Tuesday, April 23, 2019

बिम्ब साप्ताहिक, २०७६ साल बैशाख १० गते मंगलबार

१. सदाचारीलाई स्वागत, भ्रष्टाचारीलाई बहिस्कार
२. भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको विकास गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सुदूरपश्चिममा ओली गुटको बर्चश्व

रामहरी ओझा/डोटी
बैशाख १०
पार्टी एकताको घोषणा भएको ११ महिनापछि टुंग्याईएको जिल्ला नेतृत्वमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये पाँच जिल्ला साविकको एमालेको भाग परेको छ । 
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा सोमवार काठमाण्डौंमा सार्वजनिक गरेको ७७ वटै जिल्ला नेतृत्वको सूचीमा अनुसार सुदूरपश्चिममा कैलाली, डोटी, अछाम, बाजुरा र बैतडी एमालेले नेतृत्व गर्ने भएको छ । यस्तै बझाङ्ग, दार्चुला, कञ्चनपुर र डडेल्धुरा साविकको माओवादीका भाग परेको छ । 
जिल्ला अध्यक्षको जिम्मेवारी पाउने नेताहरुमा कैलालीमा रतन थापा, अछामका शेरवहादुर कुँवर, डोटीमा चक्रवहादुर मल्ल, बाजुरामा कालीवहादुर शाही र बैतडीमा सुरेन्द्र पालले पाएका छन् । स्रोतका अनुसार मल्ल, शाही र पाल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली निकट हुन् । तत्कालीन पार्टी अध्यक्ष दिर्घ  सोराडी अनुशासनको कारवाहीमा परेका कारण अध्यक्षको जिम्मेवारी पाएका कैलालीका साविकको एमाले उपाध्यक्ष थापाले पनि केही समय अगाडी ओली समूह ‘ज्वाईन’ गरेका थिए । नेकपा प्रभावशाली नेता भिम     रावलको गृह जिल्ला अछामका अध्यक्ष कुँवर भने माधव नेपाल समूहका मानिन्छन् । 
साविकको माओवादी केन्द्रबाट जिल्ला अध्यक्षको जिम्मेवारी पाउनेहरुमा डडेल्धुरामा मानसिं माल “क्रान्ती”, दार्चुलामा गणेश सिं खत्री “पावेल”, बझाङ्गमा मिनवहादुर कुँवर “बिश्वास” र  कञ्चनपुरमा बिरवहादुर थापा “पातल”  रहेका छन् । 
सचिव फरक पार्टीबाट 
पार्टी एकिकरणको भागवण्डा अनुसार जिल्ला अध्यक्षको जिम्मेवारी पाउने भन्दा फरक पार्टीका व्यक्तिलाई सचिवलाई जिम्मेवारी दिईएको छ । पार्टी सचिव हुनेहरुमा कैलालीमा लालवहादुर सोराडी, डोटीमा जंगवहादुर बि.क. “शैलेन्द्र”, अछाममा झपट साउँद, कञ्चनपुरमा तारा लामा, बझाङ्गमा दिलवहादुर सिंह, दार्चुलामा रामदत्त जोशी, बैतडीमा प्रेम भट्ट, डडेल्धुरामा डा. तारा जोशी र बाजुरामा भरतवहादुर बुढा रहेका छन् । 
तत्कालीन अध्यक्षलाई एकता प्रक्रियामा अध्यक्ष वा बनाउने नीति अनुरुप तत्कालीन नेकपा एमालेका अध्यक्षले अध्यक्षको जिम्मेवारी पाएका ठाउँमा साविकको माओवालीका तत्कालीन अध्यक्षहरु सचिव र माओवादीका तत्कालीन  अध्यक्षले अध्यक्षको जिम्मेवारी पाएका ठाउँमा तत्कालीन एमालेका अध्यक्षहरुले सचिवको जिम्मेवारी पाएका हुन् ।
अध्यक्षको जिम्मेवारी पाउनेहरुमा अछामका कुँवर राष्ट्रिय सभा, कैलालीका थापा प्रदेश सभा सदस्य र बाजुराका शाही गाउँपालिका अध्यक्ष छन । जनप्रतिनिधीलाई कार्यकारी नेतृत्व नदिने नीति बनाइएको थियो । तर पार्टीभित्र बिवाद उत्पन्न भएपछि एउटै नीति लिईएको थियो । 
डा जोशीको बिमति 
एमालेले अध्यक्ष पाएको ठाउँमा तत्तकालीन माओबादीका जिल्ला संयोजक सचिव हुने र माओबादीले अध्यक्ष पाएको ठाउँमा तत्कालीन एमालेका अध्यक्ष सचिव हुने नीति अनुरुप सचिवको जिम्मेवारी पाएका डडेल्धुराका साविकको एमाले अध्यक्ष डा तारा जोशीले उक्त निर्णयप्रति विमति जनाएका छन् । सोमवार सामाजिक सञ्चाल फेसवुकमा जोशीले लेखेका छन् ‘पार्टी एकतामा कुनै निश्चित मापदण्ड वनाउनु स्वभाविक हो । दुई पार्टीमध्ये एउटाबाट अध्यक्ष र अर्कोबाट सचिव हुने भएपनि व्यक्तिका लागि बाध्यकारी होईन ।’ पूर्ववत् कमिटीको वरियताका आधारमा उक्त पदहरुका लागि व्यक्ति छनौट हुने अन्य बिकल्पहरु पनि रहेको प्रसंग उल्लेख गर्दै उनले भनेका छन् ‘स्वभाविक रुपमा हामी पहिलो बिकल्प रोज्दैनौं ।’
उनले आफ्नो बिमति कुनै बिद्रोह नभएको प्रष्ट पारेका छन् । आफु सधैंभरी कार्यकर्ताहरुको बिचमा रहदै आएको र फेरी पनि कार्यकर्ताहरुकै बिचमा रहने वताउँदै उनले सचिवको जिम्मेवारी आफु नलिने वताएका छन् । जोशीलाई एक बौद्धिक एवं ईमानदार राजनीतिज्ञको रुपमा कार्यकर्ताले चिन्ने गरेका छन् ।

