Tuesday, October 23, 2018

बिम्ब साप्ताहिक, २०७५ साल कार्तिक ६ गते मंगलबार

लोकतन्त्रको आधार ः सूचनाको अधिकार ।
सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार ।
कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार । 
सूचना लिने दिने संस्कृतिको विकास गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

कहिले बन्ला सातनाली सडक पुल ?

रामहरी ओझा/डोटी
कार्तिक ५
२०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सातनाली सडक पुल निर्माण कार्य २०७५ को आधा हुँदा पनि कहिले बन्ने भन्ने निश्चित छैन । 
२०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडकलाई के आई सिंह राज मार्गसंग जोड्न शिखर नगरपालिका–१० बान्डुंग्रीसैननिर सेती नदीमा पुल निर्माण गर्न २०७१ साल असार २९ गते सम्झौता भएको थियो । तिन बर्षे पहिलो ठेक्का सम्झौता अवधी सकिएर २०७५ साल पुष मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । तर यो अवधीमा पनि उक्त पुल निर्माणको १० प्रतिशत मात्रै काम भएको छ । 
मुल्य अभिबृद्धि कर (भ्याट) सहित २६ करोड २० लाखको लागतमा निर्माण हुने  करीव चार सय मिटर लम्वाईको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो ।
पुल निर्माण हुने समयावधी समाप्त भएर थप एक बर्ष तीन महिना बितिसक्दा पुलका दायाँ र बाँया पिल्लर समेत बनेका छैनन् । पुल निर्माणको कार्य सुरु भएपछि आफुहरु पनि सडक सञ्जालमा जोडिने आश लगाएर बसेका स्थानीयहरु फेरी निराश हुन थालेका छन् । सेती नदीमा पुल नहुँदा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडक अलपत्र परेको    छ । 
‘सडक बन्ने र गाडी चड्न पाईने आशमा उहिले सडकमा मजदुरी गर्ने धेरैको मृत्यु भईसक्यो’ शिखर नगरपालिका–११ का एक स्थानीयले भने ‘हाम्रो पालामा त होला भन्ने सोचेको त्यो पनि सम्भावना देखिदैन ।’ यो सडक सधैं चुनावका बेला राजनीतिक मुद्धा मात्रै बन्ने गरेको तर कुनै पनि नेताले यसमा चाँसो नदेखाएको उनी   बताउँछन्् । 
पुल निर्माण कार्यमा ढिलाई हुनुको मुख्य कारण पुलको फाउण्डेसनमा समस्या भएको पुलको साईड हेर्ने डिभिजन सडक कार्यालयका ईन्जिनियर बसन्त कुमार गायी बताउँछन् । ‘पिल्लरको फाउण्डेसनमा रक भेटियो, डिएमसी मेसिनले काम गरेन’ ईन्जिनियर गायी भन्छन् ‘बोर पाईलिङ्ग मेसिन ल्याउनु पर्ने भएका कारण ढिलाई भएको हो ।’ उनले निर्माता कम्पनीले मेसिन ल्याईसकेको जानकारी पाएको बताए । उनले भने ‘निर्माण व्यवसायी कम्पनीले मेसिन महेन्द्रनगर पुगेको जानकारी दिएको छ, अव तिहार सकिएलगत्तै काम सुरु हुन्छ ।’ लामो समयदेखि रोकिएको काम आफु साईड ईन्चार्ज भएपछि गत बर्ष सुरु गराएको ईन्जिनियर गायीको दावी छ । उनी केही निर्माता कम्पनीको लापरवाही भएको पनि स्वीकार गर्छन् ।
आगामी असार मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्ने बताउँछन् निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका ईन्जिनियर राजेन्द्र  साउँद । उनी भन्छन् ‘मेसिन आईसकेको छ, तर कामदारहरु यति बेला नपाईने भएका कारण मेसिन महेन्द्रनगरमै छ ।’ कामदारहरु पनि भारतबाट आउनु पर्ने भएका कारण तिहारसम्म कुर्नु पर्ने अवस्था रहेको उनी बताउँछन् । उनले थपे ‘फाउण्डेसनको काम मात्रै समस्या हो, फाउण्डेसनको काम सकियो भने त सजिलै अरु काम हुन्छ ।’ भरसक आगामी असार मसान्तभित्र गाडी नै गुडाउने नत्र अधिकांश काम सम्पन्न गरिसक्ने योजना रहेको ईन्जिनियर साउँदको भनाई छ । 
पुल निमार्मण कार्य ढिलाई भएको भन्दै गत बर्ष तत्कालीन  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरवहादुर बलायरले स्थलगत अध्ययन गरी काम छिटो सक्न निर्देशन दिएका   थिए । तर, उनको निर्देशनको पनि कुनै अर्थ रहेन । 
निर्माता कम्पनीले बोर पाईलिङ्ग मेसिन नेपालमा नपाएको र बिदेशबाट मगाउँदै गरेको भन्दै समय लम्व्यायो । अव मेसिन आएको त दावी    गरेको छ कम्पनीले तर निर्माणस्थलमा मेसिन नपुगेका कारण बिश्वस्त छैनन् स्थानीयबासीहरु । ‘लगत्तै काम सुरु हुन्छ भन्ने त धेरै पटक सुनेका छौं हामीले तर काम सुरु कहिल्लै हुँदैन’ स्थानीयबासीहरु भन्छन् ‘काम सुरु भएपनि दुई चार दिन हुन्छ फेरी बन्द      हुन्छ ।’ 
निर्माता कम्पनीका सञ्चालक भिमबहादुर साउँद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुन ।

सम्पादकीय 

के भ्रष्टाचारी नै हुन त स्थानीय तहका जनप्रतिनिधि !

अहिले चारैतिर स्थानीय तहका जनप्रतिनिधिहरुको चर्चा  छ । सत्तापक्ष, प्रतिपक्ष, उपभोक्ता समिति, उपभोक्ता, ठेकेदार, मजदुर, कर्मचारी, पत्रकार सवैले स्थानीय तहका जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको आरोप लगाउँछन् । देश रित्यायो, नपाउनेले  केरो पायो बोक्रै शुद्ध चपायो जस्ता बिभिन्न उखानहरु गाउँदै हिडेका छन् । कसैले दुई बर्षमा अकुत सम्पत्ति कमाउने भन्दै हिडेका छन् । कसैले चुनावमा भोट किन्न लागेको खर्च असुल्दैछन् भन्ने आरोप लगाउँदैछन् । कसैकसैले त जनप्रतिनिधिहरुलाई कालो मोसो लगाउने, गाउँपालिकाबाटै लखेट्ने धम्की पनि दिदैछन् । कर्मचारीहरुसंग मिलेर कमिसन खाएको आरोप लाग्दैछ । तर जनप्रतिनिधिहरुलाई कमिसन दिने व्यक्तिहरु को हुन भन्ने बिषयमा कसैले पनि बोल्दैनन् । 
निश्चित रुपमा हावा नचली पात हल्लिन्न भन्ने उखान छ । जनप्रतिनिधिहरुका बिषयमा पनि थुप्रै गुनासाहरु आएका छन् । यसको अर्थ हावा चलेको छ । तर हावा कहाँबाट चलेको छ भन्ने कुराको खोजी हुनु जरुरी छ । के साँच्चै जनप्रतिनिधिहरुले कमिसन खाएकै हुन त ? कुनै एक जना व्यक्तिले मैले फलानो व्यक्तिलाई यति रुपैयाँ कमिसन दिए भनेर किन भन्न सक्दैन, यदि दिएको हो भने । ‘फलानो जनप्रतिनिधिले यति कमिसन खाएको छ, पत्रकारहरुले समाचार लेखेन, यिनीहरु पनि मिलेका छन्’ भन्न धेरै सजिलो छ तर समाचार लेख्नका लागि आधारभूत सूचनाहरु चाहिन्छ । कुन योजनाबाट, कुन व्यक्तिबाट, कुन ठेकेदारबाट, कुन व्यवसायीबाट कति रुपैयाँ, के भनेर मागेको हो भन्ने हिम्मत कसैले पनि गर्दैन । अनि पत्रकारहरुले लेखेन भन्ने मात्रै आरोप लाग्छ ।
फलानो जनप्रतिनिधिले यति घुस खायो भन्ने व्यक्तिले उक्त रकम फलानाले दियो भन्ने जानकारी पाएको हुन्छ पक्कै पनि । तर फलानाले खायो मात्रै भन्ने फलानाले दियो नभन्ने सूचनाले कसरी काम हुन सक्छ । घुस खानेले माग्ने बित्तिकै दिनेले दिनै पर्ने हुन्छ ? वा उसले पनि किन दिने भनेर सोध्छ ? के घुस खाने मात्रै भ्रष्टाचारी हो ? घुस दिने शन्त हो त ? घुस दिने र लिने दुवै भ्रष्टाचारी हुन । यदि दिनेले कुनै कमजोरी गरेको हुन्न भने उसले घुस पनि दिदैन । 
त्यसैले सडकमा आएका आरोपहरु यदि सत्य हुन भने वा जनप्रतिनिधिहरुले कमिसन खाएका हुन, घुस दिएका हुन भने यसै समाजमा घुस दिनेहरु पनि छन् उनीहरुको बिषयमा पनि चर्चा हुनु जरुरी छ । उनीहरुले किन घुस दिँदैछन् भन्ने कुराको खोजी हुन जरुरी छ । अन्यथा कुनै व्यक्तिप्रति कुनै व्यक्तिको चित्त नबुझेका कारण, आफु अनुकुलको योजना नबनेका कारण, आफु उपभोक्ता समितिको अध्यक्ष हुन नपाएका कारण, आफ्नो डोजरले काम नपाएका कारण व्यक्तिगत रिसईवी साध्न कुनै पनि व्यक्तिलाई भ्रष्टाचारी भन्न मिल्दैन । आफुले काम गर्दा खुरुखुरु कमिसन दिने तर अरुले काम गर्दा कमिसन खायो, भ्रष्टाचार ग¥यो भन्ने परीपाटी अन्त्य नभएसम्म भ्रष्टाचार रोकिदैन ।
भ्रष्टाचार रोक्ने हो भने खुलेर भन्ने हिम्मत गर्नु प¥यो । आँट गर्नु प¥यो, साहस गर्नु प¥यो । मिथ्या सूचना दिएर पत्रकारहरुले समाचार लेखेन पत्रकारहरु पनि मिलेका छन् भन्ने कुराले क्षणभरलाई सन्तुष्टि त होला तर यसले दिर्घकालीन समाधान दिन सक्दैन । त्यसैले यदि जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेका हुन भने त्यसको जरोसम्म पुग्नु जरुरी छ, हावामा होईन ।   

