Tuesday, April 17, 2018

बिम्ब साप्ताहिक, २०७४ साल बैशाख ४ गते मंगलबार

सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको रक्षा गरौं, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


मुख्य समाचार 

मुक्त हलिया बस्ती ः कहिले पहिरोमा, कहिले जंगलमा

रामहरी ओझ 
बैशाख ३
“पहिरोमा मुक्त हलिया बस्ती” शिर्षकको समाचार प्रकाशन भएको एक साता नबित्दै मुक्त हलिया सम्वन्धि अर्को महत्वपूर्ण खवर आएको छ । १८ मुक्त हलिया परिवारको जंगलमा बस्ती बस्ने भएको छ । 
मालपोत कार्यालय डोटीको अभिलेख अनुसार साविकको बगलेक गाबिस–४ मा रहेको जग्गामा बसोबास गर्ने भनी १८ मुक्त हलिया परिवारले जमिन खरीद गरेका छन । उनीहरुले घर निर्माणका लागि पहिलो किस्ता वाफत ७० प्रतिशत रकम समेत बुझिसकेका छन् । मुक्त हलिया पुनस्र्थापना जिल्ला कार्यदलले गाउँको हकमा कम्तीमा एक रोपनी जग्गा हुनु पर्ने भन्ने निर्णय गरेको भएपनि जनही १२ आनाका दरले जग्गा खरीद गरिएको छ । 
मुक्त हलिया पुनःस्थापना तथा बृत्ति विकास कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार मुक्त हलियाहरुले रोजेको ठाउँ बसोवासका लागि उपयुक्त भए नभएको कुरा मालपोल कार्यालयले स्थलगत निरीक्षण गर्नु पर्ने व्यवस्था रहेको छ । हलियाले खरीद गर्न खोजेको जग्गामा यातायात, शिक्षा, बिद्यतु, स्वास्थ्य, रोजगारी र अन्य आयआर्जनका अवसरहरुमा पहुँच हुने कुरालाई प्राथमिकता दिनु पर्ने उल्लेख छ तर खरीद गरिएको जग्गामा उल्लेखित पूर्वाधारहरु कुनै पनि देखिदैनन् । 
प्रारम्भिक बिद्यालय जानका लागि बालबालिकाहरुले झण्डै सवा घण्टा हिड्नु पर्नेछ, स्वास्थ्य सेवाका लागि दुई घण्टा हिड्नु पर्नेछ, खानेपानीको व्यवस्था छैन । जमिनको नजिकबाट कच्ची सडक गएको भएपनि नजिकको बजारको दुरी करीव दुई घण्टा भएकोले रोजगारी तथा अन्य आयआर्जनका अवसर पनि देखिदैनन् । 
मुक्त हलियाहरुलाई जंगलमा बसाएर राउते बनाउन खोजेको आरोप लगाउँछ डोटीमा मुक्त हलियाको अभियानका सुरुवातकर्ता गोरखबहादुर सार्की । हाल सायल गाउँपालिका, वडा नं. ३ का वडाध्यक्ष समेत रहेका उनी भन्छन् ‘पुनःस्थापना गर्ने नाममा सोझासाझा मुक्त हलियाहरुलाई अनेक प्रलोभन देखाएर जग्गा खरीद गर्न लगाईएको छ, यो दुर्भाग्य हो ।’ मुक्त हलियाका बालबालिकाहरुलाई शिक्षाबाट समेत बञ्चित गराउने षड्यन्त्र भएको उनको भनाई छ । 
मुक्त हलियाहरुले रोजेको ठाउँमा जग्गा खरीद गर्न दिनु पर्ने व्यवस्था भए अनुसार उनीहरुले रोजेकै ठाउँमा खरीद गर्ने अनुमति दिईएको मुक्त हलिया पुनःस्थापना जिल्ला समितिका संयोजक डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री बताउँछन् । ‘मैले पनि मुक्त हलियाहरुसंग भेटेरै  कुरा गरेको थिएँ, उहाँहरुले हामी त्यसै ठाउँमा बस्छौं भनेर मलाई समेत निवेदन दिएपछि मैले पनि ठिकैछ भनेको हुँ’ खत्री भन्छन् ‘यसमा कुनै अनियमितता भएको जस्तो त लाग्दैन, तर पनि कुनै त्यस्तो प्रमाण पाए म कारवाही गर्न तयार छु ।’ 
आफुहरुले सम्झाउँदा पनि नमानेको बताउँछन् समितिका सदस्य सचिव तथा मालपोत कार्यालय डोटीका प्रमुख सुनिलसागर जोशी । उनी भन्छन् ‘हामीलाई सोही ठाउँ उपयुक्त हुन्छ भनेर जिद्धि गरेपछि कार्यबिधि अनुसार हामीले मान्नै पर्ने भयो । 
गतपाली जंगलमा बस्दैनौं भनेका थिए 
गत बर्ष ३७ मुक्त हलिया परिवारका लागि उक्त जमिन  खरीद गरी नमुना मुक्त हलिया बस्ती बसाउने जिल्ला समितिको योजना थियो । जग्गा खरीद गर्ने भन्दै कुरा पनि तय भईसकेको थियो, मालपोत कार्यालयले जग्गाको स्वामित्व रहेको हनुमान हर्टिकल्चरको नाममा चेक समेत तयार गरिसकेको थियो तर मुक्त हलियाहरुले आफुहरु जंगलमा नबस्ने भन्दै बिरोध गरेपछि जमिन खरीद हुनबाट रोकिएको थियो । 
त्यतिबेला बिरोध जनाउने मध्ये १८ परिवारले यस पटक सोही जग्गा खरीद गर्ने भनी लिखित रुपमा निवेदन दिए । कसरी यस्तो भयो त ? एक मुक्त हलिया भन्छन् ‘कहानी अर्कैछ ।’ नाम उल्लेख नगर्ने शर्तमा ति व्यक्तिले भने ‘हाम्रा नाममा धेरै ठुलो खेल हुँदो रहेछ, त्यो खेलमा सरकारी कर्मचारीहरु, मुक्त हलियाका अगुवाहरु समेत सहभागि हुँदा रहेछन् ।’ जग्गाधनीले अनेक हत्कण्डा अपनाएर आफुहरुलाई उक्त जमिन किन्न बाध्य बनाएको भन्दै उनी भन्छन् ‘अव यसमा थप बहस गर्नुको कुनै अर्थ छैन ।’ 
यसरी छलियो एक लाख ८० हजार कर 
कानुन अनुसार ३० लाख भन्दा माथी मुल्यको जमिन एकमुष्ट बिक्री गर्दा पाँच प्रतिशत लाभान्स तिर्नु पर्ने व्यवस्था छ । तर, मुक्त हलियालाई ३६ लाख रुपैयाँको जग्गा बेच्दा पनि लाभान्स कर नलाग्ने बाटो खोजियो । जंगलको बस्ती भनेर गत बर्ष बिवादमा परेको हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको जमिन यस बर्ष कर छल्नकै लागि टुक्रा बनाएर बिक्री गरियो । 
मोहन बम प्रोप्राईटर रहेको हनुमान हर्टिकल्चर प्रालिले फागुन १६ गते बिमला बमलाई १२ रोपनी, ६ आना, एक पैसा, दुई दाम र सहदेव खातीलाई १४ रोपनी, तीन, आना जग्गा बिक्री ग¥यो । खरीद गरेको तीन हप्ता नपुग्दै बिमला बम र सहदेव खातीले चैत्र ४ गते १८ मुक्त हलियाहरुलाई जग्गा बिक्री गरे । बमले चार रोपनी र खातीले १३ रोपनी जग्गा बिक्री गरेका छन् । 
जग्गाधनीलाई कर छल्ने बाटो सिकाउने मालपोतकै कर्मचारीहरु रहेको श्रोतको दावी छ । कानुनीभित्रै रहेर भ्रष्टाचार भएको श्रोत बताउँछ ।
तीन हप्तामै जग्गाको अढाई गुना मुल्य बढ्यो 
मालपोत कार्यालय डोटीको अभिलेख अनुसार फागुन १६ गते हनुमान हर्टिकल्चरले बिमला बम र सहदेव खातीलाई जग्गा बिक्री गर्दा एक लाख १० हजार रुपैयाँ प्रति रोपनीका दरले बिक्री गरेको छ । यस आधारमा प्रति आनाको करीव ६ हजार आठ सय रुपैयाँ हुन्छ । 
उक्त जमिन खरीद गरेको तीन हप्ता पनि नबित्दै वम र खातीले १२ आना जग्गाको दुई लाख रुपैयाँका दरले मुक्त हलियालाई बिक्री गरेका छन् । यस हिसावले प्रति आना जग्गाको १६ हजार ६ सय रुपैयाँ पर्न आउँछ । न त प्लटिङ्ग भएको छ, न आवश्यक पूर्वाधारहरु नै बनेका छन यो अवधीमा तर मुल्य भने आकासिएको छ । कर छली गरेको प्रमाण यसलाई पनि मान्न सकिन्छ । 
सरकारी दर अनुसार त्यस क्षेत्रमा कच्ची सडकले छोएको जग्गाको प्रतिरोपनी एक लाख १० हजार, गोरेटो÷घोडेटो बाटोले छोएको प्रति रोपनी ८५ हजार रहेको छ । मालपोतको लिखत् अनुसार मुक्त हलियाले खरीद  गरेको जमिन भिर चाहार हो । भिर चाहारको सरकारी दर प्रति रोपनी ३५ हजार रुपैयाँ रहेको छ । 
समग्रमा हेर्दा मुक्त हलियाको नाममा व्यापक अनियमितता भएको यस घटनाले देखाएको छ । न्यायिक पुनःस्थापना सहित मुक्त भएका हलियाहरु उनकै अगुवाहरु र सम्वन्धित सरकारी कर्मचारीहरुका लागि दुहुनो गाई सावित भएका छन् । नियमनकारी निकाय भने मुकदर्शक भएको छ । 

