्ने हुनेछ, बाबुआमाको परनिर्भरताबाट मुक्त हुनेछन् ।
घुसै खानेले पनि आफूलाई बाचुञ्जेललाई आबश्यक पर्ने मात्र घुस खानेछ, सातपूस्तालाई पुग्ने घुस खाने  छैन । साथै घुस खाने जेल पर्ने, तर निजले खाएको घुस छोरा छोरीले मौजले खाने अबस्थाको पनि अन्त्य हुनेछ ।
८. छोरा छोरीको कमाईमा अभिभावकको हक
प्रत्येक घरका आमा–बुवाले आफ्नो सन्तानलाई कम्तिमा १८/२० बर्षसम्म पाल्ने हुर्काउने र कमाईको लागि योग्य बनाउँछन् । त्यसपछि छोराछोरीले कमाउन थाले पछि बाबु–आमालाई बिर्सिन्छन् ।
यो सरासर ‘सामाजिक अन्याय’ हो । यसर्थ तत्कालै कानून बनाएर आार्थिक सहयोगको आवश्यकता महशुस गर्ने प्रत्येक आमा–बाबुलाई छोराछोरीको मासिक आम्दानीको १० देखि २५ प्रतिशत रकम प्रत्येक महिना तलब सरी दिनुपर्नेे कानूनी व्यवस्था गर्नुपर्छ ।
९. जग्गाको लालपूर्जा सरकारको हुने
नेपालमा हाल जमिनको लालपूर्जा व्यक्तिको नाममा वितरण गर्ने गरिएको छ । यसलाई निषेध गर्नुपर्छ । मुलुकभित्रको सबै जमिनको लालपूर्जा सरकारको नाममा हुनुपर्छ । कुनै नागरिकले भवन÷घर निर्माण गर्न चाहेमा एउटा घडेरी लिजमा दिनु पर्छ । यसबाट एक नेपालीको एक घडेरी र एक घर हुनेछ । यसैगरी उद्योग स्थापना गर्नेले औद्योगिक क्षेत्रको जमिन पाउनेछन् भने व्यापार गर्नेले व्यापारिक क्षेत्रको भूमि पाउने छन् । कृषकले कृषि भूमि लिजमा पाउने छ भने सार्वजनिक हितमा काम गर्नेले सार्वजनिक वा वन भूमि लिजमा पाउनेछ ।
तोकिएको काम नगरेको भोलिपल्टै जमिने खोसिनेछ । यसबाट जमिन बाँझो रहने संभावना पूर्ण रुपमा रोकिनेछ । मुलुकको समृद्धिका लागि यो निर्णय अपरिहार्य छ ।
१०. एक वन एक फलफूल
नेपालमा सबै ७७ जिल्लामा वन  छ । कुल जमिनको करिब ४० प्रतिशत क्षेत्र वनले ढाकेको छ । तर कूल ग्राहस्थ्य उत्पादनमा यस्को योगदान केबल ६ प्रतिशत मात्रै छ ।
यसर्थ प्रत्येक वनमा एउटा फलफूल खेती गर्नुपर्छ । यस्का लागि सबै वन क्षेत्र स्थानीय वन उपभोक्ता समूहलाई हस्तान्त–रण गरी त्यस्को लाभ पनि उनीहरुलाई नै दिनुपर्छ । यसबाट नेपालमा सुन्तलाघारी, केरा वन, नासपाती क्षेत्र, किम्बू प्रदेश, अनार क्षेत्र, स्याउ वन, ऐसेलु घारीको विकास भै फलफूलमा आत्मनिर्भर हुने मात्रै होईन, निकासी समेत हुनेछ । साथै बहुमूल्य जूस तयार भै निकासी गर्न सकिनेछ । पुनः एक पटक बडादशैं २०७५ को उपलक्ष्यमा दुर्गाभवानीलेृ यी र यस्तै सोच लागू गर्न सबै नेपालीलाई उत्प्रेरित गरुन् भनी हार्दिक शुभकमामना व्यक्त गर्न चाहन्छु । — अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. प्रतिलिपी अधिकार भनेको के हो ? लेख्नुहोस् ।