सम्पादकीय 

चेतनाको विकास गरौं

अहिले चारैतिर विकासको चर्चा चलेको छ । स्थानीय तहको पुनर्संरुचनापछि गाउँपालिका÷नगरपालिकामा आएको बजेटले विसकाको नयाँ बहस सिर्जना गरेको छ । खानेपानी, बाटो, सडक, पुल, पर्यटकीय स्थल, मन्दिर, पाटी पौवा यस्तै थुप्रै संरचनाहरु निर्माण हुने क्रममा छन् । भौतिक पूर्वाधार निर्माणसंगै जनप्रतिनिधिहरु, कर्मचारीहरु, उपभोक्ता समितिहरु र निर्माण व्यवसायीहरु भ्रष्टाचारमा चुर्लुम्म डुवेको कुरा बेलाबेलामा चर्चामा आउन थालेको छ । होला बिपक्षी दलहरु र दलका नेताहरुले केही बढाई चढाई गरेका पनि होलान् तर सवै कुरा थपथाप गरेर मात्रै हुँदैन । केही कुरा भएको अवश्य छ । 
सडक बनाउने नाममा डाँडो भत्काउनका लागि दिनहुँ मेसिनहरुको संख्या बढ्नुले यसभित्र भ्रष्टाचार लुकेको होईन मौलाएको छ भन्ने कुरा प्रष्टै भएको छ । होईन भने डोजर व्यवसाय यसरी फस्टाउने थिएन । अहिले जहाँ पनि देखिएको सडक मात्रै हो अर्थात विकास भनेको सडक मात्रै हो भन्ने बुझेका छन् स्थानीय तहका जनप्रतिनिधिहरुले । 
बिगतका बिकास निर्माणका योजनाहरुले पनि भौतिक पूर्वाधार निर्माण गर्दैमा विकास हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ । भएका भौतिक संरचनाहरुको संरक्षण गर्नका लागि उपभोक्ताहरुले अपनत्व ग्रहण गर्नु पर्छ । जवसम्म उपभोक्ताहरुले अवनत्व ग्रहण गर्दैनन् तवसम्म त्यो भौतिक संरचनाहरुको संरक्षण हुन सक्दैन । उदाहरणको रुपमा मन्दिर र धर्मशालाहरुलाई लिन सकिन्छ । मन्दिरमा आस्था भएका कारण जनताले अवनत्व ग्रहण गरेका छन, त्यसकारण मन्दिर भत्केपछि त्यसको पुननिर्माण गर्न, मन्दिरमा रङ्ग रोगन गर्न, पाठपुजा गर्न जनता आफै तयार हुन्छ । यद्यपी अहिले मन्दिरका नाममा पनि भ्रष्टाचार मौलाएको छ । तर त्यही ठाउँमा भएको धर्मशालाको संरक्षण गर्दै बरु त्यहाँ भएको काठ ढुङ्गा चोरेर आफ्नो घर लैजान्छ, किनकी धर्मशाला हाम्रो हो भन्ने भावना जनतामा छैन । 
यस्तै अन्य थुप्रै योजनाहरु छन गाउँमा निर्माण भए तर प्रयोगमा आएनन् । धेरै बालविकास केन्द्रका भवनहरु छन् जो निर्माण भएर अभिभावकबिहिन अवस्थामा पुगेका छन् । धेरै खानेपानीका योजनाहरु रहेका छन्, जो निर्माण भएसंगै बाँझिएका छन्, किनकी ति योजनाहरुमा जनताले अपनत्व ग्रहण गर्न सकेका छैनन् । जनताले अपनत्व तव मात्रै लिन्छ जव जनतामा चेतना हुन्छ । त्यसैले चेतनामुखी कार्यक्रमहरु सञ्चालन गर्नु जरुरी छ । भौतिक सम्पत्तिको संरक्षण र गुणस्तरी विकासका लागि चेतना अभियान नै सञ्चालन गर्नु पर्ने अवस्था छ । 
तर, कुनै पनि स्थानीय सरकारले चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न सकेका छैनन् । बरु गाडी खरीद हुन्छ, डोजर खरीद हुन्छ, सोफा खरीद हुन्छ किनकी यि बस्तुहरु कमिसन केन्द्रित बस्तुहरु हुन । उहिलेदेखिनै कमिसनको खेलमा डुवेको कर्मचारीतन्त्रले बर्तमान राजनीतिक नेतृत्वलाई पनि भ्रष्टाचारको बाटो सिकाएको छ । जनताका प्रतिनिधि हौं भन्नेहरु र जनताका सेवकहरुबिचमो मिलेमोतोले भ्रष्टाचार बाहेक कुनै विकास हुन सकेको छैन । 
त्यसैले जनप्रतिनिधिहरु पनि चेतनामुलक कार्यक्रम सञ्चालन गर्नका लागि, सुशासनका औजार प्रयोग गर्नका लागि, भ्रष्टाचार नियन्त्रण गर्नका लागि प्रभावकारी हुने कार्यक्रमहरु सञ्चालन गर्दैछैनन् । आर्थिक बर्ष २०७५÷०७६ मा सार्वजनिक सुनुवाई गर्ने स्थानीय तहहरु बिरलै होलान् । जनप्रतिनिधिहरु आईसकेपछि आफुले गरेका कामप्रति जनताको चित्त बुझेको छ कि छैन भन्ने बिषयमा जानकारी लिनका लागि सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण बिधिबत् रुपमा गराउनु पर्ने होईन र ? कागजी सार्वजनिक सुनुवाई ग¥यो, बाना पुरा ग¥यो कमिसनको खेलमा लाग्यो, वजेट रित्तायो ।

थप समाचार 

९० हजार बालबालिका बिद्यालय भर्ना गर्ने

कर्ण चन्द/डोटी
बैशाख ९
बिद्यालय भन्दा बाहिर रहेका ९० हजार बालबालिकालाई यस बर्ष बिद्यालय भर्ना गर्ने शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री गिरिराज मणी पोखरेलले वताएका छन् । 
शैक्षिक संस्थाको अनुगमनका क्रममा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाको भ्रमणमा रहेका बेला मन्त्री   पोखरेलले डोटी पुगेर उक्त कुरा बताएका हुन् । 
बिद्यालय भन्दा बाहिर रहेका दुई लाख ५४ हजार बालबालिका गत बर्ष बिद्यालय भर्ना भईसकेकाले यस बर्ष बाँकी रहेका सबै बालबालिका भर्नाका लागी सबै स्थानीय तह लाग्नु पर्ने मन्त्री पोखरेलले बताए । माध्यामिक तह सम्मको शिक्षा स्थानीय तहले हेर्ने भएका कारण बिशेषगरी स्थानीय तहले प्राथमिकताका साथ भर्ना अभियान सञ्चालन गर्नु पर्ने उनले बताए । 
मन्त्री पोखरेल सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, डोटी र डडेल्धुराका शैक्षिक संस्थाको अनुगमन गरेका हुन । डोटीमा रहेको सेती प्राबिधिक शिक्षालय, निजामति कर्मचारी आवाशीय बिद्यालय र शहीद स्मृति आवाशीय बिद्यालयको अनुगमन गरेका मन्त्री पोखरेलले सेती प्राबिधिक शिक्षालय ऐतिहासिक बिद्यालय भएका कारण यसको विकासका लागी बिशेष पहल गर्ने बताए । 
प्रदेश सरकारले डोटीलाई शैक्षिक हबको रुपमा विकास गर्ने कार्यक्रम लिएर आएमा संघ सरकार सहयोग गर्नका लागी सधैँब तत्पर रहेको बताए । नेपालमा कुन क्षेत्रमा के विषय पढाउने भन्ने विषयमा प्रक्षेपण गरी छलफल भइरहेको मन्त्री पोखरेलले बताए । खास गरी सुदूरपश्चिममा अहिले निर्माणसँग जोडिने जनशक्ति धेरै चाहिने अवस्था रहेको उनले वताए ।
प्राबिधिक शिक्षाका लागि सेती प्राविधिक शिक्षालय दिपायलले  खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भने ‘यसको स्तरोन्नतीका लागि  सिटिइभिटी र कार्यकारी जिम्मेवारीमा रहेका पदाधिकारीसँग छलफल गर्छु ।’

