Monday, September 25, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल असाेज १० गते

बिजया दशमी २०७४ को मंगलमय शुभकामना 

हामी नेपालीहरुमा जुनसुकै क्षेत्रमा पनि काम गरेर देखाउन सक्ने अवस्था छ र सफल पनि हुन सकिन्छ । नयाँ प्रविधि र नयाँ क्षेत्रहरुमा हामी जानैपर्छ । मुख्यतः हामीमा प्रतिबद्धता, लगनशीलता, आँट र साहस चाहिन्छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

राजधानीका लागि दवाव दिन समिति गठन 


७ नं. प्रदेशको प्रादेशिक राजधानी दिपायलमा हुनु पर्ने भन्दै डोटीमा बिभिन्न दवावमुलक कार्यक्रमहरु सुरु भएका छन । 
डोटी उद्योग बाणिज्य संघको अगुवाईमा बिभिन्न क्षेत्रबाट प्रादेशिक राजधानी दिपायल हुनु पर्ने भन्दै दवाव दिन थालिएको हो । सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्न लागेको चर्चा चलेपछि ऐतिहासिक रुपमा, भौतिक रुपमा र भौगोलिक रुपमा दिपायलनै उपयुक्त हुने भन्दै राजधानीका लागि आवाज उठाउन थालिएको हो । 
दवावमुलक अभियान सञ्चालनका लागि डोटी उद्योग बाणिज्य संघ अध्यक्ष नरेन्द्र खड्काको नेतृत्वमा समन्वय समिति समेत गठन गरिएको छ । समितिमा डोटीमा क्रियासिल राजनीतिक दलहरु, गैसस महासंघ, प्राध्यापक संघ, होटेल व्यवसायीसंग लगायत बिभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको अध्यक्ष खड्काले जानकारी दिए । 
‘हामीले दवावमुलक कार्यक्रमहरु सुरु गरेका छौं’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै खड्काले भने ‘हामीले सञ्चालन गरेको अभियानमा अन्य पहाडी जिल्लाहरुको पनि समर्थन रहेको छ ।’ खड्काले सरकारले तोक्न लागेको प्रदेशको अस्थायी केन्द्र दिपायलमै हुनु पर्ने बताए । उनले भने ‘हामी आज (मंगलबार) प्रदेश राजधानी दिपायल हुनु पर्ने माग सहित क्षेत्रीय प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछौं ।’ दवावका अन्य कार्यक्रमहरु दशैं लगत्तै देखि सुरु हुने खड्काको भनाई छ । 
राणा शासनका बेला देशमा प्रमुख चार गौंणामध्ये डोटी गौंणाको सदरमुकाम डोटीमै रहेको थियो भने सुदूर–पश्चिमका पाँच विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि दिपायलमै रहेको थियो । प्रदेश नं. ७ मा हाल कायम रहेका नौ जिल्लाहरुको मध्य भाग पनि डोटीनै पर्ने भएका कारण स्थानीयहरु दिपायल राजधानी हुनु पर्ने माग गर्दै आएका छन । 
संबिधानको धारा २८८ को उपधारा २ अनुसार प्रदेश राजधानी सम्वन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गरे अनुसार हुने कुरा उल्लेख गरिएको छ । यस्तै सोही धाराको उपधारा ३ मा प्रदेश सभाबाट निर्णय नभएसम्मका लागि सरकारले तोके बमोजिमको स्थानबाट प्रदेश कार्य सञ्चालन हुने व्यवस्था गरिएको छ । 
पहिलो संबिधानसभाको समयमा गठित राज्य पुनर्संरचना आयोगले साविकको सुदूरपश्चिम टुक्राउने गरि प्रदेशको खाका पेश गरेपछि अखण्ड सुदूरपश्चिमको माग २०६९ साल बैशाखमा डोटीबाट आन्दोलनको सुरुवात भएको थियो । उक्त आन्दोलन सुदूरपश्चिमभरी फैलिएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोईराला, एमाले तत्कालीन अध्यक्ष झलनाथ खनाल र तत्कालीन एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अखण्ड सुदूरपश्चिम रहने प्रतिवद्धता जनाएका थिए । 
अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा डोटीबासीहरुले दिपायल राजधानी सहितको अखण्ड सुदूरपश्चिमको माग गरेका थिए । उक्त मागलाई हाल व्यवस्थापिका संसदमा डोटीबाट प्रतिनिधित्व गर्ने सवै सांसदहरुले समर्थन गरेका थिए । ति सांसदहरुममध्ये एक जना बर्तमान सरकारमा मन्त्री पनि  रहेका छन । सरकारलेनै प्रदेशको अस्थायी केन्द्र तोक्ने तयारी गरिरहेको छ । थप दुई जना आफु संलग्न दलको केन्द्रमा प्रत्येक्ष पहुँच राख्दछन । तर पनि सरकारले ७ नं. प्रदेशको राजधानी धनगढी तोक्ने गरि गृहकार्य गरिरहेको खवर बाहिर आउनु नेताहरुको भनाई र गराईमा अन्तर देखिन्छ ।  