— मानव हितका लागि मौलिक एवं बौद्धिक रुपमा सिर्जना गरिएको रचना, प्रस्तुति एवं प्रसारणमा स्रष्टालाई कानुनद्वारा प्रदान गरिने एकलौटी अधिकारलाई प्रतिलिपी अधिकार भनिन्छ । यसमा स्रष्टाको सिर्जनामा प्रतिलिपी अधिकार संरक्षण हुन्छ । स्रष्टा तथा साधकको असिमित कल्पना, गहन सोचाई र निरन्तर बौद्धिक प्रयासबाट मात्र सिर्जनाको उत्पत्ति हुने हुँदा स्रष्टाको सिर्जनामाथीको आर्थिक र नैतिक अधिकारको सुनिश्चितता प्रदान गर्न यसले मद्दत गर्दछ । बौद्धिक सम्पत्तिका दुई हाँगामध्ये एउटा प्रतिलिपी अधिकार हो र अर्को औद्योगिक सम्पत्ति अधिकार अन्तरगत अविष्कारमूलक कामको लागि पेटेण्ट अधिकार, वस्तुको मौलिक डिजाईनको संरक्षणको लागि डिजाईन अधिकार र वस्तु तथा सेवालाई अरुको भन्दा फरक देखाउन र चिनाउन उत्पादकले प्रयोग गर्ने चिन्हको संरक्षणका लागि ट्रेडमार्क अधिकार पर्दछन् । प्रतिलिपि अधिकार स्वतः प्राप्त हुन्छ, दर्ता गर्नु पर्दैन तर प्रमाण पु¥याउन सजिलोको लागि स्वेच्छिक रुपमा दर्ता गराउन सकिने व्यवस्था छ । प्रतिलिपि अधिकार संकेत गर्न चिन्ह प्रयोग गर्ने चलन पनि छ । नेपालले स्रष्टाको सिर्जनाको संरक्षण गर्न प्रतिलिपि अधिकार संरक्षण सम्वन्धी कानुनको प्रमुख आधारका रुपमा रहेको सन १९८६ को वर्न महासन्धि अनुमोदन गरेको छ । बिश्व बौद्धिक सम्पत्ति संगठन एवं बिश्व व्यापार संगठनको सदस्य भएको छ । प्रतिलिपि अधिकार ऐन, २०५९ र प्रतिलिपि अधिकार नियमावली, २०६१ तर्जुमा गरी लागु गरिएको छ । नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय स्थापना गरिएको छ र पनि नेपालमा प्रतिलिपि अधिकारको सचेतना एवं संरक्षण व्यवस्थित हुन सकेको पाईदैन । 
२. नेपालमा स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गरी युवाहरुको विदेश पलायन रोक्न के गर्नु पर्ला ? उल्लेख गर्नुहोस् । 
— युवाहरु देश विकाका मुख्य मात्र र हिस्सेदार दुवै हुन् । युवा सुनिश्चित भविश्य चाहान्छन् । जीवन उपयोगी शिक्षा, रोजगारीको सुनिश्चितता, भरपर्दो स्वास्थ्य सेवा, उद्यमका लागि पुँजी, स्थायित्व, खेलकुद् मनोरञ्जन र हरेक क्षेत्रमा सिस्टमले काम गर्ने परिपाटि बसाउन सकेमा युवाहरुको विदेश पलायन रोक्न सकिन्छ । यसका लागि निम्न उपाय अवलम्वन गर्नु पर्ने देखिन्छ ः 
राजनीतिक एवं नीतिगत स्थायित्व, सुशासन, भ्रष्टाचार निवारणमा जोड दिई मुलुकमा लगानी बढाउने, उद्योग, कलकारखाना, विकास विस्तार गरेर पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने, 
उच्च तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने शैक्षिक संस्थाको गुणस्तरमा सुधार गर्ने, प्राविधिक शिक्षामा जोड दिई कृषि, पर्यटन, जलबिद्युत, सडक, सिँचाईलगायतका भौतिक विकासका पूर्वाधार निर्माणमा युवा जनशक्ति परिचालन गर्ने, 