यसै आवमा मुक्त हलियाको पुनस्थापना टुंगिने

संघीय भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री पद्मा अर्यालले आलु आर्थिक बर्षभित्रै मुक्त हलियाहरुको पुनस्र्थापना कार्य सम्पन्न गर्ने  गरी काम भईरहेको वताएकी  छन् । 
सोमबार धनगढीमा आयोजना गरेको मुक्त हलिया तथा मुक्त कमैया मुक्त कमैया र हलियाको पुनःस्थापनामा निकै ढिलो भएकोले सरकारले यो शिर्षकमा आगामी आर्थिक बर्षदेखि काम गर्न नपर्ने गरी चालु आर्थिक बर्षमा सक्ने गरी काम गरिरहेको वताईन् । मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुखहरुलाई सो निर्देशन दिएकी हुन् । उनले सूचना गर्दा गर्दै पनि सम्पर्कमा नआएका मुक्त कमैया र मुक्त हलियाहरुको नाम लगतबाट हटाउन समेत निर्देशन दिईन । ‘पटक पटक सूचना गर्दा पनि सम्पर्कमा सम्पर्कमा आउँदैनन्’ उनले भनिन् ‘यसले कागजमा लेखिएपनि वास्तविक व्यक्ति नभएको देखिन्छ ।’ उनले लगतमा उनीहरुको नाम राखिरहेमा सरकारको कार्यक्रम पुरा नहुने र मुक्त कमैया तथा मुक्त हलियाको समस्या समाधान पनि पुरा नहुने बताइन् ।
मन्त्री अर्यालले सरकारले कमैया मुक्त गरेको १८ बर्ष र हलिया मुक्त गरेको १३ बर्ष पुरा भएको र लामो अवधिसम्म पनि सरकारी समितिहरुको सम्पर्कमा नआएका ब्यक्तिहरुका नाम पनि मुक्त हलियाको सूचीमा रहेकोले अवको एक महिनाभित्र सम्पर्कमा नआएको मान्छेको नाम सुचीबाट हटाएर समस्या समाधान गर्ने बाटोमा सरकार रहेको बताइन् । सरकारसंग भएको तथ्यांकका आधारमा चालू आर्थिक बर्षमा सबै हलिया, कमैयाको पूनःस्थापना गरिसक्ने र आगामी आर्थिक बर्षमा यो शिर्षकमा बजेट नै नराख्ने गरी सरकारले काम गरिरहेको उनले बताइन् ।
उनले १३ वर्षसम्म मुक्त कमैया र हलियाको पुनःस्थापना हुन नसक्नु दुःखद् रहेको बताइन् । उनले पुनःस्थापनाको कार्य अहिलेसम्म टुंगिन नसक्नुमा सरकारको कमजोरी नरहेको दावी गरिन् । ‘यत्रो समय बितिसक्दा पनि पुनःस्थापना हुन नसक्नु दुःखद् हो’ मन्त्री अर्यालले भनिन् ‘सरकारले चालु आर्थिक वर्षभित्रै मुक्त कमैया र हलियाको पुनःस्थापना गर्ने लक्ष्य लिएको छ ।’ लामो सयम बितिसक्दा पनि मुक्त कमैया र हलियाको पुनःस्थापना नहुनुमा सरकारको कमजोरी नरहेको मन्त्रीको जिकिर थियो । पुनःस्थापना कार्यक्रम छ भनेर सबैले थाहा पाएको र थाहा पाएर पनि सरकारले दिएको सुविधा नलिनु सरकारको कमजोरी होइन उनले भनिन् । ‘सरकारले यत्रो वर्षदेखि मान्छे आएनन् भनेर पैसा राखेको राख्यै छ ।’ तत्कालीन समयमा तथ्याङ्कमा समावेश भएको मान्छे कोही बितेकोे, कोही अन्यत्र गएको हुन सक्ने मन्त्री अर्यालले बताइन् । उनले पिपल चौतारामा बसेर टिपोट गर्दा पनि नभएको मान्छे तथ्याङ्कमा समावेश भएको हुन सक्ने उल्लेख गरिन् । ‘पुनःस्थापना सुविधा लिनका लागि मान्छे आउलान भनेर हामीले धेरै वर्ष कुरिसक्योँ’ अर्यालले भनिन् ‘अब मान्छे सम्पर्कमा आएनन् भनेर कुरिरहन सकिन्न ।’ 
उनले आवास क्षेत्रमा मात्रै जमिन कित्ताकाट गर्ने र कृषियोग्य भूमि   खण्डीकरण हुन नदिने गरी भू–उपयोग नीति बनिरहेको जानकारी दिईन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सरकारले चाहेमा तत्काल मुक्त कमैया र मुक्त हलियाको समस्या समाधान हुन सक्ने बताइन् । उनले मुक्त कमैया र मुक्त हलियाहरुलाई विपद् जोखिम हुने स्थानमा पुनस्र्थापना गर्न नहुने समेत बताइन् ।

सरकार नराम्रोसंग चुक्यो

अनुमोदन दैनिक
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सरकार बिधिसम्मत तरिकाले नचलेको जिकीर गरेका छन् ।
नयाँ बर्षका अवसरमा कांग्रेस प्रदेश संसदीय दलले सोमबार आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे नेता रावलले सरकारले केही राम्रा काम गर्न खोजेको भएपनि मुख्यमन्त्री कप जस्ता धेरै गतिविधीमा नराम्रोसंग चुकेको दावी गरेका हुन् ।
उनले काम छिटोछरितो रुपमा सक्न खोज्दा पनि आर्थिक अनियमितता भएको चर्चा गर्दे योजना कार्यान्वयनमा पनि प्रदेश सरकारले तारतम्य मिलाउन नसकेको बताए । ‘हामी विगतको प्रतिपक्ष जस्तो तोडफोड, बन्द, हडतालमा जादैनौ’ उनले भने ‘तर प्रेस र संसदबाट निरन्तर गलत कामको खवरदारी गर्ने छांै ।’
सरकारले तामझामका साथ हेलो सिएम टेलिफोन कार्यक्रम शुरु गरेको भएपनि प्रभावहीन भएको उनको जीकिर छ । हामी रचनात्मकढंगले अगाडि बढ्न चाहन्छौ नेता रावलले गुनासा अनुसारका काम नभएपछि प्रदेश सरकारलाई जनताले गुनासो गर्न पनि छोडेको वताए ।
एक फरक प्रसंगमा उनले प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सत्तापक्षको नेताको भूमिकामा आफूलाई प्रस्तुत गरिरहेको गुनासो गरे । उनले भने ‘सच्चिन जरुरी छ सभामुख सत्ता र प्रतिपक्ष दुवैको साझा व्यक्ती हो ।’
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचन, नेता सुनिलकुमार भण्डारी, प्रदेश सभाका प्रवक्ता डिल्लीराज पन्त लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश सभामा दुई प्रतिवेदन पेश

सुदूरपश्चिम प्रदेशसभाको बिहिबारको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५’ माथि पुनः छलफल गरी तयार पारिएको प्रतिवेदन पेश गरिएको छ ।
प्रदेशसभा नियमावली, २०७४ संशोधन मस्यौदा समितिका संयोजक वीरमान चौधरीले समितिमा पुनः छलफल गरी तयार गरिएको प्रतिवेदन पेश गरेका हुन । यसैगरी, विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले ‘प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि पुनः छलफल गरी तयार पारेको प्रतिवेदन पेश गरे । विधेयकमा केही थपघट गर्नु पर्ने आवश्यक देखिएपछि पुनः दफावार छलफलका लागि उक्त विधेयक समितिमा फिर्ता पठाइएको थियो । 
यसैगरी, संसदबाट महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशमा आर्थिक अनियमितता भएको ठहर गरेकाले त्यसको छानविन गर्नु पर्ने माग गरिएको छ । 
प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद् कर्ण मल्लले अनियमितताको छानविन गर्न माग गरेका हुन । उनले शक्तिशाली समिति गठन गरेर अनियमित–ताको छानविन गर्नु पर्ने उल्लेख गरे । महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेश सरकारले ६० लाख रुपैयाँ अनियमित तरिकाले खर्च गरेको ठहर गरेको छ ।  
यसैगरी, सत्तापक्ष नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद् दीर्घ सोडारीले प्रदेशको स्थायी राजधानी तोकेको ६ महिनाभन्दा बढी समय बितेपनि कार्यान्वयनमा आउन नसकेको भन्दै प्रदेश सरकारको ध्यानाकार्षण गराए ।