सम्पादकीय 

बिजया दशमीको शुभकामना 

प्रत्येक नेपालीहरुका घर आँगनमा आउदै गरेको हिन्दुहरुको महान चाँड बिजया दशमी २०७४ सालको पुनित अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 
देश नयाँ संबिधान अनुसारको संरचना पाउने क्रममा छ । दशैकै संघारमा दुई बर्ष अघि नयाँ संबिधान जारी भएको थियो । नयाँ संबिधान अनुसारका नयाँ संरचनाका स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । जनताले २० बर्षपछि आफ्नो नजिकका जनप्रतिनिधिहरु चुन्ने अवसर पाएका छन । यस दशैंले ति जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर काम गर्ने प्रेरणा देवस । 
नयाँ संबिधान अनुसारको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्नका लागि मिति तय भईसकेको छ । एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थाको पहिलो अभ्यास गर्ने क्रममा प्रदेश सभाका लागि पहिलो निर्वाचन हुँदैछ । यस निर्वाचनमा मेरो वा उसको नभनी सक्षम, योग्य, सवल र सक्रिय व्यक्ति चयन गर्ने प्रेरणा मिलोस ।
दशैं सवै नेपालीहरुको चाँड हो, त्यसैले सवैले यस चाँडलाई आफ्नो पर्वको रुपमा मनाउने वातावरण होस, कसैका लागि दशैं हुने कसैका लागि दशाँ हुने नहोस भन्ने अनुरोध छ । चाँड मनाउने नाममा हुने खानेहरुले अनावश्यक खर्च गरेर हुँदा खानेहरुका लागि दशाँ नवनाईदिए कसैको घरमा रुवावासी हुने छैन । शान्ति           सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले समुदायमा आफ्नो उपस्थिति देखाई दिए र शान्ति सुरक्षा कायम गर्नका लागि समुदायले समेत प्रहरीलाई सहयोग गरिदिए कुनै अप्रिय घटना हुने थिएन । यसका लागि प्रहरी प्रशासनले आफ्नो जिम्मेवारी पुरा गर्नेछ भन्ने अपेक्षा छ । 
धार्मिक रुपमा दशैंको छुट्टै महत्व भएपनि सामाजिक रुपमा यसले आपसी सम्वन्ध कायम गर्न, वर्षौं देखिको बिछोडको एक आपसमा भेटघाट गर्ने, रमाईलो गर्ने मौका दिन्छ । त्यसकारण जुवातास र जाँडरक्सी जस्ता अनावश्यक कुराहरुमा समय र पैशा खेर नफालौं । आफु वसेको समाजमा दशैंलाई नमुनाका रुपमा बिकास गरौं भन्ने अनुरोध पनि बिम्ब साप्ताहिकको छ । 
बिम्ब साप्ताहिकका आदरणीय पाठकवर्ग, लेखक, रचनाकार, बिज्ञापनदाता, सहयोगी शुभचिन्तक लगायत आम नेपाली आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा बडा दशैं २०७४ ले दिन दुगुना रात चौगुना प्रगति हुने अवसर प्रदान गरोस भन्ने शुभकामना प्रकट गर्दछौं ।  