सार्वजनिक जीवनका सवै क्षेत्र (सडकदेखि सदनसम्म) सवैमा निष्पक्ष रुपमा स्वचालित काम हुने प्रणालीको विकास गर्ने, 
राजनीतिक, प्रशासन, उद्योग, व्यापार लगायतका सवै क्षेत्रमा युवा जनशक्तिलाई सहज प्रवेशको वातावरण तयार गर्ने, 
बैङ्क तथा बित्तीय संस्थाबाट युवालाई उद्यमका लागि सहज रुपमा पुँजी उपलव्ध गराउने व्यवस्था गर्ने 
३. गरिबी र बेरोजगारीबीचको अन्तरसम्वन्ध उल्लेख गर्दै नेपालमा ढ्दो बेरोजगारी समस्या समाधानका लागि चाल्नु पर्ने बदमबारे उल्लेख गर्नुहोस् । 
— सामान्य जीवन निर्वाह खान, बस्न, लगाउन, आधारभूत स्वास्थ्य तथा शिक्षा प्राप्त गर्न नसक्ने अवस्था गरिबी हो । यही सामान्य जीवन निर्वाहका लागि गरिने काम, इलम पेसा वा व्यवसाय नभएको अवस्था बेरोजगारी हो । बेरोजगारी अवस्थाले गरिबी बढाउँदै जान्छ, गरिबीले जीवन थप कष्टप्रद हुँदै जान्छ । मुलुकमा शिक्षा, स्वास्थ्य खानेपानीजस्ता सामाजिक पूर्वाधार, सडक, बिद्युत, सञ्चारजस्ता भौतिक पूर्वाधार, आर्थिक बृद्धि, आर्थिक स्थायित्व, लगानी, उत्पादन, वितरण पुँजी परिचालन जस्ता आर्थिक पूर्वाधार सवल हुँदै जाँदा रोजगारी सिर्जना भई बेरोजगारी हट्दै जान्छ, यसबाट गरिबी निवारणमा उल्लेख्य सहयोग पुग्छ । उत्पादनको क्षेत्रमा लगानी बढाउँदा बेरोजगारले रोजगारी पाउँछन्, गरिब व्यक्तिको आयआर्जन बढ्छ । बेरोजगारलाई केन्द्रित गर्दा रोजगारी बढ्छ, बेरोजगारी घट्छ । सवै गरिब बेरोजगार पनि गरिब नै हुन्छन् । त्यसैले गरिबी र बेरोजगारी एक आपसमा अन्तरसम्वन्धित बिषय हुन ।
बेरोजगारी समस्या समाधानका कदम 
नेपालमा कुल जनसंख्याको करिब ७८ प्रतिशत जनता कृषिमा आश्रित छन् । कुल ग्रहास्थ उत्पादनमा करिब ३३ प्रतिशत हिस्सा कृषि क्षेत्रको छ । त्यसैले सर्वप्रथम निर्वाहमुखी कृषिको व्यवसायिक उत्पादन बढाउनुपर्छ, कृषि उपज उद्योगको कच्चापदार्थ भएकाले दुवैलाई अन्तरसम्वन्धित गरी विकास गर्नु पर्दछ । यसबाट मात्र बेरोजगारी समस्या समाधान हुन सक्दछ । बेरोजगारी समस्या समाधानका अरु कदमहरु निम्नानुसार छन ः
कृषि, उद्योग, व्यापार, वाणिज्य, पर्यटनजस्ता रोजगारीका क्षेत्रमा नीजि क्षेत्रको लगानी प्रवद्र्धन गर्ने, 
मुलुकमा लगानीमैत्री वातावरण तयार गरी स्वदेशी लगानी आकर्षित गर्ने, मानव संसोधन विकासमा जोड दिने, दक्ष एवं सीपयुक्त जनशक्ति विकास गर्ने, 
बैदेशिक रोजगारीका सवै चरणलाई सुरक्षित मर्यादित एवं उत्पादनमूलक बनाउने, फ्रि टिकट र फ्रि भिजाको व्यवस्था प्रभावकारी रुपमा लागु गर्ने, 
बेरोजगारीको लगत संकलन गरी आवश्यकता अनुसार तालिम कार्यक्रम सञ्चालन गर्ने,
राष्ट्रिय गौरवका आयोजनाको संख्या बृद्धि गरी आयोजना निर्माण कार्यलाइृ थप व्यवस्थित गर्ने, 
आर्थिक, सामाजिक एवं भौतिक पूर्वाधार निर्माणमा सरकारी लगानी केन्द्रित गर्ने आदि ।