उत्पादनमुखी बजेट आउनु पर्ने

पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आगामी बर्षको वजेट बितरणमुखी नभई उत्पादनमुखी हुनु पर्नेमा जोड दिएका छन् । 
प्रतिनिधि सभाको अर्थ समितिले सोमबार धनगढीमा आयोजना गरेको पूर्ब बजेट छलफल कार्यक्रममा बोल्दै पाण्डेले यदि उत्पादन बढेन र बितरण मात्रै हामीले बढाउँदै लग्यौं भने आर्थिक संकट आउँने वताए । ‘राज्यले अनुदान दिनु पर्छ तर त्यो अनुदान आफ्नै उत्पादनमा हुनु पर्छ’ उनले भने ‘एलपी ग्यासमा होईन बरु त्यसको सट्टा बिद्युत उत्पादन गरेर बिद्युतमा अनुदान दिन सकिन्छ ।’ उनले आउने बजेटमा थोरै भएपनि सामाजिक सुरक्षा भत्तामा बृद्धि हुने संकेत गर्दै भने ‘तर लोकप्रियताका लागि मात्रै हामीले वितरणमुखी वजेट ल्याउनु हुँदैन ।ं’ 
धनगढी–दिपायल द्रुत मार्ग र बर्दगोरिया लोकमार्गमा आउँदो वर्ष बजेट हालेर कार्यान्वयन गरिने पाण्डेले वताए । उनले संघको मातहत रहेका बर्दगोरिया लोकमार्ग र धनगढी–दिपायल द्रुत मार्गमा बजेट हाल्नका लागि आफुले पहल गर्ने समेत जानकारी दिए । पूर्व अर्थमन्त्री पाण्डेले सो लोकमार्गहरुमा बजेट पार्नको लागि सम्बन्धित क्षेत्रमा सांसद् र स्थानीयहरुले समेत पहल गर्नुपर्ने बताए ।
संघले प्रदेश र स्थानीय सरकारलाई बजेटको आधा हिस्सा दिएको भएपनि लोकप्रिय नारा नभएकाले मात्रै चालु आर्थिक वर्षको कार्यक्रम चर्चित बन्न नसकेको बताए । अघिल्ला वर्षहरुमा १५/२० लाख रकम दिएपनि नारा लोकप्रिय भएकाले अर्थमन्त्रीहरुले चर्चा पाएको बताए । 
उनले सरकारले बिनियोजन भएको वजेट पनि खर्च हुन नसक्दा समस्या भएको बताए । ‘पुँजीगत तर्फ १० प्रतिशत मात्रै भएको छ’ उनले भने ‘साना टुक्रे योजनाहरुको बजेट मात्रै खर्च भइरहेको र रणनैतिक योजनाहरु खर्च हुन नसकेकोले परिणाम शुन्य भएको हो ।’ ठूला योजनामा बजेट खर्च नहुने टेन्डेन्सी परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।
कर्मचारीहरु वारम्बार सरुवा हुने  प्रवृत्ति हटाई कर्मचारीको स्थायी व्यवस्था मिलाउन आवश्यक रहेको पाण्डेले बताए । उनले खर्च गर्ने क्षमता विकासका लागि अध्ययन गरेर मात्रै परियोजनामा बजेट विनियोजन गर्ने विधि बसाल्न आवश्यक रहेको बताए । उनले बजेट खर्च हुनुमा आर्थिक भन्दा बढि गैरआर्थिक अवरोध बढि रहेकाले त्यसलाई पनि समाधान गरेर बजेट ल्याउन आवश्यक रहेको बताए ।

छोटकरी समाचार 

चौरपाटीलाई पूर्ण सरसफाईयुक्त वनाईदै

पुर्ण सरसफाइ युक्त गाउँपालिका घोषणा गर्नेका लागी सबै क्षेत्रबाट जुट्न चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले आग्रह गरेका छन् । 
सुदूरपश्चिम प्रदेशमा पहिलो पट्क पÞmोहोर मैला ब्यबस्थापन ऐन पारित गरेको गाउँपालिकाले आयोजना गरेको सरोकारवालासंग बैठकमा बोल्दै अध्यक्ष साउदले सो आग्रह गरेका हुन् । पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणाका लागि सबै सूचक पूरा गर्न सरसफाइको क्षेत्रमा काम गर्ने विकास साझेदार संघ संस्थालाई गाउँपालिकालाई सहयोग गर्न बैठकका सहभागीलाई आग्रह गरे ।
चौरपाटी गाउँ पालिकाको आयोजनामा भएको बैठकले सरसफाइ उन्मुख क्षेत्र घोषणाका लागि कार्यनीति रणनीति र कार्यबिधी निर्माण गरि अगाडि बढ्ने तयारी गरेको छ ।

मुक्त हलियाको  घरमा डोजर चल्यो

कञ्चनपुरको भिमदत्त नगरपालिका–१९ बागफाटामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा २ जना मुक्त हलियाहरुले निमार्ण गरिराखेको संरचनामा डोजर लगाएर निर्माणाधीन संरचनामा अवरोध गरेको छ । 
गणेश पार्की र शंकर दमाईको निमार्ण भईरहेको घरमा मुक्त हलिया समाजले डोजर लगाएर निर्माणमा अवरोध गरेको आरोप छ । घर निर्मार्ण गरिरहेका गणेश पार्कीले आफुले निमार्ण गरिरहेको डिबिसीमा एक्कासी डोजर लगाएर बराबर गरिदिएको बताए ।

खेल समाचार 

धनगढीमा गोजोरियो प्रतियोगिता हुने

जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तराष्ट्रिय गोजुरियो  कराँते प्रतियोगिता हुने भएको छ । 
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ ९ देखि ११ गतेसम्म हुने दुई दिने प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउने आयोजक राष्ट्रिय गोजुरियो कराँते दो संघले जनाएको छ । 
प्रतियोगिता संयोजक तथा संघका केन्द्रीय महासचिव प्रकाश चन्दका अनुसारतीनवटै स्पर्धामा ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।
संघले सोमबार काठमाण्डौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा काता, कुमुते र टिम कुमिते गरी तीन विधामा प्रतिस्पर्धा हुने जनायो । कुल ४१ लाख ९१ हजार बजेट रहेको प्रतियोगिताको टिम च्याम्पियनले ७५ हजार पुरस्कार पाउँनेछन् । 
खुल्ला प्रतियोगिता भएकाले नेपालबाट सातवटै प्रदेश, स्कुल, कलेज, डोजो तथा विभागीय खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउँने संघले जनाएको छ । १६ वर्षदेखि नियमित रुपमा हुदैँ आएको प्रतियोगिताको विभिन्न स्पर्धामा भारतका मात्रै ४ सय बढी खेलाडीले सहभागिता हुने संघले जनाएको छ । 
‘प्रतियोगिताको मुख्य उद्देश्य खेलका माध्यमबाट नेपाल अनि सुदूरपश्चिम प्रदेशको पहिचान फराकिलो बनाउने हो’ कार्यक्रम संयोजक चन्दले भने ‘खेल पर्यटनलाई बढावा दिई सुदूरपश्चिम क्षेत्रको विकासको समृद्धिमा समेत प्रतियोगिता कोशेढुंगा बनेको छ ।’

सन्दिप वने सवैभन्दा सफल बलर

एजेन्सी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीबाट खेलिरहेका सन्दीप लामिछाने सोमवारको खेलमा सबैभन्दा सफल बलर बनेका छन् । 
लामिछानेले ४० रन खर्चेर ३ विकेट लिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए । फर्ममा रहेका सलामी ब्याट्सम्यान लोकेश राहुललाई केबल १२ रनमा आउट गरेर सन्दीपले पन्जाबलाई पहिलो झट्का दिएका थिए । त्यतिबेला पन्जाबको स्कोर १३ रन थियो । त्यसपछि सन्दीपले गेल र सेम कुरेनलाई पनि आउट गरे । 
सोमवार क्रिस दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल ग¥यो ।
यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।
दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए । आईपीएलमा उनले १२ अर्धशतक बनाएका छन् ।