थप समाचार 

सवारीले पु¥याउनु पर्ने सवारी साधन 


रामहरी ओझा÷डोटी
असोज ९
सवारी साधन भन्ने बित्तिकै यात्रुहरुलाई ओसार पसार गर्ने साधन भनिन्छ तर डोटीका ग्रामीण क्षेत्रमा यसको परिभाषा फेरिएको छ । यात्राको करीव करीव आधा समय गाडी धकल्दैमा बिताउँछन यात्रुहरु । 
बुधबार देखि आएको अबिरल बर्षाका कारण डोटीका ग्रामिण क्षेत्रका कच्ची सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । बर्षातका कारण कच्ची सडकहरु ठाउँठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने भएको छ । ठाउँठाउँमा पहिरो गएका हिलाम्य सडकहरु दुर्घटना पर्खिरहेका भएपनि ति सडकहरुमा न यातायातका साधनहरु चल्न छोडेका छन न सडक मर्मततर्फ कुनै पक्षको ध्यान गएको छ । 
सडकको दुराबस्थाकै कारण गत २० गते राती डोटीको दिपायलबाट चवरा–चौताराका लागि हिडेको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु र ७ जना घाईते भए । बोगटान गाउँपालिका–६ गगुडा धारमा उक्त जीप सडकबाट करीव पाँच सय मिटर तल खसेको थियो । हिलाम्य सडक, रातीको बेला जीप चिप्लेर सडकबाट तल खस्दा नौ जनाको एक चिहान भएकोे   थियो ।   
जिल्लाका अन्य ग्रामिण सडकहरुको अवस्था हेर्दा यस्तै भयानक दुर्घटनाको पर्खाईमा रहेका देखिन्छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलबाट आदर्श गाउँपालिकाको मौवासम्मको सडकमा सवैभन्दा बढी सवारी चल्ने गर्छन् । उक्त सडकमा चल्ने वोलेरो जीपहरु आफै कम गुड्छन् भने यात्रुहरुले धक्का लगाएर बढी गुडाउनु पर्ने अवस्था छ । जम्मा २२ किलोमिटरको दुरीमा प्रति यात्रु पाँच सय रुपैयाँ भाडा लिने गरेका छन सवारी धनिहरुले । 
गाउँ गाउँमा सडकको पहुँच पु¥याउने होडबाजीका साथ निर्माण भएका सडकहरु न त प्राबिधिक रुपमा मापदण्ड पुरा गरेका छन न स्तरीय । तर पनि ग्रामीण तथा कृषि सडकका नामले सडक बिस्तार गर्ने काम रोकएको छैन । मापदण्ड पुरा गर्दै स्तरीय सडक निर्माण गर्नुको सट्टा गाउँमा बाटो पु¥याउने प्रतिस्पर्धा हुँदा  जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 
२०७१ साल यता डोटीका ग्रामिण कच्ची सडकमा भएका सवारी दुर्घटनाका क्रममा ५१ जनाले ज्यान गुमाईसकेका छन । २०७१ साल असोज २० गते बुडर–जोरायल सडक खण्डको कफलकट्टे भन्ने ठाउँमा ना ३ ख ५७०७ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा २९ जनाको एकै चिहान भएको थियो । कच्ची सडकमा भएको दुर्घटनामध्ये यो सवैभन्दा ठुलो दुर्घटना हो ।
नेपालीहरुको महान चाँड बिजया दशमीका लागि घर बाहिर रहेकाहरु आफ्नो गन्तव्यमा पुग्नका लागि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । बिशेषगरी भारतमा काम गरेर फर्केकाहरुले आउँदा सामान समेत ल्याउने भएका कारण भारी सहित पैदल हिड्न गा¥हो मानेपछि जोखिमपूर्ण भएपनि गाडीको खोजी गर्छन् । ‘सामान छ बोकेर जान सकिँदैन्’ डोटी आदर्श गाउँपालिका–४ का तुला बिष्ट भन्छन् ‘सामान बोक्ने मान्छे पनि पाउँदैन त्यसैले गाडीमै जानु पर्ने बाध्यता छ ।’ उनी भाडा निकै चर्को भएको गुनासो गर्छन् । 
बिष्टको जस्तै गुनासो छ डोटी बोगटान गाउँपालिका–१ का नरेश मगरको । उनी भन्छन् ‘कि त सडक काट्नै नहुने, काट्नेनै हो भने अलि स्तरीय बनाउनु पर्ने । यस्तो सडकमा यात्रा गर्नु आफ्नो बाध्यता भएको मगर बताउँछन । 
सडकको दुराबस्थाले आफुहरुले ज्यान जोखिममा राखेर हिड्नु परेको बताउँछन डोटी आदर्श गाउँपालिका–४ का करबिर बिष्ट । उनी भन्छन् ‘हिडेर जान पनि अल्छी लाग्छ, त्यसैले जसो जसो होला भनेर गाडीमै जान्छौं ।’ उनी गाडीमा बसेदेखि गन्तव्यमा नपुगेसम्म मुटु धुकधुक भईरहने गरेको बताउँछन । 
जनप्रतिनिधिहरु र सरकारी कर्मचा–रीहरु पनि यस्तै जोखिमपूर्ण कच्ची बाटोमा हिड्ने गरेको भएपनि सडक मर्मतमा उनीहरुको ध्यान नगएको बताउँछन डोटी सायल गाउँपालिका–५ का तेज डुम्रेल । उनी भन्छन् ‘आफै जोखिमपूर्ण यात्रा गरिरहेको पनि थाह छैन जनप्रतिनिधिहरुलाई । 
डोटीका ग्रामिण कच्ची सडकहरुमा दिपायल–मौवा–डौड, दिपायल–चवारा–चौतारा, सहजपुर–बिपीनगर बोगटान, बुडर–जोरायल, तल्कोट–धुर्कोट सडकहरुमा बढी यातायातका साधनहरु आउ जाउ गर्ने गर्दछन ।  