सम्पादकीय 

प्रदेश सरकारको अवको यात्रा

७ नं. प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम अनुसार नै अव वजेट ल्याउने होला । तीन महिनाका लागि आउने नीति तथा कार्यक्रम र वजेटले त्यति धेरै अर्थ त राख्दैन तर आगामी बर्षका लागि यसले आधार तयार गर्छ । त्यसकारण यो नीति तथा कार्यक्रमलाई आगामी बर्षको जगका रुपमा लिन सकिन्छ । 
धेरै कामहरु छन प्रदेश सरकारका । जनताले अपेक्षा पनि धेरै गरेका छन् प्रदेश सरकारबाट । यद्यपी जन अपेक्षा अनुसार काम गर्न सक्ने हैसियत कति हुन्छ प्रदेश सरकारसंग भन्ने हो । श्रोत साधन र सम्वन्धका हिसावले प्रदेश सरकार स्थानीय सरकार र संघीय सरकार भन्दा कमजोर नै देखिन्छ । तर पनि केही यस्ता कामहरु छन् जो प्रदेश सरकारले गर्नै पर्ने छन् । त्यसका लागि प्रदेश सरकार तयार हुनु पर्छ । 
मुख्य कुरा प्रदेश सरकारले सुशासन कायम गर्नु हो । अहिलेसम्मको नारा ‘सुशासनका लागि विकास’ भन्ने जस्तो देखियो तर त्यो उल्टो नारा थियो, अव “विकास र समृद्धिका लागि सुशासन” भन्ने नाराका लागि अगाडी बढ्नु जरुरी छ । त्यसका लागि भएका कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि संयन्त्र निर्माण गर्नु जरुरी छ । मुक्त हलियाको पुनःस्थापनाका लागि आएको वजेटमा समेत भ्रष्टाचार गर्ने संयन्त्रलाई नियन्त्रण गर्ने अर्को कुनै संयन्त्र बनाउनु जरुरी छ । भ्रष्टाचार मात्रै न्यूनीकरण गर्न सकियो भने यसले धेरै ठुलो सन्देश दिनेछ । ‘भ्रष्टाचारमुक्त प्रदेश” प्रदेशको पहिचान दिने गरी काम गर्नु जरुरी छ । 
स्थानीय सरकारहरु र मातहतका अन्य सरकारी, संस्थानहरु र गैरसरकारी निकायहरुमा सुशासन कायम गर्नका लागि सुशासनका बिभिन्न बिधिहरुको प्रयोग हुनु पर्ने जरुरी छ । भ्रष्टाचारमा जनप्रतिनिधिहरु पनि चुर्लुम्म डुवेका छन भन्ने कुरा बिभिन्न सञ्चारमाध्यममा आईरहेका छन्, यसलाई ध्यान दिनु जरुरी छ । 
अर्को कुरा अवैध विकास रोक्नु आजको आवश्यकता हो । सडक निर्माण गर्ने नाममा मेसिन लगायो, डाँडो खन्यो, भत्कायो । काम मेसिनले गर्ने, श्रमिकले काटेको भन्दै डोर हाजिरी भर्ने चलनलाई रोक्नु जरुरी छ । वातावरणमा प्रभाव पार्ने कुनै पनि योजना निर्माण गर्दा वातावरणीय प्रभाव मुल्याङ्कन गरेको भए मात्रै भुक्तानी दिने व्यवस्था मिलाईनु पर्छ, अन्यथा कुनै पनि डाँडो बाँकी रहने अवस्था छैन । 
तेश्रो कुरा जुत्ताको नापमा खुट्टा काट्ने चलन अन्त्य हुनु जरुरी छ  अर्थात वजेट ५० हजार छुट्यायो, ५० हजारको योजना बनायो, मिलायो खायो । योजना पहिलो छनौट हुनु प¥यो, त्यो अनुसारको प्राविधिक ईस्टिमेट तयार हुनु प¥यो र उक्त ईष्टिमेट अनुसार वजेट बिनियोजन हुनु प¥यो । अनि मात्रै काम हुन सक्छ । २० हजारका ५० हजारका योजनाले अव कुनै काम हुने वाला छैन । उपभोक्ता समितिले आउजाउमै त्यो सवै रकम खर्च गर्नेछ ।
चौथो कुरा प्रदेश विकासको समग्र योजना बनाउनु जरुरी   छ । आवधिक योजना, रणनीतिक योजना, गुरुयोजना तयार गरेर लागु गर्नु पर्ने छ । यसलाई बिशेष महत्वका साथ प्रदेशले हेर्नु  पर्नेछ । अव्यवस्थित बसोबास र अव्यवस्थित बसाई सराईलाई रोक्ने गरी नीति बनाईनु जरुरी छ । 
पाँचौं कुरा स्थानीय सरकारहरुलाई परामर्श सेवा उपलव्ध गराउनु जरुरी छ । स्थानीय सरकारहरु अहिले अलमलमा छन्, भ्रष्टाचार मौलाएको छ । वजेट खर्च हुन सक्ने अवस्था छैन । यस अवस्थामा उनीहरुलाई सही वाटोमा लैजानका लागि परामर्श सेवा उपलव्ध गराउनु जरुरी छ । यसलाई ध्यान दिनु पर्छ । 
यि र यस्तै कार्यक्रमहरुमा प्रदेश सरकारले प्राथमिकता दिनु पर्ने देखिन्छ ।