थप समाचार 

साउन यता सवारी दुर्घटनामा २५ को ज्यान गयो

सुदूुरपश्चिम प्रदेशमा साउन यता भएका २१ वटा सडक दुर्घटनाबाट २५ जनाले ज्यान गुमाएका छन् । 
प्रदेशका विभिन्न जिल्लामा सवारी दुर्घटना हुने क्रम बढेसंगै चालु आर्थिक बर्षको तीन महिनामा मात्रै यति ठुलो संख्यामा ज्यान गुमाएका हुन । साउन महिनामा चार सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्, । भदौ महिनामा सवारी दुर्घटनाको संख्या १४ पुगेको छ भने यस भदौमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात रहेको छ । 
यस्तै असोजमा भएका ११ सडक दुर्घटनामा दुर्घटनाबाट १५ जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया कैलालीका प्रहरी      निरीक्षक टेक बहादुर जोराले जानकारी दिए ।  
सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियम सम्बन्धी नागरिकहरु सचेत नहुनु, चालकको लापरबाही, क्षमता भन्दा बढी यात्रु बोक्नु, तिव्र गतिमा सवारी हाँक्नाले सवारी दुर्घटनाको संख्या बढ्दै गएको सुदूरपश्चिम प्रदेश ट्रफिक कार्यालयले जनाएको छ । प्रदेशमा हरेक वर्ष सवारी दुर्घटनाको संख्या बढ्दै गएको बिगतका बर्षहरुको तथ्याँङ्कले देखाएको छ । दुर्घटनाकै कारण ठुलो संख्यामा जनधनको क्षति हुने गरेको छ । 
आर्थिक वर्ष ०७२÷०७३ मा भएका एक सय ५५ सवारी दुर्घटनामा एक सय २१ ले ज्यान गुमाएका थिए । ०७३÷०७४ मा  एक सय ८४ दुर्घटनाबाट एक सय ३२ र ०७४÷०७५ मा एक सय ६४ दुर्घटनाबाट एक सय ६६ जनाले ज्यान गुमाएको सुदूरपश्चि प्रदेश ट्रफिक कार्यालयको तथ्यांकले देखाएको छ ।

दशैंको बेला बलात्कारका दुई घटना

रोजेन्द्र जोशी/डोटी
कार्तिक ४

हिन्दुहरुको महान पर्व विजया दशमीको समयमा  आपराधिक गतिविधिहरु बढ्न सक्छ भनी डोटी स्थित प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको भए पनि दुर्घटना रोकिएनन् । जिल्लामा बलात्कार सम्वन्धी घटनाहरु सार्वजनिक भएका    छन । 
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–२ घाडीका ३९ बर्षीय शेर वहादुर भुलले १३ बर्षीया बालिकामाथी बलात्कारको प्रयास गरेका छन् । जंगलमा गोरु चराउन गएको मौका छोपी भुलले बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बलात्कारको प्रयास गर्ने भुललाई प्रहरीले पक्राउ गरेको छ । निज बिरुद्ध असोज ३१ गते जवर–जस्ती करणी उद्योग सम्वन्धी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझिले जानकारी दिए ।  
यस्तै डोटीको बोगटान गाँउपालिका–२ मा १० वर्षीय र ६ बर्षीया बालक मिलि सोही ३ बर्षीया बालिकामाथी जवरजस्ती करणी गरेको खुल्न आएको छ । जवरजस्ती करणी गर्ने दुबै बालकलाई जिल्ला सदरमुकाम स्थित प्रहरी कार्यालयमा ल्याईएको छ । निज दुबैले मिलेर करणी गरेको भन्ने जाहेरी आएकोले सोहि बमोजिक जबरजस्ती करणी सम्वन्धी मुद्धा चालाईने प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । साना साना बालबालिकाहरुबाट यस्तो घटना घट्नु विड्म्वनाको कुरा भएको स्थानीय बुद्धिजिवीहरु बताउँछन् ।

आकस्मिक कोषले गर्भवतीलाई राहत

कर्ण चन्द/डोटी
कार्तिक ५
जोरायल गाउँपालिका–१ घण्टेश्वर की बसन्ती महता गत फागुनमा गैरा सामुदायिक स्वास्थ्य ईकाईमा प्रसुति भईन । सामान्य सुत्केरी भएर फर्किएकी महता घरमा बेहोस भईन । उनलाई थप उपचारका लागी उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लैजानु पर्ने भयो । डडेल्धुरा जानका लागी आर्थिक जोहो गर्न धेरै समय खर्च गर्नु परेन उनले । घण्टेश्वर स्वास्थ्य चौकीबाट आकस्मिक प्रसुति तथा नवशिशु सहायता कोषबाट चार हजार ऋण सापटी लिईन । 
बसन्तीले भनिन् ‘म बेहास अबस्थामा थिएँ, आफन्त पनि अस्पताल लैजान ऋण खोज्छन समस्या हुन्थ्यो, स्वास्थ्य संस्थामा कोष स्थापना भएका   कारण त्यहाँबाट ऋण सापटी लिन सहज भयो ।’ उनले थपिन् ‘केही भयो भने यहाँ हाम्रो रकम छ भनेर सबै गर्भवती महिलालाई आशा र भरोसा हुन्छ ।’
चैत्रमा सुत्केरी हुन आएकी ईन्द्रा डाँगीको पनि घण्टेश्वर स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि बाहिर जान सोही कोषबाट सापटी लिईन । 
प्रसुती तथा शिशुलाई समस्या भएपछि दिने उक्त रकम दुई महिनासम्म ब्याज नलाग्ने घण्टेश्वर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी निर्मला पन्तले बताईन । पन्तले भनिन् ‘आपतकालीन अवस्थामा भएका महिलाबाट दुई महिनासम्म ब्याज लिन्नांैै, त्यसपछि ब्याज तिर्नु पर्ने हुन्छ ।’ रकम सक्दो चाँडो फिर्ता होस र धेरै भन्दा धेरैलाई राहत दिन सकियोस भन्ने ध्ययले दुई महिनापछि ब्याज लिने गरेको पन्त बताउँछिन् ।
स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गर्न आउँदा चाँसो राख्ने गरेको स्वास्थ्य चौकी प्रमुख अमर सिंह चौधरीले बताए । आकस्मिक कोषले गर्भवतीलाई राहत पुगेको छ । जिल्लाका पाँच स्वास्थ्य चौकीमा स्थापना गरिएको आकस्मिक प्रसुती तथा नवजात शिशु सहायता कोषले राहत पुगेको छ । 
युएमएन डोटी क्लस्टरको आर्थिक सहयोगमा समान पहुँच बिकास केन्द्र (सिड) नेपाल माफर्त सञ्चालन भएको मातृशिशु तथा बाल स्वास्थ्य परियोजना अन्तरगत जिल्लाको शिखर नगरपालिकाका तिजाली, बनलेक र जोरायल गाउँपालिकाको लक्ष्मीनगर, घण्टेश्वर र स्वरस्वतीनगर गरी पाँच स्वास्थ्य चौकीमा ७५ हजार देखि दुई लाख रुपैयाँसम्मको आकस्मिक प्रसुति तथा नवशिशु सहायता कोष स्थापना गरिएको कार्यक्रम संयोजक डिलबहादुर बिकले जानकारी दिए । संयोजक बिकले भने ‘आमा तथा बच्चाको स्वास्थ्यप्रति परिवारको सहयोग कम रहने र कहिलेकाँही समान्य आर्थिक अभाबका कारणले आमा तथा नबजात शिशुको स्वास्थ्यमा पर्ने असर कम गर्ने उद्देश्यका साथ कोषको स्थापना गरिएको हो ।’
घण्टेश्वर स्वास्थ्य चौकी बाहेक अन्य स्वास्थ्य संस्थामा कोषको रकम परिचालन भईसकेको भने छैन । कोष तयारी अबस्थामा राखिएको तिजाली स्वास्थ्य चौकी ईञ्चार्ज रबेन्द्र ऐरले बताए । उनले भने ‘अहिलेसम्म त्यस्तो समस्या नपरेका कारण कोष परिचालन भएकौ छैन, तर यस कोषका बारेमा सबै गर्भवती महिलालाई जानकारी छ, उहाँहरुले बेला बखत त्यो रकम कहाँ छ के अबस्था छ भनेर चाँसो राख्नुहुन्छ ।’ महिलाको स्वास्थ्यमा सुधार तथा बालमृत्यु दर शुन्य बनाउने उद्देश्यका साथ कोषको स्थापना गरिएको ईन्चार्ज ऐरले बताए ।