सर्पको डरले छाउ बार्न बाध्य


“छाउ (महिनाबारी) नबारेर के गर्नु  हजुर, थोरै पनि लसपस हुँदा ठुल्ठुला सर्प  देखिन्छन् । गोठमा, भित्र, बाटोमा जताततै सर्प भेटिन्छन । अनि सर्पको डरले पनि छाउ बार्नै पर्छ ।” 
सर्पका कारण पनि युगौं देखि कुसंस्कारका रुपमा रहेको छाउपडि प्रथा मान्नै पर्ने वाध्यता रहेको बताउँछन डोटी दिपायल सिलगढी नगरपालिका–७ पाकरीकी पुनी पार्की । उनी भन्छिन् ‘सर्प घरमा पसेपछि छोड्दैन, त्यसैले पनि हामीले छाउ बार्नु पर्ने वाध्यता छ । 
पुनीको जस्तै प्रतिक्रिया छ अन्य महिलाहरुको पनि । स्थानीय दिपा कोली भन्छिन् ‘छाउ नबार्ने हो भने हिड्ने बाटोमा पनि सर्प भेटिन्छन् ।’ बिगतको भन्दा अचेल केही सुधार भएको बताउँदै दिपा भन्छिन् ‘सरसफाई गर्ने, खानेकुराहरु खाने त गरेका छौं तर बस्न अहिले पनि गोठमै बस्नु पर्छ ।’ 
‘बाहिरतिर त अव हामी खासै बिभेद् गर्दैनौं’ स्थानीय लक्ष्मी बिष्ट भन्छिन् ‘महिनाबारी भएकी छोरीहरु बिद्यालय जान्छन्, हामीहरु पनि महिनाबारी भएका बेला समूहका बैठकमा जाने गरेका छौं तर सर्पकै डरका कारण घरभित्र भने प्रवेश गर्न सकेका छैनौं ।’ 
अहिले पनि खाना अलग्गै बसेर खानु पर्ने, गाईबस्तु छुनु नहुने र सार्वजनिक स्थानमा जान नहुने मान्यता रहेको स्थानीय राधा लुहार बताउँछिन । उनी भन्छिन् ‘देवी देवताहरु नजिक भएको घरमा त होइ–नहोई सर्प आउँछ अनि छाउ नमानी के  गर्नु ? 
स्थानीय मीना आउजी भने अलि पृथक कुरा राख्छिन् । उनी भन्छिन् ‘सर्प त सधैं आउँछ तर हाम्रो दिमागमा छाउ भएकै कारण सर्प आयो भन्ने लाग्छ ।’ उनले आफुभित्र रहेको डर हटाउन नसकेका कारण पनि यस्तो समस्या भएको बताईन । उनले भनिन् ‘म सधैं छाउ बार्छु तर मेरो घरमा अस्ती मात्रै सर्प आएको थियो ।’ 
छाउ नबारेर सर्प आउने भन्ने कुरा गलत भएको बताउँछिन महिला तथा बालबालिका कार्यालय डोटीका निमित्त प्रमुख सविना श्रेष्ठ । उनी भन्छिन् ‘सर्प महिनाबारी नबारेका कारण आउँदैन, घर वरिपरी फोहर भएका कारण आउँछ ।’ मेलापातलाई मात्रै महिलाहरुले काम मानेको तर घर वरिपरीको सरसफाईलाई काम नमानेकाले उनीहरुले घरको सरसफाई नगर्दा यस्तो समस्या आउने गरेको श्रेष्ठको भनाई छ । ‘महिनावारीको बिषयलाई लिएर महिलाहरुको दिमागमा जुन डर बसेको छ, त्यसैले समस्या ल्याएको छ’ श्रेष्ठ भन्छिन् ‘घरमा कहिलेकाँही आउँछ सर्प तर हामी त्यसलाई महिनाबारी नबारेका कारण आएको भन्ने सोच्छौं ।’ 
श्रेष्ठको जस्तै धारणा छ पत्रकार टेकेन्द्र देउवाको पनि । देउवा भन्छन् ‘यो मनोबैज्ञानिक भय हो । कुनै समयमा कसैले महिनाबारी भएका बेला सर्प देख्यो होला, त्यही कुरा अहिलेसम्म चल्यो ।’ छाउ नबारेपछि घरमा सर्प आउँछ त्यसैले छाउ बार्नु पर्छ भन्ने कुरा सरासर गलत भएको देउवा बताउँछन । ‘यदि महिनाबारी नबारेका कारण सर्प आउँछ भने महिनाबा–री बारेर छाउपडी गोठमा सुतेका महिलाहरुको किन सर्पले डसेर मृत्यु हुन्छ ?’ 
छाउ नबार्दा सर्प आउने कुरा सत्य नभएको डोटीका जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौड्याल बताउँछन । उनी भन्छन् ‘सामाजिक परम्परा अनुसार धार्मिक स्थलहरुमा बार्ने कुरा वेग्लै हो तर घरमा बार्नु पर्दैन ।’ उनी थप्छन् ‘महिनाबारी भएका महिलाले व्यक्तिगत सरसफाईमा ध्यान नदिँदा गन्धले पनि सर्प आएको हुन सक्छ ।’ व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्ने पौड्यालको भनाई छ । 