“हृदय भरी” मा पलको भिन्न लुक्स

फिल्मी खवर

म्यूजिक भिडियो हुँदै नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाइसकेका अभिनेता पल शाह प्रायः दैनिक रुपमा टिभी वा युट्युबमा नयाँ–नयाँ गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा वा नयाँ मोडलसँग रोमान्स गर्दै देखिरहेका हुन्छन् । तर, उनी सिल्भर स्क्रिनमा नदेखिएको भने करीब एक वर्षभन्दा बढी भइसकेको छ । उनी अभिनीत फिल्म ’शत्रु गते’ एक वर्ष अगाडि हलमा लागेको थियो ।  
चकलेटी ब्वाई एक वर्षपछि फिल्म ‘वीरविक्रम २’ मार्फत् दर्शक भेट्दैछन् । यो फिल्म आउँदो जेठ ३ मा रिलिज   हुँदैछ । ’पिरतीको मिठो तिर्सना’ र ‘वाचा’ बोलको गीतका कारण चर्चामा रहेको यो फिल्ममाथि पलको निकै ठूलो आशा र अपेक्षा छ । यो फिल्म रिलिजको तीन महिनापछि उनको नयाँ फिल्म प्रदर्शनमा आउँदैछ ‘हृदय भरी’ । भदौ २७ मा यो फिल्म आउने तय भइसकेको छ । 
लभस्टोरी फिल्ममा निकै रुचाइएका उनी आफ्नो दोस्रो फिल्म ‘म यस्तो गीत गाउँछु’ र तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ मा एउटै लुक्समा प्रस्तुत भएका थिए । अर्थात् आफ्नो लामो कपाल छोट्याएका थिएनन् । यद्यपि, ‘शत्रु गते’ मा उनको लुक्स केही भिन्न थियो । तर, ‘वीरविक्रम २’ मा उनी आफ्नो पुरानो फेभरेट हेयर स्टाइलमै देखिँदैछन् । यसमा उनले ‘म यस्तो गीत गाउँछु’ कै हेयर स्टाइल दोहो¥याएका छन् । 
अहिलेसम्म अभिनयमा भर्सटालिटी देखाउन नसकेका पल लुक्स परिवर्तनमा पनि खासै गम्भीर देखिने नगरेको कतिपयको टिप्पणी छ । निर्देशक सुरज सुब्बा (नाल्बो) को फिल्म ‘हृदय भरी’ को घोषणा सभामा उनलाई पत्रकारले सोधेका पनि थिए ‘सधैं एउटै लुक्समा रमाउने   हो ?’ उनले रुखो जवाफ फर्काउँदै भनेका थिए, ‘तपाईंहरु नै जान्ने हुनुहुन्छ कस्तो लुक्स बनाउँदा राम्रो हुन्छ सल्लाह   दिनुहोला ।’
 पत्रकारको प्रश्नको कारणले हो वा चरित्रमा डुब्नका लागि हो, उनले ‘हृदय भरी’ मा लुक्स परिवर्तन गरेका छन् । केही दिन अगाडि फिल्म ‘वीरविक्रम २’ को ‘वाचा’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनी परिवर्तित लुक्समा देखिएका थिए । उनले आफ्नो लामो कपाल पूरै छोट्याएका छन् । उनलाई नयाँ लुक्स निकै जचेको देखिन्थ्यो । ‘हृदय भरी मा उनी एक पोल्ट्रिफार्म सञ्चालकको भूमिकामा देखिँदैछन् । 
उनको नयाँ लुक्सले पनि केही हदसम्म यस फिल्मप्रति दर्शकमा चासो बढ्ने देखिएको छ । यसमा उनको श्रद्धा क्षेत्रीसँग जोडी बाँधिएको छ । हाल यस फिल्मकोृ छायांकन धमाधम चलिरहेको   छ । फिल्ममा पल र श्रद्धासँगै नीर शाह, सुनिल थापा, अनुराग कुवँर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसीलगायतका कलाकारहरुकोे अभिनय रहनेछ । मानकृष्ण महर्जनले फिल्म  खिचिरहेका छन् ।

लेख 

कम्युनिष्ट पार्टीका ७० बर्ष ः हिङ बानेको टालो कति बाँकी रह्यो ?