थप समाचार 

प्रदेश सरकारको नीति तथा कार्यक्रम ः नमुना प्रशासन कार्यालयदेखि “हलो सिएम” सम्म 

७ नं. प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा कैलाली जिल्ला प्रशासन कार्यालयलाई नमुना प्रशासन कार्यालय बनाउनेदेखि गुनासो व्यवस्थापनका लागि हलो सिएम कार्यक्रम सञ्चालन गर्ने सम्म रहेको छ । 
प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार प्रदेश सभा बैठकमा पाठ गरेको १८ बुँदे नीति तथा कार्यक्रममा समाजबाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, नीजि एवम् सहकारी क्षेत्रको सहभागीतालाई प्रदेश सरकारले प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । यस्तै संविधानले अंगिकार गरेका विविधतामा एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, आर्थिक सामाजिक विकास, सीमान्तकृत, बञ्चितिकरणमा परेका, फरक क्षमता भएकाहरुको उत्थान एवं सामाजिक पुनस्र्थापनाका साथै सबै प्रकारका भेदभाव अन्त्य गरी सामाजिक न्याय तथा मानवअधिकारको सुनिश्चित गर्ने तर्फ प्रदेश सरकार प्रतिबद्ध रहने उल्लेख छ ।
समावेशी आर्थिक विकास, रोजगारीको सिर्जना गरि गरिवी न्यूनिकरण गर्न अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना छनौट गर्ने, छुवाछुत, छाउपडी, बोक्सी, लैंगिक, हिंसा जस्ता कुरीति र कानूनले बर्जित गरेका कुप्रथाको अन्त्य गर्न सरोकारवालाहरुलाई प्रोत्साहित गरी प्रदेश स्थानीय तहका जनप्रतिनिधि सहित गाउँ वस्ती शहरमा सामाजिक रुपान्तरण अभियान चलाइने, कानून कार्यान्वयनलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा छ । 
दलित समुदायको चौतर्फि विकासको लागि तिनीहरुको परम्परागत पेशा, सीप, कला, दक्षतालाई सुदृढिकरण गर्दै आधुनिकीरण गर्ने, मुक्तकमैया, हलिया, हरुवाचरुवा, भुमिहिन, विपन्नवर्ग, किसान एवं वादी समुदायलाई नेपाल सरकारले गरेको प्रमाणीकरण र वर्गीकरणको आधारमा व्यवस्थित गरी रोजगार तथा अन्य आयआर्जनका कार्यक्रम संचालन गरिने नीति सरकारले लिएको छ ।
प्रदेशलाई पूर्ण साक्षर वनाउने, प्रदेशस्तरको शिक्षक दरवन्दी मिलानका लागि समन्वयात्मक पहल गरिने, प्राविधिक एवं व्यवसायिक शिक्षा तथा सीपमुलक तालिमलाई प्रोत्साहित गरी युवाहरुलाई रोजगारी र स्वरोजगारीका लागि टेवा पु¥याइने लक्ष्य प्रदेश सरकारले लिएको छ । साथै खुला विश्वविद्यालयमा नेपाल सरकारको नीति लागु गर्ने उल्लेख छ ।
“फोहोरमुक्त स्वच्छता, ७ नंं. प्रदेशको प्रतिवद्धता”, “परिवर्तित कृषि प्रणाली, मौसम सुहाउदो खेति, माटो सुहाउदो उत्पादन, उत्पादन अनुसारको बजार”, “मुख्यमन्त्री कृषी कार्यक्रम”, “एक व्यक्ति, एक खाता”,  “प्रदेश नं. ७ को सम्वृद्धिको आधार, जल विद्युत, जडिवुडी जंगलको विस्तार” जस्ता नाराहरु नीति तथा कार्यक्रममा समावेश छन् ।
नेपालसँग सीमा जोडिएका भारततर्फका मुख्य नाकाहरु मोहना (धनगढी), गयाचौकी (महेन्द्नगर), डडेल्धुरा, दार्चुला, झुलाघाट (बैतडी) र चीनसँग सीमा जोडिएको टिंकर (दार्चुला) तथा बझाङको उरै नाकालाई व्यवस्थित बनाउन संरचनात्मक सुधारमा सहयोग पु¥याइने, विपद् पीडित र संकटासन्न अवस्थामा रहेकालाई तत्काल आवश्यक सहयोग पु¥याउन “मुख्यमन्त्री विपद राहत कोष” स्थापना गरिने छ । निर्धारित मापदण्ड र प्रक्रिया अनुरुप कोषको सञ्चालन गरिने उल्लेख छ ।
आर्थिक बर्ष २०७४/०७५ को बाँकी तीन महिनाका लागि आएको नीति तथा कार्यक्रमले सुशासन प्रवद्र्धनलाई महत्व दिएको छ । शासकीय सुधार र सुशासन प्रवद्र्धन गर्न मौजुदा कानून र संस्थागत प्रबन्धलाई प्रभावकारी रुपमा परिचालन गरिने, आवश्यक नयाँ कानून र संरचनाको निर्माण गरिने उल्लेख गरिएको छ । 
क्षमता, योग्यता, आवश्यकता र समावेशीताको आधारमा कर्मचारीहरुको व्यवस्थापन गर्न स्पष्ट नीति तथा कार्यक्रम अवलम्वन गरिने, सामाजका विभिन्न क्षेत्रमा  रहेको संस्थागत र मिलोमतोमा हुने  गरेको भ्रष्टाचारलाई न्यूनीकरण र नियन्त्रण गर्दै कानून निर्माण गरी कडाईकासाथ लागु गरिने, स्थानीय सरकारहरुको कार्यक्षमता अभिवृद्धि गर्न जनप्रतिनिधिहरुसंग समन्वय गरी आवश्यकताको आधारमा नीति तथा कार्यक्रम ल्याईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