छोटकरी समाचार 

सडक सर्जक कार्यक्रम आज 

७ नं. प्रदेशको राजधानी दिपायल कायम गर्नका लागि डोटी गजल मञ्चले आज मंगलबार दवावमुलक सडक सर्जक कार्यक्रम गर्ने भएको छ । 
डोटीको मुख्य व्यापारिक केन्द्र दिपायलमा गरिने उक्त कार्यक्रममा बिभिन्न सर्जकहरुले साहित्यमार्फत दिपायल राजधानी हुनु पर्ने तर्क प्रस्तुत गर्ने मञ्चका अध्यक्ष केशवचन्द्र महरा ‘पवन’ ले जानकारी दिएका छन । 
दिउसो ३ वजे खुल्ला सडकमा आयोजना हुने उक्त कार्यक्रमले प्रदेशको राजधानी दिपायल काम गर्न दवाव पुग्ने आयोजकहरुको बिश्वास छ । 

यसरी हुन्छ छाडा पशु व्यवस्थापन 

तराईको जिल्लाहरु कैलाली र कञ्चनपुरमा प्रमुख समस्याको रुपमा रहेका छाडा पशु व्यवस्थापनका लागि कार्यक्रम तय गरिएको छ । 
‘एक गाई एक माई’ नीति सहित क्षेत्रीय पशु सेवा निर्देशनालय डोटीले दुवै जिल्लाको ११ वटा स्थानीय तहमा कार्यक्रमको सुरुवात गर्न लागेको हो । उक्त कार्यक्रममार्फत यस क्षेत्रमा रहेका सामुदायिक छाडा पशुको वर्गीकरण गरी पुनः उत्पादन र प्रयोगमा जोड दिने जनाइएको छ । 
पुनः उत्पादन र प्रयोगमा आउन सक्ने सामुदायिक छाडा पशुलाई ब्याउने बनाएर दूध आपूर्ति कम रहेका जिल्लाहरु बाजुरा, बझाङ, दार्चुला र अछाममा वितरण गरिने निर्देशनालयले जनाएको छ । 