रामहरी ओझा 
“नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ।”
२२ अप्रिल, सन् १९४९ मा भारतको कलकत्ता  (कोलकता) स्थित श्याम बजारमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले जारी गरेको पहिलो पर्चामा भनिएको हरफ हो यो । यो हरफले नेपालको कम्युनिष्ट पार्टी वर्गीय मुक्तीकै लागि स्थापना भएको हो भन्ने कुरा झल्काउँछ । स्वतन्त्रता “हुने खाने” वर्गका लागि मात्रै होईन, “हुँदा खाने” वर्गका लागि पनि आवश्यक हो भन्ने सन्देश दिएको यो नारा ७० बर्षपछि अहिलेको सत्तासीन नेपाली कम्युनिष्ट पार्टीका लागि कति सान्दर्भिक छ भन्ने बिषय अलि जटिल छ । 
पुष्पलाल श्रेष्ठ महासचिव रहने गरी नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी श्रेष्ठ संस्थापक भएर ७० बर्ष पहिले गठन भएको पार्टी आज सत्तामा, प्रतिपक्षमा, सडकमा र सशस्त्र बिद्रोहमा छ । अर्थात् चारैतिर कम्युनिष्ट मात्रै छ, गैर कम्युनिष्टहरुले न त प्रतिपक्षको भूमिका खेल्नु परेको छ, न सडकमा टायर बालिदिनु परेको छ, न वन्दुक उठाउनु परेको छ, न सत्ता चलाउनु परेको छ, सवै काम कम्युनिष्टहरु आफै गर्दैछन् । “पहाड, पर्वत, खोलानाला जग्गा जमिन सबको, मालिक हामी दास बनौं किन ? हिस्सा सबमा सबको” भन्ने उद्घोषका साथ मजदुर, किसान र श्रमजीवी जनताको राज्य व्यवस्था स्थापना गर्ने, राणासँग सम्झौता होइन क्रान्ति गर्ने, सामन्ती शासन व्यवस्था उन्मूलन गर्दै अंग्रेज, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकारवादी पुँजीवादको शोषण उत्पीडनबाट देशलाई मुक्त गर्दै नेपालमा नयाँ जनवाद स्थापना गर्ने उद्देश्यले स्थापना भएको कम्युनिष्ट पार्टी यो सात दशकमा कति पटक, कति चिरामा चोईटियो र कति पटक कति गुटहरुको मिलन भयो भन्ने कुराको हिसाव “बाम बिश्लेषक” हरुले गरुन् । तर  सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गरेको कम्युनिष्ट अभियान अहिले कुन बिन्दुमा पुग्यो भन्ने कुराको समिक्षा हुनु जरुरी छ ।
गाउँतिर एक उखान छ “हिङ नभएपनि हिङ बानेको टालो त हो नि !” यो उखान खासगरी उहिलेका साहुँकार, हजरी, लख्पतिहरुले धाक लाउन प्रयोग गर्ने गरेको पाईन्छ । बिस्तारै यसलाई अरुले पनि ठट्टाको रुपमा प्रयोग गरेको पाईन्छ । 
यो ७० बर्षीय यात्राका क्रममा नेपाली कम्युनिष्ट आन्दोलन हिङ नरहेको कुरामा कसैको बिमति छैन । राजा महेन्द्रको २०१७ सालको कदमको बिषयमा बिवाद र फुट सुरु भएको कम्युनिष्ट पार्टी चीनलाई मान्ने कि रूसलाई मान्ने, नीति प्रधान मान्ने कि नेतृत्व प्रधान मान्ने, सशस्त्र बिद्रोह गर्ने कि शान्तिपूर्ण संघर्ष गर्ने, एक पदीय हुने कि बहुपदीय हुने जस्ता बिषयमा पटक पटक बिभाजन भयो । हुँदाहुँदा पार्टीभित्रको अनुशासनहिनता समेत पार्टी  फुटको कारण बन्यो । नेपाली कम्युनिष्टहरूले साम्यवादमा विश्वास गर्ने भने पनि त्यसैमा शंका उठ्ने गरी पार्टी फुटाउँदै गए । कहिले आफ्नै नेतामा विश्वास गरेनन्, कहिले पार्टीको सिद्धान्तमै शंका गरे ।
२०१० मा भएको पार्टीको पहिलो महाधिवेशन मनमोहन अधिकारीलाई पार्टीको महासचिवमा निर्वाचित ग¥यो । २०१४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । कमरेड रायमाझी सुरूदेखि नै राजालाई मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए । २०१७ साल पुष १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपि कोइरालालाई जेल हालेपछि रायमाझीले त्यसको स्वागत गरे । पुष्पलाल, मोहनविक्रम सिंह र तुलसीलाल अमात्य र मनमोहन अधिकारी रायमाझीको विपक्षमा उभिए । रायमाझी कालान्तरमा  राजदरबार पसे । उनलाई कम्युनिष्टहरुले “राजाको कम्युनिष्ट” भन्ने आरोप पनि लाए । पुष्पलाल तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरु पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने बिषयमा विभाजित हुँदै गए । 
टुट–फुट, गुट–उपगुट र आरोप–प्रत्यारोपले २०२३ सालसम्म कम्युनिष्ट पार्टी लगभग अवसानको अवस्थामा आईसकेको थियो अर्थात् टालोमा बाँधेको हिङ बिस्तारै सकिने अवस्थामा पुग्यो । २०२८ सालको झापा बिद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनमा एक प्रकारको तरङ्ग सिर्जना ग¥यो । भलै त्यतिवेलाका योद्धाहरुले त्यो बिद्रोह गलत भएको महसुस गरेका छन् तर, त्यो बिद्रोहले फुटेको कम्युनिष्ट पार्टीलाई एक वनाउन नसकेपनि कम्युनिष्ट आन्दोलनलाई एक तहको उचाईमा पु¥यायो । 
सिपी मैनालीले पञ्चायत फाल्न झापा विद्रोह  चलाए । उता मोहनविक्रम सिंहले पञ्चायतका साथसाथै भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने भन्दै आफ्नो गुट वनाई रहे । यी दुई समूहबीचको गहिरो धु्रवीकरण करीव करीव पाँच दशकसम्म रह्यो । २८ सालदेखि आजसम्म यी दुई समूह आन्तरिक रूपमा दर्जनौँ पटक फुटे दुईचार पटक जुटे पनि ।
नेपाली कम्युनिष्ट आन्दोलनको यो ७० बर्षे अवधी हेर्दा अव आन्दोलनमा नयाँ प्रयोग गर्नु पर्ने केही पनि बाँकी छैन । दुई दुई पटक सशस्त्र बिद्रोह भएको छ । पटक पटकका शान्तिपूर्ण आन्दोलनहरुमा आफुलाई कम्युनिष्ट भन्ने समूहहरु अग्र स्थानमा रहेका छन् । सडक आन्दोलनमा कम्युनिष्टहरु अव्वल भए । संसदीय निर्वाचनमा अल्पमतको सरकार चलाउने, सत्ताका लागि मण्डले, प्रतिगामी, भ्रष्ट सवैसंग मिल्ने देखि दुई तिहाई बहुमतको सरकार चलाउने सम्मका सवै अभ्यास भईसकेका छन् । “सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ” भन्ने जडसुत्रबादी वामपन्थी मान्यता दुई दुई पटक असफल भईसकेपछि फेरी बन्दुककै नाल प्रयोग गर्ने जमर्को हुँदैछ । हुन त राजनीतिको ‘वार्गेनिङ्ग प्वाईण्ट’ को रुपमा पनि बन्दुकलाई लिन सकिएला तर पनि अव वन्दुकको नालबाट सत्ता प्राप्त गर्ने कुरा न्यून सम्भावनाको बिषय हो ।  
सत्ता प्राप्तीका लागि राजनीतिमा हुने सवै हत्कण्डाहरु नेपाली कम्युनिष्ट आन्दोलनले प्रयोग गरिसकेको छ । अव नयाँ प्रयोग गर्नु पर्ने केही बाँकी छैन । यो प्रयोगको दौरानमा कम्युनिष्टहरुमा ‘कम्युनिष्टपन’ कति रह्यो ? भन्ने कुराको हिसाव किताव हुनु जरुरी छ । “हिङ” त नेपालका कुनै पनि कम्युनिष्टहरु रहेन नै तर, हिङ बानेको टालो कति रह्यो भन्ने कुरा हो । जसरी हिङको आफ्नो गुण हुन्छ, आफ्नो बिशेषता हुन्छ, गन्ध हुन्छ, त्यो हिङ बानेको टालोमा हुँदैन । तर पनि हिङ बानेको टालोमा केही समयसम्म हिङको गन्ध रहन्छ । त्यसैगरी बिश्व कम्युनिष्ट आन्दोलनको आफ्नो लक्ष छ, बिशेषता छ, चरित्र छ, गुण छ । नेपालको कम्युनिष्ट पार्टीमा पनि स्थापनाकालमा त्यो थियो । त्यो गुण, चरित्र, लक्ष, बिशेषता त अव रहेन नै तर, त्यसको असर अहिलेको कम्युनिष्ट पार्टीमा केही छ कि पुरै सकियो भन्ने कुरा हो । जसरी हिङ बानेको टालो धोईदिँदा हिङको गन्ध हराएर जान्छ, त्यसरीने सरकारमा जाँदा कम्युनिष्ट पार्टी धोईयो, अर्थात् कम्युनिष्ट पार्टीभित्रको कम्युनिष्टपन हराउँदै गयो । 
सत्ताका नेतृत्वकर्ता कमरेडहरुले ००६ सालको पार्टीको उद्घोष र अहिलेका गतिबिधिहरुलाई एक पटक तुलना गर्ने पो हो कि ! पार्टीभित्र अनुशासनहिनता कायम गरेर, पुराना र ईमानदार कार्यकर्ताहरुलाई या त पार्टी छोड्न या फेरी निश्क्रिय बस्न बाध्य वनाएर, पदमा पुगेका नेता कार्यकर्ताहरुले भ्रष्टाचार गरेर, गुटयुक्त र संगठनबिहिन पार्टी चलाउने चेष्टा गरेर स्थापना कालमा भनिए जस्तो मजदुर, किसान र श्रमजीवी जनताको राज्य व्यवस्था स्थापना गर्न सकिन्छ ? वर्गीय मुक्ती सहितको समाजबाद स्थापना हुन सक्छ ? अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकारवादी पुँजीवादको शोषण उत्पीडनबाट देशलाई मुक्त वनाउन सकन्छ ?  कदापी सकिँदैन । भाषण गर्नु, आश्वासन दिनु, जनतामा उत्साह जगाउनु, सपना देखाउनु राम्रो कुरा हो । यो अन्यथा हुँदै होईन तर, ति आश्वासन, त्यो उत्साह, त्यो सपना पुरा गर्नेतर्फ शुन्य गतिबिधिले कसरी काम हुन सक्छ ? 
संघीय सरकार दुई तिहाई बहुमतको, सात प्रदेशमध्ये ६ प्रदेशमा आफ्नै सरकार, दुई तिहाई भन्दा बढी स्थानीय तहमा आफ्नै सरकार । यतिबेला पनि आफ्नो बिचार, आफ्नो भावना र आफ्नो सिद्धान्तउन्मुख क्रियाकलापहरु हुँदैनन् भने अनि कसरी कम्युनिष्ट पार्टी हो भनेर बिश्वास गर्नु ? जता हे¥यो उतै भ्रष्टाचार देखिन्छ । जता सुन्यो उतै अनियमितता छ । हिङ बानेको टालो सवै धोईएर पो यस्तो अवस्था आएको हो कि !
हुन त सत्ताको नेतृत्व गर्न पाएपछि सवैको हालत त्यसै हुने रहेछ । २०४६ को राजनीतिक परिवर्तनपछि सत्तामा आएको नेपाली कांग्रेसलाई मण्डलेकरण हुन धेरै समय लागेन । २०५१ मा पहिलो पटक सत्ता चलाउदा आफुलाई वचाएर राखेको एमालेलाई २०५४ सालतिर कांग्रेसीकरण हुँदै मण्डलेकरणमा पुग्न पनि कुनै समस्या भएन । १० बर्षे सशस्त्र बिद्रोहबाट आएको माओवादी २०६५ मा सत्तामा पुग्दा एमालेकरण, कांग्रेसकरण हुँदै मण्डलेक– रण हुनमा नौ महिना पनि लागेन । यो सत्ता भन्ने चिज नै यस्तै रहेछ । 
यद्यपी कम्युनिष्ट आन्दोलनले यो ७० बर्षे अवधीमा कुनै उपलव्धी गरेन भन्ने कुरा गलत हुन्छ । १०४ बर्षे जहाँनिया राणाशासनको अन्त्य, जनमत संग्रह, २०४६ सालको आन्दोलन, २०६२÷०६३ को जनक्रान्ति, संबिधानसभा मार्फत नयाँ संबिधान निर्माण, गणतन्त्रको स्थापना कम्युनिस्टहरूले सञ्चालन गरेको सामन्तवाद विरोधी राजनीतिक आन्दोलनकोे सफलता हो । पाँच जनाले सुरु गरेको कम्युनिस्ट आन्दोलनमा आज झण्डै ७० प्रतिशत मतदाताको संलग्नता रहेको छ । कम्युनिस्ट आन्दोलनको विकासका क्रममा नेपाली मौलिकतामा आधारित नेपाली क्रान्तिको जनवादले शान्तिपूर्ण जनआन्दोलनलाई दिशाबोध गरेको छ । जनताको बहुदलीय जनवाद  (जबज) को प्रयोगबाट नै नेपालमा शान्तिपूर्ण तवरले युगान्तकारी परिवर्तन भएको यस सन्दर्भमा जनताको बहुदलीय जनवादको सिद्धान्त नेपाली क्रान्ति सम्पन्न गर्ने मौलिक सिद्धान्तको रूपमा विकास भएको छ । कम्युनिस्ट आन्दोलनको यस अवधिमा प्राप्त उल्लेखित उपलब्धिले पार्टी स्थापनाका क्रममा राखिएका राजनीतिक उद्देश्य हासिल गर्न एकहदसम्म सफलता प्राप्त भएको छ । 
तर, आफु सत्तामा भएका बेला, आफुले देशको र जनताको नेतृत्व गरेका बेला जनताले महसुस गर्ने गरी, जनताका आधारभूत आवश्यकताहरु पुरा हुने गरी काम हुनु जरुरी छ । नाम “कम्युनिष्ट” काम अपराधिक भयो भने यसले कुनै अर्थ राख्दैन । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