छोटकरी समाचार 

जनप्रतिनिधिहरुको प्रश्न

स्थानीय तहका उपाध्यक्षहरुका लागि आयोजना गरिएको खाद्यअधिकार सवलीकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रममा उपस्थित स्थानीय तहका उपप्रमुखहरुले प्राकृतिक प्रकोपबाट हुने क्षतिमा कसले क्षतिपूर्ति दिने भन्ने बिषयमा आफुहरुलाई जानकारी नभएको बताए । 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) अनुसार स्थानीय तहले बिपद् व्यवस्थापनका लागि आवश्यक नीति बनाई लागु पर्ने प्राव्धान   रहेको भएपनि कानुनी ज्ञान नहुँदा जनप्रतिनिधिहरु आफ्नो अधिकार र जिम्मेवारीबारे जानकार   छैनन् । 
‘स्थानीय तह आफैले क्षतिपूर्ति दिने गरी कानुन बनाउनु प¥यो’ आयोजना संस्था परिवर्तनका लागि कार्यरत युवा समूह (याक) का प्रतिनिधि रोशन प्रसाद श्रेष्ठले भने ‘बिपद् पूर्व तयारी गर्ने र विपद्मा परेकाहरुलाई तत्काल उद्दार, राहात र क्षतिपूर्ति दिने गरी स्थानीय तहले आफै कानुन बनाई लागु गर्नु पर्ने व्यवस्था छ ।’ 
जनप्रतिनिधिहरुलाई खाद्य अधिकारको अवधारणा र कानुनी संयन्त्रबारे जानकारी गराउने उद्देश्यका साथ आयाजना गरिएको उक्त उक्त अन्तरक्रिया कार्यक्रममा प्राकृतिक बिपत्तिका कारण खाद्य अधिकार संकटमा पर्ने भएकोले सवैले स्थानीय तहले समयमै पूर्व तयारी गर्नु पर्ने सहभागिहरुले बताए । 

खेल समाचार 

नेपालको खराव प्रदर्शन

ओपन अन्तराष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगितामा नेपाल खेलाडीले छैटौं चरणको खेल सकिदा औषत प्रदर्शन गरेका छन् ।
प्रतियोगितामा नेपालका सुमित पन्त आइतबार भारतीय खेलाडी सुरिजित पलसँग पराजित हुँदा बिक्रम जाती     भारतीय खेलाडी हषिृता गुड्डान्तीसँग पराजित भए । त्यस्तै, नेपालका बद्रीलाल नेपालीले छैटौं चरणको खेलमा नेपालकै राजेन्द्र प्रसादसँग बराबरी खेल्दै अंक बाँडे भने मणिराज डाँगी श्रीलंकन खेलाडी कभिण्डा अकिलासँग् पराजित भए भने नेपालका क्याडिन्डडेड मास्टर भूपेन्द्र निरौला भारतीय खेलाड पृध्वीकुमारसँग पराजित भए ।यस्तै, राजन पुरीले प्रकाश सुवेदी, पुरुषोत्तम चौलागाईले महेश्वरलाल डंगोलाई पराजित गर्दा क्यान्डिडेड मास्टर भगवती प्रसाद शर्माले नेपालकै क्यान्डिडेडमास्टर राजेन्द्र राजभण्डारीलाई स्तब्ध पारे । त्यस्तै, नेपाली शिखर रेग्मी भारतीय खेलाडी थेन्डुप तामाङ पराजित हुँदा हरिचन्द्र भारतीय खेलाडी सी लक्ष्मीसँग पराजित भए ।
छैटौं चरणको खेलमा नेपालका सूर्य बस्नेतले पुण्यमान कर्माचार्य, सुरवीर लामाले चेतन शर्मा, फिडे मास्टर सुजेन्द्र प्रसाद शर्माले सुशील चौधरी र भारतीय खेलाडी सायान्तान चन्द्रले विवेकराज श्रेष्ठलाई पराजित गरे ।

चलचित्र/मनोरञ्जन 

आमासंग सम्वन्ध सुधारे अनमोलले

नायक अनमोल केसीलाई लक्षित गर्दै आमा सुस्मिता बम्जनले अघिल्लो होलीको दिन विवादास्पद स्टाटस लेखेकी थिइन् । कुन आक्रोशमा हो उनले ‘डिंगोपुत्रको सत्यानाश’ सम्म लेखिन् । तर, अनमोलले कुनै प्रतिक्रिया  जनाएनन् ।
उक्त स्टाटसले आमाछोराको सम्बन्ध तितो रहेको बुझ्न सकिन्थ्यो । तर, अहिले एकाएक उनीहरुको सम्बन्धमा सुधार आएको छ । केही दिनअघि अनमोलको जन्मदिनमा सुष्मिताले ‘फस्ट विस’ गरेकी थिइन् । उनले फेसबुकमा पनि छोरालाई शुभकामना दिइन् ।
यसैगरी आज आमाको मुख हेर्ने दिन अनमोलले सुस्मितालाई सम्झिएका छन् । उनले आमासँगको बाल्यकालको फोटो सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘ह्याप्पी मदर्स डे टु माई वान एन्ड अन्ली लभ ।’ उक्त स्टाटसमा तुरुन्त कमेन्ट गर्दै सुष्मिताले पनि लेखेकी छिन्, ‘मेरो मुटुको टुक्रा, माइ जान ।’
अनमोलकी आमा सुस्मिता र बाबु भुवन केसीको केही वर्षअघि डिभोर्स भएको थियो । त्यसयता अनमोल बाबुसँग बस्दै आएका छन् । भुवनकी गर्लफ्रेन्ड जिया केसी पनि उनीहरुसँगै बस्छिन् ।
जे होस्, आमासँग सम्बन्धमा आएको सुधार अनमोलका फ्यानहरुका लागि सुखद समाचार हो ।