सूचना/सन्देश/बिज्ञापन 

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।

पारदर्शीता 
पारदर्शीता मूलत नागरिकको सार्वजनिक क्रियाकलाप बारेमा सुसूचित हुने अधिकारसंग सम्बन्धित छ । त्यसैले सामान्य अर्थमा पारदर्शीतालाई जानकारीको आदान प्रदान र खुला रुपमा काम गर्ने प्रणालीको रुपमा परिभाषित गर्न सकिन्छ । गोप्य कोठामा गरिने काम कारवाहीले धेरै संकालाई जन्म दिन्छ र यसले गर्दा सर्वजनिक संस्था र जनतावीचको विश्वासको संकट फराकिलो हुदै जान्छ । 
पारदर्शिताले  सत्रुतापूर्ण तथा संकाको वातावरण तथा त्रुटि कमजोरीहरुलाई हटाउने र सहसम्वन्ध कायम गर्ने अवसर हुन्छ । गुपचुप गरिने निर्णयले भ्रष्टाचारलाई प्रश्रय दिन्छ । पारदर्शिताले सार्वजनिक पद धारण गरेको व्यक्ति वा सार्वजनिक श्रोतको जनताप्रति जवाफदेहीतालाई प्रत्याभूति गर्दछ ।
कुनै संस्थाको काम कारवाहीमा पारदर्शिता छ भन्न, त्यस संस्थाले गरेको काम कारवाही बारे नियमित सूचना प्रवाह हुने व्यवस्था छ तथा त्यसका काम कारवाहीबाट प्रभावित हुने व्यक्तिको सहज र प्रत्यक्ष रुपमा सूचनामा पहुंच छ र कुनै छेकवार छैन भन्ने कुरा ब्यवहारिक रुपमा देखिनु पर्छ । 
पारदर्शिता अन्तर्गत जानकारी दिनुपर्ने विषयहरु भौतिक तथ्य, वस्तुस्थिति, बौद्धिक विचार वा मानसिक सोचाई कुनै पनि हुन सक्दछ । सुशासनमा उत्तरदायित्व र सहभागिता जस्ता विषयको प्रयोजनको लागि अधिकारीले नीति निर्णय र वस्तुस्थिति बारेको जानकारी दिंदा तथ्यमा मात्र सीमित नरही त्यसको पछाडी र अगाडीका विचार तथा सोचाईलाई समेत पारदर्शि गराउनु पर्ने अवस्था हुन सक्दछ । 
त्यसैले सुशासनको दृष्टिले पारदर्शिताको अर्थ जानकारी खुला राख्नमा मात्र सीमित नभएर खास खास कुरामा सम्बन्धित व्यक्ति तथा संस्थालाई प्रशिक्षित गर्ने  कुरासम्म पनि आउने देखिन्छ । अर्थात पारदर्शिताको प्रक्रिया भित्र विभिन्न प्रकारका जानकारी खुला राख्ने, सार्वजनिक गर्ने, खास खास व्यक्ति वा वर्गलाई सम्प्रेषण गर्ने, जानकारीमा सम्बन्धित व्यक्ति वा समूहको पहुंच पु¥याउने र विचारको वोध गराउने कुरा समेत आउछन् । 
पारदर्शिताका लागि अपनाउनु पर्ने उपायहरु ः
१. सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नु पर्ने सूचनाहरुको पहिचान ।
२. नीति र कार्यक्रमको निर्धारण गर्ने प्रक्रिया सम्बन्धी विषयहरु ।
३. बजेट विनियोजनका आधार र प्रक्रियाहरु ।
४. योजनाको छनौट गर्ने वा नगर्ने आधार, खर्च गरिएका आर्थिक कारेवारका    विवरणहरु ।
५. कुनै समूह वा वर्गलाई विशेष सुविधा दिने तथा नदिने ।
६. नियुक्ति तथा पदस्थापन सम्बन्धि निर्णयका आधारहरु ।
७. माफी मिन्हा, आर्थिक सहायता, चन्दा पुरस्कारको निर्णय गर्ने आधार एवं प्रक्रियाहरु 
जवाफदेहिता ः
कार्यहरुको परिणाममा कारवाही हुने अवस्थाले जवाफदेहितालाई जनाउँदछ । सार्वजनिक पदमा बहाल रहेका व्यक्तिहरुले सम्पादन गरेका कामको बारेमा नागरिकलाई सुसूचित गर्ने कर्तव्य र त्यस्ता पदाधिकारीहरुले मर्यादा नाघेर सम्पादन गरेका कार्य माथि कारवाही गर्ने जनअधिकारलाई जवाफदेहिता भनिन्छ । कुनै सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले गरेको कामप्रति कसैले प्रश्न गरेमा प्रश्नकर्तालाई चित्त बुझ्ने गरि जवाफ दिनु पर्छ । 
सयुक्त राष्ट्र विकास कार्यक्रमका अनुसार जवाफदेहिता शव्दले पदाधिकारीहरुद्धारा आफ्नो अधिकार र कर्तव्यको सम्पादन बारे सरोकारवाला प्रति जवाफदेही हुने तत्सम्बन्धि समालोचना प्रति सचेत रहने र असफलता, असक्षमता र अरुलाई धोका हुन गएकोमा आफुले सम्बन्धित पक्षहरु प्रति जवाफदेहिता           स्वीकार गर्नुलाई जनाउंदछ ।

No comments:

Post a Comment