खरिदारका लागी उपयोगी 

१. नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योग्दान कति छ ? —४.३५%
२. विश्वको पहिलो मानवीय शिखर सम्मेलन–२०१६ कुन देशमा आयोजना भयो ?  — टर्की 
३. संसारका बढी प्रतिव्यक्ति आय भएको मुलुक कुन हो ?   — कतार
४. आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरुमध्ये एशियाबाट कति वटा सदस्यहरु रहन्छन् ?
— ११
५. नेपालकै अग्लो झोलुङ्गे पुल पर्वतको कुन खोलामा रहेको छ ?     — मोदी खोला
६. सूर्यको तेजदेखि लाग्ने डरलाई के भनिन्छ ?     — हेलियोफोविया
७. जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?   — रियो सम्मेलन 
८. अभिनयको उत्पत्ति कुन वेदबाट भएको हो ?   — यजुर्वेद
९. मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार कहिले प्रदान गरिन्छ ?   — घटस्थापनामा
१० “उराउ’ . किसान भए “अहिर’ . ? — यादव
११. वि.सं. २०७२ को भूकम्पपछि पुनः निर्माणको लागि अनुदान सम्झौता भएको पहिलो जिल्ला कुन  हो ?  — दोलखा
१२. सारनाथ वन विकास परियोजना कुन जिल्लामा पर्छ ?   — सर्लाही 
१३. अन्तराष्ट्रिय विधुवा दिवस कहिले पर्छ ?   — जुन २३
१४. महादेव पार्वती गुफा . मोरङ भए शिवजी गुफा . ?   — दाङ
१५. अन्नको आयतन कुन इकाईमा नापिन्छ ?    — बुसेल
१६. बरुण ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?   — १६४ वर्ष 
१७. क्रनोमिटरले कहाँको समय देखाउँछ ?   — ग्रिनबीचको
१८. सर्वप्रथम कपडा उत्पादन केन्द्र कहाँ बन्यो ?    — लङकासायर,बेलायत 
१९.“एउटा जार, एउटा चर्च र एउटा रुस” भन्ने नाराको कुन जातिले विरोध गरे ?   — श्रपोल
२०. लिच्छविकालमा मन्दिरमा पूजा गर्ने नारीलाई के भनिन्थ्यो ?    — देवदासी
२१. खस भन्नु भन्दा पहिला उनीहरुलाई के भनिन्थ्यो ?   — शक
२२. नेपाल र चीनबीच शान्ति मैत्री सम्झौतामा कहिले हस्ताक्षर भयो ? — वि.सं. २०१३ असोज ५
२३. एउटै काठबाट बनेको सुन्दर पुरानो मूर्ति कुन हो ?    — नृत्यदेवी
२४. नेपाल भाषाका पहिला कवि कसलाई मानिन्छ ?  — महेन्द्र मल्ल 
२५. मेसिन रिडियवल पासपोर्ट अन्तराष्ट्रिय प्रयोग कहिलेदेखि भएको हो ?   — सन १९८१
२६. २०६८ को जनगणना अनुसार लैंगिक अनुपात कति छ ?     — ९४.१६
२७. कुन मुलुक दोस्रो विश्वयुद्धको अन्तसँगैे विभाजन भयो र शीत युद्धको अन्त्यसँगै पुनः एकीकरण  भयो ? — जर्मनी 
२८. अल्वर्ट ताल कहाँ पर्छ ?   —अफ्रिका 
२९. मलाया भन्नाले कुन देशलाई चिनिन्छ ?   — मलेसिया 
३०. विमेस्टेकमा नेपालले औपचारिक रुपमा प्रवेश पायो ?   —फेब्रअरी, २००४
३१.विष्णुपादी भन्नाले कुन दक्षिण एशियाली नदीलाई चिनिन्छ ?   — गंगा 
३२. केटाकेटीको मन मिले विवाह नै नगरी सँगै बस्न मान्यता दिने जाति कुन हो ? — दरै
३३. दनुवारी भाषासँग मेल खाने भाषा कुन हो ?   — माझी 
३५. अन्तराष्ट्रिय स्माइल टर्न हिरो अवार्ड पाउने चिकित्सक को हुन ?  — डा.शंकरमान राई
३६. प्ष्मलभथक या तजभ धयचमि भन्नाले कुन क्षेत्रलाई बुझिन्छ ?  — सिमसार क्षेत्र 
३७. मरणोपरान्त ग्रामी अवार्डबाट सम्मानित विश्व विख्यात कलाकार को हुन ?  — माइकल ज्याक्सन
३८. श्रीमतीको माध्यमबाट राजा हुने व्यक्ति को हुन ?   — जयस्थित मल्ल 
३९. केराका लागि प्रसिद्ध जिल्ला कुन हो ?    — कञ्चनपुर 
४०. पर्यटकीय स्थल न्चभभल ख्बििभथ कुन जिल्लामा पर्छ ?  — सोलुखुम्बु
४१. सन १९९१ मा भएको खाडी युद्ध कति दिन चलेको थियो ?  — ४३ दिन
४२. नेपालबाट क्ब्एत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?     — महेश आचार्य
४३. नेपालबाट क्ब्ँत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?  — डा.भेषबहादुर थापा 
४४. नेपाल र भारत बिच मैत्री सन्धि कहिले भएको थियो ?   — १९५० जुलाई ३१
४५.नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो ?   — १९६० अप्रिल २८
४६. उत्तरमा हिमालय देखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?  — धादिङ 
४७. उत्तरमा हिमालय देखि दक्षिणीमा चुरे क्षेत्रसम्म फैलिएको जिल्ला कुन हो ?   — सिन्धुपाल्चोक
४८. महाकाली सन्धि पारित कहिले भएको थियो ?     — २०५३ असोज ४
४९. ऋयतयउबहष् केसँग सम्बन्धित छ ?    — ज्वालामुखी
५०. राइटर बा भनेर कसलाई चिनिन्छ ?   — बलबहादुर कार्की 
५१. जलवायु परिवर्तन सम्बन्धि ग्रेजुएट सम्मेलन कहिले भएको थियो ?  
— २०६७ कार्तिक २९–मंसिर ३
२. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ?   — यूनिस्को
३. नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धि २० वर्षे महत्वकांक्षी योजना कहिले ल्याएको थियो ?
— २०६७ असार ३०