भारतीय विद्युतको भरमा दार्चुला

बिन्दु चन्द
कार्तिक ५
दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भएपनि जिल्ला अझै भारतीय विद्युतको भरमा छ । 
सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युतले उज्यालो दिएको छ । भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भू–भागका नागरिकले अन्धकारमा बस्नु परेको छ । जिल्लाको चमेलिया नदीबाट ३० मेगावाट, अपर नौगाडबाट साढे आठ मेगावाट, २५० किलोवाट   डुङुरीलगायत सयौँ किलोवाटका ग्रामीण लघुजल विद्युत् जिल्लामा उत्पादन भएका छन् तर अहिले पनि भारतको तीन ठाउँबाट ८०० किलोवाट विद्युत् दार्चुलाको लागि ल्याइएको छ । 
जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रको लागि भन्दै लेकमको लालीबाट १०० किलोवाट, व्यासको हुतीबाट १०० किलोवाट र मालिकार्जुन गाउँपालिकाको सीमा क्षेत्र जौलजीवी भएर ६०० किलोवाट जलविद्युत् ल्याइएको छ । हाल नेपाल विद्युत् प्राधिकरण दार्चुला  वितरण केन्द्रले डुङुरीमा उत्पादित विद्युत् मात्रै सदरमुकाम खलङ्गा आसपासमा उपलब्ध गराएको छ । त्योबाहेक थप विद्युत् भारतबाटै आयात गरेर वितरण गर्नुपरेको वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले बताए । जिल्लाबाट उत्पादित विद्युतले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा विद्युत भार कटौतीमुक्त गरिरहेको बेला जिल्लामा भने अझै भारतको विद्युत भार कटौती व्यहोर्नु     परेको स्थानीय सिकेन्द्रसिंह कुँवरले    बताए । 
शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिका सीमा क्षेत्र बरमुडे क्षेत्रमा सामुदायिक वन क्षेत्रको कारण प्रसारण लाइन ल्याउने क्रममा  अवरोध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । झण्डै पौने एक किलोमिटर क्षेत्रमा सामुदायिक वन पर्छ । अन्य क्षेत्रमा विद्युतको प्रसारण लाइन जोडिएको छ ।
यस्तै थालिगाडस्थित ३३ केभीको सव स्टेशन निर्माण अधुरै छ । बरमुडे क्षेत्रको सामुदायिक वनको विवाद सकिए तत्काललाई प्रसारण लाइनमार्फत ११ किलोवाट विद्युत् सदरमुकाम खलङ्गा ल्याउन सकिने शाहको भनाइ छ । सामुदायिक वनभित्र कति रुख क्षति हुने बारे यकिन विवरण आइनसकेको वन डिभिजन कार्यालयका निमित्त प्रमुख अमरसिंह धामीले जानकारी दिए । इलाका वनलाई निरीक्षण र रुख क्षतिबारे  जानकारी माग गरिएको निमित्त प्रमुख धामीले बताए । 
जिल्लामा विद्युत भारतीय क्षेत्रबाट ल्याउनुपर्दा महँगो पर्नुको साथै वार्षिक करोडौँ रुपैयाँ भारतमा जाने गरेको छ । सामुदायिक वनको समस्या स्थानीय तहमार्फत समाधान गर्नुपर्ने प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बताए । उनले भने ‘स्थानीय तहमा सामुदायिक बनहरु बिच देखिएका बिवादहरु समाधान भए लाईन बिस्तारका लागि योजना बनाउन सकिन्छ ।’

कसले बनाउने दु्रतमार्ग !

दशैं लगत्तै गत शनिवार खुटिया—बिपीनगर—दिपायल दु्रत मार्गको अनुगमनमा निस्केका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दु्रत मार्ग यसै आर्थिक बर्षमा सञ्चालनमा आउने बताएका छन् । 
तर, उक्त सडक कसले निर्माण गर्ने हो भन्ने बिषयमा भने अहिलेसम्म टुङ्गो लागेको छैन । कैलालीको खुटियादेखि डोटीको बिपीनगर हुँदै दिपायल जोड्ने द्रुतमार्गको निर्माण कार्य विगत १० देखि ठप्प रहेको छ । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको नौ महिना बितिसक्दा पनि उक्त दु्रत मार्ग कसले बनाउने भन्ने केही खुलेको छैन् । संघीय सरकारले सडक निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिईसकेको बताईरहेको छ भने प्रदेश सरकार द्रुत मार्ग बनाउन प्रदेशसंग बजेट नहुने भएकाले संघीय सरकारले नै बनाउन पर्ने अडानमा छ । 
उक्त द्रुत मार्गमा सुरुङ मार्ग बनाउने संघीय बजेट भाषणमा उल्लेख भएपनि झण्डै १० महिनादेखि द्रुत मार्गकै काम अवरुद्ध भएकाले छ । दु्रत मार्ग कसले निर्माण गर्ने भन्ने बिवाद मात्रै होईन दु्रत मार्गमा पर्ने रुख कटानीको लागी अनुमति लिने फायल संघीय बन मन्त्रालयमा अड्किएको छ । फायल मन्त्रालयमा पुगेको नौ महिना वितिसक्दा समेत रुख कटानीको आदेश भएको छैन् । 
एकातिर सुरुङमार्गको योजना ल्याउने अर्कोतिर रुख कटानीको आदेश पनि नदिने संघीय सकारको नियतले मुख्यमन्त्री भट्टको दावीमा बिश्वास गर्न गा¥हो बनाएको छ । प्रदेश सरकारले दु्रत मार्गको काम रोकिनुको मुख्य कारण खोजी गर्नु जरुरी छ । 
निर्माण कार्य बन्द भएका बेला अवको नौ महिनामै दु्रतमार्ग सञ्चालनमा आउने मुख्यमन्त्रीको दावी हास्यास्पद् रहेको स्थानीयबासीहरु बताउँछन् । ‘काम सुचारु भएको भए मुख्यमन्त्रीको दावीलाई पचाउन सकिन्थ्यो’ एक स्थानीयले भने ‘को ले निर्माण गर्ने भन्ने नै निक्र्योल नभएका बेला कसरी बिश्वास गर्नु ?’

छोटकरी समाचार 

नेपनिसंघमा प्रेमा

नेपाल परिवार नियोजन संघ डोटी शाखाको सभापतिमा प्रेमा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । 
निर्वाचन अधिकृत कैलाश सिं साउदले दिएको जानकारी अनुसार ११ सदस्यीय कार्यासमितका लागी महिला तर्फ मिता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुसिला श्रेष्ठ, रेनुका श्रेष्ठ, सालु श्रेष्ठ निर्वाचित निर्वाचित भएका    छन् । खुलातर्फ शेर वहादुर वोगटी, जित वाहादुर खड्का,  रघु कठायत, नरेशमान श्रेष्ठ र युवा सदस्यतर्फ रहिस श्रेष्ठ निर्वाचित भएका छन् । 
समितिमा सभापति बाहेकको पदाधिकारीको छनौट कार्य समितिको पहिलो बैठकले गर्ने बैधानिक व्यवस्था छ ।

भीरबाट लडेर २ जनाको मृत्यु

दार्चुलामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । 
शैल्यशिखर नगरपालिका–१ मा पर्ने लुकसैन भन्ने स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–१ चौडका अन्दाजी ५४ वर्षीय शंकर खडायत रहेका छन् भने अर्काे मृतकको अझै परिचय खुल्न सकेको छैन । स्थानीयका अनुसार सोमबार बिहान परिचय नखुलेको मृतक मान्छे दुबै हातमा ढुंगा समातेर एक महिलालाई आक्रमण गर्न आएको थियो । महिलाले भागेर गाउँले शंकर खडायतलाई घटनाबारे   जानकारी गराएपछि लखेट्न जादा आपसी भिडन्तको क्रममा दुबैजनाको भिरबाट लडेर मृत्यु भएको अनुमान छ ।

खेल समाचार 

पिपिएल खेल तालिका सार्वजनिक

कार्तिक ९ गतेदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले खेल तालिका सार्वजनिक गरेको हो । कर्तिक ९ गते उद्घाटन खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने तालिकामा सार्वनजिक गरिएको छ । प्रतियोगिताको पहिलो दिन एक खेल मात्रै हुनेछ । 
तालिका अनुसार दोस्रो दिन कार्तिक १० गते अर्थात अक्टोबर २७ मा दुई खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोजले बुटवल ब्लास्टरसँग प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेलमा काठमाण्डौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्नेछ । पोखरामा आगामी २० गतेसम्म सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा ६ टिमले भाग लिने आयोजकहरुले जनाएका छन् । पीपीएल खेल पोखरा       रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।