लेख 

चुल्कुण्टे, कांग्रेस र बाम सरकार

रामहरी ओझा
दुई कक्षामा पढ्दा उमेर सात बर्षको मात्रै थियो । अभावै अभावमा हुर्किएको जीवनले धेरै कुरा सिकाईरहेको थियो । घरमा आएका नातेदारहरुले कुनै खाने  कुरा ल्याएछन् भने आमाले साँचेर राख्नु हुन्थ्यो तर लुकाउनका लागि साँचो लाउने बाकस थिएन । आमाले हामी भाईबहिनीहरुले चोरेर नखाउन भन्नका लागि बुईगलको फल्याकमा सामान लुकाउनु हुन्थ्यो, अनि भन्नु हुन्थ्यो ‘पाँण (बुईगल) मा कोही नजानु त्यहाँ चुल्कुण्टे हुन्छ ।’ धेरै समयसम्म आमाले यसैगरी हामीलाई चुल्कुण्टेका नाममा डराउँदै जानु भयो ।
अघिल्लो दिन भिनाज्यू आउनु भएको थियो । उहाँले आउँदा मिश्री ल्याउनु भएको कुरा थाह थियो । उहाँले ल्याएको मिश्री आमाले लुकाउने त्यही पाँण (बुईगल) को फल्याक थियो । करीव ४५ मिनेटको पैदल दुरीमा रहेको बिद्यालयबाट फर्केर बासी भात नास्ता खाईयो । अव दिमागमा दुईटा कुरा आए । एक, आमाले सधैं बुईगलमा चुल्कुण्टे हुन्छ भन्नुहुन्छ, त्यो चुल्कुण्टे कस्तो हुँदो रहेछ भनेर जान्ने उत्सुकता । दोश्रो भिनाज्यूले ल्याउनु भएको मिश्री खाने रहर । 
जे जे होला भ¥याङ्गबाट बुईगल चढ्न सुरु गरियो । बुईगलको झ्याल बन्द थियो, पुरै अँध्यारो । आमाले मिश्री लुकाए राखेको फल्याकमा एलईडी वल्व जस्तै साना दुईटा बत्ती टल्केको देखियो । मनमा चुल्कुण्टे भनेको यही रहेछ भन्ने प¥यो, फेरी पनि उत्सुकता र मिश्री खाने लोभ घटेन । जे जे होला भन्ने सोच्दै भ¥याङ्गको आखरी खुड्किलोमा पुगियो । ‘चुल्कुण्टे’ ले फल्याकबाट हाम फालेर त्यही भ¥याङ्ग हुँदै दौडियो । डरले सातो जाला जस्तै भयो, हतारिएर तल झर्न खोज्दा भ¥याङमै लडेर टाउको ठोकियो । 
त्यो दिनदेखि धेरै पछिसम्म एक्लै बुईगल चढ्ने हिम्मत गरिएन । त्यो घटनाको २८ बर्षपछि उक्त घर भत्काउने क्रममा त्यो भ¥याङ चढ्दै गर्दा उहिलेको त्यो चुल्कुण्टे घटनाले झसङ्ग बनायो । तर वास्तवमा त्यो चुल्कुण्टे थिएन । फल्याकमा बसेको बिरालो मान्छे देख्दा फल्याकबाट हाम फालेर भागेको थियो । अँध्यारोमा टल्किने चुल्कुण्टे नभएर बिरालाका आँखा थिए । 
यस्तै अहिले नेपाली कांग्रेसलाई भएको छ । आफुलाई “बाम” पार्टी भनिरहेका दुई कम्युनिष्ट नामधा–री दलहरुले प्रचण्ड बहुमतको सरकार बनाएपछि कांग्रेसको होस् हवास छैन । उसले हरेक कुरामा एकदलीय अधिनायकबाद देख्न थालेको छ । कम्युनिष्टहरु प्रजातन्त्र बिरोधी हुन, कम्युनिष्टहरु अधिनायकबादी हुन, कम्युनिष्टहरु तानाशाह हुन भन्ने भुत दिमागमा जमाएर राखेको कांग्रेस नभएको चुल्कुण्टेसंग डराएजस्तै भएको छ । 
निश्चित रुपमा कम्युनिष्टहरु सर्वहारा श्रमजीवी बर्गको एकल अधिनायकत्व चाहान्छन् । कम्युनिष्ट सिद्धान्त अनुसार उनीहरुले वर्गीय अधिनायकत्व स्थापना गर्न चाहान्छन् तर ति कम्युनिष्टहरु र नेपालका कम्युनिष्टहरुमा धेरै भिन्नता छ । अहिले सत्तामा पुगेका कम्युनिष्ट पार्टीहरुले व्यवहारतः पूर्ण रुपमा कम्युनिष्ट सिद्धान्त छोडेको अवस्था हो वा त्यो बाटो विर्सेको अवस्था हो । कम्युनिष्ट सिद्धान्तै छोडेका दलहरुले कसरी सर्वहारा वर्गको नेतृत्व गर्न सक्छ र ? अनि पुँजीपति वर्गको नेतृत्व गर्ने दलले कसरी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न सक्छ र ? त्यसैले कांग्रेसले बर्तमान सत्ता घटक ‘बाम’ दलहरुलाई अधिनायबादी देख्नु भन्दा आफुभित्रको गैरप्रजातान्त्रिक चरित्र सुधार गर्नु आवश्यक छ । 
लेनीनबादी संगठनात्मक सिद्धान्त अनुसार पनि कम्युनिष्टहरुलाई गैर प्रजातान्त्रिक देख्नु नै कांग्रेसका लागि भुल हुन्छ । जनबादी केन्द्रियताका आधारमा कम्युनिष्टहरु प्रजातान्त्रिक हुन भन्ने एथेष्ट बाटो छ । छलफलमा जनबाद, निर्णय प्रक्रियामा जनबाद र कार्यान्वयनमा केन्द्रियता कम्युनिष्ट पार्टीभित्रको संगठनात्मक अभ्यास हो । अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेभित्र प्रजातान्त्रिक अभ्यासका आधारमा नेतृत्व चयन हुने, निर्णय प्रक्रियामा जनवाद हुने कुरा धेरै पहिलेदेखि नै चलिआएको छ । यद्यपी भएको निर्णय कार्यान्वयन गर्नमा केन्द्रियता लाग्न छोडेको पनि धेरै भयो । आन्तरिक अनुशासन, आलोचना/आत्मालोचना जस्ता अभ्यासहरु एमालेका लागि अव ईतिहास भईसकेका छन् । तर, पार्टीको अन्तरसंगठनिक क्रियाकलापहरुमा र संसदीय अभ्यासका लागि उम्मेदवार चयन गर्ने क्रममा गैर कम्युनिष्टहरु भन्दा कम्युनिष्ट नामधारीहरुले लोकतान्त्रिक अभ्यास बढी प्रयोग गरेको कुरालाई बिर्सेर कांग्रेसले अहिलेका कम्युनिष्टहरुलाई अधिनायकबादी मात्रै देख्दै आएका छ ।  
पहिलो कुरा, प्रजातन्त्रको आफ्नै खालको परिभाषा छ, आफु सरकारमा भएका बेला मात्रै प्रजातन्त्र दिगो हुने र आफु सरकारबाट बाहिरिएपछि प्रजातन्त्र खतरामा पर्ने परिभाषाले कुनै अर्थ राख्दैन । यदि शासन पद्धति प्रजातान्त्रिक भयो भने कुर्चीमा को बस्यो भन्ने कुराले खासै अर्थ राख्दैन । त्यसैले आफुलाई मात्रै प्रजातान्त्रिक ठान्नु र अरुलाई गैरप्रजातान्त्रिक देख्नु भन्दा आफु प्रजातान्त्रिक हुन सिक्नु जरुरी छ । 
दोश्रो, नेपाली कांग्रेस आफैले दावी गरेको ईतिहासलाई फेरी एक पटक केलाउनु जरुरी छ । निश्चित रुपमा कांग्रेसले दावी गरे अनुसार नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि भएका निर्णायक राजनीतिक लडाईहरुको नेतृत्व कांग्रेसले गरेको हो । चाहे त्यो ००७ सालमा होस, ०४६ सालमा होस् वा ०६२/०६३ मा होस्, यसको भरपुर जस लिने अधिकार कांग्रेसलाई छ, नेतृत्व कांग्रेसले ग¥यो अन्य दलहरुले अर्थपूर्ण सहभागिता जनाए । तर, कांग्रेसले अध्ययन गर्न नचाहेको अर्को पाटो पनि छ, त्यो हो प्रजातान्त्रिक अधिकार खोसिदाँ कसले नेतृत्व गरेको थियो ? 
०१७ सालमा नेपाली कांग्रेसको दुई तिहाई बहुमतको सरकार थियो प्रजातन्त्र मासिदाँ, त्यसको अपजस अन्य दलहरुले लिनु पर्ने कुनै कारण छैन्, कांग्रेस एक्लैले लिए पुग्छ । ०५२ सालमा तत्कालीन नेकपा माओवादीले ४० बुँद ज्ञापन पत्र बुँझाउँदा र फागुन १ गते सशस्त्र बिद्रोह सुरु गर्दा पनि कांंग्रेस आफै थियो सरकारको नेतृत्वमा । ०५९ साल असोज १८ गते पनि कांग्रेस नेतृत्वकै एकमना सरकार थियो र ०६१ साल माघ १९ गते पनि कांग्रेस नेतृत्वको सरकार थियो । यसलाई कांग्रेसले संयोग मात्रै ठान्छ वा कमजोरी ? अहिले प्रजातन्त्र खतरामा परेको देख्ने कांग्रेसले आफै सत्तामा भएका बेला प्रजातान्त्रिक अधिकार खोसिएको र त्यो अधिकार पुनःप्राप्तीका लागि नेपाली जनताले ठुलो मुख्य चुकाउनु परेको कुरालाई कसरी नजरअन्दाज गर्दैछ ? 
तेश्रो, कांग्रेसले जव जव संसदमा सुबिधाजनक बहुमत ल्याउँछ, तव तव उन्माद् चढ्छ । ०१५ सालको बिषय अलि फरक होला मानौं तर ०४८ सालमा प्राप्त गरेको सुबिधाजनक बहुमत किन कांग्रेसले गुमायो ? पार्टीभित्रका ३६सें र ७४रे ले गर्दा होईन र ? पार्टीभित्रको कलहले देशले मध्यावधीको सामना गर्नु परेको होईन र ? यस्तै ०५६ मा को निर्वाचनमा पाएको सुबिधाजनक बहुमत पनि तीन बर्ष सरकार चलाउन नसकेका कारण फेरी मध्यावधी निर्वाचन गराउने तहसम्म पुगेको होईन र ? पार्टी बिभाजन, दरवारले प्रजातन्त्र खोज्नु, जननिर्वाचित प्रधानमन्त्रीलाई असक्षम घोषणा गर्नु सवै कुरा पनि त कांग्रेसका लागि अध्ययनको बिषय बन्दैनन् र ? 
त्यसकारण कांग्रेसले पहिलो आफु प्रजातान्त्रिक हुनु जरुरी छ । बिगतमा भएका कमीकमजोरी सच्याउने तहमा जानु जरुरी छ । जितको उन्माद्ले जति जति कांग्रेस फुल्दै गयो त्यति त्यति धरातल बिर्सिदै गयो र अहिलेको अवस्थामा आईपुगेको छ । 
अहिलेको “बाम” सरकारको हविगत् पनि अवको दुई बर्षपछि यस्तै हुनेछ । यद्यपी कांग्रेसले भने जस्तो यिनै शासकहरुले प्रजातान्त्रिक अधिकार कुण्ठित गरेर कम्युनिष्ट शासन व्यवस्था ल्याउने हैसियत छैन किनकी अहिलेका सत्ता साझेदारहरुमा नाम बाहेक अव कम्युनिष्टपन छैन तर जसरी कांग्रेसले सत्ता नेतृत्व गरेका बेला आफ्नै कारण आफुलाई र प्रजातन्त्रलाई कमजोर बनाउदै गयो, यो सरकार पनि त्यस्तो अवस्थामा पुग्ने कुरा नकार्न सकिदैन । उहिले र अहिलेकोमा फरक के छ भने त्यतिबेला सामन्तबादको प्रत्येक्ष नेतृत्व थियो तर अहिले सामन्तबादको प्रत्येक्ष नेतृत्व छैन, र पनि नेतृत्व अकास्मात जन्मिने कुरा पनि अस्वीकार गर्न मिल्दैन, किनभने रातारात तानाशाहहरु जन्मेका बिश्व ईतिहासहरु छन् ।  
अहिलेको “बाम” सरकारमा पनि सत्ता उन्माद्  छ । जितको उन्माद् छ, तलदेखि माथीसम्म कांग्रेस सधैंका लागि सखाप भएको देख्दैछ् । जसरी कांग्रेसले बिगतमा प्रतिपक्ष पनि छ भन्ने अनुभुति गरेन, त्यसरीनै अहिलेको गठबन्धनले पनि प्रतिपक्षको अनुभुति गरेको छैन । यदि यस्तै अवस्था हो । बिषय वा प्रसंगले अर्को अर्थ नलागोस्, अहिलेको “बाम” गठबन्धन एकदलीय अधिनायकबादतिर होईन, छाडातन्त्रमा जाने खतरा हुन सक्छ, बरु त्यसबाट सचेत रहनु जरुरी छ । 
त्यसैले कांग्रेसले आफ्नो मनबाट “चुल्कुण्टेको भुत” सधैंका लागि हटाईदिए पुग्छ ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