साहित्य/सिर्जना 

मेरो जिन्दगी

खहरे खोलाजस्तो, बग्दैसुक्दै 
गर्दैछ किन आज मेरो जिन्दगी
एकातर्फ टालो राख्दा, अर्को तर्फ 
फाटी सक्ने झोला जस्तो भयो जिन्दगी
भरिएको भानमा खोज्यो मख्ख पर्न
फर्कि हेर्दा सधै खाली भेट्छु जिन्दगी
मित्रतामा बिश्वास जति गरेपनि 
ऊपहार बैरभावको मिल्छ जिन्दगी
ब्यवस्थित गर्न लागि पर्छु मेहनतले
अस्त ब्यस्त मेरो किन हुन्छ जिन्दगी
मागि खाने मगन्ते जस्तो, जताततै 
सधै रित्तो कमन्डलु डुल्दै जिन्दगी
रस खोज्न क्षितिज पारी सधै घुम्छु
रित्तो घारमा मौरी जस्तो रूदै जिन्दगी
आफन्त को मायाले सधै, मुटु दुखाई 
बिछोड कै बेदनामा बित्यो जिन्दगी
बिछोडमै आँसु पुछ्दै बित्यो जिन्दगी
सुर्य बस्याल 
हाल सहारनपुर, उत्तर प्रदेश भारत

सिंदूर

एक चिम्टि सिन्दूरभित्र 
उ यसरी हराउछे
मानौं,
त्यो सिंदूर नामको चक्रव्यूहको 
भेद खोल्ने उस्मा सामथ्र्य नै छैन
उस्को स्वतन्त्रतालाई पनि 
त्यही चक्रव्युहले आफुभित्र कैद गरेको छ
जहाबाट निस्कने कुनै बाटो नै छैन
या भनौं 
चाहेर पनि उम्कन पाउदिन
अझ भनौं त्यो चक्रव्युह तोडेपछि 
सजाय भोग्नुपर्छ
आफ्नो अस्तित्व नै भुलेर
सिंदूरको दुनियाँभित्र बिना अपराध 
एउटा कैदी भएर बाँच्न तयार भैदिन्छे
सिंदूर माथी भने कुनै आँच आउन दिन्ने
किन कि उस्लाइ होस आउनेबित्तिकै यहि सिकाइन्छ 
बरु स्वास लिन छोड्नु 
तर,
भुलवस पनि सिंदूरको अपमान कहिल्यै नगर्नु
सिंदूरको अपमान गर्नु भनेको 
भगवानको अपमान गर्नु सरह हो
भलै सिंदूरले उस्लाई लातै किन नमारोस,
सिंदूर पाउनु भनेको सौभाग्य नै हो
सौभाग्य, सौभाग्य कम 
दुर्भाग्य बढी भएपनि
हो त आखिर सिंदूर 
नामै काफी 
निकै शक्तिशाली, निकै बलशाली,
क्षणभरमै पहिचान बदलिदिन्छ
कुमारित्व भङ्ग गरिदिन्छ
इच्छा ,आकाङ्क्षा जे जस्ता पो हुन
बच्चै देखि सिंदुर नामक पाठशालामा भर्ना हुन्छे
रिटायर पनि तेहि पाठशाला बाटै हुन्छे
पुष्पा जोशी “काली”
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

आदर्श गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

मौवा नगरदह, डोटी 
सुदूरपश्चिम प्रदेश, नेपाल 
दोश्रो पटक प्रकाशित मिति ः २०७६/०१/०९ गते 

सूचना !      सूचना !!     सूचना !!! 

उपरोक्त बिषय सम्वन्धमा यस आदर्श गाउँपालिका अन्तरगत गाउँ कार्यपालिकाको कार्यालयको लागि ट्याक्टर चालक १ (एक) जना तथा व्याकुलोडर अपे्रटर १ (एक) जना आवश्यकता रहेको भनी मिति २०७५ साल चैत्र १९ गते बिज्ञापन गरिएकोमा तोकिएको समयमा कुनै दरखास्त नपरेकोले पुनः बिज्ञापन गरिएको छ । यो सूचना प्रकाशित गरिएको मितिले ७ दिनभित्र तपशिल बमोजिमका कागजपत्र सहित आवश्यक निम्न योग्यता पुगेका व्यक्तिहरुले गाउँ कार्यपालिकाको कार्यालयमा दरखास्त दिन हुन यो सूचना गरिएको छ । 
तपसिल 
१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
२. मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा ८ उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपी । 
३. ट्याक्टर सवारी चालक प्रमाण पत्रको प्रतिलिपी । 
४. व्याकुलोडर अप्रेटर चालकको प्रमाण पत्र ।
५. दुई प्रति पासपोर्ट साईजको फोटो सहित दरखास्त फाराम ।
६. राजश्व रु. ५०००/ (पाँच सय) तिरेको रसिद 
७. पारिश्रमिक गाउँ कार्यपालिकाको निर्णय अनुसार उपलव्ध गराईनेछ । 
८. परीक्षाको किसिम ः नियमानुसार 
नोट ः स्थानीय, दलित, पिछडिएको जाती तथा समुदाय र एस.एस.सी. एवं एस.ई.ई उत्तीर्ण गरेको उम्मेदवारलाई पा्राथमिकता दिईनेछ । 

No comments:

Post a Comment