राईनो संरक्षण गोल्डकप हुँदै

एक सिङ्गे गैंडा संरक्षणमा सहयोग पु¥याउनका लागि पूर्वी नवलपरासीमा फुटवल प्रतियोगिता हुने भएको छ । 
‘राईनो संरक्षण गोल्डकप’ नाम दिईएको उक्त प्रतियोगिता कार्तिक १५ देखि २९ गतेसम्म चल्नेछ । एक सिङ्गे गैंडाको संरक्षणका लागि सचेतना जगाउन आयोजना गर्न लागिएको उक्त प्रतियोगिता पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुनेछ । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौं, पाल्पा, मकवानपुरसहित १२ टिमको सहभागिता रहनेछ ।
एक सिङ्गे गैंडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा विगत १५ वर्षदेखि प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए । प्रतियोगितामा चार लाख ९९ हजार पाँच सय ५५ र आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार प्रथम पुरस्कारको व्यवस्था गरिएको छ । दोस्रो पुरस्कार दुई लाख ५० हजार पाँच सय ५५ रहेको छ । यसैगरी उत्कृष्ट खेलाडीलाई पाँच हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वा्धिक गोलकर्तालाई १० हजार पुरस्कार छ ।

चलचित्र मनोरञ्जन 

“यार” लाई पद्मश्री पुरस्कार

२०७४ को पद्मश्री पुरस्कार साहित्यकार नयनराज पाण्डेको संस्मर–णात्मक कृति ‘यार’ ले प्राप्त गरेको छ । 
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वितरण गर्ने पद्मश्री पुरस्कार–२०७४ “यार” छानिएको हो । ‘यार’ सर्वोत्कृष्ट मनोनयनमा परेको प्रतिष्ठानले आइतबार घोषणा गरेको छ । 
यस्तै, प्रतिष्ठानले दिने पद्मश्री साधना सम्मानका लागि साहित्यकार डा. तारानाथ शर्मा छनौट भएका छन् । उक्त दुबै पुरस्कार कोगाज्रत पूर्णिमाको दिन वितरण गरिने प्रतिष्ठानले जनाएको छ । दुबै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ । 
साहित्यकार पाण्डेको संस्मरण कृति ‘यार’ २०७४ पुषमा सार्वजनिक भएको थियो । संस्मरण कृति पद्मश्री पुरस्कार छनोटमा परेको ‘यार’ पहिलो हो । पद्मश्री पुरस्कार बिजेता ‘यार’का लेखक साहित्यकार पाण्डेले संस्मरण कृति उत्कृष्ट छनोटमा परेकोमा आफूलाई गर्ब लागेको बताए । ‘प्रतिष्ठानले संस्मरण कृतिलाई पनि मान्यता दिएको छ, यसले किताबको सम्मान भन्दा पनि यो विधामा लेख्ने लेखकमाथि सम्मान गरेको छ’ पोण्डेले भने ‘संस्मरण लेख्नेहरूलाई उत्प्रेरणा र प्रोत्साहित गरेको छ ।’
यसअघि यो पुरस्कारबाट राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दिक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र वरिष्ठ साहित्यकार बैरागी काइँला पुरस्कृत भइसकेका छन् ।

छक्कापञ्जा–३ मा दर्शकको भिड

सामाजिक सत्यतालाई जीवन्त र हास्य रससहित प्रस्तुत नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ हेर्न दर्शकहरुको भिड लागेको छ । 
प्रदर्शन भएको १३ औँ दिनसम्म पनि हलहरुमा ‘हाउसफूल’ भइरहेको छ । हरेक दिन तीन पटक लाग्ने काठमाण्डौँ उपत्यकाका विभिन्न २० हलमा चलचित्र हेर्नेको भीड देखिन्छ । बिदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम चलचित्र भएकाले पनि चलचित्र “छक्कापञ्जा–३” बढी हिट भएको देखिन्छ । 
यस बीचमा चलेका कतिपय हिन्दी चलचित्रलाई भन्दा छक्कापञ्जा–३ लाई दर्शकले रुचाएको पाइएको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले बताइन । ‘‘विगत चार वर्षदेखि दशैंका समयमा नेपाली चलचित्रको बजार बढ्न थालेको र यो क्रम यसपटक पनि जारी छ ।’’ पौडेलले भनिन् । 
‘बक्स अफिस प्रणाली’का परामर्शदाता मनिष पण्डितका अनुसार ‘छक्कापञ्जा–३’ ले यसबीचमा राम्रो बजार लिएको छ ‘जयभोले’ले पनि यसलाई पछ्याइरहेको छ । सामाजिक सन्देशभित्र पनि ‘हे हे माधुरी पहिलो नम्बरमा, हाइ हाइ औँठी बैन्हा मारे मैले पहिलो नम्बरमा..‘जस्ता मनोरञ्जनात्मक गीतसमेत यो चलचित्रमा समावेश छ । 