खरिदारका लागी उपयोगी 
१. नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योग्दान कति छ ? —४.३५%
२. विश्वको पहिलो मानवीय शिखर सम्मेलन–२०१६ कुन देशमा आयोजना भयो ?  — टर्की 
३. संसारका बढी प्रतिव्यक्ति आय भएको मुलुक कुन हो ?   — कतार
४. आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरुमध्ये एशियाबाट कति वटा सदस्यहरु रहन्छन् ?
— ११
५. नेपालकै अग्लो झोलुङ्गे पुल पर्वतको कुन खोलामा रहेको छ ?     — मोदी खोला
६. सूर्यको तेजदेखि लाग्ने डरलाई के भनिन्छ ?     — हेलियोफोविया
७. जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?   — रियो सम्मेलन 
८. अभिनयको उत्पत्ति कुन वेदबाट भएको हो ?   — यजुर्वेद
९. मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार कहिले प्रदान गरिन्छ ?   — घटस्थापनामा
१० “उराउ’ . किसान भए “अहिर’ . ? — यादव
११. वि.सं. २०७२ को भूकम्पपछि पुनः निर्माणको लागि अनुदान सम्झौता भएको पहिलो जिल्ला कुन  हो ? — दोलखा
१२. सारनाथ वन विकास परियोजना कुन जिल्लामा पर्छ ?   — सर्लाही 
१३. अन्तराष्ट्रिय विधुवा दिवस कहिले पर्छ ?   — जुन २३
१४. महादेव पार्वती गुफा . मोरङ भए शिवजी गुफा . ?   — दाङ
१५. अन्नको आयतन कुन इकाईमा नापिन्छ ?    — बुसेल
१६. बरुण ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?   — १६४ वर्ष 
१७. क्रनोमिटरले कहाँको समय देखाउँछ ?   — ग्रिनबीचको
१८. सर्वप्रथम कपडा उत्पादन केन्द्र कहाँ बन्यो ?    — लङकासायर,बेलायत 
१९.“एउटा जार, एउटा चर्च र एउटा रुस” भन्ने नाराको कुन जातिले विरोध गरे ?   — श्रपोल
२०. लिच्छविकालमा मन्दिरमा पूजा गर्ने नारीलाई के भनिन्थ्यो ?    — देवदासी
२१. खस भन्नु भन्दा पहिला उनीहरुलाई के भनिन्थ्यो ?   — शक
२२. नेपाल र चीनबीच शान्ति मैत्री सम्झौतामा कहिले हस्ताक्षर भयो ?  — वि.सं. २०१३ असोज ५
२३. एउटै काठबाट बनेको सुन्दर पुरानो मूर्ति कुन हो ?    — नृत्यदेवी
२४. नेपाल भाषाका पहिला कवि कसलाई मानिन्छ ?  — महेन्द्र मल्ल 
२५. मेसिन रिडियवल पासपोर्ट अन्तराष्ट्रिय प्रयोग कहिलेदेखि भएको हो ?   — सन १९८१
२६. २०६८ को जनगणना अनुसार लैंगिक अनुपात कति छ ?     — ९४.१६
२७. कुन मुलुक दोस्रो विश्वयुद्धको अन्तसँगैे विभाजन भयो र शीत युद्धको अन्त्यसँगै पुनः एकीकरण  भयो ?  — जर्मनी 
२८. अल्वर्ट ताल कहाँ पर्छ ?   —अफ्रिका 
२९. मलाया भन्नाले कुन देशलाई चिनिन्छ ?   — मलेसिया 
३०. विमेस्टेकमा नेपालले औपचारिक रुपमा प्रवेश पायो ?   —फेब्रअरी, २००४
३१.विष्णुपादी भन्नाले कुन दक्षिण एशियाली नदीलाई चिनिन्छ ?   — गंगा 
३२. केटाकेटीको मन मिले विवाह नै नगरी सँगै बस्न मान्यता दिने जाति कुन हो ? — दरै
३३. दनुवारी भाषासँग मेल खाने भाषा कुन हो ?   — माझी 
३५. अन्तराष्ट्रिय स्माइल टर्न हिरो अवार्ड पाउने चिकित्सक को हुन ?  — डा.शंकरमान राई
३६. प्ष्मलभथक या तजभ धयचमि भन्नाले कुन क्षेत्रलाई बुझिन्छ ?  — सिमसार क्षेत्र 
३७. मरणोपरान्त ग्रामी अवार्डबाट सम्मानित विश्व विख्यात कलाकार को हुन ?  — माइकल ज्याक्सन
३८. श्रीमतीको माध्यमबाट राजा हुने व्यक्ति को हुन ?   — जयस्थित मल्ल 
३९. केराका लागि प्रसिद्ध जिल्ला कुन हो ?    — कञ्चनपुर 
४०. पर्यटकीय स्थल न्चभभल ख्बििभथ कुन जिल्लामा पर्छ ?  — सोलुखुम्बु
४१. सन १९९१ मा भएको खाडी युद्ध कति दिन चलेको थियो ?  — ४३ दिन
४२. नेपालबाट क्ब्एत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?     — महेश आचार्य
४३. नेपालबाट क्ब्ँत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?  — डा.भेषबहादुर थापा 
४४. नेपाल र भारत बिच मैत्री सन्धि कहिले भएको थियो ?   — १९५० जुलाई ३१
४५.नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो ?   — १९६० अप्रिल २८
४६. उत्तरमा हिमालय देखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?  — धादिङ 
४७. उत्तरमा हिमालय देखि दक्षिणीमा चुरे क्षेत्रसम्म फैलिएको जिल्ला कुन हो ?   — सिन्धुपाल्चोक
४८. महाकाली सन्धि पारित कहिले भएको थियो ?     — २०५३ असोज ४
४९. ऋयतयउबहष् केसँग सम्बन्धित छ ?    — ज्वालामुखी
५०. राइटर बा भनेर कसलाई चिनिन्छ ?   — बलबहादुर कार्की 
५१. जलवायु परिवर्तन सम्बन्धि ग्रेजुएट सम्मेलन कहिले भएको थियो ?  
— २०६७ कार्तिक २९–मंसिर ३
५२. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ?   — यूनिस्को
५३. नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धि २० वर्षे महत्वकांक्षी योजना कहिले ल्याएको थियो ?
— २०६७ असार ३०