साहित्य/सिर्जना 

लिम्व्रवानको खातिर 

सेवारो आदाङ्वे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भएपनि
आउनुहो ः
किनभने अहिले देशलाई
पुन निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ
हिउदको ठिही र वर्षाको झरीबादल सहेर
कति मेलापातमा मात्र सिमित रहने
धनको लोभ र लालचमा फसेर
कति परदेशी मात्रै भैरहने
अव त हामीले आफ्नै लिम्वूवानको जोहो गर्नुपर्छ
र लिम्वूवानको सुनौलो भविष्यलाई खोज्नु पर्छ
आदाङ्वे
अव हामीले यो देशमा
आत्मा निर्णयको अधिकार खोज्नुपर्छ
हरेक तह र ताप्कामा
हाम्रो सहभागीतालाई अनिवार्य वनाउनु पर्छ
हक र अधिकारको लागि एकाधिकार चिरेर
हामी अगाडि अगाडि वढ्नु पर्छ
लिम्वूवानको लागि
हामी सवै लिम्वूहरू लड्न तयार हुनु पर्छ
किनभने हामीले
जाति भाषा र संस्कृतिको संरक्षण गर्नु छ
समग्र लिम्वू र लिम्वूवानको उत्थान गर्नु छ
त्यसैले आदाङ्वे
यसवेला हामीले
लिम्वू र लिम्वूवानको लागि
केहि सोचेनांै भने
लिम्वूवान राज्यको लागि
लागि परेनौं भने
मात्र इतिहास वन्नेछौं
जो हिजो लेखिएको थियो त्यस्तै
अव साँच्चै लिम्वू भएर जाग्नु पर्छ
लिम्वूवानको खातिर
आदाङ्वे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भएपनि
आउनुहो ः
किनभने अहिले देशलाई
पुन ः निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ ।
— टंक सम्वाहाम्फे

गजल 

मसालामा जिरा, धनियाँ र खुर्सानी चाहियो 
आमालाई घरमा बुहारी खानदानी चाहियो 
मजा आएन गुरु तपाईको गजल पढेर 
अलि फरक किसिमको कहानी चाहियो 
बर्षौं जिन्दा रहनु छ मलाई पनि त यहाँ 
भ्यागुताले भन्यो कुवामा पानी चाहियो
यो जमाना कहाँबाट कहाँ पुगिसक्यो 
छोरीलाई जिन्स छोरालाई शेरवानी चाहियो 
आफ्नै श्रीमतीको भर लाग्दैन किन अचेल 
सरकार मलाई श्रीमतीको निगरानी चाहियो 
लोकराज गिरी 
पथरैया, कैलाली 

सूचना/सन्देश/बिज्ञापन



No comments:

Post a Comment