लेख 

धर्म र राजनीति

पुरञ्जन आचार्य
विराटनगरमा केटाकेटी हुँदा आफ्नै घर, आँगन र टोलमा जीवनका प्रारम्भिक दशैँ बिते । त्यो पूर्ण संसार नै थियो मेरा लागि । दशैँमा केटाकेटीलाई दिने अनेकन् स्वादभन्दा ठूलो आकर्षण बिहानदेखि साँझसम्म टोले साथीहरूसँग धुलो उडाउँदै सडकमा नांगो खुट्टा हिँड्दाको स्वतन्त्रता थियो । अनि चंगा र तास खेल्दा हुने जीत–हारको उमंग नै मलाई बेग्लै थियो । जीवनका प्रारम्भिक दशैँहरू समाजले मनाउने पूजा पद्धतिभन्दा हामी केटाकेटीले सिर्जना गरेको दशैं मनाउने तरिका पृथक थियो । 
दोस्रो चरणको दशैं त्यतिखेर आयो जव स्कुल र टोले साथीहरूवाट जीवन कलेजमा प्रवेश ग¥यो । साथीहरूको संगत विस्तार भयो राजनीतिक र खेलकुदका कारण । अब साथीहरू टोलेमात्र रहेनन् । तसर्थ जमघटको केन्द्र वन्यो विराटनगरको काली मन्दिरछेउ रहेको  ‘रमाकान्त’ को चिया पसल ।
विराटनगरको काली मन्दिरमा मैले कहिल्यै पनि पूजा गरेको थाहा छैन युवाकालमा । तर म रमाकान्तको चिया पसलको नियमित ग्राहक थिएँ । जमघटको सक्रिय सदस्य थिए । विराटनगरमा मन्दिर, चिया पसल र सडक पेटीमा जमघट गर्ने कांंग्रेसीमात्र हुन्थे । अन्यत्रको सहरमा के छ मलाई थाहा भएन । कम्युनिस्ट भन्न रुचाउनेहरू  ‘बुर्जुवा’ हुन नरुचाएर हो कि किन हो, यस्ता सार्वजनिक स्थलमा खासै देखिँदैनथे ।
काली मन्दिरको रमाकान्तको चिया पसलले धर्म र पंथको ज्ञान बढाएन । राजनीतिक मित्रहरूको विस्तार भयो । चेतनामा पनि नयाँ आयाम थप्यो । दशैंले विस्तारै नयाँ रूप लिँदै थियो हाम्रा लागि । तास खेल्ने साथीहरूको संख्या वृद्धि हुँदै जाँदा रमाकान्तको चिया पसलमा बिहान कसले कति जित्यो र हा¥यो भन्ने विषयले प्रमुखता पायो दशँै तिहारको समयमा । विराटनगरमा तिनताका घनघोर जुवा हुन्थ्यो भन्ने कुरा त्यहाँको चिया पसलवाट सहजै थाहा पाइन्थ्यो । अधिकांश धनीमानी  सुरक्षाकर्मीको सेटिङमा घरमा जुवा खेलाउँथे । हिजोआज धेरै कम भएको छ । खासगरी कौडी र फ्लासलाई म्यारिजले बिस्थापित गरेपछि विराटनगरमा जुवा खालका समाचार शून्य जस्तै भएका छन् ।
बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको आह्वानले हामी जस्ता युवाको राजनीतिक सक्रियता बढायो । अब दशैं पनि चाडपर्व कम राजनीतिक पर्व धेरै भएर आउन थाल्यो । नेताहरूको घरमा जमघट गर्ने, बिपीको महानताबारे कथा कहानी सुन्ने आदि । तर यो बडो विचित्र र विरोधाभाषपूर्णखालको सक्रियता थियो । एकातिर बिपीले भनेजस्तो राजासँग कांग्रेसको मेलमिलाप कतै दृश्यमा थिएन, देखिएन । वास्तवमा एउटा युगपुरुष र मुर्धन्य समाजवादी नेताको निरंकुश राजासँग मेलमिलाप कसरी हुन्छ, कसरी घाँटी जोडिएको हुन्छ मैले आजसम्म पनि बुझ्न सकेको छैन ।
मेलमिलापको सिद्धान्त विपरित क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई जेलबाट निकालेर जंगलमा लगी हत्या गरियो राज्यवाट । यो घटनापछि हामीले बिपीको मेलमिलाप नीतिलाई झनै बुझ्न सकेनौँ । आफ्नै टोलमा बसेका जुम्ल्याहा राम–लक्ष्मणलगायत कैयन् अग्रजहरूको टिम्बुरबोटेमा हत्या भएको मानसपटलमा ताजै थियो । कांग्रेस नेता प्रदिप गिरी कैयन् पटक भन्छन् ‘बिपीले भनेको बुझ्ने, खुरुक्क मान्ने ।’ यो अवस्था थियो कांग्रेसमा तिनताका । हामी पनि त्यस्तै थियौँ ।
बिपी र राजाको मेलमिलाप नीतिले कांग्रेस–कम्युनिस्टबीचको घृणा चुलियो समाजमा । पानीमात्र होइन, विवाहवारी नै नहुने अवस्था सिर्जना भयो । घृणाको यो राजनीतिसँगै नेपालका युवा सिर्जनशील र उत्पादनशील राजनीतिमा कमै लागे । नेपालको भावी राजनीतिक नेतृत्व निर्माणको त्यो अवधि अत्यन्त तनाव, अभाव र घृणावाट पोषित र पालित भयो ।
आज लोकतन्त्र आएको तीन दशकपछि पनि मुलुकले काँचुली फेर्न नसक्नुका पछाडि हिजोको विष आज वृक्ष भएको हो, फैलिएको हो । विराटनगरको महेन्द्र मोरङ कलेज प्रजातन्त्रविरुद्ध साम्यवादको, कांग्रेसविरुद्ध कम्युनिस्टको र नेपाल विद्यार्थी संघविरुद्ध अखिल पाँचौँको रणभूमिस्थल नै भयो भन्दा हुन्छ । अन्यत्रका कलेज पनि योभन्दा फरक थिएनन् होला ।
विराटनगरबाट दशैं छुट्यो । तीन दशकअघि प्रजातन्त्र पुनस्र्थापना भएसंँगै विराटनगर राजनीतिक शक्तिकेन्द्र भयो । प्रधानमन्त्रीदेखि प्रभावशाली मन्त्रीहरू सबै विराटनगरका भए । अब दशैं पनि दुर्गा भवानीको पूजामा सीमित थिएन । राजनीतिक शक्तिकेन्द्रको घरमा पुग्यो । मेरो राजनीतिक बैठकी पनि रमाकान्तको चिया पसलबाट काठमाण्डौँका कैयन् केन्द्रमा विस्तारित भयो । यही क्रममा गएको शुक्रवार रानीपोखरी छेउको            रेस्टुरामा म, कृष्ण खनाल, लोकराज बराल, विनय खुर्सियतलगायत कैयन् साथी धर्म र राजनीतिको बहसमा उत्रियौँ ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकामा हामीबीच मतमतान्तर अझै छ । यो मतमतान्तर हामीबीच मात्र होइन, यो देशका अधिकांश नागरिकबीच पनि छ । कम्युनिस्ट सिद्धान्तमा धर्मलाई अफिम मानिन्छ । यो हामीलाई थाहा छ । तर नेपालका कम्युनिस्ट धर्मभिरु छन् । यो पनि नांगो आँखाले देखिन्छ ।
बिपी कोइराला व्यवहारमै नास्तिक थिए । बिपीमात्र होइन, विराटनगरको कोइराला परिवार नै कर्मकाण्ड र पूजापाठ पद्धतिमा विश्वास गर्दैनथ्यो २०४६ सालअघि । तर पनि बिपी कोइरालालाई धार्मिक पुरुष भन्न सकिन्छ र यसका कारण छन् । त्यो कारण हिन्दुमूल्य पद्धतिमा भेटिन्छ । मनमोहन अधिकारी कम्युनिस्ट आन्दोलनको मुर्धन्य नेता हुन् तर उनको विराटनगरको काली मन्दिरमा बोको बलि दिन गएको विषय पञ्चायतकालभर चर्चित रह्यो । अर्थात उनी धार्मिक होइन, कालीपंथको पक्षधर थिए भनी बुझिन्छ ।
सत्ता प्राप्तिपछि सबै पंथ र तन्त्रमा विराटनगरको कोइराला परिवार लागेको मैले आफैँ देखेँ, भोगेँ । नयाँ डिएनको परिचय बोकी अहिले बिपी पुत्र कांग्रेस महामन्त्री डा. शशांक कोइराला प्रकट भएका छन् । उनी नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भनी हवाईजहाज चढ्नुअघि र जहाज अवतरणपछि पत्रकारमाझ भन्छन् र जनमत संग्रहको कुरा राख्छन् । धर्म र राजनीतिलाई बेढंगी तरिकाले घुलन गर्दा कांग्रेस र उनको पहिचान अपांग भएको छ ।
धर्मनिरपेक्ष कोही हुन सक्तैन भन्ने मान्यता यो आर्यावर्तमा धेरै पहिलेदेखि स्थापित छ । हाम्रो सभ्यतामा धर्म केलाई भनिन्छ भन्ने प्रश्न आउँछ । धर्मलाई हाम्रा ऋषिमुनीहरूले जीवन पद्धतिमा व्यक्तिको उच्चतम आदर्श कायम राख्ने मन्त्र मानेका छन् । हिन्दु धर्म भनेको इन्द्रियहरूलाई वसमा राख्ने, अहंकारी नहुने, अरुलाई नठग्ने र नलुट्ने आदि दश सूत्र छन् । हिन्दु धर्मको परिभाषाले जीवन पद्धति कसरी अगाडि बढाउने भनी शिक्षा दिन्छ । पाश्चात्य जगतबाट आएको रिलिजनले ‘जीवन पद्धति होइन, पूजा पद्धति’ सिकाउँछ ।
कुनै पनि रिलिजन अर्थात पंथमा चार अवस्थालाई अनिवार्य मानिन्छ । पहिलो एउटा भगवान, दोस्रो फाइनल अथोरिटीको पुस्तक, तेस्रो सबैले मान्ने एउटा केन्द्रीय स्थल र चौथो केन्द्रमा पूजा गर्ने समान विधि । जस्तो इश्लाममा अल्लाह भगवान भए, कुरान फाइनल अथोरिटी भयो, मक्का मदिना केन्द्रीय स्थल भयो अनि पूजा विधि हज सबैले समान रूपमा गर्छन् । क्रिस्चियन रिलिजनमा पनि त्यही छ । क्राइस्ट, बाइबल, भ्याटिगन सिटी र पूजा विधि क्रसेड चिह्न । हिन्दु चलन चल्तीको जस्तो धर्म होइन भनी मान्ने उदाहरण यही हो । यहाँ असंख्य भगवान छन्, पूजा पद्धति फरक छन् सबैका, कुनै केन्द्र छैन जसमा सबैको भावधारा एकनासले प्रकट होस् र कुनै फाइनल अथोरिटीको पुस्तक पनि छैन । असंंख्य पुस्तक छन् विविध पंथकर्मीहरूका ।
माथिका उदाहरणहरूबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र राख्नु भनेको हाम्रा ऋषिमुनीहरूले जीवन पद्धतिका लागि अगाडि सारेको दश सूत्रबाट जनतालाई विमुख राख्नु हो, नेपालीलाई त्यसबाट चुँडाएर अनैतिक समाज निर्माण गर्नु हो भनी बुझ्न सकिन्छ । संविधान निर्माण गर्दा राज्यलाई पंथ निरपेक्ष राख्ने उद्देश्यबाट धर्मनिरपेक्ष हुन पुगेको कुरामा कुनै शंका छैन । संविधान निर्माण गर्दा धर्मलाई नकारात्मक रूपमा संविधान निर्माणकर्ताहरूले बुझे । वास्तवमा यो कानुन र ऐनका विषय थिएन । हाम्रो सभ्यता र संंस्कृतिको विगत ४ हजार वर्षको एउटा मौलिक धारा प्रवाहको गति थियो जसलाई धर्म निरपेक्ष जस्तो शब्द संविधानको प्रस्तावनामै राखेर उल्टो पार्न खोजिएको छ ।  
धर्मनिरपेक्ष शब्द पाश्चात जगतको हो । युरोपमा रिलिजनको दखल प्रत्यक्ष थियो राज्यमा । राज्यलाई दैवीय संस्थाको प्रतिनिधि मानिन्थ्यो । धार्मिक सुधारका आन्दोलन भए अनि धर्मले होइन, संंप्रभु जनताले निर्माण गरेका राज्य बने । अंग्रजीमा ‘रिलिजन’ भनिने शब्दलाई नेपालीमा धर्म भनियो । हाम्रो धर्मको समानार्थी शब्द रिलिजन ठीक छैन । रिलिजन शब्दको सही समानार्थ शब्द‘पंथ’ हुन सक्ला । सबै गडबडी यहीँबाट भएको छ ।
त्यस्तै अंग्रजीमा ‘सेक्युलिरिज्म’ शब्दलाई नेपालीमा धर्म निरपेक्ष भनियो । यो पनि समानार्थी शब्द छैन । हिन्दु सभ्यतामा धर्म र राजनीति जोडिएर बिरलै आएको छ । जबकि पाश्चात्य जगतमा सबै राजनीति चर्चसँग जोडिएर आउँथ्यो । हाम्रा पुराना ग्रन्थमा राजा–महाराजाहरू अर्थात राजकाज चलाएकाहरू ऋषिमुनीलाई भेट्न उनको आश्रम जान्थे । समाजको नैतिक शिक्षा र धार्मिक सूत्रहरूको ज्ञान लिन जान्थे ।
नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्छ भनी अभियान चलाउनेहरू जीवन पद्धतिमा सुधार गर्ने होइन, पूजा पद्धतिलाई स्थापित गर्ने सोचलाई नै हिन्दु राष्ट्र ठान्छन् । यो गलत हो र यसले देशमा अनिष्ठ ल्याउँछ । विगतमा राजतन्त्रले त्यही कर्म गर्यो र टिकेन राजतन्त्र । हिन्दु धर्मलाई पूजापद्धतिसँंग जोड्ने अनिष्ठ कार्यले हाम्रो समाजबाट सही अर्थमा हिन्दु सभ्यता समाप्त हुने खतरा रहन्छ ।
हिन्दु के हो र त्यसका सूत्र कस्ता छन् भनी बुझ्न सबैभन्दा आलोचित र अनुदारवादी ग्रन्थ मनुस्मृति नै पढ्दा हुन्छ । मनुस्मृति समेतले पूजापद्धतिलाई हिन्दु मानेको छैन, जीवन पद्धतिलाई मानेको छ । विजया दशमीको अवसरलाई यो हिन्दुहरूको महान् चाड भनिन्छ । वास्तवमा यसमा नयाँ ढंगले बहस चलाउन जरुरी छ । दुर्गाको आराधना र शक्तिको पूजा कसरी सबै हिन्दुका लागि महान् चाड हुनसक्छ र ? यो शक्तिका पुजारीहरूको मार्ग हो । यो असत्यमाथि सत्यको जीत हो भनी बुझ्दा हिन्दु धर्मको नजिक पुग्न सकिन्छ । दुर्गा पूजा शक्तिको मात्र आराधना हो भने यसको हिन्दु धर्मसँग कुनै साइनो छैन । किनकि शक्ति र अहंकारबीच नजिकको सम्बन्ध छ र यो हिन्दु धर्म विरोधी कुरा हो ।
विराटनगरको रमाकान्तको चिया पसलबाट चार दशकअगाडि कांग्रेस ठीक र बिपी महामानव भनी राजनीतिक  बहस सुरु गर्दा रानीपोखरीमा पानी भरिभराउ थिए होला । सम्भवतः मैले रानीपोखरी देखेको पनि थिइन फोटोमा बाहेक । अहिले त्यही रानीपोखरीको छेउको रेस्टुरामा धर्म र राजनीतिबारे बहस गर्दा रानीपोखरी पानीबिहीन छ, उजाड र फुंग छ, नेपालको राजनीति जस्तै ।   
अन्तमा, सेक्सपियरले भनेझैँ ‘नाममा के राखेको छ र ?’ भनी चित्त बुझाउन सकिन्छ । तर तथाकथित हिन्दु धर्मको नाममा भारतमा काँडैकाँडामात्र अगाडि बढिरहेको देख्दा फेरि नेपालमा पनि घृणाको राजनीतिले प्रश्रय नपाओस् भनी चिन्ता प्रकट गरेको मात्र हो । हाम्रो पुस्ताले आन्दोलन ग¥यो तर राजकाज चलाउन जानेन किनकि हिन्दु सूत्रहरू बुझ्नु परेन । शक्तिको आराधना भने खुबै गरेका हाम्रो पुस्ताले भावी नेपाल सही अर्थमा हिन्दु धर्मको नजिक पुग्ने मार्गमात्र खिच्न सके सन्ततिले आशीषै देलान् । अब पालो आशीष दिने होइन, यो पुस्ताले भविष्यको पुस्ताबाट आशीष लिने कर्म गर्ने हो ।
— नागरिक दैनिकबाट