साहित्य/सृजना 

बिकास 


विकास आउँदैन, बाजा बजाएर,
नत आउँछ यो, हावामा सपना सजाएर,
केवल, दशनंग्रा खियाएर,
दुरदृष्टिले चियाएर !!

विकास आउँदैन, धम्कीध्वाँस देखाएर,
नत आउँछ यो, हात लप्काइ बोलाएर,
केवल, पसिनाका धारा बगाएर,
अदम्य साहस देखाएर !!

विकास आउँदैन, देवदेवी भाकेर,
नत आउँछ यो, कहिल्यै अरुसंग मागेर,
केवल, कोटियौं जन, एकसाथ जागेर,
काँधमाकाँध हातमाहात राखेर !!

विकास आउँदैन, देखासिखी गरेर,
नत आँउछ यो, योजना कागजमा कोरेर,
केवल, आफ्नो अपरिहार्यता समेटेर,
अर्थ, स्रोत चुहिने प्वाल टालेर !!

विकास आउँदैन, भाषणमा लटपटिएर,
नत आउँछ यो, सयौं इच्छाहरु समेटिएर,
केवल, एकदुइलाई प्राथमिकता दिएर,
अनगिन्ती चाहना विर्सिएर !!

पहाडमुनीबाट रेलमोटर, एकसाथ धेर,
ओहरदोहर आलीकाप्वालवाट, मुसा झैं गरेर,
विकासको स्वरुप, अनुपम यो हेर,
असंभवलाई संभव तुल्याएर !!
जीवनराम बुढाथोकी 
खलङ्गा–९, सल्यान

मुक्तक

भेट्न आउन सक्दिन बन्द भएर ।
देश भित्र आन्तरीक द्वन्द भएर  ।।
अति हुँदा गजलमा लेख्छु भनेको ।
त्यही लेख्न गाह्रो भयो छन्द भएर ।।
मेरो प्राण भन्छौ अनी हाँस्न मन लाग्छ ।
निकै सोझो बन्छौ अनी हाँस्न मन लाग्छ ।।
घरकीको आँखा छली अन्तै माया लगाई ।
भेट्ने दिन गन्छौ अनी हाँस्न मन लाग्छ ।।
सपनीमा देखे भेट्न हतास लाग्या छ ।
मन भित्र मायाको नै बतास लाग्या छ ।।
रुदै टाढा हुदै बस्ने कस्तो बिवशता ।
त्यो छातिमा निदाउन अत्यास लाग्या छ ।।
प्यासी थियौ प्यास मेटाउन जानु गल्ति थियो ।
त्यो मुटुमा नाम लेखाउन जानु गल्ति थियो ।।
शान्ति अधिकारी 
नेपालगञ्ज