मोफसल पत्रकारिता 

सबै पत्रकार एकै प्रकारका छैनन्

कपिल ज्ञवाली (समाचार संयोजक) 
बुद्ध सामुदायिक टेलिभिजन, बुटवल
तपार्इंको परिचय पाउँ न ?  
– म कपिल ज्ञवाली । रुरु गाउपालिका–१ थोर्गा, गुल्मी । हाल बुटवल उपमहानगरपालिका १२, रुपन्देही । हाल म बुद्ध सामुदायिक टेलिभिजन बुटवलको समाचार संयोजक, नागरिक आवाज डटकम प्रधान सम्पादक, अनलाइनखबर डटकमको रुपन्देही बुटवल सम्बाददाता र दैनिकपत्र दैनिक बरिष्ठ सम्बाददाताको रुपमा काम गर्छु ।
पत्रकारिता पेशा त निकै गा¥हो छ भन्छन नि ! कस्तो पाउनु भयो ? 
— पत्रकारिता समाजसंग जोडिएको पेशा हो । हामीले सामाजिक उत्तरदायित्वलाइ मध्यनजर गर्दै पेशा गरिरहेका हुन्छौँ । पेशा गाह्रो छ तर निकै सम्मानजनक छ ।      राज्यको चौथो अंगका रुपमा मानिएको पत्रकारिता गर्न वा अगाडि बढाउन जो कोहीले सक्दैन र पाउदैन । सामान्यतया हरेक दिन फरक फरक बिषय र इस्युहरुमा रिर्पाेर्टिङ गर्न पाउदा सबै खालको ज्ञान र दक्षता हासिल हुन्छ । ‘मोर रिस्क मोर गेन’ अर्थात् जहां जोखिम त्यहा नाफा वा मज्जा त्यसैले पत्रकारिता पेशा रमाइलो र जिम्मेबारपूर्ण छ । सहज ढंगले काम गर्ने र काममा रमाउन सक्नेहो भने गाह्रो छैन । इमान्दारिता र निरन्तर लगाब महत्वपूर्ण कुरा हो ।
समस्यै समस्याको पेशा पत्रकारिता गर्न के ले प्रेरणा दियो तपाईलाई ? 
— यहाँ धेरै अबसरै अबसर छन् समस्या भन्ने मेरो नजरमा छैन । सानै देखिको रुचि पनि हो । मिडियामा कक्षा ६÷७ देखि नै कुनै न कुनै बहानामा सहभागि हुन्थे । सुन्ने, पढ्ने वा फोन गर्ने, साना फुटकर कविता, भावना लेख्थे यस्लाइ सबैका बिचमा ल्यान मिडियाको सहारा नै उपयुक्त हो । मेरो परिवारका ५ जना सदस्य मिडियामा आबद्ध हुनुहुन्छ । २ जना दाजु, भाउजू  र श्रीमती कल्पना पनि मिडियामै आबद्ध हुनुहुन्छ । यो पनि खुशीकै कुरा हो र अरुको भन्दा फरक सन्दर्भ पनि । 
कति समय बिताउनु भयो पत्रकारितामा पत्रकारिता क्षेत्रमा ?
— रुपन्देहीको बुटवलमा रहेर १३ बर्षदेखि पत्रकारितामा क्रियाशील छु । यसअघि बुटवलमा रहेको लुम्बिनी टेलिभिजनमा ११ बर्ष जागीर गरें । अहिले बुद्ध टेलिभिजनमा समाचार संयोजकको रुपमा छु  । यसबाहेक आधा दर्जन मिडियामा आजकै मितिमा पनि काम गरिरहेको छु । यसअघि दैनिक लुम्बिनी, राजधानी दैनिक, खस्यौली एफएम, बुद्धभूमि साप्ताहिकमा पनि बिभिन्न भूमिकामा रहेर पत्रकारिता गरें । 
रुपन्देही जस्तो बिकसित जिल्लाबाट पत्रकारिता गर्दै हुनुहुन्छ, कसरी मुल्याँकन गर्नु भएको छ यस जिल्लाको पत्रकारिताको अवस्थालाई ?  
— रुपन्देही पत्रकारिताको सबल जिल्ला हो । काठमाण्डौं बाहिरको सबैभन्दा शक्तिशाली पत्रकारिता रुपन्देहीलाई मानिन्छ । प्रदेश ५ को राजधानी भएकाले पनि यहा सबै प्रकारको अथवा सबै बिटमा पत्रकारितामा दख्खल राख्नुपर्ने हुन्छ । पत्रकारितामा मोफसलको राजधानी भएकाले धेरै संञ्चारमाध्ययमहरु संचालनमा पनि छन । रुपन्देहीको पत्रकारिताले देशको पत्रकारितालाइ माथि उठाउन र देशलाइ समृद्धिको दिशामा अघि बढाउन उल्लेख्य भूमिका खेल्न सक्छ । खेलेको छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— पत्रकारितालाइ ब्यबसायिक बनाउन जरुरी छ । सरकारले पत्रकारहरुको बृत्ति विकास र उनीहरुको पारिश्रमिकलाई सहज ढंगले पाउने बाताबरण र मिडियामैत्री नीति, पूर्ण प्रेस स्वतन्त्रताको बाटोलाई अंगिकार गरिदिन जरुरी छ ।
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— महासंघले काम गरेकै छ तर यतिले पर्याप्त छैन । पत्रकारहरुलाई निर्बाचनका बेला मात्रै खोज्ने परम्परा यदाकदा कायमै देख्छु । तर बिमाका कुरा र पत्रकारहरुका हकहितमा पनि महासंघले थोर धेर काम गरेकै छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— पत्रकारका बिचमा समस्याहरु धेरै छन् । सबै संगठन मिलेर पत्रकारिताको बिकासमा लाग्नु पर्छ । यस्तो संगठनले सामान्य गतिबिधि मात्रै खेलेका छन् । नया सदस्यहरुलाई पत्रकार महांसंघमा पु¥याउन भ¥याङको काम यस्ता संगठनले गरेका छन् । तर हामी सन्तोष हुने ठांउ छैन ।
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एक समाज रुपान्तरणको अभियान हो । हामीले समाजलाइ चेतनशील बनाउदै सही मार्गमा हिडाउने र समाजमैत्री नीति निर्माणका लागि पनि सरोकारवालाई पूलको काम गर्ने गरेका छौं । सरकार र जनताका बिचमा रहेको खाडल पुर्न पत्रकारको भूमिका अहम छ । 
पत्रकारिता पेशामा लागेर कत्तिको कमाउनु भयो ?
— धेरै कमाइयो धन भन्दा ज्ञान । सबै प्रकारका ब्यक्तिसंग भेटघाट गर्ने मौका मिल्ने भएकाले धन भन्दा धेरै अबसर र ज्ञान शिक्षा प्राप्त गरेँ । तर मेरो पत्रकारिताको १३ बर्षे दौरानमा म पत्रकारिताबाटै पालिएको छु । र परिवार पनि यही पेशाबाट पालेको छु । सन्तोष नमान्ने कुनै कारण र अबस्था छैन ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— यो प्रश्नमा धेरै सत्यता छ । सबै पत्रकार एकै प्रकारका छैनन् । पत्रकारितामा बेलाबेलामा प्रश्न र बिश्वसनियतामाथि धेरै प्रश्न उठ्ने गरेको छ । पत्रकारितामा      राजनीति गर्नेहरुका कारण यस्ता समस्या आएका हुन् । तर कतिपयले पैसा कमाउने नाममा पत्रकारितालाई बिकृत बनाएका छन् । यस्लाइ रोक्न जरुरी छ । पत्रकारका समाचार भन्दा पहिले सामाजिक सञ्जालमा सूचनाहरु छरपस्ट हुदा आम नागरिकहरु ती सूचनामा बिश्वस्त हुने आधार देखिदैन ।
तपाई त लाग्नु भा छैन नि यस्ता कुरामा ?
— छैन, यस्ता गतल कामको म बिरोधी हँु । पत्रकारिताको नाममा पित पत्रकारिता गर्ने, समाचारको नाममा बार्गेनिङ गर्ने, खाएका ठांउमा बिल नतिर्ने, पत्रकार हुं भन्दै धम्काउनेले पत्रकारिता क्षेत्र धुमिल बनाए । यसमा मलाइ निकै दुःख लाग्छ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— मेरा केहि बिचार राख्ने अबसर दिनुभो रामहरी जी र बिम्ब साप्ताहिकलाई धेरै धन्यबाद र आभार ब्यक्त गर्दछु । धन्यबाद ।

लोकसेवाको तयारीका लागि उपयोगी 
१. संयुक्त राष्ट्रसंघको सुरक्षा परिसद्को सदस्य संख्या कति हुन्छ ? — १५
२. डल्फिन किक् कुन खेलसंग सम्बन्धीत छ ? — ब्लक–पौडी
३. ईश्वरलाई सम्झेर मुसलमानहरू दिनमा कतिपटक प्रार्थना नवाज पढ्छन् ? — ५
४. नेपालको कुन ठाउँमा विश्व शान्ति स्तूप रहेको छ ? — कास्की (पोखरा)
५. उत्तानो परेर सुत्न सक्ने एक मात्र प्राणी कुन हो ? — मान्छे
६. संसारको पहिलो रोग केलाई मानीन्छ ? — कुष्ठ रोग
७. सीटी अफ ईन्जोई भन्नाले भारतको कुन सहरलाई बुझाउछ ? — कोलकाता
८. मानिसको नाक भित्रको रांै लाई के भनिन्छ ? —सीमा
९. काजुको जुसलाई अंग्रेजीमा के भनिन्छ ? — फेनी
१०. दुबै हात नभएको लाई के भनिन्छ ? — ठुडो
११. मानिसको छातीको रौं लाई के भनिन्छ? — जेठो दाई
१२. जसको कुनै शत्रु छैन उसलाई के भनिन्छ ? — अजात शत्रु
१३. लम्बाई चौडाई बराबर भएको कपडालाई के भनिन्छ ? — खगाम
१४. जोगी सन्यासीले लगाउने कपडालाई के भनिन्छ ? — चीबर
१५. खसीमा पाईने तर भैंसीमा नपाईने के हो ? — “ख”
१६. खुर्सानीमा कुन भिटामिन पाईन्छ ? — सी
१७. सेतो गुराँसलाई के भनिन्छ ? – चिमाली
१८. सेतो सुन भन्नाले के बुझिन्छ ? — कपास
१९. नेवारी भाषामा मादललाई के भनिन्छ ? — मागखी
२०. आखी भांै बीचको भागलाई के भनिन्छ ? — कुर्प
२१. टाढाको बस्तुलाई सानो देखाउने लेन्स कुन हो ? — कन्केभ
२२. देशमा सहर हुन्छ भने आकाशमा के हुन्छ ? — तारा पुञ्ज
२३. चिठ्ठाको प्रचलन कुन देशबाट भएको हो ? — इटाली
२४. बिश्वको पहिलो महिला राष्ट्रपति कुन देशकी हुन् ? — अर्जेन्टिना
२५. न्युयोर्क कुन नदीको किनारामा छ ? — हड्सन
२६. माओरी जाति कुन देशको आदिवासी जाति हो ? — न्यूजिल्याण्ड
२७. चीनको सिमाना कति देशसँग जोडिएको छ ? — १३
२८. विश्वमा सबैभन्दा पुरानो मूर्ति कुन देशमा छ ? — फ्रान्स
२९. कुन खातामा रकम जम्मा गर्दा व्याज पाइदैन ?  — चल्ती
३०. “बसन्ती” उपन्यासका उपन्यासकार को हुन ? — डायमण्ड शमशेर
३१. छेलो हान्ने प्रतियोगितालाई पर्वका रुपमा मनाउने जाति कुन हो ? — दूरा
३२. शाह वंशका अन्तिम राजा को हुन् ? — ज्ञानेन्द्र
३३. सबैभन्दा पहिले निर्माण भएको अन्तराष्ट्रिय संस्था कुन हो ? —UN
३४. खुर्कोट कुन जिल्लामा पर्दछ ? — सिन्धुली
३५. नेपाल जस्तै शनिबार छुट्टि हुने देश कुन हो ? — इजरायल
३६. चारवटा बाख्रा पछाडि एउटा बाख्रा छ र चारवटा बाख्रा अगाडि पनि एउटा बाख्रा छ भने जम्मा बाख्रा कति होलान ? — ५
३७. म chitawan को प्रथम स्थानमा छु, Kathmandu को द्वितीय स्थानमा छु, र Butwal तृतीय स्थान मा छु भने म को हुँ ?  - CAT
३८. A,E,I,O,U एकै ठाउँ आउने अंग्रेजी शब्द कुन हो ? — Education 
३९. यदि १+२+३=६, २+३+४=९, ३+४+५=१२ भए ५+६+७= ? — १८
४०. ५ जनाले ६ दिन लाग्ने काम १५ जनालाई कति दिन लाग्छ ? — २ दिन
४१. ईन्द्रको आमाको नाम के हो ? — बसुन्धारा
४२. नेपालमा सबैभन्दा बढि बाघ भएको राष्ट्रिय निकुञ्ज कुन हो ? — चितवन रा नि
४३. कोतपर्व हुँदा नेपालका प्रधानमन्त्री को थिए ? — फत्तेजंग शाह
४४. ललितपुरको स्थापना कसले गरेका थिए ? — वरदेव
४५. च्छोरोल्पा ताल कुन जिल्लामा पर्छ ? — दोलखा
४६. प्रताप मल्लको पालामा नेपाल आउने पादरी को थिए ? — ग्रोवर
४७. नोवेल पुरस्कार कति बिधामा दिइन्छ ? — ६
४८. धान नाँच कसले नाँच्छ ? — लिम्बु
४९. अमरसिंह थापाले देहत्याग गरेको ठाउ कुन हो ? — गोसाइकुण्ड
५०. जंको संस्कार कुन जातिमा प्रचलित छ ? — नेवार
५१. सबैभन्दा पुरानो वेद कुन हो ? — ऋृगवेद
५२. मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ ? — दिउसी
५३. नेपालमा गाउँपालिकाबिहिन जिल्लाहरु कतिवटा रहेका छन् ? — २ (काठमाण्डौं र भक्तपुर)
५४. सवैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ? — सर्लाही (२०)
५५. सवैभन्दा कम स्थानीय तह भएको जिल्ला कुन हो ? — पूर्वी रुकुम (३)
५६. क्षेत्रफलको आधारमा सवैभन्दा ठुलो महानगरपालिका कुन हो ? — पोखरा लेखनाथ