सूचना/सन्देश/बिज्ञापन 

जनहितका लागि जारी सन्देश 

१. बाढी पहिरोबाट हुने क्षति कम गर्नका लागि बृक्षारोपण गरौं ।
   अनावश्यक रुपमा बन जंगलको बिनाश नगरौं ।  
२. आफ्नो गाउँठाउँमा निर्माण भईरहेका बिकास योजनाहरुको  गुणस्तरका बारेमा चाँसो राखौं । 
३. बाढी पहिलो नियन्त्रण नगरेसम्म दिगो विकास हुन सक्दैन भन्ने  कुरालाई ध्यान दिँदै सवैभन्दा पहिलो बाढी पहिरो नियन्त्रणमा बिशेष पहल गरौं ।  
४. बन जंगल, नदी नाला हाम्रो मुल आधार हो भन्ने कुरालाई मनन्  गरौं । भरसक रुख नकाटौं, काट्नै पर्ने भए काटेको रुखको ठाउँमा नयाँ बिरुवा रोपौं ।
५. माटोको संरक्षण गर्ने बिभिन्न उपायहरु अपनाऔं । गल्छीहरु पन्छाऔं, भत्केको ठाउँमा वाल लगाऔं । 

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, राजपुर, दिपायल डोटी 


झाडापखलाको ब्यवस्थापन 

झाडापखलाको कारण, लक्षण र उपचार बिधि 
झाडापखलाको परिभाषा ः
यदि कुनै मानिसले दिनमा धेरैपटक दिसा गर्छ र उसको दिसा पातलो छ भने उसलाई झाडापखला लागेको हुन्छ ।
२.झाडापखला खतरनाक छ ः
यसले साना बच्चाहरुलाई रगतमासी बनाएर मार्दछ, जब शरीरबाट धेरै पानी फाल्छ वा शरीरको तौल घट्छ । 
झाडापखलाको उपचार नुन चिनि पानीको झोलवाट ।
१.झाडापखला लागेको बच्चा र त्यसलाई उपचार गर्ने आधारभूत नियमहरु यस प्रकार छ ः
प्रसस्त मात्रामा झोल पर्दाथ दिनुहोस । जस्तै सुरक्षित उमालेको पानी, नुन चिनी पानी, भातको माड वा फलफुलको रस ।
खानेकुरा दिने र पखला लागेको बच्चालाई स्तनपान गर्न नछुटाउनुहोस 
डाक्टरले सिफारीस नगर्दासम्म औषधी दिनु हुँदैन विषेश गरी एन्टिवाईटिक औषधीले विरामीको उपचार गर्दैन नत रिहाईडेट गर्छ ।
सुप क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय राजपुर दिपायल डोटी 

नेपाल सरकार
राष्ट्रिय योजना आयोग
केन्द्रीय तथ्याङ्क विभाग
जिल्ला आर्थिक गणना कार्यालय, डोटीको अनुरोध

यहि मिति २०७५ साल वैशाख १ गतेदेखि जेष्ठ ३१ गतेसम्म प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, वित्तीय संस्था लगायत अन्य  विभिन्न प्रकारका संघसंस्था तथा कार्यालयहरूमा गणकहरु आउँदै छन् । आफ्नो प्रतिष्ठानका क्रियाकलाप सम्बन्धी सही विवरण गणकलाई उपलव्ध गराई प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सफल पारौँ । तपाँइहरूले दिनु भएको विवरणहरु कर प्रयोजनका लागि प्रयोग गरिने छैन र तथ्यांक ऐन, २०१५ अनुसार गोप्य रहनेछन् । निर्धक्क भई यस गणनामा सहभागी बनौँ । 
जिल्ला आर्थिक गणना कार्यालय, डोटी

आदर्श गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
मौवा नगरदह, डोटी 
 प्रदेश नं. ७

गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०१/०४ गते 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको गाउँ/नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ ले तोकेको मापदण्ड अनुसार यस आदर्श गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि प्रस्तावना आव्हान गरिएको छ । 
शर्तहरु 
१. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।  
२. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका कार्यबिधि अनुसार बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ । 
३. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (breakwodn) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
४. यस गाउँपालिकाले तयार गरेको प्रस्तावना छनौट मापदण्ड अनुसार अधिकतम् अंक ल्याउने प्रस्तावनालाई छनौट गरिनेछ । 
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७३/०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)  
यस बिषयमा थप जानकारी चाहिएमा आदर्श गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, मौवा नगरदह डोटीमा बुझ्न सकिनेछ । 

बोगटान गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
चवाराचौतारा, डोटी 

 प्रदेश नं. ७

गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०१/०४ गते 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको गाउँ/नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ ले तोकेको मापदण्ड अनुसार यस बाेगटान गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि प्रस्तावना आव्हान गरिएको छ । 
शर्तहरु 
१. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।  
२. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका कार्यबिधि अनुसार बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ । 
३. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (breakwodn) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
४. यस गाउँपालिकाले तयार गरेको प्रस्तावना छनौट मापदण्ड अनुसार अधिकतम् अंक ल्याउने प्रस्तावनालाई छनौट गरिनेछ । 
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७३/०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)  
यस बिषयमा थप जानकारी चाहिएमा बोगटान गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, चवाराचौतारा डोटीमा बुझ्न सकिनेछ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मितिः २०७४/८/७
जिल्ला  डोटी पचनाली गा.वि.स.वडा नं.१ स्थित कि.नं.३५, ३७, ५४, ५७, ८५, १०४, १२६, १४४, १८७, २५१, ३००, ४१०, ५१२, ५२३, ५६६ को पुरै घर जग्गाहरु चनि साउँदको नाती देवि साउँदको छोरा तेज वहादुर साउँद र यादव वहादुर साउँदको नाउँमा नापनक्सा भई जग्गाधनी प्रमाण पुर्जा कायम भएकोमा जग्गाधनि यादव वहादुर साउँदको मिति ः २०६१/८/७ मा मृत्यु भएको र निजको हकदार पत्नि हरीना साउँदको मिति ः २०६७ सालमा जि.डडेलधुरा घर भई हाल भारतको नासिकमा बस्ने नाम थाहा नभएको व्यक्तिसंग पोइल गएकीले मृतक जग्गाधनि यादव वहादुर साउँदको शेषपछिको हकदार छोराछोरी कोही केही नभई अपुताली परेको हुँदा शेषपछिको हकदार एकमात्र भाई तेज वहादुर साउँद भएकोले तेज वहादुर साउँद र यादव वहादुर साउँको नाउँको संयुक्त श्रेस्तापुर्जा मध्ये मृतक यादव वहादुर साउँदको पुरै हकहिस्सा मेरा नाउँमा एकलौटी नामसारी गरिपाउँ भनि साविक पचनाली गा.वि.स.स्थित जग्गाधनि प्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली नागरिकताको प्रमाण पत्र, शिखर नगरपालिका–६ नं.वडा कार्यालयको च.नं.४०८ मिति ः ०७४/१२/१२ को किटानि सिफारीस पत्र आदी प्रमाणहरु साथै राखी मिति २०७४/१२/१२ मा यस कार्यालयमा निवेदन पेश गर्नु भएकोले हकदावि सम्वन्धि यो सूचना प्रकासित गरिएको छ । उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा मृतकको पत्नि पोईल नगएको भए वा अन्य हकदार भए वा नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले वाटोको म्याद वाहेक ३५ दिन भित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैको उजुरी दावी नपरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना  द्वारा जानकारी गरिन्छ ।

No comments:

Post a Comment