साहित्य सिर्जना 

तिम्रो स्वर्ग 
असमयमै समयले झुत्रो पारिएको अनुहार माझ,
अझै सपना देख्न नछाडेका चम्किला आँखाहरु,
अगाध माया र स्नेहका मुलहरु सुमसुम्याउँदै,
कसैको फिर्ति आगमनमा,
भत्किएको आँगनको डिल देखि एक टक,
उजाड उराठ गोरेटोमा पर परसम्म,
विछ्याई रहन्छ हरेक याममा !
अनि, बुढो रुख झैँ ठिंग,
बेढंगका भैसकेका खस्रा र फुटेका हात् खुट्टाहरु लिएर,
हरेक यामको आगमनलाई,
कसैको सु–कोमल यादहरुले बेरेर,
पठाई रहन्छ लपक्कै भिजेको संदेश,
संदेशमा अटाई नअटाई कोचिएका हुन्छन्,
सल्लाघारीको एक झोक्का वतास,
वर पिपलको एक भारी छायाँ,
खोला खोल्छाको मुरी मुरी कलकल छङ् छङ्,
हिमालको एक मोहनी मुस्कान,
ध्वजा पताका र लुङ्दरहरुको अनगिन्ति फरफर,
मन्दिर र गुम्बाहरुको टिङ् टिङ्,
हलीको अलिकति हःह स्हस्हस् !!
घांसी, गोठालो र चराहरुको केहि गीत,
यी सवैले एकै साथ,
भक्कानो छाडेर वह गाईरहेको हुन्छ,
न हराउनु है ! फर्की आउनु है छकालमै !
अनि, आँखामा भोलिको सुनौलो सपनाहरु टलकाउँदै !
ति हात खुट्टाहरुमा संजीवनी परे झैं फेरी,
त्यही उजाड उराठ गोरेटोहरुमा जुटिरहेका हुन्छन,
कसैको स्वागतमा, आशाका नयाँ पालुवाहरू खोज्दै, सुम्सुम्याँउँदै !
यो सवै तिम्रै निमित्त भैरहेको छ थाहा छ तिमिलाई ?
तर हरेक संदेश पछि,
एकाएक दिनहरु पट्यारलाग्दा र लामा बन्छन,
समय लामो तगारो बन्छ,
समय एक क्रुर सिमाना बनिदिन्छ,
उनीहरुको लागि शत्रु त समयनै हो,
जो हरपल बाधक बनि दिन्छ,
जो हरपल तिमिलाई बन्धक बनाई रहन्छ,
बनाउन खोजिरहन्छ,
धेरै भो तिमि अब,
समयको बन्दी, किमार्थ हुन सक्दैनौ,
वाध्यताको बन्दी हुन् सक्दैनौ,
तिमि त्यहाँ फर्कनै पर्छ !
एकटक आँखाहरु बिछ्याएर
बिछोडिएका सवैले पर्खिरहेछन !
जब तिमि त्यहाँ पुग्नेछौ
वर्षौं देखि दिन दिन गन्दै मायाँ बाटेका डोरीहरु
दिन दिन गन्दै सपना बुनेका आँखाहरू
र छाँद हाल्न आत्तुर कम्पित हातहरुले बाँधिनेछौ !
अनि फेरी मन्द बतासमा, माटोमा,
धुवाँमा धुलोमा, झरीमा, हिलोमा
खोलाको एकनास सुसाइमा घुलिएको,
आफ्नै माटोको सुवासहरुले गल्र्याम्म अंगालो हाल्दा,
विर्सिएर विगत, विर्सिएर भविस्य,
हर्षविभोर तिमि,
आमाको काखमा एकाएक फेरी चुलबुले बन्दा,
समय स्थिर पाउनेछौ, वर्तमान रोकिनेछ टक्क,
बन्धक बन्नेछ समय,
हो त्यहिनै हो तिम्रो स्वर्ग !
जि बि शेर्पा

सूचना सन्देश बिज्ञापन 

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकासित ः २०७५।०७।०६
समान पहुँच विकास केन्द्र (सिड) नेपाल, डोटी सामाजिक विकास र परिवर्तनका लागि महिला बालबालिका र पिछडिएका समुदायको सामाजिक आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्रियाशिल गैरनाफामुखि सामाजिक संस्था हो । संस्थाले स्थापनाकाल देखि विभिन्न साझेदार संस्थाहरु संगको सहकार्यमा सबैको पहुँच भएको सम्वृद्ध समाजको परिकल्पना गर्दछ । समाजको सम्बृद्धिका लागि विभिन्न साझेदारहरुको सहकार्यमा स्वास्थ्य,  शिक्षा, सुशासन र  संस्थागत विकासको क्षेत्रमा ७ वटा  परियोजनाहरु सञ्चालनमा रहेका छन् । संस्थाद्वारा डोटी जिल्लाको साविकका १४ वटा गाविस ( छपाली, गीरिचौका, महादेवस्थान, कालिकास्थान, दहकालिकास्थान, लामिखाल, बाँझककानी, खातिवाडा, डौड तोलेनी, बग्लेक, खिरसेन, गैरागाँउ र कलेना तथा दिपायल सिलगढी नपाको साविकको वडा नं ११ र १२ मा वल्र्ड भिजन ईन्टरनेशनल नेपालसंगको साझेदारीमा संचालन हुन गईरहेको मातृ तथा बाल स्वास्थ्य र पोषण तथा हेल्दी भिलेज परियोजनाका लागि निम्नानुसार कर्मचारीहरुको आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफनो आवेदन पत्र र वास्तविक बायोडाटा यस संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटीमा कार्यालय समय भित्र आई पुग्ने गरि पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
१. पद ः मिल अधिकृत  (Meal Officer)         संख्या ः १ जना 
प्रमुख जिम्मेवारीहरु  ः मिल अधिकृतले परियोजनाको सुशासनका लागि सही तरिकाले परियोजनाको तथ्याङ्कहरु संकलन, विश्लेषण, एकिकृत र जाँच गर्ने कार्य गर्नु पर्नेछ । नियमित फिल्ड कार्यको अनुगमन गर्ने, आवधिक आधाररेखा सर्वेक्षण, मुल्याङ्कन, कार्य गर्ने र नियमित अनुगमनको माध्यमबाट परियोजनामा जवाफदेहीता बढाउने र परियोजनाका सिकाईहरुलाई अध्यावधिक गरी आदन प्रदान गर्ने गर्नुपर्ने छ । अनुगमन, मुल्याङ्कन मार्फत जवाफदेहिता वृद्धि गरी सिकाईहरुलाई नयाँ योजनामा समावेश गराउने र प्रभावकारी कार्यान्वयन गर्न कार्यक्रम संयोजकलाई मद्दत गर्नु पर्ने छ । जिल्ला तथा समुदाय तहका संस्थाहरुसँग सहकार्य, समन्वय गर्ने र सुशासनका आधारभूत सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुको बारेमा ज्ञान भएको, सुशासनका विधि, प्रक्रिया तथा औजारहरु जस्तै सहभागितामूलक योजनाप्रक्रिया, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, सूचनाको हक, तथा समन्वय जस्ता विषयहरुमा अनुभवि र जिल्ला तथा स्थानीय तहको कार्य प्रणाली र संरचनाको बारेमा जानकारी भएको हुनुपर्ने छ । 
आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव ः स्नातक तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा २ बर्षको अनुभव भएको हुनु पर्नेछ ।
२. पद ः  सामुदायिक स्वास्थ्य सहजकर्ता ः (Community Health Facilitator-CHF)  संख्या ः २ जना 
प्रमुख जिम्मेवारी ः सामुदायिक स्वास्थ्य सहजकर्ता कार्यक्षेत्रको आमा समुहलाई सुरक्षित मातृत्व, बाल स्वास्थ्य र पोषण अनि सरसफाई बानी व्यवहारको विषयमा सशक्तिकरण गर्ने, स्थानीय स्वास्थ्य संस्थासंग मिलेर मातृ वाल स्वास्थ्य तथा पोषण सेवा सुदृढिकरण गर्ने, ५ बर्ष मुनीका बालबालिकाहरुलाई कुपोषणबाट बचाउन उनीहरुको परिवारसंग मिलेर कार्य गर्नुपर्ने छ । समुदाय परिचालनको माध्यमद्धारा परियोजनाका समुदायस्तरका कार्यक्रमको योजना निर्माण कार्यान्वयन र अनुगमन गर्ने स्थानीय स्वास्थ्य सेवा सुदृढिकरणका लागि स्थानीय समुदाय, सरकार, स्वासथ्य संस्था तथा राजनीतिक दलहरुसंग मिलेर पैरवी गर्ने, सरोकारवालाहरुसंगको समन्वय तथा सम्बन्ध विस्तार गर्ने र आवश्यक अभिलेखीकरणको कार्य गर्ने ।  
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव ः CMA/AHW  उत्तीर्ण गरी स्वास्थ्य र पोषण क्षेत्रमा २ बर्षको अनुभव वा HA उत्र्तीण गरी स्वास्थ्य पोषण क्षेत्रमा १ बर्षको अनुभव । 
आवेदन सम्बन्धि थप जानकारी ः
अधिकृतको हकमा २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेको र सहजकर्ताको हकमा १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुुनु पर्नेछ ।
सेवा सुविधाको हकमा संस्था तथा कार्यक्रमको नियमानुसार हुनेछ ।
आवेदन दिने अन्तिम मिति ः विज्ञापन प्रकाशित मितिले ७ दिन भित्र ।
सम्पर्क मिति ः  २०७५÷०७÷१२ गते 
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ ।
परीक्षा हुने स्थान ः संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटी ।
परिक्षाको किसिम ः लिखित, अन्तरवार्ता तथा प्रयोगात्मक ।
आवेदनको माध्यम ः कार्यालयमा संस्थाको आवेदन फाराम लिई बुझाउनु पर्ने छ । 
नोट ः परियोजना कार्यक्षेत्रका महिला, दलित तथा जनजातीलाई विशेष प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ । 
दर्खास्त पेश गर्ने ठेगाना
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटी
सम्पर्क कार्यालय दिसिनपा–६ शिलगढी डोटी, सम्पर्क नं.०९४–४११०११  

No comments:

Post a Comment